जनकपुरधाम............
स्थानीय तहको निर्वाचनका क्रममा विभिन्न राजनीतिक दलहरु तथा उम्मेदवारहरुद्वारा निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहिता व्यापक रुपमा उल्लंघन गरेको पाइएको छ । धनुषाका प्रायः जसो राजनीतिक दलहरुले निर्वाचन प्रचार प्रसार, घरदैलो कार्यक्रम तथा जुलुसहरुमा बालबालिकाहरुलाई प्रयोग गरेको पाइएको छ । बालबालिकाहरुलाई विभिन्न पार्टीहरुले आआफ्नो चुनाव चिन्ह अंकित टिसर्टहरु वितरण गरेर हातमा झण्डा सहितको सामग्रीहरु प्रदान गरेर आचार संहिता उल्लंघन गर्ने गरिएको छ ।
यसका अतिरिक्त विभिन्न उम्मेदवार तथा राजनीतिक दलहरुले सवारी साधनमा निर्धारित व्यानरको साईज ३ फिट÷५ फिट भन्दा ठूलो आकारको व्यानर, झण्डा तथा प्रचार सामग्रीहरु प्रयोग गरेको पाइएको छ । निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाईकल लगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साईकल, रिक्सा, टाँङ्गा, एक्का तथा गोरुगाडा जस्ता सवारी साधनको ¥याली गर्न वा गराउन निर्वाचन आयोगले प्रतिबन्ध लगाएपनि धनुषामा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरुले प्रयोग गर्ने पाइएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj5iwaLw6mdRHUZgmXNWVasPqrdHdaEfzGznEHNTrcCSQH0nlJoniUFkS0wSpY4yFkKQeoCnDwD2bOV5LXuXxjlsRTzceMgfBji62ZZedU-TGk5pvfYSPHc9d_EDV4r_ndCvXqcHOrVHk4Y/s320/1.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi7xfjdifEkP_9id11XKXqwC3RavIOo3hsEvRSIjWmVzNQgKuE_EbcD1HZ5pa11XRDkNV8M1xtp-cp14IDr0yksHkltMymWhDj8Slk3wEUN_8kAm0BrxDCdEpYUhq2hc1LqBUOiHp25HGt2/s320/9.jpg)
संघीय समाजवादी धनुषाका अध्यक्ष चन्देश्वर महतो भन्छन,“ हाम्रो पार्टीले अहिलेसम्म कुनै बालबालिकाहरुलाई प्रयोग गरेको छैन जबकी अन्य दलका उम्मेदवारहरुले आचार संहिताको त धज्जी नै उडाएका छन् ।” उम्मेदवारहरुलाई धम्की दिने, मदिरा सेवन गरी होहल्ला गर्ने, मतदाताहरुमा भयत्रासको माहौल पैदा गर्ने लगायतका कामहरु अन्य राजनीतिक दलहरुद्वारा भईरहेको तर्फ इङ्गित गर्दै फोरम अध्यक्ष महतो भन्छन,“ हामी आचार संहिताको मापदण्ड भित्र रहेर काम गरिरहेका छौं । तर, उल्लंघन गर्ने अन्य दल तथा उम्मेदवारहरुलाई निर्वाचन आयोगले कारवाही गरिरहेको छैन ।”
नयाँ शक्ति पार्टी नेपाल धनुषाका कार्यबाहक अध्यक्ष महाशंकर ठाकुर भन्छन,“ निर्वाचन आयोगले आचार संहिताको जे मापदण्ड कायम गरेको छ त्यस भित्र रहेर नै आफ्ना उम्मेदवारहरुले प्रचार प्रसार गरिरहेका छन् । यदि हाम्रै पार्टीबाट आचार संहिताको बरखिलाफमा कुनै गतिविधि भईरहेको छ भने निर्वाचन आयोगले हामीलाई पनि कारवाही गर्न सक्दछ । तर, एउटा कुरा के ध्यान राख्नुपर्दछ भने कारवाही सबैलाई बराबर ढंगले गर्नुपर्दछ ।” नेपाल लोकतान्त्रिक फोरम धनुषाका अध्यक्ष नरेश यादव भन्छन,“ हाम्रो पार्टीबाट वा उम्मेदवारहरुबाट कुनै पनि किसिमको आचार संहिता उल्लंघन गरिएको छैन । यदि त्यस्तो छ भने आयोगले कारवाही गर्न सक्छ ।”
यसरी हरेक राजनीतिक दलहरुले आचार संहिता उल्लंघन गरेपनि आफ्नो पार्टी तथा उम्मेदवारहरुले आचार संहिता उल्लंघन नगरेको तर अन्य राजनीतिक दल र उम्मेदवारहरुले भने आचार संहिता उल्लंघन गरेको भन्दै एक दलले अर्को दलमाथि आरोप लगाईरहेका छन् । आचार संहिता उल्लंघन गरेको प्रष्ट प्रमाणहरु हुँदा हुँदै पनि ती दल तथा नेताहरुले स्वीकार गरिरहेका छैनन् ।
उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन देखि अहिले निर्वाचन प्रचार प्रसारको क्रमसम्म आईसक्दा राजनीतिक दल तथा उम्मेदवारहरुले खुलेयाम निर्वाचन आचार संहिता उल्लंघन गरिरहँदा पनि निर्वाचन अधिकृतको कार्यालयहरुले कुनै पनि किसिमको कारवाहीको प्रक्रिया अगाडी वढाएको छैन । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेती भन्छन,“ विभिन्न राजनीतिक दल र उम्मेदवारहरुद्वारा निर्वाचन आचार संहिता विरुद्ध बालबालिकालाई प्रयोग गरेको पाइएको छ । उम्मेदवारी मनोनयन दर्ताको क्रम देखि नै त्यो कुरा देखिएको छ । अब सबै दलहरुलाई र उम्मेदवारहरुलाई बोलाएर निर्वाचन आचार संहिता उल्लंघन नगर्न भनेर अन्तिम पटक निर्देशन दिनेछु । त्यसका बाबजुद पनि आचार संहिता उल्लंघन भयो भने निर्वाचन आयोगसँग कुरा राखि छलफल गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडी वढाउने छौं ।”
२०७४ भाद्र २५ गते आईतबार
No comments:
Post a Comment