Wednesday, April 27, 2016

सदभावनाले संजय बचाउ अभियान चलाउने

जनकपुर अञ्चल अस्पतालमा 
उपचारको क्रममा संजय साह ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरका एक जना व्यवसायी अरुण कुमार सिंघानिया हत्याको मुख्य योजनाकारका रुपमा रहेका प्रतिवादी संजय कुमार साह आमरण अनशनमा बसेका कारण उनको स्वास्थ्य स्थिति विग्रदै गएपछि अदालतको आदेशका कारण उनको थप उपचारका लागि काठमाण्डौ स्थित डिल्ली बजार कारागारको रोहवरमा उपचार गर्न पठाइएको छ ।
 जनकपुर बम काण्डमा निर्दोष ५ जना नागरिकको हत्या भएको र दर्जनौं मानिसहरु गम्भीर घाइते भएको उक्त बम काण्डका पनि प्रमुख योजनाकारका रुपमा संजय साहलाई अभियूक्त बनाई अदालतकै आदेशले उनी कारागारमा थुनामा रहेका थिए । तर, सिंघानिया हत्याको घटनामा पनि साहको संलग्नता देखिएपछि धनुषा प्रहरीले उनलाई कारागारबाट झिकाई अनुसन्धान प्रक्रिया अगाडी वढाउन थालेपछि उनी आमरण अनशनमा बसेका छन् । उच्च स्तरीय न्यायिक छानविन समिति गठन हुनुपर्ने र सम्पुर्ण घटनाहरुका दोषीलाई कारवाही हुनुपर्ने तथा आफु निर्दोष भई सह अभियूक्तहरुले पोलेकै भरमा आफुलाई प्रशासनले पुर्वाग्रह राखि फसाउन खोजेको भन्दै साह गत चैत्र २१ गते देखि आमरण अनशनमा बसेका छन् । गत ८ बैशाखमा थुनछेक प्रयोजनका लागि धनुषा जिल्ला अदालतमा बयान गराउनका लागि उपस्थित गराउँदा उपस्थित गराइएका क्रममा साहले बयान गर्दा सवाल जवाफको पहिलो प्रश्नमै मेरो स्वास्थ्य स्थिति ठिक नभएको हुँदा म अहिले बयान गर्न सक्दिन मेरो मेडिकल चेक जाँच गरि पाऊ भनि उल्लेख गर्नुका साथै उनका कानुन व्यवसायी प्रकाश घिमिरेले पनि निजको स्वास्थ्यको कारण हाल बयान गर्न सक्ने अवस्था नभएको हुँदा अदालतका एक जना कर्मचारी समेत खटाई निजको स्वास्थ्य परिक्षण गरी गराई पाऊ भनि इजलाश समक्ष भनेका थिए ।
तत्पश्चात स्वास्थ्यको कारणले इन्कार गरेको अवस्थामा शारिरीक तथा मानसिक अवस्था ठीक नभएको अवस्थामा बयान कार्य सम्पन्न हुने अवस्था नदेखिएका ले आजै जनकपुर अञ्चल अस्पतालमा लगि स्वास्थ्य परिक्षण गरी गराई भोली मिति २०७३ साल बैशाख ९ गते १० बजे प्रतिवेदन सहित पेश गर्न अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यले आदेश दिएका थिए । सोही आदेश पश्चात ८ बैशाखमा साहलाई जनकपुर अञ्चल अस्पतालमा दिनको ३ बजेर ४० मिनेटमा अस्पतालका बरिष्ठ विशेषज्ञ चिकित्सक लगायतका टोलीले उनको उपचार गरेको थियो । उपचारका क्रममा शरिरीक जाँच गर्दा निजको शरीरमा पानीको कमि भई कडा जल विनियोजन एवम शरीरमा चाहिने आवश्यक क्यालोरीको कमि भई शरीरको भित्री अंगहरु असंतुलन भएको हुँदा तुरन्तै अस्पताल भर्ना गरी उपल्लो तहका चिकित्सकिय निगरानीमा राखि उपचार गर्नुपर्ने आवश्यकता भएकोले सोही अनुरुप व्यवस्था गरिएको तथा रक्त परीक्षणको रिपोर्ट पनि फलोअप गरी तद अनुसार उपचार जारी राख्ने वा रिफर गर्नु पर्ने अवस्थाको सुक्ष्म अनुगमन निरन्तर गरिने व्यहोरा सहितको पत्र बैशाख ८ गते अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले हस्ताक्षर गरेको पत्र अदालतलाई पठाइनुका साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय धनुषालाई बोदार्थ गरिएको थियो ।
 त्यसपछि साहलाई इमरजेन्सीबाट वार्डमा भर्ना गराई विशेषज्ञ चिकित्सकको टोलीले उपचार सुरु गरेको थियो । ९ बैशाखमा उनको रक्त परीक्षणको रिपोर्टमा क्रियेटिनको मात्रा वृद्धि भई किडनीमा असर परिरहेको, रगतको सुगरको मात्रामा कमि रहेको तथा क्यालोरीको समेत कमि देखिएको प्रतिवेदन आए पछि चिकित्सकहरुले साहलाई उपचारको क्रममा अत्यावश्यक औषधिहरु दिन खोज्दा साहले असहयोग गरेको मेडिकल सुप्रिटेन्डेन्ट यादवले बताए । उनको शरीरमा विषाक्त रसायन बढ्दै गएको र अर्को किडनी समेत प्रभावित हुन सक्ने, लामो समय देखि पेट खाली रहेका कारण पेटमा रक्तस्राप समेत हुन सक्ने खतरा देखिएको हुनाले आइसियूमा राखि उपचार गर्नुपर्ने आवश्यकता देखिए पछि आइसियू सहित सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन आवश्यक देखिएको भन्दै अस्पतालले साहलाई रेफर गरिएको पत्र अदालतलाई पठाएको थियो ।
त्यसपछि १० बैशाखमा कारागारकै रोहवरमा सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन तथा प्रत्येक १५÷१५ दिनमा स्वास्थ्य प्रगतिको प्रतिवेदन समेत पेश गर्न अदालतले आदेश गरेको थियो । १० बैशाखमा रात भरी साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो भने विहान ४ बजे उनलाई काठमाण्डौ स्थित डिल्लीबजार कारागार पुर्याइएको थियो ।
साहकी पत्नीको पनि अवस्था गम्भीर
शनिबार समाचार लेखिरहँदा १० औं दिनमा आमरण अनशनमा बसेकी संजय साहकी पत्नी रंगिला देवी साह र उनका शुभचिन्तक शिवशंकर यादवको समेत स्वास्थ्य अवस्था विग्रदै गएको छ । हुन त उनीहरुलाई जनकपुर अञ्चल अस्पतालबाट खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले नियमित उपचार तथा स्लाइन पानी चढाईरहेको भएपनि चक्कर आउने गरेको, कमजोरी भएको, पेट दुखेको, पेटमा जलन हुने गरेको, पिसाव गर्दा जलन हुने गरेको आमरण अनशनमा बसेकी रंगिला देवीले द एक्सक्लुसिभलाई बताएकी छिन् । अनशन तोडाउन विभिन्न तहबाट पहल भएपनि जबसम्म उच्च स्तरीय छानविन समिति गठन हुँदैन तबसम्म अनशन नतोड्ने उनले बताइरहेकी छिन् ।
साहको बचाउमा सदभावना पार्टी
संजय साह सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष हुन । दोस्रो संविधानसभाको चुनावमा उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित भएका थिए । उनी बम काण्डमा अभियूक्त बनेपछि तत्कालिन सभामुख सुभाषचन्द्र नेम्वाङले उनको सांसद पदलाई निलम्बन गरेका थिए । हाल उनी अभियूक्त मात्र भई निलम्बित सांसद कायमै रहेको र उनी अदालतको आदेशबाट अपराधि ठहर नभएका कारण उनी हालसम्म आफ्नो पार्टीको बरिष्ठ उपाध्यक्ष पदमा कायमै रहेको ११ बैशाखमा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा सदभावनाका अध्यक्ष राजेन्द्र महत्तोले बताएका थिए । पार्टीको पुनर्गठन नभएको हुनाले उनको पदमा कुनै अरु व्यक्तिलाई हालसम्म नल्याइएको भन्दै महत्तोले साहद्वारा उठाइएको माग प्रति पुर्ण समर्थन जनाउँदै नेपाल सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राखेका थिए । उनी सामान्य नागरिक नभएर यस क्षेत्रका जनताको जनप्रतिनिधि समेत रहेकाले नेपाल सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरी अनुसन्धानबाट देखिने दोषीलाई कारवाही तथा निर्दोषलाई रिहाई गरिनुपर्ने माग गर्दै महत्तोले यो त न्यायको आधारभुत सिद्धान्त नै पनि रहेको बताएका थिए ।
महत्तोद्वारा धनुषाका सिडिओसँग कुराकानी
राजेन्द्र महत्तोले धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई ११ बैशाखमा होटेल वेलकममा बोलाई करिब १५ मिनेट जति कुराकानी गरेका थिए । अनशन र अनशनबाट उठाइएका मागको सवालमा आफुले प्रत्येक दिनको जानकारी गृहमन्त्रालयलाई गराईरहेको सिडिओले महत्तोलाई जानकारी गराएका थिए । पथलैयामा सुरक्षाकर्मीहरुको गोष्ठिमा समेत आफुले छानविन समिति गठनको बारे भन्दा अदालती प्रक्रियामा गईसकेको मुद्दामा अलग किसिमले छानविन समिति गठन हुन नसक्ने जवाफ आएको कुरा सिडिओले महत्तोलाई बताएका थिए । आमरण अनशन तोडाईदिन महत्तोलाई प्रजिअ चापागाईले आग्रह गरेका थिए ।
राजेन्द्र महत्तोमाथि खनिए साहका परिवारजन
राजेन्द्र महत्तो जनकपुर आएपछि संजय साहका परिवारजन, आफन्त तथा समर्थकहरु महत्तो माथि खनिएका थिए । यत्रो दिनसम्म आमरण अनशन बसिसके पनि मागको सुनुवाई नभएको र पार्टीले गम्भीरतापुर्वक ध्यान नदिएको भन्दै महत्तो माथि खनिएका थिए । तर, आफुले सक्दो प्रयास गरिरहेको, सरकारका निकायहरुलाई भेट गरिरहेको भन्दै यो आक्रोशलाई शान्तपार्दै हौसला बनाई राख्न तथा संजय साह निर्दोष हुन र उनले सबै अभियोगबाट मुक्ति पाउनेमा आफु विश्वस्त रहेको महत्तोलाई बताएका थिए ।
संजय बचाऊ अभियान चलाइने
संजय साह निर्दोष रहेको तथा राजनीतिक पुर्वाग्रहका कारण झुठा मुद्दामा फसाइएको हुनाले संजय साहलाई बचाउन सदभावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहको संयोजकत्वमा संजय बचाउ अभियान चलाइने सदभावना पार्टीले निर्णय गरेको छ । १० बैशाखमा अबेर राति राजेन्द्र महत्तोको उपस्थितिमा बसेको बैठकबाट जिल्ला स्तरमा मधेसी मोर्चासँग समन्वय गरी विभिन्न समितिहरु बनाई संजय बचाउ अभियान चलाइने निर्णय भएको बैठकमा सहभागी एक जनाले बताए । अभियानले विभिन्न स्वरुपका कार्यक्रमहरु समेत गर्नेछन् । संजय साहकी श्रीमति रंगिला देवीको अनशन तोडाउने सवालमा आफ्नो श्रीमानले अनशन नत्यागेसम्म आफुपनि अनशन नत्याग्ने बताएपछि काठमाण्डौ फर्केर संजय साहसँग भेट गरी अनशन विषयमा के गर्ने भन्ने निर्णय लिइने महत्तोले उक्त बैठकमा बताएका थिए ।
यस अघि पनि सदभावना पार्टी धनुषाको अगुवाईमा संजय साहको मागमा समर्थन गर्दै ७ बैशाखमा जनकपुर बन्द गराइएको थियो । त्यसैगरी विभिन्न प्रदर्शनमा समेत सदभावनाले अगुवाई गर्दै आएको छ । गत बैशाख ८ गते सदभावना पार्टीका प्रवक्ता संतोष मेहताद्वारा जारी गरिएको विज्ञप्तीमा समेत विगत लामो समय देखि सांसद संजय साह र उनका परिवारजनहरु आमरण अनशनमा बसेको हुँदा तिनीहरुको जीवन रक्षार्थका लागि तथा घटनाका बास्तविक दोषीहरु उपर कडा भन्दा कडा कारवाही गर्नका लागि नेपाल सरकारसँग माग गर्नुका साथै मानव अधिकारकर्मीहरुको ध्यानाकर्षण गराइएको थियो । रंगिला देवी आमरण  अनशन बसेको स्थलमा उनीहरुका माग प्रति समर्थनमा गराइएको हस्ताक्षर अभियानमा समेत करिब १० हजार भन्दा वढी मानिसहरुले हस्ताक्षर गरी समर्थन गरेको संजय साहका परिवारजनहरुको दावी छ ।
माग प्रति संघ संस्थाको पनि समर्थन
संजय साह र उनका परिवारजन आमरण अनशनमा बसेको हुनाले तिनीहरुका माग सम्बोधन गरी उच्च स्तरीय छानविन समिति गठन गरी दोषीलाई कारवाही गर्न माग गर्दै महाबिर यूवा कमिटिका अध्यक्ष धर्मेन्द्र साह र राष्टिूय मुस्लिम संघर्ष गठबन्धनले माग गरेको छ ।
अदालतमा बयान पल्टियो
सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकार भनेर प्रहरीले आरोप लगाएको निलम्बित सभासद संजयकुमार साहका सन्दर्भमा अधिकांश आरोपीहरुले अदालतमा वयान फेरेका छन् । प्रहरी समक्ष साहको नाम लिएका उनीहरुले अदालतमा यातना दिई त्यस्तो वयान लिएको न्यायाधीश समक्ष बताएका छन् ।
सिंघानिया हत्या काण्डमा संलग्न रहेको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित सभासद साह, चन्द्रदीप यादव, मुकेश चौधरी, एकलाल भन्ने योगेन्द्र सहनी, रामकरण यादव, ओमप्रकाश यादव, अंशीराईन, विजय भन्ने दीपेन्द्र यादव कुसिऐत, रामविनोद यादव, वन लामा, मनक लामासहित ११ जनामाथि मुद्दा दर्ता गराएको थियो । आरोपीहरुमध्ये दीपेन्द्र, रामविनोद, पवन तथा मनक फरार छन् भन्ने अन्य सात जना विभिन्न आरोपमा यस अघि नै पक्राउ परी पुर्पक्षमा जेलमा छन् ।
जिल्ला अदालत धनुषाका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलासमा जारी सिंघानिया हत्या सम्बन्धी मुद्दाको वयानको क्रममा ओमप्रकाश यादव, योगेन्द्र सहनी, अर्जुन सिंह भन्ने मुकेश चौधरी, चन्द्रदीप यादव तथा रामकरण यादवले आफूलाई निर्दोषमात्र भनेका छैनन, हत्याका मुख्य आरोपी भनिएका निलम्बित सभासद साहको पनि कुनै संलग्नता नरहेको दावी गरेका छन् । प्रहरी अनुसन्धानको क्रममा सिंघानिया हत्याको योजना बनाउन निलम्बित सभासद साहले आफ्नो कदम चौकस्थित घरको छतमा पटक पटक बैठक बसेको, १० लाखको सुपारी दिएको तथा होटल रामामा हतियार एवं जलपानको लागी ३० हजार नगद समेत दिएको वयान दिएका चन्द्रदीप यादवले न्यायाधीश समक्ष संजयकुमार साहसंग चिनजान भए पनि उनीसंग हत्या योजना सम्बन्धी कुनै कुरा नभएको वयान दिएका छन् । प्रहरीले आफूलाई धाक धमकी दिएको तथा भाईलाई समेत मुद्दामा फसाई दिने भन्दै आफैले लेखेर ल्याएको कागजमा सही छाप गराएको उल्लेख गरेका छन् ।
सिंघानिया हत्याका मुख्य आरोपी चन्द्रदीप यादवले प्रहरी समक्ष दिएको वयानमा निलम्बित सभासद साह तथा उनका सहयोगी राम गोवीन्द यादवले १० लाखको सुपारी दिएर सिंघानियालाई हत्या गर्न लगाएको खुलासा गरेका थिए । अरुण सिंघानियालाई २०६६ साल फागुन १७ गते जनकपुरको शिवचौकमा गोली हानी हत्या गरिएको थियो । त्यस्तै २०६९ साल वैशाख १८ गते रामानन्द चौकमा गराइएको वम विष्फोटमा परी पाँच जनाको मृत्यु भएको सहित दुवै घटनामा साहमाथि मुद्दा चल्दैछ ।
न्यायिक छानविनको माग गर्दै बन्द
निलम्बित सभासद संजयकुमार साहलाई नियोजित तरीकाले फसाउन खोजेकोले न्यायिक छानविन समितिको माग गर्दै सद्भावना पार्टीले घोषणा गरेको जनकपुर बन्दको प्रभाव मंगलवार दिनभरी देखियो । मुख्य सडकका पसल तथा व्यापारिक प्रतिष्ठानहरु बन्द रहे भने स्कुल कलेजहरु पनि सञ्चालन भएनन् । विहान फाटफुट यातायातका साधनहरु चले पनि मध्यान्हपछि बन्द भएका थिए । बन्द सफल बनाउन सद्भावनाका कार्यकर्ताहरु चौक चौकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

जनकपुर अञ्चल अस्पतालमा 
उपचारको क्रममा संजय साह ।
आमरण अनशनमा बसेकी संजय साहकी पत्नी रंगिला देवी साहको पनि स्वास्थ्य अवस्था खराब हुँदै ।
संजय साहको समर्थनमा सदभावना पार्टीले बन्द आह्वान गरेको बन्दको पुर्व सन्धयामा ६ बैशाखमा जनकपुरमा निकालेको मशाल जुलुस ।

२०७३ बैशाख १२ गते आईतबार

No comments:

Post a Comment