Monday, December 16, 2013

घटेन धनुषामा महिला हिंसा


अजय अनुरागी
जनकपुरधाम............

अधिकांश पिडित महिलाको अध्ययनबाट उनीहरु घरैभित्र वा आफन्तबाट नै हिंसाको सिकार भएका छन र ज्यानै समेत गुमाउनु परेको यथार्थ छ । २६ मंसिर २०७० मा धनुषाको वटेश्वर(८ कोइरी टोल स्थित जोगेन्द्र यादवको छोरा विश्वनाथ यादव (२२) ले आफ्नो श्रीमति वविता देवी यादवलाई घरमा रहेको बञ्चरोले टाउको र घाँटीमा प्रहार गरी विभत्स हत्या गरे । विगतमा पनि ती दुई दम्पत्ति विच पटक पटक झै झगडा भैरहने तथा यादवले श्रीमति बविता माथि घरेलु हिंसा गर्ने गरेको धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका छन । अचम्म त के छ भने श्रीमतिको हत्या गरेपनि घरमा पेस्तोल सहित मुखमा पट्टी बाँधेर आएका १०÷१२ जनाको डाँकाको समुहले लुटपाट गर्नुका साथै श्रीमतिको हत्या गरेर भागेको बताई यादवले अपराध लुकाउन कोशिस गरेपनि प्रहरीले सत्य तथ्य पत्ता लगाई छाडे । प्रहरी उपरीक्षक सुवेदी भन्छन,“ घटनालाई विभिन्न एन्गलबाट अनुसन्धान नगरेको भए हामी कथित फरार डाँकाहरुको खोजिमै रहन्थ्यौं होला । तर घटना स्थलमा डाँका गरेको कुनै प्रमाण नदेखिएपछि मृतकका श्रीमान यादव माथि अनुसन्धान गर्दै जाँदा निजको पाइन्टको गोजिमा रुमालमा प्याक गरेर राखेको मंगलसुत्र बरामद भएपछि घटनाको तथ्य पत्ता लाग्यो ।” श्रीमान र श्रीमति बीच भएको विवादका कारण श्रीमानले श्रीमतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखा परेको प्रहरीले बताएपनि प्रहरी स्रोतकै अनुसार सम्भोग गर्न श्रीमतिले नदिएपछि आवेशमा आएर श्रीमानले श्रीमतिको हत्या गरेको बताइएको छ । जे कारण भएपनि महिलाको हत्या भएको छ र त्यो महिला हिंसा हो । अझ विगतमा पनि श्रीमतिलाई कुटपिट गरी श्रीमानले घरेलु हिंसा गर्दै आएको प्रहरीले बताएकै छ । पुरुषद्वारा महिलाको हत्या धनुषामा नौलो होइन । आर्थिक वर्ष २०६७÷०६८ देखि २०६९÷०७० सम्म क्रमशः ३ वर्षमा धनुषामा ८, ७ र ८ गरी कुल २३ जना महिलाको हत्या नै भइसकेको छ भने ५ जना महिलालाई हत्या गर्ने प्रयास गरिएको छ ।
६ वर्ष देखि एक बालिका बलात्कृत हुदै

महिलामाथि हुने गरिएको हिंसाको विरुद्धमा चारै तिर आवाज उठिरहेको अवस्थामा धनुषामा एक १२ वर्षयि बालिका करिब ६ वर्ष देखि आफनै गाउका एक ठालुको बलात्करको सिकार बन्दै आएका छन । गरिबीका कारणले धनुषाको ढल्केवर एरियामा साहुको घरमा काम गरेर बस्दै आएकी ति बालिकालाई तिन जनाले ६ वर्ष देखि बलात्कार गर्दै आएको रहस्य सार्वजनिक भएको छ । घटना सार्वजनिक भए पछि इलाका प्रहरी कार्यालय ढल्केवरले तिनै जानलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएका छन । जस मध्ये एक जना ६० वर्ष उमेरका समेत रहेका छन । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक मिलन केसीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा पुष्पवलपुर ८ का चन्द्रबहादुर हेमजन,सोही गाविसका गोविन्द बल र ज्ञानबहादुर घिसिंग रहेका छन । उनीहरुको विषयमा अदालतमा मुद्दा दायर भईसकेको केसीले जानकारी दिनु भयो । गरिबी र विपन्नताको कारणले गर्दा महिलामाथि बलात्कार जस्तो घटनाहरु दिनप्रतिदिनबढदो रहेको छ । कस्तो अचम्म मुलुकमा जमिन्दारी प्रथा अन्त भइसक्यो तर काम गर्ने बालिका कामदार माथि यौन शोषण र बलात्कार त्यो पनि ६ वर्ष उमेरकी एक गरिवकी छोरीलाई लगातार ६ वर्षसम्म बलात्कार गर्ने राक्षसहरु समाजमा हावी भइरहेको अवस्था छ । धनुषामा आर्थिक वर्ष २०६७÷०६८ मा ४ जना, २०६८÷०६९ मा ६ जना र २०६९÷०७० मा ६ जना गरी तीन वर्षमा कुल १६ जना महिलालाई बलात्कार गरेको प्रहरीमा मुद्दा दर्ता भएको छ । यस वर्ष २०७० को  श्रावण देखि मंसिरसम्म कुल ६ वटा बलात्कारको मुद्दा दर्ता भइसकेको छ । बलात्कारको अभियोगमा पिडित महिलाले उजुरी गरेपनि अदालतमा गएर बलात्कार पुष्टि हुन नसक्दा अभियुक्त छुट्ने गरेका छन ।
पितृसत्तात्मक सामाजिक संरचना, सोच, व्यवहार, परम्परागत मुल्यमान्यताको कारणले महिला र पुरुष विच रहेको असंतुलित शक्ति सम्बन्ध छ । सामाजिक क्षेत्र महिलाको न्युन स्थान, राज्यद्वारा नै निर्मित भेदभाव पुर्ण कानुन, विभेदकारी रीतिरिवाज र वैवाहिक परम्परा, अशिक्षा र कम शिक्षाका कारणले महिला भएकै कारणले लैङ्गिक हिंसा हुने वढी खतरा देखिएको छ । लिङगमा आधारित महिला विरुद्धको हिंसा लैङ्गिक भेदभावको प्रमुख एउटा रुप हो । लैङ्गिक हिंसा भन्नाले कुनै पनि व्यक्ति उपर उसको लिङगको आधारमा भेदभाव गरी गरिने सम्पुर्ण व्यवहार र कामहरु हुन, जसले उक्त व्यक्तिलाई पिडा हुन्छ । शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना आदि जस्ता पिडा पु¥याउने काम र व्यवहारहरु हिंसा भित्र पर्दछन । साथै अन्य प्रकारका दुरव्यवहार, शारीरिक चोटपटक, धाक धम्कीको प्रयोग, भय, त्रास र डर देखाउनु, बल प्रयोग गर्नु, जवरजस्ती गर्नु, अपहरण गर्नु, सताउनु, वा कुनै पनि प्रकारबाट दुःख दिनु, चाहे त्यो बोलेर होस् वा जिस्काएर अपमानित गरिन्छ भने त्यो हिंसाको दायरा भित्र पर्दछ ।
    धनुषामा आर्थिक वर्ष २०६७÷०६८ मा १ सय ३८, २०६८÷०६९ मा २ सय ३ र २०६९÷०७० मा २ सय ८९ थान महिला हिंसाको मुद्दा दर्ता भएको छ । प्रहरी कार्यालय सम्म पुगेको तथ्याङक मात्र त्यति हो । कतिपय घटनाहरु लोकलाज र प्रतिष्ठाका कारण प्रहरीसम्म पुग्दैन । समाजमै घटनालाई दवाइन्छ । आर्थिक वर्ष २०७०÷०७१ को श्रावण देखि मंसिर मसान्त सम्मका  घरेलु हिंसाको १ सय ५३ थान मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भइसकेको छ । आर्थिक वर्ष सकिएपछि उजुरी विगतको वर्षभन्दा दुई गुणा वढी हुन सक्ने देखिन्छ । घरेलु हिंसाकै कारण समाजमा महिलाहरुले प्रतिवाद गर्नुको सट्टा शोषण सहन नसकेर आत्म हत्या गरी आफ्नो जीवन नै उत्सर्ग गर्ने प्रवृति धनुषामा व्यापक देखिन्छ । महिला विरुद्ध हिंसा हुने र उक्त हिंसा गर्ने विरुद्ध कारवाही नहुँदा महिलाहरुको आत्महत्या गर्ने डर दिनानुदिन वृद्धि हुँदै गइरहेको छ । आर्थिक वर्ष २०६७÷०६८ मा विष सेवन गरेर २३, झुण्डीएर १० र डुवेर १ गरी कुल ३४ जना महिलाले धनुषामा आत्महत्या गरेको देखिन्छ । आर्थिक वर्ष २०६८÷०६९ मा झुण्डीएर १५ जना र २०६९÷०७० मा ६ जना महिलाले आत्महत्या गरेको देखिन्छ ।
देशै भरी महिला हिंसाविरुद्ध उजुरी बढ्दै, पाँच वर्षमा दोब्बर

महिलाहरूमा आफूमाथि भइरहेको हिंसाविरुद्ध आवाज उठाउँदै              न्यायका लागि सरोकारवाला निकायको ढोका ढक्ढक्याउने क्षमता विगतभन्दा बढेको छ । विभिन्न सरोकारवाला निकायमा महिलाले दायर गरेका उजुरीको बढ्दो संख्याले यस्तो स्थिति देखाएको हो । खासगरी नेपाल प्रहरी, जिल्ला अदालत र राष्टिूय महिला आयोगमा पाँच वर्षयता दर्ता भएका उजुरी र मुद्दा झन्डै दोब्बर बढ्नुले महिलाहरूमा न्याय खोज्ने क्षमता वृद्धि भएको देखिन्छ ।
महिला प्रहरी केन्द्रीय विभाग नक्सालमा पाँच वर्षयता उजुरी संख्या दोब्बर पुगेको छ । आर्थिक वर्ष २०६४ र ०६५ मा घरेलु हिंसासम्बन्धी ८ सय ८१ उजुरी परेकामा २०६९ र ०७० मा १ हजार ८ सय पुगेको विभागले जनाएको छ । विभागकै रेकर्डअनुसार पाँच वर्षअघि ३ सय ९ वटा बलात्कारका उजुरी परेका थिए । अहिले यो दोब्बर अर्थात ६ सय ७७ पुगेको छ । यसैगरी बहुविवाहको उजुरी १ सय २२ बाट बढेर ३ सय ५० पुगेको छ । कालिमाटीस्थित महिला तथा बालबालिका सेलका प्रमुख सुशीला प्रधान पछिल्लो समय हिंसापीडित महिलाहरूमा उजुरी गर्ने आत्मबल बढेको बताउँछिन । घरेलु हिंसाका धेरै घटना हामीकहाँ आउने गरेका छन, उनले  भनिन, ‘श्रीमानले रक्सी सेवन गरी कुटपिट गरेको, अर्की महिलासँग अवैधानिक सम्बन्ध राखेको, खान(लाउन नदिएको जस्ता घटनामा बढी उजुरी परेका छन ।’
    प्रधानका अनुसार महिला हिंसाविरुद्ध चेतना विकास हुँदै गएकाले उजुरी आउने क्रम बढेको हो । महिलासम्बन्धी मुद्दामा सञ्चालित गैरसरकारी संघ(संस्थाका अभियान, न्याय सम्पादनमा आएको गतिशिलता लगायत कारणले पनि जागरुकता बढेको उनले बताइन्। महिला प्रहरी सेलको संख्या वृद्धिलाई उनी अर्काे मुख्य कारण मान्छिन । जिल्ला अदालत काठमाडौंमा तीन वर्षयता परेका मुद्दाको संख्याले पनि महिलामा उजुरी गर्ने क्षमता बढ्दै गएको देखिन्छ । अदालतमा २०६७र६८ मा ९ सय ७८ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका थिए ।
    २०६८ र ०६९ मा यो संख्या बढेर १ हजार ७ सय ४५ पुगेको थियो । त्यसको एक वर्षपछि २०६८र६९ मा १ हजार ८ सय २४ पुग्यो। घरेलु हिंसातर्फ २०६७र६८ मा १४ वटा मुद्दा परेकामा २०६८ र ०६९ मा १७ हुँदै २०६९ र ०७० मा २० पुगेको छ ।
राष्टिूय महिला आयोगले पनि हिंसापीडित महिला न्यायका लागि उजुरी गर्न आउने चलन बढ्दै गएको जनाएको छ । आयोगमा आर्थिक वर्ष २०६८ र ०६९ मा ४ सय ३० वटा महिला हिंसाका उजुरी परेका थिए । त्यसको अर्काे वर्ष ३ सय ६९ वटा परे । आयोगको पछिल्लो तथ्यांक अर्थात सन २०१३ मा मात्र १ सय ४३ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेका छन । महिलामाथि हुने विभिन्न हिंसामध्ये घरेलु हिंसाका घटना बढी भेटिएका छन । विभिन्न सरोकारवाला निकायमा परेका उजुरी हेर्दा घरेलु हिंसा सबभन्दा बढी देखिन्छ । हालै कृपा तथा युसिएल नामक अन्तर्राष्टिूय गैरसरकारी संस्थाले गरेको अध्ययनले घरेलु हिंसाको उजुरी बढी आउने गरेको देखाएको थियो । राष्टिूय महिला आयोगकी सदस्य महना अन्सारी महिलामा हिंसा सहने धैर्य कम हुँदै गएकाले हिंसाविरुद्ध उजुरी गर्ने चलन बढेको बताउँछिन । हिंसा सहने क्षमतामा परिवर्तन आउँदैछ,्ु उनले भनिन, ‘पहिलेजस्तो अहिलेका महिला आफूमाथि हिंसा हुँदा पनि टुलुटुलु हेरेर बस्दैनन्। न्यायको निम्ति लड्न सक्षम छन ।’ उनका अनुसार महिलामा बढ्दै गएको अधिकारप्रति सचेतना, मोबाइल, टेलिभिजन, पत्रपत्रिकाजस्ता सूचनाका माध्यम, एकै ठाउँ भेला भएर छलफल गर्ने संस्कृतिको विकासजस्ता पक्षले हिंसाविरुद्ध उजुरी गर्ने चेतना बढेको हो । २०६२ र ०६३ को जनआन्दोलनपछि महिलामा अधिकार चेतना तीव्र भएको अन्सारीको ठम्याइ छ । महिलाहरूमा दमित भएर बस्ने धैर्य कम हुँदै गएको छ,्ु उनले भने, ‘महिलाहरूमा बढ्दो आत्मनिर्भरता, जनचेतनाजस्ता पक्षले उजुरी गर्ने चलन बढेको छ । तर, उजुरीको संख्या बढे पनि न्याय पाउनमा खासै सुधार हुन नसकेको सरोकारवालाहरूको अनुभव छ ।’
    गाविस तथा इलाका प्रहरीले महिला हिंसाका घटनालाई सामान्य रूपमा लिने प्रवृत्तिले उचित न्याय पाउनमा समस्या खडा गरेको आयोग सदस्य अन्सारी बताउँछिन । ‘घरेलु हिंसासम्बन्धी कडा कानुन अभावमा यस्ता घटनाले प्रश्रय पाउने गरेको छ’ उनले भनिन, ‘गाविस तथा प्रहरीले घरभित्रकै झगडा भन्दै पठाउने गर्छन, घर पुगेपछि फेरि श्रीमानले कुटपिट गर्न थाल्छ ।’ घरेलु हिंसासम्बन्धी कानुन कडा बनाउन सके यस्ता घटना कम हुँदै जाने उनको ठहर छ । महिला सेल प्रमुख प्रधान पनि घरेलु हिंसासम्बन्धी कानुन पर्याप्त नभएकैले उचित कारबाही हुन नसकेको बताउँछिन ।
    ‘पीडित महिला पीडकलाई थुनेर कारबाही अघि बढाइयोस भन्ने आशा राख्छन तर ऐनमा थुनेर कारबाही गर्ने व्यवस्था नै छैन, उनले भनिन । समाजशास्त्री नीति अर्याल उजुरी बढ्नुलाई महिलामा विकास हुँदै गएको सचेतना मान्छिन । सञ्चार माध्यम, सरकारी तथा गैरसरकारी तवरबाट यस क्षेत्रमा भएका गतिविधिको प्रभावले महिला चेतना बढेको उनको विश्लेषण छ । उजुरी बढे पनि पीडितले पूर्ण न्याय पाउन नसकेको कुरा भुल्न नहुने उनी तर्क गर्छिन । कारबाहीमा हुने ढिलाइ, कानुनी प्रक्रियामै हुने ढिलाइजस्ता पक्षले उचित न्याय पाउन नसकेको स्थिति छ, अर्यालले भनिन, ‘प्रहरीको मानसिकताले पनि पीडित महिलाले न्याय पाउन सकेका छैनन ।’उनका अनुसार घरेलु हिंसालाई घरभित्रकै समस्याका रूपमा लिने पुरानै प्रवृत्ति अहिले पनि कायम छ । ‘
    सबै घटना एउटै तह र प्रकृतिका हुँदैनन, तर प्रहरीको हेर्ने नजर एउटै हुन्छ,्ु उनले थपिन, सम्बन्ध धेरै नै बिगे्रपछि उजुरी गर्न पुगेकालाई प्रहरीले मिलेमतो गरेर पठाइदिन्छ । यसरी जबर्जस्ती मिलाएर पठाउँदा थप हिंसा र अपराध बढेर जाने उनले बताइन । यौनजन्य हिंसामा समाज तथा अन्य निकायले उल्टै महिलालाई दोषी ठर्हयाउने प्रवृत्ति कायम रहनुले पनि महिलाले उचित न्याय पाउन नसकेको अर्यालको तर्क छ ।

मिति ः २०७०÷८÷३०

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete