Wednesday, September 2, 2015

संविधानसभा परित्यागको माग गर्दै दुई जना आमरण अनशनमा

अनशनकारीलाई भेट्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद रिजाल ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मधेस केन्द्रित राजनीति गर्ने संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले संविधानसभाबाट राजीनामा गर्नुपर्ने र मधेसीको हक अधिकार संविधानमा सुनिश्चित गरिनुपर्ने माग राख्दै जनकपुरमा दुई जना आमरण अनशनमा बसेका छन् । जनकपुरका यूवाहरुको संगठन मधेस अधिकार संघर्ष समिति जनकपुरका सल्लाहकार इन्द्रकुमार झा ‘मधेशानन्द’ ८ भदौ देखि र एक जना शिक्षक नरेन्द्र मिश्र १० भदौ देखि आमरण अनशनमा बसेका छन् ।

मधेसी मोर्चाका नेताहरुले संविधानसभा परित्याग नगरुनजेलसम्म मधेसी जनताले मधेसको हक अधिकार संविधानमा सुनिश्चित गर्न नसक्ने हुनाले तिनीहरुको विद्रोह एक मात्र विकल्प ठानेर अनशनमा बसेका मधेशानन्द भन्छन,“ एकातर्फ मधेसको नाउँमा राजनीति गरेर मधेसी जनतालाई बलिदानी दिन पनि लगाउने, अर्को तर्फ पद र भत्ताको लागि संविधानसभा परित्याग नगर्नु मधेसी जनतालाई भ्रमित पार्नु हो ।”
 गत भदौ १ गते संविधानसभाबाट सदभावना पार्टीले विद्रोह गर्दै राजीनामा गरिसकेका छन् । ६ जना सभाषद रहेको उक्त पार्टीको ४ जना सदस्यले राजीनामा बुझाईसकेपनि एक जना निलम्बित भई ज्यान मुद्दामा जेलमा थुनामा छन् भने अर्को एक जना सभाषद बेपत्ता भएका छन् । समानुपातिक कोटाबाट सभाषद भएकी जनकपुरकी माधवी रानी साहले राजीनामा दिएका छैनन् । उनी अहिले सम्पर्क बाहिर रहेको पार्टी अध्यक्ष राजेन्द्र महत्तोले बताएका छन् । यद्यपि उनी सम्पर्कमा आए लगत्तै राजीनामा दिने महत्तोले बताई रहँदा पनि रुपैयाँको लेनदेनमा सभाषद भएकी साह राजीनामा दिन तयार नरहेको र उम्किन जनकपुर बाहिर इण्डिया तर्फ गएको सर्बसाधारणहरु आँकलन गरिरहेका छन् ।

अनशनको दवावका कारण मधेसी मोर्चाका अन्य घटक दलहरुलाई नैतिक दवाव पर्न थालेको छ । हुन त अनशनकारीलाई अनशन स्थलमै गएर संविधानसभा परित्याग गरिसकेका सदभावना अध्यक्ष महत्तोले भेट गरेका छन् । आफुले त मधेसी जनताको चाहना अनुसार पहिले नै राजीनामा गरेको भएपनि अन्य मोर्चाका नेताहरुले पनि राजीनामा गर्नुपर्ने महत्तोले बताएका थिए ।

मधेसी मोर्चाका घटक दल तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले संविधानसभा अहिले नै परित्याग गर्नुपर्ने बेला नआएकोले समय आए संविधान सभा के ज्यान नै बलिदान गर्नुपरे तयार छौं, जनकपुरमा पत्रकार सम्मेलनमा बताएका थिए । त्यसैगरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सदभावनाले राजीनामा दिनु उक्त पार्टीको स्वतन्त्र निर्णय भएकाले हामीले पनि राजीनामा गर्नै पर्छ भनेर अहिलेसम्म मधेसी मोर्चाको त्यस्तो कुनै निर्णय नभएको बताएका थिए । जनकपुरमा भएको पत्रकार सम्मेलनमा यादवले मोर्चाको निर्णय अनुसार संविधानसभाको सदन र सडक दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने निर्णय मात्र भएको उनले बताएका थिए ।

यसरी हेर्ने हो भने अनशनकारीहरुले गरेको आमरण अनशनको मुद्दा तत्कालै सम्बोधन हुने कुनै छाँटकाँट देखिँदैन । यता अनशनकारीलाई भेट्न धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद रिजाल ११ भदौमा पुगेका थिए । तपाईहरुको माग राज्य समक्ष पु¥याईदिएको छु, अब अनशन तोडिदिनुस भनेर प्रजिअ रिजालले अनशनकारीहरुलाई आग्रह गरेका थिए । तर, राज्य पक्षले बताउँदैमा अनशन नतोडिने संघर्ष समितिका संयोजक सरोज मिश्रले द एक्सक्लुसिभलाई बताएका छन् । यसैबिच १२ भदौ शनिबारसम्म अनशनकारी मधेशानन्दको स्वास्थ्य स्थिति विग्रदै गएको, उनको ब्लडप्रेसर ६५÷१०० रहेको मिश्रले बताए । अब अनशनकारीको माग सुनेर मधेसी मोर्चाहरुले संविधानसभाबाट विद्रोह गरी परित्याग गर्नेछन् वा अनशनकारीहरुको अनशनमै मृत्यु हुने हो भन्ने दुविधा देखिएको छ ।


२०७२ भाद्र १३ गते आईतबार

No comments:

Post a Comment