Wednesday, April 20, 2016

संजय साह र उनका परिवार आमरण अनशनमा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर बम काण्ड र व्यापारी अरुण सिंघानिया हत्याको मुख्य योजनाकारको रुपमा प्रतिवादी बनाइएका निलम्बित सांसद संजय कुमार साह प्रहरी हिरासत भित्रै आमरण अनशनमा बसेका छन् । आफुलाई झुठा मुद्दामा फसाइएको, सह अभियूक्तको पोलकै भरमा राजनीतिक पुर्वाग्रह राखी सिंघानिया हत्यामा समेत आफुलाई अभियूक्त बनाइएको भन्दै स्वतन्त्र न्यायिक छानविन समिति गठन गरिनुपर्ने माग राख्दै साह गत २५ गते देखि नै आमरन अनशनमा बसेका छन् ।
संजय साहले संचारकर्मीहरुसँग कुराकानी गर्दै आफु निर्दोष रहेपनि आफुलाई फसाउन खोजिएको, प्रहरी प्रशासन पुर्वाग्रही ढंगले हरेक मुद्दाहरुमा फसाउन खोजेको भन्दै उच्च स्तरीय छानविन समिति गठन गरी दोषीलाई कारवाही गराउन तथा पीडित परिवारलाई समेत इन्साफ दिलाउनका लागि आमरन अनशनमा बसेको बताएका छन् ।
प्रहरीको अनुसन्धान निष्पक्ष नभएकाले स्वतन्त्र छानविन समिति गठन भई बम काण्ड देखि सिंघानिया हत्या काण्डसम्मको निश्पक्ष छानविन हुनुपर्ने उनको प्रमुख माग रहेको छ । उच्च स्तरीय छानविन समिति गठन भए सिंघानिया हत्यामा एक जना प्रहरी बरिष्ठ अधिकृतको संलग्नता रहेको आफुसँग प्रमाण समेत रहेकोले उक्त छानविन समिति सामु आफुले हरेक घटनाको दुधको दुध र पानीको पानी छुट्याईदिने बताएका छन् ।
आमरन अनशनमा बसेका साह प्रहरी हिरासत भित्र पानी मात्र लिईरहेको हुनाले उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हिरासतमा अनुगमन गर्न पुगेका राष्टिूय मानव अधिकार आयोगका बुद्धनारायण साहनी केवटले बताएका छन् । यसका साथै साहको नियमित उपचारको व्यवस्था समेत जिल्ला प्रहरी कार्यालयले मिलाउनु पर्ने उनले बताए ।
पाँचसुत्रीय माग राखी निलम्बित साहकी पत्नी रंगीला साह, दिदी देवन्ती साह, बहिनी बविता साह र समर्थक शिवशंकर यादवसहित परिवारजनले जनकपुरको जनकचोकमा आमरण अनसनमा बसेको छ । उच्चस्तरीय छानबिन समिति गठन, निर्दोषलाई रिहा, दोषीलाई कारवाही तथा झुठा मुद्दा र एसपीको खारेजीको मागसमेत गर्दै उनीहरुले आमरण अनसन सुरु गरेका हुन् । निलम्बित सांसद साहले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतकक्षमा १० दिनदेखि गरिरहेको अनसनले उनको स्वास्थ्य अवस्था बिग्रिँदासमेत सुनुवाइ नभएपछि उनका आफन्त र समर्थकले आमरण अनसन सुरुगरेका छन् ।


२०७३ बैशाख ०५ गते आईतबार

No comments:

Post a Comment