Wednesday, April 27, 2016

सदभावनाले संजय बचाउ अभियान चलाउने

जनकपुर अञ्चल अस्पतालमा 
उपचारको क्रममा संजय साह ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरका एक जना व्यवसायी अरुण कुमार सिंघानिया हत्याको मुख्य योजनाकारका रुपमा रहेका प्रतिवादी संजय कुमार साह आमरण अनशनमा बसेका कारण उनको स्वास्थ्य स्थिति विग्रदै गएपछि अदालतको आदेशका कारण उनको थप उपचारका लागि काठमाण्डौ स्थित डिल्ली बजार कारागारको रोहवरमा उपचार गर्न पठाइएको छ ।
 जनकपुर बम काण्डमा निर्दोष ५ जना नागरिकको हत्या भएको र दर्जनौं मानिसहरु गम्भीर घाइते भएको उक्त बम काण्डका पनि प्रमुख योजनाकारका रुपमा संजय साहलाई अभियूक्त बनाई अदालतकै आदेशले उनी कारागारमा थुनामा रहेका थिए । तर, सिंघानिया हत्याको घटनामा पनि साहको संलग्नता देखिएपछि धनुषा प्रहरीले उनलाई कारागारबाट झिकाई अनुसन्धान प्रक्रिया अगाडी वढाउन थालेपछि उनी आमरण अनशनमा बसेका छन् । उच्च स्तरीय न्यायिक छानविन समिति गठन हुनुपर्ने र सम्पुर्ण घटनाहरुका दोषीलाई कारवाही हुनुपर्ने तथा आफु निर्दोष भई सह अभियूक्तहरुले पोलेकै भरमा आफुलाई प्रशासनले पुर्वाग्रह राखि फसाउन खोजेको भन्दै साह गत चैत्र २१ गते देखि आमरण अनशनमा बसेका छन् । गत ८ बैशाखमा थुनछेक प्रयोजनका लागि धनुषा जिल्ला अदालतमा बयान गराउनका लागि उपस्थित गराउँदा उपस्थित गराइएका क्रममा साहले बयान गर्दा सवाल जवाफको पहिलो प्रश्नमै मेरो स्वास्थ्य स्थिति ठिक नभएको हुँदा म अहिले बयान गर्न सक्दिन मेरो मेडिकल चेक जाँच गरि पाऊ भनि उल्लेख गर्नुका साथै उनका कानुन व्यवसायी प्रकाश घिमिरेले पनि निजको स्वास्थ्यको कारण हाल बयान गर्न सक्ने अवस्था नभएको हुँदा अदालतका एक जना कर्मचारी समेत खटाई निजको स्वास्थ्य परिक्षण गरी गराई पाऊ भनि इजलाश समक्ष भनेका थिए ।
तत्पश्चात स्वास्थ्यको कारणले इन्कार गरेको अवस्थामा शारिरीक तथा मानसिक अवस्था ठीक नभएको अवस्थामा बयान कार्य सम्पन्न हुने अवस्था नदेखिएका ले आजै जनकपुर अञ्चल अस्पतालमा लगि स्वास्थ्य परिक्षण गरी गराई भोली मिति २०७३ साल बैशाख ९ गते १० बजे प्रतिवेदन सहित पेश गर्न अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यले आदेश दिएका थिए । सोही आदेश पश्चात ८ बैशाखमा साहलाई जनकपुर अञ्चल अस्पतालमा दिनको ३ बजेर ४० मिनेटमा अस्पतालका बरिष्ठ विशेषज्ञ चिकित्सक लगायतका टोलीले उनको उपचार गरेको थियो । उपचारका क्रममा शरिरीक जाँच गर्दा निजको शरीरमा पानीको कमि भई कडा जल विनियोजन एवम शरीरमा चाहिने आवश्यक क्यालोरीको कमि भई शरीरको भित्री अंगहरु असंतुलन भएको हुँदा तुरन्तै अस्पताल भर्ना गरी उपल्लो तहका चिकित्सकिय निगरानीमा राखि उपचार गर्नुपर्ने आवश्यकता भएकोले सोही अनुरुप व्यवस्था गरिएको तथा रक्त परीक्षणको रिपोर्ट पनि फलोअप गरी तद अनुसार उपचार जारी राख्ने वा रिफर गर्नु पर्ने अवस्थाको सुक्ष्म अनुगमन निरन्तर गरिने व्यहोरा सहितको पत्र बैशाख ८ गते अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले हस्ताक्षर गरेको पत्र अदालतलाई पठाइनुका साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय धनुषालाई बोदार्थ गरिएको थियो ।
 त्यसपछि साहलाई इमरजेन्सीबाट वार्डमा भर्ना गराई विशेषज्ञ चिकित्सकको टोलीले उपचार सुरु गरेको थियो । ९ बैशाखमा उनको रक्त परीक्षणको रिपोर्टमा क्रियेटिनको मात्रा वृद्धि भई किडनीमा असर परिरहेको, रगतको सुगरको मात्रामा कमि रहेको तथा क्यालोरीको समेत कमि देखिएको प्रतिवेदन आए पछि चिकित्सकहरुले साहलाई उपचारको क्रममा अत्यावश्यक औषधिहरु दिन खोज्दा साहले असहयोग गरेको मेडिकल सुप्रिटेन्डेन्ट यादवले बताए । उनको शरीरमा विषाक्त रसायन बढ्दै गएको र अर्को किडनी समेत प्रभावित हुन सक्ने, लामो समय देखि पेट खाली रहेका कारण पेटमा रक्तस्राप समेत हुन सक्ने खतरा देखिएको हुनाले आइसियूमा राखि उपचार गर्नुपर्ने आवश्यकता देखिए पछि आइसियू सहित सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन आवश्यक देखिएको भन्दै अस्पतालले साहलाई रेफर गरिएको पत्र अदालतलाई पठाएको थियो ।
त्यसपछि १० बैशाखमा कारागारकै रोहवरमा सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन तथा प्रत्येक १५÷१५ दिनमा स्वास्थ्य प्रगतिको प्रतिवेदन समेत पेश गर्न अदालतले आदेश गरेको थियो । १० बैशाखमा रात भरी साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो भने विहान ४ बजे उनलाई काठमाण्डौ स्थित डिल्लीबजार कारागार पुर्याइएको थियो ।
साहकी पत्नीको पनि अवस्था गम्भीर
शनिबार समाचार लेखिरहँदा १० औं दिनमा आमरण अनशनमा बसेकी संजय साहकी पत्नी रंगिला देवी साह र उनका शुभचिन्तक शिवशंकर यादवको समेत स्वास्थ्य अवस्था विग्रदै गएको छ । हुन त उनीहरुलाई जनकपुर अञ्चल अस्पतालबाट खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले नियमित उपचार तथा स्लाइन पानी चढाईरहेको भएपनि चक्कर आउने गरेको, कमजोरी भएको, पेट दुखेको, पेटमा जलन हुने गरेको, पिसाव गर्दा जलन हुने गरेको आमरण अनशनमा बसेकी रंगिला देवीले द एक्सक्लुसिभलाई बताएकी छिन् । अनशन तोडाउन विभिन्न तहबाट पहल भएपनि जबसम्म उच्च स्तरीय छानविन समिति गठन हुँदैन तबसम्म अनशन नतोड्ने उनले बताइरहेकी छिन् ।
साहको बचाउमा सदभावना पार्टी
संजय साह सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष हुन । दोस्रो संविधानसभाको चुनावमा उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित भएका थिए । उनी बम काण्डमा अभियूक्त बनेपछि तत्कालिन सभामुख सुभाषचन्द्र नेम्वाङले उनको सांसद पदलाई निलम्बन गरेका थिए । हाल उनी अभियूक्त मात्र भई निलम्बित सांसद कायमै रहेको र उनी अदालतको आदेशबाट अपराधि ठहर नभएका कारण उनी हालसम्म आफ्नो पार्टीको बरिष्ठ उपाध्यक्ष पदमा कायमै रहेको ११ बैशाखमा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सदभावनाका अध्यक्ष राजेन्द्र महत्तोले बताएका थिए । पार्टीको पुनर्गठन नभएको हुनाले उनको पदमा कुनै अरु व्यक्तिलाई हालसम्म नल्याइएको भन्दै महत्तोले साहद्वारा उठाइएको माग प्रति पुर्ण समर्थन जनाउँदै नेपाल सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राखेका थिए । उनी सामान्य नागरिक नभएर यस क्षेत्रका जनताको जनप्रतिनिधि समेत रहेकाले नेपाल सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरी अनुसन्धानबाट देखिने दोषीलाई कारवाही तथा निर्दोषलाई रिहाई गरिनुपर्ने माग गर्दै महत्तोले यो त न्यायको आधारभुत सिद्धान्त नै पनि रहेको बताएका थिए ।
महत्तोद्वारा धनुषाका सिडिओसँग कुराकानी
राजेन्द्र महत्तोले धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई ११ बैशाखमा होटेल वेलकममा बोलाई करिब १५ मिनेट जति कुराकानी गरेका थिए । अनशन र अनशनबाट उठाइएका मागको सवालमा आफुले प्रत्येक दिनको जानकारी गृहमन्त्रालयलाई गराईरहेको सिडिओले महत्तोलाई जानकारी गराएका थिए । पथलैयामा सुरक्षाकर्मीहरुको गोष्ठिमा समेत आफुले छानविन समिति गठनको बारे भन्दा अदालती प्रक्रियामा गईसकेको मुद्दामा अलग किसिमले छानविन समिति गठन हुन नसक्ने जवाफ आएको कुरा सिडिओले महत्तोलाई बताएका थिए । आमरण अनशन तोडाईदिन महत्तोलाई प्रजिअ चापागाईले आग्रह गरेका थिए ।
राजेन्द्र महत्तोमाथि खनिए साहका परिवारजन
राजेन्द्र महत्तो जनकपुर आएपछि संजय साहका परिवारजन, आफन्त तथा समर्थकहरु महत्तो माथि खनिएका थिए । यत्रो दिनसम्म आमरण अनशन बसिसके पनि मागको सुनुवाई नभएको र पार्टीले गम्भीरतापुर्वक ध्यान नदिएको भन्दै महत्तो माथि खनिएका थिए । तर, आफुले सक्दो प्रयास गरिरहेको, सरकारका निकायहरुलाई भेट गरिरहेको भन्दै यो आक्रोशलाई शान्तपार्दै हौसला बनाई राख्न तथा संजय साह निर्दोष हुन र उनले सबै अभियोगबाट मुक्ति पाउनेमा आफु विश्वस्त रहेको महत्तोलाई बताएका थिए ।
संजय बचाऊ अभियान चलाइने
संजय साह निर्दोष रहेको तथा राजनीतिक पुर्वाग्रहका कारण झुठा मुद्दामा फसाइएको हुनाले संजय साहलाई बचाउन सदभावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहको संयोजकत्वमा संजय बचाउ अभियान चलाइने सदभावना पार्टीले निर्णय गरेको छ । १० बैशाखमा अबेर राति राजेन्द्र महत्तोको उपस्थितिमा बसेको बैठकबाट जिल्ला स्तरमा मधेसी मोर्चासँग समन्वय गरी विभिन्न समितिहरु बनाई संजय बचाउ अभियान चलाइने निर्णय भएको बैठकमा सहभागी एक जनाले बताए । अभियानले विभिन्न स्वरुपका कार्यक्रमहरु समेत गर्नेछन् । संजय साहकी श्रीमति रंगिला देवीको अनशन तोडाउने सवालमा आफ्नो श्रीमानले अनशन नत्यागेसम्म आफुपनि अनशन नत्याग्ने बताएपछि काठमाण्डौ फर्केर संजय साहसँग भेट गरी अनशन विषयमा के गर्ने भन्ने निर्णय लिइने महत्तोले उक्त बैठकमा बताएका थिए ।
यस अघि पनि सदभावना पार्टी धनुषाको अगुवाईमा संजय साहको मागमा समर्थन गर्दै ७ बैशाखमा जनकपुर बन्द गराइएको थियो । त्यसैगरी विभिन्न प्रदर्शनमा समेत सदभावनाले अगुवाई गर्दै आएको छ । गत बैशाख ८ गते सदभावना पार्टीका प्रवक्ता संतोष मेहताद्वारा जारी गरिएको विज्ञप्तीमा समेत विगत लामो समय देखि सांसद संजय साह र उनका परिवारजनहरु आमरण अनशनमा बसेको हुँदा तिनीहरुको जीवन रक्षार्थका लागि तथा घटनाका बास्तविक दोषीहरु उपर कडा भन्दा कडा कारवाही गर्नका लागि नेपाल सरकारसँग माग गर्नुका साथै मानव अधिकारकर्मीहरुको ध्यानाकर्षण गराइएको थियो । रंगिला देवी आमरण  अनशन बसेको स्थलमा उनीहरुका माग प्रति समर्थनमा गराइएको हस्ताक्षर अभियानमा समेत करिब १० हजार भन्दा वढी मानिसहरुले हस्ताक्षर गरी समर्थन गरेको संजय साहका परिवारजनहरुको दावी छ ।
माग प्रति संघ संस्थाको पनि समर्थन
संजय साह र उनका परिवारजन आमरण अनशनमा बसेको हुनाले तिनीहरुका माग सम्बोधन गरी उच्च स्तरीय छानविन समिति गठन गरी दोषीलाई कारवाही गर्न माग गर्दै महाबिर यूवा कमिटिका अध्यक्ष धर्मेन्द्र साह र राष्टिूय मुस्लिम संघर्ष गठबन्धनले माग गरेको छ ।
अदालतमा बयान पल्टियो
सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकार भनेर प्रहरीले आरोप लगाएको निलम्बित सभासद संजयकुमार साहका सन्दर्भमा अधिकांश आरोपीहरुले अदालतमा वयान फेरेका छन् । प्रहरी समक्ष साहको नाम लिएका उनीहरुले अदालतमा यातना दिई त्यस्तो वयान लिएको न्यायाधीश समक्ष बताएका छन् ।
सिंघानिया हत्या काण्डमा संलग्न रहेको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित सभासद साह, चन्द्रदीप यादव, मुकेश चौधरी, एकलाल भन्ने योगेन्द्र सहनी, रामकरण यादव, ओमप्रकाश यादव, अंशीराईन, विजय भन्ने दीपेन्द्र यादव कुसिऐत, रामविनोद यादव, वन लामा, मनक लामासहित ११ जनामाथि मुद्दा दर्ता गराएको थियो । आरोपीहरुमध्ये दीपेन्द्र, रामविनोद, पवन तथा मनक फरार छन् भन्ने अन्य सात जना विभिन्न आरोपमा यस अघि नै पक्राउ परी पुर्पक्षमा जेलमा छन् ।
जिल्ला अदालत धनुषाका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलासमा जारी सिंघानिया हत्या सम्बन्धी मुद्दाको वयानको क्रममा ओमप्रकाश यादव, योगेन्द्र सहनी, अर्जुन सिंह भन्ने मुकेश चौधरी, चन्द्रदीप यादव तथा रामकरण यादवले आफूलाई निर्दोषमात्र भनेका छैनन, हत्याका मुख्य आरोपी भनिएका निलम्बित सभासद साहको पनि कुनै संलग्नता नरहेको दावी गरेका छन् । प्रहरी अनुसन्धानको क्रममा सिंघानिया हत्याको योजना बनाउन निलम्बित सभासद साहले आफ्नो कदम चौकस्थित घरको छतमा पटक पटक बैठक बसेको, १० लाखको सुपारी दिएको तथा होटल रामामा हतियार एवं जलपानको लागी ३० हजार नगद समेत दिएको वयान दिएका चन्द्रदीप यादवले न्यायाधीश समक्ष संजयकुमार साहसंग चिनजान भए पनि उनीसंग हत्या योजना सम्बन्धी कुनै कुरा नभएको वयान दिएका छन् । प्रहरीले आफूलाई धाक धमकी दिएको तथा भाईलाई समेत मुद्दामा फसाई दिने भन्दै आफैले लेखेर ल्याएको कागजमा सही छाप गराएको उल्लेख गरेका छन् ।
सिंघानिया हत्याका मुख्य आरोपी चन्द्रदीप यादवले प्रहरी समक्ष दिएको वयानमा निलम्बित सभासद साह तथा उनका सहयोगी राम गोवीन्द यादवले १० लाखको सुपारी दिएर सिंघानियालाई हत्या गर्न लगाएको खुलासा गरेका थिए । अरुण सिंघानियालाई २०६६ साल फागुन १७ गते जनकपुरको शिवचौकमा गोली हानी हत्या गरिएको थियो । त्यस्तै २०६९ साल वैशाख १८ गते रामानन्द चौकमा गराइएको वम विष्फोटमा परी पाँच जनाको मृत्यु भएको सहित दुवै घटनामा साहमाथि मुद्दा चल्दैछ ।
न्यायिक छानविनको माग गर्दै बन्द
निलम्बित सभासद संजयकुमार साहलाई नियोजित तरीकाले फसाउन खोजेकोले न्यायिक छानविन समितिको माग गर्दै सद्भावना पार्टीले घोषणा गरेको जनकपुर बन्दको प्रभाव मंगलवार दिनभरी देखियो । मुख्य सडकका पसल तथा व्यापारिक प्रतिष्ठानहरु बन्द रहे भने स्कुल कलेजहरु पनि सञ्चालन भएनन् । विहान फाटफुट यातायातका साधनहरु चले पनि मध्यान्हपछि बन्द भएका थिए । बन्द सफल बनाउन सद्भावनाका कार्यकर्ताहरु चौक चौकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

जनकपुर अञ्चल अस्पतालमा 
उपचारको क्रममा संजय साह ।
आमरण अनशनमा बसेकी संजय साहकी पत्नी रंगिला देवी साहको पनि स्वास्थ्य अवस्था खराब हुँदै ।
संजय साहको समर्थनमा सदभावना पार्टीले बन्द आह्वान गरेको बन्दको पुर्व सन्धयामा ६ बैशाखमा जनकपुरमा निकालेको मशाल जुलुस ।

२०७३ बैशाख १२ गते आईतबार

संजय साहलाई कारवाही गराउन जिवनाथ चौधरी सक्रिय

संजय साह ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

संजय साह र जिवनाथ चौधरी एक अर्काका जानी दुश्मन हुन भनेर जनकपुरमा जो कोहीले पनि भन्ने गर्छन । दुवै जनालाई जनकपुरमा मानिसहरुले ‘डन’, ‘माफिया’, र ‘गुण्डा’ को समेत संज्ञा दिने गरेका छन् । विगतमा संजय साहको पृष्ठभुमि एउटा गुण्डा, ठेक्केदार आदिको रहेपनि पछिल्लो समयमा खास गरी मधेस आन्दोलन देखि उनी राजनीतिक परिचय बनाउन सफल मात्र भएनन्, उनी संविधानसभाको चुनावमा  धनुषा निर्वाचन क्षेत्र नं. ४बाट दुई दुई पटक सभाषदमा निर्वाचित समेत भईसकेका छन् । उनी हाल सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत हुन । यसका अतिरिक्त उनी भौतिक राज्य तथा निर्माण मन्त्रालयका पुर्व राज्य मन्त्रि समेत भईसकेका व्यक्ति हुन । उनी अहिले निलम्वित सभाषद हुन । हाल उनलाई जनकपुर बम काण्डको मुख्य अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश अनुरुप कारागारमा थुनुवा बन्दीको जिवन व्यतित गरिरहेका छन् । र, अरुण कुमार सिंघानिया हत्याको समेत प्रमुख योजनाकारका रुपमा उनलाई लिइएको छ ।
 अर्को तर्फ जिवनाथ चौधरी जिल्ला विकास समिति धनुषामा सह लेखापालको रुपमा कार्यरत एक कर्मचारी थिए । रामानन्द युवा क्लवको पुर्व अध्यक्ष समेत रहिसकेका चौधरी अहिले जिल्ला विकास समितिमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनलाई विशेष अदालतले भ्रष्टाचारी रहेको ठहर गर्दै कैद र जरिवाना समेत गरिसकेको छ । उनले आफ्नो बचाउको लागि सर्बोच्चमा पुनरावेदन गर्ने भन्दै बताउँदै आएका छन् । यसका साथै उनी होटेल सिताप्यालेसका संचालक समेत हुन ।
जिवनाथ चौधरी ।
जिवनाथ चौधरी संजय साहलाई कारवाही गराउन हरसम्भव प्रयास गरिरहेका छन् । संजय साहबाट आफु पटक पटक पीडित मात्र नभई आफ्नो ज्यान सम्म लिने अर्थात हत्या सम्म गराउन उनले पटक पटक प्रयास गरेकाले संजय साहलाई कानुनले कारवाही गर्दा सबैभन्दा वढी खुशी आफु नै हुने जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् । आफ्नो घरमा संजय साहले डकै ितगर्न लगायो, पटक पटक आक्रमण गरी ज्यान लिन संजय साहले प्रयास गर्यो त्यसैले आफु संजय साहबाट पीडित भएको र उनलाई कानुनले जन्मकैद गरे मात्र आफुलाई न्याय हुने बताउँदै जिवनाथ चौधरीले संजय साह विरुद्धका हरेक अपराधका प्रमाणहरु आफुले धनुषा प्रहरी र वकिलहरुलाई समेत उपलब्ध गराईरहेको र संजयलाई कानुनी कारवाही गराउन आफु खुलेरै सक्रिय भएको चौधरीले द एक्सक्लुसिभलाई खुलेर बताएका छन् । जनकपुर बम काण्ड, सिंघानिया हत्या काण्ड लगायत थुप्रै अपराध उनले गरेका कारण संजय साहलाई कारवाही गरिए अधिकांश जनकपुरवासी समेत खुशी हुने उनले बताएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा धनुषाका प्रमुख जिल्ला अधिकारीले फैसला गर्दै २१ महिनाको कैद सजाय तोकेको र उक्त फैसलालाई पुनरावेदन अदालत जनकपुर र सर्बोच्च अदालतको न्यायाधीश कल्याण श्रेष्ठको इजलासले समेत सोही फैसलालाई सदर गरिसकेको हुनाले उनी अपराधि ठहर भईसकेका छन् र अब उनी राजनीतिज्ञ वा निलम्बित सांसद मात्र नरहि अपराधि भएका कारण सदभावना पार्टीले समेत उनको राजनीतिक पद बरिष्ठ उपाध्यक्ष पदबाट खारेजी गर्नुपर्ने चौधरीले सदभावना पार्टीसँग माग गरेका छन् ।
संजय साह र जिवनाथ चौधरी बीच किन भयो दुश्मनी ?
जिल्ला विकास समिति धनुषाका तत्कालिन सभापति राम चरित्र साहको कार्यकालमा संजय साहले जिविसबाट अन्दाजी बार्षिक रु. ४ लाखमा कवाडी ठेक्का लिएका थिए । कवाडको ठेक्का लिएको भएपनि राजमार्गमा आवतजावत गर्ने सवारी साधनहरुबाट आलु, प्याज, चामल, दाल, फलफुल, गाईभैसी सबैबाट राजश्व असुली गर्ने गर्थे । जिवनाथ चौधरीका अनुसार राजश्व दिन नमान्ने सबारी साधनका डूाइभर र कन्डक्टरलाई संजयका मान्छेहरुले कुटपिट गरी जवरजस्ती कर असुली गर्ने गर्थे । यसरी ४÷५ लाखको ठेक्कामा करोडौं रुपैयाँ अवैध तरिकाले संजयले कमाउन थालेपछि २०५८ साल तिर कवाड ठेक्का संजयलाई जिविसले सोझै नदिई प्रतिस्पर्धा गर्न लगाईयो । ४÷५ लाख रुपैयाँमा पाउने ठेक्का प्रतिस्पर्धा गरी संजयले रु. १ करोड १० लाखमा कवाडको ठेक्का लिए । प्रथम किस्ता वापत २० लाख रुपैयाँ जिविसमा संजयले जम्मा गरे र करिव ९०÷९२ लाख रुपैयाँको ग्यारेन्टी नेपाल बंगलादेश बैंकमा जम्मा ग¥यो । बाँकी किस्ताको समय सकिएपछि पनि संजय साहले बुझाउन बाँकी रहेको रकम जिविसमा नबुझाएपछि जिविसले संजयलाई रकम भुक्तानी गर्न पटक पटक ताकेता ग¥यो । यता संजय साहले ठेक्कामा धेरै घाटा भएको हुनाले राजश्व मिनाहा गरिदिन जिविसलाई आग्रह ग¥यो । जिवनाथ चौधरीका अनुसार राजश्व मिनाहा गर्ने अधिकार जिविसलाई नभएको कारण उक्त रकम जम्मा गर्न जिविसले नेपाल बंगलादेश बैंकलाई पटक पटक पत्र लेख्यो । तर पनि नेपाल बंगलादेश बंैकले रुपैयाँ जम्मा गर्न नमानेपछि जिविसले नेपाल राष्टू बैंकलाई पत्र लेख्यो । त्यसपछि २४ घण्टा भित्र रकम भुक्तानी गरिदिन नेपाल राष्टू बैंकले नेपाल बंगलादेश बैंकलाई पत्र लेखेपछि बंगलादेश बैंकले जिविसलाई रकम बुझाएको थियो । त्यसपछि बंगलादेश बैंकले धितोमा राखेको संजयको जग्गा लिलाम गरी रकम असुली गरेको जिवनाथ चौधरीले बताएका छन् ।
चौधरीका अनुसार, संजयलाई के लाग्यो भने जिवनाथले नै गरेर ठेक्का कम्पिटिशनमा लिनुपरेको र राजश्व मिनाहा पनि हुन नदिनमा चौधरीले नै तत्कालिन एलडिओलाई सहमत गराएको आशंकामा संजयले आफुसँग दुश्मनी गरेको हो । यसका अतिरिक्त आफु पार्ट टाइममा विभिन्न संघ संस्थामा काम गर्न थालेपछि बढ्दै गएको लोकप्रियता र सामाजिक क्रियाकलापमा आफ्नो रुचि बढ्न थालेपछि संजय म बाट तर्सिएर मसँग दुश्मनी मात्र गरेनन् मेरो ज्यान समेत लिन पटक पटक गुण्डाहरुलाई परिचालन गरेको जिवनाथ चौधरी बताउँछन् । संजयले योजना बनाई तत्कालिन एसपी छविलाल जोशी बन्जाडे, राम विनोद यादव, ओम प्रकाश यादव र भरत झा समेतको सहयोगमा मेरो घरमा डकैती गर्न लगाएको जिवनाथ चौधरीको आरोप छ । उक्त डकैती मुद्दाको जिल्ला प्रहरीमा जाहेरी दिन जाँदा एसपी बन्जाडेले संजय र म बीच विवाद गराउन सक्रिय भए र संजय साहले नारावाजी गराए ।
संजय साहले मधेसमा रहेको भुमिगत आपराधिक समुहहरुसँग साँठगाँठ राखि आफु माथि सांघातिक हमला गराएको जिवनाथले आरोप लगाएका छन् । जिवनाथका अनुसार संजयकै निर्देशनमा भुमिगत समुहका आकाश त्यागी भन्ने श्रीराम यादवले जनकपुरको विश्वकर्मा चौक नजिक आफुमाथि गोली प्रहार गराएको, अर्जुन सिंह र प्रकाश विद्यार्थी भन्ने मुकेश चौधरी मार्फत संजयले जनकपुर बम काण्डमा आफुलाई मार्न भनी बम विस्फोट गराएको घटनाबाट पनि संजय साह मेरो ज्यानको पछाडि कति हदसम्म हात धोएरै परेको जिवनाथ चौधरी बताउँछन् । आफुमाथि जहिले पनि संजयले आक्रमण गर्न लगाएको भएपनि आफु पनि संजय विरुद्ध आक्रामक नभई रक्षात्मक अवस्थामा रहि कानुनको सहाराबाट संजयलाई कानुनी कारवाही हुनुपर्छ भन्ने बाटो नै अख्तियार गरेको जिवनाथ चौधरीले द एक्सक्लुसिभलाई बताएका छन् । आफुले कहिल्यै पनि कसैको अपहरण, हत्या, लुटपाट तथा जवरजस्ती जग्गा कव्जा नगरेको, गरेको छु भने कसैले पनि देखाओस अनि मात्र आफुलाई माफिया वा गुण्डा भन्न मिल्ने तर्क राख्दै जिवनाथ चौधरीले आफु जहिले पनि समाजको सेवाका लागि अग्रसर रहेको बताएका छन् । यति कम समयमै कसरी अकुत सम्पत्ति आर्जन गरेको सबालमा बैंकको ऋणबाट व्यापार, व्यवसाय गरी सम्पत्ति आर्जन गरेको चौधरीले बताएका छन् । जग्गा व्यवसाय, निर्माण व्यवसाय र होटेल व्यवसायबाट आफुले सम्पत्ति आर्जन गरेको चौधरीको दावी छ ।
उता संजय साह माथि जिवनाथ चौधरीले पनि भौतिक आक्रमणको प्रयास गराएका छन् वा छैनन् भन्ने कुराको वा जिवनाथ चौधरीले संजय साह माथि लगाएका दुश्मनीका कारण सहितका आरोपहरुबारे संजय साह जेलमा रहेका कारण उनीसँग कुराकानी गर्न द एक्सक्लुसिभ सफल हुन सकेको छैन । हुन त संजय साह पनि असुरक्षित रहने गर्थे भन्ने कुराको पुष्टि के बाट पनि हुन्छ भने संजय साह बुलेट प्रुफ ज्याकेट लगाउने गर्थे ।


२०७३ बैशाख १२ गते आईतबार

मधेसमा बढ्दो अपराधको शृंखला

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सर्लाही हेमपुर ७ का ६० वर्षीय एमाले नेता रामनरेश यादवको गत पुस १४ मा हत्या भयो । गाविसका पूर्वअध्यक्षसमेत रहेका जिल्ला कमिटी सदस्य यादव ‘मर्निङ वाक’ गर्दै घरबाट केही पर पुगेका बेला एक समूहले नियन्त्रणमा लिई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गर्याे । हत्या आरोपमा सोही ठाउँका २५ वर्षीय उमेश राय यादव, ३५ वर्षीया मञ्जुदेवी यादव र उनका १८ वर्षीय छोरा रूपेश पक्राउ परे । तीनै जना पुर्पक्षका लागि जेलमा छन् । मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक चन्द्रभूषण यादव भन्छन् ‘टोलकै एक परिवारमा बाबु(छोराको विवाद भएपछि नेता यादव बाबुपट्टि लाग्दा ज्यान गुमाउनुर्पयो ।’ यो घटना सेलाउन नपाउँदै सप्तरी झुड्की प्रहरी चौकीका ३८ वर्षीय असई रमेश सुब्बा ड्युटीमा बसेकै बेला मारिए । पुस २० मा साँझ एक समूहले गोली प्रहार गरी सुब्बाको हत्या गरेपछि त्यस क्षेत्रमा त्रास बढ्यो । घटनाको खासै अनुसन्धान भएको छैन । आरोपित अशोक यादव साधारण तारेखमा रिहा भइसकेका छन् । मुद्दामा खासै आधार नदेखिएकाले आरोपित साधारण तारेखमा छुटेको त्यहाँका सरकारी वकिल कार्यालयको भनाइ छ । त्यहाँका एसपी भीम ढकाल भन्छन, ‘रिसइबी साध्न सहकर्मीको हत्या गरियो, यसबारे थप अनुसन्धान भइरहेको छ ।’
महोत्तरी प्रहरीका अनुसार डेढ महिनायता दुई बालकको फिरौतीकै लागि अपहरण गरी हत्या गरिएको छ । भटौलिया २ का रवीन्द्र महासेठका ८ वर्षीया छोरा चिरञ्जीवी र जलेश्वर १२ का ११ वर्षीय निश्चल पाण्डेको हत्या भएको हो । पर्सामा समेत उस्तै प्रयास भयो । वीरगन्जका ३५ वर्षीय राजेश साह गुप्तालाई एक समूहले फागुन ५ मा अपहरण गरी चार लाख फिरौती लिएको थियो । पीडितले बन्धक बनाएर फिरौती नदिए मारिदिने धम्की दिएको बताएपछि प्रहरीले घटनाको आरोपमा पूर्वप्रहरी जवान अरविन्द सिंहसँगै श्रीभगवान सिंह, दीपक सिंह र विक्की सिंहलाई पक्राउ गरी अनुसन्धान थालेको छ । पूर्वप्रहरी सिंहले फागुन ५ गते राजीनामा दिएका थिए ।
यी प्रतिनिधिमूलक घटना हुन् । हत्या, अपहरण, धम्कीलगायतका घटनाले मधेसका सीमावर्ती पर्सादेखि सप्तरीसम्मको क्षेत्र (प्रस्तावित २ नम्बर प्रदेशका आठ जिल्ला) अपराधको अखडा बनेको छ । लामो समयदेखि हुँदै आएका यस्ता घटना रोक्न सरकारलाई पनि उत्तिकै चुनौती छ । यस्ता अपराधका शृङ्खला खासगरेर पहिलो संविधानसभाको चुनाव ताकादेखि चलेको हो, जुन बेला राजनीतिक आडमा मधेसमा भूमिगत संगठनको बिगबिगी थियो । त्यसैले यस्ता शृङ्खला रोक्न सरकारले यी जिल्लालाई सुरक्षाको उच्च जोखिमको सूचीमा राख्दै संवेदनशील क्षेत्र घोषणा र्गयो र विशेष सुरक्षा नीति ल्यायो तर त्यो संवेदनशीलता कागजमै सीमित भयो । थप सुरक्षा नीति अख्तियार नहुँदा वा सुरक्षात्मक उपाय नअपनाउँदा गम्भीर प्रकृतिका अपराध थामिएका छैनन् ।
प्रहरी स्रोतअनुसार पर्सादेखि सप्तरीसम्मका आठ जिल्लामा पछिल्लो एक वर्षमा गम्भीर प्रकृतिका अपराधमध्ये ७६ जना सर्वसाधारणको हत्या भएको छ । प्रहरीको यो तथ्यांक राष्टिूय मानवअधिकार आयोग र इन्सेक वर्ष पुस्तकसित मिल्दोजुल्दो छ । हत्या हुनेमा राजनीतिक कार्यकर्ता, व्यापारी, सरकारी कर्मचारी, महिला, मजदुर र बालबालिकालगायत छन् । १० जनाको अपहरण भएको छ । फिरौतीका लागि धम्क्याउने घटना योभन्दा बढी छन् । कतिपय घटना ढाकछोप गरिएकाले उजागर हुन पाएका छैनन् ।
रिसइबी, आर्थिक लाभ र यौनजन्य क्रियाकलापले हत्या शृङ्खला बढेको प्रहरी अनुसन्धानबाट देखिन्छ । प्रहरीका अनुसार त्यस अवधिमा सबैभन्दा बढी सर्लाही तथा बारामा १४(१४ र सबैभन्दा कम पर्सामा ३ जनाको हत्या भएको छ । धनुषा र सप्तरीमा ११(११ जना, महोत्तरीमा १०, रौतहटमा ८ र सिरहामा ५ जनाको हत्या भएको छ । गोली प्रहार र विस्फोटका घटनासमेत भएका छन् ।
प्रहरीका एक उच्च अधिकारीको विश्लेषणमा सुरुमा अपराधका आडमा राजनीतिमा रमाउनेले यस्ता घटना दिनदिनै घटाउन थालेपछि सिको गर्ने क्रम पनि चलेको छ । उता राष्टिूय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले प्रहरीको भूमिका रियाक्टिभभन्दा प्रोएक्टिभ कम देखिनुले समस्या भएको बताउँछिन् । उनी भन्छिन, ‘समाजमा कानुनको अनभिज्ञता, प्रहरीको गहिरो र रुचीपूर्वक अनुसन्धान अभावले नागरिक दिनदिनै असुरक्षित भइरहेका छन् । त्यसैले प्रहरीको सुरक्षा सतर्कता नागरिकमुखी हुनुपर्छ ।’ आयोगको अद्यावधिक समीक्षाले यही ठहर गरेको उनले बताइन् । अर्का एक अधिकारकर्मीले प्रहरी ‘इन्टेलिजेन्स’ का नाममा घुमुवा परिचालन गरी आर्थिक लाभतिर लाग्दा हत्या, अपहरणजस्ता जघन्य मुद्दाको फाइल पेन्डिङमा राख्ने चलनका कारण जघन्य घटनाले प्रश्रय पाइरहेको बताए ।
इच्छाशक्ति अभाव
१३ जनाको हत्या आरोपित भूमिगत संगठनका राजन मुक्ति भनिने रञ्जितकुमार झा केही वर्षदेखि (धनुषा, लक्ष्मीपुर बगेवा ७) भारतको पटनामा ‘सेल्टर’ लिएर बस्थे । यसैगरी बाराको गन्जभवानीपुरमा एकैपटक तत्कालीन चार माओवादी कार्यकर्तालाई हत्या गरी भारत विहार पूर्वीचम्पारणका एक प्रभावशाली नेताको संरक्षणमा पुगेका भूमिगत संगठनकै कमान्डर सुनिल जैसवाल (बारा, गन्जभवानीपुर) लामो समयदेखि पारि नै बस्थे । तर प्रहरीको थोरै आँटले यी दुवै जना सहजै फन्दामा परे, जसले गर्दा पीडितहरूले न्याय पाएको महसुस गरे । जनकपुरदेखि वीरगन्जसम्मका यी दुई मुख्य सफलतासँगै दर्जनौं फरार अभियुक्त त्यो बेला समातिएका थिए ।
तत्कालीन माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका बाराका पत्रकार वीरेन्द्र साहको हत्याका अभियुक्तहरू पक्राउ पर्न सकेका छैनन् । हत्या भएका घटनादेखि अहिलेसम्मको अवधिमा दर्जन प्रहरी प्रमुख र प्रशासक फेरिए तर उनका हत्या अभियुक्तलाई पक्राउ गर्न कसैले चासो देखाएन । पत्रकार महासंघले जति दबाब दिँदै आए पनि प्रहरीले झारा टार्ने आशा बाहेक केही गरेको छैन । एक सुरक्षा अधिकारी भन्छन, ‘अभियुक्तहरूलाई पक्रन खासै चुनौती छैन तर पक्राउ गर्ने न आँट छ न त चासो । कसरी पक्राउ पर्छन् ?’ प्रहरीमा यस्ता आँटको कमीले अपराध गर्नेको मनोबल बढिरहेको उनको भनाइ छ ।
मौखिक रूपमा फरार भनिएका तीन जना अभियुक्तको मुद्दा मुल्तबीमा छ । पत्रकार साहको २०६४ असोज १८ मा पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो । अपहरण भएको ३५ दिनपछि अर्थात् कात्तिक २२ गते उनको शव साबिक डुमरवाना गाविस ९ मा पर्ने चारकोशे जंगलको टाँगिया बस्तीमा गाडिएको अवस्थामा भेटिएको थियो । इनर्वासिरा ८ निवासी पत्रकार साहकी पत्नी उमरावती देवी भन्छिन, ‘आरोपितहरू खुलेआम भेटिरहेको स्थानीयले बताइरहँदा प्रहरीले पक्रन आँट गर्दैन । नपक्रुन्जेल न्याय पाउँदिनँ’ उनले भनिन, ‘बाँकी ३ जना जेल नगए शान्ति मिल्दैन ।’
चेतनाको कमी
कलैया ६ का २६ वर्षीय सन्तोष साह कलवार चैत २ देखि बेपत्ता भएपछि घरमा चिन्ता बढ्दै गयो । उनको खोजी गर्दै परिवार व्याकुल भए । कतै पत्तो लागेन । इलेक्टिूकल काम गर्दै गुजारा चलाएका उनी जीवित फेला परेनन् । दुई दिनपछि हत्या गरी बोरामा कसेर फालिएको अवस्थामा कलैया १ स्थित चौरमा फेला परे । उनलाई घाँटीमा डोरी कसेर हत्या गरी फालिएको थियो । घटनामा संलग्न आरोपमा कलैया ४ को एक पूरै परिवार हिरासतमा छ ।  यस्तै रौतहट सन्तपुर दोस्तिया ७ घर भई बाराको भोडाहा ८ स्थित प्रेमीलाई भेट्न आएका २६ वर्षीय युवक पुनदेव यादवको फागुन ४ मा हत्या भयो । उनको शव फागुन १४ गते मनहर्वा ५ स्थित टेङ्ग्रहर खेलाको छेउमा गाडिएको अवस्थामा भेटिएको थियो । यादवको शव बोरामा कोचेर गाडिएको थियो । उनलाई घरमै बोलाई परिवार मिलेर धारिलो हतियारले वीभत्स हत्या गरिएको थियो । घटना आरोपमा एक जना पक्राउ परेका छन, अरू भने परिवार छाडेर फरार छन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेम सम्बन्धले दुवै घटना भएको खुलेको छ । एसपी नरेन्द्र उप्रेतीले दुवै घटनाको मुख्य कारण प्रेम सम्बन्ध नै भएको बताए । भन्छन, ‘केटी पक्षले गोप्य उजुरी दिएको भए न कोही मर्नुपथ्र्यो न कोही घरबार छाडेर भाग्नुपथ्र्यो । कानुनअनुसार कारबाही हुँदा मर्नेको ज्यान जोगिन्थ्यो भने मार्नेको बेहाल हुँदैनथ्यो । त्यसैले चेतना अभावकै कारणले हत्या भएको देखिन्छ ।’ जिल्लाका अर्का एक सुरक्षा अधिकारी भन्छन, ‘अपराध बढ्नुको मनोविज्ञान हेर्दा मदिरा, मोटरसाइकल र मोबाइल कारक छन् । कि त त्यो अपराध प्रेमसित जोडिएको होस् वा अन्य रिसइबी वा आर्थिक लाभ ।’ मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआईजी पशुपति उपाध्यायले मधेसमा बढ्दो अपराधविरुद्ध प्रहरीले सचेतना, निषेधात्मक र अनुसन्धानात्मक गरी यी तीनवटै अलगअलग प्रकृतिका गतिविधि सशक्त ढंगले सुरु गरिएको बताए । यसले अपराध घट्ने उनले बताए । भन्छन, ‘त्यसविरुद्ध समुदायमा चेतना फैलाउनुसँगै हुनसक्ने अपराधबारे सूचना संकलन गरी सम्भावित अपराधलाई निषेधसमेत गरेका छौं र घटित घटनाबारे अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा समेत ल्याइरहेका छौं ।’ यस क्रममा बारा, पर्सा, धनुषा, महोत्तरी लगायतका जिल्लामा धमाधम अभियुक्त पक्राउ परिरहेका छन् । दिनदिनै अपराध शैली फेरिनुले पनि सुरक्षा योजना बनाउन समस्या भइरहेको उनको भनाइ छ । तर पनि यसको रोकथाम र अपराधमा कमी ल्याउन सशक्त ढंगले लाग्ने बताए । भन्छन, ‘पहिले भरुवा बन्दुकको भरमा अपराध हुन्थ्यो भने अहिले त्यो घटेको छ ।’
अस्थिरताले चिन्ता
पहिलो संविधानसभायता मधेस(तराईमा राजनीतिक अस्थिरता बढेपछि सर्वसाधारणमा सुरक्षा चिन्ता बढेको पाइन्छ । दिनहुँजसो हत्या, अपहरण र जबर्जस्ती चन्दा आतंकका घटना हुँदा उनीहरूमा चिन्ता थपिएको हो । असहज अवस्थामा सुरक्षाको उच्च जोखिम मोल्दै आएका सर्वसाधारण त्रासमय दिनचर्या बिताउन बाध्य छन् । मधेसका यी सीमावर्ती जिल्लामा सुरक्षा जोखिम बढ्दै जाँदा चिन्ता थपिएको सर्वसाधारण बताउँछन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता भन्छन, ‘शृङ्खलाबद्ध भइरहेका जघन्य अपराधलाई घटाउन तथा असुरक्षाको सिकारबाट टाढा रहन शिक्षा र रोजगारमा सरकारले विशेष ध्यान दिनुपर्छ । साथसाथै अपराधलाई संस्थागत हुन नदिन सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भारतीय सुरक्षा निकायसित मिलेर लगातार ‘काउन्टर पार्ट मिटिङ’ मार्फत अपराधको समीक्षा गर्नुपर्छ ।’ उनी थप्छन, ‘यो क्षेत्रलाई अपराधीहरूको अखडा बन्न नदिनलाई अपराधलाई राजनीतिक संरक्षण नदिनतर्फ सबै सजग रहनुपर्छ । राजनीतिक खोल ओढेर आपराधिक क्रियाकलापमा संलग्न रहनेलाई समाजले निस्तेज पार्नुपर्छ । साधनस्रोत र जनशक्ति अभाव देखाउँदै सुरक्षा अधिकारीहरू पन्छिने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’
फाइल कतै खुल्छन, कतै खुल्दैनन
धनुषा, जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्या आरोपमा दुई वर्षपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता चन्द्रदीप यादव चैत १६ मा पक्राउ परे । त्यस्तै धनुषाकै सबैला १ का रामसेवक राउत गडेरी र रामप्रकाश यादवको हत्या आरोपमा प्रहरीले एमाले वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवलाई घटना भएको एक वर्षपछि काठमाडौंबाट पक्राउ गरेको छ । मधेसका प्रस्तावित २ नम्बर प्रदेश अर्थात् आठ जिल्लामा त्यस्ता जघन्य अपराधको अनुसन्धान हुन बाँकी र अनुसन्धान भएका थुप्रै पुराना फाइल छन, जुन कतै खुल्छन् कतै खुल्दैनन् । खोल्ने क्रममै जनकपुरमा सिंघानियाँ र थप दुई सर्वसाधारणको हत्या भएको लामो समयदेखि फाइल खुलेको छ । प्रहरी स्रोत भन्छ, ‘फाइलअनुसार अपराधको आरोप लागेका अभियुक्त वा आरोपी केलाउने हो भने सयौं पक्राउको सूचीमा भेटिन्छन् तर न फाइल खुल्छन् न त फरारहरू पक्राउ पर्छन् ।’ भन्छन, ‘प्रहरीले चासो राखेर अनुुसन्धान नगरेकाले यी जिल्लामा अपराधका शृङ्खला घटेका छैनन् । अधिकांश हत्या र अपहरणका आरोपी तथा अभियुक्त वर्षांैदेखि फरार छन् ।’ बारा प्रहरी स्रोतका अनुसार झन्डै पाँच सय पुराना फाइलमध्ये आधाको हाराहारीमा गम्भीर अपराध हत्या, अपहरण, बलात्कारलगायतका छन् । जसमध्ये करिब तीन सय ठहर भएका अभियुक्त फरार छन् । रौतहटलगायतका अन्य मधेसका जिल्लाको अवस्था पनि उस्तै छ । सरकारले अदालतबाट दोषी ठहर भएका अपराधीलाई समात्दा त्यसको जरिवानाको रकम असुलबाट आकर्षक आर्थिक लाभ दिने कानुनी व्यवस्था गरे पनि प्रहरीले त्यसतर्फ खासै चासो दिएको पाइँदैन ।
अपराधसित जोडिएका राजनीतिक अनुहार
एमालेका पूर्वसभासद बाराका रामचन्द्र प्यासी दोस्रो संविधानसभामा एमालेबाट उम्मेदावारी दिएका केन्द्रीय सदस्य महम्मुद आलमको हत्या आरोपमा पुर्पक्षका लागि जेलमा छन् । यसैगरी सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष सञ्जय साह (टकला) पनि जेलमा छन् । जनकपुरका उनी दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ निर्वा्चित भएका थिए । मिथिला राज्यको माग गर्दै जनकपुरमा भएको अनशनको क्रममा बम विस्फोट हुँदा ५ जनाको मृत्यु भएको घटनामा संलग्न आरोपमा उनी जेलमा छन् ।  धनुषा, जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्या आरोपमा भर्खरै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका चन्द्रदीप यादव पक्राउ परेका छन् । सोही घटनाका आरोपित सद्भावनाका केन्द्रीय सदस्य रामविनोद यादव भने फरार छन् । रामविनोद उक्त पार्टीका समानुपातिक उम्मेदवार थिए । त्यस्तै धनुषाकै सबैला १ का रामसेवक राउत गडेरी र रामप्रकाश यादवको विद्यालय व्यवस्थापन समिति छनोट प्रक्रियामा विवादका क्रममा झडप हुँदा मृत्यु भएपछि प्रहरीले एमाले वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनी अहिले हिरासतमै छन् । वीरगन्जका हिन्दु महासंघका अध्यक्ष काशी तिवारीको हत्या प्रकरणमा एमाओवादी नेता प्रभु साह मुछिए तर घटनामा संलग्नता पुष्टि नभएपछि उनले सफाइ पाइसकेका छन् । यसैगरी नेपाल सद्भावना पार्टी (आनन्दी देवी) का तत्कालीन अध्यक्ष श्यामसुन्दर गुप्ता (भैरहवा) पनि अपहरण मुद्दामा जेलमा छन् । यस्तै रौतहटका नेपाली कांग्रेस पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद अफताब आलम विस्फोटका घाइतेलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा छानबिनको दायरामा परेका छन् । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउँदै गर्दा विस्फोट भएपछि पोल खुल्ने डरले घाइतेलाई इँटाभट्टामा जलाएको उनीमाथि आरोप छ । प्रहरीले यो मुद्दा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्दा त्यहाँबाट मुद्दा चलेन । तर सर्वोच्चमा रिट परेपछि तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दा छानबिन गर्न गत वर्ष प्रहरीको नाममा आदेश जारी गर्याे ।
निगरानी अभाव
पछिल्ला केही वर्षयता भारतीय सीमावारि र पारिका आपराधिक ‘सेल्टर’ हरूमा सुरक्षा निगरानीको अभावमा भारतीय अपराधीहरूले अपराध गर्न पल्केको पाइएको छ । २०७० को दोस्रो संविधनसभाताका असोज १८ मा हत्या गरिएका एमालेका महम्मुद आलमको हत्यामा संलग्न भारतीय सुटरहरू वीरगन्जमा लामो समयदेखि योजना बनाएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तर घटना हुनुअघि तिनको नेपाली सुरक्षाले सुइँकोसमेत पाएन । गुप्चर निकायको समेत खासै भूमिका देखिँदैन । उनीहरूले नेपाली नम्बरकै मोटरसाइकलसमेत प्रयोग गरी घुमफिर गरेका थिए । यसैगरी २०७० पुस १७ मा जितपुरमा भारतीय सुटरहरूबाट मारिएका अफताब आलम अन्सारीको हत्यामा भारत उत्तर प्रदेश कोतवाली थाना जामे मस्जिद अलिगढ घर भई भारत उत्तर प्रदेश सपना कलोनी सेक्टर सी लखनउ बस्ने २९ वर्षीय विपिन यादव भन्ने महमद फहद र भारत उत्तर प्रदेश पिलिभित जिल्ला कोतवाली थाना स्टेसन रोड सिभिल लाइन घर भई भारत उत्तर प्रदेश किरातन भिलेज जोनपुर बस्ने ३५ वर्षीय मनोज तथा रवि पाण्डे भन्ने राजेश मिश्र लामो समयदेखि वीरगन्जमै बसेको अनुसन्धानबाट खुलेको थियो । आलमको हत्यादेखि काठमाडौंको फैजान अहमदको हत्यासम्म यिनीहरूको हात रहेको खुलेको थियो । कहिलेकाहीँ उनीहरूको बसाइ रक्सौलको नमस्कार होटेलमा समेत थियो । भारतको मस्ट वान्टेड सूचीमा रहेका भारतीय एक अपराधी केही महिनाअघि कलैयामा बसेको सूचना पाएर भारतीय प्रहरी पक्राउ गर्न सीधै आएको घटनाले सेल्टर भएको पुष्टि हुन्छ । अपराध नियन्त्रणका लागि केही महिनादेखि रोकिएको नेपाल(भारतबीचको काउन्टर पार्टको मिटिङ दुई साताअघि भएकोमा त्यसमा छलफल भएको बाराका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले बताए ।
                                                                                                         सौजन्यः इकान्तिपुर डट कम

२०७३ बैशाख १२ गते आईतबार

Wednesday, April 20, 2016

रोक्का गरिएको सम्पति प्रति संजय साहको चिन्ता

अजय अनुरागी
जनकपुरधाम............
जनकपुर बम काण्ड र व्यापारी अरुण सिंघानियाको हत्यामा प्रतिवादी बनाइएका निलम्बित सांसद संजय कुमार साहले संसदको टोलिले आफ्नो सम्पति रोक्का सन्दर्भमा सफाई दिईसकेको भएपनि सम्पति शुद्धिकरण विभागले आफुहरुको सम्पति हालसम्म रोक्का गरी राख्दा आफुलाई थप अन्याय भईरहेको बताएका छन् । सिंघानिया हत्या काण्डको प्रमुख योजनाकारका रुपमा धनुषा प्रहरीले धनुषा जिल्ला अदालतमा उपस्थित गराएको बेला स्थानीय संचारकर्मीहरु समक्ष संजय साहले उक्त सम्पति फुकुवा हुनुपर्ने तर्क गरेका थिए । सबैभन्दा ठुलो निकाय र सार्वभौम सत्ता सम्पन्न निकायको रुपमा रहेको व्यवस्थापिका संसदको छानविन टोलीले सम्पति फुकुवा गर्न निर्देशन दिईसकेको हुनाले पनि शुद्धिकरण विभागले सम्पति फुकुवा नगरेर आफुलाई थप अन्याय भएको बताएका थिए ।
व्यवस्थापिका संसदको छानविन टोलीको प्रतिवेदन
सम्पति रोक्का गरिएको सन्दर्भमा व्यवस्थापिका संसदको टोलीले समेत प्रतिवेदन बुझाईसकेको छ । २६ कार्तिक २०७१ मा संजय साहको मुद्दासँग गाँसी निज बाहेक निजका नातेदार तथा गैरनातेदार समेतको व्यक्तिगत सम्पति गैरकानुनी रुपले रोक्का भएको र सो गैरकानुनी कारवाही बारे जाँचबुझ तथा छानविन गरी सम्बन्धित निकायलाई उचित निर्देशन गर्न तथा सो विषयमा अध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न सुशासन तथा अनुगमन समिति अन्तरगत सांसद रामचन्द्र यादवको संयोजकत्वमा सांसदहरु अमन लाल मोदी, नरसिंह चौधरी, बहादुरसिंह लामा, मिलन कुमार राजवंशी र जिवराज बुढाथोकी समिति सचिव रहने गरी तीन सदस्यीय उपसमिति गठन गरिएको थियो । ३० कार्तिक २०७१ मा उक्त उपसमितिको बसेको पहिलो बैठकले रामचन्द्र यादवलाई सर्बसम्मतिले संयोजक चयन गर्नुका साथै उपसमितिको कार्यविधि पारित गरेको थियो । त्यसैगरी सम्पति सूचिकरण विभागलाई उक्त उपसमिति गठन भई कार्य प्रारम्भ भएको जानकारी गराउनुका साथै गैरकानुनी रुपले व्यक्तिगत सम्पति रोक्का गरिएका भनिएका व्यक्तिहरुलाई आफ्ना भनाई राख्नका लागि पत्राचार गर्ने निर्णय गरियो ।
२ मंसिर २०७१ मा उक्त उपसमितिको बसेको दोस्रो बैठकले सम्पति रोक्का गरिएको भनिएका व्यक्तिहरु मध्ये उपस्थित ९ जनासँग छलफल गरी समितिले रोक्का भएको भनिएको सम्पतिको विवरण, सो आर्जनको स्रोत, कर तिरेको विवरण र सांसद संजय साहसँग कुनै नाता सम्बन्ध रहे नरहेको खुल्नेगरी उपसमितिले तयार गरेको विवरण ढाँचामा भरि पठाउन निर्देशन ग¥यो । ७ कार्तिक २०७१ मा उक्त समितिको बसेको तेस्रो वैठकले गैरकानुनी रुपमा व्यक्तिगत सम्पति रोक्का भएको भनिएका र २ गतेका वैठकमा उपस्थित भएका ९ जना व्यक्तिहरुका भनाई सुन्नुका साथै मंसिर २५, २०७१ भित्र उपसमितिले उपलब्ध गराएको ढाँचामा विवरण फारम भरि पठाउन र उक्त मितिमा अनुपस्थित अन्य व्यक्तिको हकमा मंसिर २५ भित्र उपसमितिले उपलब्ध गराएको ढाँचामा विवरण फारम सहित उपस्थित हुन र मंसिर २६ गते सम्पति रोक्का गरी पाऊ भनि उजुरी गर्ने जनकपुर नगरपालिका ४ का रामनाथ यादवलाई पनि उपस्थित हुन पत्राचार गरियो ।
उक्त मुद्दासँग सरोकारबाला निकायको रुपमा रहेको सम्पति सुद्धिकरण अनुसन्धान विभाग र सम्पति रोक्का आदेश दिने तथा सो को छानविन कार्यमा संलग्न रहेको केन्द्रिय अनुसन्धान व्यूरोका पदाधिकारीहरुलाई उपसमितिमा आमन्त्रण गरी छलफल गरी निष्कर्षमा पुग्नु भन्दा सम्भव भएसम्म सबै पक्षका कुरा सुनि सरोकारबाला निकायका पदाधिकारीहरुसँगको छलफलको लागि आधार तयार गर्नु आवशयक भएको र सांसद संजय साहसँग आरोपितहरुको यथार्थ सम्बन्ध बुझ्न आवश्यक भएकोले उपसमितिका सदस्यहरुले पुष २२ देखि २४ गतेसम्म सिरहा र जनकपुरको भ्रमण गरी सांसद संजय साह र बोलाएको स्थानमा भेला भए जति आरोपित अन्य व्यक्तिहरुका भनाई लिपीबद्ध गरी उक्त समिति काठमाण्डौ फर्किएको थियो । काठमाण्डौ फर्किए पश्चात माघ १२ गते सरोकारबाला निकायको रुपमा रहेको सम्पति सुद्धिकरण अनुसन्धान विभाग र गैरकानुनी सम्पति भनि रोक्का आदेश दिने तथा सो को छानविन कार्यमा संलग्न रहेको केन्द्रिय अनुसन्धान व्यूरोका पदाधिकारीहरुलाई उपसमितिमा आमन्त्रण गरी छलफल गरी उपसमिति   निष्कर्षमा पुगेको थियो । आरोपित मध्येका मुख्य व्यक्ति सांसद संजय साह र काठमाण्डौमा उपसमितिको बैठकमा उपस्थित भएका र उपसमितिका सदस्यहरुको जनकपुर स्थलगत भ्रमणमा त्यहाँ सम्पर्कमा आएका व्यक्तिहरुको भनाईको साराशं समेत उल्लेख गरिएको छ । उक्त समिति जनकपुर आएको बेला केही व्यक्तिहरु सम्पर्क बाहिर रहेको, केही भारतीय नागरिक भएको र उजुरी कर्ता रामनाथ यादव समेत सम्पर्कमा नआएको प्रतिवेदनमा उल्लेख छ ।
उपसमितिको बैठकमा उपस्थित भई आफ्ना कुरा राख्ने आरोपित २६ जना मध्येका ९ व्यक्तिहरुको भनाई
लोहना ७ धनुषा हाल जनकपुर २ कदम चौक निवासी रामकुमार साह ः म विद्यार्थी र संजय साहको भाई हुँ । मेरो नाममा अन्य सम्पति छैन । बैंक खाता छ र रोक्का भएको छ । मलाई खर्च चलाउन मुस्किल भईरहेको छ । सम्पति रोक्काको पत्र केन्द्रिय अनुसन्धान व्यूरोले दिएको छ । रोक्का सम्पति  चाँडै फुकुवा हुुनुपर्यो ।
जनपा १६ का अमर पजियार ः बुवा विक्रम पजियार, ३ दाजु भाई मध्ये म जेठो र अन्य भाईहरुको नाम क्रमशः अमित पजियार र सुजित पजियार, सुनिता कुमारी पजियार मेरो श्रीमति हुन । हामी सबैको सम्पुर्ण सम्पति रोक्का भएको छ । घर जग्गा, बैंक खाता र गाडी सबै रोकिएको छ । पेशाले म व्यापारी हुँ । संजय मेरो फुफुको छोरा भाई पर्छ । रोक्का सम्पति चाँडै फुकुवा हुनुपर्यो ।
सुजित पजियार ः म राजनीति गर्छु । रोक्का भएको सम्पति आफ्नै बैध आर्जन हो । गलत ढंगले रोक्का भएको छ । रोक्का सम्पति चाँडै फुकुवा हुनुपर्यो ।
अजित पजियार, जनपा १६ कपिलेश्वर ः मेरो नाममा भएको सम्पति पनि रोक्का भएको छ । रोक्का सम्पति चाँडै फुकुवा हुनुपर्यो ।
लट्टु भन्ने राम नरेश कुमार यादव, पौडेश्वर १ ः म व्यापारी हुँ । संजय कुमार साहसँग कुनै सम्बन्ध छैन । बैंक खाता र १० विघा जमिन जुन पैतिक सम्पति हो जुन रोक्का भएको छ । म सगोलमै छु । तर मेरो नामको मात्र सम्पति रोक्का भएको छ । मेरो सम्पति अवैध आर्जन होइन । रोक्का सम्पति चाँडै फुकुवा हुनुपर्यो ।
दिपेन्द्र ठाकुर, महोत्तरी हाल जनपा ८ ः मेरो सम्पति गैरकानुनी तरिकाले रोक्का भएको छ । संजय साहसँग नातागोता, नजिकको कुनै सम्बन्ध छैन । एउटा जिल्ला विकास समितिको खरिदार जिवनाथ चौधरीको नेतृत्वमा संचालित एउटा नामुद भ्रष्टाचारीहरुको समुहले कैयौं भ्रष्टाचार गरेको केशमा सो समुह निलम्बित भई हाल विशेष अदालतमा मुद्दा चलिरहेको छ । त्यही समुहले हामीलाई मुछेर म र मेरो श्रीमति निभा कुमार ठाकुर समेतको नाममा रहेको बैंक खाता तथा सबै सम्पति रोक्का गरिएको छ । पटक पटक हाजिर हुन र विवरण बुझाउन लगाइएको छ । तर हालसम्म रोक्का सम्पति फुकुवा हुने केही संकेत देखिएको छैन । कुन तहबाट के को लागि रोक्का भएको हो केही थाहा छैन । गैरकानुनी तवरले रोक्का भएको सम्पति अबिलम्ब फुकुवा हुनु पर्यो । हामीले व्यापार, जग्गा विकास र पैतृक सम्पतिको आय स्रोतबाट जनकपुरमा केही जग्गा जमिन जोडेका छौं । मेरो र मेरो श्रीमतिको नाममा रहेको उक्त २÷४ कठ्ठा जग्गा पनि रोक्का भएको छ । संजय साहको कुनै गल्ती छ भने उहाँको सम्पति रोक्का हुनु पर्यो । मेरो उहाँसँग कुनै सम्बद्धता नभएको हुँदा मेरो सम्पति किन रोकिनु पर्ने ? प्रारम्भिक अनुसन्धान नै नगरी हाम्रो सम्पति रोकिनु राजनीतिक पुर्वाग्रह हो । राज्य शक्तिको दुरुपयोग र व्यक्तिगत तथा राजनैतिक पुर्वाग्रह हो । हामीले कुनै गैरकानुनी तरिकाले सम्पति आर्जन गरेको होइन । रोक्का सम्पति चाँडै फुकुवा हुनुपर्यो ।
नविन कुमार यादव, महोत्तरी महदैया तपनपुर हाल जनपा १ ः म विद्यार्थी हुँ । संजय साहसँग मेरो कुनै नाता गोता सम्बन्ध र संलग्नता छैन । चुनावको समयमा उहाँको पार्टीको कार्यकर्ता भएर ७÷८ दिन हिँडेको थिएँ । मेरो नाममा कुनै सम्पति पनि छैन । मेरो ५÷१० हजार रुपैयाँ मौज्दात रहेको एक दुई वटा बैंक खाताहरु रोकिएको छ । विद्यार्थी भएकोले बैंक खातामा रहेको रकम गार्जियनले राखिदिएको हो । रोक्का सम्पति चाँडै फुकुवा हुनुपर्यो ।
मनोज कुमार सिंह, सर्लाही बलरा ७ ः मैले मेरो सम्पति रोक्का भएको छ भनेर पत्रिका पढेर थाहा पाएको हो तर पत्रिकामा मै हुँ भनेर स्पष्ट थिएन । सिआईबिमा सम्पर्क गर्दा मलाई सम्पति रोक्का भएको तपाई नै हो भनेर रोक्का पत्र दिइयो । मेरो संजय साहसँग कुनै नाता सम्बन्ध वा अन्य कुनै सम्बद्धता छैन । मेरो सम्पति स्वह आर्जन गरेको र सबैको आय कर तिरेको प्रमाण पेश गरिसकेको छु । रोक्का सम्पति चाँडै फुकुवा हुनुपर्यो ।
रामबाबु साह ः संजय साहको नातामा भिनाजु पर्छु । पेशाले केमिकल इन्जिनियर भई सिंचाई डिभिजनमा काम गर्छु । मेरो श्रीमतिको नाममा रहेको जमिन कसैको बेनामी उजुरीको आधारमा प्रारम्भिक छानविन गर्ने सम्पति शुद्धिकरण ऐनको प्रावधानको पालन नगरी रोक्का गरिएको छ । यो सम्पति केही कठ्ठा खेत हो जुन २०६५ सालमा १ लाख ३० हजारमा किनेको हो । संजय साहबाट बकस वा नामसारी गरी प्राप्त भएको होइन । रोक्का कहिले टुङ्गिने हो थाहा छैन । रोक्का सम्पति बेचविखन गर्न नमिल्ने भएकाले घर व्यवहार चलाउन समस्या छ । रोक्का सम्पति चाँडै फुकुवा हुनुपर्यो ।
राजदेव महत्तो, नौवाखोर पर्साही हाल जनपा १ ः म संजय साहको भिनाजु नातामा पर्दछु । पेशा मेरो औषधि पसल संचालन गरेको छु । रोक्का भएको सम्पतिमा जनकपुर नगरपालिकामा ८ कठ्ठा जग्गा जनकपुर नगरपालिका १६ मा २०६४÷०६५तिर खरिद गरेको हो । संजय साहबाट कुनै हिसावबाट हस्तान्तर भएको होइन । रोक्का हुने कुनै कारण छैन । फुकुवा कहिले हुने हो त्यो पनि निश्चित छैन । काठमाण्डौ आउजाउ गर्न खर्चिलो छ । ८ कठ्ठा जग्गामा सम्पति शुद्धिकरण ऐन लाग्ने राजनीतिक प्रतिसोध भन्दा अरु केही छैन । रोक्का सम्पति चाँडै फुकुवा हुनुपर्यो ।
सम्पति शुद्धिकरण अनुसन्धान विभागले उपसमितिमा पेश गरेको  लिखित विवरण ः
धनुषा लोहना गाविस ८ घर भई हाल जनकपुर २ कदम चौक बस्ने साधु साह सुडीको छोरा संजय कुमार साह विभिन्न आपराधिक तथा गैरकानुनी क्रियाकलापमा संलग्न रहि गैरकानुनी तवरले ठुलो परिमाणमा चल अचल सम्पति आर्जन गरी सम्पति शुद्धिकरण सम्बन्धि कसुर अपराध गरेको भन्ने विषयमा केन्द्रिय अनुसन्धान व्यूरोबाट यस विभागमा उजुरी प्राप्त हुन आएको छ । सम्पति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन २०६४ अनुसार अनुसन्धान अधिकृतको रुपमा काम गर्न केन्द्रिय अनुसन्धान व्यूरो लाई तोकिएको उल्लेख छ ।
सम्पति रोक्का गर्नुपर्ने आधारहरु
उजुरीका आधारमा संजय साहले आर्जन गरेको सम्पति निजका आफन्त तथा सहयोगीहरुको नाउँमा हस्तान्तरण गरेको भनि खुल्न आएकोले सो सम्बन्धी सुक्ष्म अनुसन्धान आवश्यक भएको, निज साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निज सँग निरन्तर नगद लेन देनको कारोवार भएको अन्य व्यक्तिको सम्पतिको अनुसन्धान गर्नु पर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्र भित्र बसोवास गर्ने निज साहको घर परिवार तर्फका सहयोगी र कामदारको नाम नामेसी सहितको विवरण प्राप्त भएको हुँदा निजहरुका नाममा रहेको सम्पतिको अनुसन्धान गर्नुपर्ने देखिएकोे, केन्द्रिय अनुसन्धान व्यूरोबाट स्थलगत अध्ययन तथा अनुसन्धानका लागि खटिगएको अनुसन्धान टोली प्रतिवेदनमा उल्लेखित आधारहरुका कारण सम्पति रोक्का गर्नुपरेको सम्पति शुद्धिकरण विभागले आधारहरु देखाएको छ । त्यसैगरी अनुसन्धान कार्यमा प्रमाण लाग्न सक्ने प्रमाणहरु नष्ट हुन नदिन, कसुरबाट आर्जित सम्पति विक्री वितरण तथा हक हस्तान्तरण हुन नदिन, सम्पति लुकाउने स्थानान्तरण गर्ने अन्य सम्पतिमा मिसाउने आदि कार्य नगर्न, निर्दोष तेस्रो व्यक्तिको अधिकारको संरक्षण गर्न तथा सम्पति विक्री वितरण पश्चात धेरै चरण पार गरेपछि कसुर जन्य सम्पतिको स्रोत प्राप्त गर्न कठिन हुने हुनाले सम्पति रोक्का राख्नुपर्ने कारणहरुको रुपमा विभागले औलियाएको छ ।
अनुसन्धानका क्रममा गरिएका कार्यहरु
प्रारम्भिक अनुसन्धानबाट निज साह सहित गरी २८ जना व्यक्तिहरु सबैलाई अनुसन्धानको दायरामा ल्याई सबैको चल अचल सम्पति, बैंक खाता र अन्य विविध कारोवारको अनुसन्धान थालिएको छ । अनुसन्धानको क्रममा नेपाल राष्टू बैंक, बाणिज्य तथा आपुर्ति व्यवस्थापन विभाग,भुमि सुधार तथा व्यवस्था विभाग , यातायात व्यवस्था विभाग, सहकारी विभाग, विमा समिति, कम्पनि रजिष्टूारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, र नेपाल स्टक एक्सचेन्ज लिमिटेड समेतबाट सम्पति, बैंक खाता, कारोवार, घर जग्गा, सेयर विमा समेतको विवरण माग गरी त्यस्ता सम्पतिहरु समेत रोक्काको लागि पत्राचार भएको विभागले उक्त समितिलाई दिएको जवाफमा उल्लेख छ ।
    त्यसैगरी मालपोत कार्यालयहरु जनकपुर, सिरहा, सर्लाही, महोत्तरी, काठमाण्डौ, भक्तपुर र ललितपुर समेतलाई जग्गाको विवरणको लागि छुट्टा छुट्टै पत्राचार गरिएको उल्लेख छ । जिल्ला कारागार सिरहामा संजय साहको बयान लिनका लागि अनुसन्धान अधिकृत समेतको टोली २०७१ कार्तिक १७ गते देखि खटिगएकोमा निजले स्वास्थ्यको कारण देखाई तत्काल बयान दिन अस्विकार गरेकोले अनुसन्धान टोली फिर्ता भएकोले बयान लिन सकिएको छैन ।
उपसमितिको निष्कर्ष सहितको सिफारिस
सांसद संजय साह र निजहरुसँग सम्बद्ध आरोपित व्यक्तिहरु मध्ये कसैको जग्गा नै नभएको र कसैको १० धुर मात्र जग्गा भएका व्यक्तिको जग्गासम्म पनि रोक्का भएको बुझिएको छ । यसबाट सम्बन्धित व्यक्तिको तथ्य, समस्या र अवस्थाबारे विभाग अनभिज्ञ भए जस्तो देखिन्छ । यस प्रकार हचुवाको आधारमा भएको अनुसन्धान कार्यले बास्तविक र यथार्थ परिणाम ननिस्कने र सम्पति रोक्क ागर्ने जस्ता कार्यले संविधान प्रदत सम्पति सम्बन्धि मौलिक हक अधिकारलाई प्रभावित पार्ने हुँदा रोक्का भएको सम्पति शुद्धिकरण निवारण ऐन २०६४ अनुसार सम्पतिको छानविनको दायरामा परेको अवस्था र रोक्क ागर्ने मनासिव आधारलाई स्पष्ट खुलाएर मात्र सम्पति रोक्क ागर्न गराउन र सांसद साह लगायत निजसँग सम्बद्ध अन्य व्यक्तिहरुको प्रथम दृष्टया प्रमाणबाटै गैरकानुनी नदेखिने सम्पति फुकुवा गर्न सम्पति शुद्धिकरण छानविन विभागलाई निर्देशन उक्त समितिले गरेको छ ।
संजय साहको पैतृक सम्पति, कर बुझाएको सम्पति, ऋण तथा अन्य स्रोत आदिको समष्टिगत विश्लेषण पश्चात मात्र सम्पति शुद्धिकरणको दायरामा पर्ने नपर्ने मनासिव आधार एकिन हुने र निजका नातेदार सासु, त्यस्तै दिदी, बहिनी, भिनाजु, ज्वाईले बैवाहिक सम्बन्ध स्थापित भईसकेपछि आर्जन गरेको सम्पतिको मात्र विश्लेषण गरी त्यसमा सांसद साहको संलग्नता रहे नरहेको स्पष्ट गर्नुपर्नेमा सो गरे नगरेको सम्बन्धित निकायले यस उपसमितिलाई स्पष्ट गर्न सकेको अवस्था छैन ।
    यसर्थ यी कुराको विश्लेषण गरी यूक्ति संगत ढंगले यथासिघ्र अनुसन्धान कार्य पुरा गर्न गराउन र कानुन सम्मत सम्पति फुकुवा गर्न सम्बद्ध निकायलाई निर्देशन गरिएको भनि उक्त उपसमितिले सिफारिस गरेको निर्णयहरुलाई ३ चैत्र २०७१को सुशासन तथा अनुगमन समितिको २७ औं बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।


२०७३ बैशाख ०५ गते आईतबार

अर्बपति संजय साह माथि करोडौंको ऋण

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
केन्द्रिय प्रहरी अनुसन्धान व्यूरोका अनुसार संजय साहको घर जग्गामा मात्रै करिब ५२ करोड रुपैयाँको लगानी देखिएको छ । ०५५ अघिसम्म साह परिवारका नाममा जनकपुर नगरपालिका क्षेत्रमा एक टुक्रा जग्गा थिएन । त्यतिन्जेल जनकपुरबाट दक्षिणपूर्व करिब सात किलोमिटर टाढा रहेको उनको पुख्र्यौली गाउँ लोहनामा १५ का २ धुर जग्गा उनीसँग रहेको कागजातबाट देखिन्छ । अहिले भने उनको आर्थिक साम्राज्य धनुषादेखि काठमाडौँसम्म फैलिएको छ । मुख्यमुख्य सहरका महँगा क्षेत्रमा प्रशस्तै जग्गाजमिन छ । ब्युरोले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार साहले आफ्नोबाहेक बुबा साधु साह सुढी, श्रीमती रंगिलादेवी साह र आमा दुलारीदेवी साहका नाममा चलरअचल सम्पत्ति जोडेका छन् ।
धनुषामा मात्रै साह परिवारको दुई बिघा जमिन छ । जनकपुर नगरपालिकाभित्रै १० ठाउँमा गरी उनले करिब १० का जग्गा जोडेका छन् । घरजग्गा व्यवसायीहरूका अनुसार जनकपुर बजार क्षेत्रमा अहिले प्रतिधुर १५ देखि ३० लाख रुपियाँमा जग्गा किनबेच हुन्छ । प्रतिधुर औसत २० लाख रुपियाँ मान्दा १० का जग्गाको मूल्य ४० करोड बराबर हुन्छ ।
जनकपुरको मुटु मानिने जनकपुरधाम क्षेत्रमा मात्रै ३४ धुर जग्गा जोडेका छन् र यहीँ उनले आलिसान घर पनि बनाएका छन् । धनुषाकै भरतपुर(४ मा एक बिघा जमिन भेटिएको छ भने नक्टाझिज(८ मा १० का । यो क्षेत्रमा प्रतिका सालाखाला १५ लाख रुपियाँ पर्छ । यस हिसाबले साहको जग्गा यी क्षेत्रमा मात्रै डेढ करोड रुपियाँको छ ।
तर, संजय साहका भाई डा.रामकुमार साहका अनुसार दुई विघा जग्गा जनकपुर १६ कपिलेश्वरमा पुखर््यौली रहेको रहेको दावी गर्छन् । उनका अनुसार जनकपुरको क्याम्पस चौक स्थित १ कठ्ठा जग्गा संजय साहको जन्म हुनुभन्दा अघि नै उनका बुवाले जोडेका छन् । कदम चौक स्थित घर पनि उनका बुवाले संजय साह जन्मिएको दुई तीन बर्ष पछि नै बनेकै घर किनेको राम कुमार बताउँछन् । विरेन्द्रबजारको भरतपुरमा बुवाकै पालामा २०६० सालमा ९ लाख रुपैयाँमा १ विघा जमिन किनेको बताउँछन् । नक्टाझिझमा   जग्गा नै  नरहेको उनी बताउँछन् ।
सिआईबिका अनुसार संजय साहले सर्लाहीको विष्णुपुरमा पूर्वपश्चिम राजमार्ग किनारमै करिब नौ का घडेरी जोडेका छन् । यस क्षेत्रमा प्रतिका जग्गाको ४० लाख रुपियाँ बेसी पर्छ । यस हिसाबमा उनको जग्गा करिब ४ करोड रुपियाँ बराबरको हुन्छ । यो गाउँ हरिवन नगरपालिकामा गाभिएपछि त झनै जग्गाको भाउ अकासिएको छ । संजयका भाई रामकुमारका अनुसार सर्लाहीका उक्त जग्गा २०६७ साल भदौ २ गतेमा ३१ लाख ७८ हजार ६ सय रुपैयाँमा किनिएको हो । उक्त जग्गा बुवा साधुको नाउँमा किनिएको हो । उक्त रकम नेपाल बंगलादेश बैंकबाट लोन रकम ५८ लाख लिई किनिएको हो । त्यसैगरी जनकपुरको शिव चौक स्थित जग्गा २०६६ बैशाख १३ गते भाउजु रंगिला देवी साहको नाउँमा किनिएको हो । त्यो रकम पनि नेपाल बंगलादेश बैंकबाट २० लाख रुपैयाँ ऋण लिई किनिएको हो । जनकपुरको कदम चौक स्थित घर पछाडी एक विघा जग्गा बुवा साधु साहको नाउँमा २०६७ साल बैशाख १७ गते १ करोड १० लाख रुपैयाँमा किनिएको हो । उक्त रकम पनि प्रभु फाइनान्सबाट ४९ लाख र नेपाल बंगलादेश बंैकबाट विभिन्न ठेक्का कम्पनीको लोनबाट लिइएको हो ।
सिआईबिका अनुसार संजयको ललितपुरको नखिपोटमा १ रोपनी २ आना जग्गामा साढे दुई तलाको घर छ । यस जग्गाको मूल्य मात्र प्रचलित दर २० लाख प्रतिआनामा हिसाब गर्दा ३ करोड ६० लाख हुन्छ । उनीसँग घरजग्गा मात्र करिब ५२ करोड रुपियाँबराबरको रहेको देखिन्छ । संजयका भाई राम कुमारका अनुसार २०६६ साल भदौ १ गते प्रभु बैंकबाट ५० लाख रुपैयाँ ऋण लिई ५० लाख रुपैयाँमा भाउजु रंगिला देवी साहका नाउँमा घर जग्गा किनिएको हो । त्यसैगरी २०६९ भदौ २७ गते ललितपुरको छम्पी गाविसमा रंगिला देवी साहको नाउँमा ३७ लाख १९ हजार ५ सय रुपैयाँमा ८÷९ रोपनी जग्गा किनिएको हो । उक्त रकम पनि ध्रुवतारा कन्स्टूक्सन कम्पनीको नाउँमा नेपाल बंगलादेश बैंकबाट ऋण लिइएको राम कुमार दावी गर्छन् । राम कुमारका अनुसार अहिलेसम्म पनि विभिन्न बैंकको करिब १५ करोड ८८ लाख ८५ हजार ९ सय १३ रुपैयाँ ऋण बाँकी नै रहेको छ । हालसम्म संजय साहले आफ्नो कमाईबाट ३ करोड ४१ लाख ९८ हजार १ सय रुपैयाँ सम्पति जोडेको भएपनि उक्त रकम आम्दानीमा केही पैतृक सम्पतिहरु बेचेर प्राप्त भएको उनका भाई राम कुमार बताउँछन् ।
दर्जन कम्पनीका मालिक
सिआईबिका अनुसार चल र अचल सम्पत्ति जोड्ने क्रममा उनले थुप्रै कम्पनीमा लगानी पनि गरेको पाइएको छ । साहका नाममा मात्र नौवटा कम्पनी दर्ता छन् । कम्पनीहरू हेर्दा यस्तो लाग्छ, उनीजति विविधतायुक्त क्षेत्रमा दख्खल भएको अर्को व्यवसायी नै यो मुलुकमा छैन । निर्माण व्यवसाय, वित्तीय कम्पनी, पेटूोल पम्पदेखि मेडिकल क्षेत्रसम्म उनले व्यापारिक पहुँच बनाएका छन् । केही कम्पनीका त विभिन्न ठाउँमा शाखा कार्यालयसमेत खोलिएका छन् ।
धु्रवतारा कन्स्टूक्सन, मिथिला मनी टूान्सफर, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजी, केबी पेट इन्डस्टिूज, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर गु्रप अफ इन्स्टिच्युसन, कर्णाली बिल्डर्स र मिथिला आयल स्टोर्समा साहको लगानी भेटिएको छ । यीमध्ये धु्रवताराको चितवनमा, केबी पेटको लगनखेल, ललितपुरमा शाखा कार्यालय छन् ।
बाँकी सबै धनुषा जिल्लाबाटै कारोबार गर्ने कम्पनी हुन् । यी कम्पनीमा साहको लगानी २० करोड रुपियाँभन्दा माथि देखिन्छ । धु्रवताराले निर्माणसम्बन्धी कामको ठेक्कापट्टा लिन्छ । मिथिला आयल स्टोर्स नामक पेटूोल पम्प उनले बुबा साधु साह सुढीका नाममा दर्ता गरेर चलाइरहेका छन् । यही फर्मका नामबाट साहले नेपाल प्रहरीको रासन ठेक्काको कामसमेत गर्थे । साहसँग आफू चढ्नका लागि विलासी गाडी एसयूभी (स्पोर्ट्स युटिलिटी भेहिकल) र टाटा एरिया प्राइड छ । यसको मूल्य अहिले नेपाली बजारमा ५० लाख रुपियाँभन्दा बढी छ । उनीसँग महिन्द्राकै दुईवटा एक्जाभेटरसमेत रहेका छन, जसको मूल्य दुई करोड रुपियाँभन्दा माथि पर्छ । त्यसबाहेक उनको अर्को गाडी निसान पिकअपको बजार मूल्य करिब ६० लाख छ ।
संजयका भाई राम कुमारका अनुसार धु्रब तारा कन्स्टूक्सन, कर्णाली विल्डर्स सुचारु छन् । तर, मिथिला आयल स्टोर्स बुवाको नाउँमा दर्ता भएपनि सुचारु छैन ।
मिथिला मनी टूान्सफर  ८ बर्षसम्म सुचारु रहे पनि विगत ३ बर्ष देखि बन्द रहेको छ । उक्त मनि टूान्सफर संचालनमा रहेको बेला तराईको विभिन्न सहरहरु जस्तै गौर, राजविराज, जनकपुर, काठमाण्डौ लगायतका ठाउँहरुमा संचालित थिए । वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजीमा आफ्नो लगानी नरहेको उनी बताउँछन् । त्यसैगरी केबी पेट इन्डस्टिूजको सवालमा मुक्ति बोध न्यौपाने र मनोहर खड्का लगायतका व्यक्तिहरुको संयूक्त लगानीमा उक्त कम्पनी पहिले देखि नै संचालित रहेको थियो । उक्त कम्पनीको लोन रकम संजय साहले आप्mनो पर्सनल ग्यारेन्टीको आधारमा कम्पनीका सेयरलिएका थिए । तर, उक्त कम्पनीको धितो पहिलेकै संचालकहरुको नाउँमा मेगा बैंकमा यथावत रहेको भएपनि हालमा गत १ बर्ष देखि आफुहरुले उक्त सेयर पनि छाडिदिएको राम कुमार बताउँछन् । सारस इन्भेस्टमेन्ट प्रा. लि का सवालमा दर्ता नै नगरिएको उनी बताउँछन् ।
त्यसैगरी क्लाउड नाइन नेपालको सन्दर्भमा उक्त कम्पनी बहुराष्टिूय कम्पनी रहेको तथा उक्त कम्पनीको नेपालमा डिलर सिप लिनका लागि संजय साहले श्रीमति रंगिला देवी साहको नाउँमा कम्पनी दर्ता गरेको भएपनि कम्पनी कहिल्यै सुचारु नै हुन सकेन । गंगासागर गु्रप अफ इन्स्टिच्युसन दर्ता भएपनि सुचारु नभएको उनी बताउँछन् । उक्त इन्स्टिच्यूसन मार्फत डिपलोमा तहका प्राविधिक शिक्षाका कलेजहरु संचालन गर्ने उनको योजना रहेको थियो ।
सिआईबिका अनुसार आफू चढ्नका लागि संजयले विलासी गाडी एसयूभी (स्पोर्ट्स युटिलिटी भेहिकल) र टाटा एरिया प्राइड छ । यसको मूल्य अहिले नेपाली बजारमा ५० लाख रुपियाँभन्दा बढी छ । उनीसँग महिन्द्राकै दुईवटा एक्जाभेटरसमेत रहेका छन, जसको मूल्य दुई करोड रुपियाँभन्दा माथि पर्छ । त्यसबाहेक उनको अर्को गाडी निसान पिकअपको बजार मूल्य करिब ६० लाख छ । उक्त सवारी साधनको सवालमा एसयूभी गाडी नरहेको र अन्य गाडीहरु रहेको भन्दै संजयका भाई भन्छन,“ टाटा आर्य नेपाल बंगलादेश बैंकबाट ऋण लिई ५५ लाख रुपैयाँमा किनेको भएपनि निशान पिकअप सेकेन्ड ह्याण्ड २५ लाख रुपैयाँमा बैंक लोनबाट किनेको हो । त्यसैले हामीहरुसँग जति पनि सम्पतिहरु छन् ती सबैको स्रोतहरु प्रमाण सहित हामीले सम्पति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत बुझाई सकेपनि सम्पति फुकुवा नगरी हामीलाई अल्झाउने काम गरिएको छ ।”

२०७३ बैशाख ०५ गते आईतबार

संजय साह र उनका परिवार आमरण अनशनमा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर बम काण्ड र व्यापारी अरुण सिंघानिया हत्याको मुख्य योजनाकारको रुपमा प्रतिवादी बनाइएका निलम्बित सांसद संजय कुमार साह प्रहरी हिरासत भित्रै आमरण अनशनमा बसेका छन् । आफुलाई झुठा मुद्दामा फसाइएको, सह अभियूक्तको पोलकै भरमा राजनीतिक पुर्वाग्रह राखी सिंघानिया हत्यामा समेत आफुलाई अभियूक्त बनाइएको भन्दै स्वतन्त्र न्यायिक छानविन समिति गठन गरिनुपर्ने माग राख्दै साह गत २५ गते देखि नै आमरन अनशनमा बसेका छन् ।
संजय साहले संचारकर्मीहरुसँग कुराकानी गर्दै आफु निर्दोष रहेपनि आफुलाई फसाउन खोजिएको, प्रहरी प्रशासन पुर्वाग्रही ढंगले हरेक मुद्दाहरुमा फसाउन खोजेको भन्दै उच्च स्तरीय छानविन समिति गठन गरी दोषीलाई कारवाही गराउन तथा पीडित परिवारलाई समेत इन्साफ दिलाउनका लागि आमरन अनशनमा बसेको बताएका छन् ।
प्रहरीको अनुसन्धान निष्पक्ष नभएकाले स्वतन्त्र छानविन समिति गठन भई बम काण्ड देखि सिंघानिया हत्या काण्डसम्मको निश्पक्ष छानविन हुनुपर्ने उनको प्रमुख माग रहेको छ । उच्च स्तरीय छानविन समिति गठन भए सिंघानिया हत्यामा एक जना प्रहरी बरिष्ठ अधिकृतको संलग्नता रहेको आफुसँग प्रमाण समेत रहेकोले उक्त छानविन समिति सामु आफुले हरेक घटनाको दुधको दुध र पानीको पानी छुट्याईदिने बताएका छन् ।
आमरन अनशनमा बसेका साह प्रहरी हिरासत भित्र पानी मात्र लिईरहेको हुनाले उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हिरासतमा अनुगमन गर्न पुगेका राष्टिूय मानव अधिकार आयोगका बुद्धनारायण साहनी केवटले बताएका छन् । यसका साथै साहको नियमित उपचारको व्यवस्था समेत जिल्ला प्रहरी कार्यालयले मिलाउनु पर्ने उनले बताए ।
पाँचसुत्रीय माग राखी निलम्बित साहकी पत्नी रंगीला साह, दिदी देवन्ती साह, बहिनी बविता साह र समर्थक शिवशंकर यादवसहित परिवारजनले जनकपुरको जनकचोकमा आमरण अनसनमा बसेको छ । उच्चस्तरीय छानबिन समिति गठन, निर्दोषलाई रिहा, दोषीलाई कारवाही तथा झुठा मुद्दा र एसपीको खारेजीको मागसमेत गर्दै उनीहरुले आमरण अनसन सुरु गरेका हुन् । निलम्बित सांसद साहले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतकक्षमा १० दिनदेखि गरिरहेको अनसनले उनको स्वास्थ्य अवस्था बिग्रिँदासमेत सुनुवाइ नभएपछि उनका आफन्त र समर्थकले आमरण अनसन सुरुगरेका छन् ।


२०७३ बैशाख ०५ गते आईतबार

‘नयाँ शक्ति’को संस्थापक बन्न यस्तो छ सार्वजनिक अपिल

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सबै पूर्वाग्रहबाट मुक्त भएर एकपटक सोचौं त, अहिलेका राजनीतिक पार्टीबाट मुलुकको परिवर्तन सम्भव छ ? अहिले हालीमुहाली गरेको राजनीतिक नेतृत्वसँग मुलुकको आर्थिक कायापलट गर्ने इच्छाशक्ति, नियत र सामथ्र्य छ ? यी दल र नेतासँग मुलुकका अहिलेका चुनौतिको सामना गर्न र सम्भावनाहरु हासिल गर्न वैचारिक, कार्यक्रमिक र नैतिक पूँजी छ ? यदि छैन भने हामी यिनै दल र नेताकै पछि लागिरहेर आफ्नो, भावी पुस्ताको र देशको भविष्यमाथि खेलवाडको साक्षी बन्ने कि विकल्प खोज्ने ?
हामी आफ्नै जीवनकालमा विकसित, सुशासित र समृद्ध नेपाल निर्माण गरिछाड्ने छौं भन्ने संकल्प सहित देशमा अहिले एउटा नयाँ दलको उदय भइरहेको छ । त्यो हो ( नयाँ शक्ति नेपाल । अहिलेसम्म विधिवत् स्थापना भइनसकेको ‘नयाँ शक्ति’को संकल्प छ, यो केवल वैकल्पिक राजनीतिक दल हुनेछैन, बरु वैकल्पिक राजनीति हुनेछ । यो पार्टी कुनै बन्द कोठामा होइन, लाखौं नेपालीको सामूहिक संकल्प र प्रतिवद्धता लिएर जनताकै बीचबाट जन्मनेछ ।
बन्द कोठामा दुईचार मान्छेहरु बसेर दल घोषणा र दर्ता गर्ने, तिनै मान्छेहरु ‘संस्थापकु हुने प्रचलन र पद्धतिविरुद्ध ‘नयाँ शक्तिुले दल निर्माण प्रक्रियालाई बृहत्तर, व्यापक जनसहभागितामूलक बनाउने प्रयासस्वरुप २०७३ साल जेष्ठ ३०, ३१ र ३२ गते काठमाडौंमा ‘पार्टी स्थापना राष्टिूय भेला’ आयोजना गरेको छ । यो भेलाभन्दा अगाडि दलको सदस्यता स्वीकार गर्ने हरेक अभियन्ता यसका संस्थापक हुनेछन । यस उद्देश्यका लागि ‘आधार निर्माण योजना’ अन्तर्गत २०७३ बैशाख १ गतेदेखि जेष्ठ १ गतेसम्म नयाँ शक्तिका अभियन्ताहरु देशका हरेक गाउँ, नगर, टोलबस्ती र घरदैलोमा पुग्दैछन् । यस प्रक्रियामा सामेल हुन सकेसम्म प्रत्यक्ष सम्पर्क, छलफल, अन्तरक्रियामा सहभागी भइदिन नत्र फोन, इमेल, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट समेत सम्पर्कमा रहेर नयाँ शक्ति नेपालको अभियन्ता बनी दल स्थापना प्रक्रियामा आफ्नो सहभागिता, स्वामित्व र योगदान स्थापित गर्न हार्दिक आह्वान गर्दछौं ।
कस्तो नयाँ ? किन नयाँ ?
नयाँ शक्ति नेपाल कुनै पुरानो पार्टी फुटेर बनेको समूह वा कुनै पुरानो विरासतको निरन्तरता हैन । यो कुनै भूतमुखी, विगतमुखी होइन, भविष्यमुखी, आगतमुखी दल हुनेछ । पुराना दलहरुको एकीकरण होइन, बृहत्तर राजनीतिक ध्रुवीकरणबाट नयाँ पार्टी बन्नेछ । हिजो जुनसुकै दलमा लागेका वा नलागेका, स्वतन्त्र, पेशागत, तथा नयाँ पुस्ताका सबै यसमा सामेल हुनसक्छौं । देश र जनताप्रतिको प्रतिबद्धता, खराब काम नगरेको र नगर्ने आधारभूत इमान्दारिता नयाँ शक्ति नेपालमा सामेल हुनका लागि पर्याप्त छ । यो बिल्कुलै नयाँ, शून्यतह वा ग्रासरुटबाट शुरुवात भएको ‘फ्रेस’ राजनीतिक अभियान हुनेछ ।
नयाँ शक्ति नेपाल कसरी ‘नयाँ’ र ‘वैकल्पिक’ पार्टी निर्माणको अभियान हो भन्ने प्रश्न पक्कै उठ्छ । संसारमा जे छ, सृष्टिमा भएकै चीज छ । भौतिक जगतमा नयाँ भन्नाले पदार्थहरुको रुपान्तरण भन्ने बुझिन्छ । त्यसैगरी चेतना जगतमा नयाँ भन्नाले प्रवृत्तिहरुको रुपान्तरण भन्ने बुझिन्छ । हामी आज जे जस्ता राजनीतिक विकल्पमा छौं, प्रवृत्तिहरु भोग्न बाध्य छौं । सबै मिलेर अझ राम्रो गर्न सक्छौं । त्यही अझ बढी राम्रो, अझ उत्कृष्ट गर्न चाहने प्रयास नै नयाँ हो ।
सिद्धान्त, सोंचरधारणा, नीति, योजना तथा कार्यक्रम, शासन(प्रशासनको ढाँचा र संरचना, पार्टी संगठन, संरचना र अन्तरपार्टी लोकतन्त्रको अभ्यास, कार्यशैली, कार्यसंस्कृति र जीवनपद्धतिका क्षेत्रमा आज जेजस्तो अभ्यास भइरहेको छ, त्यसलाई हामी ‘मूलधार’, ‘संस्थापन’, ‘स्थापित मूल्यमान्यता’ वा ‘प्रचलित संस्कृति’ भन्छौं । त्योभन्दा अझ राम्रो गर्न खोज्ने, चाहना, प्रयास र प्रतिबद्धता चाहिँ वैकल्पिक राजनीति हो । वैकल्पिक राजनीति संसारभरि नै एक सकारात्मक सोंच अभियान हो । यो आन्दोलनले पुरानाहरुले सबै नराम्रो मात्र गरे भन्दैन । पुरानाहरुको विरोध, निन्दा र भत्र्सना मात्र पनि गर्दैन । तर भइरहेको भन्दा ‘फरक’ र ‘अझ राम्रो’ गर्न सकिन्छ भन्ने विश्वास गर्दछ ।
हरेक राजनीतिक दल इतिहासका केही भूमिका पूरा गरेपछि असान्दर्भिक हुन्छन् । प्रजापरिषदले राणाशाहीविरुद्ध जनजागरणको युग प्रारम्भ र्गयो र त्यही जगमा बनेको नेपाली कांग्रेसले सशस्त्र संघर्ष मार्फत राणाशाहीलाई ढाल्यो । ०४६ मा नेपाली कांग्रेस एक्लैले निरंकुश पञ्चायती व्यवस्था ढाल्न नसकेको वेला कांग्रेस र कम्युनिस्ट मिलेर समाजमा नयाँ प्रकारको जागरण मार्फत् ‘नयाँ शक्तिु निर्माण गरे । फलतस् २०४६ सालको जनआन्दोलनमा पञ्चायत ढल्ने आधार तयार भयो । अर्को युगीन कार्यभार पूरा भयो । त्यसपछि माओवादी आन्दोलन र जनयुद्धको अवधि आयो । त्यसले गणतन्त्रको अर्को युगीन दायित्व पूरा र्गयो । कांग्रेस(एमाले सोंचका सीमाबाट, २०४७ सालको संविधानको अभ्यास र निरन्तरताबाट नेपालमा गणतन्त्र सम्भव थिएन । त्यसपछि ‘नयाँ शक्तिुका रुपमा मधेशवादी, जनजातिवादी दल र आन्दोलनहरु आए । मधेश आन्दोलनविना संघीयता, समावेशिता र समानुपातिकताको सिद्धान्त स्वीकार्य हुन सजिलो थिएन ।
इतिहासको यो शिक्षाले हामीलाई के बताउँछ भने पुरानै दलहरुले नयाँ एजेण्डा र कार्यभारलाई न्याय गर्न सक्दैनन् । त्यसकालागि नयाँ दल चाहिन्छ । नयाँ जोस, जाँगर, नयाँ पुस्ताको सहभागिता र नयाँ स्पिरिट चाहिन्छ । यही नयाँ युगीन आवश्यकता पूरा गर्न नयाँ शक्ति नेपाल चाहिएको हो ।
के–के हुन नयाँ एजेण्डा ?
नेपालको संविधान, २०७२ मा लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशिता र समाजवादउन्मुख राजनीतिक सिद्धान्त स्थापित भएका छन् । यो ठूलो उपलब्धि हो । नयाँ संविधानले सिद्धान्ततस् ठीकै राजनीतिक सिद्धान्त स्थापित गरेको छ तर व्यावहारिक राजनीति अझै समस्याग्रस्त छ । शासकीय स्वरुप परिवर्तन भएको छैन । मधेशी, जनजाति, महिला, दलित, मुस्लिम लगायत सीमान्तकृत समुदायका कतिपय विषयमा असन्तुष्टीहरु कायमै छन । पहिचानको मुद्दा वा संघीयताको खाकामा आमसहमति बन्न सकेन । समावेशिताका मापदण्डहरु सरलीकृत, प्रष्ट र समानुपातिक भएनन् ।
विकास र सुशासनमैत्री प्रशासनिक पुनस्संरचनाको परिकल्पना गरिएन । नैतिक मूल्य र सदाचार आधारित राजनीतिक संस्कृतिको विकासतिर कसैको ध्यान गएन । सार्वभौम नागरिकभन्दा ‘पावर ब्रोकर’हरु शक्तिशाली हुँदै गए । डनगिरी, माफिया र गिरोहतन्त्र लोकतन्त्रको पवित्रतामाथि हावी भइरहे । कमजोर अर्थतन्त्र, बेरोजगारीको व्यापक समस्या, उत्पादनशील श्रमशक्तिको ठूलो संख्यामा पलायनजस्ता समस्याको हल खोज्न सकिएन । भ्रष्टाचार र अपारदर्शिता लोकतन्त्रका अन्तरनिहित गुणझैं राजनीतिक प्रणालीमा टाँसिएर रहिरहने भए । भूमण्डलीकरण र भूराजनीतिक जटिलतालाई राष्टूहित अनुरुप हल गर्ने कुटनीतिक क्षमता र तत्परता शासक वर्गमा देखिएन ।
यिनै अन्तरविरोधलाई हल गर्न सक्ने नयाँ अभियानलाई संगठित गर्नु नै हाम्रो नयाँ जिम्मेवारी र दायित्व हो । पुराना दलहरुबाट यो काम फेरि पनि सम्भव छैन । सत्ता हातमा आएपछि सबै ठीक भएको देख्ने, यथास्थितिवादलाई अंगालो मार्ने रोग पुराना दलहरुमा देखापरिसकेको छ । हिजो २०४७ सालको संविधानलाई नै संसारको उत्कृष्ट भन्नेहरु फेरि नयाँ संविधानलाई संसारकै उत्कृष्ट भन्दै नयाँ रुपान्तरण र परिवर्तनको आन्दोलनलाई दमन गर्न उद्यत भइसकेका छन् ।
समकालीन अन्तरविरोध र पाँच ‘स’ को प्रस्ताव ः
नयाँ शक्ति नेपालले यी समस्यालाई मुख्य पाँच अन्तरविरोधका रुपमा चित्रण गरेको छ र यिनलाई हल गर्ने उपायलाई पाँच ‘स’ भनेको छ । अहिलेको पहिलो अन्तरविरोध पिछडिएको आर्थिक स्थिति र विकसित राजनीतिबीच छ । हामीकहाँ राजनीतिक क्रान्ति र परिवर्तनले त निरन्तरता पायो तर देशको आर्थिक अवस्था झनझन खराब हुँदै गएको छ । विगत पच्चिस वर्षदेखि औसत आर्थिक बृद्धिदर पाँच प्रतिशतभन्दा कम छ । पूर्वाधारहरु कमजोर छन । देशभित्रै रोजगारीको वातावरण र अवसर छैन । कूल उपभोगको करिब ८३ प्रतिशत हामी अरु देशबाट आयात गर्दछौं ।
तर हाम्रो नयाँ संविधानले सामाजिक न्यायमा आधारित कैयौं संरक्षणमुखी तथा प्रगतिशील मान्यताहरुलाई मौलिक हकका रुपमा नै स्वीकार गरेको छ । उदाहरणका लागि हामीले संविधानमा नै दुई वर्षभित्र बेरोजगार भत्ता दिने कुरा गरेका छौं । तर देशको आर्थिक विकास हुन सकेन, राज्यको आयस्रोत बलियो भएन भने यी प्रावधानहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्ने छैनन् । फलतः आर्थिक अल्पविकासको समस्याले राजनीतिक प्रणालीलाई नै धान्न नसक्ने र लोकतन्त्र जोखिममा पर्ने समस्या आउन सक्छ । यो समस्या हल गर्न अब सबै राजनीतिक दल, शक्तिले विकास र आर्थिक समृद्धिको बाटो तय गर्नु पर्ने हुन्छ । पाँच ‘स’ भित्रको पहिलो ‘स’ समृद्धि हो । समृद्धि एक नयाँ एजेण्डा र युगीन दायित्व हो ।
दोस्रो अन्तरविरोध औपचारिक लोकतन्त्र र वास्तविक लोकतन्त्रबीच छ । दशकौं लामो संघर्षपछि नयाँ संविधानसँगै हामीले लोकतन्त्रलाई स्थापित र संस्थागत गरेका त छौं तर हाम्रो लोकतन्त्रको रुप प्रतिनिधिमूलक, औपचारिक र सीमित प्रकृतिको छ । लोकतन्त्रका नाममा दलतन्त्र, दलतन्त्रका नाममा गुटतन्त्र, गुटतन्त्रका नाममा नेतातन्त्र, नेतातन्त्रका नाममा व्यक्तितन्त्रलाई नै हामीले लोकतन्त्रको अभ्यास बनाएका छौं । नागरिक सार्वभौमसत्तामा आाधरित लोकतन्त्रको ढाँचा र निर्वाचन प्रणाली स्थापित गर्न सकेनौं । समावेशिता सिद्धान्ततस् स्वीकार गरिए पनि त्यो समानुपातिक छैन । तसर्थ अर्को युगीन एजेण्डा र कार्यभार ‘समानुपातिक समावेशीरसहभागितामूलक लोकतन्त्र’हो ।
भूराजनीतिक जटीलता, भूमण्डलीकरण र राष्टिूय हितबीच अर्को अन्तरविरोध छ । भूमण्डलीकरण भनेको साम्राज्यवाद हो भनेर शाब्दिक निन्दा गर्ने र व्यवहारमा त्यसैद्वारा लपेटिँदै जाने आत्मरतीबाट हामीले राष्टिूय हितहरुको रक्षा गर्न सक्ने छैनौं । भूमण्डलीकरणले चुनौति र अवसर, जोखिम र सम्भावना दुबै ल्याएको छ । हामीले भूमण्डलीकरणका जोखिमहरुलाई कम गर्न, चुनौतिलाई सामना गर्न, अवसर र सम्भावनाहरुलाई उपयोग गर्न सक्ने गरी आफूलाई तयार राख्नु पर्ने हुन्छ ।
भूराजनीतिक हिसाबले पनि हामी एक प्रकारको जटिलतामा छौं । हाम्रा दुबै ठूला छिमेकीहरुको हाम्रा लागि उत्तिकै महत्व छ । हामी कुनै एकलाई गाली गरेर अर्काको नजिक जाने, एकका विरुद्ध अर्को कार्ड देखाउने, सत्तास्वार्थका लागि राष्टिूय आत्मसमर्पणको नीति अपनाउने जस्ता गल्ती गरेर अगाडि बढ्न सक्दैनौं । तसर्थ तेस्रो एजेण्डा र कार्यभार स्वाधिनता र प्रगतिशील राष्टूवादको पक्षपोषण हो ।
सभ्यरसुशासित राज्यको अपेक्षा र भ्रष्ट राज्ययन्त्ररसंस्कृतिबीच पनि अन्तरविरोध छ । नेपाली नागरिक सभ्य, सुशासित राज्ययन्त्र र संस्कृति चाहन्छन । तर हाम्रो राज्ययन्त्र भने यसको ठीक विपरित छ । भ्रष्टाचार, ढिलासुस्ती, कुशासनजस्ता मनोवृत्तिहरु हाम्रो राज्ययन्त्रका अन्तरनिहित गुणझैं बनेका छन् । जालझेल, देखावटी बढप्पन, अपारदर्शीता, राज्यस्रोतको नीतिगत तथा अनैतिक दोहन आम समस्या हुँदै गएका छन् । राज्य प्रणाली मात्र हैन, सम्पूर्ण समाजमा भ्रष्टता नै संस्कृति बन्दै जाने जोखिम बढेको छ । तसर्थ चौथो एजेण्डा र कार्यभार सुशासन तथा सदाचारको प्रवद्र्धन हो ।
नेपालमा वैचारिक जडता र बदलिएको राजनीतिक चेतनाबीच पनि अन्तरविरोध छ । हरेक युगका दार्शनिक तथा वैचारिक चिन्तनपद्धतिका निश्चित सीमा हुन्छन । तिनीहरुले आ(आफ्नो युगका समस्यालाई चित्रण गर्न र समाधान गर्न प्रयत्न गर्छन । एकपटक निर्माण वा स्थापित गरेका दार्शनिक तथा वैचारिक प्रस्तावना युगौंयुगका लागि हुँदैन । त्यसभित्रका सार्वभौम तथा सर्वकालिक सत्यलाई समाउने, बाँकी विषयलाई निरन्तर परिमार्जन र सुधार गर्ने तरिकाबाट मात्र अगाडि बढ्न सकिन्छ । तर नेपाली राजनीतिमा आज पनि अठारौं, उन्नाइसौं र बीसौं शताब्दीका अनेकन शास्त्रीय बहसलाई राजनीतिक चेतनाको मानक बनाएर एकअर्काप्रति पूर्वाग्रह राख्ने, अनावश्यक निन्दा र गालीगलौज गर्ने वैचारिक जडता बाँकी नै छ । एक्काइशौं शताब्दीमा आइपुग्दा हामीले समाजवादका व्याख्या र मानकहरु फेर्न सक्नुपर्छ । हिजोको केन्द्रिकृत, अधिनायकत्वमा आधारित समाजलाई नै अबको समाजवादको आदर्श र मानक बनाउन सकिन्न । समाजवादका आदर्शलाई नयाँ युगका यथार्थ र नेपाली समाजको मौलिकतामा पुनस्परिभाषित गर्ने प्रयास हुनैपर्छ । अबको युगमा गरिबी बाँड्ने समाजवाद, निरंकुशता बाँड्ने समाजवाद, केन्द्रीकरण बाँड्ने समाजवाद कसैलाई चाहिएको छैन । समाजको वैकल्पिक आदर्श र वैकल्पिक समाजवादको चिन्तन भनेकै सम्भवतः ‘समुन्नत समाजवाद’ हो ।
अन्त्यमा,
निश्चय नै नयाँ शक्ति तिनलाई चाहिएको छैन जसले अहिलेको भ्रष्ट, भद्रगोल र गैरजिम्मेवार राजनीतिबाट फाइदा उठाइरहेका छन । नयाँ शक्ति तिनलाई चाहिएको छ जो राजनीतिलाई पेशा वा व्यवसाय होइन समाज परिवर्तनको माध्यम बनाउन चाहन्छन्, जो नेपाली समाजमा तीब्र आर्थिक प्रगति चाहन्छन्, जो सुशासन चाहन्छन् । नयाँ शक्तिले सपना बेच्नेछैन, तथ्यांकमा आधारित हुनेछ । यसले पेशेवर कार्यकर्ता जन्माएर देशको बोझ बढाउने छैन, स्वयंसेवकहरुको विशाल संगठन खडा गर्नेछ । यसले एउटै राजनीति गर्नेछ, त्यो हो यो देशको राजनीति बदल्ने राजनीति ।
विकास, सुशासन, समृद्धि, समन्याय, समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्र, स्वाधिनता, समुन्नत समाजवादको नयाँ कार्यभार पूरा गर्ने लेफ्ट(डेमोक्र्याटिक दलको आवश्यकतालाई परिपूर्ति गर्नु नै नयाँ शक्ति नेपालको मुख्य ऐतिहासिक दायित्व हो । अहिले युगले हामीलाई सुम्पिएका अभिभारा पनि यिनै हुन् ।
हाम्रो सविनय आग्रह छ, एकताबद्ध हौं, युगका नयाँ अभिभाराहरु पूरा गरौं । नेपाललाई आफ्नै जीवनकालमा विकसित, सुशासित र समृद्ध मुलुक बनाउँ । नयाँ शक्तिको संस्थापक सदस्य बनौं र वैकल्पिक राजनीतिको अभियन्ता बनौं । यो देश हामीले नै बदल्ने हो । नव वर्ष ( २०७३ को हार्दिक मंगलमय शुभकामना सहित, (नयाँ शक्ति नेपालले ‘नयाँ शक्ति’को संस्थापक बनौं, वैकल्पिक राजनीतिको अभियन्ता बनौुं भन्ने नाराका साथ २०७३ बैशाख १ जारी गरेको अपिलको सम्पादित अंश)

२०७३ बैशाख ०५ गते आईतबार

Wednesday, April 13, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


फोहर लग्नु पर्ने ठाउँमा लामखुट्टे जनकपुरको पर्यटक नै उडाउन थाले बा !

२०७२ चैत्र २८ गते आईतबार

सिंघानिया हत्याको प्रमुख योजनाकार निलम्बित सांसद संजय ः धनुषा प्रहरी

चनरदिप यादवलाई संजय साहले नचिनेको बयान दिएका छन् तर धनुषा प्रहरीले दायाँबाट क्रमशः तत्कालिन एसपी सर्बोन्द्र खनाल,
 संजय साह र चनरदिप यादव खेलकुदको एक कार्यक्रममा सँगै 
उभिएको तस्विरलाई पनि चनरदिप र संजय बीच चिनजान
 रहेको पुष्टि गर्न खोजेको छ ।
अजय अनुरागी
जनकपुरधाम............
संचार उद्यमि तथा व्यवसायी अरुण कुमार सिंघानिया हत्याको मुख्य योजनाकार कारागारमा थुनामा रहेका निलम्बित सांसद संजय कुमार साह नै रहेको धनुषा प्रहरीले गरेको अनुसन्धानबाट तथ्य खुलेको छ । ५ जनाको ज्यान जाने गरी जनकपुरको रामानन्द चौकमा गराइएको बम विस्फोटनका समेत मुख्य योजनाकारको रुपमा मुद्दाको अनुसन्धानको क्रममा धनुषा जिल्ला अदालतको आदेशबाट हाल नख्खु कारागारमा थुनामा रहेका साह फेरी सिंघानिया हत्यामा तानिएका छन् । १७ फागुन २०६६ मा जनकपुरको शिव चौक स्थित अन्दाजी बेलुकी साढे ६ बजे समयमा सिंघानियालाई मोटरसाइकलमा आएका हतियारधारी समुहले गोली प्रहार गरी हत्या गरेको थियो ।
हत्याको कारण
२०६५ साल भदौ १४ गते रामानन्द यूवा क्लब जनकपुरका अध्यक्ष जिवनाथ चौधरीको घरमा डकैती भएको अभियोगमा पक्राउ परेका आरोपी भरत झाले पत्रकार सम्मेलनमा तत्कालिन सभाषद संजय साह र तत्कालिन प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडे डकैतीमा संलग्न रहेको भनि दिइएको बयान रेडियो टुडेले प्रत्यक्ष प्रशारण गर्नुका साथै स्थानीय जनकपुर टुडेमा समेत समाचार प्रकाशित भएको थियो । उक्त घटनामा संजय कुमार साहको नाम पटक पटक आएपछि आफ्नो बदनामी हुने कारणले आफ्नो नाम घटनासँग नजोडिदिन तथा पत्रिकामा नछाप्न प्रकाशक अरुण सिंघानियालाई पटक पटक आग्रह गर्दा पनि समाचार नरोकिएपछि साहका समर्थकहरु सहितको समुहले जनकपुर टुडेको कार्यालयमा गई तोडफोड गर्दै ज्यान मार्ने धम्की समेत दिएपछि सिंघानिया र साह बीच विवाद देखिएको प्रहरीले कारणको रुपमा देखाएको छ ।
अरुण सिंघानियालाई जति सुकै सम्झाउँदा पनि मान्न तयार नभएपछि साहले आफ्नो निकट सहयोगी राम विनोद यादव र चनरदिप यादवलाई आफ्नो घरमा बोलाई अरुण सिंघानियाले पार्टीको नाम खराव गरेको छ, यसलाई मार्नु पर्छ, यसका लागि मानिसहरु खोज १० लाख रुपैयाँ दिन्छु भनेर संजय साहले भनेको प्रहरीले बताएको छ । सिंघानियालाई मार्ने योजनाबारे संजय साहको कदम चौक स्थित उनको नीजि घरको छतमा चनरदिप र रामविनोद यादवसँग तीन पटक सम्म छलफल गरेको चनरदिप यादवले प्रहरी समक्ष बयान गरेको छ । चनरदिपले एकलाल सहनी मार्फत पवन लामा र मनक लामा, विजय भनिने दिपेन्द्र कुशियैत गरी ४ जनालाई सिंघानियाको हत्या गर्नका लागि ५ लाख रुपैयाँमा तय गरेको बताइन्छ । योजना अनुसार सिंघानियालाई हत्या गर्नका लागि होली पर्वका दिन २०६६ साल फागुन १७ गते सुटरहरु जनकपुरमा आईसकेपछि कहाँ बस्ने भनेर चनरदिपले संजय साहलाई फोन गरि सोध्दा रामा होटेलमा बस्ने व्यवस्था मिलाइएको छ, कोठा नम्बर १०३ मा बसाउ भनेर संजयले जवाफ दिएपछि योजना अनुसार जनकपुरको रामा होटेलको रुम नम्बर १०३ मा चनरदिप यादव, एकलाल सहनी, पवन लामा, मनक लामा र दिपेन्द्र कुशियैत गरी ५ जना जम्मा हुन्छन् । त्यहाँ जम्मा भईसकेपछि तत्काल केही रकम चाहियो भनेर माग्दा संजय साह र राम विनोद यादव रामा होटेल अगाडी गएर चनरदिप यादवलाई होटेलको तल बोलाएर खाजा खर्च, होलीका लागि लत्ताकपडा किन्न तथा रंगरोगन किन्नका लागि ३० हजार रुपैयाँ दिनुका साथै राम विनोद यादवले नाइन एमएम पिस्टलको दुईवटा कट्टा र गोली सहितको सानो झोला दिन्छन् ।
 
चनरदिप यादव र संजय साह बायाँ देखि क्रमशः एउटा कार्यक्रममा एकै साथ
उक्त दिन सिंघानिया कहाँ कहाँ के के गरिरहेका छन् भन्ने कुराको चनरदिप, राम विनोद लगायतले निगरानी गर्ने काम गर्दछ । चनरदिप यादव र सुटरहरु समेतलाई भानु चौकमा बोलाई राम विनोद यादवले सिंघानियालाई चिनाई दिने काम गर्दछ । हत्या गर्नु भन्दा अगाडी होटेलको कोठामा नै एकलाल, मनक, पवन, दिपेन्द्र र चनरदिप होली खेली अविर रंग लगाई दिपेन्द्र कुशियैतको बाइकमा चनरदिप यादव बसि गएको र भानु चौकमा पुगेर राम विनोदले सिंघानियालाई चिनाई दिएको चनरदिपले बयान गरेको छन् । घटना गर्ने बेलामा संजय साह कदम चौक स्थित आफ्नै घरमा बसेको तर घटना स्थलमा नगए पनि फोन मार्फत कुराकानी भईरहेको  बताएका छन् ।
चनरदिपका अनुसार घटना हुने बेलामा चनरदिप आफै शिव मन्दिरको पछाडी बसेका थिए भने राम विनोद भने शिव चौक भन्दा अलि तल कदम चौक जाने बाटोमा थिए । सुटरहरु शिव चौक स्थित एउटा पान पसल नजिक मोटर साइकलमा आई बसेका हुन्छन् । होली खेलेर सिंघानिया शिव चौकमा आउने वित्तिकै मनक लामाले सिंघानियालाई होली खेलिरहेको अवस्थामा भिडमा छिरी नजिकैबाट गोली प्रहार गरेर हत्या गरेको थियो । चनरदिपकै बयानका अनुसार गोली प्रहार गरि मनक लामा पवन लामाको बाइकमा चढी गंगा सागरको बाटो हुँदै गंगा सागरको छेउमा पुगि गोली प्रहार गरेपछि संजय साहले भनेको योजना बमोजिम कदम चौकमा संजय साहले संचालन गरेको सारस काउन्टरमा पुगि बास बसेको थियो ।
राति सारस काउन्टरमा बास बसिसकेपछि मिथिला मनिचेन्जरमा संजय साहले दिनु भनेको पाँच लाख रुपैयाँ ओम प्रकाश यादव मार्फत लिई राम विनोद यादवले चनरदिप यादवलाई दिएको थियो । त्यसपछि संजय साहले सुटरहरुलाई भगाउनका लागि डिभिजन सडक कार्यालयको सरकारी गाडी बोलाई सोही गाडीमा एकलाल सहनी, पवन लामा, विजय कुशियैत र मनक लामालाई राखि धनुषाधाम स्थित किशान नगरसम्म पुर्याएर छाडेको चनरदिपले बयान दिएका छन् । घटनाको केही दिन वितिसकेपछि मनक लामाले हत्याको पैसाका सन्दर्भमा किचकिच गरेपछि चनरदिपले राम विनोदको सहयोग लिई म्यान पावर कम्पनी मार्फत वैदेशिक रोजगारीका लागि मलेशिया पठाई दिएको चनरदिपले बताएका छन् ।
संजय साहले राम विनोद यादवलाई नचिनेको भनेर बयान कागज गरेका छन् । तर, २७ भदौ २०७० मा सदभावना
धनुषाको क्षेत्र नं.४ द्वारा आयोजना गरिएको क्षेत्रिय सम्मेलनमा
 सदभावनाका नेता संजय साह भाषण दिँदै र दायाँ देखि सोही
मञ्चमा क्रमशः राम विनोद यादव, नेताहरु संजय सिंह,
कामेश्वर झा लगायतका व्यक्तिहरु सहितको तस्वीरलाई
संजय साह र राम विनोद यादव बीचको सम्बन्ध पुष्टि गर्न
धनुषा प्रहरीले प्रमाणको रुपमा पेश गरेको पाइन्छ ।
घटना भएको लगत्तै करिब १०÷१५ मिनेट पछि सशस्त्र भुमिगत समुह संचालन गरेर भारतको विहारमा लुकिछिपी बसिरहेका तराई जनतान्त्रिक पार्टी मधेसका अध्यक्ष अर्जुन सिंह भनिने मुकेश चौधरीलाई राम विनोद यादवले टेलिफोन गरी आफुहरुले सिंघानियाको हत्या गराएको र त्यसको जिम्मेवारी लिन भनेका थिए । मुकेश चौधरीले पनि प्रहरीलाई दिएको बयान कागज अनुसार सुरुमा राम विनोदले फोन गरेर घटनाको जिम्मा लिन भनेको र सोही फोनमा संजय साहले पनि घटनाको जिम्मा मिडियामा लिन भनेपछि आफुले उक्त घटनाको जिम्मेवारी लिएको मुकेश चौधरीले बताएका छन् । मुकेश चौधरीले गरेको बयान अनुसार उक्त घटनाको जिम्मेवारी लिनका लागि जनकपुरका पत्रकार अजय अनुरागीलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएको र पत्रकार वृज कुमार यादव र रामानन्द यूवा क्लबका अध्यक्ष जिवनाथ चौधरीलाई समेत ज्यान मार्ने धम्की दिएको बताएका छन् ।
मुकेश चौधरीका अनुसार घटना भएर आफुले जिम्मा लिईसकेको एक घण्टा पछि संजय साहले आफुलाई फोन गरी जिम्मेवारी फिर्ता लिन दवाव दिए पनि आफुले जिम्मेवारी फिर्ता नलिएको बताएका छन् । प्रहरीका अनुसार घटना डाईभर्ट गराउन मुकेश चौधरी मार्फत जिम्मा लगाउन लगाए पनि पछि मुकेश सँगको सम्बन्धका आधारमा आफु फस्ने वा तिनीहरुको बीचमा पछि सम्बन्ध विग्रदा मुकेश चौधरीले संजयको नाउँ पछि खुलासा समेत गर्न सक्ने संजयलाई अनुभुति भएको हुन सक्ने र त्यसैले जिम्मेवारी फिर्ता लिन संजयले मुकेशलाई दवाव दिएको हुन सक्ने बताएका छन् ।
१० लाखको सुपारी
सिंघानियालाई हत्या गर्नका लागि संजय साहसँग १० लाख रुपैयाँमा डिल भएको चनरदिपले प्रहरीलाई बयानमा बताएका छन् । जसमध्ये ३० हजार रुपैयाँ सुरुमा हत्या भएको दिन हत्या हुनु भन्दा अगाडी पेश्की लिई रामा होटेलमा सुटरहरुलाई दिएको थियो । त्यसपछि ५ लाख रुपैयाँ घटना भएको भोली पल्ट ओम प्रकाश हुँदै राम विनोदले चनरदिपलाई दिएको थियो । र, चनरदिपको भाई रविन यादवको मोटर साइकल दुर्घटना हुँदा करिब साढे २ देखि ३ लाख रुपैयाँ सम्म उपचारमा खर्च भएको रकम  मिनहा गराएको र ३ लाख रुपैयाँ चनरदिपले आयोजना गरेको फुटबल प्रतियोगितामा नै मिनहा भएको भनेर संजयले भनेपनि त्यो रकम खेलकुदको लागि खर्च गरिएको हो आफुले पाउनै पर्छ भनेर चनरदिपले संजय सँग माग गर्दै गरेको र अर्को तर्फ संजयले नदिएको चनरदिपले बताएका छन् ।
प्रमाण मेटाउन षड्यन्त्र
सिंघानियाको हत्या भईसकेकै दिन देखि प्रमाणहरु नष्ट गर्नका लागि संजय साहले विभिन्न हतकण्डाहरु अपनाउँदै आएको धनुषा प्रहरीले बताएको छ । धनुषा प्रहरीलाई चनरदिपले दिएको बयान अनुसार घटनामा प्रयोग गरिएका हतियारहरु घटना भईसकेपछि कदम चौक स्थित मनि चेन्जरको काउन्टरमा बास बस्न गईरहेको बेलामा गोली पड्किएको आवाज निस्किएपछि  चनरदिप डराएका थिए । डराएपछि चनरदिपले संजयलाई फोन गर्दै हतियार के गर्ने भनेपछि संजय साहले ती हतियारहरु गंगा सागरको पोखरीमा फाल्न आदेश दिएको थियो । सोही आदेशानुसार चनरदिपले ती हतियारहरु गंगासागर पोखरीमा फाल्न लगाएको प्रहरीलाई बयान दिएका छन् । हुन त प्रहरीले गंगा सागरबाट ती हतियार खोज्न कोशिश गरेपनि फेला परेन ।
 त्यसैगरी हत्यामा प्रयोग गरिएका मोटरसाइकल जलाउनका लागि समेत संजय साहले रेल्बे प्रहरी चौकीका सई बाबुराम झालाई बलात्कारको मुद्दामा फसाउन ठुलो षड्यन्त्र रच्न र त्यो षड्यन्त्र अनुसार सफल पनि भएको चनरदिपले बयान दिएका छन् । सिंघानिया हत्याको घटना भएको २० दिन पछि सिंघानिया घटनाको अनुसन्धानको लागि तत्कालिन प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेको नेतृत्वको अनुसन्धान टोलीले चैत्र ७ गतेमा प्रतिवेदन सार्वजनिक गर्ने बताईरहेको कारण पनि घटनालाई डाईभर्ट गराई अनुसन्धान प्रतिवेदन अल्झाउन र तत्कालिन सुरक्षा प्रमुखहरुलाई सरुवा गराउन संजय साहले रचेको षड्यन्त्र अनुसार ती घटनाहरु योजनाबद्ध ढंगले गराइएको चनरदिपले प्रहरीलाई बयान दिएका छन् । उक्त आन्दोलनकै मौका छोपी सिंघानिया हत्यामा प्रयोग गरिएको एउटा मोटरसाइकल जलाउन उनीहरु सफल भएको चनरदिपले बताएका छन् । र, घटनामा प्रयोग गरिएको अर्को मोटरसाइकल नम्बर प्लेट नखुलेको तथा कवाडको अवस्थामा रहेको मोटरसाइकल कदम चौक स्थित एक ग्यारेजमा मर्मत सम्हारका लागि राम विनोद यादवले दिएको अवस्थामा धनुषा प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । २०७१ सालको बैशाख महिना तिर प्रहरीले उक्त मोटरसाइकल बरामद गर्दा ग्यारेज मालिकले उक्त मोटरसाइकल राम विनोद यादवले दिएको बताएका थिए ।
जनकपुरको बार एशोसिएशनको सभाकक्षमा २० माघ २०६९ मा बायाँबाट क्रमशः एक कार्यक्रममा
 राम विनोद यादव र संजय साह ।
संजय साहको इन्कारी बयान
चनरदिप यादव पक्राउ परेपछि मुकेश चौधरी, एकलाल सहनी, ओम प्रकाश यादव र रामकरण यादवलाई विभिन्न कारागारबाट झिकाई धनुषा प्रहरीले गरेको अनुसन्धान र बयानका आधारमा संजय साह नै सिंघानिया हत्याको मुख्य योजनाकारको रुपमा देखिएपछि काठमाण्डौ नख्खु कारागारबाट झिकाई धनुषा प्रहरीले साह सँग बयान लिएको छ । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सरकारी वकिल तथा जिल्ला न्यायाधिवक्ता टेकबहादुर कार्की समक्ष संजय साहले नीजि कानुन व्यवसायीको रोहवरमा गरेको बयान कागजमा इन्कारी बयान गरेका छन् । आफैले बयान कागज लेखेको साहले अर्का अभियूक्तहरु चनरदिप यादव, राम विनोद यादव, मुकेश चौधरी लगायतलाई नचिनेको बयान दिएका छन् । घटना भएका बेला आफु जनकपुरमा नभई काठमाण्डौमा रहेको र घटना भएको भोली पल्ट प्लेनबाट जनकपुर आएको तथा सिंघानियाको श्रद्धाञ्जली सभामा सहभागी भई हत्यारालाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने समेत भाषण गरेको साहले बयान कागजमा लेखेका छन् ।
हिरासतमा संजय साहको अनसन
प्रहरी हिरासतमा अहिले झिकाईका संजय साहले न्यायिक छानविन हुनुपर्ने, मिडियाको सामुनेमा पोलिग्राफ टेस्ट गरिनुपर्ने तथा आफु निर्दोष रहेको भन्दै साहले खाना त्यागेर अनसनमा बसेको साहकी पत्नी रंगिला देवी साहले द एक्सक्लुसिभलाई बताएका छन् । उक्त कुरालाई धनुषाका एक जना प्रहरी अधिकृतले समेत पुष्टि गर्दै साहले थुनामा खाना नखाईराखेको तथा पानी भने पिई रहेको बताएका छन् । उक्त संजय साहका श्रीमतिले पत्रकार सम्मेलन मार्फत पनि घटनाको सत्य तथ्य पत्ता लगाउन तथा पोलिग्राफ जाँच गराउन माग गरेपछि धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालयबाट प्राविधिक टोली झिकाई जिल्ला प्रहरी कार्यालय धनुषामै पोलिग्राफ जाँच गरेको छ । पोलिग्राफ टेस्टमा विशेषज्ञ सहितको टोलीले घटनाको अध्ययन गरी आफ्नो हिसावले प्रश्नहरु तयार गरेका हुन्छन् जसको सिधा जवाफ दिनुपर्ने हुन्छ तर संजय साहले पोलिग्राफ टेस्टमा सोधिएका हरेक सवालहरुमा आफुले उक्त सवालको जवाफ बयान कागजमा लेखिदिएको भनेर मात्र जवाफ दिएको प्रहरी स्रोतले बताए । संजय साहले जति सुकै इन्कारी गरेर अभियूक्तहरुलाई चिन्न अस्विकार गरेपनि प्रहरीले ती अभियूक्तहरुसँगको सम्बन्ध र चिनजानबारे आवश्यक प्रमाणहरु संकलन गरिसकेको प्रहरी अधिकृतको दावी छ ।
बचाउमा सदभावना पार्टी

पत्रकार सम्मेलनमा संजय साहका पारिवारिक सदस्यहरु । उनीहरुले संजय साह निर्दोष रहेको भन्दै न्यायिक
छानविनको माग गरेका छन् ।
संजय साह सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष भई सदभावना पार्टीकै तर्फबाट दोस्रो संविधान सभामा निर्वाचित भएका व्यक्ति हुन । त्यसैले सदभावना पार्टी धनुषाले स्थानीय गोपाल धर्मशालाबाट जुलुस तथा ¥याली निकाली नगर परिक्रमा गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईलाई घटनाको न्यायिक छानविन गर्न माग गरेको छ । जनकपुर बम काण्ड देखि लिएर सिंघानियाको हत्या सम्म कुनै पनि घटनामा साहको संलग्नता नरहेको तथा राजनीतिक, सामाजिक तथा पारिवारिक चरित्र हत्या गर्ने उद्देश्यले षड्यन्त्र तहत साह माथि षड्यन्त्र गरी झुठा मुद्दामा फसाईएको सदभावना धनुषा अध्यक्ष संजय कुमार सिंहद्वारा हस्ताक्षर गरिएको ज्ञापनमा उल्लेख छ ।
खुल्न नसकेको पाटोहरु
धनुषा प्रहरीले गरेको अनुसन्धानबाट अहिले सिंघानियाको हत्या समाचार सम्प्रेशन भएर आफु बदनाम हुने र आफ्नो राजनीतिक प्रतिष्ठा समेतमा आँच आउने मात्र नभई राजनीतिक करियर नै समाप्त हुने हुनाले समाचारलाई प्रकाशन नगर्न सिंघानियालाई दवाव दिँदा पनि नमानेपछि सिंघानियालाई ठिक पार्नु पर्छ भन्दै संजय साहले ईगोमा आएर हत्या गराएको भनेर धनुषा प्रहरीले दावी गरेको छ । तर, बास्तवमा उनको हत्या समाचार लेखेकै कारण मात्र भएको हो भन्ने सवालमा धनुषाका प्रहरी उपरीक्षक राम दत्त जोशी भन्छन्,“ पक्राउ परेका अभियूक्तहरुसँग लिइएको बयानका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानबाट त्यही कुरा खुलेको भएपनि फरार रहेका अर्का अभियूक्त राम विनोद यादव पक्राउ परेपछि अन्य रहस्यहरु पनि पर्दाफास हुने छन् ।” उक्त घटनामा राम विनोदसँगै सुटरहरु मनक  लामा, पवन लामा लगायतका व्यक्तिहरु फरार छन् ।
यसरी जोडियो चनरदिपको कडि
धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका धनुषाको वीरेन्द्रबजारका एकलाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान गरेपछि सञ्चार उद्यमी अरुण सिँघानियाको हत्यामा  चनरदिप यादवकोे नाउँ खुलेको थियो ।
प्रहरी स्रोतका अनुसार सिंघानिया हत्यामा धेरै व्यक्तिहरुको संलग्नता रहेपनि सिंघानियालाई साइलेन्सर युक्त पेस्तोलले गोली प्रहार गर्ने व्यक्ति भने उमाप्रेमपुरका मनक लामा रहेको पहिचान भईसकेको छ । मनक लामा हत्याको केही समय पश्चात अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा नै कार्यरत रहेको बताइन्छ । अन्सी राइनले गरेको बयानको आधारमा प्रहरीले सो घटनामा सिरहा कारागारमा थुनामा रहेका निलम्बित सभाषद संजय साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य समेत रहेका कनकपट्टी(१ घर भई हाल जनकपुर(१ बस्ने ३५ वर्षिय रामविनोद यादव, फोरम (लोकतान्त्रिक)का जिल्ला उपाध्यक्ष समेत रहेका भरतपुर(८ का वर्ष ३० को चनरदिप यादव रहेको भनि पहिचान गरेको हो । त्यसैगरी प्रहरीले भरतपुर(१ का विजय कुसियैत भनिने दीपेन्द्र कुमार यादव, भरतपुर मालटोलका पवन लामा र  उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ ।  पक्राउ परेका अन्सी राइन र एकलाल सहनी अहिले मुद्दा पुर्पक्षको क्रममा अदालतको आदेशद्वारा कारागारमा थुनामा छन् ।
घटना सम्बन्धि खुलेका तथ्यहरु
एकलाल सहनी यो केशमा फस्दैन्थ्यो होला । तर, चन्द्रदीप यादवले एकलाललाई भेटेर सुटर खोजिरहेको बताएका थिए । विरेन्द्रबजारको एक होटेलमा एकलाललाई चन्द्रदीपले बोलाएर जनकपुरमा एक जना व्यक्तिलाई गोली प्रहार गरी हत्या गर्नुछ एक जना सुटर खोजी देऊ भन्ने प्रस्ताव राखेको थियो । प्रहरी स्रोतका अनुसार एकलालले आफुसँग कुनै पनि सुटर नरहेको बताउँदै गर्दा उनी सँगै रहेका मनक लामाले सुपारी लिन स्वीकार ग¥यो । आफुलाई पैसाको अत्यन्तै जरुरी छ, भनेर मनकले बताएपछि हत्याका लागि चन्द्रदीपले मनकलाई रु.२ लाखको सुपारी दिएका थिए । यसरी डिल भईसकेपछि फेरी अर्को दिन विरेन्द्रबजारकै एक होटेलमा चन्द्रदीप, एकलाल, मनक, अन्सी र पवन लामा पाँच जनाले हत्याको योजना बनाई मनकलाई डिल भएअनुरुप चन्द्रदीपले रु. ५० हजार समेत पेश्की उपलब्ध गरायो । प्रहरी स्रोतका अनुसार मनकले पेश्की स्वरुप पाएको रु. ५० हजार मध्ये एकलाललाई मनकले रु. २५ हजार सापटी समेत त्यही बेला दिएको थियो । त्यहाँ सम्म पनि कुन व्यक्तिको हत्या गर्ने हो भन्ने नाम मनक सामु खुलाईएन । त्यहाँबाट घटनालाई अन्जाम दिन मनक लामा, पवन लामा र विजय कुसियैत जनकपुरमा आई रामा होटेलमा बास बसेको बताइएको छ । उक्त होटेलमा रामविनोद यादव अर्को एक व्यक्तिसँगै पुगेको र कसरी हत्या गर्ने तथा कुन ठाउँमा हत्या गर्ने भनि मनकलाई सुनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । होटेलबाट कदम चौक स्थित पार्टी अफिसमा आई रामविनोदले तिनवटा मोटरसाईकलको व्यवस्था गरे । होलीका दिन घटना स्थलमा एउटा मोटरसाइकलमा मनक र पवन, अर्को मोटरसाईकलमा विजय र चन्द्रदीप तथा तेस्रो मोटरसाईकलमा रामविनोद यादव समेत आएका थिए । साइलेन्सर सहितको पेस्तोलले सिंघानियालाई टाउकोमा मनक लामाले गोली प्रहार गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । घटनाको धेरै समय पछि हत्यामा प्रयोग गरिएको रातो रंगको मोटरसाईकल प्रहरीले कदम चौक स्थित एक ग्यारेजबाट बरामद समेत गरेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल संजय साहले नेतृत्व गरेको पार्टी कार्यालयको लागि प्रयोग हुने गथर््यो ।
प्रहरीलाई एकलालले दिएको जानकारी अनुसार मनक लामा धेरै गरिब परिवारमा जन्मिएकोले पैसा कमाउनका लागि मजबुरीमा आएर मान्छे हत्या गर्ने कामको लागि सुटरको काम गर्न थाल्यो । मनकको कामै भनेको सुपारी लिएर व्यक्तिको हत्या गर्नु रहेको बताइएको छ । अर्थात ऊ पेशेवर सुटर हो । एकलालको परिवार भने आर्थिक रुपमा सम्पन्न थियो । माओवादीको द्वन्दकालमा एकलालको बुवासँग माओवादीले चन्दा मागेको थियो । तर उसको बुवाले चन्दा दिन इन्कार गरेपछि करिब ४०÷५० जनाको समुहमा आएका माओवादीहरुले उसको बुवालाई आक्रमण गर्न खोज्दा एकलालले माओवादीहरुको प्रतिकार गरेको थियो । एकलालले बन्चरो लिएर माओवादीहरुलाई काट्न थालेपछि माओवादीहरु भागेको थियो । त्यसपछि माओवादीसँग बदला लिन र आफु पनि माओवादीको आक्रमणबाट बच्न एकलाल जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भई भुमिगत भएका थिए । एकातर्फ एकलाल जनतान्त्रिकमा थिए भने अर्को तर्फ उनी प्रहरीको लागि सुराकीको काम समेत गरि दोहोरो भुमिका निर्वाह गर्थे । प्रहरी स्रोतका अनुसार एकलाल धनुषाका तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको सुराकी थिए । तर, एकलालले किनेको कार धनुषा प्रहरीले जफत गरेपछि एकलालले पनि सिंघानिया हत्याको अनुसन्धान गर्न जिम्मा पाएका डिएसपी न्यौपानेलाई समेत धोका दिएको प्रहरी स्रोतको दावी छ । एकलालले नेपाली नम्बर प्लेटको पेटूोल कार काठमाण्डौबाट किनेको थियो । तर जुन व्यक्तिबाट किनेको थियो त्यो व्यक्तिले नामसारी गराएको थिएन । त्यहीबेला धनुषा प्रहरीले उसको कार जफत गर्दा कारको कागज माग गर्दा एकलालले कागज दिन नसकेपछि कार बेच्ने व्यक्तिलाई लिएर आउन धनुषा प्रहरीले एकलाललाई भनेको थियो । तर, काठमाण्डौका त्यो व्यक्ति नआउँदा प्रहरीले उक्त कार जफत गरेको थियो ।   
सिंघानियाको हत्या पश्चात तराइ जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष अर्जुन सिंह,जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले जिम्मेवारी लिएका थिए । ति दुवै जना अहिले पक्राउ परी विभिन्न कारागारमा छन् । प्रहरीका अनुसार ती दुवै जनाले हत्या गरेको थिएन तर पैसाका लागि हत्याको जिम्मेवारी लिएका थिए ।
घटनाको छानविन गर्नको लागी प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान महाशाखा काठमाडौका प्रहरी बरिष्ठ उपरिक्षक विजय कुमार भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय अनुशन्धान टोली जनकपुर पुगेर घटनाको छानवीन शुरु गरे । उक्त टोलीले एक सय भन्दा बढी व्यक्ति सँग सोधपुछ गरेका थिए भने स्थानिय प्रहरीले दुइ दर्जन भन्दा बढी व्यक्तिलाई अनुसन्धानको क्रममा पक्राउ गरी पछि रिहा गरेका थिए । त्यसैगरी प्रहरी प्रधान कार्यालयले तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको संयोजकत्वमा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झा समेतको टोली गठन गरेको थियो ।


२०७२ चैत्र २८ गते आईतबार

सिंघानिया हत्या प्रकरणमा जिवनाथ चौधरीसँग पनि प्रहरीद्वारा अनुसन्धान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

संचार उद्यमि तथा व्यवसायी अरुण कुमार सिंघानियाको हत्या भएको घटनामा रामानन्द यूवा क्लवका पुर्व अध्यक्ष तथा होटेल सिता प्यालेसका संचालक एवम जिल्ला विकास समिति धनुषाका निलम्बित कर्मचारी जिवनाथ चौधरीसँग पनि धनुषा प्रहरीले अनुसन्धान गर्दै बयान कागज गरेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार संजय साहसँग कसरी चिनजान भयो भन्ने सवालमा जिवनाथ चौधरीले यसरी जवाफ दिएका छन् । २०५५ सालमा म जिविस धनुषामा सह लेखापालको रुपमा कार्यरत थिएँ । त्यतिबेला रामचरित्र साह जिविसको सभापति थिए । एक दिन सभापति साहले संजय साहलाई म निर ल्याएर चिनजान गराउँदै संजय मेरो आफ्न्त रहेको र ठेक्का पट्टा हुँदा नियमानुसार ठेक्का दिलाई सहयोग गरिदिनु भनेर मलाई भन्यो । त्यसपछि प्रत्येक बर्ष जिविसबाट निस्किने ठेक्कामा नियमानुसार संजय साहलाई ठेक्का दिलाई सहयोग गथर््यौं । २०६२÷०६३ सालमा १० लाख रुपैयाँमा लिनु पर्ने ठेक्का प्रतिस्पर्धाका कारण एक करोड बारह लाख रुपैयाँमा संजयले लिनु पर्यो । त्यसका लागि उनले २५ प्रतिशत रकम नगद किस्ता बुझायो भने बाँकी रहेको ७५ प्रतिशतको रकम बैंक ग्यारेन्टी मार्फत धरौटी राख्यो । पछि उनलाई ठेक्कामा घाटा भयो ।उनले ठेक्का सम्झौता रकममा मिनहा गराई दिन भनी जिविसमा निवेदन समेत दियो । तर, जिविस धनुषाको बोर्डले बाँकी रहेको रकम बैंक ग्यारेन्टी मार्फत जफ्त गरी असुल गर्ने निर्णय गर्यो । त्यस पश्चात जिविसले बैंकमा पत्र लेखेर बैंक सँग बाँकी रहेको ७५ प्रतिशत रकम जम्मा गरायो । उक्त घटना पश्चात संजयलाई के लाग्यो भने मैले नै उसको रकम मिनहा गराउन दिईन र मैले नै बैंकबाट उसको रकम जफ्त गर्न लगाएँ । अनि त्यस पछि उसले म सँग दुश्मनी गर्यो ।
दुश्मनी साध्नका लागि तपाई माथि उनले के के आक्रमणहरु गराएका छन् भन्ने प्रहरीले गरेको सवालमा जिवनाथ चौधरीले दिएको बयान यस्तो छ । सबै भन्दा पहिले २०६५ साल भदौ १३ गते उसले मेरो घरमा डाका हाल्न लगायो । प्रहरीले भरत झा नामको डाकालाई समात्दा पत्रकारहरुको अगाडीमा उसले संजय साह र ओम यादवले मलाई पैसा दिएर डाका गर्न लगाएको भनेर दिएको बयान रेडियो टुडे एफएमले प्रत्यक्ष प्रशारण गर्यो । र, बाँकी मिडियाहरुले पनि उक्त बयान प्रकाशन गरेको थियो । टुडेमा गएर संजयका समुहहरुले तोडफोड गरेको र ज्यान मार्ने धम्की समेत दिएको भन्ने समाचार मार्फत मैले बुझें । त्यसैगरी २०६६ बैशाखमा मलाई गोली प्रहार गरियो । त्यसको जाहेरी त मैले दिएको छैन तर उक्त घटना पनि संजय साहले नै गराएको हो भन्ने मलाई विश्वास हुनुको मुख्य कारण के हो भने उक्त घटनाको जिम्मेवारी पनि अर्जुन सिंह भनिने मुकेश चौधरीले लिएको थियो । त्यसपछि जनकपुर बम घटनामा पनि मुकेश चौधरीले पैसा लिएर जिम्मेवारी लिएको थियो । त्यो बम घटना पनि मलाई नै ज्यान मार्ने उद्देश्यले संजय साहले गराएको थियो ।
अर्जुन सिंह भनिने मुकेश चौधरी र संजय साह बीचको सम्बन्ध कस्तो थियो भन्ने सवालमा जिवनाथ चौधरीले यसरी बयान दिएका छन् । प्रथम संविधान सभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालबाट उनी सांसद पदमा निर्वाचित हुँदा उनी पार्टीको जिल्ला अध्यक्ष समेत थिए । उक्त पार्टीको भातृसंगठन नेपाल मधेस विद्यार्थी फ्रन्टका धनुषा जिल्ला अध्यक्षको रुपमा मुकेश चौधरी थिए । र पछि गएर संजयले नै मुकेश चौधरीलाई भुमिगत समुहमा जानका लागि उक्साएका थिए ।
जनकपुर टुडे एफएममा तपाईको पनि लगानी छ भन्ने सवालमा जिवनाथ चौधरीले २० प्रतिशत लगानी रहेको बयान दिएका छन् । तपाई र अरुण सिंघानिया बीच कस्तो सम्बन्ध थियो भन्ने सवालमा जिवनाथ चौधरीले यसरी बयान दिएका छन् । अरुण सिंघानिया र मेरो बीच सम्बन्ध रामै्र थियो । सिंघानियाले श्याम संकिर्तन मण्डल भनेर भजन कार्यक्रम गर्ने एउटा संस्था खोल्नु भएको थियो । म त्यतिबेला रामानन्द यूवा क्लबको अध्यक्ष थिएँ । र, प्रत्येक बर्ष दुर्गा पुजाको अवसरमा उहाँको संस्थाका कलाकारहरु र उहाँ समेत आएर भजन गर्नु हुन्थ्यो । सोही दौरान उनीसँग राम्रो चिनजान भएपछि सिंघानियाले नै भनेर मैले पनि रेडियोमा साझेदारी गरेको थिएँ ।



२०७२ चैत्र २८ गते आईतबार

बाइबि निर्माण सेवाको गोरख धन्दाको खुलासा सम्बन्धित निकायको मौनताले रहस्य जन्माउँदै

शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
धनुषा जिल्लामा नदीको गिट्टी बालुवाको कर असुलीमा वाईबी निर्माण सेवाले अझै गैरकानुनी धन्दा जारी राखेका छन्  । जिल्ला भरीको खोला तथा नदीबाट  गिट्टी बालुवा निकासीमा तोकिएको भन्दा दोब्बरभन्दा बढी कर ठेकेदार कम्पनी वाईबी निर्माण सेवाले महिनौदेखि अशुली जारी राखे सम्बन्धीत निकाय मुकदर्शक बनेका छन्  । खुलेआम ढुवानी गर्ने ट्याक्टरबालासंग अवैध तरिकाले कर असुल्ने गरेको गुनासो गर्दा र सो समाचार सञ्चार माध्यमहरुबाट सार्वजनिक भएपनि वाईबी निर्माण सेवाले आफ्नो गोरख धन्दा जारी नै राखेका छन् भने प्रहरी प्रशासन कमिसनमा मस्त छन्  ।
नदीनालाबाट गिट्टी,बालुवा एवं ढुंगा निकासीमा २ रुपिया प्रति क्यु फिटको हिँसाबले एक ट्याक्टरको १ सय ६० देखि १ सय ८० रुपैयासम्प पर्छ  । तर वाईबी निर्माण सेवाले प्रत्येक ढुवानी गर्ने ट्याक्टरबालासंग ३ सय ५० देखि ४ सय ५० रुपैयासम्म मनोमानी गैरकानुनी तवरले कर असुल्दै आएका छन्  ।  
जिल्ला विकास समिति धनुषाले जिल्ला भित्रका खोला तथा नदीहरुको ढुंगा ,बालुवा ,गिट्टी निकासीको लागि वाईबी निर्माण सेवालाई ठेक्का दिएको हो  । ट्याक्टरमा ओभरलोड नहुँदा पनि जिल्ला भरि कर अशुल्ने ढाठ राखेको ठाउँहरुमा  ठेकेदारका बाउण्सरहरुले ओभरलोड नहुँदा पनि धाकधम्की देखाउँदै प्रत्येक ट्याक्टरबलासंग जवरजस्ती १ सय ५० रुपैँयाँको बिल काट्ने गरेको ढुवानीकर्ताहरुको दुखेसो छ  । बिहीबार ट्याक्टरमा वालुवा ल्याउँदै गरेका जनकपुर मुजेलियाका एक ढुवानीकर्ता सीता ठाकुरले किन नियम विपरीत बढी कर लिनु हुन्छ भनेर प्रश्न गर्दा ढाटमा बसेका एक युवकले ‘जहाँ जानु छ जा तर साढे तीन सय रुपैया तिर्नै पर्छ ’ भन्दै धम्काउँदै जवरजस्ती विल काटेको गुनासो गर्नु भयो  ।  
बाईबि निर्माण सेवाले अनधिकृत रुपमा कर बढी असुल गरेको एक उदाहरण ।
दिनहँु धनुषा जिल्ला भित्रका खोला तथा नदीबाट निकासी हुने स्थानहरुमा वाईबी निर्माण सेवाले कर असुल्न आफ्ना ढाठ राखेका छन्  । जिल्ला भरिमा दैनिक करि १५ सयदेखि २ हजार ट्याक्टरसम्म गिट्टीबालुवा निकासी हुने गरेको छ  । जसमा दैनिक वाईबी निर्माण सेवाले तीनलाख भन्दा बढी अवैद्य कर अशुल्ने गरेका छन्  । ठेकेदारले दैनिक तीन लाखभन्दा बढी ढुवानी कर्ताबाट अशुली गरेको अवैध कर महिनामा एक करोडभन्दा बढी हुन्छ  । जसको प्रत्यक्षमार जनतामाथि पर्ने गरेको छ  । ढुवानीकर्ता ट्याक्टरबालाहरुमाथि थपेको दुई सयभन्दा बढी कर उनीहरुले उपभोक्ता अर्थात जनताबाट लिने गर्छन्  । ठेकेदार कम्पनी  वाईबी निर्माण सेवाले गैर कानुनी रुपमा ढुवानीकर्ताबाट खुलेआमा दोब्बर भन्द बढी कर असुल्ने गरेको कुरा सञ्चार माध्यमा पटक पटक सार्वजनिक भएपनि धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाई र स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेती भने मौन छन्  । प्रमुख जिल्ला अधिकारी चापागाईलाई यस विषयमा राम्ररी थाहा भएपनि आफुलाई यस विषयमा त्यति जानकारी नरहेको र भोली पर्सी यस सन्दर्भमा बुझ्ने भनेर पन्छिदै वाईबी निर्माण सेवालाई गैरकानुनी कार्यको लागि प्रोत्साहन दिँदै आउनु भएको छ  । यस्तै स्थानीय विकास अधिकारी उप्रेतीले जवसम्म आफुकहाँ ढुवानी कर्ताहरुले गुनासो एवं उजुरी गर्दैन तवसम्म सञ्चार माध्यममै आएको समाचारको भरमा ठेकेदारमाथि कारबाही गर्न नसकिने भन्दै प्रोत्साहन गरि राख्नु भएको छ  । नत त्यस कार्यप्रति खाँसै चाँसोसमेत लिनुभएको छ  । उहाँलेसमेत ठेकेदारले अनाधिकृत कर नलिएको दावी गर्नु हुन्छ  । जवकी ढुवानीकर्ताहरुले वाईबी निर्माण सेवाले बढी कर अशुल्ने गरेको गुनासो गरेपछि  फागुन ११ गते जिल्ला विकास समितिले नै आफ्नै लेटरप्याडमा नियमविपरीत बढी कर लिएको भन्दै वाईबी निर्माण सेवाका ठेकेदार महेश्वरसाहलाई आवश्यक कारबाही गर्न ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषालाई पत्र पठाएको थियो  । सो पत्र सं.२०७२ ÷०७३ र चलानी नं. ६३८ रहेको छ  । तर यता सो पत्र ईलाकामा नआएको ईप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरीको भनाई छ  ।  ठकुरीले जिविसबाट पत्र आएको छैन बताउँदै यदि जिविसबाट पत्र आए पनि आफुले कुनै पहलकदमी नलिने प्रतिक्रिया दिनुभयो  । आफ्नो मातहतका कार्यालयबाट कुनै निर्देशन आए मात्र त्यसप्रति चाँसो लिने ठकुरीको भनाई छ  । श्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई ठेकेदार कम्पनी वाईबी निर्माण सेवाले आफ्नो गैर कानुनी धन्दा जारी राख्न मोटो रकम कमिसन दिने गरेका छन्  । त्यसै कारण वाईबी निर्माण सेवाको गलत कार्यप्रति खासै चाँसो लिएका छैनन् र बचाउ गरि रहेका छन्  ।  यता वाईबी निर्माण सेवाका ठेक्केदार महेश्वर साह र सोहि कार्यमा सहयोगि बनेका रामकेवल साहसंग यस विषमा कुरा गर्न खोज्दा पत्रकारहरुलाई प्रलोभन दिने गरेका छन्  । यस संवाददाताले तपाईहरुले किन नियमविपरीत बढी कर असुल्नु हुन्छ भनेर प्रश्न गर्दा आउनुस् बसेर कुरा गरौं , पत्रकारको दुःख हामीलाई थाहा छ , हामीबाट के सहयोग चाहिन्छ भन्दै प्रालोभन दिएका छन्  । यस कार्यको जहाँबाट विरोध हुन्छ  ठेकेदारहरु त्यहाँ प्रलोभन दिएर मिलेमतो गर्दै आफ्नो गलत धन्दालाई हालसम्म पनि बरकरार राखेका छन्  । उनीहरुले अहिले बढी कर असुलीमा नियन्त्रण गरेको दावी गरेपनि गोरख धन्दा अझै जारी रहेको छ  । 


२०७२ चैत्र २८ गते आईतबार