Monday, February 27, 2017

कांग्रेस धनुषामा नेतृत्वको लागि ‘घमासान’

शेरबहादुर देउवा पक्षबाट धनुषा कांग्रेसमा सभापतिको लागि
पार्टी सभापति रामसरोज यादवले आफ्नो टिमको आधिकारिक
उम्मेदवार महेश शंकर गिरी रहेको घोषणा गरेपनि सोही टिमबाट
 रामपल्टन साह र कोमल कान्त झाले पनि उम्मेदवारी
 दिने घोषणा गरेका छन् ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाली कांग्रेस धनुषामा नेतृत्व गर्नका लागि कडा प्रतिस्पर्धा देखिएको छ । अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको टिमबाट सभापति पदको लागि महेश शंकर गिरीको नाउँ घोषणा गरिएको छ भने रामचन्द्र पौडेलले नेतृत्व गरेको टिमबाट उम्मेदवार घोषणा हुन बाँकी रहेको छ । अहिलेसम्म कांग्रेस धनुषाका सचिव कोमलकान्त झाले जनाए अनुसार १९ फागुनमा जिल्ला अधिवेशनको उदघाटन गरिने, २० गते उम्मेदवारहरुको मनोनयन दर्ता हुने र २१ गते निर्वाचन हुने भएको छ । तर, उक्त अधिवेशन चैत्र बैशाख तिर जाने सम्भावना वढेको छ । खासगरेर देशको राष्टिूय राजनीति अहिले संविधान संशोधन र स्थानीय तहको चुनाव प्राथमिकतामा परेपछि जिल्लाका सांसद तथा शिर्ष नेताहरु अहिले काठमाण्डौमै व्यस्त रहने भएकाले पनि चुनाव लम्बिने संकेत देखिएको छ । नेपाली कांग्रेस धनुषाका सचिव संतोष यादवका अनुसार हामी जसरी पनि निर्धारित समयमै हुनुपर्छ भन्ने कुराका साथ शान्तिपुर्ण आन्दोलन समेत गर्नेछौं । हिजोसम्म क्षेत्र नं. ५ को अधिवेशन नभएको अवस्थामा  निर्धारित समयमै अधिवेशन गर्ने भनेर जिल्ला कार्यसमितिबाट बहुमतले निर्णय भएको छ । तर, सन्तोष यादव महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए लगत्तै चुनाव लम्बयाउने षड्यन्त्र गर्ने भन्दै यादव भन्छन,“कुनै पनि हालतमा निर्वाचन लम्बिनु हुँदैन । निर्धारित समयमै सम्पन्न हुनुपर्छ ।”
क्षेत्र नं. ५ को नतिजाले फेरिएको समिकरण
रामचन्द्र पौडेल पक्षबाट धनुषाको सभापतिका लागि
 दिनेश परसैला यादव,  सन्तोष यादव, श्यामनारायण यादव,
विशेश्वर यादव र भोला चौधरी मध्ये कुनै एकलाई उठाइने छ ।
धनुषा निर्वाचन क्षेत्र नं. ५ को समेत क्षेत्रिय अधिवेशन सम्पन्न नभएकाले उम्मेदवारी अन्यौलमा थियो । तर, १२ फागुनमा सम्पन्न क्षेत्रिय अधिवेशनबाट देउवा टिमकै बर्चस्व सहितको नेतृत्व आएको छ । योगेन्द्र पजियारको अध्यक्षतामा चयन भएको क्षेत्रिय समितिको सचिवमा योगनारायण यादव, कोषाध्यक्षमा परशुराम झा र सदस्यहरुमा विजय कुमार यादव, विक्रम यादव, जुगल यादव, जितेन्द्र कुमार अधिकारी, राजकिशोर यादव, जगत नारायण पिस्लय, दिपेन्द्र सिंह , भोगेन्द्र राउत र गणेश यादव निर्वाचित भएका छन् । त्यसैगरी जिल्ला कमिटि सदस्यहरुमा रामचन्द्र साह, भोगेन्द्र ठाकुर, मनोज कुमार यादव, रामनरेश यादव, ललिता देवी साह निर्वाचित भएका छन् । त्यसैगरी महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ कोमलकान्त झा, कुमर कान्त झा, रामपल्टन साह, बुलन यादव, कारी यादव र सन्तोष यादव निर्वाचित भएका हुन । सन्तोष यादव एक जना मात्र पौडेल पक्षधर निर्वाचित भएका हुन । बाँकी क्षेत्रिय समिति र जिल्ला कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधिमा देउवा पक्षको प्यानल नै विजयी भएका हुन् । त्यसैगरी आरक्षण तर्फ महाधिवेशन प्रतिनिधिमा महिलामा तुल्सा आचार्य र सरिता यादव, जनजातीमा विरेन्द्र कुमार सिंह, दलितमा चैता सदा, मुस्लिममा मोहम्मद इवराहिम निर्वाचित भएका हुन । आरक्षण तर्फ पनि देउवा प्यानल नै विजयी भएको हो ।
पुर्व राष्टूपति रामबरण यादवको बर्चस्व समाप्त
महाधिवेशन प्रतिनिधिमा पुर्व राष्ट्रपति डा.रामबरण यादवका
छोरा डा.चन्द्रमोहन यादव, छोरी अनिता यादव र
भतिजा समिर यादव सहित करिब करिब पुरै प्यानल
क्षेत्र नं. ५ मा पराजित भएका छन् । उक्त प्यानलबाट
एक जना सन्तोष यादव मात्र निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. ५ का सांसद तथा पुर्व राष्टूपति डा.रामबरण यादवका छोरा डा.चन्द्रमोहन यादव, पुर्वराष्टूपतिका छोरी अनिता यादव र भतिजो समिर यादव पराजित भएका हुन । जिल्लाबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित हुने व्यक्ति डा.चन्द्रमोहन यादव  र राष्टूपति हुँदा प्रथम महिलाका रुपमा दर्जा पाएकी राष्टूपतिकी छोरी अनिता यादव पनि पराजित हुनुले सबैलाई झस्काएको छ । यसको अर्थ कुनै व्यक्ति सांसद हुँदैमा पार्टी भित्रको अधिवेशनमा गाउँ र क्षेत्रमै पनि हार्ने अवस्था नेपाली कांग्रेसमा छ । हुन त यस अघि पनि क्षेत्र नंं ६ मा क्षेत्रिय अधिवेशन हुँदा महाधिवेशन प्रतिनिधिका लागि त्यहाँबाट प्रत्यक्ष निर्वाचित भएका सांसद प्रेमकिशोर प्रसाद साह पनि पराजित भएका थिए । त्यसैले नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधि चुनिनु भनेको कांग्रेसको आन्तरिक राजनीतिमा धेरै ठुलो कुरा हुन्छ ।
पौडेल पक्षबाट अन्य शिर्ष नेताहरु क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनिधिका लागि मोहनकुमार माथेमा, जिल्ला सदस्यमा शिवशंकर यादव, रामपृत यादव लगायतका चर्चित व्यक्तिहरु पनि पराजित भएका छन् । त्यसैगरी पुर्व राष्टूपति यादवका स्वकिय सचिव संजय यादव समेत सचिव पदमा पराजित भएका छन् । पौडेल पक्षबाट एक मात्र संतोष यादव (जो हाल जिल्ला कमिटिमा निर्वाचित सचिव हुन) निर्वाचित भएका छन् । पुरै प्यानल देउवा पक्ष जितेको बेला सन्तोष यादव मात्रै कसरी निर्वाचित भए भन्ने कुरालाई लिएर पनि देउवा र पौडेल दुवै खेमामा चर्चाको विषय बनेको छ । किनभने सन्तोष यादवले जिल्ला अधिवेशनको लागि सभापतिको रुपमा आफु उठ्ने चर्चा परिचर्चा भईरहेको अवस्थामा उनलाई मात्र जिताइनु षड्यन्त्र त होइन । चन्द्रमोहन यादवलाई हराएर आफु सर्बेसर्वा हुन खोजेको त होइन भन्ने पौडेल पक्षमा चर्चा भईरहेको छ भने देउवा खेमामा सन्तोष यादवबाट पराजित भएका महेन्द्र यादव( लेलिन)लाई नै किन हराइयो भन्ने प्रश्न देउवा खेमामा पनि चर्चाको विषय बनेको छ । किनभने कतिपय कांग्रेसीजनहरुको भनाईमा चन्द्रमोहन यादवलाई हराएर सन्तोष यादवलाई जिताउन कांग्रेसका पौडेल पक्षका शिर्ष नेता आनन्द प्रसाद ढुङ्गाना लागेको बताइन्छ । किनभने मतदान हुनुभन्दा एक दिन अगाडी ढुङ्गानाले सन्तोष यादवलाई मात्र भोट हाल्नु भनेर आफु नजिकका कतिपय मतदाताहरुलाई टेलिफोन मार्फत निर्देशन दिएको बताइन्छ । क्षेत्र नं. ५ बाट आएको परिणामले के देखाउँछ भने पुर्व राष्टूपति डा.रामबरण यादवको बर्चस्वलाई पुरापुरी समाप्त गरिएको छ । यति मात्र होइन सोही खेमाका ढुङ्गाना जस्ता नेताहरु पनि चन्द्रमोहन स्थापित भए आफ्नो भुमिका कमजोर हुने देखेर ढुङ्गानाले हराएको हुन सक्ने आँकलन गरिएको छ । अर्को तर्फ सन्तोष यादव आफु पनि चन्द्रमोहनलाई हराएर आफु स्थापित हुन खोज्ने र भोली जिल्ला सभापतिको लागि क्षेत्रबाट मैदान क्लियर हुने आँकलन पनि गरिएको छ । किनभने सन्तोष यादवको व्यालेटमा चन्द्रमोहन यादवको नभएर मात्र सन्तोष यादवमा मत परेको ६ वटा व्यालेट पाइएको थियो । अर्को तर्फ देउवा खेमाबाट केन्द्रिय सदस्य तथा सांसद महेन्द्र यादवले महेन्द्र यादव लेलिनलाई जिताउन भन्दा पनि सन्तोष यादवलाई जिताउन भुमिका खेलेको स्रोतको दावी छ ।
क्षेत्र नं. ५ मा १ सय ६५ जना मतदाता रहेकोमा १ सय ६३ वटा मत खसेको थियो । उक्त मतदाता मध्ये करिब १ सयको हाराहारीमा देउवा खेमाको रहेको थियो । यस अघि पनि उक्त क्षेत्रमा देउवा पक्षकै बर्चस्व थियो ।
पराजित भएका डा.चन्द्रमोहन यादवका अनुसार निर्वाचनको परिणामलाई आफुहरुले स्वीकार गरे पनि चुनावमा अर्को पक्षले मतदाताहरुलाई किन्ने, धम्कयाउने, प्रलोभनमा पार्ने, डर धाक देखाउने जस्ता काम गरेकाले आफु पराजित भएको बताएका छन् । पार्टी भन्नका लागि एक भएपनि एउटा प्यानल नै निर्वाचित हुनुले पनि व्यवहारमा पार्टी एकढिक्का नरहेको भन्दै सांसद यादव भन्छन,“ अर्को पक्षले मतदाताहरुलाई जनकपुरको एक होटेल सिता प्यालेसमा थुनेर प्रलोभन दिएर मतदाताहरुलाई प्रभावित गरेका थिए । अर्को तर्फ शिक्षित मतदाताहरुलाई समेत स्वतन्त्र पुर्वक मत खसाल्न नदिई प्रतिनिधि मार्फत मत खसाल्न लगाएको छ ।” यादव समुहका एक जना सन्तोष यादव मात्र निर्वाचित हुनुलाई उनले आफ्नो खेमा भित्र अन्तरघात भएको बताएका छन् । अर्को शव्दमा उनले के पनि भने भने मतदाताहरुलाई आफु भन्दा सन्तोष यादव नै क्षमतावान र योग्य भएको लाग्न सक्ने हुनाले उनले जिते, आफु हारें । त्यसैगरी आफ्नो बहिनी अनिता यादव स्नातकोत्तर भएपनि पराजित हुनुले दुख लागेको यादवले प्रतिक्रिया दिए । पढेलेखेको योग्य महिलालाई नचुन्नु दुर्भाग्य रहेको यादवले बताए ।
अर्को तर्फ निर्वाचित भएका क्षेत्रिय सभापति योगेन्द्र पजियारका अनुसार मतदाताहरुलाई आफ्नो गुटले किन्ने प्रयास गरेको छैन, चन्द्रमोहन यादवले नै क्षिरेश्वरनाथ नगरपालिका ६ कि महिला प्रतिनिधि दुर्गी देवीलाई ५० हजार रुपैयाँ दिएर किन्न खोजे । रह्यो कुरा मतदाताको साथमा प्रतिनिधि पठाउने प्रथाको सुरुवात चन्द्रमोहनका बुवा रामबरण यादवले नै गरेकाले यो नौलो कुरा होइन, पजियारले बताए । अनिता यादव नजित्नु पछाडी उम्मेदवारी मनोनयन भएको एक बर्ष वितिसक्दा पनि मतदाता कहाँ नपुग्नु र चुनावकै दिन मात्र आउनु पनि मुख्य कारण हो । सन्तोष यादव ग्रासरुटमा भिजेको नेता भएकाले मतदाताहरुले उनलाई जिताएको पजियारले बताए ।
अब जिल्ला अधिवेशनमा के हुन्छ ?
केन्द्रमा देउवा पक्ष अहिले संस्थापनमा छन् । पौडेल पक्ष प्रमुख प्रतिपक्षी र कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का गरी ४ वटा गुटहरु देखिएको छ । तर, धनुषामा दुई वटा गुट देउवा र पौडेल पक्ष मात्र देखिन्छ । तर, यो जिल्ला अधिवेशनबाट सिटौला वा खड्का मध्ये कुनै एक तेस्रो गुट पनि स्थापित हुने सम्भावना देखिन्छ । धनुषाको शिर्ष नेताहरुमा देउवा पक्षबाट सर्बोच्च कमाण्डरको रुपमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, केन्द्रिय सदस्य तथा सांसदहरु महेन्द्र यादव, मिनाक्षी झा, सांसदहरु प्रमिला दास, लक्ष्मि भण्डारी, प्रेमकिशोर प्रसाद साह, बर्तमान धनुषा कांग्रेसका सभापति तथा पुर्व सभाषद रामसरोज यादव, पुर्व सभापति तथा पुर्व सांसद स्मृतिनारायण चौधरी, पुर्व सांसद शिवधारी यादव, जनकपुरका पुर्व उपमेयर किशोरी साह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका पुर्व अध्यक्ष दिगम्बर राय जस्ता शिर्ष नेताहरु छन् । त्यसैगरी पौडेल पक्षमा कमाण्डरको रुपमा पुर्व केन्द्रिय सदस्य तथा बर्तमानका सांसद लिला कोइराला, केन्द्रिय सदस्य तथा सांसद आनन्द प्रसाद ढुङ्गाना, केन्द्रिय सदस्य तथा सांसद रामकृष्ण यादव, सांसद दिनेश प्रसाद परसैला यादव, सांसद डा.चन्द्रमोहन यादव, सांसदहरु पुष्पलता लामा, पुर्व मेयर बजरंग प्रसाद साह लगायतका शिर्ष नेताहरु रहेका छन् । त्यसैगरी सिटौला पक्षमा सांसद मुक्ता यादव, खुमबहादुर खड्का पक्षमा रामपल्टन साह रहेका छन् ।
अहिलेसम्म हेर्ने हो भने ७ वटा निर्वाचन क्षेत्रहरु मध्ये ४ वटा सभापति पौडेल पक्षको रहेको छ भने ३ वटा क्षेत्रिय सभापति देउवा पक्षको रहेको छ । पौडेल पक्ष तर्फ क्षेत्र नं. १ का सभापति नविन गोहिवार, क्षेत्र नं. २ का सभापति राजकिशोर सिंह, क्षेत्र नंं. ६ का सभापति जितनारायण यादव, क्षेत्र नं. ७ का सभापति राजकुमार महतो रहेका छन् । त्यसैगरी देउवा पक्षबाट क्षेत्र नं. ४ का सभापति कन्हैया लाल कर्ण, क्षेत्र नं. ३ का सभापति परमेश्वर यादव र क्षेत्र नं. ५ का सभापति योगेन्द्र पजियार रहेका छन् । क्षेत्रको आधारमा हेर्ने हो भने पौडेल पक्ष बहुमतमा देखिन्छ तर सत्ता र संस्थापन पक्ष दुवै देउवा खेमाको भएकाले देउवा खेमा पनि बलियो हुन सक्ने आँकलन गरिन्छ । किनभने विगतको जिल्ला अधिवेशनमा कोइराला पक्ष बहुमतमा रहेपनि देउवा पक्षबाट रामसरोज यादव निर्वाचित भएका थिए । अब अहिलेको समिकरण हेर्ने हो भने गणितको आधारमा पौडेल पक्षधर बलियो भएपनि मतदाताहरु प्रतिस्पर्धामा रहेकाले कडा प्रतिस्पर्धा हुने बताइन्छ । समाचार तयार गर्दासम्म पौडेल पक्षबाट आधिकारिक उम्मेदवार घोषणा नभएपनि सन्तोष यादव, श्याम नारायण यादव, दिनेश परसैला, विशेश्वर यादव आदि मध्येबाट कुनै एक जनाको नाउँमा टुङ्गो लाग्नेछ । अर्को तर्फ देउवा पक्षबाट गिरीको नाउँ बाहिर ल्याएको भएपनि उक्त खेमाबाट कोमलकान्त झा र रामपल्टन साह लगायतले विद्रोही भएर सभापतिको उम्मेदवारी दिन सक्ने बताइएको छ । कोमलकान्त झा क्षेत्र नं. ५ को क्षेत्रिय अधिवेशन हुँदा महाधिवेशन प्रतिनिधिमा सबैभन्दा वढी मत ९४ ल्याएका थिए । उनी हाल जिल्ला कमिटिमा सचिव पदमा समेत मनोनित भएका हुन् । त्यसैले उनी पनि लड्न सक्ने सम्भावना प्रवल छ । अर्को तर्फ रामपल्टन साह आधिकारिक रुपमा देउवा खेमाकै भएपनि खुमबहादुर खड्का पक्षलाई स्थापित गर्न पनि उनी सभापतिमा उठ्ने देखिन्छ । महाधिवेशन प्रतिनिधिमा चयन हुनुभन्दा अघि देखि नै उनले सभापतिको रुपमा आफ्नो उम्मेदवारी पत्रकार सम्मेलन मार्फत गरिसकेका छन् । पछिल्लो समयमा जिल्ला अधिवेशन र क्षेत्रिय अधिवेशनको माग गर्दै उनी जिल्ला पार्टी कार्यालयमा धर्नामा समेत बसेका थिए ।
खेमा अदलाबदली
नेपाली कांग्रेस धनुषामा खेमा अदलाबदलीको पनि रोचक इतिहास छ । त्यसैले यो जिल्ला अधिवेशनमा पनि खेमा अदलाबदली हुने सम्भावना बढ्दै गएको छ । विगतको इतिहास हेर्ने हो भने पछिल्लो जिल्ला अधिवेशनमा मात्रै सभापति पदमा स्मृतिनारायण चौधरी कोइराला पक्षबाट सभापति पदमा लडेर पराजित भएका थिए । तर, अहिले चौधरी कोइराला खेमालाई छोडेर देउवा खेमामा टाँसिएका छन् । हुन त चौधरी सुरुमा महेन्द्र नारायण निधि खेमाकै नेता थिए । तर, अवसर नपाएपछि कोइराला खेमामा लागि पटक पटक जिल्ला सभापति तथा  सांसद भए । महेश शंकर गिरी देउवा खेमाकै भएपनि विद्रोही उम्मेदवार बनेका थिए । तर, उनले खेमा परिवर्तन गरेनन् । त्यसकै परिणाम हो, विमलेन्द्र निधिले उनलाई सभापतिमा उठाएका छन् । आनन्द प्रसाद ढुङ्गाना र रामकृष्ण यादव विगतमा देउवा खेमा अर्थात जनकपुरमा महेन्द्र नारायण निधिको गुटमा थिए । तर, कोइराला खेमामा गएर ढुङ्गाना मन्त्री बन्न पाए भने यादव स्मृतिनारायण चौधरीको जिल्ला कार्यसमितिमा सचिव पद पाए । त्यसैगरी महेन्द्र यादव विगतमा कोइराला समुहमा थिए । तर, उक्त क्षेत्रबाट रामबरण यादवको बर्चस्व रहेको अवस्थामा देउवा खेमाले कांग्रेसको भातृसंगठन तरुण दलको केन्द्रिय अध्यक्षमा टिकट दिएर जिताएपछि यादव पनि देउवा खेमामा लागे । उनी हालसम्म त्यही खेमामा छन् । शिवधारी यादव सुरुमा कोइराला खेमामा थिए । कोइराला खेमाबाटै उनी क्षेत्र नं. १ बाट निर्वाचित सांसद भए । तर, पछिल्लो समयमा उनी कोइराला खेमाबाट देउवा खेमा अर्थात विमलेन्द्र निधिको खेमामा आए ।
 त्यसैगरी पार्टीका विभिन्न तहका नेताहरु विभिन्न समयमा खेमाहरु परिवर्तन गरिरहेका हुन्छन् । जस्तै, क्षेत्र नं. ४ को पुर्व क्षेत्रिय सभापति हरिशंकर साह र जनकपुर उपमहानगरपालिकाको पुर्व सभापति धिरेन्द्र मोहन झा पहिले विमलेन्द्र निधिको खेमामा थिए । तर, उनीहरुलाई टिकट नदिएपछि विद्रोही भएर अधिवेशनमा उम्मेदवारी दिए र हाल उनीहरु कोइराला खेमामा टाँसिएका छन् । त्यसकारण अब हुने जिल्ला अधिवेशनमा दुवै खेमाबाट टिकट नपाई असंतुष्ट हुनेहरु विद्रोही भएर उम्मेदवारी दिने र खेमा पनि परिवर्तन गर्ने अवस्था देखिएको छ । उदाहरण स्वरुप कोमलकान्त झा अहिलेसम्म निधि खेमाका नेता हुन । जिल्ला कार्यसमितिमा उनी अहिले पनि सचिव छन् । तर, सभापति पदको लागि उनलाई टिकट दिइएको छैन । उनले विद्रोह गर्न सक्नेछन् । किनभने विगतमा कोमलकान्त झा कोइराला खेमा अर्थात पौडेल पक्षका नै नेता थिए । पछिल्लो अधिवेशनमा मात्र उनले कोइराला खेमालाई छोडेर देउवा खेमामा आएका थिए ।
हुन त भित्रभित्रै दुवै खेमामा नेताहरुका बीच ठुलो असंतुष्टि देखिएको छ । निधि खेमामा महाधिवेशन प्रतिनिधिहरु रामउदय यादव, किशोरी साह, सुधिर गोइत, कुमर कान्त झा लगायत असंतुष्ट छन् । महेश शंकर गिरीलाई सभापति पदको रुपमा निधि खेमाबाट आधिकारिक उम्मेदवार बनाउँदा आकाक्षीहरुको सरसल्लाह नलिइएको गुनासो बढ्दै गएको छ । त्यसैगरी सचिव पदका लागि प्रदिप यादव, सुधिर गोइत, रामनरेश महतो, रामबाबु यादव आकांक्षी छन् । हुन त अहिले पनि ड्यामेज कन्टूोल गर्नका लागि उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, प्रदेश समिति जस्ता विभिन्न कमिटिहरुमा ल्याउने भनेर फकाउन थालिएको छ । जिल्लामा अहिले सभापति, सचिव र कोषाध्यक्षका लागि निर्वाचन हुनेछन् । त्यसैगरी निर्वाचित सभापतिले उपाध्यक्ष एक जना, सचिव एक जना र सहसचिव एक जना, सदस्यहरु १४ जना समावेशी सहित मनोनयन गर्ने कांग्रेस भित्रको प्रावधान रहेकाले दुवै खेमाका नेतृत्वहरुले कार्यकर्ताहरुलाई ती सम्भावित पदहरु दिने आश्वासन बाँडिरहेका छन् । उक्त आश्वासनका कारण पनि विद्रोह हुने कुरालाई तत्कालको लागि नेतृत्वले मत्थर पार्न सकेपनि सदाका लागि साम्य हुने छैनन् ।
जाती कार्ड
कांग्रेस धनुषामा जिल्ला कार्यसमिति चुनावका लागि कुल १ हजार १ सय ७२ जना मतदाता रहेका छन् । जसमध्ये करिब करिब यादव समुदायका ३ सय ६२, साहुजी समुदायबाट १ सय ८०, फोरवार्ड भनिने कथित उच्च जात ब्राह्मण, कायस्थ, भुमिहार, राजपुतबाट करिब ९२, पहाडी समुदायबाट करिब ५७, मुस्लिम समुदायबाट ७२, दलित समुदायबाट ८२, जनजाती समुदायबाट ८५ जना रहेका छन् । त्यसैले निर्वाचनमा खेमा सँगसँगै जातीगत आधारमा समेत मतदान हुने गरेकोले विभिन्न पदमा विभिन्न समुदायलाई मिलाएर लैजानुपर्ने बाध्यता देखिन्छ । किनभने कुनै एक समुदायको मात्र बहुमत नरहेकोले कुन खेमाका व्यक्ति वा कुन समुदायका व्यक्तिले बाजी मार्लान, यकिन गर्न गाह्रो हुनेछ ।
जिल्लाको इतिहास
धनुषा जिल्लामा समग्रमा हेर्दा अहिले कुनै खेमा भन्दा पनि विमलेन्द्र निधि एउटा व्यक्तिको रुपमा कांग्रेस भित्र बर्चस्वशाली देखिन्छ । किनभने शेरबहादुर देउवा भन्दा पनि विमलेन्द्र निधि जनकपुरमा हावी छन् । तर, अर्को खेमा तर्फ आनन्द प्रसाद ढुङ्गाना पनि कम छैनन् । शारिरीक रुपले लिला कोइराला असक्त भएपनि उनको प्रभाव नगन्य नै भएको हो भनेर भन्न सकिने अवस्था छैन । गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाको देहावशान पछि लिला कोइराला कमजोर देखिएपनि केन्द्रमा उनको पकड अहिले पनि पौडेल पक्षमा छ । धनुषा कांग्रेसको इतिहास हेर्ने हो भने सबै भन्दा पहिले महेन्द्र नारायण निधि, लिला कोइराला, आनन्द प्रसाद ढुङ्गाना, स्मृतिनारायण चौधरी, रामबरण यादव, रामसरोज यादव र रामकृष्ण यादवले नेतृत्व गरेका छन् । रामसरोज र रामकृष्ण यादव दुवै जना चुनाव लडेको बेला रामकृष्ण यादव चुनाव जितेका थिए । तर पार्टी फुटेपछि दुवै जनाले आआफ्नो खेमाको नेतृत्व गरेका थिए । पछि पार्टी एकिकरण भएपछि रामसरोज अध्यक्ष र रामकृष्ण सहअध्यक्ष भएका थिए ।
अब के हुने ?
महेश शंकर गिरी शिर्ष नेता मध्येका एक हुन । २०३६ सालकै आन्दोलन देखि उनी सक्रिय छन् । २०३० सालमा नेविसंघको सदस्यता लिएर राजनीति सुरु गरेपछि २०३३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष शेरबहादुर देउवा भएका बेला उनी उक्त कार्यसमितिमा केन्द्रिय सदस्य थिए । त्यसैगरी २०३६ सालमा विमलेन्द्र निधि नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष भएका बेला उनी केन्द्रिय कोषाध्यक्ष थिए । यसो हेर्ने हो भने निधि कहाँबाट कहाँ पुगिसके तर गिरी जिल्लामा पनि स्थापित हुन सकेका छैनन् । निधि अब पार्टीकै नेतृत्व गर्ने अवस्थामा पुगिसकेको छन् भने गिरी जिल्लाकै नेतृत्व पनि पाउन सकेका छैनन् । योगदान र बरिष्ठताको आधारमा हेर्ने हो भने उनको उम्मेदवारी एकदमै जायज देखिन्छ । २०४५ सालमा आनन्द प्रसाद ढुङगाना कांग्रेस धनुषाको सभापति भएका बेला उनी जिल्ला कोषाध्यक्ष भएका थिए । त्यसैगरी २०४९ सालमा स्मृतिनारायण चौधरी सभापति भएको बेला जिल्ला सचिव भएका थिए । पार्टी सभापतिमा पटक पटक लडेर स्मृतिनारायण चौधरी र रामसरोज यादवबाट उनी पराजित भएपनि २०४६ साल देखि यता उनी लगभग प्रत्येक कार्यसमितिमा जिल्ला सदस्यको रुपमा मनोनित हुँदै आएका छन् । उनको बुवा ज्ञानीशंकर गिरी पनि खाँटी कांग्रेसी थिए । २००३ सालमै लोकसेवक संघमा आवद्ध भई २००७ सालको क्रान्तिमा उनको बुवा सामिल भएका थिए । ९ बर्ष जति निर्वासित जीवन विताएका थिए । २०१८÷०१९ साल तिर नेपाल सरकारले सर्बस्व हरण गरेका ६ जना व्यक्तिहरु मध्ये गिरी पनि थिए । उनीसँगै सुरेशमान जोशी, महन्थ यादव, निरगुन यादव, महाविर शर्मा आदिलाई सर्बस्व हरणको मुद्दा लगाइएको थियो ।
चुनावी परिणामको कुरा गर्ने हो भने पछिल्लो जिल्ला अधिवेशनमा पनि उनी सभापतिमा उठेका थिए । तर, उनी तेस्रो भएका थिए । उनकोलागि चुनावमा यो सवल पक्ष हो । तर, उनको दुर्वल पक्ष के हो भने उनी राजनीतिक कार्यकर्ता सँगसँगै उनी महन्थ पनि हुन । भारत विहारको हरलाखी मठका उनी महन्थ पनि हुन । उनको त्यहाँ जमिन्दारी रहेको छ । हरलाखीमा करिब ५÷७ विघा जग्गामा उनको दुई सय बर्ष देखि जमिन्दारी रहँदै आएको छ । त्यसैगरी उनी खसआर्य समुदायका नेता हुन । अहिले मधेश आन्दोलन चलिरहेको बेला पार्टीको नेतृत्व खसआर्य भन्दा पनि मधेशी समुदायले गर्नुपर्ने कुरा कांग्रेस भित्र जोड्सोड्ले चलिरहेको छ । अर्को तर्फ पौडेल खेमाबाट अहिलेसम्म उम्मेदवार नै तय नभएकाले भन्न सकिन्न ।
गिरी जुन खेमाका नेता हुन सोही खेमाबाट रामपल्टन साहले सभापतिमा आफ्नो उम्मेदावरी दिईसकेका छन् । रामपल्टन भन्छन,“गिरीको उम्मेदवारी आधिकारिक उम्मेदवारी होइन । भिमबहादुर तामाङ्ग विरुद्ध यूवाको नारा दिँदै जसरी विमलेन्द्र नारायण निधिले आफ्नो बुवा महेन्द्रनारायण निधिको पनि कुरा नमानेर उनले विद्रोही भएर चुनाव लडेका थिए र मैले उनलाई मतदान गरेको थिएँ, ठिक त्यसैगरी अहिले यूवाको आवाज र नेतृत्वलाई पार्टीले स्वीकार गर्नुपर्छ ।” रामपल्टन भन्छन,“ महेशशंकर गिरी पार्टीको सिनियर नेता हो, उनको स्थान जिल्लामा होइन पार्टीको केन्द्रिय कार्यसमितिमा हुनुपर्छ । र, अहिले धनुषामा मधेसी समुदायको नेतृत्वको खाँचो छ, न कि खस आर्य समुदायको ।”
त्यसैगरी पार्टीका सचिव कोमलकान्त झा पनि महेश शंकर गिरी आधिकारिक उम्मेदवार रहेको कुरा स्वीकार गर्दैनन् । उनी भन्छन,“ उनको उम्मेदवारी पार्टीको टिम भित्र छलफल गरी गरिएको छैन । पार्टी सभापति रामसरोज यादवले फेसबुकमा उनको उम्मेदवारी घोषणा गरेका छन् । हामीसँग कुनै सल्लाह गरिएको छैन । क्षेत्रिय सभापति र गाउँ कमिटिका सभापतिहरुसँग समेत कुनै सल्लाह गरिएको छैन ।” आफु महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतका साथ विजयी भएकाले पनि आफु पनि सभापति पदको लागि उम्मेदवारी दिने झाले द एक्सक्लुसिभलाई बताएका छन् । सोही टिमका क्षेत्र नं. ५ का क्षेत्रिय सभापति योगेन्द्र पजियारले पनि गिरीलाई पार्टीको निधि खेमाको आधिकारिक उम्मेदवारको रुपमा स्वीकार गरेका छैनन् ।
पार्टी सभापति रामसरोज यादवको चाहना त आफ्नो भतिजो रामबाबु यादवलाई सभापतिमा ल्याउने थियो । तर, क्षेत्र नं. ३ को क्षेत्रिय अधिवेशन हुँदा महाधिवेशन प्रतिनिधिमै नआएकाले अब उनलाई जिल्ला कार्यसमितिमा सचिव बनाउने खेल सुरु भएको छ । त्यसको नेतृत्व रामसरोज यादवले गरिरहेका छन् । फेरी जनकपुर भनेको साहुजी बाहुल्य ठाउँ हो । किशोरी साहलाई सभापतिको रुपमा नउठाएपछि साहुजी समुदायबाट कसैलाई राख्नुपर्ने अर्को बाध्यता देखिन्छ । त्यसैले कोषाध्यक्ष पदमा कुनै साहुजीलाई उठाउने चर्चा चलेको छ । जिल्लामा हेर्ने हो भने समग्रमा यादव समुदाय बाहुल्य रहेको छ । अहिले नै विभिन्न राजनीतिक पार्टीका जिल्ला अध्यक्षहरु यादव समुदायकै बढी रहेको छ । यस्तो अवस्थामा पौडेल समुदायबाट यादव समुदायकै उम्मेदवारी पर्ने लगभग निश्चित छ । त्यसकारण यादव समिकरणको हावा चल्यो भने पौडेल पक्षले बाजी नमार्ला भन्न सकिन्न । किनभने क्षेत्र नं. ५ मा निधि खेमाको एकल बर्चस्व स्थापित भएपनि पौडेल पक्षका सन्तोष यादवले यादव भएकै कारण बाजी मारेकोले पनि उक्त जिल्ला अधिवेशनमा के हुने हो भन्न सकिन्न् । उक्त खेमाबाट सन्तोष यादवको नाम पहिले देखि धेरै चर्चामा रहेपनि क्षेत्र नं. ५ को क्षेत्रिय अधिवेशनमा उनी मात्र जित्नु र चन्द्रमोहन यादव हार्नुले पनि अब सन्तोष यादवको सम्भावना घटेको छ । किनभने चन्द्रमोहन यादव अब कुनै पनि हालतमा सन्तोष यादवलाई टिकट दिलाउने छैनन् । त्यस्तो अवस्थामा सांसद समेत रहेका र क्षेत्र नं. १ का पुर्व सभापति समेत रहेका दिनेश परसैला यादव नै उक्त खेमाको तर्फबाट सभापति पदको लागि आधिकारिक उम्मेदवार हुन सक्ने सम्भावना बढेको छ । पौडेल खेमाबाट चर्चामा रहेका सभापति पदका उम्मेदवारहरु मध्ये श्याम नारायण यादव क्षेत्र नं. ६ का पुर्व सभापति हुनुका साथै रामकृष्ण यादव सभापति भएको बेला जिल्ला कमिटिका सदस्य थिए । महाधिवेशन प्रतिनिधि हुनुका साथै मखनाहा गाउँ इकाई कमिटिका पार्टीका पुर्व सभापति हुन । नेविसंघमा २०४२ सालमा सदस्यता लिएका यादव आनन्द प्रसाद ढुङ््गाना नजिक छन् । अर्को उम्मेदवार सन्तोष यादव जिल्ला कार्य समितिमा सचिव पदमा निर्वाचित भएका छन् । बनिनिया गाविसका पुर्व अध्यक्ष हुनुका साथै सांसद रामकृष्ण यादवको खास सम्धि हुन उनी । लिला कोइराला र रामबरण यादव नजिक उनी मानिन्छन् । त्यसैगरी अर्को प्रत्यासी विशेश्वर यादव लक्कड गाविसका पार्टीका पुर्व अध्यक्ष, रामकृष्ण यादव जिल्ला सभापति भएको बेला सचिव हुनुका साथै पुर्व महासमिति सदस्य समेत हुन, उनी । त्यसैगरी भोला चौधरी पनि प्रत्यासी देखिएका छन् ।



२०७३ फाल्गुन १५ गते आईतबार