Monday, October 21, 2013

धनुषामा ‘नोट फोर भोट’को राजनीति



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

सिद्धान्त, मुल्य, मान्यता, मुद्दा, नारालाई प्राथमिकतामा नराखि धनुषाका कतिपय उम्मेदवारहरु आसन्न संविधानसभाको निर्वाचनमा ‘नोट फोर भोट’ को राजनीतिलाई प्राथमिकतामा राखि प्रचार प्रसार गर्न गाउँ गाउँमा पसेका छन । उम्मेदवारहरु खुल्ला रुपले मत किन्न प्रस्ताव राख्ने गरेपछि मतदाताहरु पनि संविधानसभाको चुनावलाई आय(आर्जनको ठुलो अवसरको रुपमा लिएका देखिन्छन ।चुनावको सरगर्मी वढे पछि गाउँ देखि सहरसम्म आय आर्जन गर्ने अवसर आएकोमा धेरै पक्ष खुशी भएका छन भने कतिपय पक्षलाई व्यय गर्नुपर्ने भन्दै चिन्ताले सताएको छ । गाउँमा पकड बनाएका युवा क्लवहरु, स्थानिय नेताहरु र गाउँका मुखिया तथा अगुवालाई चुनाव कमाई खाने भाँडोको रुपमा ठुलो अवसर प्राप्त भएको छ । राजनीतिक दल रहेपनि गाउँमा संगठन नै नभएको कतिपय मधेस केन्द्रित राजनीतिक दलहरुबाट ठुलो रकम चुनावकै लागि असुल गर्न सकिने दाउमा स्थानिय गुण्डा, ठेकेदार तथा तटस्थ देखिने स्थानिय नेताहरुमा उत्साहको संचार भएको छ । जाति, समुदाय तथा विभिन्न वर्गको नेतृत्व गर्ने तिनका अगुवाहरुलाई मतदान नहुँदा सम्म अर्थात मंसिर ४ सम्म वार्गेनिङ गर्ने अवसर मिलेको छ । यसका अतिरिक्त सहरमा त झन केही बुद्धिजिवि, नागरिक समाज, पत्रकार, शिक्षक,युवा क्लवलाई तुलनात्मक रुपमा गाउँका भन्दा वढी दाम दिएर मतको सौदेवाजी गर्ने क्रम वढेको छ ।  यति मात्र होइन चुनावमा धाँधली गर्न तथा गराउन सिमावत्र्ती भारतमा रहेका पेसेवर अपराधी तथा गुण्डाले समेत राम्र्रै कमाई गर्ने अवसर आएको हुनुपर्दछ । यी सम्पुर्ण आयको जोहो गर्नका निम्ति चन्दा दिने चन्दा दाताको लागि भने टाउको दुखाईको विषय बनेको छ चुनाव । निजी विद्यालय, क्याम्पस, उद्योगपति, व्यापारी, चिकित्सक, निर्माण व्यवसायी लगायतका फाइनेन्सरहरुको लागि बाध्यात्मक अवस्था भएपनि चुनाव खर्चका लागि चन्दा दिनै पर्ने हुँदा तिनीहरु त्यसका लागि चिन्तित देखिएका छन । 
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशनसँगै निर्वाचन चिह्न वितरण गरेपछि धनुषाका सात निर्वाचन क्षेत्रमा चुनावी वातावरण तातेको छ ।उम्मेदवारहरू अहिले आ(आफनो क्षेत्रमा पुगी घरदैलो कार्यक्रम, कोणसभा एवम् भेटघाट जस्ता कार्यक्रममा व्यस्त हुन थालेका छन् । मतदाताहरूले पनि चियापसल, भेटघाट एवम् चौतारोमा कुराकानी गर्दा निर्वाचनका बारेमै टीकाटिप्पणी गर्न थालेका छन् । मंसिर ४ गते हुने सविधानसभाको निर्वाचनका लागि धनुषा चुनावी माहौलले तातेको छ । मनोनयनपत्र दर्तासंगै राजनीतिक दलका नेता(कार्यकर्ताहरु मतदाता रिझाउन गाउँ(गाउँमा जानथाले पछि धनुषामा चुनावी सरगर्मी बढेको हो । संविधानसभा निर्वाचनको मिति नजिकिदै गएपछि धनुषाका मतदाता रिझाउन उम्मेदवारहरु गाँउ पस्न थालेका छन । राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताले गाँउ घरको समस्या, बिकास निर्माणको अबस्थाका बारेमा रायसुझाब संकलन, छलफल,  सभा सम्मेलन र मतदातासंगको भेटघाटलाई  प्राथमिकता दिएका छन । दोस्रो सबिधानसभा निर्बाचनका लागि धनुषाको सात वटा निर्बाचन क्षेत्रमा  तीन सय ६५ जनाले उम्मेदबारी दिएका छन् । ती उम्मेदवार मध्ये  युवाको सख्ंया यसपटक बढेको छ ।   उम्मेदवारहरु ग्रामिण क्षेत्रका मतदातालाई रिझाउन सांस्कृतिक लगायतका मनोरञ्जनात्मक कार्यक्रम लिएर गाँउ घर पुगेका छन् । टिकट वितरणका बेला सानाठुला सबै राजनीतिक दलमा देखिएको कमीकमजोरीका कारण अधिकांश दलमा आन्तरिक कलह समेत बढेको छ ।  एक राजनीतिक दलको आन्तरिक कलहलाई अर्को दलले राजनीतिक मसला बनाउने गरेको छ । 
संविधानसभा निर्वाचन एउटा ऐतिहासिक राष्टिूय पर्व हो । यसलाई सार्थक र मर्यादित बनाउन  पार्टी र व्यक्ति भन्दा एजेण्डा वा मुद्दामा जोड दिऊँ , व्यक्ति भन्दा पार्टीलाई जोड दिऊँ, व्यक्तिहरुमध्ये सबैभन्दा सक्षम र इमान्दार व्यक्ति रोजौं, चुनाव प्रचार गर्दा अरुका नराम्रा कुरा भन्दा आफ्ना राम्रा कुरामा जोड दिऊँ, एउटा औंला अरुतिर तेसर््याउँदा चारवटा औंला आफैतिर फर्कन्छ भन्ने नबिर्सौं, भ्रष्टाचार गर्ने र गराउने दुवै अपराधी हुन् भन्ने नबिर्सौं, कम खर्चालु चुनावी शैली अपनाऊँ, संविधान विना देश चल्दैन र संविधानसभाबाट संविधान बनाउने भन्दा राम्रो विकल्प अर्को हुन सक्दैन भन्ने बुझेर आसन्न संविधानसभा निर्वाचनमा सबैै सक्रिय सहभागी बनौं । आगामी निर्वाचन खचिर्लो हुने संकेत देखिदैछ । खचिर्लो चुनावले भ्रष्टाचार जन्माउँछ । भ्रष्टाचारले राजनीति धमिल्याउँछ । राजनीति धमिलिए सबै धमिलिन्छ ।त्यसैले सच्चा लोकतन्त्र संस्थागत गर्न चुनावी प्रक्रिया सुधार्नै पर्छ । निश्चित मापदण्डका आधारमा चुनावी खर्च राज्यले बेहोर्नु पर्छ । भ्रष्टाचारमा दण्डितलाई सधैका लागि चुनावबाट वंचित गर्नुपर्छ । भ्रष्टाचारीलाई कुनै दलले उम्मेदवार बनाउनुहुन्न र जनताले पनि त्यस्तालाई भोट हाल्नु हुन्न । समग्रमा, राजनीति व्यवसाय होइन स्वेच्छिक सेवा हो भन्ने मान्यता स्थापित गर्नुपर्छ । तर बिरालोको घाँटीमा पहिले घण्टी कस्ले झुण्ड्याउने ? यी अभिव्यक्तिहरु एकिकृत नेकपा माओवादीका नेता तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो फेसबुक स्टेट्सबाट सार्वजनिक गरेका हुन । 
धनुषामा पछिल्लो चुनावको फ्ल्यासब्याक
२०६४ साल चैत्र २८ गते सम्पन्न ऐतिहासिक संविधानसभाको निर्वाचनमा धनुषा यस कारण पनि चर्चामा रहयो कि क्षेत्र नं. ५ वाट निर्वाचित डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्टूपति चुनिनु भयो । नेपाली कांग्रेसका तत्कालिन महामन्त्र यादवले १० हजार ३ सय ९२ मत ल्याई आफ्ना निकटतम प्रतिद्धन्दी तमलोपाका प्रत्यासी श्रीकृष्ण यादवलाई ४ सय ८८ मतको अन्तरले पराजित गर्नु भएको थियो । निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका तर्फबाट रामचन्द्र झाले १२ हजार १ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको थियो भने उनका निकटतम प्रतिद्धन्दी माओवादीका प्रत्यासी जोगकुमार बरबरिया यादवले ९ हजार ६ सय ८ मत प्राप्त गरेका थिए । क्षेत्र नं. २ मा नेपाली कांग्रेसका प्रत्यासी रामकृष्ण यादवले ९ हजार ८ सय २५ मत प्राप्त गरी निर्वाचित भएका थिए भने माओवादीका प्रत्यासी रामचन्द्र मण्डलले ८ हजार २ सय १९ मत ल्याएर पराजय हुनु परेको थियो । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका अर्को दिग्गज नेता विमलेन्द्र निधिले जिल्लामै सबै भन्दा वढी मत १५ हजार ५ सय ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा(एमालेका प्रत्यासी हरिदेव मण्डलले ९ हजार ९ सय ३६ मत मात्र हासिल गर्न सकेका थिए । क्षेत्र नं. ४ मा मधेसी जनअधिकार फोरम नेपालका प्रत्यासी संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए भने नेकपा एमालेका प्रत्यासी रघुविर महासेठ ९ हजार २ सय ८२ मत ल्याएर हारको मुख हेर्नु परेको थियो । क्षेत्र नं. ६ मा माओवादी की प्रत्यासी रामकुमारी देवी यादवले ११ हजार ५ सय ७० मत ल्याएर विजयी भएकी थिईन भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रत्यासी प्रेम किशोर प्रसाद साहले ८ हजार ९ सय १३ मत प्राप्त गरेका थिए । क्षेत्र नं. ७ मा  एमालेका शत्रुघन महत्तोले ११ हजार ६ सय २० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रत्यासी आनन्द प्रसाद ढुङगाना ७ हजार ४ सय ६९ मत ल्याएका थिए । क्षेत्र नं. ५ भएको संविधानसभाको उपचुनावमा नेकपा एमालेका रघुविर महासेठले १३ हजार २ सय २२ मत ल्याएर विजय भएका थिए भने तमलोपाका श्रीकृष्ण यादवले ११ हजार ९ सय ८१ मत ल्याएका थिए ।
समानुपातिक मतको अवस्था
पछिल्लो चुनावमा धनुषा जिल्लाको ७ वटै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ भएको मतदानको मतगणना अनुसार नेपाली कांग्रेसले ५८ हजार ५ सय ४१ मत ल्याई पहिलो स्थान हासिल गरेको थियो भने नेकपा एमाले ले ५७ हजार ८ सय ४१ मत हासिल गरि दोस्रो भएको थियो । ३८ हजार ५ सय ३६ मत ल्याई फोरम तेस्रो, ३७ हजार ८ सय १ मत ल्याएर माओवादी चौथो, २९ हजार ८ सय ६१ मत ल्याई तमलोपा पाँचौ र ७ हजार ७ सय २ मत ल्याई सद्भावना छैठौ स्थान हासिल गरेको थियो ।
अवको चुनावमा के हुने ?
विभिन्न नेताहरुले विभिन्न पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेका कारण  यस पटक चुनावी नतिजाको अंक गणितमा हेरफेर हुने निश्चित देखिन्छ । क्षेत्र नं. १ बाट विगतको चुनावमा निर्वाचित रामचन्द्र झा एमाले परित्याग गरी एमाओवादीबाट टिकट पाएका छन । एमाओवादीकै विद्रोही उम्मेदवार श्रवण वरबरिया, नेपाली कांग्रेसबाट दिनेश प्रशैला, एमालेबाट रत्नेश्वरलाल गोइत र फोरम लोकतान्त्रिकबाट उमाशंकर अरगरिया बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं.२ मा  एमाओवादीका रामचन्द्र मण्डल, नेपाली कांग्रेसका रामकृष्ण यादव, एमालेका भोला साह, तमलोपाका परमेश्वर साह र नेपाल सदभावनाका राजीव झा बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बिमलेन्द्र निधि, राष्टिूय मधेस समाजवादी पार्टीका राजु चौधरी, एमालेका जुली महत्तो, एमाओवादीका हरिदेव मण्डल बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नं. ४ मा सदभावना पार्टीका संजय साह, नेपाली कांग्रेसका रामसरोज यादव, तमलोपाका वृषेशचन्द्र लाल, एमाओवादीका अरबिन्द साह,एमालेका श्रीप्रसाद साह र राष्टिूय मधेस समाजवादी पार्टीका मनोज चौधरी बीच प्रतिस्पर्धा देखिदै छ । क्षेत्र नं.५ मा एमालेका रघुबिर महासेठ, तमलोपाका अनिता यादव,नेपाली कांग्रेसका चन्द्रमोहन यादव, एमाओवादीका बिजय यादव,फोरमका ज्ञानेन्द्र यादव बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं. ६ मा एमाओवादीका बोधमाया यादव, नेपाली कांग्रेसका प्रेमकिशोर प्रसाद साह, एमालेका योगनारायण यादव बीच प्रतिस्पर्धा देखिएको छ । 
नमुना मतदान
धनुषा प्रहरीले आशन्न संबिधानसभाको तिथी नजिकिदै गएपछि भयरहित बाताबरणमा मतदान सम्मपन  गराउनको लागि  सुरक्षाकर्मीलाई बिशेष प्रशिक्षण दिने कार्य सुरु गरेको छ ।प्रहरीले  जनकपुरको तिरुहुतिया गाछिमा नमुना मतदान केन्द्र बनाएर सुरक्षाकर्मीहरुलाई चरणबद्धरुपमा बिशेष प्रशिक्षण दिने कार्य सुरुगरेको हो ।   मतदान केन्द्रको सुरक्षा र व्यबस्थापन, मतपेटिका र कर्मचारीहरुको सुरक्षा, असहायहरुलाई सहजरुपमा मत खसाल्न पाउने बिशेष व्यबस्था, निर्बाचन बिथोलिने तत्वहरुको नियन्त्रण लगायतका बिषय बस्तुमा प्रशिक्षण केन्द्रित रहेको बताईएको छ । मतदानको क्रममा उत्पन्न हुन सक्ने सम्भाबित खतराहरुको सामना गर्नको लागि यो बिशेष अभियान थालिएको प्रहरी निरिक्षक गोबिन्द पुरीले जानकारी दिनु भयो । प्रशिक्षणको  पहिलो दिन १ सय २० जना प्रहरीको सहभागिता रहेको थियो । सर्बसाधारण्लाई शान्तिपुर्ण बाताबरण्मा सहज रुपमा मत खसाल्न पाउने अधिकारको सुनिश्चीतताका लागि धनुषाको सात वटा निर्बाचन क्षेत्रमा यस पटक ५ सय ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । 

मिति ः २०७०÷७÷३