Tuesday, May 12, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


भोली देखि विकास गरौला भनेको यो राष्ट्र बुढा नै वितेछ बा ! जहिले हामी जागरुक जनतालाई नै दुःख !
 

२०७२ बैशाख २७ गते आईतबार

बैदेशिक रोजगारीमा ठगि विदेशबाट लास फर्किने प्रबृति वढ्दो


अजय अनुरागी
जनकपुरधाम............

केही बर्षमै मोटो रकम आर्जन गरी स्वदेश फर्किने सपना बोकेर बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएकाहरु एका तर्फ ठगिएर फर्किने गरेका छन् भने अर्को तर्फ वाकसमा सब बनेर फिर्ता आउने प्रवृति वढ्दै गएको छ ।
कतारमा आत्महत्या गरेका धनुषाको बनिनिया ४ का किशुन दास कथबनियाको शवलाई दाह संस्कार गर्दै 
उनका छोरा र शोकमा डुबेकी उनकी पत्नि ।
नोभेम्बर २०१४ देखि अप्रिल २०१५ सम्ममा मात्र धनुषामा ४ जना र महोत्तरीमा १ जनाको शव खाडी मुलुकबाट आएको छ । साउदी अरेबियाबाट धनुषाको मखनाहा(५ का विनोद यादव (३३), कतारबाट धनुषा बनिनियाँ ४ का किसुन दास कथबनियाँ(४०), साउदी अरेबियाबाट धनुषा झोझि कटैयाका नागेन्द्र महत्तो नुनिया (२७), साउदी अरेबियाबाट धनुषा माची झिटकैया २ का पर्शुराम यादव (५१), मलेसियाबाट महोत्तरी बनौली ८ का राजेश मण्डल (२०) को शव स्वदेश फिर्ता आयो ।
सूचना तथा परामर्श केन्द्रकी सूचना तथा परामर्श कर्ता समिता तामाङ्ग भन्छिन,“ विनोद यादवको प्राकृतिक मृत्यु भयो । किसुन दासले आत्महत्या  गरे । नागेन्द्र महत्तो साउदी जानु अघि नै विरामी थिए र विमारीका कारण नै उनको मृत्यु भयो । परशुराम १०÷१५ दिन देखि सम्पर्क विहिन भएको र पछि कोठामा शव बरामद भएको थियो । उनको मृत्युलाई नेचुरल भनिए पनि संदिग्ध थियो ।”
जनकपुर उपमहानगरपालिकाको मिल्स एरिया स्थित सिता चौकमा बस्ने एक महिलाले बैदेशिक रोजगारीमा गएको श्रीमानलाई गुमाउनु परिन । २ बैशाख २०७० मा उनको श्रीमानको मलेशियामा मृत्यु भयो । क्षतिपुर्ती बापत पाउनु पर्ने ९ लाख रकम मध्ये डेढ लाख रकम मात्र उनले पाईन् । नेपाल प्रवद्र्धन बोर्ड र बिमा कम्पनीले दिनुपर्ने उक्त क्षतिपुर्तिको रकम मृतकको श्रीमतिले पाउनु पर्ने हो तर उनको देवरले रकम पाईसकेको बताइन्छ । सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रकी मनोसामाजिक कार्यकर्ता रिना कुमारी झा भन्छन,“ उनको श्रीमतिले पाउनु पर्ने रकम उनका देवरले पाईसकेको भनेर हामीले सोधखोज गर्दा थाहा पायौं । उक्त रकम बारे उनको श्रीमतिलाई केही पनि थाहा छैन । यहाँ सम्म कि ती महिलाको बिजोग नै भन्नु पर्छ, उनलाई कुनै पनि कुरा याद रहँदैन ।”
धनुषाको यदुकुहा ८ मा एक जना महिलाका श्रीमान र छोरा ४ बर्ष अघि बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए । उनको श्रीमानको आचरण पहिले देखि पनि ठिक थिएन । त्यहाँ पुगेर पनि रक्सी खाने बानी छुटेन । जसकारण उनलाई त्यहाँको कम्पनीले निकाली दिए । ती महिलाको पहिलेको घर समेतको घडेरी ऋण चुक्ता गर्न अहिले साहु महाजन कहाँ बन्धकीमा छ । घरबार बिहिन हुने अवस्थामा आईसकेका छन् । ज्वाँई बिदेश गएका छन् भने छोरीसँग कुनै सम्पर्क तथा सम्बन्ध नराख्ने गरेपछि ती महिला अहिले अत्यन्त तनावमा छिन् । तनावका कारण रातभरी निद्रा हुँदैन व्यथा पोख्दै ती महिला भन्छिन,“ ऋण लिएर छोरीको विहे गराएँ । तर, ज्वाँईले पनि छोरीलाई धोका दियो । अहिले आएर सामी परियोजनाले आफ्नो छोरीलाई एसएलसी जाँच दिन लगाएको छ, जिउँने हौसला बढाईदिएको छ ।” ती महिला आफ्नो जीवन गुर्जान स्थानीय हाट बजारमा आईतबार र बुधबार मुरही कचरी बनाएर बेच्न थालेकी छिन् । विदेशमा रहेको छोराले पनि पैसा नपठाएपछि एक एक छोरा र छोरी सहित उनको बुहारी पनि माइतमा बस्दै आएकी छिन् ।
धनुषाको औरही कप्टौलका ५० बर्षिय राम अशिष साह ८ फेबू्रवरी २०१५ मा बैदेशिक रोजगारीका लागि कतार गए । लेखपढ समेत नगरेको साहले ७१ हजार रुपैयाँ ऋण लिएर यदुकुहाका एजेन्ट प्रदिप साह मार्फत उनी कतार पुगे । तर, कतार पुगेको भोली पल्टै काम गर्न जाँदा उनी दुर्घटनामा परे । काम गर्ने साइटमा पर्खाल ढलेर उनी छोपिए । र काम गर्ने नसक्ने अवस्थामा  उनको विचल्ली भयो । कम्पनीले मेडिकल फेसिलिटी समेत उपलब्ध गराएन । साहले त्यहाँबाट एजेन्ट प्रदिपलाई फोन गरेर उपचार र फिर्ताका लागि गुहार गर्दा एजेन्ट साहले ३ महिना जसरी पनि त्यहाँ बस नत्र तिम्रो लाश फिर्ता आउछ भनेर धम्काउँथे । स्वदेश फर्कनका लागि उनलाई तीन पल्ट टिकट लिनु पर्यो । यहाँ आईसकेपछि साहले एजेन्टबाट पैसा लिन ताकेता गरेपछि  एजेन्ट आनाकानी गर्न थाले । पछि सूचना तथा परामर्श केन्द्रमा उनले उजुरी हालेपछि केन्द्रको पहलमा एजेन्ट साहले ३२ हजार रुपैयाँ मात्र दिए । हुन त उनी विदेश गएको कानुन सम्मत प्रमाण नै नभएपछि एजेन्ट साहले रकम दिन बाध्य थिएन तर उनले नै पठाएको कारण  रकम तिर्नु पर्यो । उनलाई उपचार गर्न र स्वदेश फर्कनमा ५५ हजार जति खर्च लागेको थियो भने विदेश जाँदा ७१ हजार रुपैयाँ ऋण लिएका थिए । अहिले उनी ऋणका कारण थप समस्यामा परेका छन् ।

धनुषाको मिथिला नगरपालिका केमलीपुरका लुद्र खडका
 र उनकी श्रीमति तिलकुमारी । लुद्रलाई मलेशियाबाट उद्धार
 गरी स्वदेश सकुशल फर्काइएपनि ऋणका कारण तस्वीरको 
पछाडीमा रहेको घर बेच्न उनी बाध्य भएका छन् ।
मिथिला नगरपालिका वार्ड नं.४ केमलीपुरका ३८ बर्षिय लुद्र खडका बैदेशिक रोजगारीका लागि २ साउन २०७२ मा मलेशिया गएका थिए । बन्दीपुरका एजेन्ट मनोज मण्डल र सिन्धुली चकमकेका एजेन्ट कृष्णलाई डेढ लाख रुपैयाँ तिरेर रोज म्यान पावर काठमाण्डौ मार्फत उनी मलेशिया गएका थिए । १२ सय तलब प्लस खाना दिने भनिएपनि त्यहाँ पुग्दा उनलाई खाना दिइएन । लेबी १ सय ३० रिंङगेट काटिने भनिएकोमा २ सय ३० काटन थालियो । तर पनि उनी काम गर्न थाले । एक दिन उनलाई ज्वरो लाग्यो । भदौ महिनाको अन्त तिर रोग बढ्दै जाँदा उनको देब्रेपट्टीको सम्पुर्ण अंग चल्न छोड्यो । उपचार गराउन कम्पनीलाई भनिरहँदा कम्पनीले उपचार गर्नको साटो विरामी अवस्थामा नै काम गर्न दवाव दिईरहेका थिए । यता तिर लुद्रले आफ्नो श्रीमति तिल कुमारीलाई मिस कल गरेर उताबाट कुरा गर्न लगाउँथिन । भैसी पालेर दुध बेचेर गुजारा गर्दै आएकी तिल कुमारी भन्छिन,“ जहिले पनि फोन गर्दा अब म मरे, स्वदेश फर्कन सक्दैन भनेर जवाफ दिन्थे ।” उता कम्पनी मालिकले कहिले जंगलमा लगेर छोडिदिन्छु भन्दै तेरो घर भाडा समेत तिमीले तिर्नु पर्छ भनेर दवाव दिन्थे । यता श्रीमति तिल कुमारीले आफ्नो श्रीमानलाई ऋण काढेर भएपनि श्रीमानलाई फर्काउन आफन्त कहाँ हार गुहार गरिन । तर, सबै ठाउँबाट निराश भएपछि उनी जनकपुर स्थित सुरक्षित अप्रवाशन सुचना तथा परामर्श केन्द्रमा पुगिन । सबै समस्या सुनेपछि उनलाई उद्धार गर्न उक्त संस्था सफल भयो । स्वदेशबाट फर्के पछि खडका भन्छन,“त्यहाँ कम्पनीका मालिकले आज मोहम्मद डे भएकाले त बाँचिस नत्र लात हानेर यहीँ नालीमा खसाएर मारिदिन्थे र भोली तेरोे लास मात्र फर्किन्थ्यो भनेर थर्काएका थिए ।” सूचना केन्द्रका संयोजक कर्ण भन्छन,“ उनी सँग म्यान पावरसँग गरिएको कुनै पनि सम्झौताको कागजपत्र वा कुनै पनि प्रमाण नभएकाले क्षतिपुर्ति दिलाउन सकिएको छैन । उनी फर्किदा उपचार गर्दासम्म ५ लाख रुपैयाँ जतिको हाराहारीको ऋण भईसकेपछि उनको घर र घडेरी समेत बेच्नु परेको छ । १ कठ्ठा जग्गामा बनाइएको घर ४ लाख २५ हजार रुपैयाँमा बेचेर अर्को जग्गामा घर बनाएर बस्ने तयारी गर्दैछन् । अर्को तर्फ तिल कुमारीको पेटमा सानो अल्सर भएर मुटुमा असर गर्न थालेपछि त्यही सुचना केन्द्रले उनको उपचार गराएका छन् ।
धनुषाको धबौली ८ का मंजुला कुमारी मण्डलको बुवा बैदेशिक रोजगारीको गएको बेला बिदेशमा मृत्यु भयो । एउटा भाई लाटो छ भने कान्छो भाई बैदेशिक रोजगारीमा गएका छन् भने मंजुलाको आफै पनि बिहे गर्ने बेला आईसकेको छ । मंजुलाको छातीमा रहेको घाउ सुनेर क्यान्सर हुने सम्भावना वढेपछि उक्त सुचना केन्द्रले आफातकालिन कोषको साढे ४  हजार रुपैयाँ खर्चेर उनको उपचार गराए । जाँच गराईसकेपछि क्यान्सर ठहरिएन । अहिले उनी निको भएपनि आर्थिक र मानसिक तनावमा बाँचिरहेकी छिन् । यसरी हेर्ने हो भने धनुषाबाट बैदेशिक रोजगारीमा गएकाहरु एजेन्टको जालमा परेर ठगिने र जिन्दगी नै बर्वाद हुने घटनाहरु दिन प्रति दिन बढ्दै गएको छ ।
यी त उदाहरण पात्र मात्र  हुन । ठगिनेहरुको संख्या थुपैै्र छन् । १५ मंसिर २०७१ मा स्थापना भएको सुरक्षित आप्राशन सुचना तथा परामर्श केन्द्रमा अहिलेसम्म ४५ वटा उजुरीहरु दर्ता गरिएको छ । जसमध्ये उक्त केन्द्रले पाँच जनाको शव विदेशबाट झिकाएको, कतिपय व्यक्तिहरुको उद्धार गरी स्वदेश फिर्ता गराएका छन् । केन्द्रका संयोजक कर्ण भन्छन,“ ४५ मुद्दा मध्ये १७ मुद्दाको हामीहरुले छिनोफानो गरिसक्यौं, २३ वटा मुद्दाको प्रक्रियामा छौं जसमध्ये ९ वटा व्यक्तिहरुसँग बैदेशिक रोजगारीमा गएको कुनै प्रमाण नै छैन ।” एजेन्टले ठगि गर्यो, पासपोर्ट लिएको महिनौं वितिसक्दा पनि विदेश नपठाएको, पठाईदिँदा पनि भनिए अनुसार तलब तथा सुविधा नपाएको, भनेको काम अनुसार फरक काम दिइएको, बढी रकम लिएर विदेश पठाएको लगायतका समस्याहरु केन्द्रित रहेर केन्द्रमा उजुरीहरु आईरहेको संयोजक कर्ण बताउँछन् । सबैभन्दा ठुलो समस्या के देखिएको छ भने अधिकांश मानिसहरु आफ्नो आफन्त नै रहेको एजेन्टबाट ठगिएका हुन्छन तर जब समाधानका लागि पीडित र पीडक दुवै पक्षलाई राखेर बार्ता गर्दा उजुरी फिर्ता लिन समेत पीडकले पीडितलाई दवाव दिईरहेको हुन्छ । कतिपय दवावलाई थेग्न सक्दैनन् र ठगिएपनि भाग्यले साथ दिएन भन्दै चित्त बुझाएर बसिरहेका हुन्छन् ।
नेपालबाट रोजगारीका लागि विदेशिनेहरुको संख्याको अनुपातमा हेर्ने हो भने धनुषा नै पहिलो स्थानमा रहेको पाइन्छ । विगत दुई वर्ष देखि धनुषा पहिलो स्थानमा छन् भने त्यसको अघिको दुई बर्ष दोस्रो स्थानमा थियो ।
आर्थिक बर्ष २०७०÷०७१ मा नेपालबाट कुल ४ लाख ९९ हजार १ सय ३७ जना विदेशिएकोमा धनुषाबाट मात्रै २३ हजार ४ सय ७० जना (कुल जनसंख्याको ४.७ प्रतिशत), २०६९÷०७० मा कुल ३ लाख ९५ हजार ७ सय ७२ विदेशिने मध्ये १८ हजार ८ सय ९६ (कुल जनसंख्याको ४.८ प्रतिशत), २०६८÷०६९ मा २ लाख ६० हजार २७ जना विदेशिएको मध्ये धनुषाबाट ११ हजार ६ सय ४३ र २०६७÷०६८ मा देशबाट १ लाख ९६ हजार ८ सय २६ जना विदेशिएकोमा धनुषाबाट मात्रै ९ हजार ९ सय २१ जना मानिसहरु बैदेशिक रोजगारीको शिलशिलामा विदेशिएको पाइन्छ । यहाँबाट प्रायः जसो मानिसहरु खाडी मुलुकका साउदी अरेविया, दुवई, कुवेत, बहराइन, ओमान, कतार र मलेशिया तिर गन्तब्यको रुपमा रोज्ने गरेका छन् । तर, त्यहाँ पुग्ने करिब ९० प्रतिशत भन्दा वढी मानिसहरु ठगिने गरेको पाइन्छ । नेपाल सरकारले निर्धारण गरेको अधिकत्तम लागत शुल्क भन्दा एजेन्टहरुले वढी शुल्क लिएर पठाउनु सबैभन्दा ठुलो ठगिको रुपमा देखिएको छ । यहाँ सम्म कि कतार जानको लागि अधिकत्तम शुल्क २० हजार नेपाल सरकारले तोकेको भएपनि एजेन्टहरुले ७० हजार देखि १ लाख रुपैयाँ सम्म लिने गरेको पाइन्छ ।
२०४२ साल देखि श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने प्रक्रियाको सुरुवात भएपनि २०५०÷०५१ साल देखि विदेशिनेहरुको संख्यामा बढोत्तरी हुन थाल्यो । एक अध्ययनका अनुसार २०५० साल देखि २०७१ अषाढ सम्ममा रोजगारीको लागि विदेश जानेहरुको संख्या ३४ लाख ४७ हजार पाइयो । कति व्यक्ति फर्किएर आए त्यसको तथ्याङ नरहेपनि नेपालबाट लगभग १ हजार ५ सयको हाराहारीमा व्यक्तिहरु खाडी मुलुक तथा मलेशिया जाने गरेको पाइन्छ ।
ठगिनुको मुख्य कारण के हो भने धनुषामा करिब २ हजारको संख्यामा एजेन्टहरु सक्रिय छन् । तर, आधिकारिक एजेन्टको संख्या १० जना भन्दा वढी पाइँदैन । त्यसैगरी धनुषामा दर्जनौं अनधिकृत म्यान पावरहरु खुलेका छन् । तर, एक मात्र म्यान पावर आधिकारिक रहेको पाइएपनि उक्त म्यान पावरबाट पनि मानिसहरु दिन प्रति दिन ठगिने क्रम बढ्दो छ ।
कतिपय एजेन्टहरुले त पासपोर्ट बनाउने काम देखि नै ठगिको धन्दा सुरु गर्छन् । गाउँमा रहेका सोझा साझा नागरिकहरुको जिल्ला प्रशासन कार्यालयमा पहुँच नहुने हुँदा गाउँबाटै ती एजेन्टको फन्दामा परेर पासपोर्ट बनाउने काममा मद्दत गरिदिन्छु भन्दै पासपोर्ट बनाउन लगाएर पासपोर्ट कब्जा गर्ने र आफु खुशी रकम असुलेर बैदेशिक रोजगारीमा पठाउने गरेको पाइन्छ । म्यान पावर देखि गाउँसम्म आईपुग्दा एक गरी अर्को एजेन्टहरुको लर्को नै हुन्छ भने ती सबै जनाले आ(आफ्नो कमिशनको चक्करमा धेरै रकम कुम्लयाउने गरेको पाइन्छ । साहु महाजनबाट ऋण लिन नसक्ने गरिब मानिसहरुलाई केही एजेन्टहरुले आफै पनि तमसुक बनाएर चर्को ब्याज दरमा रकम दिएर विदेश पठाउने र विदेश पुगेपछि त्यही एजेन्टको ऋण चुक्ता गर्न बर्षौं लाग्ने गरेको समेत पाइन्छ । हुन त केही मानिसहरु बैदेशिक रोजगारीबाट मोटो रकम आर्जन गर्न सफल पनि भएका छन् । तर, ती रकम प्रायः जसो अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी समेत बढेको छ ।
    एक अध्ययन अनुसार देशैभरी ७० प्रतिशत मानिसहरु बैदेशिक रोजगारीबाट लाभान्वित भएपनि ३० प्रतिशत ठगिएकाहरुको यति पीडा र व्यथा छ जसले गर्दा उनीहरुको जीवन नै दाउमा लागेको देखिन्छ । हुन त नेपालको कुल ग्राहस्थ उत्पादनमा नेपाल विश्वकै तेस्रो स्थानमा विप्रेषण भित्रियाउने मुलुकमा पर्दछ । सन् २०१३ मा ४ अर्ब ९५ करोड अमेरिकी डलर भित्रिएको मुलुक हो नेपाल । बैदेशिक मुद्धा आर्जनको पहिलो ठुलो स्रोतको रुपमा रहेको नेपालमा ५३ प्रतिशत भन्दा वढी योगदान विप्रेषणबाट रहेको पाइन्छ भने ५६ प्रतिशत घरमा उक्त विप्रेषण बाँडिएको पाइन्छ । गरिबी न्युनिकरणको नेपाल सरकारको प्रयासलाई हेर्ने हो भने विगत १० वर्षको अवधिमा गरिबी रेखा मुनि रहेका ४२ प्रतिशतबाट २५ प्रतिशत झर्नुमा विप्रेषण नै मुख्य कारण रहेको बताइन्छ । यूवा रोजगारको ठुलो क्षेत्र ओगटेको बैदेशिक रोजगारीका कारण आर्थिक गतिविधि वढ्नुका साथै आन्तरिक रोजगारीको अवसर समेत वृद्धि भएको छ । तर, सहि सूचना र जानकारीको अभाव हुुनु, उचित सिप नहुनु, सिप लिनै नखोज्नु, अनधिकृत एजेन्ट र म्यान पावरको चलखेल अत्यधिक वढ्नु, सरकारी निकाय उदासिन हुनु  जस्ता कारणले बैदेशिक रोजगारी असुरक्षित र उपलब्धि विहिन बन्दै गएको छ ।

बाबु बेपत्ता भए मलेसियामा, छोराछोरी विद्यालय जानै पाएनन

धनुषाका प्रमोद राउत कुर्मी परिवारको पालनपोषण गर्न मलेसिया उडेका थिए । २०५९ सालमा पहिलो पटक मलेसिया उडेका प्रमोदको मलेसिया बसाई परिवारका लागि फलिफाप सिद्ध नै थियो । तर अहिले त्यहि मलेसिया कुर्मी परिवारका लागि मनमा गढेको सुल भएको छ । हरवखत दुखिरहने नाम भएको छ ।
पहिले गाउँमै ज्याला मजदुरीमा काम गर्ने प्रमोद मलेसियामा ग्लोरी डोर नामको फर्निचर कम्पनीमा काम गर्दथे । बेगां शिवपुर १ धनुषाका ३४ वर्षे प्रमोद विदेश गएको करिब ६ वर्ष पछि एकपटक घर फर्केका थिए ।
विदा सकेर पुनः सोही कम्पनीमा काम गर्न फर्केका उनी अहिले न परिवारको सम्पर्कमा छन् न त घर नै फर्किन्छन् । यसले कुर्मी परिवारलाई अत्याएको छ । उनकी श्रीमति रामदुलारी श्रीमानको खोजखवर गरिदिन हारगुहार गर्दै हिंडिरहेकी छिन् ।
“श्रीमानसंग कुरा गर्दा करिव ३ वर्षको तलब लिन बाँकि रहेको र रकम पाउने वित्तिकै आफु नेपाल फर्किने कुरा गर्नुहुन्थ्यो । तर अहिलेसम्म न मान्छे नै फर्किनुभयो न त फोन नै आउँछ” श्रीमान प्रमोदको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै हेल्भेटास स्वीस इण्टरकोअपरेशन नेपाल, सामी परियोजनाको सहयोगमा मित्र धनुषाद्धारा सञ्चालित सुचना केन्द्रमा आइपुगेकी रामदुलारीले भनिन् ।
विदामा नेपाल आएर मलेसिया फर्केपछि पनि प्रमोदले केहि रकम घरमा पठाएका थिए । उनले एकपटक ४० हजार पठाएका थिए भनें अर्कोपटक ५० हजार । त्यसपछि आफू नेपाल फर्किने कुरा गरेका प्रमोद एकाएक वेपत्ता छन् ।
प्रमोद घर फर्किने आशमा छन् उनका दुई छोरी, एक छोरा र श्रीमति । उनकी जेठी छोरी १८ बर्षकी छिन् भनें कान्छि छोरी ७ बर्षकी । छोरा १२ बर्षका छन् । पहिले प्रमोदले पैसा पठाएसम्म विद्यालयमा अध्ययन गरिरहेका उनीहरुको विद्यालय छुटेको छ । कापी कलम र पोेशाक किन्ने पैसा समेत नभएपछि छोराछोरीलाई विद्यालय पठाउन नसकेको रामदुलारी बताउँछिन् । कमाउने व्यक्ति नै बेपत्ता भएपछि परिवारको कन्तविजोग भएको उनको गुनासो छ ।
प्रमोद बेपत्ता भएपछि केहि समय माइतीबाट आर्थिक सहयोग पाएकी रामदुलारी हाल जनमजदुरी गरेर परिवार पालिरहेको बताँछिन् । कुर्मी परिवारको सम्पत्तीका नाममा खपडाले छाएको एउटा घर मात्र छ ।
    एकातिर श्रीमान् मलेसियामा बेपत्ता छन, अर्कातिर जेठी छोरीको विवाह गर्ने उमेर भइसकेका कारण रामदुलारी चिन्तित छिन् । अव यो अवस्थामा कसरी छोरीको विवाह गर्ने हो ? कहाँबाट रकम जुटाउने ? उनले सोही चिन्ता प्रकट गरिन् ।
प्रमोदको मलेसियाको मोवाइल नम्वरमा फोन गर्दा हाल पनि फोन जाने गरेको तर फोन नउठ्ने समस्या भएको मित्र धनुषाद्धारा सञ्चालित सुचना केन्द्रका संयोजक  रामकुमार कर्ण बताउँछन् ।
प्रमोदलाई परिवारसँग सम्पर्क गराउन सकेमा कुर्मी परिवारको मानसिक तनाव कम हुनेछ । यसरी नै समाचार प्रकाशित भएपछि हालसम्म बेपत्ता भनिएका(परिवारको सम्पर्कमा नरहेका) तीनजनाले परिवारसँग सम्पर्क गरेका छन् ।
त्यसैले प्रमोदको खोजीमा तपाईले महत्वपूर्ण सहयोग गर्न सक्नुहुन्छ । तपाई उनको खोजीमा मद्धत गर्न इच्छुक हुनुहुन्छ भनें हामी तपाईलाई उनको मलेसियाको सम्पर्क नम्वर उपलव्ध गराउने छौं । साथै यो समाचार धेरै व्यक्तिसामु पुर्याएर पनि प्रमोदको खोजीमा हातेमालो गर्न सकिन्छ ।

२०७२ बैशाख २७ गते आईतबार

योगनारायण विरुद्ध कस्सिदै कानुनी सिकन्जा

योगनारायण यादव ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य योगनारायण यादव विरुद्ध कानुनको सिकन्जा कस्सिदै गएको छ । यादव प्रमुख अभियुक्त भई दायर भएको कतव्र्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका तीन जना अभियुक्तहरुलाई अदालतले थुनामा पठाएपछि यादवको संकट थप वढेको हो । ८ बैशाख २०७२ मा धनुषा जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलासले सोही घटनामा पक्राउ परेका प्रतिवादीहरु महेश यादव, रामविहारी यादव भनिने लाल विहारी यादव र महेन्द्र यादवलाई पुर्पक्षको लागि थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नु र फरार प्रतिवादीहरुलाई पक्राउ पुर्जी जारी गरिएको आदेशले योगनारायण यादव थप संकटमा परेका हुन् । सबैला नगरपालिका १ मा बस्ने रामसेवक राउतको श्रीमति सिकिल देवि गडेरी र सोही नगरपालिकाका श्याम किशोर साहले गरेको किटानी जाहेरी सहितको मुद्दामा अदालतले उक्त आदेश गरेको हो । रामसेवक गडेरीको हत्या गरेको तथा थुप्रै मानिसहरुलाई कुटपिट गरी घाइते बनाएको भन्दै २९ जना विरुद्ध किटानी जाहेरी दिइएको छ । 
    अदालतको आदेश लगत्तै योगनारायण यादव सहित फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न धनुषा प्रहरी सक्रिय भईसकेको भन्दै प्रहरी निरीक्षक भगिरथ रेग्मी भन्छन,“ सादा पोशाकमा प्रहरी परिचालन भई तिनीहरुलाई पक्राउ गर्न प्रहरी टोली लागि परेका छन् । केही दिन भित्रै तिनीहरुलाई पक्राउ गरी अदालत सामु उभ्यिाउने छौं ।” कर्तव्य ज्यान सम्बन्धी महलको १३ (३) सम्बन्धि सर्बस्व सहित जन्मकैद र ज्यान मार्ने उद्योग अन्तरगत ५ देखि १२ बर्ष सम्म कैद सजाय माग दावी गरेका सरकारी वकिल तथा जिल्ला न्यायाधिवक्ता पुन्यप्रसाद पाठक भन्छन,“ तिनीहरु तत्काल बच्ने कुनै सम्भावना देखिँदैन । प्राप्त प्रमाण तथा घाइतेहरुले स्वयम गरेको किटानी जाहेरी तथा बयान कागज, घाइतेहरुको घाउ जाँच केश फारम रिपोर्ट, मृतकको शव परीक्षण प्रतिवेदन रिपोर्ट, पक्राउ परेका प्रतिवादीहरुले मेरै सामु प्रहरी अधिकृत समक्ष गरेको बयान कागजका आधारमा पनि उनीहरु जेल जाने लगभग निश्चित छ ।”
        अहिले थुनामा गएका प्रतिवादीहरुले १७ नम्बर बमोजिम पुनरावेदन अदालतमा गएको खण्डमा यदि पुनरावेदनले ती मध्ये कसैलाई तारेखमा वा धरौटीमा जमानत दिए भने मात्र योगनारायण लगायत अन्य प्रतिवादीले जमानत पाउने सम्भावना रहन्छ भन्दै सरकारी वकिल पाठक भन्छन,“ यदि फरार प्रतिवादीहरु अदालतमा म्याद गुजारेर उपस्थित भएपनि वा प्रहरीले पक्राउ गरेर अदालत सामु उभियाएपनि जमानतमा छुटिनैहाल्ने सम्भावना भने देखिँदैन ।”
    उक्त घटनामा प्रदिप कुमार यादव, उमेश साह कल्वार, दिनेश साह, रामदेव ठाकुर, लखिचन साह, श्याम किशोर साह, रामबली साह गरी ११ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सबैलाबाट घाउ जाँच केस फारम रिपोर्ट प्रहरीले पेश गरेका छन् । त्यसैगरी घाइते रामसागर साहको बयान कागज प्रहरी वृत्त बौद्ध काठमाण्डौ र उसको घाउ जाँच केश फारम प्रतिवेदन समेत पेश गरिएको छ । मृतक राम सेवक गडेरी राउतको पोस्टमार्टम रिपोर्टमा समेत धेरै चोट पटक बताइएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार मृतक गडेरीको टाउँकोमा धार नभएका हतियारको चोट, दाहिने आँखाको माथि निल, दायाँ तिघ्रा र खुट्टामा चोट मृत्युको प्रमुख कारण बताइएको छ । घाइते भई नेपाल मेडिकल कलेज शिक्षक अस्पताल काठमाण्डौको न्यूरो आइसियू कक्षको बेड नम्बर ३७५ मा उपचार गराईरहेका रामसागर साहको बयान कागज र अस्पतालको प्रतिवेदन अनुसार लठ्ठीले हानेको जस्तो देखिएको र मर्न पनि सक्ने प्रतिवेदनलाई प्रहरीले समेत ठुलो प्रमाणको रुपमा पेश गरेको देखिन्छ । त्यसैगरी रगत लागेको सिसोको लाठि, चप्पल, जुता यत्रतत्र छरिएको, रगत लागेको ढुङ्गा, काठको खम्बामा लागेको रगत आदि बरामदी प्रमाणको रुपमा पेश गरेको पाइन्छ । पक्राउ परेका प्रतिवादीहरु महेन्द्र यादव, महेश यादव र लाल विहारी यादवको फुट प्रिन्ट समेत परीक्षण गरी पठाईदिनका लागि धनुषा प्रहरीले केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाण्डौलाई पठाएको छ । यद्यपि फुटप्रिन्टको प्रतिवेदन अहिले सम्म आईसकेको छैन ।
क–कसका विरुद्ध किटानी जाहेरी ?
उक्त मुद्दामा धनुषा साविक सबैला गाविस वार्ड नं.२  हाल सबैला न.पा.वार्ड नं. १ मा बस्ने रामलखन यादवको छोराहरु बर्ष ५० को योगनारायण यादव, बर्ष ४१ को महेन्द्र यादव, बर्ष ४० को जगदीश यादव विरुद्ध किटानी जाहेरी दिइएको छ । त्यसैगरी सबैला कै सुरजनाथ यादवको छोरा बर्ष ५० को महेश यादव, रामेश्वर यादवको छोरा बर्ष ३२ को रामविहारी यादव भन्ने लाल बिहारी यादव, घुरे यादवको छोरा बर्ष ५० को रामबाबु यादव, ऐ.ऐ.मा बस्ने दुःखी यादवको छोरा बर्ष ४४ को लाल विहारी यादव, धनिकलाल यादवको छोरा बर्ष ३० को पुष्पनारायण यादव, रामबृक्ष साहको छोरा बर्ष ४० को फिरन साह, जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं. १ हाल सबैला न.पा.वार्ड नं.१ मा बस्ने किशोरी यादवको छोरा बर्ष २७ को लक्ष्मण यादव विरुद्ध समेत किटानी जाहेरी गरिएको छ । सुखी यादवको छोरा बर्ष ६० को रामविलास यादव, किशोरी यादवको छोरा बर्ष ३१ को प्रदिप यादव, अर्जुन साह तेलीको छोरा बर्ष ४८ को ज्ञानी साह, साविक सबैला गाविस वार्ड नं. ४ हाल सबैला न.पा.वार्ड नं.२ मा बस्ने गुनिया यादवको छोरा बर्ष ४० को बुधेश्वर यादव, सितल लाल यादवको छोरा बर्ष ३२ को राजदेव यादव विरुद्ध मुद्दा परेको हो ।
     जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं.५ हाल सबैला न.पा.वार्ड नं. २ मा बस्ने लक्ष्मी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, शिवजी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, रामनरेश प्रसाद साह कलबारको छोरा बर्ष ४२ को राजु प्रसाद गुप्ता, माची झिट्कैया गाविस वार्ड नं.६ घर भई हाल सबैला न.पा.वार्ड नं. १ मा बसने महगा राउतको छोरा बर्ष ४४ को देवन यादव भन्ने देवलाल यादव, कजरारमौल गाविस वार्ड नं. १ मा बस्ने चन्द्रकिशोर यादवको छोरा बर्ष ४० को लक्ष्मीनारायण यादव,सबैला न.पा.वार्ड नं.१ मा बस्ने सुरजनाथ यादवको छोरा बर्ष २९ को झोपे यादव,परमेश्वर गडेरीको छोरा बर्ष ५० को जगदीश राउत, जिवछ यादवको छोरा बर्ष ४० को महेन्द्र यादव, जिवछ यादवको छोरा बर्ष ४८ को दुखिया यादव, खुसी यादवको छोरा बर्ष ५८ को रामबृक्ष यादव, ऐ.ऐ.वार्ड नं.७ मा बस्ने रामदयाल यादवको छोरा बर्ष ३८ को जिवछ यादव, झटियाही वार्ड नं.४ मा बस्ने किशोरी साहको छोरा बर्ष ३६ को दुर्गा प्रसाद साह, झटियाही वार्ड नं.७ मा बस्ने रामस्नेही मण्डलको छोरा बर्ष ३० को देवा भन्ने देवनारायण मण्डल र गणेशमान चारनाथ न.पा.वार्ड नं.९ मा बस्ने रामबृक्ष महत्तोको छोरा बर्ष ४५ को अच्छेलाल महत्तो विरुद्ध किटानी जाहेरी दिइएको छ ।
    पक्राउ प्रतिवादी महेन्द्र यादवको बयान कागज
प्रहरीले पक्राउ गरेका प्रतिवादी महेन्द्र यादवसँग जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जिल्ला न्यायाधिवक्ता पुन्य प्रसाद पाठक समक्ष गरेको बयान कागजमा अपराध स्वीकार गरेका छन् । यस्तो छ बयान ः हामी तिन दाजु भाई छौं । जेठो योगनारायण यादव, माहिलो म र कान्छो जगदीश यादव हुन । हामीहरु संगोलमै बस्दै आएका छौं ।
    जेठो दाजु योगनारायण यादव राजनीतिमा लाग्नु भएको छ । म खेती र एजेण्टको काम गर्दै आएको छु । त्यस्तै कान्छो भाई जगदीश यादव सम्पुर्ण खेतको रेखदेख गर्दै आएको छ । सँगै पक्राउ परेको लाल विहारी यादव, महेश यादव गाउँकै छिमेकी हुन । साविक जिल्ला धनुषा गा.वि.स सबैला वार्ड नं. ९ हाल जिल्ला धनुषा सबैला न.पा.वार्ड नं. ३ स्थित सबैला बजारले ओगटेको रुदेश्वरानन्द प्रधानाङ्गको करिब २(१०(०(० जग्गा साविक देखि नै पर्ति र गौचरण रही सार्वजनिक रुपमा प्रयोग हुँदै आएको थियो ।
     २०४६ साल तिर निज रुद्रेश्वरनन्द प्रधानाङ्ग गाउँ छाडी काठमाण्डौ गई त्यही बस्न लागेका थिए । त्यस पश्चात रुद्रेश्वरनन्द प्रधानाङ्ग र दाजु योगनारायण यादव सँग कुराकानी भई जग्गा दाजु योगनारायण यादवले सो जग्गा लिनु भएको हो । सो जग्गा कसको नाउँमा लिनु भयो सो कुरा मलाई थाहा भएन । २०७० साल चैत्र महिनामा सो जग्गा पलटिङ्ग गरी एक सय जति पिलर गाडिएको थियो । सो कुरा गाउँका मानिसहरुले थाहा पाई प्रतिकारको लागि स्थानीय मानिसहरुले मोर्चा बनाई एक ठाउँमा भए ।
     दाजु योगनारायण यादव  लगायत मानिसहरु अर्को गुट बनाई गठमेल भई बसेका थिए । मोर्चामा बसेका व्यक्तिहरुले पलटिङ्ग न.पा.मा विकास निर्माण लगायतमा दाजु योगनारायण यादवको पक्ष एक तर्फ र स्थानीय नागरिकहरुको मोर्चा अर्को पक्षमा रही दुई धारबाट प्रतिस्पर्धा हुँदै आएको थियो । यसै क्रममा मिति २०७१ कार्तिक महिनामा दाजुले सो जग्गाको अधिकृत वारेशनामा बनाई बिक्री गर्न खोज्नु भएकोमा सो कुरा स्थानीय मानिसहरुले थाहा पाई मोर्चाको तर्फबाट  रामबली साह, तेजनारायण यादव, कारीराम यादव, प्रदिप यादव, हरिनारायण यादव, राम सेवक गडेरी समेतले अदालतमा मुद्दा गरी जग्गा रोक्का गराई दिएको थियो । त्यस पश्चात पुनरावेदन अदालतबाट जग्गा फुकुवा भएको थियो । सो कारणहरुबाट मोर्चा पक्ष र दाजु योगनारायण पक्ष बीच आन्तरिक द्वन्द्व र बैचारिक मतभेद रहदै आएको थियो ।
    जिल्ला धनुषा सबैला न.पा. वार्ड नं.१ स्थितमा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालय सबैलामा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम साहको पदावधी करिब २ बर्ष अगाडी नै समाप्त भई सकेकोले मिति २०७१÷१२÷०८ गतेको दिन विद्यालयको प्र.अ.रामपुकार गामीले अभिभावक भेलाको आयोजना गरेको थियो । सो भेलामा पक्ष विपक्षबाट अर्थात दाजुको पक्षबाट फिरन साह, ज्ञानी साह समेतका ६÷७ जना मोर्चा पक्षबाट रामसागर साह, उमेश साह, शैलेन्द्र साह, रामदेव ठाकुर समेतका ५÷६ जना गरी १२÷१३ जना उम्मेदवार भएकोले बढी उम्मेदवार भएको कारण कुरा नमिलेकोले अध्यक्ष पक्षको उम्मेदवार रु. २५ हजार र सदस्य पक्षको उम्मेदवारले रु.१५ हजार विद्यालयको खातामा जम्मा गरेको भौचर मिति २०७१÷१२÷९ गते पेश गरेकोमा मात्र उम्मेदवारी दर्ता हुने र चुनाव मिति २०७१÷१२÷२५ गते हुने निर्णय भएको छलफल समाप्त भयो । सो छलफलमा म पनि गएको थिए । त्यस पश्चात आफ्नो तर्फबाट १÷१ जना उम्मेदवार राख्नको लागि दाजुको तर्फबाट हाम्रै घरमा र मोर्चाको तर्फबाट  रामदेव ठाकुरको घरमा बैठक बस्ने कुरा भएको सुनेको थिए ।
हाम्रो घरमा दाजु योगनारायण यादव, म, महेश यादव, राम विहारी यादव, जगदीश यादव, बुधेश्वर यादव, रामबाबु यादव, लक्ष्मण यादव, राजदेव यादव, प्रदिप यादव, सिताशरण यादव, लक्ष्मीनारायण यादव, ललाविहारी यादव, झोपे यादव, रामविलास यादव, जगदीश राउत, महेन्द्र यादव, जिवछ यादव, दुर्गा प्रसाद साह, देवनारायण मण्डल, देव शरण यादव, अच्छेलाल महत्तो, पुष्पनारायण यादव र देवन यादव समेतका व्यक्तिहरुलाई दाजुले बोलाई छलफल राख्दा मोर्चा पक्षका मानिसले हाम्रो विभिन्न कामहरुमा बाधा अवरोध पु¥याउँदै आएको छ । हरेक काममा हाम्रो विरोध मात्र गर्दै आएकोले हाम्रो पक्षमा मानिसहरु घट्दै आएका छन् । पछि हामीलाई नराम्रो असर हुन्छ । त्यस कारण यिनीहरुलाई ठिक गर्नुपर्दछ भनि दाजु सो कुरा भने पछि सबै जनाले यो कुरा बास्तविक हो हामीले निजहरुलाई कुटपिट गरी घाइते बनाउनु पर्दछ भन्ने कुरा मैले भनेको थिए ।
    त्यस पश्चात आज मोर्चाको बैठक रामदेव ठाकुरको घरमा बस्दैछ यसै बेलामा गएर निजहरुलाई ठिक गर्नु पर्दछ भनि सल्लाह भई बैठक रामदेव ठाकुरको घरमा बस्दैछ यसै बेलामा गएर निजहरुलाई ठिक गर्नूपर्दछ भनि सल्लाह भई सोही सल्लाह र योजना मुताविक माथि उल्लेखित व्यक्तिहरु आ आफ्नो घरमा गई लाठी, चिरपट लिई आए । मैले दरबाजामा  रहेको सिसौंको लाठी लिए त्यस पश्चात सबैजना दाजुको नेतृत्वमा रामदेव ठाकुरको दरबाजामा गयौं । तिनीहरु बैठकमा बसिरहेको थिए ।
त्यस पश्चात दाजुले यिनीहरुलाई कुट भनि बचन दिई रामबली साहलाई घाँटीमा समाती भुईमा लडाई दिनु भएको र प्रदिप यादवलाई कठालो समात्नु भएको तथा म समेतले बैठकमा बसिरहेका कारी राम यादव, श्याम किशोर साह, दिनेश साह, पर्शुराम साह, रामचन्द्र साह, राम सेवक राउत, राम सागर साह, रामदेव ठाकुर समेतलाई लाठी तथा काठको चिरपटले धमाधम प्रहार गर्न लागे । त्यतिकैमा राम सेवक राउत र रामसागर साह समेतले रामबली साहलाई बचाउन खोज्दा माथि उल्लेखित सबै जनाले निज दुवै जना माथि प्रहार गर्न लागे । मैले पनि निज राम सेवक राउत र राम सागर साह माथि लाठी प्रहार गरेको हुँ । अन्य व्यक्तिहरु सो ठाउँबाट लुक्न र भाग्न सफल भएकोले निज रामसागर साह र राम सेवक राउतलाई मरणासन्न हुने गरी कुटपिट गरी अचेत बनाई हामीहरु आ आफ्नो घरमा गएका हौं । त्यस पश्चात सो कुरा  प्रहरी समेतले थाहा पाई घटनास्थलमा आई घाइतेहरुलाई उपचारको लागि घाइतेका आफन्त र स्थानीय मानिसहरुको सहयोगमा जनकपुर ल्याएकोमा जनकपुरमा उपचार हुन नसकी थप उपचारको लागि काठमाण्डौं लैजाने क्रममा राम सेवक राउतको मृत्यु भएको हो र राम सागर साहको काठमाण्डौमा उपचार भईरहेको भन्ने कुरा मैले सुनेको हुँ ।
त्यसै क्रममा सोही विषयमा म, महेश यादव र लाल विहारी यादव मिति २०७१÷१२÷१० गते दिउँसोको समयमा जिल्ला धनुषा सबैला न.पा.वार्ड नं.१ स्थितमा बसी सरसल्लाह गरिरहेको अवस्थामा प्रहरी आई हामीसँग सोधपुछ गर्न खोज्दा प्रहरीसँग बादविवाद भई हुल हुज्जत गर्दा प्रहरीले म, महेश यादव र लाल बिहारी यादव समेतलाई पक्राउ गरी ल्याएको हो । उक्त घटना दाजु योगनारायण यादव र निजका गठमेलका जाहेरी दरखास्तमा किटान भएका प्रतिवादीहरुले आफ्नो बरचश्व कायम गर्न, हैकम जमाउनु, प्रभुता देखाउन र सार्वजनिक उपभोगमा रहेको जग्गा विद्यालयमा आफ्नो बाहुल्यता कायम गर्न योजना बनाएर उक्त घटना घटाएका हुन । रामसेवक राउतको मृत्यु हामीहरुको कुटपिटको कारणबाट भएको हो र राम सागर साह घाइते भएको हो ।
तिनै जना प्रतिवादीहरुले प्रहरी समक्ष स्वीकार गरेको भएपनि अदालतमा इन्कार गरेका छन् ।

२०७२ बैशाख २७ गते आईतबार