Wednesday, November 22, 2017

मन्त्री रामकृष्णले लगाउँलान् त ह्याट्रिक ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता तथा कृषि मन्त्री रामकृष्ण यादव प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा लगातार दुई पटक सभाषदमा निर्वाचित भएका मन्त्री यादव तेस्रो पटक ह्याटिूक लगाउन चुनावी मैदानमा ओर्लिएका छन् । उनलाई बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता पुर्व स्थानीय विकास मन्त्री रामचन्द्र झा र संघीय समाजवादी फोरम नेपालबाट उमाशंकर अरगरियाले चुनौति दिईरहेका छन् ।
 विगतमा दुई पटक लगातार चुनाव जित्न सफल भएका यादव तेस्रो पटक पनि चुनाव जित्ने दावी गर्दै क्षेत्रमा मतदाताहरुका बीच घर दैलो कार्यक्रम गर्न व्यस्त देखिएका छन् । विगतमा रहेको संसदीय क्षेत्र भन्दा यस पटकको संसदीय क्षेत्र ठुलो भएको तथा प्रतिद्वन्द्वी पनि हेभीवेटकै रहेका कारण यादवलाई यसपटक वढी नै मिहिनेत गर्नु परेको छ । खासमा बर्तमानमा मन्त्री भएका कारण उनलाई मतदाताहरुले बढी नै प्रश्न गरिरहेका छन् ।
आफु सांसद भएपछि सुगा निकासमा इलाका प्रहरी कार्यालय बनाएँ, बैदेहि चौकीमा प्रहरी भवन निर्माण, इलाका प्रहरी कार्यालय औरहीमा भवन निर्माण, महुलियामा १७ करोड रुपैयाँको सिंचाई परियोजना, दुहवी गोवराही र कर्माहीमा २५ करोड रुपैयाँको सिंचाई परियोजना, महुलिया ननुपट्टीको बीचमा पुल निर्माण, जनकपुर यदुकुहा सडक निर्माण लगायत विभिन्न सडक निर्माण परियोजनाहरु ल्याएको कारण जनताले आफुलाई नै जिताउने भन्ने कुरामा यादव ढुक्क छन् । नेपाली कांग्रेसको संगठन बलियो हुनुका साथसाथै कतिपय स्थानीय तहमा समेत नेपाली कांग्रेस नै निर्वाचित भएका कारण र विगतमा अधिकार प्राप्तिको आन्दोलनमा समेत आफ्नो सक्रिय भुमिका रहेका कारण जनताले आफुलाई नै निर्वाचित गर्ने यादव बताउँछन् ।
यादवको राजनीति यात्रा
रामकृष्ण यादव कक्षा आठमै पढिरहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भए । विशुद्ध अराजनीतिक परिवार, एउटा किसानको परिवारमा जन्मिएका रामकृष्णको उद्देश्य भने राजनीतिमा जाने थिएन । तर, विद्यार्थी भएर पढ्दै जाँदा उनी राजनीति तर्फ आकर्षित भएका थिए । धनुषाको वभनगामा स्थित कन्टिर झा माविमा अध्यनरत रहेको बेला नेविसंघमा आवद्ध भएका बेला देखि नै राजनीतिमा रुचि लिएका थिए । उक्त विद्यालयमा नेविसंघका नेताहरुले विभिन्न कार्यक्रमहरु आयोजन गर्दा नेविसंघको विचारबाट प्रभावित भएका थिए ।
देशमा प्रजातन्त्र स्थापनाको लागि नेविसंघको गठन भएको भन्ने कुरा बुझेपछि रामकृष्ण नेविसंघमा लागे । कक्षा १० मा पुग्दा नेविसंघको उक्त विद्यालयको ईकाई कमिटीको अध्यक्ष नै बने । पञ्चायति व्यवस्थामा त्यतिबेला उनलाई लाग्यो कि देशमा बोल्ने स्वतन्त्रता छैन, संगठन गर्ने स्वतन्त्रता छैन, सत्य कुरा बोल्ने व्यक्तिहरुलाई थुनामा लगिन्थ्यो । २०३५ सालमा एसएलसी दिँदा उनको विद्यालयबाट ३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । जसमध्ये रामकृष्ण पनि एक थिए । २०३६ सालमा जनकपुरको राराब क्याम्पसमा आईएमा भर्ना लिए । क्याम्पसमा पुगेपछि नेविसंघको सक्रिय राजनीतिमा उनी लागे । २०३९ सालमा त्यही क्याम्पसमा नेविसंघको टिकटबाट स्वतन्त्र विद्यार्थी यूनियनका उपसभापति समेत बन्न सफल भए । त्यसपछि २०४० सालमा नेविसंघको जिल्ला सभापति समेत बने । २०४७ सालसम्म उनीे नेविसंघ सभापति भएर काम गरेका थिए ।
२०४६ सालमा पञ्चायति व्यवस्था विरुद्ध भएको आन्दोलनमा विद्यार्थी सभापतिको हैसियतले उनले भारतको पटना, दरभंगा, सितामढी, जयनगर, मधुवनीमा गएर नेपाली विद्यार्थीहरुका बीच संगठन बनाउने काम गरे । किनभने त्यतिबेला बहुसंख्यक नेपाली विद्यार्थीहरु भारतमै गएर पढ्ने गर्थे । २०३६ सालमा भएको जनमत संग्रहमा पनि बहुदलिय व्यवस्थाको पक्षमा उनले सक्रिय भुमिका निर्वाह गरेका थिए । २०४२ सालमा सत्याग्रह हुँदा नेविसंघका सभापतिको हैसियतले राराब क्याम्पसमा आन्दोलनको पक्षमा माहौल बनाउन उनले काम गरे । क्याम्पसमा हडताल गरेपछि ८ महिना जति उनलाई सिन्धुली कारावासमा राखिएको थियो । उनी पक्राउ परेको १ महिना सम्म त घरपरिवारमा कसैलाई जानकारी नै हुन सकेको थिएन । संचार साधनको सुविधा समेत नभएकाले परिवारले केही अतोपतो पाउन सकेका थिएनन् । सिन्धुलीसम्म जाने बाटो पनि बनिसकेको थिएन । जंगल हुँदै कच्चीबाटो बाट सिन्धुली लगिन्थ्यो । यसका अतिरिक्त विभिन्न कार्यक्रमहरु आयोजन हुँदा उनी पक्राउ पर्थे । कि त जिल्ला प्रहरी कार्यालयको थुनामा राखिन्थ्यो कि कारावास पठाईन्थ्यो । यस्तो कुनै महिना हुँदैन्थ्यो कि उनी पक्राउ पर्दैन्थे । २०४६ सालमा भारतको दरभंगामा विद्यार्थी संगठन गरेर फर्केको बेला उनलाई पक्राउ गरी जलेश्वर जेलमा राखिएको थियो । बहुदल आएपछि उनलाई रिहा गरिएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसको मुलधारको राजनीतिमा आए । २०४८ सालमा जिल्ला अधिवेशनबाट धनुषाको क्षेत्र नं. २ को क्षेत्रिय सभापतिमा उनी निर्वाचित भए । त्यतिबेला उनी काठमाण्डौमा स्नातकोत्तरको अध्ययन गरिरहेका थिए । तर, राजनीतिमा व्यस्त भएपछि उनको पढाई कमजोर भयो । दोस्रो जिल्ला अधिवेशनबाट उनी कांग्रेस धनुषाको सचिव र तेस्रो जिल्ला अधिवेशनबाट कांग्रेस धनुषाको सभापति बने । चौथो अधिवेशनमा पुनः उनी दोस्रो पटक सभापति बन्न सफल भए । जिल्ला सुकुम्वासी आयोगको अध्यक्षमा समेत उनी मनोनित भएका थिए ।
२०६४ सालको संविधानसभाको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. २ बाट सभाषद निर्वाचित भएका थिए । त्यसपछि उनलाई व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापति बनाइएको थियो । २०७० सालमा समेत दोस्रो पटक लगातार सोही क्षेत्रबाट सभाषदमा निर्वाचित भएका थिए । अहिले आएर शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी कृषि मन्त्री बन्न सफल भएका छन् ।


२०७४ मंसिर ०३ गते आईतबार

No comments:

Post a Comment