Tuesday, March 21, 2017

मालपोत धनुषामा बढ्दो भ्रष्टाचार


बच्चा प्रसाद सिंहले अमर पजियारका श्रीमति सहित पाँच जनाको नाउँमा गरेको जग्गा रजिष्ट्रेशन ।
 त्यसमा नै व्यापक भ्रष्टाचार भएको बताइएको छ ।
अजय अनुरागी
जनकपुरधाम............
मालपोत कार्यालय धनुषामा व्यापक रकमको चलखेल हुने गरेको एकपटक फेरी पुष्टि भएको छ । धनुषा मालपोतका कर्मचारीले करोडौं रुपैयाँ लेनदेनमा जनकपुरको बहुमूल्य जग्गा अवैधानिक रुपले रजिस्टूेसन गरी हिनामिना गरेको खुलेको छ  ।
जनकपुर(१, रेलवे स्टेसनस्थित १ बिघा २ कट्ठा १० धुर १ कन्मा जग्गा १ चैत्र २०७३ मा बच्चाप्रसाद सिंहको नाउँमा रजिस्टूेसन पास भई सोही दिन फेरि अरुकै नाममा बिक्रीसमेत भएको छ । जनकपुर १६ का अमर पजियारकी श्रीमति सुनिता कुमारी साह, धनुषा बल्हाकठाल ८ का नन्द कुमार पजियारकी श्रीमति ममता कुमारी पुर्वे, जनकपुर १४ का रामनरेश यादवकी श्रीमति ज्ञानेश्वरी देवी यादव, धनुषा इनर्वा १६ का गौरी शंकर महतोकी श्रीमति उर्मिला पजियार र जनकपुर २ का झपेन्द्र प्रसाद यादवकी श्रीमति सिला देवी यादवको नाउँमा उक्त जग्गाको रजिष्टूेशन पास भएको हो । मालपोत कार्यालय धनुषाका रजिष्टूेशन फाँटका कर्मचारी शिवशरण पाण्डेका अनुसार पास भएको रजिष्टूेशनको सरकारी मुल्याङ्कन ४ करोड ७४ लाख रुपैयाँ भएको थियो । जसमध्ये साढे ४ प्रतिशत जनकपुर उपमहानगरपालिकाको कर काटेर २१ लाख ३३ हजार भएको थियो । जग्गा रजिष्टूेशन महिलाहरुको नाउँमा भएकोले महिलाले पाउने २५ प्रतिशत छुट बापत ५ लाख ३३ हजार २ सय ५० रुपैयाँ छुट गरी मालपोत कार्यालयमा कुल १५ लाख ९९ हजार ७ सय ५० रुपैयाँ राजश्व दाखिला गरिएको थियो ।
बच्चा प्रसाद सिंहले अमर पजियारका श्रीमति सहित पाँच जनाको नाउँमा गरेको जग्गा रजिष्ट्रेशन ।
 त्यसमा नै व्यापक भ्रष्टाचार भएको बताइएको छ ।
किर्ते सिफारिस पत्र
जनकपुर उपमहानगरपालिका भित्रको कुनै पनि जग्गा खरिद विक्री गर्नुभन्दा पहिले जनकपुर उपमहानगरपालिकाको कार्यालयले घर बाटो प्रमाणित भएको सिफारिस गर्नुपर्दछ । घर जग्गाको राजश्व उपमहानगरपालिकाको कार्यालयमा बुझाएको हुनुपर्दछ । तर, बच्चासिंहले बेचेको उक्त जग्गाको घर बाटो प्रमाणित गरिएको सिफारिस उपमहानगरपालिकाको कार्यालयबाट नभएको पाइएको छ । जनकपुर उपमहानगरपालिकाका इन्जिनियर विरेन्द्र यादवका अनुसार यस कार्यालयबाट उक्त जग्गाको लागि घर बाटोको प्रमाणित सिफारिस मालपोत कार्यालयलाई गएको छैन । तर पनि कसरी जग्गाको रजिष्टूेशन भयो भन्ने सवाल उत्पन्न भएपछि उपमहानगरपालिकाको कार्यालयले आन्तरिक रुपमा आफै पनि छानविन गरेको थियो । त्यसपछि उपमहानगरपालिकाको कार्यालयले २ चैत्र २०७३ मा दुई जना कर्मचारीलाई मालपोतमा पठाई घर बाटो सिफारिसको प्रमाणित प्रतिलिपी माग्न पठाए । तर, सोही दिन मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट कार्यालय प्रमुख राजकुमार लम्सालको नेतृत्वमा टोली खटि छापा मारेको थियो । छापामारीका कारण कुनै पनि कागजात उपमहानगरपालिकाको कार्यालयलाई नदिइएको इन्जिनियर यादव बताउँछन् ।
अख्तियारको टोलीले उक्त जग्गा रजिष्टूेशन सम्बन्धि सम्पुर्ण कागजात नियन्त्रणमा लिएर जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पनि अनुसन्धानका लागि पुगेका थिए । इन्जिनियर यादवका अनुसार अख्तियारको टोलीले २७ फागुन २०७३ को चलानी किताव सहित चलानी गरिएको ओसी कपी मागेका थिए । ११७५ नम्बरको चलानीको ओसी कपी मागिएको थियो । तर, जुन मितिको चलानी माग गरिएको थियो, र फागुन २०७३ बाट सुरु भएको चलानी नम्बर १००००बाट सुरु भएको पाइएको थियो । कार्यालयको चलानी कितावको अभिलेख अनुसार २७ फागुनमा १०७०० बाट चलानी सुरु भएको थियो । ११७५ नम्बरको चलानी नगरिएको अनुसन्धानबाट देखिएको थियो । तर, उपमहानगरपालिकाको कार्यालयबाट घर बाटोको प्रमाणित गरिएको सिफारिस पत्र भने अख्तियारको टोलीसँग रहेको थियो । यसले के प्रष्ट गर्छ भने उपमहानगरपालिकाको कार्यालयबाट औपचारिक रुपमा सिफारिस नगरिएपनि उपमहानगरपालिकाको कार्यालयको लेटर प्याड प्रयोग गरी २७ फागुन २०७३ मा घर बाटो प्रमाणित गरिएको सिफारिस कसै न कसैले रेकर्डमा उल्लेख नगरेपनि मालपोतलाई पठाएको देखिन्छ । इन्जिनियर यादवका अनुसार अख्तियारले देखाएको घर बाटो सिफारिसमा ६० हजार रुपैयाँको फुसको घर रहेको समेत उल्लेख छ । जबकी इन्जिनियर यादवले कार्यालयका अमिन खटाई स्थलगत निरीक्षण गराउँदा विक्री गरिएको १ विघा २ कठ्ठा १० धुर ३ कनमा जग्गामा कुल ४ वटा घरहरु रहेको पाइएको छ । २ वटा पुरानो घर रहेको छ जसको छानामा खपडा राखिएको छ भने बाँकी २ वटा घरहरुमा ५ इन्चको देवाल सहित जस्ताको छाना रहेको छ ।
जनकपुर उपमहानगरपालिकाको कार्यालयमा योजना शाखाका राजकुमार साह र अमिन त्रिभुवन साहले सिफारिस तयार गर्ने तथा उक्त सिफारिस शाखा अधिकृतहरु परमेश झा, ललन कुमार कर्ण र गणेश कुमार यादव मध्ये कुनै एक जनाले प्रमाणित गर्ने गरेको इन्जिनियर यादव बताउँछन् । उक्त जग्गाको कम्तिमा पनि ३५ देखि ४० लाख रुपैयाँसम्म राजश्व उपमहानगरपालिकाको कार्यालयले पाउनुपर्ने थियो । त्यो पनि छलि भएको यादव बताउँछन् । त्यसकारण अब अख्तियार आफैले छानविन सुरु गरेकाले सत्यतथ्य बाहिर आउने यादव बताउँछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका कार्यालय प्रमुख समेत रहेका प्रहरी उपरीक्षक लम्सालले द एक्सक्लुसिभसँग कुराकानी गर्दै सम्बन्धित कार्यालयहरुको सक्कल फाईल नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी वढाइएको बताएका छन् । सबै कागजात तथा फाइलहरु आयोगको केन्द्रिय कार्यालयमा पठाइएको तथा अनुसन्धानकै प्रक्रियामा रहेकाले त्यस सम्बन्धि थप कुराहरु अहिले बताउन नमिल्ने लम्सालले बताए ।
यता मालपोत कार्यालय धनुषाका प्रमुख रामबाबु मण्डलले आफुले कुनै पनि गैरकानुनी काम नगरेको दावी गरेका छन् । जनकपुर उपमहानगरपालिकाको कार्यालयले घर बाटोको प्रमाणित सिफारिस गरेकाले कानुनसम्मत जग्गाको रजिष्टूेशन भएको मण्डल बताउँछन् ।
अदालतले रोक्का राख्न भनेकै जमिन मालपोतद्वारा पास
बच्चा प्रसाद सिंह ।
जिल्ला अदालत सर्लाहीले गत मंसिर १६ गते मालपोत कार्यालय धनुषाको नाउँमा पठाएको पत्र फागुन २९ गते मालपोतले प्राप्त गरेको छ । उक्त पत्रमार्फत अदालतले बच्चा सिंहको नाउँमा दर्ता रहेको जनकपुर(१, सिट नम्बर १३५६१९ को कित्ता नम्बर ७१ को एक बिघा दुई कट्ठा १० धुर एक कनमा क्षेत्रफलसहितको जग्गा कुनै किसिमबाट हक हस्तान्तरण गर्न नपाउनेगरी अदालती बन्दोबस्ती १७१ (क) नम्बर बमोजिम रोक्का गर्न भनिएको छ ।
मालपोतले भने उक्त जग्गा बच्चाप्रसाद सिंहको नाउँमा दर्ता नै नरहेको २९ फागुनमा पत्रमार्फत अदालतलाई जवाफ फर्कायो । त्यसको अर्को दिन अर्थात् फागुन ३० गते होलीको बिदा थियो । धनुषा सोनिगामा(६ बस्ने रामहृदय साह तेली र जनकपुर(१ बस्ने बच्चाप्रसाद सिंहबीच लेनदेन बिगो मुद्दामा भएको आदेशअनुसार चैत १ गते मंगलबार सर्लाही जिल्ला अदालतले अर्को पत्र लेखेर फेरि सोही जग्गाको चार भागमध्ये एक भाग रोक्का गर्न अनुरोध गरेको छ । त्यसपछि १ चैत्र २०७३ मै मालपोतले सर्लाही जिल्ला अदालतलाई दिएको जवाफमा अदालतको उक्त पत्र मालपोत कार्यालयमा प्राप्त हुनु अघि नै चैत्र १ मै पारित राजिनामाले सुनिता कुमारी साह समेतको नाउँमा पास भएकोले उक्त जग्गा रोक्का नराखिएको जवाफ फर्काएको पाइन्छ ।
मालपोतले दुई दिनअघिसम्म सिंहको नाउँमा दर्ता नै नरहेको भनिरहेको जग्गा अदालतबाट अर्को पत्र आएकै दिन सिंहको नाउँमा रजिस्टूेसन पास गरी सोही दिन अन्य पाँच जनाको नाउँमा बिक्रीसमेत गरिसकेको कागज तयार पारिएको थियो  ।
यो जग्गाको मूल्य प्रतिकट्ठा २२ लाख निर्धारण गरिएको छ ।सोही मूल्यांकन हिसाबले पनि यो जग्गा २२ लाख प्रतिकट्ठाको दरले साढे २२ कट्ठाको करिब पाँच करोड रुपैयाँ हुन्छ । तर, सो कारोबार बैंकमार्फत नभएको मण्डल स्वयं स्विकार्छन् । अर्कोतिर चलनचल्तीको हिसाबले घटीमा डेढ करोड रुपैयाँ प्रतिकट्ठाको दरले बिक्री हुने जग्गाको मूल्य मालपोतमा राजस्व छल्न कम मूल्यांकन गरिएको आरोप स्थानीयको छ ।
मालपोत कार्यालयले जतिसुकै महत्वपूर्ण व्यक्तिले जग्गा खरिद र बिक्री गर्दा पनि घटीमा तीन दिनपछि मात्रै लालपुर्जा दिने गरेको छ । सर्वसाधारणले त जग्गा पास भएको एक साताभन्दा पहिले लालपुर्जा पाएको रेकर्ड नै छैन । त्यस्तै, कुनै व्यक्तिले जग्गा खरिद वा कुनै किसिमले स्वामित्व ग्रहण गर्दा सोही दिन उक्त जग्गा बिक्री गर्न नपाउने मालपोतको प्रावधान छ । तर, सो जग्गामा यो नियम पनि लागू भएको छैन । यसले कारोबारमा ठूलै आर्थिक लेनदेन भएको थप पुष्टि हुन्छ ।
के हो बास्तविक कथा ?
जग्गा धनि बच्चा प्रसाद सिंह बास्तवमा भारतीय नागरिक हुन । उनी भारतको विहार राज्यको मुझफ्फरपुरका बासिन्दा हुन । तर, उनी नेपाल रेल्वे मार्फत नेपालको काठ भारत ढुवानी गर्ने बेला जनकपुर आएका थिए । त्यही समयमा उनले धन आर्जन गरी नेपालको नागरिकता समेत प्राप्त गरी जग्गाहरु किनेको बताइन्छ । जग्गा धनिको प्रमाण पत्रमा बच्चा प्रसाद सिंहले २०३४ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेको देखिन्छ । १८०८÷३९६९७७०४ नागरिकता नम्बर रहेको पाइन्छ । उनको नागरिकतालाई लिएर मुद्दा पनि परेको र सर्बोच्च अदालतबाट २०६७ सालमा बच्चा सिंहले सफाई पनि पाएको बताइन्छ । यद्यपि उनको नागरिकता सम्बन्धि अभिलेखको खोज ीगर्न जाँदा जिल्ला प्रशासन कार्यालयमा भेट्न सकिएन । पुरानो अभिलेखहरु च्यातिएको हुनाले खोज्न कठिन भएको प्रशासकिय अधिकृत दिपक कुमार कर्णले बताए ।
ठगिए कृष्ण गिरी
बच्चा सिंहको जनकपुरको
अर्को दुई कित्ता जमिन
अदालतबाट  रोक्का गरिएको छ ।
कृष्ण गिरी जनकपुरका पुर्व मेयर हुन । नेपाली कांग्रेसका नेता समेत रहेका गिरी जनकपुरमा संचालित रामा होटेलका मालिक पनि हुन । बच्चा सिंहले अमर पजियार सहित ५ जना व्यक्तिका श्रीमतिहरुको नाउँमा रजिष्टूेशन गरिदिएको जग्गा किन्नका लागि पुर्व मेयर गिरी सहित थुपै्र व्यक्तिहरुले बयना दिएका थिए । कृष्ण गिरीको भनाई अनुसार उक्त जग्गा किन्नका लागि ३ बर्ष अघि नै बच्चा सिंहलाई साढे ५ करोड रुपैयाँ बयना दिएको थियो । तर, बच्चा सिंहले आफुहरुलाई उक्त जग्गा पास नगरिकन अरु व्यक्तिहरुलाई पास गरेर आफुहरुलाई ठगि गरेको हुनाले अदालतबाट कानुनी उपचार खोज्ने बताएका छन् । जग्गा रजिष्टूेशनका लागि मालपोत कार्यालयमा रामबाबु मण्डललाई आफुले नै ल्याएको दावी गर्ने गिरी भन्छन,“ बच्चा सिंहसँग आफ्नो पारिवारिक सम्बन्ध थियो । अस्पताल बनाउनका लागि उक्त जग्गा किन्ने उद्देश्यले साढे ५ करोड रुपैयाँ बयना पनि दिएको थिएँ । मन्त्रीलाई भनेर मालपोत धनुषामा कार्यालय प्रमुखको रुपमा मण्डललाई पनि ल्याएँ । तर, मण्डलले ठुलो आर्थिक प्रलोभनमा परेर जग्गा अरुको नाउँमा रजिष्टूेशन गराएका छन् । यतिसम्म कि रजिष्टूेशन गरिएको दिन जग्गा विक्रेता बच्चा सिंह नआएर पनि पास गरिदिएका छन् ।”
उक्त जग्गा पास नभएपछि गिरीले धनुषा जिल्ला अदालतमा लेनदेनको मुद्दा गरी बच्चा सिंहको जनकपुरमा रहेको अरु जमिनहरुमा रोक्का गर्न लगाएका छन् । ३ चैत्र २०७३ मा धनुषा जिल्ला अदालतले बच्चा प्रसाद सिंह राजपुतको नाउँमा दर्ता रहेको जनकपुर १ को कित्ता नं. १४८ को सिट नं. १३५६२४को १९ कठ्ठा १५ धुर १ कनमा र किता नम्बर ६९ को १३५६१९ सिट नं.को १ विघा ७ कठ्ठा ३ धुर ३ कनमा जग्गा अदालतको अर्को आदेश वा व्यवस्था नभएसम्मको लागि जग्गा रोक्का राखिदिने मालपोत कार्यालय धनुषालाई जिल्ला अदालतले आदेश गरेको छ ।
अमर पजियारको भनाई
अमर पजियार ।
बच्चा सिंहको जग्गा किनेका अमर पजियार जनकपुर १६ कपिलेश्वरका जग्गा व्यवसायी हुन । २०४८ साल देखि २०५३ सालसम्म जनकपुर नगरपालिकाका वडा अध्यक्ष रहेका विक्रम पजियारका छोरा समेत रहेका अमर पजियारको भनाई अनुसार आफुहरुले बच्चा सिंहबाट कानुन सम्मत नै सबै प्रक्रिया पुर्याएर जग्गा किनेको हो । १ करोड ३९ लाख रुपैयाँ बयना दिएर उक्त जग्गा किनेको तथा जग्गा रजिष्टूेशन भएको दिन बच्चा सिंह मालपोत कार्यालय धनुषामा आफै आएर जग्गा बेचेको पजियारको दावी छ । जहाँसम्म जनकपुर उपमहानगरपालिकाको कार्यालयले सिफारिस गरेको घर बाटो प्रमाणितको कागजातको कुरा छ त्यो विक्रेताले नै व्यवस्था गर्ने कागजात रहेकाले त्यसमा आफ्नो कुनै हात नरहेको भन्दै पजियार भन्छन,“ मलाई जहाँसम्म जानकारी छ घर बाटोको प्रमाणित सिफारिस कृष्ण गिरीले नै गराईदिएको हो । उनी पुर्व मेयर समेत भएकाले उनले त्यसो गरेका हुन । रह्यो कुरा रजिष्टूेशन तोडाउने सवाल, त्यो न्यायपालिकाले गर्ने निर्णय पछि देखिने छ ।”

मालपोत धनुषामा घुसखोरी र भ्रष्टाचारको श्रृङ्खला
धनुषा जिल्लाको सरकारी कार्यालयहरुमा घुसखोरी बढेको छ । प्रायः जसो सरकारी कार्यालयहरुमा घुस नलिई कामै नगर्ने कर्मचारीहरुमा प्रवृति बढेको छ । सबैभन्दा वढी घुसखोरी हुने कार्यालयको रुपमा मालपोत कार्यालय रहेको छ । मालपोत कार्यालय धनुषामा बेला बखत घुस सहित रंगेहात कर्मचारीहरु पक्राउ परिरहेका छन् । कतिपय कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोलीले घुस लिँदै गर्दा रंगेहात पक्राउ गर्न सफल पनि भएका छन् । कतिपय कर्मचारीहरुले भ्रष्टाचार गरेको अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको अवस्थामा अदालतबाट ती कर्मचारीहरु भ्रष्ट ठहर  समेत भएका छन् । यी सबै घटनाक्रमले पनि के पुष्टि गर्छ भने धनुषाको मालपोत कार्यालय र नापी कार्यालयमा सबैभन्दा वढी घुसखोरी छ ।
५ हजार घुस सहित पक्राउ
जिल्ला मालपोत कार्यालय धनुषाका नायव सुब्बा राधेश्याम ठाकुरलाई अक्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट लिएको पाँच हजार घुस सहित ९ माघमा पक्राउ गर्यो । आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट एसपी राजकुमार लम्साल नेतृत्वको नेतृत्वमा आएको  टोलीले पाँच हजार घुससहित नासु ठाकुरलाई रंगेहात पक्राउ गरेको थियो ।
धनुषा रघुनाथपुरका एक घरपरिवारका ५ जना दाजुभाईको जग्गा अंशबण्डाको काम गर्न पाँच हजार घुस लिँदै गरेको बेला नासु ठाकुरलाई पक्राउ गरेको आयोगका एसपी लम्सालले बताए । लेखापढी व्यवसायी देवेन्द्र ठाकुरले सबै प्रक्रिया पुर्याएर कागजात पेश गर्दा पनि नासु ठाकुरले पाँच हजार रुपैँया घुस दिए मात्रै काम गर्ने भने पछि सेवाग्राहीले आयोगको कार्यालयमा निवेदन दिएका थिए । जग्गाको मूल्यांकन अनुसार  राजश्व बुझाउँदा पनि अन्य पक्रिया अगाडी बढाउन पाँच हजार घुस मागेको सेवाग्राहीले आयोगमा उजुरी गरेपछि आयोगको टोली खटिएको थियो  । नासु ठाकुरर्लाइ  पक्राउ गरि नियन्त्रणमा राखेको र भ्रष्टाचार ऐन अनुसार विशेष अदालतमा मुद्दा दायर गरिने आयोगले जनाएको छ ।
लेखापढी व्यवसायीद्वारा कामकाज ठप्प
जिल्ला मालपोत कार्यालय धनुषामा काम गर्ने लेखापढी व्यवसायीहरुलाई कार्यालय परिसर भित्र प्रवेश नदिने भन्ने विषयलाई लिएर लेखापढी व्यवसायीहरुले ११ माघमा काम ठप्प पारे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका एसपी राजकुमार लम्सालले अहिले पनि तपाईको कार्यालयमा घुसखोरी भइरहेको गुनासो आएकोले त्यस्ता दलालहरुलाई कार्यालय परिसर भित्र प्रवेश निषेध गर्न भन्दै मालपोत कार्यालयका निमित कार्यालय प्रमुख गणेश चन्द्र मिश्रलाई निर्देशन दिएका थिए । त्यस पश्चात मिश्रले लेखापढी व्यवासायीका प्रतिनिधीलाई बोलाएर प्रवेश नगर्ने भनेर माईनेटमा निर्णय गराउन लाग्दा व्यवसायीहरुले विरोध जनाएका थिए । त्यसपछि उनीहरुले आफ्नो कामकाज  पूर्णरुपमा ठप्प पारेका थिए ।
लेखापढी व्यवसायीका अध्यक्ष श्रीनारायण ठाकुरका अनुसार आफुहरु कार्यालय भित्र प्रवेश नगर्ने तर झ्यालमा उभिएर जनताको कामकाज गराउन कानुनले समेत अधिकार दिएकाले अफुहरुले उक्त निर्णयमा हस्ताक्षर नगरेको बताए । बरु जनताले आफै काम गराउने हो भने त्यसका लागि समेत आफुहरु तयार रहेको र लेखापढीको मात्र काम गर्ने बताए । कार्यालय बन्द होस् भन्ने आफुहरुको चाहना नरहेको तथा कार्यालयमा हुने घुसखोरी आफुहरु मार्फत नभएर बाहिरबाट आउने दलालहरु मार्फत हुने गरेको दावी गरे । उक्त कार्यालयका निमित प्रमुख मिश्रले आफु नेपाल सरकारका कर्मचारी भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको निर्देशनलाई पालना गर्दै लेखापढी व्यवसायीहरुलाई राखेर निर्णय गर्न खोजेको बताए ।
मालपोतका ८ जना कर्मचारी भ्रष्टाचारी ठहर
विशेष अदालतले धनुषा मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत रामनरेश राय सहित १२ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशत्रय भुपेन्द्र प्रसाद राई, पवन कुमार शर्मा र प्रभा बस्नेतको इजलासले ६ माघमा १२ जनालाई भ्रष्टाचारी ठहर गर्दै जनही ३ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
जनकपुर स्थित गिरनारी कुट्टीका तत्कालिन महन्थ रवि गिरीको मृत्यु पश्चात गुठी संस्थानको हक भोगमा आएको धनुषा जिल्ला बसहिया गाउँ विकास समिति वडा नं. ९ कित्ता नं. ३२ को १ विघा ३ कठ्ठा १५ धुर जग्गालाई नक्कली कागजात प्रमाण तयार गरी स्थानीय पंचा महतो कोइरीको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ जेष्ठ २०७२ मा मुद्दा दर्ता गरेको थियो । उल्लेखित जग्गा धनुषाको भएपनि सिरहा मालपोत कार्यालयबाट पारित गराइएको र त्यस कार्यमा दुवै जिल्लाका मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतो रहेको पाइएको विशेष अदालतले जनाएको छ । भ्रष्टाचार जन्य कसुर अपराध गरेको पाइएपछि धनुषाका मालपोत अधिकृत राय तथा नायव सुब्बाहरु परमेश्वर प्रसाद साह, अरुण कुमार ठाकुर, मोहन दत्त कायस्थ र सिरहा मालपोत कार्यालयका नायव सुब्बाहरु मुकुन्द प्रसाद कोइराला, गंगा प्रसाद साह र हरिनारायण ठाकुर एवम खरिदार राजकिशोर चौधरीलाई जनही ३ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको हो । त्यसैगरी मालपोत कार्यालय धनुषाकै तत्कालिन मालपोत अधिकृत मदन कुमार झा, नायव सुब्बा जिवछ यादव र सुशिल कर्ण १० अषाढ २०७२ देखि भ्रष्टाचारको मुद्दामा निलम्बन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती कर्मचारीहरु विरुद्ध पनि भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेका छन् ।
२५ वर्षदेखि नक्कली कर्मचारी कुर्सीमा
जिल्ला मालपोत कार्यालय धनुषामा कर्मचारी नै नभएका नक्कली कर्मचारी २५ वर्षदेखि घुसखाँदै काम गर्दै आईरहेका छन् । कार्यालयको तामेली फाँटमा फेला परेका कृष्ण श्रेष्ठ नामका ती कथित कर्मचारी २५ वर्षभन्दा बढी समयदेखि सरकारी कर्मचारी भएको दावी गर्दै सेवाग्राहीसंग घुस लिदै काम गर्दै आएका छन् । तर ती व्यक्ति कर्मचारी हो वा होइन यस विषयमा कायालय प्रमुखका साथै अन्य कर्मचारीहरुसमेत अनभिज्ञ छन् ।  नक्कली कर्मचारी श्रेष्ठले काम गरि दिए वापत प्रत्येक सेवाग्राहीसंग सयदेखि हाजारौ रुपैँयासम्म घुस लिने गरेका सेवाग्राहीहरु बताउँछन् । एक जना सेवाग्राही रामएकवाल महतोको काम गरि दिए वापत दुई सय रुपैँया लिएको बेला पुगेका सञ्चारकर्मीले पैसा लिएको विल खै ? प्रश्न गर्दा उनले भने “ आफु यसैबाट तलब खाने गरेको छु । ”
कुनै पदमा नभएका ती कथित कर्मचारीले आफु यस कार्यालयमा २५ वर्ष भन्दा बढी समयदेखि कार्यरत रहेको दावी गरे । उनले केहि दिनदेखि तामेली फाँटमा कर्मचारीको अभावको कारण आफुले त्यसै फाँटका नायव सुब्बा रामदेव यादवलाई सघाईरहेको बताए । उनले आफु यस कार्यालयको कुनै पदमा नरहेको तर आफुसंग लेखापढी कानुन व्यवसायीको प्रमाणपत्र रहेको प्रतिक्रिया दिए । यता सोहि फाँटमा कार्यरत्त रामदेव यादवले ती कर्मचारी पहिलादेखि नै काम गरि रहेको बताए ।  
मालपोत कार्यालय धनुषाका श्रेस्ता फाँटका नायव सुब्बा शिवशरण पंडित काम गरिदिए वापत सेवाग्राहीसँग खुलेआम घुस मागेर लिएको भिडियोसहित फेला परेका थिए । कार्यालयमा काम गरेवापत एक सेवाग्राहीसँग एक सय रुपैयाँ घुस मागेर लिईरहेको उक्त भिडियोमा स्पष्ट देखिएको थियो । घुस लिएको बेला नै कर्मचारीसँग के शिर्षकमा पैसा लिएको प्रतिक्रिया लिँदा आफुले सापटी लिएको बताए । तर उनले काम गरेवापत घुस मागेर लिएको प्रत्यक्ष रुपमा देखियो । यस सम्बन्धमा कार्यालयका तत्कालिन निमित प्रमुख मदनकुमार झाले सुब्बा पडित घुस लिएको प्रमाणित भए कारबाही गर्ने बताए । उनले यस अघि पनि घुस लिएको प्रमाणित भएपछि केहि कर्मचारी माथि  कारबाही गरिएकोेले पंडित उपर पनि कारबाही गर्ने बताए । तर, पछि कसैलाई पनि कारवाही भएन ।
यस अघि भदौ १८ गते उक्त कार्यालयका तामेली फाँटका खरिदार तृपित झा घुस लिएको भिडियो फेला परेपछि समाचार प्रकाशित भएपछि पाँच दिन मात्र अवकाश पाउन बाँकी रहेका झालाई  कारबाही गरी कामको जिम्मेवारीबाट समेत हटाईएको थियो । श्रोतका अनुसार कार्यालयको सम्पूर्ण कर्मचारीहरुले आन्तरिक रुपमा सेवाग्राहीबाट घुस लिन सहमति नै गरेका छन् । कर्मचारीहरुले सेवाग्राहीबाट लिएको घुस दैनिक ,सप्ताहिक र मासिक रुपमा कार्यालयका उच्च तहका कर्मचारी तथा यसलाई नियन्त्रण गर्ने नियकायहरुलाई समेत कमिसन दिने गरेको छ ।   
खुलेआम घुसखोरीको अड्डा मालपोत कार्यालय भएपछि सेवाग्राही दिन प्रति दिन घुस दिन बाध्य हुदै गएको प्रष्ट देखिन्छ । घुस नदिए यो पुगन, त्यो पुगेन भन्दै कर्मचारीहरुले विभिन्न बहानाबाजी गर्दै सेवाग्राहीलाई सास्ती दिने गरेको व्यापक जनगुनासो छ । तर पनि प्रशासनिक नियकाय मुकदर्शक भएकोमा सर्वसाधारणहरु पनि आश्चर्यमा परेका छन् ।  




२०७३ चैत्र ०६ गते आईतबार

धनुषामा १७ स्थानीय तह, ठाउँ–ठाउँमा विरोध


लोहनालाई नगराईन नगरपालिकाबाट हटाएर जनकपुर उपमहानगरपालिकामा
राख्न भन्दै जनकपुरमा लोहनाका
स्थानीयवासीहरुद्वारा प्रदर्शन ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्लामा अब कुल १७ वटा मात्र स्थानीय तह कायम गरिएको छ । जनकपुर उपमहानगरपालिका, क्षिरेश्वर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, नगराईन नगरपालिका, विदेह नगरपालिका, मिथिला नगरपालिका, सहिदनगर नगरपालिका, सबैला नगरपालिका, कमला सिद्धीदात्री गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला विहारी गाउँपालिका, लक्ष्मिनियाँ गाउँपालिका, हंशपुर गाउँपालिका र औरही गाउँपालिका कायम  गरिएको छ ।
जनकपुर उपमहानगरपालिका अन्तरगत साविकको जनकपुर उपमहानगरपालिकाको वडाहरुसँगसँगै अन्दुपट्टी वडा नं. ६,७,८,९ र मानसिंहपट्टीको वडा नं. १,२,३,४,५लाई समावेश गरी कुल २४ वटा वार्डहरुलाई कायम गरिएको छ ।  साविकको जनकपुर उपमहानगरपालिकाको वडा नं. २६ दुई अलग अलग खण्डमा रहेकोमा सो मध्ये जमुनिया टोललाई उपमहानगरपालिकाको प्रस्तावित वडा नं. १९ मा र गोपालपुरको बाँकी भागलाई क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. १० मा विभाजन गरिएको छ । जनकपुर सदरमुकाम रहनेगरी उक्त प्रस्ताव गरिएको उक्त उपमहानगरपालिकामा १ लाख ५३ हजार ६ सय १४ कुल जनसंख्या रहेको छ । उक्त उपमहानगरपालिकाको क्षेत्रफल ८५.९९ बर्गकिलोमिटर रहेको छ ।
रघुनाथपुर गाविसलाई छुट्टै गाउँपालिका
बनाउनुपर्ने माग गर्दै संघर्ष समिति ।
त्यसैगरी मिथिला नगरपालिका अन्तरगत साविकको मिथिला नगरपालिका, तुल्सी, पुष्पवलपुर गाविस र क्षिरेश्वर नगरपालिकाको वडा नं. ८ र ९लाई समावेश गरिएको छ । मिथिला नगरपालिकाको कुल जनसंख्या ४१ हजार ३० रहेको छ । साविक मिथिला नगरपालिकाको कार्यालय ढल्केवरमा केन्द्र कायम गरिएको छ ।  १८१.९० बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकामा कुल १० वटा वडा कामय गरिएको छ ।
त्यसैगरी क्षिरेश्वर नगरपालिका अन्तरगत साविकको क्षिरेश्वर नगरपालिकाको वडा नं. ८,९ बाहेक शान्तिपुर गाविस र जनकपुर उपमहानगरपालिकाको वडा नं. २६ गोपालपुरलाई समावेश गरिएको छ । उक्त नगरपालिकाको कुल जनसंख्या ४७ हजार ४ सय ५३ रहेको छ । ६०.३९ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविकको क्षिरेश्वर नगरपालिकालाई कायम गरिएको छ । उक्त नगरपालिकामा कुल ११ वटा वडा कायम गरिएको छ ।
त्यसैगरी धनुषाधाम नगरपालिका अन्तरगत साविकको धनुषाधाम नगरपालिका र भुतहीपटेर्वा गाविसलाई समावेश गरिएको छ । धनुषाधाम नगरपालिकाको कुल जनसंख्या ४५ हजार ६ सय ६५ रहेको छ । ९१.६४ वर्गकिलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकामा कुल वडा संख्या ९ कायम गरिएको छ भने केन्द्र साविकको धनुषाधाम नगरपालिकाको कार्यालयलाई बनाइएको छ ।
त्यसैगरी सबैला नगरपालिका अन्तरगत साविकको सबैला नगरपालिका, पटेर्वा, रघुनाथपुर वडा नं. १ देखि ८, कजरारमौल वडा नं. ६ देखि ९ र खरिहानी वडा नं. १ देखि ५ र ७ देखि ९ वडालाई समावेश गरिएको छ । सबैला नगरपालिकाको कुल जनसंख्या ४५ हजार ८ सय ७९ रहेको छ । ६४.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविक सवैला नगरपालिकाको कार्यालयलाई कायम गरिएको छ भने उक्त नगरपालिकाको कुल वडा संख्या १३ कायम गरिएको छ ।
त्यसैगरी गणेशमान चारनाथ नगरपालिका अन्तरगत साविकको गणेशमान चारनाथ नगरपालिका र रघुनाथपुर गाविसको  वडा नं. ९ लाई समावेश गरिएको छ । ३७ हजार ३ सय कुल जनसंख्या रहेको उक्त नगरपालिकाको प्रस्तावित केन्द्र साविकको गणेशमान चारनाथ नगरपालिकाको कार्यालयलाई कायम गरिएको छ भने कुल ११ वटा वडाहरु  कायम गरिएको छ ।
नगराईन नगरपालिका अन्तरगत जनकपुर उपमहानगरपालिका वडा नं. १७ लोहना, नगराईन, घोडघास, लगमागाडागुठ्ठी, देवडिहा, बहुअर्वा र फुलगामा गाविसहरुलाई समावेश गरिएको छ । ४७ हजार ६ सय २८ कुल जनसंख्या रहेको उक्त नगरपालिकामा कुल १० वटा वडासंख्या कायम गरिएको छ । ४९.१९ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविकको नगराईन गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी विदेह नगरपालिका अन्तरगत चक्कर, बफैं, गिद्धा, दुहवी, एकराही, ठाढीझिझा, इटहर्वा गाविसहरुलाई समावेश गरिएको छ । कुल ३८ हजार ८ सय ७७ जनसंख्या रहेको उक्त नगरपालिकामा कुल १० वटा वडाहरु कायम गरिएको छ । ५२.६७ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविकको गिद्धा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
स्थानीय तह कार्यान्वयनमा आएको छ ।
नयाँ गाउँपालिका र नगरपालिकाले नयाँ तहको
लेटर प्याडमा काम सुरु गरेको छ ।
त्यसैगरी सहिदनगर नगरपालिका अन्तरगत ननुपट्टी, यदुकुहा, पचहर्वा, चोराकोयलपुर, बालाबाखर, गोठकोयलपुर, हठ्ठिपुर हडवारा, विषरभोरा र धबौली गाविसलाई समावेश गरिएको छ । ४३ हजार ७ कुल जनसंख्या रहेको उक्त नगरपालिकामा कुल ९ वटा वडाहरु कायम गरिएको छ । ५७.३७ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविकको यदुकुहा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी कमला सिद्धीदात्री गाउँपालिका अन्तरगत दुवरकोट हथलेटवा, माचिझिटकहिया, लक्कर, बल्हासघारा, हरिने, सिंग्याही मडान गाविसहरुलाई समावेश गरिएको छ । ३८ हजार ८ सय ७७ कुल जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ६ वटा वडासंख्या कायम गरिएको छ । ६५.८५ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको माचिझिटकहिया गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी जनकनन्दिनी गाउँपालिका अन्तरगत खजुरी चनहा, प्रखे महुवा, पतनुका, बल्हा कठाल, बल्हा गोठ र इनरुवा गाविसहरुलाई समावेश गरिएको छ । कुल २५ हजार ८५ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ६ वटा वडा संख्या कायम गरिएको छ । २७.६२ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको खजुरी चनहा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी बटेश्वर गाउँपालिका अन्तरगत लक्ष्मीनिवास, भुचक्रपुर, बटेश्वर र बेंगाडावरलाई समावेश गरिएको छ । १९ हजार ६ सय ७९ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ५ वटा वडासंख्या कायम गरिएको छ । २८.१४ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको बटेश्वर गाविसको कार्यालयलाई कायम गरिएको छ ।
स्थानीय तह कार्यान्वयनमा आएको छ ।
नयाँ गाउँपालिका र नगरपालिकाले नयाँ तहको
लेटर प्याडमा काम सुरु गरेको छ ।
त्यसैगरी मिथिला विहारी गाउँपालिका अन्तरगत भुतही पटेर्वाको १ देखि ८ नम्बर वडासम्म, मिथिलेश्वर निकास, अन्दुपट्टीको वडा नं. १ देखि ५, तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेराकचुरी र कजरा रमौलको १ देखि ५ वडासम्म समावेश गरिएको छ । ३३ हजार ५ सय २१ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल १० वटा वडासंख्या कायम गरिएको छ । ३७.६० बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको तारापट्टी सिरसिया गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी मुखियापट्टी मुसहरनिया गाउँपालिका अन्तरगत मुखियापट्टी मुसहरनिया, बहेडाबेला, तुल्सीयाही जब्दी, तुल्सीयाही निकास र नगराईनको वडा नं. ५लाई समावेश गरिएको छ । २५ हजार ४ सय ८२ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ६ वटा वडासंख्या कायम गरिएको छ । २६.८४ बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको तुल्सीयाही जब्दी गाविसको कार्यालयलाई कायम गरिएको छ । त्यसैगरी लक्ष्मिनियाँ गाउँपालिका अन्तरगत जनकपुर उपमहानगरपालिकाको वडा नं. २५, सिनुरजोडा, सपही र बनिनिया गाविसलाई समावेश गरिएको छ । २८ हजार २ सय ५१ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ७ वटा वडासंख्या कायम गरिएको छ । ३०.६६ बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको लक्ष्मीपुर बगेवा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी हंसपुर गाउँपालिका अन्तरगत मानसिंहपट्टीको वडा नं. ६ देखि ९, बघचौरा, हंसपुर कठपुल्ला, सुगा निकास, झटियाही, नौवाखोर पर्साही, सुगा मधुकरही र सोनिगामा गाविसलाई समावेश गरिएको छ । ३९ हजार १ सय ४५ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ८ वटा वडासंख्या कायम गरिएको छ । ४८.७१ बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको बघचौरा गाविसको कार्यालयलाई कायम गरिएको छ । त्यसैगरी औरही गाउँपालिका अन्तरगत  पौडेश्वर, औरही, देउरी परवाहा, झोझी कटैया, लखौरी र धनौजी गाविसलाई समावेश गरिएको छ । ३२ हजार २ सय ९४ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ८ वटा वडासंख्या कायम गरिएको छ । ३६.३२ बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको देउरी परवाहा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
सबै स्थानीय तहमा खटिए कर्मचारी
 नेपाल सरकारले स्थानीय तह कायम गरे लगत्तै जिल्ला समन्वय समिति धनुषाले नयाँ कायम गरिएका गाउँपालिका र नगरपालिकाहरुमा कार्यकारी अधिकृतको रुपमा साविकको गाविस सचिवहरुलाई खटाइएको छ । नगराईन नगरपालिकामा सत्यनारायण प्रतिहस्त, विदेह नगरपालिकामा केवल कुमार दास, सहिदनगर नगरपालिकामा विन्देश्वर यादव, कमला सिद्धीदात्री गाउँपालिकामा देवकुमार गोहिवार, जनक नन्दिनी गाउँपालिकामा बासुकिनाथ झा, बटेश्वर नगरपालिकामा रघुराम कार्की, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पुष्पलाल ठाकुर, लक्ष्मिनियाँ गाउँपालिकामा रामलखन यादव, हंसपुर गाउँपालिकामा धर्मराज जोशी, मिथिला विहारी गाउँपालिकामा बजरंग चौधरीलाई कार्यकारी अधिकृतको रुपमा खटाइएको छ । खटिएका ती कर्मचारीहरु नायव सुब्बा हुन । जिल्ला समन्वय समिति धनुषाका प्रशासन फाँटका कर्मचारी ज्ञानेन्द्र कुमार झाका अनुसार कतिपय गाउँपालिकाको कार्यालयहरुले नयाँ गाउँपालिका तथा नगरपालिकाको कार्यालयको नयाँ लेटर प्याड सहित काम कारवाही  अगाडी वढाएको छ ।
विभिन्न ठाउँमा विरोध
नेपाल सरकारले कायम गरेको स्थानीय तहको संरचनालाई लिएर धनुषाका कतिपय गाउँहरुमा व्यापक विरोध भएको छ । जिल्ला समन्वय समिति धनुषाका अधिकृत स्तरका एक जना कर्मचारी सुनिल कुमार झाका अनुसार कतिपय ठाउँबाट स्थानीय संरचना संशोधन गर्नू भनेर लिखित उजुरी नै दिएका छन् ।
बालाबाखरमा विरोध
२ चैत्र २०७३ मा धनुषाका स्थानीय विकास अधिकारीलाई बालाबाखर गाउँका विभिन्न पार्टीका प्रतिनिधिहरुले लिखित ज्ञापन बुझाएर स्थानीय संरचना सच्याउन माग गरेका छन् । सहिदनगर नगरपालिकामा पर्न गएको बालाबाखर गाविसमा हाल मतदाता संख्या ६ हजार ३ सय रहेकोले उक्त गाविसलाई एउटै वार्ड बनाइएको हुँदा आम जनताहरुलाई धेरै मर्का परेको भन्दै बालाबाखर गाविसमा पर्ने चिरैया गाउँको वडा नं. २,३,९ र कुम्भकरणको वडा नं. ६,७ गरी कुल ५वटा वडाको एक वार्ड र बालाबाखर गाउँमा पर्ने वडा नं. ४,५, बेमर्खी वडा नं. १ र मुसहरीटोल वडा नं. ८ समेत जम्मा ४ वटा वडा बनाई जम्मा २ वटा वडामा संशोधन गरिदिनका लागि बालाबाखरका नयाँ शक्ति पार्टीका भरत यादव, नेपाली कांग्रेस गाउँ इकाई सभापति तेजीलाल यादव, एमाले जिल्ला कमिटि सदस्य सुरेश यादव, नेकपा माओवादी बालाबाखरका अध्यक्ष जगदेव यादव, फोरम लोकतान्त्रिक जिल्ला कमिटि सदस्य रामकुमार यादव सहितको संयूक्त हस्ताक्षर गरिएको छ ।
दुवरकोट हथलेटवामा पनि विरोध
कमला सिद्धीदात्री गाउँपालिकामा समावेश गरिएको दुवरकोट हथलेटवालाई लिएर पनि विरोध भएको छ । सिंगो गाउँलाई एउटै वडा बनाइएकोले गाउँका जनतामा मर्का पर्न गएको हुनाले  उक्त गाउँका वडा नं. १,२,३,४ र वडा नं. ६ नरहा गाउँ समेत जम्मा ५ वटा वडालाई एक वडा बनाई र मंगराहा गाउँमा पर्ने वडा नं. ५,७,८ र ९ समेत जम्मा वडा ४ को एक  वडा बनाई दुवरकोट हथलेटवालाई जम्मा २ वटा वडामा संशोधन गर्न स्थानीय विकास अधिकारी सन्तबहादुर सुनारसँग माग गरिएको छ । दुवरकोट हथलेटवाका नयाँ शक्ति पार्टी नेपालका राम प्रकाश यादव सदभावना पार्टीका केन्द्रिय सदस्य हरेराम मण्डल, फोरम लोकतान्त्रिक गाउँ इकाई कमिटिका अध्यक्ष हरिदेव मण्डल, नेपाली कांग्रेस गाउँ इकाई कमिटिका उपसभापति गंगाराम यादव र संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अरुण कुमार सिंह मण्डलले ज्ञापन बुझाई सच्याउन माग गरेका छन् ।
प्रस्तावित केन्द्रलाई लिएर विरोध
हंसपुर गाउँपालिकाको प्रस्तावित केन्द्र साविकको बघचौरा गाविसको कार्यालयलाई कायम गरिएपछि हंसपुरका स्थानीयबासीहरुले विरोध गरेका छन् । प्रस्तावित केन्द्र बघचौरा उक्त गाउँपालिकामा समावेश गरिएका गाविसहरुको धेरै पश्चिम, दुर्गम, असहज र भौगोलिक हिसावले कठिनाई भएका कारण संशोधन गरी प्रस्तावित केन्द्र हंसपुर चौक, कृषि बजार, प्रहरी चौकी आवत जावतको चारैतिरबाट जोडिएको केन्द्र ठाउँ भएकोले सबै गाविसहरुको मध्य बीच भाग भएकोले हंसपुर चौकलाई नै केन्द्रको रुपमा संशोधन गरिदिन स्थानीय विकास अधिकारीसँग माग गरिएको छ । साथै बघचौरा गाविसको बेल्ही वडा नं. ८ र ९ लाई समेत हंसपुर गाउँपालिकामा नै गाभिनुपर्ने स्थानीयवासीहरुले माग गरेका छन् ।
बेंगाडावरमा विरोध
साविक मिथिला नगरपालिका वडा नं. ८ लाई मिथिला नगरपालिकाबाट छुट्याएर बटेश्वर गाउँपालिकाको वडा नं. ५ मा समावेश गरिएकोमा भौगोलिक रुपमा मिथिला नगरपालिकालाई दुई भागमा विभाजित गरी खन्डिकरण गरिनु प्राविधिक रुपले स्थलगत निरीक्षण नै नगरी उक्त कार्य भएको हुनाले साविक मिथिलानगरपालिका वडा नं. ८ लाई बटेश्वर गाउँपालिकाबाट हटाई साविक मिथिला नगरपालिकामा नै कायम गर्नुपर्ने माग गरिएको छ ।
रघुनाथपुरमा व्यापक विरोध
रघुनाथपुर गाविसलाई अहिले कायम गरिएको संरचनामा रघुनाथपुरलाई विभाजित गरी रघुनाथपुरको वडा नं. ९ गणेशमान चारनाथ नगरपालिका र बाँकी अन्य वडाहरुलाई सबैला नगरपालिकामा राखेकोले रघुनाथपुरलाई एउटा छुट्टै स्वतन्त्र गाउँपालिकाको रुपमा कायम गरिनुपर्ने माग गरिएको छ । प्राचिन मिथिला राज्यको विशिष्ट क्षेत्रको रुपमा रहेको, ऐतिहासिक र धार्मिक महत्व बोकेको रघुनाथपुर गाविसलाई यसको धार्मिक महत्वलाई विशेष रुपमा मध्य नजर गर्दै र विशेष संरक्षित क्षेत्रको रुपमा स्वतन्त्र गाउँपालिका कायम गर्न योग्य रहेको, जनसंख्याको आधारमा उक्त गाउँको १४ हजार जनसंख्या भई जिल्लाकै जनसंख्या र भौगोलिक आधारमा तेस्रो ठुलो गाविसको रुपमा रहँदै आएको हुनाले रघुनाथपुर गाविसलाई स्वतन्त्र गाउँपालिकाको रुपमा कायम गर्न माग गरिएको छ । १ चैत्र २०७३मा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनमा उक्त कुरा उल्लेख छ । २० हजार जनताको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाइएको थियो । विगत २५ दिन देखि त्यहाँ गाविसको कार्यालयमा तालाबन्दी गरी गाउँका सर्वपक्षिय संघर्ष समिति गठन गरिएको संघर्ष समितिका संयोजक दिपनारायण दासले बताएका छन् ।
लोहनामा विरोध
साविकको जनकपुर उपमहानगरपालिका वडा नं. १७ लोहनालाई नगराईन नगरपालिकामा समावेश गरिएको भन्दै जनकपुर उपमहानगरपालिका वडा नं. १७ लोहना पुनः स्थापना संघर्ष समिति गठन गरिएको छ । लोहनाबासीको स्वाभिमान माथि गहिरो कुटनीति प्रहार भएको भन्दै २ चैत्र २०७३ मा लोहनाका स्थानीयवासीहरुले २१ सदस्यीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरु अगाडी वढाएका छन् । साविक लोहना गाविसबाट जनकपुर उपमहानगरपालिकाको कार्यालय करिब ५ किलोमिटरको दुरीमा रहेको तर नगराईन नगरपालिकाको प्रस्तावित केन्द्र नगराईन गाविसको कार्यालय लोहना गाविसबाट १४ किलोमिटर टाढा पर्छ । लोहनावासी जनकपुरसम्म जाँदा सरकारी कामकाज लगायत दैनिक जीवन यापनको लागि चाहिने उपभोग्य सामान पनि किनमेल गर्न सकिने, समयको बचत हुने तर नगराईन नगरपालिकामा हुँदा सबै प्रतिकुल हुने संघर्ष समितिका संयोजक विनोद कुमार ठाकुरद्वारा ४ चैत्रमा जिल्ला प्रशासनमा बुझाइएको ज्ञापनमा उल्लेख छ । लोहनाबाट नगराईन जाँदा टेम्पु भाडा नै १ हजार रुपैयाँ लाग्ने हुनाले जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ताको रकम टेम्पु भाडामा नै सकिने हुनाले लोहनालाई साविकको जनकपुरको उपमहानगरपालिकाको कार्यालयमा   नै समावेश गर्न भनिएको छ ।


२०७३ चैत्र ०६ गते आईतबार