Wednesday, April 27, 2016

मधेसमा बढ्दो अपराधको शृंखला

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सर्लाही हेमपुर ७ का ६० वर्षीय एमाले नेता रामनरेश यादवको गत पुस १४ मा हत्या भयो । गाविसका पूर्वअध्यक्षसमेत रहेका जिल्ला कमिटी सदस्य यादव ‘मर्निङ वाक’ गर्दै घरबाट केही पर पुगेका बेला एक समूहले नियन्त्रणमा लिई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गर्याे । हत्या आरोपमा सोही ठाउँका २५ वर्षीय उमेश राय यादव, ३५ वर्षीया मञ्जुदेवी यादव र उनका १८ वर्षीय छोरा रूपेश पक्राउ परे । तीनै जना पुर्पक्षका लागि जेलमा छन् । मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक चन्द्रभूषण यादव भन्छन् ‘टोलकै एक परिवारमा बाबु(छोराको विवाद भएपछि नेता यादव बाबुपट्टि लाग्दा ज्यान गुमाउनुर्पयो ।’ यो घटना सेलाउन नपाउँदै सप्तरी झुड्की प्रहरी चौकीका ३८ वर्षीय असई रमेश सुब्बा ड्युटीमा बसेकै बेला मारिए । पुस २० मा साँझ एक समूहले गोली प्रहार गरी सुब्बाको हत्या गरेपछि त्यस क्षेत्रमा त्रास बढ्यो । घटनाको खासै अनुसन्धान भएको छैन । आरोपित अशोक यादव साधारण तारेखमा रिहा भइसकेका छन् । मुद्दामा खासै आधार नदेखिएकाले आरोपित साधारण तारेखमा छुटेको त्यहाँका सरकारी वकिल कार्यालयको भनाइ छ । त्यहाँका एसपी भीम ढकाल भन्छन, ‘रिसइबी साध्न सहकर्मीको हत्या गरियो, यसबारे थप अनुसन्धान भइरहेको छ ।’
महोत्तरी प्रहरीका अनुसार डेढ महिनायता दुई बालकको फिरौतीकै लागि अपहरण गरी हत्या गरिएको छ । भटौलिया २ का रवीन्द्र महासेठका ८ वर्षीया छोरा चिरञ्जीवी र जलेश्वर १२ का ११ वर्षीय निश्चल पाण्डेको हत्या भएको हो । पर्सामा समेत उस्तै प्रयास भयो । वीरगन्जका ३५ वर्षीय राजेश साह गुप्तालाई एक समूहले फागुन ५ मा अपहरण गरी चार लाख फिरौती लिएको थियो । पीडितले बन्धक बनाएर फिरौती नदिए मारिदिने धम्की दिएको बताएपछि प्रहरीले घटनाको आरोपमा पूर्वप्रहरी जवान अरविन्द सिंहसँगै श्रीभगवान सिंह, दीपक सिंह र विक्की सिंहलाई पक्राउ गरी अनुसन्धान थालेको छ । पूर्वप्रहरी सिंहले फागुन ५ गते राजीनामा दिएका थिए ।
यी प्रतिनिधिमूलक घटना हुन् । हत्या, अपहरण, धम्कीलगायतका घटनाले मधेसका सीमावर्ती पर्सादेखि सप्तरीसम्मको क्षेत्र (प्रस्तावित २ नम्बर प्रदेशका आठ जिल्ला) अपराधको अखडा बनेको छ । लामो समयदेखि हुँदै आएका यस्ता घटना रोक्न सरकारलाई पनि उत्तिकै चुनौती छ । यस्ता अपराधका शृङ्खला खासगरेर पहिलो संविधानसभाको चुनाव ताकादेखि चलेको हो, जुन बेला राजनीतिक आडमा मधेसमा भूमिगत संगठनको बिगबिगी थियो । त्यसैले यस्ता शृङ्खला रोक्न सरकारले यी जिल्लालाई सुरक्षाको उच्च जोखिमको सूचीमा राख्दै संवेदनशील क्षेत्र घोषणा र्गयो र विशेष सुरक्षा नीति ल्यायो तर त्यो संवेदनशीलता कागजमै सीमित भयो । थप सुरक्षा नीति अख्तियार नहुँदा वा सुरक्षात्मक उपाय नअपनाउँदा गम्भीर प्रकृतिका अपराध थामिएका छैनन् ।
प्रहरी स्रोतअनुसार पर्सादेखि सप्तरीसम्मका आठ जिल्लामा पछिल्लो एक वर्षमा गम्भीर प्रकृतिका अपराधमध्ये ७६ जना सर्वसाधारणको हत्या भएको छ । प्रहरीको यो तथ्यांक राष्टिूय मानवअधिकार आयोग र इन्सेक वर्ष पुस्तकसित मिल्दोजुल्दो छ । हत्या हुनेमा राजनीतिक कार्यकर्ता, व्यापारी, सरकारी कर्मचारी, महिला, मजदुर र बालबालिकालगायत छन् । १० जनाको अपहरण भएको छ । फिरौतीका लागि धम्क्याउने घटना योभन्दा बढी छन् । कतिपय घटना ढाकछोप गरिएकाले उजागर हुन पाएका छैनन् ।
रिसइबी, आर्थिक लाभ र यौनजन्य क्रियाकलापले हत्या शृङ्खला बढेको प्रहरी अनुसन्धानबाट देखिन्छ । प्रहरीका अनुसार त्यस अवधिमा सबैभन्दा बढी सर्लाही तथा बारामा १४(१४ र सबैभन्दा कम पर्सामा ३ जनाको हत्या भएको छ । धनुषा र सप्तरीमा ११(११ जना, महोत्तरीमा १०, रौतहटमा ८ र सिरहामा ५ जनाको हत्या भएको छ । गोली प्रहार र विस्फोटका घटनासमेत भएका छन् ।
प्रहरीका एक उच्च अधिकारीको विश्लेषणमा सुरुमा अपराधका आडमा राजनीतिमा रमाउनेले यस्ता घटना दिनदिनै घटाउन थालेपछि सिको गर्ने क्रम पनि चलेको छ । उता राष्टिूय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले प्रहरीको भूमिका रियाक्टिभभन्दा प्रोएक्टिभ कम देखिनुले समस्या भएको बताउँछिन् । उनी भन्छिन, ‘समाजमा कानुनको अनभिज्ञता, प्रहरीको गहिरो र रुचीपूर्वक अनुसन्धान अभावले नागरिक दिनदिनै असुरक्षित भइरहेका छन् । त्यसैले प्रहरीको सुरक्षा सतर्कता नागरिकमुखी हुनुपर्छ ।’ आयोगको अद्यावधिक समीक्षाले यही ठहर गरेको उनले बताइन् । अर्का एक अधिकारकर्मीले प्रहरी ‘इन्टेलिजेन्स’ का नाममा घुमुवा परिचालन गरी आर्थिक लाभतिर लाग्दा हत्या, अपहरणजस्ता जघन्य मुद्दाको फाइल पेन्डिङमा राख्ने चलनका कारण जघन्य घटनाले प्रश्रय पाइरहेको बताए ।
इच्छाशक्ति अभाव
१३ जनाको हत्या आरोपित भूमिगत संगठनका राजन मुक्ति भनिने रञ्जितकुमार झा केही वर्षदेखि (धनुषा, लक्ष्मीपुर बगेवा ७) भारतको पटनामा ‘सेल्टर’ लिएर बस्थे । यसैगरी बाराको गन्जभवानीपुरमा एकैपटक तत्कालीन चार माओवादी कार्यकर्तालाई हत्या गरी भारत विहार पूर्वीचम्पारणका एक प्रभावशाली नेताको संरक्षणमा पुगेका भूमिगत संगठनकै कमान्डर सुनिल जैसवाल (बारा, गन्जभवानीपुर) लामो समयदेखि पारि नै बस्थे । तर प्रहरीको थोरै आँटले यी दुवै जना सहजै फन्दामा परे, जसले गर्दा पीडितहरूले न्याय पाएको महसुस गरे । जनकपुरदेखि वीरगन्जसम्मका यी दुई मुख्य सफलतासँगै दर्जनौं फरार अभियुक्त त्यो बेला समातिएका थिए ।
तत्कालीन माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका बाराका पत्रकार वीरेन्द्र साहको हत्याका अभियुक्तहरू पक्राउ पर्न सकेका छैनन् । हत्या भएका घटनादेखि अहिलेसम्मको अवधिमा दर्जन प्रहरी प्रमुख र प्रशासक फेरिए तर उनका हत्या अभियुक्तलाई पक्राउ गर्न कसैले चासो देखाएन । पत्रकार महासंघले जति दबाब दिँदै आए पनि प्रहरीले झारा टार्ने आशा बाहेक केही गरेको छैन । एक सुरक्षा अधिकारी भन्छन, ‘अभियुक्तहरूलाई पक्रन खासै चुनौती छैन तर पक्राउ गर्ने न आँट छ न त चासो । कसरी पक्राउ पर्छन् ?’ प्रहरीमा यस्ता आँटको कमीले अपराध गर्नेको मनोबल बढिरहेको उनको भनाइ छ ।
मौखिक रूपमा फरार भनिएका तीन जना अभियुक्तको मुद्दा मुल्तबीमा छ । पत्रकार साहको २०६४ असोज १८ मा पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो । अपहरण भएको ३५ दिनपछि अर्थात् कात्तिक २२ गते उनको शव साबिक डुमरवाना गाविस ९ मा पर्ने चारकोशे जंगलको टाँगिया बस्तीमा गाडिएको अवस्थामा भेटिएको थियो । इनर्वासिरा ८ निवासी पत्रकार साहकी पत्नी उमरावती देवी भन्छिन, ‘आरोपितहरू खुलेआम भेटिरहेको स्थानीयले बताइरहँदा प्रहरीले पक्रन आँट गर्दैन । नपक्रुन्जेल न्याय पाउँदिनँ’ उनले भनिन, ‘बाँकी ३ जना जेल नगए शान्ति मिल्दैन ।’
चेतनाको कमी
कलैया ६ का २६ वर्षीय सन्तोष साह कलवार चैत २ देखि बेपत्ता भएपछि घरमा चिन्ता बढ्दै गयो । उनको खोजी गर्दै परिवार व्याकुल भए । कतै पत्तो लागेन । इलेक्टिूकल काम गर्दै गुजारा चलाएका उनी जीवित फेला परेनन् । दुई दिनपछि हत्या गरी बोरामा कसेर फालिएको अवस्थामा कलैया १ स्थित चौरमा फेला परे । उनलाई घाँटीमा डोरी कसेर हत्या गरी फालिएको थियो । घटनामा संलग्न आरोपमा कलैया ४ को एक पूरै परिवार हिरासतमा छ ।  यस्तै रौतहट सन्तपुर दोस्तिया ७ घर भई बाराको भोडाहा ८ स्थित प्रेमीलाई भेट्न आएका २६ वर्षीय युवक पुनदेव यादवको फागुन ४ मा हत्या भयो । उनको शव फागुन १४ गते मनहर्वा ५ स्थित टेङ्ग्रहर खेलाको छेउमा गाडिएको अवस्थामा भेटिएको थियो । यादवको शव बोरामा कोचेर गाडिएको थियो । उनलाई घरमै बोलाई परिवार मिलेर धारिलो हतियारले वीभत्स हत्या गरिएको थियो । घटना आरोपमा एक जना पक्राउ परेका छन, अरू भने परिवार छाडेर फरार छन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेम सम्बन्धले दुवै घटना भएको खुलेको छ । एसपी नरेन्द्र उप्रेतीले दुवै घटनाको मुख्य कारण प्रेम सम्बन्ध नै भएको बताए । भन्छन, ‘केटी पक्षले गोप्य उजुरी दिएको भए न कोही मर्नुपथ्र्यो न कोही घरबार छाडेर भाग्नुपथ्र्यो । कानुनअनुसार कारबाही हुँदा मर्नेको ज्यान जोगिन्थ्यो भने मार्नेको बेहाल हुँदैनथ्यो । त्यसैले चेतना अभावकै कारणले हत्या भएको देखिन्छ ।’ जिल्लाका अर्का एक सुरक्षा अधिकारी भन्छन, ‘अपराध बढ्नुको मनोविज्ञान हेर्दा मदिरा, मोटरसाइकल र मोबाइल कारक छन् । कि त त्यो अपराध प्रेमसित जोडिएको होस् वा अन्य रिसइबी वा आर्थिक लाभ ।’ मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआईजी पशुपति उपाध्यायले मधेसमा बढ्दो अपराधविरुद्ध प्रहरीले सचेतना, निषेधात्मक र अनुसन्धानात्मक गरी यी तीनवटै अलगअलग प्रकृतिका गतिविधि सशक्त ढंगले सुरु गरिएको बताए । यसले अपराध घट्ने उनले बताए । भन्छन, ‘त्यसविरुद्ध समुदायमा चेतना फैलाउनुसँगै हुनसक्ने अपराधबारे सूचना संकलन गरी सम्भावित अपराधलाई निषेधसमेत गरेका छौं र घटित घटनाबारे अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा समेत ल्याइरहेका छौं ।’ यस क्रममा बारा, पर्सा, धनुषा, महोत्तरी लगायतका जिल्लामा धमाधम अभियुक्त पक्राउ परिरहेका छन् । दिनदिनै अपराध शैली फेरिनुले पनि सुरक्षा योजना बनाउन समस्या भइरहेको उनको भनाइ छ । तर पनि यसको रोकथाम र अपराधमा कमी ल्याउन सशक्त ढंगले लाग्ने बताए । भन्छन, ‘पहिले भरुवा बन्दुकको भरमा अपराध हुन्थ्यो भने अहिले त्यो घटेको छ ।’
अस्थिरताले चिन्ता
पहिलो संविधानसभायता मधेस(तराईमा राजनीतिक अस्थिरता बढेपछि सर्वसाधारणमा सुरक्षा चिन्ता बढेको पाइन्छ । दिनहुँजसो हत्या, अपहरण र जबर्जस्ती चन्दा आतंकका घटना हुँदा उनीहरूमा चिन्ता थपिएको हो । असहज अवस्थामा सुरक्षाको उच्च जोखिम मोल्दै आएका सर्वसाधारण त्रासमय दिनचर्या बिताउन बाध्य छन् । मधेसका यी सीमावर्ती जिल्लामा सुरक्षा जोखिम बढ्दै जाँदा चिन्ता थपिएको सर्वसाधारण बताउँछन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता भन्छन, ‘शृङ्खलाबद्ध भइरहेका जघन्य अपराधलाई घटाउन तथा असुरक्षाको सिकारबाट टाढा रहन शिक्षा र रोजगारमा सरकारले विशेष ध्यान दिनुपर्छ । साथसाथै अपराधलाई संस्थागत हुन नदिन सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भारतीय सुरक्षा निकायसित मिलेर लगातार ‘काउन्टर पार्ट मिटिङ’ मार्फत अपराधको समीक्षा गर्नुपर्छ ।’ उनी थप्छन, ‘यो क्षेत्रलाई अपराधीहरूको अखडा बन्न नदिनलाई अपराधलाई राजनीतिक संरक्षण नदिनतर्फ सबै सजग रहनुपर्छ । राजनीतिक खोल ओढेर आपराधिक क्रियाकलापमा संलग्न रहनेलाई समाजले निस्तेज पार्नुपर्छ । साधनस्रोत र जनशक्ति अभाव देखाउँदै सुरक्षा अधिकारीहरू पन्छिने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’
फाइल कतै खुल्छन, कतै खुल्दैनन
धनुषा, जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्या आरोपमा दुई वर्षपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता चन्द्रदीप यादव चैत १६ मा पक्राउ परे । त्यस्तै धनुषाकै सबैला १ का रामसेवक राउत गडेरी र रामप्रकाश यादवको हत्या आरोपमा प्रहरीले एमाले वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवलाई घटना भएको एक वर्षपछि काठमाडौंबाट पक्राउ गरेको छ । मधेसका प्रस्तावित २ नम्बर प्रदेश अर्थात् आठ जिल्लामा त्यस्ता जघन्य अपराधको अनुसन्धान हुन बाँकी र अनुसन्धान भएका थुप्रै पुराना फाइल छन, जुन कतै खुल्छन् कतै खुल्दैनन् । खोल्ने क्रममै जनकपुरमा सिंघानियाँ र थप दुई सर्वसाधारणको हत्या भएको लामो समयदेखि फाइल खुलेको छ । प्रहरी स्रोत भन्छ, ‘फाइलअनुसार अपराधको आरोप लागेका अभियुक्त वा आरोपी केलाउने हो भने सयौं पक्राउको सूचीमा भेटिन्छन् तर न फाइल खुल्छन् न त फरारहरू पक्राउ पर्छन् ।’ भन्छन, ‘प्रहरीले चासो राखेर अनुुसन्धान नगरेकाले यी जिल्लामा अपराधका शृङ्खला घटेका छैनन् । अधिकांश हत्या र अपहरणका आरोपी तथा अभियुक्त वर्षांैदेखि फरार छन् ।’ बारा प्रहरी स्रोतका अनुसार झन्डै पाँच सय पुराना फाइलमध्ये आधाको हाराहारीमा गम्भीर अपराध हत्या, अपहरण, बलात्कारलगायतका छन् । जसमध्ये करिब तीन सय ठहर भएका अभियुक्त फरार छन् । रौतहटलगायतका अन्य मधेसका जिल्लाको अवस्था पनि उस्तै छ । सरकारले अदालतबाट दोषी ठहर भएका अपराधीलाई समात्दा त्यसको जरिवानाको रकम असुलबाट आकर्षक आर्थिक लाभ दिने कानुनी व्यवस्था गरे पनि प्रहरीले त्यसतर्फ खासै चासो दिएको पाइँदैन ।
अपराधसित जोडिएका राजनीतिक अनुहार
एमालेका पूर्वसभासद बाराका रामचन्द्र प्यासी दोस्रो संविधानसभामा एमालेबाट उम्मेदावारी दिएका केन्द्रीय सदस्य महम्मुद आलमको हत्या आरोपमा पुर्पक्षका लागि जेलमा छन् । यसैगरी सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष सञ्जय साह (टकला) पनि जेलमा छन् । जनकपुरका उनी दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ निर्वा्चित भएका थिए । मिथिला राज्यको माग गर्दै जनकपुरमा भएको अनशनको क्रममा बम विस्फोट हुँदा ५ जनाको मृत्यु भएको घटनामा संलग्न आरोपमा उनी जेलमा छन् ।  धनुषा, जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्या आरोपमा भर्खरै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका चन्द्रदीप यादव पक्राउ परेका छन् । सोही घटनाका आरोपित सद्भावनाका केन्द्रीय सदस्य रामविनोद यादव भने फरार छन् । रामविनोद उक्त पार्टीका समानुपातिक उम्मेदवार थिए । त्यस्तै धनुषाकै सबैला १ का रामसेवक राउत गडेरी र रामप्रकाश यादवको विद्यालय व्यवस्थापन समिति छनोट प्रक्रियामा विवादका क्रममा झडप हुँदा मृत्यु भएपछि प्रहरीले एमाले वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनी अहिले हिरासतमै छन् । वीरगन्जका हिन्दु महासंघका अध्यक्ष काशी तिवारीको हत्या प्रकरणमा एमाओवादी नेता प्रभु साह मुछिए तर घटनामा संलग्नता पुष्टि नभएपछि उनले सफाइ पाइसकेका छन् । यसैगरी नेपाल सद्भावना पार्टी (आनन्दी देवी) का तत्कालीन अध्यक्ष श्यामसुन्दर गुप्ता (भैरहवा) पनि अपहरण मुद्दामा जेलमा छन् । यस्तै रौतहटका नेपाली कांग्रेस पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद अफताब आलम विस्फोटका घाइतेलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा छानबिनको दायरामा परेका छन् । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउँदै गर्दा विस्फोट भएपछि पोल खुल्ने डरले घाइतेलाई इँटाभट्टामा जलाएको उनीमाथि आरोप छ । प्रहरीले यो मुद्दा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्दा त्यहाँबाट मुद्दा चलेन । तर सर्वोच्चमा रिट परेपछि तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दा छानबिन गर्न गत वर्ष प्रहरीको नाममा आदेश जारी गर्याे ।
निगरानी अभाव
पछिल्ला केही वर्षयता भारतीय सीमावारि र पारिका आपराधिक ‘सेल्टर’ हरूमा सुरक्षा निगरानीको अभावमा भारतीय अपराधीहरूले अपराध गर्न पल्केको पाइएको छ । २०७० को दोस्रो संविधनसभाताका असोज १८ मा हत्या गरिएका एमालेका महम्मुद आलमको हत्यामा संलग्न भारतीय सुटरहरू वीरगन्जमा लामो समयदेखि योजना बनाएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तर घटना हुनुअघि तिनको नेपाली सुरक्षाले सुइँकोसमेत पाएन । गुप्चर निकायको समेत खासै भूमिका देखिँदैन । उनीहरूले नेपाली नम्बरकै मोटरसाइकलसमेत प्रयोग गरी घुमफिर गरेका थिए । यसैगरी २०७० पुस १७ मा जितपुरमा भारतीय सुटरहरूबाट मारिएका अफताब आलम अन्सारीको हत्यामा भारत उत्तर प्रदेश कोतवाली थाना जामे मस्जिद अलिगढ घर भई भारत उत्तर प्रदेश सपना कलोनी सेक्टर सी लखनउ बस्ने २९ वर्षीय विपिन यादव भन्ने महमद फहद र भारत उत्तर प्रदेश पिलिभित जिल्ला कोतवाली थाना स्टेसन रोड सिभिल लाइन घर भई भारत उत्तर प्रदेश किरातन भिलेज जोनपुर बस्ने ३५ वर्षीय मनोज तथा रवि पाण्डे भन्ने राजेश मिश्र लामो समयदेखि वीरगन्जमै बसेको अनुसन्धानबाट खुलेको थियो । आलमको हत्यादेखि काठमाडौंको फैजान अहमदको हत्यासम्म यिनीहरूको हात रहेको खुलेको थियो । कहिलेकाहीँ उनीहरूको बसाइ रक्सौलको नमस्कार होटेलमा समेत थियो । भारतको मस्ट वान्टेड सूचीमा रहेका भारतीय एक अपराधी केही महिनाअघि कलैयामा बसेको सूचना पाएर भारतीय प्रहरी पक्राउ गर्न सीधै आएको घटनाले सेल्टर भएको पुष्टि हुन्छ । अपराध नियन्त्रणका लागि केही महिनादेखि रोकिएको नेपाल(भारतबीचको काउन्टर पार्टको मिटिङ दुई साताअघि भएकोमा त्यसमा छलफल भएको बाराका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले बताए ।
                                                                                                         सौजन्यः इकान्तिपुर डट कम

२०७३ बैशाख १२ गते आईतबार

No comments:

Post a Comment