Tuesday, December 10, 2013

सकियो राजन मुक्तिको त्रास


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

“फोन रिसिभ करनेमे आपको दिक्कत होती है तो मुझे आपको गोली मारनेमे भी कोइ दिक्कत नही होगी ” राजन मुक्ति उपनाम रहेको रञ्जित झाले जनकपुरका व्यापारी, कर्मचारी, चिकित्सक लगायतका वर्गहरुलाई मोवाइलमा एसएमएस गरी चन्दा दिनका लागि यसरी नै धम्की दिने गर्दथे । धनुषाका लक्ष्मीपुर बगेवा(७ का विद्यानन्द झाका छोरा रञ्जित झा उर्फ राजन मुक्तिको नाउँ सुन्ने वित्तिकै सिंगो तराईमै मान्छे थरकमान हुन्थे । किनभने मान्छेको अपहरण, हत्या, जग्गा कब्जा, डकैती, चन्दा, धाक धम्की दिनु उनको लागि सामान्य कार्य थियो । मधेस आन्दोलन हुनु अगाडीसम्म नेपाल सदभावना पार्टी ‘आनन्दी देवी’ सम्वद्ध युवा मन्चको केन्द्रिय सदस्यको जिम्मेवारी पाएका झा २०६३ माघ देखि सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहमा आवद्ध भई धनुषा जिल्लाको इन्चार्जको भुमिका पाएर भुमिगत जिवन विताउन थाले । उक्त जिम्मेवारी पाएपछि जग्गा कब्जा गर्ने, मान्छे मार्ने तथा अपहरण गर्ने क्रिया कलापलाई बढावा दिन थालेपछि उनी धनुषा इन्चार्जका साथै केन्द्रिय सदस्यको जिम्मेवारीमा वढुवा भए । पछि २०६५ सालमा आर्थिक हिनामिना गरेको भन्दै झाले ज्वाला सिंह अध्यक्ष रहेको नागेन्द्र पासवानलाई पोलिटव्यूरोको वैठकबाट बहुमत सदस्यले अध्यक्षबाट पासवानलाई निस्काशन गरी आफै अध्यक्ष( सुप्रिम कमाण्डर) रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेको दावी गरेका थिए ।
उर्दी जारी गर्न माहिर ‘राजन मुक्ति’
२०७० अषाढ १ गते देखि तिन चरणमा भारत बिहारको अज्ञातस्थलमा भएको एक साता लामो छलफलपछि १२ वटा सशस्त्र समुहहरु बीच एकता भई उनी सुप्रिम कमाण्डर बनाइएका थिए । एकिकृत हुने समुहहरुमा भाष्कर मुक्ती नेतृत्वको तराई कम्युनिष्ट पार्टी, प्रशान्त नेतृत्वको तराई राष्टिूय मुक्ती मोर्चा, जीवन मधेशी नेतृत्वको मधेशी मुक्ती टाइगर्स, विप्लव नेतृत्वको तराई संयुक्त जनतान्त्रिक पार्टी, सञ्जय त्यागी नेतृत्वको क्रान्तिकारी मधेशी मुक्ती मोर्चा, दिवेश  नेतृत्वको तराई मधेश आर्मी, अभिनव चौधरी नेतृत्वको तराई मुक्ती मोर्चा, करण सिंह नेतृत्वको तराई मधेश जनतान्त्रिक पार्टी, भैरव मधेशी नेतृत्वको तराई मधेश बागी, भैरव थारु नेतृत्वको तराई मधेश गणतान्त्रिक सेना र रुद्र बिद्रोही नेतृत्वको मधेश रक्षा दल रहेका थिए । राजन मुक्तिको नेतृत्वमा सम्पन्न एकता पछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तीमा १५ दिन पश्चात गोडिलावार सँगै सम्पुर्ण तराई मधेसमा जनमिलिसिया नीति एवम् अत्याधुनिक हतियारले लय्स सैन्य दास्ता परिचालन गर्ने÷गराउने निर्णय गर्नुको साथै सम्पुर्ण मधेसमा नेपाल सरकारको स्थापित नेपाल पुलिस, सशस्त्र क्याम्पको वरिपरि कम्तिमा दुईसय मिटर भित्र वसेको बस्ती, टोला, मोहल्ला र घर १० दिन भित्र खाली गर्न उर्दी नै जारी गरिएको थियो । हिजोसम्म मधेसमा खुल्ला राजनीति गर्ने मधेस केन्द्रित राजनीतिक दलहरुलाई टारगेट नगरिएपनि अब आगामी दिनमा तिनीहरु विरुद्ध पनि आक्रामक कारवाही गर्ने चेतावनी विज्ञप्ती मार्फत दिइएको थियो । दोस्रो संविधानसभाको चुनाव बिथोल्ने, तराईमा सक्रिय अन्य सशस्त्र संगठनलाई पनि एकताको आह्वान गर्ने सहमति गरेका छन् । मोर्चाले अघिल्लो संविधानसभा चुनावमा सहभागी भएर सरकारमा गएका उपेन्द्र यादव, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवलगायतलाई मधेसको ‘गद्धार’ भन्दै उनीहरूका कार्यक्रम बहिष्कार गर्ने जनाएको थियो ।     त्यस्तै, मधेसी दलहरूले तराईमा राखेका कार्यालय तत्काल खाली गर्न पनि मोर्चाले चेतावनी दिएको थियो । मोर्चाको बैठकले मधेसमा रहेका प्रहरीचौकी तथा सशस्त्र प्रहरीका शिविर १५ दिनभित्र खाली गर्नसमेत अल्टिमेटम दिएको थियो । ती चौकीको दुई सय मिटरवरिपरि रहेका बस्ती १० दिनभित्र खाली गर्न पनि मोर्चाले चेतावनी दिएको थियो ।
विज्ञप्तिमा तराई केन्द्रीत दलहरु मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल र सदभावना पार्टीलाई सात दिन भित्र पार्टी कार्यालय बन्द गर्न धम्की दिएको थियो । मंसिर ४ गते आव्हान गरिएको संबिधान सभाको चुनाव बिथोल्न सकृय भएर लाग्ने जनाउदै विज्ञप्तिमा तराइमा रहेका प्रहरी र सेनाहरुलाई १५ दिन भित्र तराई छाडन भनिएको थियो ।
राजन मुुक्तिको उक्त धम्की पश्चात महोत्तरीको मनराकट्टीका चार जनालाई गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए भने महोत्तरीको जलेश्वर स्थित फोरमका कार्यालय सचिव प्रगास साहलाई पनि गोली हानी हत्याको प्रयास गरेका थिए । उक्त घटना पश्चात फोरमका अध्यक्ष उपेन्द्र यादवले आफुहरुको सुरक्षा व्यवस्था मिलाउन भनी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी कहाँ ज्ञापन नै बुझाएका थिए । संविधानसभा निर्वाचन विथोल्नका निम्ति योजना बनाइरहेकै अवस्थामा राजन मुक्तिका सार्प सुटर दिपक सिंह र चुनावको पुर्व संध्यामा राजन मुक्तिलाई नै प्रहरीले पक्राउ गर्न सफल भएपछि उनीहरुको चेतावनीलाई प्रहरीले विफल तुल्याएको हो ।
यसरी पक्राउ परे ‘राजन मुक्ति’
२ मंसिर २०७० मा पर्साको ठोरी(५ बाट धनुषा प्रहरी, पर्सा प्रहरी र सिमावत्र्ती भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका राजन मुक्तिलाई प्रहरी प्रधान कार्यालयमा बुझाई सिआइबीको टोलीले अनुसन्धान प्रक्रिया सुरु गरेको भएपनि ५ मंसिरमा जनकपुर ल्याइएका उनलाई १२ मंसिरमा धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनलाई भारतको पटनामै पक्राउ गरिएको बताइएपनि धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले त्यससम्बन्धमा ठोस जवाफ दिन चाहेनन ।
पत्रकार उमा सिंहको हत्यामा संलग्न उमेश यादव कैलालीबाट पक्राउ परेपछि राजनको नजिक पुग्न प्रहरी सफल भएको थियो । उमेशको बयानको आधारमा राजनका सार्प सूटर महोत्तरी बथनाहाका अजय मुक्ति भनिने दीपक सिंह पक्राउ परे । जसले राजनबारे धेरै सूचना प्रहरीलाई दिए ।
तिनै सूचनाको आधारमा २९ कातिक साँझ नारायणी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको टोली भारतको पटना पुग्यो । भारतीय प्रहरी अधिकारीहरूसँगको समन्वयले राजनलाई पक्राउ गर्न सहयोग पुगेको बताउँदै वरिष्ठ प्रहरी उपरीक्षक खनाल भन्छन,‘पटनाका डीआईजी लगायत अधिकारीहरूसँग अनौपचारिक वार्ता गरेपछि राजनलाई पक्राउ गर्ने योजना बनायौं ।’ १ मंसीर दिउँसो नेपाल प्रहरीको टोलीले राजनलाई फोन गरेर पटनाको गान्धी मैदानमा बोलायो। आफ्नै सहयोगीले बोलाएको भन्ने ठानेर निर्धक्क गान्धी मैदान आउँदै गर्दा राजनलाई भारतीय प्रहरीले बाटोमै पक्राउ र्गयो । त्यो दिन र रात थुनामा राखी सोधपुछ गरेपछि भारतीय प्रहरीले उनलाई भोलिपल्ट नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो ।
भारतको मोतीहारीका एसपी विनय कुमार, पटनाको एसटीएफका डीआईजी अमित कुमार, भारतीय इन्टेलिजेन्स ब्यूरोका एसपी परेश सक्सेना र पूर्वी तथा पश्चिमी चम्पारणका एसपीले राजनको खोजी गर्न नेपाल प्रहरीलाई सहयोग गरेका थिए । मोतीहारीका एसपी विनय कुमार भन्छन, “उनलाई खोजी गर्न यहाँ हामीले धेरै प्रयास गरेका थियौं ।” मोतीहारीमा प्रहरीले व्यापक खोजी गरेको थाहा पाएपछि एक वर्षदेखि राजन पटनामा बस्दै आएका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा हालसम्म ३१ वटा घटना अन्तरगत कर्तव्य ज्यानको १२ वटा घटनामा १६ जनाको मृत्यु भएको, ७ वटा ज्यान मार्ने उद्योगको घटनामा ४३ जना घाइते भएको, ५ वटा विस्फोटनको घटनामा, र २ वटा डाँकाको घटनामा फेला परेको भन्दै धनुषा प्रहरी प्रमुख सुवेदी भन्छन,“पहिलो पटक धनुषामा कुनै व्यक्ति विरुद्ध संगठीत अपराध ऐन अन्तरगत हामी मुद्दा चलाउने छौ । ६० दिन सम्म प्रहरीको हिरासतमा राखि अनुसन्धान गर्न पाउने उक्त ऐन अन्तरगत कसुर ठहर भएमा दण्ड सजाय डेढ गुणा वढी हुन्छ । उनको निर्देशनमा थुप्रै व्यक्ति मिलेर संगठित अपराध गरेको हामी सँग प्रमाण पनि छ ।”
जनकपुर बम काण्डका योजनाकार
१८ बैशाख २०६९ मा जनकपुर ८ स्थित रामानन्द चौकमा मिथिला राज्य सुनिश्चितताका माग गर्दै गरिएको शान्तिपुर्ण आन्दोलनमा गराइएको बम विस्फोटनमा परि ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी राजन मुक्तिको समुहले पनि लिएको थियो । प्रहरीका अनुसार उक्त विस्फोटमा  मुक्ति बाहेक तराई मधेस लिवरेशन फ्रन्ट, विद्यार्थी लिवरेशन फ्रन्टका अर्जुन सिंह भनिने मुकेश चौधरी, तराई कोवराका नागराज भनिने उमेश तिवारी र मधेस मुक्ति टाइगरका राजन प्रताप भनिने प्रफुल्ल यादवको संलग्नता रहेको हो ।
राजन मुक्तिमाथि ३१ घटनाको अभियोग
२० अषाढ २०६४ मा राष्टिूय धान बाली कार्यक्रम हर्दीनाथका प्रावधिक सिरहा मलहनिया २ का राजकुमार जोशीलाई अपहरण गरी धनुषाको गोपालपुर ८ स्थितमा लगि राजन मुक्ति समेतका ६ जनाले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ । ३२ साउन २०६४मा धनुषा वटेश्वर ९ बस्ने लालबहादुर लामाको घरमा राजन मुक्तिकै कमानमा हतियारसमेत लिई आएका डाँकाहरुले लामालाई कुटपिट गरी घाइते बनाउनुको साथै घरबाट डाँका गरेको प्रहरीले आरोप लगाएको छ । ६ कार्तिक २०६७ मा धनुषाको जिल्ला मालपोत कार्यालयमा बम विस्फोट गराएको, ११ कार्तिक २०६७ मा जिल्ला शिक्षा कार्यालय जलेश्वरका शाखा अधिकृत लालकिशोर झालाई जनकपुर ७ मा गोली प्रहार गरी हत्या गरेको, ३२ साउन २०६४ मा धनुषा लक्ष्मीनिया ४ का गहेन्द्र कुमार श्रेष्ठको घरबाट रु ३ लाख २५ हजार ५सय बराबरको धनमाल डाँका गरी लगेको प्रहरीको आरोप छ । त्यसैगरी १९ मंसिर २०६५ मा जनकपुर ४ बस्ने इन्जिनियर कृष्ण कुमार मिश्रलाई गोली प्रहार गरि हत्या गर्ने प्रयास गरेको, ३० मंसिर २०६५ मा कुमार निरौलालाई गोली प्रहार गरी हत्या गरेको, २१ बैशाख २०६२ मा जनकपुर १ घर भई जनकपुर चुरोट कारखाना लिमिटेडमा कार्यरत कर्मचारी श्रवण कुमार श्रेष्ठ अपहरण गरी छातीमा गोली हानी हत्या गरेको, ६ असोज २०६५ मा धनुषा महेन्द्रनगर ७ स्थित हिमालयन पलाई इन्डस्टिलीजमा गार्डको काम गर्ने सखुवा महेन्द्रनगर १ का कुमार खडकालाई गोलि हानी हत्या गरेको, २३ भद्रै २०६६ मा जनकपुर ११ का रामप्रसादसाहलाई गोली प्रहार गरी हत्या गर्ने प्रयास गरेको, १४ माघ २०६४ मा धनुषा दिगम्बरपुर ५ का मदन मुक्ताङलाई गोली प्रहार गरी हत्या गरेको, १२ अषाद २०६५ मा जनकपुर ४ मा डेरा गरी बस्ने जनकपुर नगरपालिकाका अभरसियर पदमा कार्यरत रौतहट इनरवा बारी ७ का जितेन्द्र साहलाई गोली हानि हत्या गरेका प्रहरीले आरोप लगाएको छ । ३ अषाढ २०६५ मा धनुषा गोदार स्थित महेन्द्र राजमार्गमा क्रसर मिलमा कार्यरत मदन जोशी र लक्ष्मण दास मोटरसाइकलमा गइरहेको अवस्थामा बम प्रहार गर्दा लक्ष्मण दासको मृत्यु भएको २६ भदै्र २०६४ मा धनुषाको बघचौडामा रहेको राज इट्टा उद्योगमा कार्यरत केदार कटुवाललाई इट्टा उद्योगबाट अपहरण गरी कञ्चटमा गोली हानी हत्या गरेको, २३ फागुन २०६४ मा जनकपुर चुरोट कारखाना अगाडी जनकपुर १४ बस्ने बिजय गुरुङ र सुगुरजोडा बस्ने भोला यादवलाई गोली हानी घाइते बनाएको प्रहरीको आरोप छ । २० अषाढ २०६५ मा जनकपुरको रघुपति होटलमा सुतली बम विस्फोट गराएको, २६ अषाढ २०६५ मा जनकपुरमा केयर नेपालको कार्यालय अगाडी सुतली बम विस्फोट गराएको, र २ मंसिर २०६५ मा जनकपुर २ स्थित डा. कल्पना बछाडको नसिंङ होम अगाडी सुतली बम विस्फोट गराएको प्रहरीको दावी छ ।
    २०६७ सालमा सिरहामा तत्कालिन नेकपा माओवादीका व्यूरो सदस्यलाई गोली प्रहार गरेको, २०६५ सालमा एमाले सर्लाही जिल्ला कमिटी सदस्यलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । त्यसै गरी ५ अषाढ २०७० मा महोत्तरीको मनरा गाविसमा अजय कुमार सिँंह र उनको श्रीमति सोनाम सिंहलाई गोली प्रहार गरी घाइते बनाएको, १० श्रावण २०७० मा महोत्तरीको जलेश्वरमा मधेसी जनअधिकार फोरमको पार्टीका सचिव प्रगास साहलाई गोली प्रहार गरी घाइते बनाएको, २ अषाढ २०७० मा मनरा गाविसमा विकास कुमार सिंह र शैलेन्द्र मण्डल माथि गोली प्रहार गरी घाइते बनाएको प्रहरीले आरोप लगाएका छन ।
वार्तामा आएर फिर्ता
राजन मुक्तिको आतंक वढदै गईरहेको अवस्थामा धनुषा प्रहरीले दवाव दिन उनको पारिवारीक सदस्यहरुलाई समेत गिरफ्तार गर्न थाल्यो । यसै क्रममा राजन मुक्तिका बुबा विद्यानन्द झा, राजन मुक्तिका दाई सदभावना पार्टीका भातृ संस्था मधेस रक्षा बाहिनी धनुषाका संयोजक समेत रहेका मनोज मुक्ति र राजन मुक्तिका धनुषा इन्चार्ज अविनास मुक्तिका बुबालाई गिरफ्तार गरेका थिए । राजन मुक्तिलाई कि त पक्राउ गर्ने कि त परिवार मार्फत दवाव दिएर वार्तामा आउन बाध्य पार्ने प्रहरीको रणनीति थियो । त्यही बेला संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका वार्ता टोलीका संयोजक कौटिल्य शर्माको मध्यस्ततामा राजन मुक्तिलाई वार्तामा ल्याउने अनौपचारिक सहमति पश्चात धनुषा प्रहरीले राजन मुक्तिका परिवारहरुलाई रिहा गरेका थिए । रिहा गरेको एक साता पछि २६ पुस ०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह)  सरकारसँग वार्तामा बसेको थियो । उत्कर्ष मुक्ति उपनाम रहेका राजीव झाको संयोजकत्वमा राजन मुक्तिका दाजु मनोज झा सहित तीन सदस्य वार्तामा आएको थियो । वार्तामा राजन मुक्ति आफै भने सार्वजनिक भएनन । पक्राउ परेका कार्यकर्ताहरुलाई रिहा गर्नुपर्ने , मोर्चाका कार्यकर्ताहरु माथि लगाईएको मुद्दा फिर्ता लिनु पर्ने लगायतका मुद्दा राज्यले सम्बोधन नगरेको भन्दै वार्ता प्रक्रियालाई भंग गर्दै मनोज मुक्ति पुनः भुमिगत भएभने राजीव झा शान्तिपुर्ण राजनीतिमा सक्रिय भए ।पुनः भुमिगत हुँदा राजन मुक्तिले आफ्ना आमा बुवालाई समेत गाउँबाट विस्थापित गराई भारतमा लगेका थिए । अहिले मनोज मुक्ति अलग्गै पार्टी तराई कम्यूनिष्ट पार्टी गठन गरेर भुमिगत रहेका छन ।


 मिति ः २०७०÷०८÷२३

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete