Tuesday, December 10, 2013

काराबासमा मुसो र चिप्लेकिरा खाएर बाँच्यौं–अरबिन्द ठाकुर



जीउँदो शहीद अरविन्द ठाकुर

सहीद दुर्गानन्द झा सँग पक्राउ परेका अरविन्द ठाकुर गत सोमबार निधन भएको छ । लामो सयम देखि ढाडको समस्याबाट पिडित ठाकुरको काठमाडौमा उपचारको क्रममा मृत्यु भएको हो । उनको श्रद्धाञ्जली स्वरुप १४ माघ २०६८ मा ठाकुरसँग ‘द एक्सक्लुसिभ’ का सम्पादक अजय अनुरागीले गरेको वार्ताको सम्पादित अंश पुनः जस्ताको त्यस्तै प्रकाशन गरिएको छ ः

तपाँइलाई नेपाली काँग्रेसले वा मानिसले जिउँदो शहीद भनेर किन भन्छन ?
म पनि अनभिज्ञ छु यस बारेमा कि मलाई मानिसले किन जिउँदो शहीद भन्छन् । मैले देश र जनताको हितको लागि निरंकुश राजको दासत्वबाट मुक्तिको लागि मैले र दूर्गानन्दजी ले त्यसबेला बलिदान दिन चाहें ।
मैले भगतसिंहबाट प्रेरणा पाएर बलिदान दिन तयार भएँ । बलिदान दिएको ५० वर्ष पछि राजतन्त्र समाप्त भयो । म बाँचेको छु त्यो मेरो लागि सुखद क्षण छैन् । किनभने जुन मूल्य र मान्यताको लागि, देशको हितको लागि, स्वतन्त्रताको लागि हामीले जुन लडाई लड्यौं आज त्यही स्वतन्त्रता समाप्त छ । राजनीतिमा यति अराजक, हिंसा विकृती र उदण्डता छ की जनता अब वाक्क भइसकेको छ । जुन जनताको सहयोगबाट हामीले जुन राजालाई नालायक भनेर हटाइदियौं र आज जुन राजनीतिक अवस्था छ त्यसमा त्यही राजाले औंला ठडयाईरहेको छ । त्यो भन्दा दुःखद, घिनलाग्दो र निर्लज्ज के हुन सक्छ । हामीले यसको लागि लडेका थिएनौं । जनता स्वतन्त्रपुर्वक स्वाभिमानका साथ बाँच्न पाओस, राणाकाल, राजतन्त्रबाट जनता शोषित थिए, त्यसबाट उन्मुक्ति पाई जनता समृद्ध होस त्यसका लागि लडेको हो । जनताले स्वतन्त्रताको उपभोग गर्न पाऊन ।
दूर्गानन्द झा ले राजाका सामु माफी मागेनन् र उनलाई मृत्यूदण्ड दिइयो र तपाईले माफी माग्नु भयो र तपाईलाई रिहा गरियो भनेर पनि भनिन्छ । के तपाईले माफि माग्नु भयो त ?
यो त के छ भने जनमानसमा अनभिज्ञता होला । सहज अनुमान गर्ने कुरो हो, कसैले अपराध गरिसकेपछि त्यसमा उसले माफि पाउँदैन् । राज्यको दृष्टिबाट राजद्रोह थियो । बम सहित म पक्राऊ परेको थिएँ । दुर्गानन्दजीले बम फालेको र बम सहित पक्रऊ परेको अवस्थामा कसैले माफी माग्ने बितिकै रिहा गर्ने कुरै भएन् । हामीले बलिदान दिएर देश र जनतालाई निरंकुश राजाको दासताबाट मुक्ति दिलाऊन जानेर नै आगोमा हाम फालेको हो । बाँच्नको लागि मैले किन प्रयास गर्नु पर्यो ?
त्यसो भए दुर्गानन्दजी लाई मृत्यूदण्ड र तपाईलाई आजीवन कारावासको सजाय किन दिइयो त ?
मलाई आजन्म कारावास दिने दुइटा कारण छ । मेरा उमेर कम थियो । अर्को दर्शिला थापा जुन थियो त्यो वास्तवमा पुलिसले फसाएको थियो । थापाले राजा माथि बम फाल्न आएको थिएन् । मैले त अपिल समेत गर्ने पक्षमा थिईन । मेरो हजुरआमा अपिल गर्ने पक्षमा जानु भएको थियो ।  अहिले पनि कुशुम श्रेष्ठ जिउँदै छन । त्यसलाई सोध्नुस । मैले हजुरआमालाई भनेको थिएँ, जुन अदालत राजाको इशाराबाट चल्छ मैले किन अपिल गर्ने ? किन जीवन रक्षाको माँग गर्ने, माफी माग्ने कुरै छैन् ।
त्यसो भए तपाँइ रिहा कसरी हुनु भयो त ?
विपी कोइराला, गणेशमान जी, सुवर्णशम्सेर सबै नेताहरु जेलमा भेट्न आउनु भयो । त्यसबेला अमेरिका बाट निस्कने अखबार ‘न्यूज वीक’ किसुनजीले जेलमा दिनुभएको थियो । त्यो पढेर मैले ‘वीजनेश अफ वार’ अर्थात यूद्धबन्दीको बारेमा पढें । दुई पक्ष मिले पनि युद्धबन्दी वा यूद्ध अपराधीलाई अन्त अन्तसम्म राख्ने गरिन्छ भनेर शिक्षा पाएँ । जब राजाले  सुवर्ण शम्सेर सँग वार्ता गर्नु भयो त्यो बेलामा सुवर्ण शम्सेरले आत्मसम्र्पण गरेको होइन् । त्यो बेला नेपाली काँग्रेसले टेक्टिसका तहत कांग्रेसको शसस्त्र क्रान्तिलाई अन्तराष्ट्रिय स्तरमा प्रचारित गर्न वार्ता गरिएको हो । राजालाई सहयोग गर्ने भनेर वीपीजीले टेक्टिस गर्दा पनि हामीलाई छोडेन् । त्यो बेला विश्ववन्धु थापाले एउटा लेख लेखेका थिए । उक्त लेखमा थापाले लेखेका थिए कि “नेपाली जनताले सबै कुरा विर्सन सक्छ तर राजा महेन्द्र माथि बम फालेको कुरालाई कहिल्यै बिर्सन सक्दैन् ।” जनकपुर बम काण्डलाई त्यत्रो ठूलो घटना मानेको थियो । म लगायत १५ जना कारावासमा थियौं । हामी ७ वर्ष जेलमा बस्यौं, काठमाण्डौंका साथीहरु छुटेर गए, तर हामीलाई युद्धबन्दीको रुपमा बन्धक बनाएर राखियो । भारतमा जयप्रकाश जी इन्दिरा गान्धी ले लगाएको इमर्जेन्सीको विरुद्धमा आन्दोलन गरेर सफलता प्राप्त भयो , जनता पार्टीको सरकार बन्यो, मुरारजी देशाई प्रधानमन्त्री बने, चन्द्रशेखर जनता पार्टीको अध्यक्ष बने । म छुट्नुभन्दा दुई दिन अगाडी चन्द्रशेखरजीले तुलसी गिरीलाई झपारेर के भन्नु भयो भने जुन पञ्चहरुलाई पञ्चायती व्यवस्था प्रति आस्था छैन् उनले राजीनामा दिए हुन्छ, त्यसको भोली पल्ट नै तुलसी गिरीले राजीनामा दिनु परेको थियो । २०३४ सालमा अन्तराष्ट्रिय प्रेसर बढन थाल्यो । जयप्रकाश जी सँग विपीको बहुतै सानिध्य थियो । चन्द्रशेखरजी हाम्रो पक्षमा हुन हुन्थ्यो । वहाँले गणेशमानजीले गरेको आन्दोलनमा आगो हाल्ने काम समेत गर्नु भएको थियो । सरकारको, पार्टीको प्रेसरका अगाडि राजा विरेन्द्र झुक्नुको विकल्प थिएन् । गुडविलको आधारमा हामीलाई छोडियो ।
तपाई रिहा हुनु भनेको त्यतिबेला राजा झुकेको हो ? राजा महेन्द्र झुकेनन् , तपाईहरुलाई सजाय दिए तर राजा विरेन्द्र झुकेकै हो त ?
राजा महेन्द्र पनि त्यसबेला झुकेको थियो । अहिले त नेपाली काँग्रेस पनि बिर्सिरहेको छ , जुन बेला जनकपुर बम काण्ड भयो त्यसबेलाको पत्रिका पढनुस । विवीसीले पनि राजा बाल बाल बचेको भनेका थिए । त्यसबेला राजा महेन्द्रले विपीसँग कुराकानी गर्न लागेका थिए । बम काण्ड भयो, जनताले अब जे पनि गर्न सक्छ, नेपाली काँगे्रसले २००७ सालमा राणा फालेकै हो भनेर राजा महेन्द्र डराएकै हुन् । पञ्चायतकालमा विश्वबन्धु थापा लगायतका नेताहरु जो कठोर नीति अवलम्बन गर्ने पक्षमा थिए उनीहरुले चीनबनाट केही समर्थन प्राप्त हुन्छ की भन्ने सह पाए । उनीहरुले राजालाई हतार नगर्न र पर्खन सुझाव दिएका थिए । उता भारत र चीन बीच कटुता बढदै गए पछि राजा महेन्द्रलाई बल मिल्यो । भारतभमा नेहरुजी (जसको) हामीलाई बलियो समर्थन थियो , वहाँको निधन भयो, पछि सुर्वणजीले सशस्त्र क्रान्ति स्थगित गर्नुभयो । राजा त्यसबेला थर्कमान भएकै हो नि । त्यसबेला दुर्भाग्य के भयो भने चीन र भारतको युद्ध भयो । नत्र त्यही बेला नेपालमा लोकतन्त्र बहाली भइ हाल्ने थियो ।
अहिले नेपालमा राजतनत्र अन्त्य भई गणतन्त्र आएको छ । तपाईलाई के लाग्छ, नेपालमा राजतन्त्रको समाप्ति हुनुमा भारतकै अहम योगदान हो ?
अन्राष्ट्रिय जगतले मात्र सपोर्ट गरेर केही कुरा प्राप्ति हुन सक्दैन् । भारतको सदीक्षा, सदाशयता हुनु बेग्लै कुरा हो । त्यसबेलामा जब म गोलघरबाट निस्केको थिएँ, त्यति बेला चाइनीज प्रभाव यति थियो कि, चाइनाबाट प्रकाशित ‘पैकिङ रिभ्यू’ कम्युनिष्ट साथीहरुले ल्याउँथे तर भारतीय पत्रिका आउन दिइदैनथ्यो । राजा महेन्द्र पूर्णत ः चीनको प्रभावमा परिसकेका थिए । साम्यवादको, सर्वहाराको नारा लगाउने चीनले त्यति बेला राजा महेन्द्रलाई साथ लिएर हामी क्रान्तिकारी जनतालाई पनि बिर्सेको थियो । हामीलाई सहयोग गर्नुको सट्टा राजालाई सहयोग गरे । बंगलादेशको लडाई पछि भारतमा इन्दिरा गान्धीको धेरै हाइट बढिसकेको थियो ‘इन्दिरा ही भारत है, भारत ही इन्दिरा है’ भन्ने नारा लगाइन्थ्यो । एउटा तानाशाहको रुपमा अगाडि बढदै थिइन् । त्यो भन्दा पुर्व राजा महेन्द्रलाई ‘प्लेटो झैं दार्शनिक राजा’ भनेर गईन । छिमेकी मुलुकको त राष्ट्रिय स्वार्थ हुन्छ, त्यसैले जनताले नै अगाडि आउने हो । हामीलाई कसैले माया गरेको छैन् । परिवर्तनमा भारतको सदाशयता छ तर जनता आफैले त्याग र बलिदान गरेर परिवर्तन पाएको हो । भविष्यमा पनि राष्ट्रमा कुनै आपत–विपत आयो भने जनता आफैंले त्यसको रक्षा गर्नु पर्ने हुन्छ ।
दुर्गानन्दजी सँग २१ महिना निरन्तर हनुमान ढोका र गोलघरमा बसें । वहाँ खुला हृदयको व्यक्ति हुनु हुन्थ्यो । आप्mनो पत्निलाइ लेखेको गोप्य पत्र मलाई देखाउँनुहुन्थ्यो । वहाँलाई फाँसीको सजाय थियो । हामीलाई पनि फाँसी सजाय नै दिइएको थियो । त्यस्तो अवस्थामा पनि जीवनको दुईटा गीत गाउँनु हुन्थ्यो, एउटा कैद माँगि थि रिहाई तो नही, ये जुल्फों से जुदाई तो नहीं ’ यसको अर्थ कैद माँग्न सक्छु, ठूलो भन्दा ठूलो दण्ड भोग्न सक्छु तर माफी माग्दिँन । र अर्को गीत ‘दो हँसो का जोडा विछुड् गयो रे, गजव भयो रामा जुलम भयो रे ’ गाउनुहुन्थ्यो । यो उनको पत्निको लागि शायद गाउनु हुन्थयो ।  जाडोमा कठयाङ्ग्रिएर रातभर जाग्राम बस्थ्यौं । एउटा लुङ्गी , भेस्ट र स्वेटरमा हामी ७ महिना काट्यौं । मृत्युदण्ड पाइसके पनि अलिकति पनि वहाँ विचलित हुनु भएन् । भोक–भोकै बस्न थाले पछि मुसा र चिप्लेकिरा खाएर बाँच्न वहाँले नै प्रेरित गर्नुभयो । हामी खाना पकाउने चामल छरेर लकडीमा मुसालाई फसाउँथ्यौं । कहिले एउटा त कहिले दुइटा मुसा फस्थ्यो र हामी त्यही मुसो खाएर बाँच्थ्यों । पछि दर्शिल थापाले चिप्ले किरो खाए जीउ दुःख्ने सन्चो हुन्छ भनेर भने पछि हामी चिप्ले किरामा नुन तेल हालेर हामी पकाएर खान्थ्यौं ।
तपाईहरुले बम आपैm बनाउनु हुन्थ्यो ?
हैन । मलाई जयनगरमा रामचन्द्र सिंहजीले एउटा डिब्बामा रेडिमेड बम राखेर दिनु भएको थियो । तर त्यसमा बम छ भनेर मलाई थाहा थिएन् । मलाई यो डिब्बा जनकपुर लग्नुस मात्र भन्नु भएको थियो । हिंडदा विस्तारै लग्नुस र राख्दा पनि विस्तारै राख्नुस भनेका थिए । बम राखेको कुरा वहाँले लुकाउनु भएको थियो । वहाँले त्यसो गर्नु हुँदैनथ्यो । म त निर्भिक कार्यकर्ता थिएँ । पढाई छोडेर म सशस्त्र क्रान्तिमा होमिएको थिएँ ।
दुर्गानन्दजी लाई भारतमा पनि यातना दिइन्थयो भनेर भनिन्छ, के हो त्यो कुरा ?
छतौनी क्याम्पसमा एक जना गद्दार थिए । त्यो अलि गरिब थियो , प्रहरी प्रशासनले उसलाई फकाएर सिआइडी गर्न लगाए । त्यसले दुर्गानन्दजीलाई खानेबेलामा थाल खोसिदिने र अन्य दुःख दिने गथर््यो ।
तपाई अहिले नेपाली काँग्रेसबाट अलग्गिएको हो ?

हो, अलग्गिएकै छु । महन्थ ठाकुर जी ले वृषेश जी र श्रीकृष्ण यादवलाई दुई पटक पठाउनु भएको थियो , तमलोपामा आउन भनेर । तर म गइनँ । नेपाली काँग्रेसले महशुस गर्छ भनेर म गईनँ । नेपाली काँग्रेसले दुर्गानन्द झा, अरविन्द ठाकुरको नाउँ लिएर धनुषामा त्यत्रो संगठन बनायो । नेपाली काँग्रेसको प्रतिष्ठा, सशस्त्र आन्दोलनलाई उचाई दिन दुर्गानन्दजीले योगदान दिनु भयो तर काँग्रेसले केही गरेन् । वहाँले दिएको ‘गीताको पुस्तक’ र ‘रुमाल’ लाई अहिलेसम्म राजा महेन्द्रको गाडी राखिएको संग्रहालयमा राख्न सकेको छैन्  । मैले सबैलाई पटक पटक भनेको छु । संस्कृति मन्त्री थिए मिनेन्द्र रिजाल, राजेन्द्र महत्तो, महन्थ ठाकुर, गणेश साह सबैलाई भने, कसैले सुन्दैन् ।
दुर्गानन्द झा लाई राष्ट्रिय शहीद किन घोषणा गरिएको छैन होला, अहिले सम्म ?
नेपाली काँग्रेसले भन्ने गरेको ‘बेबी किङ्ग’ भए पनि राख्ने मनोविज्ञान यथावतै हो कि भन्ने आशंका छ । नेताहरु नालायक भइसके । अब आउने पुस्ताले यी नेताहरुलाई इतिहासको कालो पानामा राख्नेछन् । यिनीहरुको करतुत र क्रियाकलापलाई कालो पानामा समेटनेछन् । भोलीको दिनमा यो मुलुकमा जनताले त्याग र बलिदान किन दिने भन्ने प्रश्न उठेको छ । मुलुकको राष्ट्रियता, स्वतनत्रता जोगाउनको लागि यहाँका जनताले त्याग र बलिदान गर्ने आवश्यकता पर्न सक्छ त्यो बेला केले प्रेरणा दिन्छ ? किशुनजी सँग आठ वर्ष बसें, विपी सँग पनि उठवस भएकै हो । मैले बुझेको कुरा के हो भने नेपाली काँग्रेस कुनै पनि हालतमा संवैधानिक राजा राख्ने, राजा विना मुलुक चल्न सक्दैन भन्ने डर थियो । डर के थियो भने नेपालमा बामपन्थीहरुले सत्ता कब्जा गर्ला । राणाले सत्ता हड्पेको थियो, जनताले लडेर सत्ता हातमा लियो , महेन्द्र, ज्ञानेन्द्र सबैले धोखा दिए तर जनताले लडेर सत्ता आफ्नो हातमा लिएको विदितै छ । यदि कुनै वामपन्थीले मुलुकको स्वतन्त्रता कब्जा ग¥यो भने जनताको छोराले लडेर फिर्ता लिने नै छ । राजाका छोरा –छोरीलाई मह खानका निम्ति नेपाली काँग्रेसले २७ लाख रुपैया छुटयाउन सक्ने, अर्को तर्फ जनता सिटामोल, चामल खान नपाउने काँग्रेसलाई चिन्ता हँुदैन् । कस्तो समाजवाद नेपाली काँग्रेसको ?
यसको अर्थ नेपाली काँगे्रसले फेरी पनि कुनै न कुनै रुपमा राजा ल्याउन चाहेको हो त ?
यो त नेताहरुलाई प्रश्न गर्नुस । गिरिजाबाबुको प्रेस सल्लाहकार पुरुषोत्तम बस्नेतलाई पनि मैले भनेको थिएँ – तरुणमा दुर्गानन्दजीको बारेमा प्रकाशन गर्नुस, गरेनन् । जनकपुरको बारह्विघामा विपी कोइरालाले दुर्गानन्द झा शहीद हुन भनेका थिए तर त्यो हातिको देखाउने दाँत एउटा र चपाउने अर्को झै भयो । राजनीतिमा यो त बेइमानी हो । बम फाल्न लगाउने र बिर्सिहाल्ने । पन्छिने कुरा मात्र गर्दै आएका छन् ।
तपाई रामवरण यादवको चुनाव प्रचार गर्न जानुहुन्थ्यो । अहिले वहाँ गणतन्त्रात्मक मुलुकको राष्ट्रपति हुनुहुन्छ । तपाई सँग जेलमा रामराजा प्रसाद सिंह भेट्न जानु हुन्थ्यो । वहाँ राष्ट्रपति बन्न सक्नु भएन् । तपाईले राष्ट्रपतिको रुपमा रामवरण वा रामराजा कसलाई प्राथमिकतामा राख्नु हुन्छ ?
सुन्नुस । पार्टीको टिकट पाएर रामवरणजी राष्ट्रपति बन्नु भयो । रामवरणजी त मधेश आन्दोलनमा मधेशको विरोधी हुनुहुन्थ्यो । म मधेश आन्दोलनमा सक्रिय सहभागी भएँ । गिरिजाबाबुले रामवरणको नाउँमा च्याके थापिदिनु भयो । राष्ट्रपति त गिरिजाबाबु वा प्रचण्ड बन्ने कुरा थियो । तर मधेशको नाउँमा रामवरण जी र रामराजा प्रसाद जी बीच प्रतिस्पर्धा भयो । मलाई के लाग्छ भने रामराजाप्रसादजी रामवरणजी भन्दा धेरै बेटर हुने थियो । रामराजाजी धन लाई लात मारेर गणतन्त्रका लागि लड्नु भएको व्यक्ति हो । तर रामवरणजी त चाकडी गरेर अगाडी बढ्नु भएको हो । रामराजाजी उदार र रामवरणजी धेरै अनुदार व्यक्ति हुनु हुन्छ ।
नेपाली काँग्रेस भित्र खाँटी गणतन्त्रवादी नेताहरु छन कि छैनन् ?
वडा अप्ठ्यारो प्रश्न हो, सागरमा मोती खोज्नु मैंm । नेपाली काँग्रेसको नेतृत्व अहिले संघीयतामा जान पनि डराईरहेको अवस्था छ । संघीयतामा गए पछि उनको केन्डिडेट हार्छन, संसदमा प्रतिनिधित्व कम हुन्छ भन्ने डर पसेको छ । समय परिस्थितिले नेपाली काँग्रेसलाई संघीयतामा जान धकेलिरहेको छ । परिस्थितीले काँग्रेसलाई बाध्य भएर गणतन्त्रमा ल्याएको हो ।
तपाई रिहा भए पछि तपाईलाई मानसिक यातना वा डर भय त्रास देखाउने काम भयो ?
म २०३४ आश्विन तिर रिहा भएँ । रिहा भए पछि मलाई जनकपुरमा एकपल्ट सिनेमा हेर्ने मन लाग्यो । हनुमान टाकिजमा सिनेमा हेर्न जाँदा राजाको राष्ट्रिय गान ‘श्रीमान गम्भिर’ बज्यो, सबै मान्छे जुरुक्क उठे तर म बसिरहें । मान्छेले राजालाई सम्मान दिइरहेको थियो । छेउको मान्छेले मलाई के भन्यो भने पुलिसले झन्नै देखेंन नत्र भने तपाईलाई पक्रेर लग्थ्यो । किन उठनु भएन ? अनि मैले भने राजालाई सम्मान गर्न मन लागेन र उठिन । अनि त्यसबेला सलाईमा राजाको फोटो छापिन्थ्यो ।  मैले के देखें अञ्चल प्रहरी कार्यालय अगाडी एक जना व्यक्तिले त्यो सलाई लाई खुट्टाले कुल्चेको थियो । त्यतिबेला कण(कणमा राजतन्त्र घुसाइएको थियो । दुर्गानन्दजीलाई फाँसी दिइए पछि मानिससमा भय, डर–त्रास बढेको थियो । मलाई छोडिसेक पछि पढेलेखेका मान्छे पनि भन्ने गर्थे, के तपाईलाई साँच्चिकै छोडिदिएको हो ? मलाई कसरी छोडिदियो भनेर मान्छेलाई विश्वासै हुँदैनथ्यो । भयावह अवस्था थियो ।
तपाईहरुले बम प्रहार गर्दा राम्रो गरिस वा नराम्रो गरिस भन्ने कस्तो प्रतिक्रिया पाउनु भयो ?
हेर्नुस म पक्राउ परे पछि मान्छेले भन्थे, यो त केटाकेटी थियो । यसलाई फसाइएको हो । मलाई पक्रेर प्रकौली सैनिक ब्यारेकमा लगियो । त्यहाँ मलाई फकाउन खोजियो । त्यो राती राजा त्यहीँ थिए । गृह मंत्रालयमा मेरो बाबा पर्ने जातिकै सह–सचिव थिए । हेर त तिम्रो गाउँका मानिसहरु कस्तो राजभक्त छन् , तिमीलाई काँग्रेसीले फसाईदियो भन बाबु, म राजा लाई विन्ति गरेर तिमिलाई छोडाईदिन्छु भनेर उनले भने । यति भन्दै राजाका डिसीले मलाई बन्द कोठामा लग्यो । अनि मैले भनें, तिमिले मलाई छुटाउन त के सक्छौं, गोली मार्न सक्छौं , मैले यति ठूलो अपराध गरेको छु कि तिमीले छुटाउन सक्दैनौं । र मैले बम फाल्ने नियतले नै आँट गरेको हो । जीवनको परवाह नगरी बलिदान दिन तयार रहेको भने पछि राजाको एडिसीले कुटेर जानकी मन्दिरको चौकीमा साविति बयान लेख्यो । राजालाई मार्ने उद्देश्यले बम फालेको भनेर लेख्यो ।
शहीदहरुको सपना साकार भएको जस्तो लागेको छ तपाईलाई ?
शहीदहरुको बलिदानी व्यर्थ गएको छैन् । हाम्रो नेताहरुको करतुतले देश वर्वाद भएको छ । सात सालमा शहीदको बलिदानीले राणा फालेकै हो नि त । जनताले गरेको त्याग, बलिदान बाट ०६२÷६३ आन्दोलनबाट ज्ञानेन्द्रको सत्ता गयो । बाँदरको हातमा नारिवल झै सत्ता  अहिले नालायक नेताहरुको हातमा गएको हो । शहादत मात्र दिएर हुँदैन् । हामी जनतामा चेतना बढनु पर्यो । पढेलेखेका यूवाहरु अगाडि आउनु पर्छ ।


 मिति ः २०७०÷०८÷१६

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete