Tuesday, June 6, 2017

जनकपुरको मेयरमा ‘कांग्रेसको बागी’ नै निर्वाचित हुने गरेको इतिहास

जनकपुर उपमहानगरपालिकाको कार्यालय ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अहिलेको जनकपुर उपमहानगरपालिका र विगतको जनकपुर नगरपालिकामा मेयर तथा उपमेयर पदमा स्वतन्त्र उम्मेदवारहरु नै निर्वाचित हुने गरेको इतिहास रहेको छ । राजनीतिक दलहरुले प्रमुख पदमा जित हासिल गर्न सकेको देखिँदैन । त्यसो त उक्त नगरपालिका नेपाली कांग्रेसको गढ हो । तर, कांग्रेसले उठाएका आधिकारिक उम्मेदवारको विरुद्ध उठ्ने कांग्रेस कै बागी उम्मेदवार स्वतन्त्रबाट  निर्वाचित हुने गरेका छन् ।
२०४६ सालमा बहुदलिय प्रजातन्त्रको स्थापना भएपछि पनि सम्पन्न स्थानीय निकायका चुनावहरुमा नेपाली कांग्रेसका बागी उम्मेदवारहरु जित्ने गरेका छन् । २०४९ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जनकपुर नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार वृषेशचन्द्र लाल स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका थिए । लालले कांग्रेसका आधिकारिक उम्मेदवार दिगम्बर रायलाई पराजित गरेका थिए । त्यसैगरी उपमेयरमा कांग्रेसका बागी उम्मेदवार लालकिशोर साह उपमेयरमा निर्वाचित भएका थिए । साहले कांग्रेसको आधिकारिक उम्मेदवार किशोरी साहलाई पराजित गरेका थिए । २०५४ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा जनकपुर नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार बजरंग प्रसाद साह स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका थिए । साहले कांग्रेसका आधिकारिक उम्मेदवार दामोदर उपाध्यायलाई पराजित गरेका थिए । त्यसैगरी उपमेयरमा कांग्रेसका आधिकारिक उम्मेदवार किशोरी साह उपमेयरमा निर्वाचित भएका थिए ।
२०५४ सालमा जनकपुरको निर्वाचन परिणाम
२०५४ सालमा स्थानीय निकायको निर्वाचन हुँदा जनकपुर नगरपालिका भित्र १६ वटा वडाहरु थिए । ३८ हजार ४ सय ३४ मतदाता रहेको जनकपुर नगरपालिकामा त्यो चुनावमा २१ हजार ३ सय ९३ मत खसेको थियो । प्रतिशतको आधारमा ५५.६६ प्रतिशत खसेको थियो । २०५४ सालमा जनकपुर नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्य र महिला सदस्यहरु गरी कुल ८२ वटा पदहरुका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले २४, नेकपा एमालेले २२, राष्टिूय प्रजातन्त्र पार्टीले २० र स्वतन्त्र उम्मेदवारहरुले १६ स्थानमा जित हात पारेका थिए ।
 उक्त निर्वाचनमा जनकपुर नगरपालिकामा मेयर पदका लागि १४ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसका दामोदर प्रसाद उपाध्याय, नेकपा एमालेका मदन मोहन थापा, राष्टिूय प्रजातन्त्र पार्टीका श्रवण कुमार साह, नेपाल सदभावना पार्टीका कामेश्वर भुमिहारले मेयर पदमा उम्मेदवारी दिएका थिए । यसका अतिरिक्त अशोक लाल दास, उमाकान्त पाण्डे, गंगाप्रसाद साह कलवार, देवचन्द्र झा, बजरंग प्रसाद साह, भृगुनाथ ठाकुर, मनोज कुमार साह, मनोज कुमार साह तेली, लालकिशोर साह, विजय कुमार साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । नेपाली कांग्रेसको पकड मानिने जनकपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बजरंग प्रसाद साहले ५ हजार ९ सय ८७ मत ल्याई मेयरमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका टिकट नपाएपछि कांग्रेसको बागी उम्मेदवारको रुपमा स्वतन्त्र भई मेयरमा निर्वाचित भएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार दामोदर प्रसाद उपाध्यायले ५ हजार ७९ मत ल्याई दोस्रो र एमालेका मदन मोहन थापा ४ हजार १ सय ९३ मत ल्याई तेस्रो भएका थिए । राप्रपाका श्रवण कुमार साहले ४ हजार ७ मत ल्याई चौथो भएका थिए भने कांग्रेसकै अर्को बागी उम्मेदवार लालकिशोर साह १ हजार ६ सय ३५ मत ल्याई पाँचौं भएका थिए ।
त्यसैगरी जनकपुर नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार किशोरी साह ७ हजार ८ सय ९७ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका मोहम्मद असगर अलि मुसलमान ५ हजार ७ सय ३६ मत ल्याई दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । नेकपा एमालेका विजयलाल दासले ४ हजार १ सय ४२ मत ल्याई तेस्रो स्थानमा सिमिति हुनु पुगेको थियो । उपप्रमुखमा नेपाल सदभावना पार्टीका उपेन्द्र प्रसाद उपाध्याय र अन्य स्वतन्त्र उम्मेदवारहरु इस्माईल अनसारी, पशुपतिनाथ झा, मनोहर खाँती, रमेश कुमार कोइराला, राजदेव मिश्र र रामपुकार रायले पनि उम्मेदवारी दिएका थिए ।
जनकपुरको वडा नं. १ मा नेकपा एमालेका माधव बहादुर थापा ३ सय २२ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विष्णुदेव महतोले ३ सय १६ मत ल्याई दोस्रो र स्वतन्त्र उम्मेदवार उमेश प्रसाद सिंह राजपुत २ सय ४९ मत ल्याई तेस्रो भएका थिए । उक्त वडामा वडा सदस्यको रुपमा नेकपा एमालेका कुलदिप सदा, नेकपा एमालेका बद्रीरवि दास, नेकपा एमालेका श्याम कुमार साह सुडी निर्वाचित भएका थिए । त्यसैगरी महिला सदस्यमा स्वतन्त्रबाट सुधा गिरी निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. २ मा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका केशव प्रसाद ढुङ्गेल ४ सय १८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका मनोज कुमार शर्मा ३ सय ६० मत ल्याई पराजित भएका थिए । राप्रपाका विक्रम साह तेलीले १ सय ९० मत ल्याई तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । उक्त वडामा वडा सदस्यमा स्वतन्त्रबाट अरुण भट्टराई, स्वतन्त्रबाटै गणेश झा र महिला सदस्यमा स्वतन्त्रबाट रेणु झा निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ३ मा वडा अध्यक्षमा स्वतन्त्रबाट इश्वर कुमार ढुङ्गानाले १ सय ७४ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका जोगेन्द्र साह तेली १ सय २६ मत ल्याई दोस्रो र स्वतन्त्रबाट जयविर राय कुर्मीले १ सय ४ मत ल्याई तेस्रो स्थान हासिल गरेका थिए । वडा सदस्यमा नेपाली कांग्रेसका बैद्यनाथ साह तेली, राप्रपाका रामनारायण लोहार र हरिनन्दन झा मैथिल, महिला सदस्यमा राप्रपाका शशिदेवी ढुङ्गाना निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार राघोसिंह राजपुत ५ सय ९० मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेकपा एमालेका भरत साह ५ सय ५४ मत ल्याई दोस्रो र नेपाली कांग्रेसका हेमचन्द्र चौधरीले २ सय ७७ मत ल्याई तेस्रो स्थान हासिल गरेका थिए । वडा सदस्यहरुमा नेकपा एमालेका अशोक श्रेष्ठ, जिवन कुमार यादव, नेपाली कांग्रेसका मिश्री ठाकुर सोनार र महिला सदस्यमा नेकपा एमालेका दिपा महर्जन निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ५ मा नेकपा एमालेका हफिज अनसारीले २ सय १४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रमोद कुमार चौधरीले २ सय ६ मत र राप्रपाका उमेश चौधरीले १ सय ४५ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । वडा सदस्यहरुमा स्वतन्त्रबाट व्रिजनन्दन प्रसाद साह कलवार, नेकपा एमालेका श्याम प्रसाद साह कलवार, राप्रपाका श्रवण मण्डल धानुक र महिला सदस्यमा राप्रपाका आशा देवी साह हलुवाई    निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ६ मा राप्रपाका इद्रीश कवाडी ४ सय ६६ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए भने स्वतन्त्रबाट जगरनाथ साहले ४ सय ५९ मत ल्याई पराजितभएका थिए । वडा सदस्यहरुमा राप्रपाका रामकुमार मण्डल, राप्रपाका लखन राय, राप्रपाका लालबाबु अन्सारी र महिला सदस्यमा स्वतन्त्रबाट प्रमिला देवी साह निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ७ मा राप्रपाका जिवछ साह तेली ३ सय ९१ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका रामएकवाल साह तेली २ सय ६४ मत र नेकपा एमालेका जगदीश साह तेली २ सय ५१ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा समेटिएका थिए । वडा सदस्यहरुमा राप्रपाका अहमद रेजा राईन, राप्रपाका नथुनि साह तेली, राप्रपाका विश्वनाथ दास तत्मा, र महिला सदस्यमा नेपाली कांग्रेसका सुमित्रा देवी श्रीवास्तव निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ८ मा स्वतन्त्रबाट अवधेश कुमार पोखरेल ३ सय ९८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एमालेका कामेश्वर प्रसाद महतो सुडीले २ सय १५ र नेपाली कांग्रेसका अवधेश कुमार ठाकुरले १ सय ३३ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । वडा सदस्यहरुमा नेकपा एमालेका प्रमोद प्रसाद पोखरेल, नेकपा एमालेका मोहन प्रसाद उपाध्याय, नेकपा एमालेका रामसेवक यादव र महिला सदस्यमा देवता देवी चौधरी निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ९ मा नेकपा एमालेका आनन्द राज ढकालले ५ सय १४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका प्रेमचन्द्र कायस्थले ५ सय ३ र स्वतन्त्रबाट नारायण प्रसाद साह तेलीले ७३ मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा समेटिएका थिए । वडा सदस्यहरुमा नेपाली कांग्रेसका परमेश्वर साह, नेकपा एमालेका भक्त राज रेग्मी, नेकपा एमालेका राजकुमार प्रसाद गुप्ता र महिला सदस्यमा राप्रपाका इन्दिरा देवी झा निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका रामेश्वर ठाकुर हजाम ४ सय ६३ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका टेकनारायण यादव ४ सय ४५ मत ल्याई दोस्रो र स्वतन्त्रका भोला प्रसाद साह कलवार १ सय मत ल्याई तेस्रो भएका थिए । वडा सदस्यहरुमा राप्रपाका हृदयकान्त ठाकुर, नेपाली कांग्रेसका मोती लाल साह हलुवाई, नेपाली कांग्रेसका मिथिलेश कुमार कायस्थ र महिला सदस्यमा नेपाली कांग्रेसका चिन्तु पाठक निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. ११ मा स्वतन्त्रबाट जानकी प्रसाद साह तेलीले २ सय ४७ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका अर्जुन कुमार चौधरी २ सय २९ र स्वतन्त्रबाट किशोरी साह सुडी १ सय १७ मत ल्याई क्रमशः दोस्रो र तेस्रो भएका थिए । वडा सदस्यहरुमा स्वतन्त्रबाट दिपेन्द्र कुमार साह, स्वतन्त्रबाट फेकन दास तत्मा, नेपाली कांग्रेसबाट लक्ष्मण महासेठ र महिला सदस्यमा नेकपा एमालेका निलम देवी साह कानु निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १२ मा राप्रपाका महेन्द्र साहले ७ सय ५ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शत्रुधन यादव ५ सय ६ मत र नेकपा एमालेका रामजुलम राउतले २ सय ८ मत मात्र ल्याउन सकेका थिए । वडा सदस्यहरुमा राप्रपाका इश्वर मण्डल, राप्रपाका बेचन मुखिया, राप्रपाका विश्वनाथ महतो र महिला सदस्यमा राप्रपाका सरस्वती सिंह निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १३ मा नेकपा एमालेका सत्यनारायण यादवले ५ सय ५८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका विलट साह तेलीले २ सय ६५ र स्वतन्त्रका राम दयाल राउत कुर्मीले ७९ मत ल्याएका थिए । वडा सदस्यहरुमा नेकपा एमालेका फुलगेन साह तेली, नेकपा एमालेका रामचलितर साह सुडी, नेकपा एमालेका रामप्रबोध राउत कुर्मी र महिला सदस्यमा नेकपा एमालेका रामकुमारी देवी साह सुडी निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १४ मा स्वतन्त्रबाट रामबरण पासमान ३ सय २९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । स्वतन्त्रबाटै राजदेव ब्राम्हणले २ सय ३४ र स्वतन्त्रबाट श्रीप्रसाद यादव ग्वालाले ३ सय २६ मत ल्याएका थिए । वडा सदस्यहरुमा नेकपा एमालेका विल्टु राउत कुर्मी, राप्रपाका मुकुन्द घिमिरे, नेकपा एमालेका शंकर ठाकुर र महिला सदस्यमा नेकपा एमालेका राजकुमारी ठाकुर हजाम निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १५ मा नेपाली कांग्रेसका रामचन्द्र साह तेलीले ५ सय ५० मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका कृष्णदेव चौधरी सुडीले ४ सय ६९ र नेकपा एमालेका रामदयाल चौधरी सुडीले ४२ मत ल्याएका थिए । वडा सदस्यहरुमा नेपाली कांग्रेसका जगदेव दास तत्मा, नेपाली कांग्रेसका जोगिन्दर साह सुडी, नेपाली कांग्रेसका राजकिशोर मण्डल केवट र महिला सदस्यमा नेपाली कांग्रेसका जमुनि देवी दास तत्मा निर्वाचित भएका थिए ।
जनकपुर नगरपालिकाको वडा नं. १६ मा नेपाली कांग्रेसका रामचन्द्र पजियार सुडीले १ हजार १ सय ९९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपाका विक्रम पजियार सुडीले ७ सय ८० र नेकपा एमालेका गंगाधर मण्डलले ४८ मत मात्र ल्याउन सकेका थिए । वडा सदस्यहरुमा नेपाली कांग्रेसका गनौर मण्डल धानुक, नेपाली कांग्रेसका बेचु भगत तमोली, नेपाली कांग्रेसका मोहन लाल कर्ण र महिला सदस्यमा नेपाली कांग्रेसका लालो देवी यादव निर्वाचित भएका थिए ।
अव फेरिएको स्वरुप
२०१६ सालमा स्थापना भएको जनकपुर नगरपालिका १६ मंसिर २०७१ मा उपमहानगरपालिकाको रुपमा परिणत भएको छ । साविकमा १६ वटा वडा मात्र रहेकोमा अहिले २३ वटा वडाहरु भएका छन् । जनकपुर उपमहानगरपालिका भित्र कुल ७२ हजार २ सय ९० मतदाता रहेका छन् । विगतको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्टिूय प्रजातन्त्र पार्टी मुख्य राजनीतिक शक्तिको रुपमा थियो । तर, अब अर्को नयाँ राजनीतिक शक्तिको रुपमा राष्टिूय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्र पनि थपिएको छ । त्यसैले १४ अषाढ २०७४ मा हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा अब मुख्यतया नेपाली कांग्रेस, नेकपा एमाले, राष्टिूय जनता पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम, नयाँ शक्ति लगायतका राजनीतिक दलहरु बीच प्रतिस्पर्धा हुने देखिएको छ ।


२०७४ जेष्ठ १४ गते आईतबार

२०५४ सालमा जिविस धनुषामा पनि ‘एमालेकै आधिपत्य’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२०५४ सालमा सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा धनुषामा नेकपा एमाले, नेपाली कांग्रेस र राष्टिूय प्रजातन्त्र पार्टी गरी मुख्यतः तीन राजनीतिक शक्ति बीच प्रतिस्पर्धा भएको थियो । धनुषालाई १७ वटा इलाकामा विभाजन गरिएको थियो । जसअन्तरगत १ सय १ गाविस र जनकपुर नगरपालिका मात्रै थिए ।
जिल्ला विकास समिति धनुषाको निर्वाचनमा नेकपा एमालेले नै आफ्नो आधिपत्य जमाएको थियो । सभापति, उपसभापति र १७ इलाकाहरु मध्ये १० वटा इलाकाहरुमा इलाका सदस्य पदमा एमाले निर्वाचित भएको थियो भने दोस्रो स्थानमा नेपाली कांग्रेसले चित्त बुझाउनु परेको थियो । नेपाली कांग्रेसको गढ भनेर चिनिने धनुषामा कांग्रेस जवर्जस्त तरिकाले चुनावमा परास्त भएको थियो । नेपाली कांग्रेसले १७ इलाकाहरु मध्ये ५ वटा इलाकामा मात्र जित हात पार्न सकेको थियो । पञ्चायत व्यवस्थामा शेरेधनुषाको उपाधि पाएका हेमबहादुर मल्लको पार्टी राप्रपाले कुनै पनि पदमा जित हात पार्न सकेन । बरु, स्वतन्त्र उम्मेदवारहरुले दुई वटा इलाकामा जित हात पारेको थियो । मत प्रतिशतको आधारमा जिविसमा नेकपा एमालेले ६३.१५ प्रतिशत, नेपाली कांग्रेसले २६.३१ प्रतिशत र स्वतन्त्रले १०.५२ प्रतिशत मत प्राप्त गरेका थिए ।
जिल्ला विकास समिति धनुषाको सभापति पदमा ४ हजार ८७ मत खसेको थियो । जसमध्ये एमालेले सभापतिमा ४६.८५ प्रतिशत, नेपाली कांग्रेसले ३८.८३ प्रतिशत र राप्रपाले १०.६१ प्रतिशत मत प्राप्त गरेको थियो । उपसभापति पदमा कुल ४ हजार ७ सय ८७ मत खसेकोमा नेकपा एमालेले ५०.४२ प्रतिशत, नेपाली कांग्रेसले ४४.१४ प्रतिशत र स्वतन्त्र उम्मेदवारहरुले ०.०४ प्रतिशत मत प्राप्त गरेको थियो । इलाका सदस्यहरुमा कुल ४ हजार ७ सय ८७ मत खसेकोमा नेकपा एमालेले र नेपाली कांग्रेसले बराबरी ४०.३३ प्रतिशत, राप्रपाले ६.७८ प्रतिशत र स्वतन्त्रले ८.७५ प्रतिशत मत प्राप्त गरेको थियो ।
कुल ३ लाख ५६ हजार १ सय ४० मतदाता थिए । जिल्ला विकास समितिको निर्वाचनमा एमालेका रामचरित्र साह सभापतिमा निर्वाचित भएका थिए । साहले २ हजार २ सय ४३ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका तर्फबाट शिवधारी यादवले १ हजार ८ सय ५९ र राप्रपाका मनोज प्रताप मल्लले ५ सय ८ मत मात्र ल्याई पराजित भएका थिए । त्यसैगरी उपसभापतिमा एमालेका चन्द्रदेव राउत कुर्मी २ हजार ४ सय १४ मत प्राप्त गरी निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका चन्दर साह २ हजार १ सय १३ मत ल्याई पराजित भएका थिए ।
इलाका नं. १ मा नेपाली कांग्रेसका मोहन यादवले १ सय ७७ मत ल्याई इलाका सदस्यमा निर्वाचित भएका थिए भने एमालेका रामचन्द्र दास १ सय ६७ मत ल्याई पराजित भएका थिए । त्यसैगरी इलाका नं. २ मा एमालेका बद्रिमाझी यादव २ सय ३ मत ल्याई इलाका सदस्यमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामअशिष रोहिता १ सय ५५ मत ल्याई पराजित भएका थिए । इलाका नं. ३ मा स्वातन्त्र उम्मेदवार जय प्रकाश सुनरैत २ सय ७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका शत्रुधन यादव १ सय ३४ मत ल्याई पराजित भएका थिए । इलाका नं. ४ मा एमालेका रमेश झा १ सय ३४ मत ल्याई इलाका सदस्यमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका योगेन्द्र प्रसाद ठाकुर ९७ मत ल्याई पराजित भएका थिए ।
त्यसैगरी इलाका नं. ५ मा एमालेका राजकुमार मण्डल १ सय ५० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विजय साह १ सय ८ मत ल्याई पराजित भएका थिए । ईलाका नं. ६ मा एमालेका कमलदेव साह १ सय ४६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामलखन यादव १ सय ४ मत ल्याई पराजित भएका थिए । इलाका नं. ७ मा एमालेका बलराम प्रसाद सुवेदीले ९९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका टिका बहादुर ल्याहो मगर ८४ मत ल्याई पराजित भएका थिए । त्यसैगरी इलाका नं. ८ मा नेपाली कांग्रेसका विमल गौतम १ सय २५ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका दिगम्बर सिंह राउत १ सय मत ल्याई पराजित भएका थिए ।
इलाका नं. ९ मा एमालेका नन्नुकिशोर यादव २ सय २३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मक्सुदन यादवले १ सय ३५ मत ल्याई पराजित भएका थिए । इलाका नं. १० मा एमालेका विजय कुमार यादव १ सय ६८ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मिथिला प्रसाद ठाकुर ६५ मत ल्याई पराजित भएका थिए । इलाका नं. ११ मा नेपाली कांग्रेसका सिताशरण यादव १ सय ६ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामविलाश मण्डल ४७ मत ल्याई पराजित भएका थिए । इलाका नं. १२ मा स्वतन्त्र उम्मेदवार श्याम किशोर यादव ८६ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका रिझन साहु ४३ मत ल्याई पराजित भएका थिए ।
इलाका नं. १३ मा एमालेका राजकुमार प्रसाद गुप्ता ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका शंकर कुमार झा ७१ मत ल्याई पराजित भएका थिए । इलाका नं. १४ मा एमालेका रामप्रवोध राउत ७९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका शत्रुधन पाण्डे ७३ मत ल्याई पराजित भएका थिए । इलाका नं. १५ मा नेपाली कांग्रेसका कुमर कान्त झा १ सय ७८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रघुनाथ यादव ७१ मत ल्याई पराजित भएका थिए । इलाका नं. १६ मा नेपाली कांग्रेसका रामनरेश महतो १ सय ४५ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका पल्टु पंडित १ सय ३१ मत ल्याई पराजित भएका थिए । त्यसैगरी इलाका नं. १७ मा एमालेका शत्रुधन महतो १ सय ३७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजकुमार महतो १ सय ३४ मत ल्याई पराजित भएका थिए ।

२०७४ जेष्ठ १४ गते आईतबार

संविधानसभाको निर्वाचनबाट धनुषामा ‘कांग्रेसको कम व्याक’

 एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२०५४ सालको स्थानीय निकायको चुनावमा नेकपा एमालेको बर्चस्व स्थापित भएको थियो । तर, २०६४ सालमा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेस ठुलो शक्तिको रुपमा स्थापित भएको थियो भने नेकपा एमाले दोस्रो शक्तिको रुपमा खुम्चिएको थियो । स्थानीय निकायको चुनावमा राष्टिूय प्रजातन्त्र पार्टी तेस्रो शक्ति थियो भने पहिलो संविधान सभाको निर्वाचनमा राप्रपाको पत्ता साफ भयो । त्यसको ठाउँमा मधेस आन्दोलनबाट उदाएको मधेसी जनअधिकार फोरम नेपालले आफ्नो उपस्थिति दर्ज गर्न सफल भयो । तर, जनयूद्धबाट शान्ति प्रक्रियामा आएका तत्कालिन नेकपा माओवादी देशैभरीको चुनावबाट संविधानसभामा ठुलो पार्टीको रुपमा स्थापित भएपनि धनुषामा एक  सिट मात्र जित्न सफल भयो ।
७ निर्वाचन क्षेत्रहरु मध्ये नेपाली कांग्रेसले ३, नेकपा एमालेले २, नेकपा माओवादीले १ र मधेसी जनअधिकार फोरमले १ सिट जितेको थियो । धनुषामा उपनिर्वाचन भएपछि नेकपा एमालेले थप एक सिटमा जित हासिल गर्दै कुल ३ सिटमा विजय प्राप्त गरेको थियो ।
धनुषामा ७ वटा निर्वाचन क्षेत्रहरु थियो । पहिलो संविधानसभाको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेका रामचन्द्र झाले १२ हजार १ सय ८३ मत ल्याएर सभाषदमा निर्वाचित भएका थिए । नेकपा माओवादीका योगकुमार बरबरिया यादव ९ हजार ६ सय ८ मत ल्याई दोस्रो, मधेसी जनअधिकार फोरमका गजाधर रोहिता यादव ६ हजार २ सय १० मत ल्याई तेस्रो र नेपाली कांग्रेसका स्मृतिनारायण चौधरी ५ हजार ३ सय ५४ मत ल्याई चौथो स्थानमा सिमित भएका थिए । चौधरी त्यस अघि नेपाली कांग्रेसबाट सांसदमा जितेका थिए ।
 धनुषाको क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादव ९ हजार ८ सय २५ मत ल्याई सभाषदमा निर्वाचित भएका थिए । नेकपा माओवादीका रामचन्द्र मण्डल ८ हजार २ सय १९, नेकपा एमालेका रत्नेश्वर गोइत यादव ६ हजार ५ सय १८, तराई मधेस लोकतान्त्रिक पार्टीका परमेश्वर साह सुडी ४ हजार ४ सय ९० र मधेसी जनअधिकार फोरमबाट पवन कुमार झाले ३ हजार ५ सय ३९ मत ल्याई क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा सिमित भएका थिए ।
 धनुषाको क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधि १५ हजार ५ सय ८२ मत ल्याई सभाषदमा निर्वाचित भएका थिए । नेकपा माओवादीका हरिदेव मण्डलले ९ हजार ९ सय ३६, तराई मधेस लोकतान्त्रिक पार्टीका अमरेश नारायण झाले ६ हजार ९ सय ९ र स्वतन्त्र उम्मेदवार साधु यादवले २ हजार ७ मत मात्र प्राप्त गर्न सकेका थिए ।
क्षेत्र नं. ४ बाट मधेसी जनअधिकार फोरमका संजय कुमार साह १३ हजार ४ सय २२ मत ल्याई संविधान सभामा निर्वाचित भएका थिए । उनको निकटत्तम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका रघुविर महासेठले ९ हजार २ सय ८२ मत मात्र ल्याउन सकेका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका वृषेश चन्द्र लालले ४ हजार ९ सय ६५, नेपाली कांग्रेसका लिला कोइरालाले ४ हजार ३ सय ६३ र नेकपा माओवादीका अरविन्द कुमार लाल कर्णले १ हजार ८ सय ४७ मतमा चित्त बुझाउनु परेको थियो ।
धनुषाको क्षेत्र नं. ५मा नेपाली कांग्रेसका डा.रामबरण यादवले १० हजार ३ सय ९२ मत ल्याई संविधान सभामा निर्वाचित भएका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका श्रीकृष्ण यादवले ९ हजार ९ सय ४, एमालेका रामरतन यादवले ५ हजार ४ सय ८४, नेकपा माओवादीका महादेव यादवले ४ हजार ५ सय ७२ र मधेसी जनअधिकार फोरम नेपालका शेषनारायण यादवले २ हजार ७१ मत मात्र प्राप्त गर्न सकेका थिए । उक्त क्षेत्रबाट निर्वाचित सांसद डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्टूपति पदमा निर्वाचित भएपछि उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा नेकपा एमालेका रघुविर महासेठ निर्वाचित भएका थिए भने राष्टूपति पुत्र डा.चन्द्रमोहन यादव पराजित भएका थिए ।
धनुषाको निर्वाचन क्षेत्र नं. ६ मा नेकपा माओवादी कि रामकुमारी देवी यादवले ११ हजार ५ सय ७० मत ल्याई संविधान सभामा निर्वाचित भएकी थिईन । नेपाली कांग्रेसका प्रेम किशोर प्रसाद साहले ८ हजार ९ सय १३, नेकपा एमालेका योगनारायण यादवले ८ हजार ८ सय ९४, मधेसी जनअधिकार फोरम नेपालका सुरेन्द्र कुमार मण्डलले ३ हजार ३ सय ९९ र राप्रपा नेपालका हेमबहादुर मल्ल ठकुरीले १ हजार ३ सय ३२ मत मात्र प्राप्त गर्न सकेका थिए ।
क्षेत्र नं. ७ मा नेकपा एमालेका शत्रुधन महतोले ११ हजार ६ सय २० मत प्राप्त गरी सभाषदमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका आनन्द प्रसाद ढुङ््गाना ७ हजार ४ सय ६९, नेकपा माओवादीका जागेश्वर महतो कोइरी ४ हजार ४ सय २, चुरे भावर राष्टिूय एकता पार्टीका मेघबहादुर थापाले ३ हजार ३ सय ८४  र राप्रपा नेपालका हेमबहादुर मल्लले १ हजार १ सय २६ मत मात्र प्राप्त गर्न सकेका थिए ।
दोस्रो संविधानसभामा कांग्रेसको ‘कम व्याक’
२०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस ७ मध्ये ५ सिटमा जित हासिल गरी ठुलो शक्तिको रुपमा कम व्याक गरेको थियो । क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका दिनेश परसैला यादवले ८ हजार ८ सय २७ मत प्राप्त गरी संविधानसभामा निर्वाचित भएका थिए । एमाओवादीका बागी उम्मेदवार जोगकुमार बरबरिया यादव ७ हजार ९ सय ४६ र एमाओवादीका आधिकारिक उम्मेदवार रामचन्द्र झाले ५ हजार ३ सय ९० मत मात्र प्राप्त गर्न सकेका थिए ।
त्यसैगरी धनुषाको क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादव ९ हजार ३ सय ७८ मत ल्याई दोस्रो पटक संविधानसभामा चुनिएका थिए । एमाओवादीका  रामचन्द्र मण्डल ७ हजार १ सय ४४ र नेकपा एमालेका भोला प्रसाद साह ५ हजार ३ सय ६५ मत मात्र ल्याउन सकेका थिए ।
क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधि १५ हजार ३१ मत ल्याई संविधान सभामा दोस्रो पटक चुनिएका थिए । नेकपा एमालेकी जुली कुमारी महतोले १३ हजार ५ सय ३९ र एमाओवादीका हरिदेव मण्डल २ हजार ५ सय २३ मत मात्र ल्याउन सकेका थिए ।
क्षेत्र नं. ४ बाट सदभावना पार्टीका संजय कुमार साह १२ हजार ६ सय ६६ मत ल्याई निर्वाचित भएका थिए । साह पनि संविधान सभामा दोस्रो पटक चुनिएका थिए तर यस पटक पार्टी फेरिएको थियो । पहिलो संविधानसभामा फोरमबाट निर्वाचित भएका थिए भने दोस्रो पटक सदभावनाबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसका रामसरोज यादवले ११ हजार ४ सय २६ र तराई मधेस लोकतान्त्रिक पार्टीका वृषेशचन्द्र लालले २ हजार ६ सय ५० मत मात्र प्राप्त गरेका थिए ।
क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डा.चन्द्रमोहन यादव ११ हजार ७ सय ५ मत ल्याई संविधान सभामा निर्वाचित भएका थिए । बुवाले जितेको ठाउँमा उपनिर्वाचनमा पराजित भएपनि दोस्रो संविधानसभामा उनी निर्वाचित हुन सफल भएका थिए । नेकपा एमालेका रघुविर महासेठ १० हजार २३ र तराई मधेस लोकतान्त्रिक पार्टीका अनिता कुमारी यादवले ८ हजार ३ सय ६५ मत प्राप्त गर्न सकेका थिए ।
क्षेत्र नं. ६ बाट नेपाली कांग्रेसका प्रेम किशोर प्रसाद साह तेलीले ७ हजार ७ सय २५ मत प्राप्त गरी संविधान सभामा निर्वाचित भएका थिए । नेकपा एमालेका योगनारायण यादव ७ हजार ३ सय ५६ र राप्रपा नेपालका मनोज मल्ल ठकुरीले ६ हजार ३ सय ५७ मत प्राप्त गरेका थिए ।
क्षेत्र नं. ७ बाट नेकपा एमालेका शत्रुधन महतो ८ हजार ८ सय २७ मत ल्याई दोस्रो पटक संविधान सभामा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका बासुलाल महतोले ८ हजार ४ सय ९२ र कांग्रेसका बागी उम्मेदवार समिर घिमिरे भन्ने यज्ञराज शर्मा घिमिरेले ६ हजार ७८ मत ल्याएका थिए ।
धनुषामा यसरी हेर्ने हो भने संविधानसभाबाट कांग्रेस ठुलो शक्तिको रुपमा स्थापित भएपनि अब हुने भनिएको दोस्रो चरणको निर्वाचनमा कांग्रेसले त्यो साख कायम राख्छ वा मधेसबादी शक्ति उसको ठाउँमा नयाँ शक्तिको रुपमा उदय हुने हो त्यो हेर्न भने बाँकी नै छ ।

२०७४ जेष्ठ १४ गते आईतबार