Tuesday, July 14, 2015

डाक्टरको बेइमानीले गर्दा अञ्चल अस्पतालमा वढ्दो बेथिती


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालमा अहिले नेपाल सरकारको तर्फबाट कुल १५ जना र विकास समितिको तर्फबाट  १६ गरी कुल ३१ जना चिकित्सकहरु कार्यरत रहेका छन् । तर, अस्पतालमा ती चिकित्सकहरु प्रायः जसो भेटिँदैनन् । उपचार गराउन पुग्ने विरामीहरु त्यहाँ उपचार नगराईकनै फर्किनुपर्ने बाध्यता रहेको हुन्छ । एक मात्र विकल्प भनेको नीजि नर्सिङ होम तथा क्लिनिकहरुमा गएर मोटो रकम तिरी उपचार गराउनु हो । चिकित्सक ड्यूटीमा रहँदैनन् भन्ने तथ्य अस्पतालका कार्यालय प्रमुख समेतको जिम्मेवारी सम्हालेका मेडिकल सुप्रिटेन्डेन्ट डा.संजय कुमार ठाकुर पनि स्वीकार गर्छन् । उनी भन्छन,“धेरै डाक्टरहरुलाई स्पष्टिकरण पनि सोधिसकेको छु । वढी भन्दा वढी दुई ग्रेड रोक्का गर्न सक्ने मात्र मेरो अधिकार छ । त्यसैले डाक्टरहरुले मलाई अटेरी गरिरहेका छन् ।” ती चिकित्सकहरु अस्पतालकै व्यानर सहितको बोर्ड झुन्डयाएर बाहिर क्लिनिकमा बसिरहेका हुन्छन् । तर, अस्पतालमा ड्यूटी गर्दैनन् । विहान आएर हाजिरी गर्ने, ओपिडीमा सामान्य चेक जाँच गर्ने र फर्किने गर्छन डाक्टरहरु । १० बजे आउने र १२ बजे फर्किने डाक्टरहरुलाई अस्पतालमा रोकिराख्न अक्षम भएका छन् मेसु ठाकुर । हुन त उनले डाक्टरहरुलाई रोक्न विहान र दिउँसो सिएमई र कन्फ्रेन्स समेतको व्यवस्था मिलाएका छन् । तर, डाक्टरहरु सहभागी नै हुँदैनन् ।

‘कुनैपनि अस्पतालको मुटु भनेको त्यसको इमरजेन्सी कक्ष हो । इमरजेन्सी कक्षमा भर्ना हुने गरेका रोगीहरु उपचारपछि कि त त्यस अस्पतालको वार्डमा सारिन्छन, निको भएर घर फर्किन्छन, अन्यत्र अस्पतालमा रेफर गरिन्छन वा मृत्यु भएपछि मसानघाटको यात्रा गर्छन ।’ जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षका एक जना कर्मचारी भन्छन,“ तर, हामी कहाँ आउने प्रायः रोगीहरु वाहिर नै रेफर गरिन्छन् ।” उनको यो भनाईले पनि जनकपुर अञ्चल अस्पतालको शाख दिन प्रति दिन कतिसम्म खस्किदै गएको छ भन्ने पुष्टि हुन्छ । इमरजेन्सीमा भर्ना हुने प्यासेन्टहरुलाई प्राथमिक उपचार गर्ने भन्दा वढी कार्य गर्न एक किसिमले अञ्चल अस्पताल असमर्थ सावित भईसकेको छ । सामान्य अवस्थामा भर्ना हुने रोगीहरुको उपचार हुने गरेपनि गम्भीर अवस्थामा पुगेका रोगीहरु त्यहाँ गएर मृत्युलाई कुर्नु भन्दा आफै अन्य अस्पताललाई रोज्न बाध्य भएका छन् । एक त विशेषज्ञ चिकित्सकहरु नै छैनन्, भएका चिकित्सकहरु पनि अस्पतालमा देखिनुको साटो निजी क्लिनिक र नर्सिङग होममा व्यस्त रहन्छन् । अस्पतालमा भर्ना भएपछि घन्टौं स्लाइनको भरमा कुराइन्छ विरामीलाई । अनि अनकलमा मात्र आउँछन विशेषज्ञ डाक्टर । त्यो पनि प्यासेन्टले धेरै पावर पु¥यायो भने मात्र । यस्तो अवस्थामा विरामीको मृत्यु हुन गएमा आक्रोशित परिवारले चिकित्सकलाई समेत हात पात गर्न बेर लगाउँदैनन् । त्यसैको फाइदा उठाई भर्ना हुने वित्तिकै विरामी पनि आफ्नो ज्यान जोगाउन त्यहाँबाट रेफर चाहन्छन् । र, चिकित्सक पनि जोखिमबाट मुक्त हुन रेफर गरिदिएर ढुक्क हुन चाहन्छन् । यही हो अञ्चल अस्पतालको आकस्मिक कक्षको नियति । 

अर्को तितो सत्य के हो भने इमरजेन्सीमा पुगेका प्यासेन्टहरुलाई अस्पताल रोडका औषधि पसले, एम्बुलेन्स चालकहरुले समेत तपाईको उपचार यहाँ चिकित्सकले गर्न सक्दैन, बाहिर लग्नुस नत्र भने प्यासेन्ट मर्न पनि सक्छ भनेर डराईराखेका हुन्छन् । तिनीहरुको एम्बुलेन्स रहेका कारण एम्बुलेन्सबाट रुपैयाँ कमाउन र बाहिर पठाउने अस्पतालबाट कमिशन लिन प्यासेन्टलाई दिगभ्रमित गरिरहेका हुन्छन् । यसरी बाहिर पठाउने काममा अस्पतालमा भोलन्टियरका रुपमा काम गर्ने कर्मचारी देखि लिएर थुप्रै दलालहरु सक्रिय हुन्छन् । 

सिटी स्कयान मेसिनका साथ मेसु डा.संजय ठाकुर 
र पुर्व मेसु डा.गौराङ मिश्र तथा प्राविधिकहरु ।
चार दिन अघि मेसु आफैले दलालीलाई रोक्न प्रयास गरे । इमरजेन्सी कक्षबाट स्टूेचरमा विरामी बाहिर लगेको देख्दा मेसुले विरामीलाई किन बाहिर लगेको भनेर सोध्दा यहाँ अस्पतालमा उपचार सम्भव छैन, बाहिर क्लिनिकमा मात्र सम्भव छ भनेर डाक्टरले भनेका कारण प्यासेन्टलाई बाहिर क्लिनिकमा लगिरहेको जवाफ दिए । मेसु प्यासेन्टसँगै क्लिनिकमा पुगेर त्यो डाक्टरलाई यो के गरेको भनेर सोध्दा डाक्टर अनुतरित भए । किनभने त्यो डाक्टर अस्पतालकै कर्मचारी थिए । पछि मेसुलाई नै गाह्रो पारिदिएपछि मेसु चुपचाप फर्किएका थिए । यसरी अस्पतालमा दलाली कतिसम्म हावी छ भन्ने कुरा पुष्टि हुन्छ ।

यसरी जनकपुर क्षेत्रका बिरामीहरुको उपचार गराउने थलो नेपाल सरकारको जनकपुर अञ्चल अस्पताल आफै बिरामी परि दिन प्रतिदिन थला पर्दै गइरहेको छ । यस भेगका रोगबाट मुक्ति पाउने एक मात्र सरकारी अञ्चल अस्पताल नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन एवं डाक्टरहरुको हेलचक्रयांईले गर्दा अस्तब्यस्त बन्न पुगेको छ । परिणाम स्वरुप अञ्चल अस्पतालबाट जनताको भरोसा उठ्दै गएको छ र निजी क्लिनिक तथा नर्सिङ्ग होमहरु मालामाल भइरहेका छन् । लगभग चालीस लाख भन्दा बढी जनसंख्या रहेका क्षेत्र धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा, उदयपुर, रौतहटका केही क्षेत्र लगायत मित्र राष्टू भारतका बिहार राज्यसंग सिमा जोडिएका केही गाउँका समेत गरि बार्षिक डेढ दुई लाख रोगीहरु आर्थिक अभाव एवं समिप्ताका कारण चाँडो उपचार पाउने आशामा जनकपुर अञ्चल अस्पतालमा आउने गर्छन । तर यहाँ उपचार गर्न आएका रोगीहरु दक्ष डाक्टरहरु एवं रोगीले पाउनु पर्ने विभिन्न सेवाको अभावमा रोगीहरु छटपटाउन बाध्य छन् । 

मेडिकल सुप्रिटेन्डेन्ट डा.संजय ठाकुर ।
एक सय नेपाल सरकार र एक सय विकास समितिको तर्फबाट गरी कुल बेड संख्या २०० रहेको यस अस्पतालमा नेपाल सरकारको बिभिन्न सेवाका लागि डाक्टरहरुको दरबन्दी रहे पनि विशेषज्ञ चिकित्सकहरुको दरबन्दी रिक्त नै रहेको छ । नेपाल सरकारको दरबन्दी अनुसार अस्पतालमा हुनुपर्ने विभिन्न सेवाका डाक्टरहरु मध्ये एघारौं तहका स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, म.सु रिक्त छन् । त्यसैगरी नबौं दशौ तहका सर्जन, साइक्याटिूस्ट, डेन्टल सर्जन, कन्सलटेन्ट पिडियाटिूसियन, इएनटी, प्याथोलोजिष्ट, ऐनेस्थेसियोलोजिस्ट, मेटूोन र डर्माटोलोजिस्ट गरी प्रमुख विशेषज्ञ सेवाहरुका दरबन्दी बर्षौं देखि रिक्त रहेका छन् । 

एघारौं तहका फिजिसियन, सर्जन, गाइनोक्लोजिस्ट, पिडियाटिूसियन, नबौं÷दशौं तहका सर्जन, अर्थाे सर्जन, एनेस्थिसियोलोजिस्ट, रेडियोलोजिस्ट, डर्मालोजिस्ट, गाइनोक्लोजिस्ट, इएनटी सर्जन, डेन्टल सर्जन र आठौं तहका वरिष्ठ मेडिकल अधिकृत, डेन्टल सर्जन क्रमशः १÷१ जना पद वर्षौं देखि रिक्त रहेको छ । यसमा पनि अधिकांश डाक्टरहरु अक्सर बिदामा बस्छन र आ(आफ्ना क्लिनिक र नर्सिङ्ग होम चलाउँछन । बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म अस्पतालमा सेवा गर्नुको सट्टा बिहानी पख अस्पताल अगाडी रहेका आ(आफ्ना क्लीनिकमा रोगीहरुको सेवा गरि ११ बजे सम्म चिकित्सकहरु अस्पताल पुग्ने गर्छन र १२ बजे सम्म अस्पतालका रोगीहरु संग सम्पर्क गरि खाना खाने निहुमा पूनः आफ्नै क्लीनिकमा छिर्ने गर्छन् । त्यस पश्चात अस्पतालमा रोगिहरुलाई फकाएर क्लीनिकमा लैजाने दलालहरु सकृय हुने गर्छन् । त्यस्तै अस्पतालमा कार्यरत पैथलोजीस्टहरुको अस्पताल बाहिर रहेका ल्याबहरुले बिरामीलाई धामाधम सेवा दिने गर्छन् । यसरि दैनिक दिनचर्याबाट अस्पताल अगाडी बढिरहेको छ ।  अनप्mलोर ड्यूटी गर्ने तीन जना मेडिकल अफिसरहरुको दरबन्दी समेत रिक्त रहेको छ ।

त्यसैगरी विकास समिति तर्फ पनि केही दरबन्दीहरु रिक्त रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यो दरबन्दी पुर्ती नगर्दा समस्या त भएकै हो तर, दरबन्दीमा रहेका चिकित्सकहरुले पनि सेवा नै नदिँदा विरामीहरुले सेवा पाउनबाट वञ्चित हुनुपरेको छ । नर्सहरुको भरमा चलेको अस्पतालको अवस्था अत्यन्तै दयनिय बन्दै गएपनि मेडिकल सुप्रिटेन्डेन्ट डा.संजय ठाकुर केहि पनि गर्न सकेका छैनन् । उनलाई कसैले समस्या सुनायो भने बरु आफु राजीनामा दिन तयार रहेको भन्दै जिम्मेवारी र जवाफदेहिताबाट पन्छिन खोज्छन् ।

नेपाल सरकारको तर्फबाट १९ जना र विकास समितिको तर्फबाट २८ जना कार्यालय सहयोगीको दरबन्दी छ । र, विकास समितिको तर्फबाट २२ जना स्वीपर पदमा कार्यरत रहेका छन् । तर, कुल ६९ जना कार्यालय सहयोगी र स्वीपर रहेको उक्त अस्पतालमा सर(सफाईको कुनै व्यवस्थापन भएको पाइँदैन । जताततै फोहोरहरु थुपारिएका हुन्छन् । कुनै पनि वार्डहरुमा सर सफाई भएको प्यासेन्ट र कुरुवालाई अनुभुति हुँदैन । शौचालयहरुमा त झन् प्रवेश नै गर्न सकिन्न् ।

अस्पताल स्रोतका अनुसार कतिपय कार्यालय सहायकहरुले तलब अस्पतालबाट खाएपनि काम भने चिकित्सकहरुको घर र भान्सामा गर्ने गरेका छन् । वार्डहरुमा विरामीलाई स्टूेचरमा सार्नुपर्दा वा अन्य सहयोग पु¥याउने काम हुन्छ कार्यालय सहयोगीको । तर, तिनीहरु प्रायः जसो वार्डमा देखिदैनन् । यतिमात्र होइन वार्डमा खट्ने अन्य कर्मचारी नर्स, स्वीपर समेत प्रायः ढिलो आउने, विरामीलाई सेवा पुरयाउने भन्दा पनि हप्काउने जस्ता कामहरु गरेका देखिन्छन् । विकास समितिको तर्फबाट सर सफाइका लागि २२ जना स्वीपरको दरबन्दीमा २२ जनै कार्यरत रहेपनि अस्पतालमा सर सफाइ कहिल्यै देख्न सकिन्न । 

डा.रामशंकर ठाकुर मेडिकल सुप्रिटेन्डेन्ट भएको बेला उनी २४ घन्टै अस्पतालमा उपलब्ध हुन्थे । सर सफाई पनि राम्रै व्यवस्थापन गरिएको थियो । साताको हरेक शुक्रबार डा.ठाकुर आफै झाडु लिएर सर सफाइ गर्थे । र, अरुलाई पनि गर्न लगाउँथे । ड्यूटी आवरमा चिकित्सकलाई अस्पतालमै बस्न बाध्य पार्थे । चिकित्सक लगायत अन्य कर्मचारीहरुलाई पनि पोसाक र नेम प्लेटका साथ उपस्थित गराउथे । तर, उनी जाने वित्तिकै ती सबै व्यवस्था पनि उनी सँगै गए । 

विकास समिति पनि निकम्मा
कार्यालय समय भित्र उपस्थित नहुने, नियम विपरित कार्य गर्ने मेडिकल सुप्रिटेन्डेन्ट देखि सम्पुर्ण चिकित्सक र कर्मचारीलाई नसिहत दिने, वढीमा तीन तलब वृद्धि वा वढुवा रोक्का गर्ने, भविष्यमा सेवाका निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने र भविष्यमा सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट वर्खास्तको सजाय समेत प्रस्ताव गर्न सक्ने  अख्तियारी जनकपुर अञ्चल अस्पताल नियमावली २०६३ ले विकास समितिलाई प्रदान गरेको छ । अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीले अस्पतालको तर्फबाट कुनै काम कारोबार संचालन गर्दा अस्पताललाई अहित गरी गर्न नहुने, कर्मचारीले जानाजान, लापरवाही वा त्रुटिपुर्ण ढंगले काम कारोवार गरी अस्पताललाई कुनै प्रकारबाट हानी नोक्सानी पु¥याउन नहुने उक्त नियमावलीमा उल्लेख छ । त्यसैगरी अस्पतालमा दिइएको समय भित्र कुनैपनि कर्मचारीले कुनै प्रकारको स्वास्थ्य संस्था वा क्लिनिक संचालन गर्न वा त्यस्तो स्वास्थ्य संस्था वा क्लिनिकमा काम गर्न वा अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न नमिल्ने गरे कारवाही हुने उक्त नियमावलीमा उल्लेख छ । 

तर, अहिलेको विकास समिति पुरापुरी निकम्मा बनेका छन् । मेसुको पछि पछि लाग्ने विकास समितिका अध्यक्ष डा.नागेन्द्र प्रसाद यादव अख्तियारी भएर पनि अख्तियारी विहिन बनेका छन् । किनभने उनी अञ्चल अस्पतालको कर्मचारी पनि हो । मेडिकल अफिसर पदमा कार्यरत रहेका उनी एकातर्फ विकास समितिका अध्यक्ष पदमा छन् भने अर्को तर्फ उनी मेसुको मातहतमा काम गर्ने कर्मचारी पनि भएकाले मेसुलाई अराउनसक्ने हैसियत हुँदैन । विगतमा राजनीतिक व्यक्तिहरु उक्त पदमा मनोनित हुने गर्थे । तर, खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष भएका बेला अस्पतालकै चिकित्सकलाई विकास समितिको अध्यक्षमा राखिने प्रावधानले यस्तो अवस्था आएको हो । अस्पतालमा कार्यरत चिकित्सकहरु मेसु र विकास समितिका अध्यक्षको कामबाट संतुष्ट छैनन् । चिकित्सकहरुका अनुसार मेसु र विकास समितिका अध्यक्ष दुवै जना मध्ये कोहीले पनि ओपिडी ड्यूटी गरेका छैनन् ।

भ्रष्ट व्यक्तिलाई मेसुको कृपा
जनकपुर अञ्चल अस्पतालमा अहिले कर्मचारीहरुले मेसुको नियतमाथि शंका गर्न थालेका छन् । बाहिरबाट आफु इमान्दार रहेको देखाउन खोजेका मेसुले भ्रष्ट मान्छेलाई पेश्की रकम सहितको अख्तियारी दिनुले पनि कर्मचारीहरु मेसुको हर्कतबाट शशंकित बनेका छन् । अस्पतालमा खरिदार पदमा कार्यरत विजय कुमार साहलाई उनले थुप्रै कार्यक्रमहरुको पेश्की दिने गरेका छन् । आमा सुरक्षा कार्यक्रम, कन्सलटेन्सी, मेडिसिन लगायत थुप्रै कार्यक्रमहरुको शिर्षकमा खर्च गर्न उनलाई मेसु ठाकुरले पेश्की दिने गरेका छन् । विजय साह ती कर्मचारी हुन जो गौराङ मिश्र मेडिकल सुप्रिटेन्डेन्ट भएका बेला भ्रष्ट ठहर भएका थिए । विजय साह त्यतिबेला काउण्टरमा काम गर्दा करिब १ करोड ३२ लाख रुपैयाँको भ्रष्टाचार भएको आरोप लागेपछि ८२ लाख रुपैयाँ जति अनियमितता गरेको आन्तरिक छानविनबाट ठहर भएको थियो । पछि साहबाट अस्पतालले उक्त रकम असुल उपर गरेको थियो । विजय साह पुर्व मेडिकल सुप्रिटेन्डेन्ट डा.हुक्मदेव साहका भान्जा हुन । त्यसैगरी मेसुले सर्जरी फाँटमा मेडिकल अफिसर डा.रविन्द्र सिंहलाई सर्जरी फाँटका इन्चार्ज बनाएका छन् । सर्जरीको बारेमा केही ज्ञान नै नभएका डा. सिंहलाई सर्जरी इन्चार्ज बनाएर सर्जन डा.कविर तिवारीलाई गलाएका छन् । डा. तिवारी पदमा सिंह भन्दा माथिल्लो तहमा छन् । तर, उनलाई आफ्नो जुनियरको मातहतमा काम गर्नुपरेको छ । यति मात्र होइन अस्पतालमा कार्यालय सहयोगीले एक्स रे जाँच गर्ने गर्छन । कार्यालय सहयोगी राजकिशोर पण्डित र इश्वर देव मण्डलले एक्स रे जाँच गरिरहेका छन् । यो भन्दा ठुलो विडम्बना अस्पतालको लागि के हुन सक्छ ?
मेसुको सकारात्मक प्रयास
जनकपुर अञ्चल अस्पताललाई सुधार गर्न मेसु डाक्टर ठाकुरले केही प्रयासै नगरेको पनि होइन । १४ असोज २०७१ मा मेसुको रुपमा आएका ठाकुरले कर्मचारीहरुको तलब नियमित गराउन सफल भएको दावी गर्छन् । उनी भन्छन,“ आफु आउँदा कर्मचारीहरुको तलब ३ महिना व्याक चलिरहेको थियो । तर, आफुले विकास समिति तर्फ आम्दानी वढाएर कर्मचारीहरुको तलब नियमित गर्न सफल भएको छु ।” तर, अस्पतालका कर्मचारीहरु उक्त कुरा पत्याउन तयार छैनन् । कर्मचारीहरुका अनुसार पहिले तलब व्याक थियो तर इन्सेन्टिभ व्याक थिएन । अहिले कर्मचारीहरुले बर्षभरीको इन्सेन्टिभ पाउन सकेका छैनन् । कर्मचारीहरुका अनुसार मेसुले आएर कुनै जादु गरेको छैन र तलब नियमित भएको हो । तलब खुवाउन मेसुले नर्सिङ कलेजबाट पैसा सापटी लिएका छन् । मेसु ठाकुरले अर्को राम्रो काम के गरेका छन् भने आय व्ययलाई सार्वजनिक गर्ने गरेका छन् । बलराम मिश्र मेसु हुँदा आय व्यय सार्वजनिक हुँदैन्थ्यो । तर, उनी आएपछि प्रत्येक महिनाको आय व्यय सूचना बोर्डमा टाँसेर सार्वजनिक गर्ने गरेका छन् । मेसु ठाकुर भन्छन,“ आफु आएपछि अस्पतालमा आर्थिक अनियमितता हुन दिएको छैन । आर्थिक पारदर्शिता गरेको छु ।” 

त्यसैगरी उनले हरेक विभागमा इन्चार्जहरुलाई जिम्मेवार बनाउन प्रयास गरेका छन् । गरिब विरामीहरुलाई नियमानुसार फर्म भराई रु.२ हजार सम्मको जाँच परताल निशुल्क गर्ने तथा निशुल्क औषधि रेकर्ड राखि वितरणको व्यवस्था मिलाउने, रु.२ हजार सम्म वार्ड इन्चार्ज समन्वय गरी सानो तिनो मर्मत सम्बन्धमा खर्च गर्न सक्ने, विदा स्वीकृति सम्बन्धमा प्रशासन फाँटबाट विदाको सिफारिस लिई वढीमा ७ दिनसम्मको विदा दिन सक्ने गरी विभागका इन्चार्जहरुलाई अख्तियारी दिइएको छ । तर, उक्त अख्तियारको पनि दुरुपयोग भईरहेको बताइन्छ । अस्पतालका कर्मचारीहरुका अनुसार दिइनुपर्ने योग्य व्यक्तिलाई विभाग इन्चार्जको जिम्मेवारी नदिई आफु आसेपासे रहेका यसमेनहरुलाई उक्त जिम्मेवारी दिइएको हो । जनकपुर नर्सिङ क्याम्पसका अनुभवी प्रिन्सिपल जयकिशोर लाललाई हटाएर अनुभवहिन सुनिता गुप्तालाई उक्त जिम्मेवारी दिनु पनि एक उदाहरण रहेको कर्मचारीहरु बताउँछन् ।

मोर्निङ कन्फ्रेन्स तथा सिएमई लगायतका चिकित्सकहरुको लागि शैक्षिक क्रियाकलाप संचालन गरेका छन् । त्यस कार्यका लागि सिनियर चिकित्सकहरुले साथ नदिएको मेसुको गुनासो छ । सम्पुर्ण विरामीहरुको दैनिक प्रोगे्रस रिपोर्ट अध्यावधिक रुपमा चुस्त दुरुस्त गर्न निर्देशन दिएपनि चिकित्सक तथा नर्सहरुले कार्यान्वयन गरेका छैनन् ।

उनको सबैभन्दा नराम्रो पक्ष के हो भने उनी सबैलाई समन्वय गरेर जानै चाँहदैनन् । त्यसकारण कर्मचारीहरु उनीबाट असंतुष्ट छन् । उनी आईसकेपछि केही सप्ताह अघि मात्र सिटी स्कयान मेसिन संचालनमा आउनु ठुलो कुरा हो । तर, उक्त मेसिन अहिले फेरी बन्द हुनु दुर्भाग्य हो ।




२०७२ अषाढ २७ गते आईतबार

प्रसुति सेवामा सबै भन्दा वढी लापरवाही

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर अञ्चल अस्पतालको प्रसुति सेवा राम्रो छ भन्ने कुरा देश व्यापी रुपमा प्रचार प्रसार गरियो । तर, बास्तविकता भने प्रचार भन्दा विलकुल फरक पाइन्छ । सबैभन्दा ठुलो विडम्बना के हो भने प्रसुति फाँटमा नर्स नै डाक्टर  हुन्छन् । डाक्टरले गर्नुपर्ने सबै कामहरु त्यहाँ नर्सद्वारा गराइन्छ । तालिम प्राप्त नर्स भन्दा पनि विभिन्न कलेजका इन्टर्न गर्ने विद्यार्थीहरु नै प्रसुतिको डेलिभरी गराउँछन् । परिणाम स्वरुप सुत्केरी महिला र जन्मिने नवजात शिशु दुवैको ज्यान खतरामा रहन्छ । 

२०७२ सालको साउन देखि बैशाख सम्म कुल १० महिनामा ८ हजार ५ सय ९५ जना सुत्केरीले त्यहाँ सेवा लिँदा कुल १ सय ३४ जना नवजात शिशुको मृत्यु भएको अस्पतालको तथ्याङ्क छ । जसमध्ये ६ हजार ६ सय ३४ जनाको सामान्य, ५ सय २८ जनाको कम्पलीकेटेड र १ हजार ४सय ५३ जना सुत्केरी महिलाको डेलेभरी गराइएको छ । 

प्रति प्रसुतिलाई यातायात खर्च वापत नेपाल सरकारले रु.५सय उपलब्ध गराउने गर्छ । र, सामान्य प्रसुति सेवा वापत रु. १ हजार ५ सय, कम्पलीकेटेड बापत रु. ३ हजार र शल्यक्रिया वापत रु.७ हजार नेपाल सरकारले औषधि उपचार वापत अनुदान दिने गर्दछ । नेपालमा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउन नेपाल सरकारले यस्तो अनुदान दिने गरेको भएपनि जनकपुर अञ्चल अस्पतालमा मातृ र शिशु मृत्युदर घटनुको साटो वढ्दै गएको पाइन्छ । त्यसको प्रमुख कारण त्यहाँ चिकित्सकहरुले ड्यूटी नगर्नु नै हो । अप्रेशन गर्नु परे मात्र त्यहाँ चिकित्सकहरु आउने गरेको सुत्केरी महिलाहरुको गुनासो रहँदै आएको छ । 

यदि चिकित्सक आईहाले पनि सुत्केरी महिलालाई त्यहाँ उपचार गर्नुको साटो  सोही चिकित्सक काम गर्ने बाहिरको नर्सिङ होममा पठाउने गर्छन् । त्यसो गर्नुको कारण के हो भने अञ्चल अस्पतालमा सामान्य, कम्पलीकेटेड वा शल्यक्रिया गरेर पनि प्रति प्रसुति रु. ३ सय मात्र इन्सेन्टीभ दिइने गरिन्छ । सोही रकममा चिकित्सक सँगै नर्स, कार्यालय सहयोगी, स्वीपर र लेखा प्रशासन सबैमा वितरण गर्नुपर्ने हुन्छ । तर, आफ्नै नीजि नर्सिङ होममा लगेर प्रसुति गराउँदा प्रति प्रसुति १० हजार देखि २५ हजार रुपैयाँ सम्म कमाउने गरेका हुन्छन् ।

 अञ्चल अस्पतालमा वढी शल्यक्रिया नभएपनि बाहिर लग्ने सामान्य प्रसुतिलाई पनि शल्यक्रिया गराउन बाध्य पारिन्छ । अञ्चल अस्पतालमा पुग्ने वित्तिकै नर्सहरुले प्यासेन्टलाई काउन्सिलिङ गर्नुको साटो डराउने काम गर्न थाल्छन् । प्रसुतिको अवस्था गम्भीर छ, बच्चा र आमा दुवैको अवस्था सिरियस छ भनेर सुरुमा नर्सहरुले प्यासेन्टलाई डराउँछन् । त्यसपछि अप्रेशन गर्नुपर्छ नत्र दुवै मर्न सक्छन् भन्ने वित्तिकै प्यासेन्ट पार्टी त्यसो भए अप्रेशन गराईदिनुस भनेर भन्दा यहाँ डाक्टर छैन भनेर जवाफ दिन्छन् । डाक्टरलाई अनकलमा बोलाउँदा डाक्टरको मोवाईल स्वीच अफ छ भनेर नर्सले भन्छन् । त्यसो भए अब के गर्ने, कहाँ जाने भनेर प्यासेन्टले सोध्दा बाहिर नर्सिङ होममा पठाउँछन् । त्यो कार्य वापत नर्सले मोटो रकम कमिशन पाउँछन् । एम्बुलेन्सले पनि कमाई गर्छन् । र नर्सिङ होम मालामाल हुन्छन् । 

यसरी अस्पतालमा आउने प्रसुतिलाई बाहिर पठाउने कार्य नर्स, एम्बुलेन्स चालक, कार्यालय सहयोगी र स्वीपरले मात्र गर्दैनन्, चिकित्सक पनि सक्रिय हुन्छन् । कम्पलीकेटेड र शल्यक्रियाको केशमा यदि चिकित्सक अस्पतालमा आईहाल्दा उपचारमा संलग्न चिकित्सकले नै प्यासेन्टलाई डराउने काम गर्छन् । 

यहाँ अस्पतालमा बेहोस पार्ने एनेस्थेसिया छैन, अप्रेशन गर्दा जोखिम वढी हुन्छ भनेर चिकित्सकले भन्ने वित्तिकै प्यासेन्टलाई बाहिर जान बाध्य पार्छन् । अस्पतालमा अप्रेशन नगर्ने चिकित्सकले बाहिर आफ्नै वा कार्यरत बाहिरको नर्सिङ होममा अप्रेशन गर्छन् । 

यति मात्र होईन, ठुलो गोरखधन्दा कहाँ हुन्छ भने त्यही प्यासेन्टलाई फेरी अञ्चल अस्पतालमा फर्काएर सोही डाक्टरले निशुल्क उपचार गरेको कागजात बनाउँछन् । यसो गर्दा डाक्टरलाई दोहोरो फाइदा हुन्छ । एक त बाहिर पैसा कमाएकै हुन्छन् अर्कोतर्फ अञ्चल अस्पतालमा रेकर्ड देखाएमा इन्सेन्टीभ पनि प्राप्त हुन्छ । अञ्चल अस्पतालको २०७१ साउन देखि २०७२ बैशाख सम्ममा रु.२५ लाख ७८ हजार ५सय इन्सेन्टीभ दिन बाँकी रहेको अस्पतालको लेखा प्रशासनले जानकारी दिएको छ । जसमध्ये सबै भन्दा वढी इन्सेन्टीभ पाउने चिकित्सकमा डा.कल्पना बछाडको नाउँ अग्रपंक्तिमा रहेको छ । डा.धिरेन्द्र साह, डा.विजय कुमार सिंह, डा.रामजी यादव, डा.सुस्मिता झा, डा. भगवान सहनी, डा. मितु झा, डा. रहिना बानो, डा.किरण यादव र डा. रुवी सिंह आदि चिकित्सकहरुको इन्सेन्टीभ बाँकी रहेको छ ।


२०७२ अषाढ २७ गते आईतबार

अस्पताल सुधारका लागि १५ बुँदे सहमति

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर अञ्चल अस्पतालमा चिकित्सकहरुको लापरवाही वढ्दै जानु तथा त्यहाँ सेवाग्राहीहरुको मृत्यु हुनु सामान्य बन्दै गएपछि द एक्सक्लुसिभका सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजय अनुरागी अनशनमा बसेका थिए । धनुषाको ठाढी झिझा(१ का सतिश मिश्रको नवजात शिशुको चिकित्सकको लापरवाहीका कारण १९ अषाढमा मृत्यु भएपछि २० अषाढमा अनुरागी उक्त नवजात शिशुको लास लिएर अस्पताल सुधारको माग राखि अनशनमा बसेका थिए । 

त्यसपछि मेडिकल सुप्रिटेन्डेन्ट डा.संजय ठाकुर, विकास समितिका अध्यक्ष डा.नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकार काली प्रसाद पराजुली, प्रहरी उपरीक्षक गणेश बहादुर थापा, पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र र विभिन्न संचारकर्मी, यूवा तथा मानव अधिकारकर्मी बीच अस्पताल सुधारका लागि अस्पताल प्रशासनले १५ बुँदे सहमति गरेको थियो ।

अस्पतालको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको अस्पतालको हातावरिपरी २ सय मिटर दुरीमा अस्पताल भित्र कार्यरत रहेको चिकित्सक, प्याथोलोजि, एक्स रे, अल्टूासाउण्ड आदि संचालन गर्न नपाउने र त्यसका लागि आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालय सँगै अन्य निकायमा पत्राचार गर्ने सहमति भएको थियो । स्वास्थ्य निर्देशिकामा यसरी सरकारी अस्पतालका कर्मचारीले २ सय मिटर वरिपरी निजी व्यवसाय संचालन गर्न नपाउने व्यवस्था रहेको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले पनि त्यसका लागि आफु पहल गर्न तयार रहेको बार्तामा बताएका थिए । 

त्यसैगरी अञ्चल अस्पतालमा विशेषज्ञ पद रिक्त भई सेवा प्रदान गर्न गाह्रो हुने हुँदा उक्त पद पुर्तीका साथै प्राविधिक लगायत सम्पुर्ण सेवा सुविधाका लागि रिक्त पद पुर्ति गर्न तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिएको थियो । अस्पतालबाट प्रदान भईरहेको सेवाहरु सम्बन्धमा सर्वसाधारणले देख्ने गरी सेवा, सुविधा, शुल्क, निशुल्क वितरण गरिने औषधिका नामहरु, औषधिका कम्पनीहरु, वितरकका नाम, दुई पटक चिकित्सकको राउण्डको समय र नाम विवरण सहितको नागरिक वडा पत्र ७ दिन भित्र व्यवस्थापन गर्ने निर्णय गरिएको थियो ।

प्रसुति सेवा निशुल्क भएपनि अञ्चल अस्पतालले प्रसुतिहरुबाट खरिद गराउँदै आएको ग्लब्स लगायत सम्पुर्ण सामग्रीहरु अस्पतालबाटै उपलब्ध गराउने, अस्पताल अन्तरगत रहेको विभागमा कार्यरत सम्पुर्ण चिकित्सकहरुको ड्यूटी रोस्टर सर्वसाधारणलाई हेर्ने गरी राख्नुपर्ने, आइसियू, एनआईसियू सेवा तत्कालै चाँडै संचालन गर्नुपर्ने, अस्पतालमा दैनिक ३ पटक फिनेल छर्कने तथा सर सफाई व्यवस्थापन गर्नुपर्ने, अस्पतालमा कार्यरत चिकित्सक, पारामेडिक्स, नर्सिङ लगायत सम्पुर्ण कर्मचारीहरु आफ्नो ड्यूटीभर बस्नुपर्ने, एमरजेन्सी डूप सहुलियत दर रेटमा अस्पतालमा २४ घण्टा उपलब्ध हुनुपर्ने लगायतका निर्णयहरु गरिएको छ ।

त्यसैगरी अस्पतालमा पानी, विजुली, पंखा लगायत प्रत्येक वेडमा बेडसिट, लकर, स्लाइनस्टेन्ड, कुरुवाको लागि टुल लगायतका आधारभुत सुविधाहरु उपलब्धताको लागि अबिलम्ब व्यवस्था गर्नुपर्ने, कुरुवाको लागि बाहिर खानेपानी, शौचालय, कुरुवा घर, क्यान्टिनको व्यवस्था अबिलम्ब गर्ने, एम्बुलेन्सको भाडा दर नागरिक वडा पत्रमा सर्वसाधारणले हेर्ने गरी राख्नुपर्ने निर्णय गरियो । 

सहमतिमा गरिएका उक्त निर्णयहरु अस्पताल विकास समिति र मेसुद्वारा अबिलम्ब कार्यान्वयन गर्नुपर्ने, सो अनुसार कार्यान्वयन भए नभएको सम्बन्धमा नेपाल पत्रकार महासंघको अगुवाईमा नेपाल चिकित्सक संघ सहितको टोलीले अनुगमन गर्ने र उक्त अनुगमनको रेकर्ड राख्नुपर्ने निर्णय गरियो ।

२०७२ अषाढ २७ गते आईतबार

धनुषामा बलात्कार मुद्दामा ४१ दिनमै फैसला बलात्कारीलाई १० बर्ष कैदको सजाय

बलात्कारी दिपेन्द्र तिवारीलाई १० बर्षको सजाय ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रायः जसो अदालतमा मुद्दाको फैसला हुन बर्षौं बर्ष लागि रहेको हुन्छ । तर, धनुषा जिल्ला अदालतले जवरजस्ती करनी मुद्दामा ४१ दिनमै फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतको न्यायाधीश कृष्ण बहादुर थापाको इजलासले १४ अषाढ २०७२ मा एक जना नाबालिकालाई बलात्कार गरेको कसुरमा जनकपुर उपमहानगरपालिका –९ का २० बर्षिय दिपेन्द्र तिवारीलाई १० बर्ष कैद र पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको हो । बलात्कारीलाई कैद हुनु सामान्य कुरा हो । अदालतको नियमित प्रक्रिया अन्तरगत भई नै रहन्छ । तर, ४१ दिनमै फैसला हुनुले अदालत प्रतिको पीडित पक्षको आस्था बढेको छ ।

८ बैशाख २०७२ मा अन्दाजी बेलुका ६ बजे ३ कक्षामा अध्ययनरत एक जना १२ बर्षिय छात्रालाई तिवारीले टयूसन पढ्ने बेलामा ढोका लगाई जवरजस्ती करनी गरेको थियो । प्रहरीले तिवारीलाई सोही पक्राउ गरेको थियो । ३ जेष्ठ २०७२ मा धनुषा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको थियो । अभियोग पत्र दर्ता भएको भोली पल्ट ४ जेष्ठमा अदालतले तिवारीलाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त घटनामा एक जना मात्र प्रतिवादी भएकाले प्रतिवादी चुक्ता भई फैसला गर्न सजिलो भएको कानुन व्यवसायीहरुको भनाई छ । जाहेरवाली, पीडित बस्तुस्थिति मुचुल्का, घटना विवरण, कागज गर्ने मानिसहरुले १७ जेष्ठ २०७२ मा जिल्ला सरकारी वकिल कार्यालयलाई वकपत्रका लागि उपस्थित गराउन अदालतले आदेश गर्यो । लगतै ८ अषाढ २०७२ मा पीडित जाहेरवाला समेतको वकपत्र गराएपछि १४ अषाढमा उक्त मुद्दाको ४१ दिनमै फैसला गर्न न्यायाधीशलाई सहज भएको कानुन व्यवसायी बताउँछन् ।

जनकपुर अञ्चल अस्पतालबाट पठाइएको मेडिकल रिपोर्ट अनुसार पीडित बालिकाको जनेन्द्रिय अंगका बाहिर रातोपन, सुनिएको, राँकिएको, निलडाम देखिएको, कन्याजालीमा रगतै रगत भएकोले भेजिनल स्वाव बढाउन नसकेको हुँदा हिडडुल गर्न, दिसापिसाव गर्न कठिनाई भएको, यौनाङमा रगत देखिएको, कपडा पनि रगतै रगतले भिजिएको उल्लेख थियो । प्रहरी समक्ष तिवारीले घटना गरेको स्वीकारे पनि अदालतमा इन्कारी बयान गरेको भएतापनि पीडितको बयान र मेडिकल रिपोर्टको आधारमा उनलाई कसुरवार ठहर गरिएको श्रेस्तेदार हरिकृष्ण श्रेष्ठ बताउँछन् ।

बलात्कारका कतिपय मुद्दाहरुमा बर्षौं वितिसक्दा पनि फैसला नहुनु र उक्त मुद्दामा यति चाँडो फैसला हुनुको कारण के हो भन्ने सवालमा श्रेस्तेदार श्रेष्ठ भन्छन,“ संवेदनशिल मुद्दालाई ध्यानमा राखेर फास्टट्रयाकमा फैसला गर्न निर्देशन नै छ । तर, यस मुद्दामा एक जना मात्र प्रतिवादी हुनु र सो व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा समेत ल्याउनु र अन्य प्रक्रियाहरु पनि चाँडै सम्पन्न हुनु मुख्य कारण हो । अरु कतिपय बलात्कारकै मुद्दाहरुमा धेरै मानिसहरुलाई प्रतिवादी बनाइएको हुन्छ र सबै प्रतिवादी चुक्ता हुन नसकेकाले ढिलाई भईरहेको हुन्छ ।”


२०७२ अषाढ २७ गते आईतबार

जनकपुरमा विद्युत आपुर्तिको समस्या र सुधारका प्रयास

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्लामा अनियमित लोडसेडिङ र लो भोल्टेजको समस्याका कारण सेवाग्राहीहरु दिनप्रतिदिन मर्कामा परिरहेका छन् । उक्त समस्यालाई लिएर जनकपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरुले आमरण अनशननै गरेका थिए । पछि नेपाल विद्युत प्राधिकरण र अनशनकारी बीच सहमति भएर अनशन तोडिएको थियो । तर, सहमति भईसक्दा पनि समस्या समाधान हुन सकेको छैन । यद्यपि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरले भने केही सुधारका कार्यहरु थालिएको दावी गरेका छन् ।
के हो समस्या ?
जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्र अन्तरगत धनुषा जिल्लाको ७० वटा गाविस एउटा नगरपालिका र एउटा जनकपुर उपमहानगरपालिका पर्दछ । यस अघिसम्म जनकपुरको विजुली भारतीय सिस्टमसँग जोडिएको थियो । जसले गर्दा सिस्टम फेल भएर धनुषामा विद्युत आपुुर्तिमा समस्या हुने गथर््यो । सट डाउन र टिूपिङ दुईवटा मुख्य समस्या रहँदै आएको छ । भारतीय सिस्टम भएका कारण सिस्टम फेल भएर धनुषामा विद्युत आपुर्ति हुँदैनथ्यो । आपुर्ति भएर पनि विजुलीको मर्मत कार्य गर्दा प्राधिकरणले जानी जानी पनि सट डाउन लिएर काम गर्दा विद्युत आपुर्ति काटिने गरिएको छ । त्यसैगरी हावाहुरी चल्दा, काग चरा वा पंछि पोलको तारमा वस्दा फल्ट आएर टिूपिङ हुने हुँदा पनि विद्युत आपुर्ति रोकिने गरिन्छ । खास गरी भारतीय विद्युतको लाइन १ हजार किलोमिटर दुरी सम्म हुने हुनाले अधिकांश समय सिस्टम फेल भएर विद्युत आपुर्तिमा समस्या हुने गरेको छ । यसरी यी समस्याहरुका कारण लोडसेडिङका अतिरिक्त धनुषामा विद्युत आपुर्तिमा कटौति हुने गरेको वितरण केन्द्र जनकपुरका प्रमुख जितेन्द्र झाको भनाई छ ।
उपाय
विद्युत आपुर्तिमा देखिएको उक्त समस्याहरु समाधान गर्नको लागि टूान्सफर्मरको क्षमता अभिवृद्धि गर्न आवश्यक छ । एकातर्फ दिनप्रति दिन ग्राहकहरुको संख्या वढेर लोड बढ्दै गएको छ भने विगत ३ बर्ष देखि टूान्सफर्मर थपिएको छैन । जवकी १ बर्षमा ३० देखि ३५ वटा टूान्सफर्मरहरु थपिने गथर््यो । टूान्सफर्मर जल्ने समस्या पनि वढ्दै गएको थियो । जसले गर्दा लाइन टिूप हुने र उक्त टूान्सफर्मरको फिडर लाइन रहेको सहर अन्धयारो हुन्थ्यो । टूान्सफर्मर खरिदमा व्यापक भ्रष्टाचार भएको पाइएपछि देशैभरी टूान्सफर्मर खरिदको कार्य रोकिएको थियो । तर, नेपालमा गत बैशाख महिनामा आएको विनाशकारी भुकम्पले गर्दा विदेशबाट राहत कोटामा १ हजार थान टूान्सफर्मर नेपालमा आएको छ । उक्त कोटा मध्ये १५ वटा टूान्सफर्मर जनकपुरमा पनि भित्रिएको छ । हुन त जनकपुरमा २२ वटा टूान्सफर्मरको आवश्यकता रहेकोमा १२ वटा भित्रिसकिएको र साउन महिनामा थप ३ वटा भित्रिने वितरण केन्द्र प्रमुख झा बताउँछन् । भित्रिएका १२ टूान्सफर्मर मध्ये एउटा टूान्सफर्मर जनकपुर उपमहानगरपालिकाको कार्यालय अगाडी, एउटा मिल्स एरिया स्थित शक्ति निकेतनको अगाडी, एउटा पेठिया रोडमा, एउटा महाविर चौकमा जडान गरिसकिएको छ । अब ती ठाउँहरुमा फ्यूज नउड्ने प्राधिकरणको दावी छ । त्यसैगरी जनकपुरको कटैया चौरीमा २ सय केभीको टूान्सफर्मरलाई अपग्रेड गरेर २ सय ५० केभी पु¥याइएको छ । कटैया चौरीमा लो भोल्टेजको समस्या नरहने वितरण केन्द्रका प्रमुख झाको दावी छ । कटैया चौरीमा ५० घण्टामा ३ पटक तार नै चुँडियो । अब तार पनि ठिक गरिएको छ । जनकपुरको बलवा टोल स्थित पनि लोड ब्यालेन्सको समस्या थियो । अहिले त्यहाँ लोड व्यालेन्स गरिएको छ । र विगत २ महिना देखि टूान्सफर्मरको फ्यूज उडेको छैन ।
लो भोल्टेजको कारण
जनकपुरमा ३३ हजार भोल्टेजको विद्युत आपुर्ति हुने ठाउँमा २३ हजार भोल्टेजको मात्र विद्युत आयात भएका कारण लो भोल्टेजको समस्या भएको झा बताउँछन् । लो भोल्टेज समस्या हटाउन मुझ्फ्फरपुर आयोजना पुरा हुनु आवश्यक छ । ७३ एमभिए को ठाउँमा अहिले ३० एमभीएको मात्र हुनुले पनि समस्या भएको हो । त्यो आयोजना १ बर्ष भित्र जसरी पनि पुरा गर्नै पर्ने हुन्छ । नत्र भने १ सय मेगावाटको रकम नेपाल विद्युत प्राधिकरणले तिर्नुपर्ने हुन्छ । उक्त आयोजना पुरा भएपछि १३२ हजार भोल्टेज आपुर्ति हुने जसमध्ये १ सय मेगावाट विजुली जनकपुरलाई आपुर्ति हुनेछ । उक्त परियोजना सम्पन्न भएपछि जनकपुरमा भोल्टेजको स्थाई समाधान हुने प्राधिकरण प्रमुख झा बताउँछन् ।
विद्युतमा अनियमितता
विद्युतमा सबै भन्दा ठुलो अनियमितता हुनुको कारण प्राधिकरण र उपभोक्ता विचको मिटर खुल्ला छ । 
जनकपुरमा उपभोक्ताहरुले कति विद्युत आपुर्ति गरिरहेका छन् भन्ने कुराको सहि रेकर्ड प्राधिकरण सँग पनि छैन । उपभोक्ताले विद्युतको मिटर खरिद गर्दा उल्लेख गरेको विद्युत क्षमता भन्दा वढी नै विद्युत आपुर्ति गर्ने गरेको पाइएको छ । जस्तै, मिटर खरिद गर्दा ५ एमपियरको मिटर लिने तर १० एमपियर उपभोग गर्ने गरेकाले प्राधिकरणलाई समस्या भएको प्रमुख झा बताउँछन् । त्यस्तो काम गर्नका लागि उपभोक्ता मात्र जिम्मेवार छैन । प्राधिकरणका कर्मचारीहरु पनि जिम्मेवार छन् । केही रुपैयाँको प्रलोभनमा परेर प्राधिकरणका कर्मचारीहरुले क्षमता अभिवृद्धि गरिदिने गरेका छन् । तर, त्यसको अभिलेख प्राधिकरण सँग हुँदैन ।
त्यसैले उक्त समस्या समाधान गर्नका लागि प्राधिकरणले अहिले जनकपुर सहरमा मिटरको रिसिलिङ अभियान चलाएको छ । प्रारम्भिक चरणमा प्राधिकरणले जनकपुरको मिल्स एरिया, देवी चौक, भानु चौक आदि ठाउँमा कुल ७५ वटा मिटरहरुलाई रिसिल गरेको छ । विना स्वीकृति नै क्षमता वृद्धि गरेको ७५ वटा उपभोक्ताहरुलाई कारवाही स्वरुप जरिवाना वापत कुल २ लाख ५० हजार रुपैयाँ प्राधिकरणले विद्युत चुहावट वापत असुल गरेको छ । एमसिवी चेन्ज गरिदिने कर्मचारी पक्राउ नपर्नुको कारण सिल ओपन रहेको झा बताउँछन् । यसरी अनुसन्धान गर्दा सिल नै नक्कली समेत पाइएको भन्दै वितरण केन्द्र प्रमुख झा भन्छन,“ प्राधिकरणका कर्मचारीहरुको मिलेमतोमा मिटरको क्षमता वढाइनुका साथै के पनि पाइयो भने बाहिरका मानिसहरुले समेत मिटर सिल गरेका रहेछन् ।

जनकपुर नगर क्षेत्रमा मात्रै अनधिकृत व्यक्तिहरुले पनि विद्युत चोरी गरिरहेको पाइएको छ । ग्रामिण क्षेत्रमा उक्त समस्या त छदै छ तर सहर भित्र यसरी विद्युत चोरी भईरहँदा पनि प्राधिकरणले तिनीहरुलाई कारवाही गर्नका लागि हालसम्म कुनै कदम चालेको पाइँदैन । खास  गरेर गुठीको जग्गामा अनधिकृत तरिकाले घर बनाएका व्यक्तिहरुले विद्युत चोरी गरिरहेका छन् । ती मध्ये केहीले त प्राधिकरणलाई आफ्नो प्रभावमा लिएर मिटर समेत जडान गरिसकेका छन् । जब कि २०६६ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाले गुठीको जग्गामा अनधिकृत तरिकाले घर बनाएकाहरुलाई मिटर नदिन औपचारिक पत्र मार्फत नै निर्देशन दिइसकेको छ । प्राधिकरण प्रमुख झा भन्छन,“ अब हामी केही दिन भित्रै सहर भित्र त्यस्ता अनधिकृत व्यक्तिहरुले विद्युत चोरी गरिरहेको कार्यलाई निरुत्साहित गर्ने छौं । चाँडै तिनीहरुलाई कारवाही गरेर चुहावट नियन्त्रण गर्नेछौं ।

विद्युत हुकिङ गर्ने ३२ जना व्यक्तिबाट ४ लाख २४ हजार रुपैयाँ पछिल्लो ६ महिनामा असुल उपर गरिएको छ । जसमध्ये ३० जनाले मिटर जडान गरेर पनि विद्युत चोरी गरेको पाइएको थियो । जिल्लाको ग्रामिण क्षेत्रमा ६५ प्रतिशत चुहावट छ भने सहरी भेगमा चुहावटको प्रतिशत ४० रहेको छ । कुल ६६ हजार मिटर वितरण गरिएको मध्ये ४० हजार मिटर जनकपुर उपमहानगरपालिकामा मात्र वितरण गरिएको छ । जसमध्ये ४५ हजार मिटर डोमेस्टिक रहेको तथ्याङक छ । 

अहिले २१ अषाढ देखि मिटर वितरण बन्द गरिएको छ । मिटरको निवेदकलाई वितरण गरिसकेपछि मात्र वितरण गरिने हुनाले अहिले तत्कालका लागि मिटर वितरण बन्द गरिएको भएपनि साउन २० गते पछि मिटर आपुर्ति हुने झा बताउँछन् ।
विद्युत महसुल असुलीमा ढिलाई 
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल असुली गर्नमा समेत ढिलासुस्ती गरेको पाइएको छ । अहिले सम्ममा २१ करोड रुपैयाँ विद्युत महसुल असुल उपर गर्न बाँकी छ । डोमेस्टिक तर्फ १ लाख रुपैयाँ सम्म, उद्योग तर्फ ८ लाख रुपैयाँ सम्म प्रति व्यक्ति रकम बाँकी छ । वितरण प्रमुख झा भन्छन,“ गत माघ ६ गते यता ७ सय २५ जना व्यक्तिको विद्युत सप्लाई कारवाही स्वरुप काटिएको छ । २ करोड २४ लाख रुपैयाँ असुल उपर पनि गरिएको छ । अब चाँडै बाँकी बक्यौता असुल गर्न ध्यान दिइनेछ ।” अहिले १ महिनामा करिब ३ करोड रुपैयाँ प्राधिकरणले विद्युत महसुल बापत असुल उपर गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख जितेन्द्र झा ।

२०७२ अषाढ २७ गते आईतबार

महेन्द्रनगरलाई ग्रीन सिटी बनाउन स्मृति वाटिका निर्माण हुँदै

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा स्मृति वाटिका निर्माण गर्ने उद्देश्यले शनिवार बृक्षा रोपण गरिएको छ । वातावरण मैत्रि स्थानीय शासन कार्यक्रम (इएफएलजी) अन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका र योनसेडको सहयोगमा महेन्द्रनगरलाई हरित शहरको रुपमा विकास गर्ने लक्ष्य सहित राजमार्गको पार्कमा वृक्षा रोपण कार्यक्रमको अयोजना गरिएको हो । 

स्मृती वाटिका नामाकरण गरिएको यस पार्कमा ९ सय ७५ वटा विभिन्न किसिमको वृक्षा रोपण गरिने यस कार्यक्रमको उद्घाटन आज एक समारोह बिच धनुषा जिल्ला न्यायधिश कृष्ण बहादुर थापाले प्रमुख अतिथिको रुपमा गरेका थिए । यो वाटिकामा वृक्षा रोपण गर्न चाह्ने व्यक्तिले एक वृक्ष वापत रु. १ हजार को रसिद काट्नु पर्ने हुन्छ र रोपिएको वृक्ष आफूले कसको स्मृतिमा रोप्न खोजेको हो । वृक्ष संगै उसको नेम प्लेट राखिन्छ । 

यो वाटिकामा रोपिएको प्रत्येक रुखलाई कुनै हालतमा मर्न नदिने जिम्मेवारी योनसेड संस्थाले लिएको जानकारी योनसेडका अध्यक्ष जीवन थापाले गराएका छन् । थापाको अनुसार पाँच वर्ष सम्म यस वाटिकामा रोपिएको सबै रुख विरुवाहरु हुर्काएपछि मात्र स्थानीयलाई हस्तारन्तरण गरिन्छ । उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै जिल्ला न्यायधिश कृष्ण बहादुर थापाले नगरपालिकाले विकास निर्माणको कार्यसंगै वातावरण जोगाउनको लागि गरेको यस वाटिका निर्माण कार्य सराहनिय रहेको र यसबाट अरु नगरपालिकाहरुले पनि सिक्नु पर्ने धारणा व्यक्त गरे । उनले वातावरण जोगाउनलाई सबैले आ(आफनो घर अगाडी वा पछाडी कम्तीमा एउटा रुख रोप्नु पर्ने बताए । 

त्यसैगरी क्षीनपाका कार्यकारी अधिकृत उमेश यादवले महेन्द्रनगरलाई सुन्दर हराभरा शहर बनाउनमा स्थानीयवासीले वृक्षा रोपणको लागि आ(आफ्नो तर्फबाट गरेको योगदानको लागि धन्यवाद दिए । अधिकृत यादवले इएफएलजी कार्यक्रम अन्तर्गत महेन्द्रनगरको दुधमती तलाउमा घाट निर्माण गर्न लागेको र नगर क्षेत्रमा थप २० वटा सोलार स्टिूट लाइट पनि निकट भविष्य मै जडान गरिने जानकारी समेत गराए । कार्यक्रममा ५० वटा बृक्ष लिएर सहयोग गर्ने नेपाली काँग्रेसका योगेन्द्र पजियार, नेकपा एमालेका पल्टु पण्डित, कसमस सिमेन्ट, काफ्ले परिवार लगायतकाहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो  ।

२०७२ अषाढ २७ गते आईतबार