Wednesday, April 20, 2016

अर्बपति संजय साह माथि करोडौंको ऋण

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
केन्द्रिय प्रहरी अनुसन्धान व्यूरोका अनुसार संजय साहको घर जग्गामा मात्रै करिब ५२ करोड रुपैयाँको लगानी देखिएको छ । ०५५ अघिसम्म साह परिवारका नाममा जनकपुर नगरपालिका क्षेत्रमा एक टुक्रा जग्गा थिएन । त्यतिन्जेल जनकपुरबाट दक्षिणपूर्व करिब सात किलोमिटर टाढा रहेको उनको पुख्र्यौली गाउँ लोहनामा १५ का २ धुर जग्गा उनीसँग रहेको कागजातबाट देखिन्छ । अहिले भने उनको आर्थिक साम्राज्य धनुषादेखि काठमाडौँसम्म फैलिएको छ । मुख्यमुख्य सहरका महँगा क्षेत्रमा प्रशस्तै जग्गाजमिन छ । ब्युरोले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार साहले आफ्नोबाहेक बुबा साधु साह सुढी, श्रीमती रंगिलादेवी साह र आमा दुलारीदेवी साहका नाममा चलरअचल सम्पत्ति जोडेका छन् ।
धनुषामा मात्रै साह परिवारको दुई बिघा जमिन छ । जनकपुर नगरपालिकाभित्रै १० ठाउँमा गरी उनले करिब १० का जग्गा जोडेका छन् । घरजग्गा व्यवसायीहरूका अनुसार जनकपुर बजार क्षेत्रमा अहिले प्रतिधुर १५ देखि ३० लाख रुपियाँमा जग्गा किनबेच हुन्छ । प्रतिधुर औसत २० लाख रुपियाँ मान्दा १० का जग्गाको मूल्य ४० करोड बराबर हुन्छ ।
जनकपुरको मुटु मानिने जनकपुरधाम क्षेत्रमा मात्रै ३४ धुर जग्गा जोडेका छन् र यहीँ उनले आलिसान घर पनि बनाएका छन् । धनुषाकै भरतपुर(४ मा एक बिघा जमिन भेटिएको छ भने नक्टाझिज(८ मा १० का । यो क्षेत्रमा प्रतिका सालाखाला १५ लाख रुपियाँ पर्छ । यस हिसाबले साहको जग्गा यी क्षेत्रमा मात्रै डेढ करोड रुपियाँको छ ।
तर, संजय साहका भाई डा.रामकुमार साहका अनुसार दुई विघा जग्गा जनकपुर १६ कपिलेश्वरमा पुखर््यौली रहेको रहेको दावी गर्छन् । उनका अनुसार जनकपुरको क्याम्पस चौक स्थित १ कठ्ठा जग्गा संजय साहको जन्म हुनुभन्दा अघि नै उनका बुवाले जोडेका छन् । कदम चौक स्थित घर पनि उनका बुवाले संजय साह जन्मिएको दुई तीन बर्ष पछि नै बनेकै घर किनेको राम कुमार बताउँछन् । विरेन्द्रबजारको भरतपुरमा बुवाकै पालामा २०६० सालमा ९ लाख रुपैयाँमा १ विघा जमिन किनेको बताउँछन् । नक्टाझिझमा   जग्गा नै  नरहेको उनी बताउँछन् ।
सिआईबिका अनुसार संजय साहले सर्लाहीको विष्णुपुरमा पूर्वपश्चिम राजमार्ग किनारमै करिब नौ का घडेरी जोडेका छन् । यस क्षेत्रमा प्रतिका जग्गाको ४० लाख रुपियाँ बेसी पर्छ । यस हिसाबमा उनको जग्गा करिब ४ करोड रुपियाँ बराबरको हुन्छ । यो गाउँ हरिवन नगरपालिकामा गाभिएपछि त झनै जग्गाको भाउ अकासिएको छ । संजयका भाई रामकुमारका अनुसार सर्लाहीका उक्त जग्गा २०६७ साल भदौ २ गतेमा ३१ लाख ७८ हजार ६ सय रुपैयाँमा किनिएको हो । उक्त जग्गा बुवा साधुको नाउँमा किनिएको हो । उक्त रकम नेपाल बंगलादेश बैंकबाट लोन रकम ५८ लाख लिई किनिएको हो । त्यसैगरी जनकपुरको शिव चौक स्थित जग्गा २०६६ बैशाख १३ गते भाउजु रंगिला देवी साहको नाउँमा किनिएको हो । त्यो रकम पनि नेपाल बंगलादेश बैंकबाट २० लाख रुपैयाँ ऋण लिई किनिएको हो । जनकपुरको कदम चौक स्थित घर पछाडी एक विघा जग्गा बुवा साधु साहको नाउँमा २०६७ साल बैशाख १७ गते १ करोड १० लाख रुपैयाँमा किनिएको हो । उक्त रकम पनि प्रभु फाइनान्सबाट ४९ लाख र नेपाल बंगलादेश बंैकबाट विभिन्न ठेक्का कम्पनीको लोनबाट लिइएको हो ।
सिआईबिका अनुसार संजयको ललितपुरको नखिपोटमा १ रोपनी २ आना जग्गामा साढे दुई तलाको घर छ । यस जग्गाको मूल्य मात्र प्रचलित दर २० लाख प्रतिआनामा हिसाब गर्दा ३ करोड ६० लाख हुन्छ । उनीसँग घरजग्गा मात्र करिब ५२ करोड रुपियाँबराबरको रहेको देखिन्छ । संजयका भाई राम कुमारका अनुसार २०६६ साल भदौ १ गते प्रभु बैंकबाट ५० लाख रुपैयाँ ऋण लिई ५० लाख रुपैयाँमा भाउजु रंगिला देवी साहका नाउँमा घर जग्गा किनिएको हो । त्यसैगरी २०६९ भदौ २७ गते ललितपुरको छम्पी गाविसमा रंगिला देवी साहको नाउँमा ३७ लाख १९ हजार ५ सय रुपैयाँमा ८÷९ रोपनी जग्गा किनिएको हो । उक्त रकम पनि ध्रुवतारा कन्स्टूक्सन कम्पनीको नाउँमा नेपाल बंगलादेश बैंकबाट ऋण लिइएको राम कुमार दावी गर्छन् । राम कुमारका अनुसार अहिलेसम्म पनि विभिन्न बैंकको करिब १५ करोड ८८ लाख ८५ हजार ९ सय १३ रुपैयाँ ऋण बाँकी नै रहेको छ । हालसम्म संजय साहले आफ्नो कमाईबाट ३ करोड ४१ लाख ९८ हजार १ सय रुपैयाँ सम्पति जोडेको भएपनि उक्त रकम आम्दानीमा केही पैतृक सम्पतिहरु बेचेर प्राप्त भएको उनका भाई राम कुमार बताउँछन् ।
दर्जन कम्पनीका मालिक
सिआईबिका अनुसार चल र अचल सम्पत्ति जोड्ने क्रममा उनले थुप्रै कम्पनीमा लगानी पनि गरेको पाइएको छ । साहका नाममा मात्र नौवटा कम्पनी दर्ता छन् । कम्पनीहरू हेर्दा यस्तो लाग्छ, उनीजति विविधतायुक्त क्षेत्रमा दख्खल भएको अर्को व्यवसायी नै यो मुलुकमा छैन । निर्माण व्यवसाय, वित्तीय कम्पनी, पेटूोल पम्पदेखि मेडिकल क्षेत्रसम्म उनले व्यापारिक पहुँच बनाएका छन् । केही कम्पनीका त विभिन्न ठाउँमा शाखा कार्यालयसमेत खोलिएका छन् ।
धु्रवतारा कन्स्टूक्सन, मिथिला मनी टूान्सफर, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजी, केबी पेट इन्डस्टिूज, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर गु्रप अफ इन्स्टिच्युसन, कर्णाली बिल्डर्स र मिथिला आयल स्टोर्समा साहको लगानी भेटिएको छ । यीमध्ये धु्रवताराको चितवनमा, केबी पेटको लगनखेल, ललितपुरमा शाखा कार्यालय छन् ।
बाँकी सबै धनुषा जिल्लाबाटै कारोबार गर्ने कम्पनी हुन् । यी कम्पनीमा साहको लगानी २० करोड रुपियाँभन्दा माथि देखिन्छ । धु्रवताराले निर्माणसम्बन्धी कामको ठेक्कापट्टा लिन्छ । मिथिला आयल स्टोर्स नामक पेटूोल पम्प उनले बुबा साधु साह सुढीका नाममा दर्ता गरेर चलाइरहेका छन् । यही फर्मका नामबाट साहले नेपाल प्रहरीको रासन ठेक्काको कामसमेत गर्थे । साहसँग आफू चढ्नका लागि विलासी गाडी एसयूभी (स्पोर्ट्स युटिलिटी भेहिकल) र टाटा एरिया प्राइड छ । यसको मूल्य अहिले नेपाली बजारमा ५० लाख रुपियाँभन्दा बढी छ । उनीसँग महिन्द्राकै दुईवटा एक्जाभेटरसमेत रहेका छन, जसको मूल्य दुई करोड रुपियाँभन्दा माथि पर्छ । त्यसबाहेक उनको अर्को गाडी निसान पिकअपको बजार मूल्य करिब ६० लाख छ ।
संजयका भाई राम कुमारका अनुसार धु्रब तारा कन्स्टूक्सन, कर्णाली विल्डर्स सुचारु छन् । तर, मिथिला आयल स्टोर्स बुवाको नाउँमा दर्ता भएपनि सुचारु छैन ।
मिथिला मनी टूान्सफर  ८ बर्षसम्म सुचारु रहे पनि विगत ३ बर्ष देखि बन्द रहेको छ । उक्त मनि टूान्सफर संचालनमा रहेको बेला तराईको विभिन्न सहरहरु जस्तै गौर, राजविराज, जनकपुर, काठमाण्डौ लगायतका ठाउँहरुमा संचालित थिए । वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजीमा आफ्नो लगानी नरहेको उनी बताउँछन् । त्यसैगरी केबी पेट इन्डस्टिूजको सवालमा मुक्ति बोध न्यौपाने र मनोहर खड्का लगायतका व्यक्तिहरुको संयूक्त लगानीमा उक्त कम्पनी पहिले देखि नै संचालित रहेको थियो । उक्त कम्पनीको लोन रकम संजय साहले आप्mनो पर्सनल ग्यारेन्टीको आधारमा कम्पनीका सेयरलिएका थिए । तर, उक्त कम्पनीको धितो पहिलेकै संचालकहरुको नाउँमा मेगा बैंकमा यथावत रहेको भएपनि हालमा गत १ बर्ष देखि आफुहरुले उक्त सेयर पनि छाडिदिएको राम कुमार बताउँछन् । सारस इन्भेस्टमेन्ट प्रा. लि का सवालमा दर्ता नै नगरिएको उनी बताउँछन् ।
त्यसैगरी क्लाउड नाइन नेपालको सन्दर्भमा उक्त कम्पनी बहुराष्टिूय कम्पनी रहेको तथा उक्त कम्पनीको नेपालमा डिलर सिप लिनका लागि संजय साहले श्रीमति रंगिला देवी साहको नाउँमा कम्पनी दर्ता गरेको भएपनि कम्पनी कहिल्यै सुचारु नै हुन सकेन । गंगासागर गु्रप अफ इन्स्टिच्युसन दर्ता भएपनि सुचारु नभएको उनी बताउँछन् । उक्त इन्स्टिच्यूसन मार्फत डिपलोमा तहका प्राविधिक शिक्षाका कलेजहरु संचालन गर्ने उनको योजना रहेको थियो ।
सिआईबिका अनुसार आफू चढ्नका लागि संजयले विलासी गाडी एसयूभी (स्पोर्ट्स युटिलिटी भेहिकल) र टाटा एरिया प्राइड छ । यसको मूल्य अहिले नेपाली बजारमा ५० लाख रुपियाँभन्दा बढी छ । उनीसँग महिन्द्राकै दुईवटा एक्जाभेटरसमेत रहेका छन, जसको मूल्य दुई करोड रुपियाँभन्दा माथि पर्छ । त्यसबाहेक उनको अर्को गाडी निसान पिकअपको बजार मूल्य करिब ६० लाख छ । उक्त सवारी साधनको सवालमा एसयूभी गाडी नरहेको र अन्य गाडीहरु रहेको भन्दै संजयका भाई भन्छन,“ टाटा आर्य नेपाल बंगलादेश बैंकबाट ऋण लिई ५५ लाख रुपैयाँमा किनेको भएपनि निशान पिकअप सेकेन्ड ह्याण्ड २५ लाख रुपैयाँमा बैंक लोनबाट किनेको हो । त्यसैले हामीहरुसँग जति पनि सम्पतिहरु छन् ती सबैको स्रोतहरु प्रमाण सहित हामीले सम्पति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत बुझाई सकेपनि सम्पति फुकुवा नगरी हामीलाई अल्झाउने काम गरिएको छ ।”

२०७३ बैशाख ०५ गते आईतबार

No comments:

Post a Comment