Tuesday, December 10, 2013

धुमधामका साथ विवाह पञ्चमी महोत्सव सम्पन्न


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपालको प्रसिद्ध धार्मिक स्थल जनकपुरधाम जसले पाँच हजार वर्षको गौरवमय इतिहास समेटेको छ । मध्य तराईको अति प्राचीन यो नगर संसारभरिको हिन्दुहरुको लागि आस्थाको स्थल बनेको छ । यहाँ विदेहराज जनकले हलो चलाउनु भएको थियो भने यहीँ धरतीपुत्री सीताको जन्म भएको थियो । मानव सभ्यताको विकास अर्थात न्याय, धर्म, दर्शनको बीज पनि यहिँ अंकुरन भएको हो । वौद्धिक विमर्शको यो स्थल आफ्नो ज्ञानको प्रकाश संसार भरि छर्दै रहयो । रामायणकालीन घटनाको साक्षी छ जनकपुर । अहिले पनि जनकपुर त्यस्तै छ जस्तो आदिकवि बाल्मिकीले रामायणमा वर्णन गर्नु भएको छ । उक्त स्थल, अर्थात जनक, जानकी, राम लक्ष्मण, दशरथ यी सम्पूर्ण पात्रको साक्षात उपस्थिति सजिलै बुझिन्छ अहिले पनि जनकपुरमा ।
केही लोकभावना, केही लोकआस्था छ, यसैको संगमको रुपमा विकसित भएको छ जनकपुर । धर्म र संस्कृतिको यति सुन्दर समिश्रण अन्य ठाउँमा पाइनु दुर्लभ छ । त्यसैले पर्व, त्यौहार, उत्सव, मेला तथा जात्रामा रमिइरहन्छन् जनकपुरवासी । मिथिलाको प्राणवायू नै हो यो उत्सव । यहाँ वर्ष, महिना, दिन, पहर, पल(पल यस्तै पर्व र उत्सवहरुको आयोजन भइरहन्छन् । तर उत्सवको यस नगरीमा विवाहपञ्चमी उत्सवको महत्व सवैभन्दा उच्च मानिन्छ । रामजानकीको विवाहको तिथि अर्थात मार्ग शुक्ल पञ्चमीमा विवाहपञ्चमी मनाइन्छ । 
    कुनै पनि धार्मिक इतिहासको यत्तिको भव्य पुनरावृति अन्य कहीँ देखिनु दुर्लभ छ । हजारौं वर्ष वितिसकेपनि राम(जानकी सम्बन्धको त्यतिकै गहिरो अनुभुति प्रदान गर्दछ । आवेग पनि त्यस्तै छ । त्यसैले उक्त सम्बन्ध पनि निरन्तर छ । यो युगको सवै भन्दा महानतम सम्बन्ध बनिसकेको छ मिथिला र अवधको वैवाहिक सम्बन्ध । २ पौषमा यसरी सीता रामको विवाह युगौं पछि पनि उही रुपमा, उही भावमा, त्यही भव्यताका साथ सम्पन्न हुँदैछ । त्रेता युगको विवाहको साक्ष्य छ रामायण र अहिलेको विवाहको साक्ष्य बनेका छन् लाखौं सहभागि मानिसहरु । हजारौं वर्ष देखि जनकपुर रामायणको पाना उल्टाउँदैछ । उसले देखिरहेको छ कसरी भएको थियो सीतारामको विवाह । त्यो सम्पूर्ण आयोजन जनकपुरमा दोहोरिएको छ । विवाहको सम्पूर्ण तयारी पूरा भएको छ । अयोध्याबाट ज्यन्तीको जनकपुर आगमन सँगै मिथिला विधि अनुसार विवाहको विधिवत प्रक्रिया प्रारम्भ भइसकेको छ । सीताको जन्मस्थल जनकपुरको श्रृङगार अवर्णनिय छ । जानकी मन्दिर अर्थात सीताको आङ्गनमा ज्यन्ती आउने वित्तिकै पुष्पवृष्टि हुन्छ । त्रेता युगमा देवलोकबाट पृष्पवृष्टि गरिएको थियो । सगुनको भार सहित आफ्ना दलको नेतृत्व गर्दै जानकी मन्दिरका महन्थ अर्थात महराज जनकको भूमिकामा रहनु भएका रामतपेश्वर दास राम मन्दिर तर्फ प्रस्थान गर्दै हुनुहुन्छ । महराज दशरथको भुमिकामा रहनु भएका राम मन्दिरको महन्थ राम गिरी प्रतिक्षारत हुन्छन् । चादरको आदान प्रदान र समधी मिलान सँगै तिलकोत्सव समापन हुन्छ । पवित्र सरोवर गंगासागर बाट सीताको विवाह मण्डप निर्माणका लागि माटो खनेर मटकोर पनि समापन हुन्छ । विवाहपञ्चमी मेलाका आकर्षणका केन्द्र बिन्दुको रुपमा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास सीताको प्रतिमा लिएर बाजागाजा, झाँकी किर्तन, जुलुसका साथ गँगासागर  पुगेर माटो कोरी परम्परा अनुशार सीताको मटकोर कार्यक्रमको आयोजना हुन्छ । जसरी जसरी विवाहको विधि  समाप्त हुँदै जान्छ त्यसैगरी मानिसको उत्साह पनि चरममा पुग्दछ । हजारौ वर्षको पूर्वको घटनाको पुनरावृतिले जनकपुरवासी रोमाञ्चित भएका छन् । जागरणमा छन् । कोही शिविर चलाउँदै, सामग्री बेच्दै, नृत्य संगीतको माध्यमले ज्यन्ती र यात्रीलाई मनोरञ्जन प्रदान गर्दै छन् । लाखौंलाख मानिस जनकपुर आइसकेका छन् । जसलाई जे साधन भेटयो अगाडी बढदै छ जनकपुरको लागि । विवाह पञ्चमीको सबै भन्दा आकर्षक झाँकी अर्थात शोभा जुलुसमा सहभागी हुन चाहन्छन् जो कोही पनि । परम्परा अनुसार जानकी मन्दिर बाट किशोरीको डोला, राममन्दिर बाट रामचन्द्रजीको डोला र लक्ष्मण मन्दिरबाट लक्ष्मणजीको डोला रंगभूमि मैदानमा लगिन्छ ।
    सिंगो जनकपुर डोलाको दर्शनका लागि त्यस तर्फ लाग्दछन् । जनसमुद्रमा परिणत हुन जान्छ, विशाल रंगभूमी मैदान । त्यही रंगभूमि हो जहाँ धनुष यज्ञ भएको थियो । र, संसारभरिकै योद्धाहरु सीतालाई आफ्नो अर्धाङ्गनी बनाउनका लागि धनुष भङ्ग गर्न आएका थिए । तर धनुष भङ्ग गर्न, मात्र भ्याए अयोध्या नरेश दशरथका पुत्र राजकुमार रामचन्द्र । रंगभूमिमा तिनै डोलाको मिलन संगै रामको डोलालाई सीता र लक्ष्मणको डोलाले परिक्रममा गर्दछ । र पुनः डोलाको परिक्रममा गराई आ(आफ्नो मन्दिरमा स्थापित गराइन्छ । विवाहको लागि मडवा बनाइएको हुन्छ । मडवामा दुल्ही र दुल्हा पक्ष पालै(पालो आउँछन ।  महराज जनक, महराज दशरथ, गुरु वशिष्ठ र विश्वामित्र सहित अन्य राजा(महराजा, ऋषि(मुनी सवै आइ पुग्छन । यहाँ राम र सीताको मात्र नभई चारै भाई तथा चारै बहिनीको विवाह सम्पन्न हुन्छ । अर्थात राम तीन भाई लक्ष्मण, भरत, शत्रुधन र सीताकी तीन बहिनी उर्मिला, माण्डवी र श्रुतिको विवाह सम्पन्न हुन्छ । पुरहित आसनमा बसिसकेपछि मंगलोच्चारण हुन्छ । दुल्हाको योग्यताको परीक्षका लागि परीक्षण गरिन्छ । राम सहित चारै दुल्हा परीक्षामा पास हुन्छन र वैवाहिक कार्य अघि बढ्छ ।  ओठङ्गर कुटिइन्छ, हँसी ठट्टा, मजाक,  आमोद(प्रमोद , गीत गायनका साथ विवाहको प्रक्रिया अगाडी बढ्दै जान्छ । “दाई लाबा छिडियाऊ, बाउ विछि विछि खाऊ” गीत गाउँदै लाबा पनि छर्किइन्छ । गृहास्थाश्रममा सफलता प्राप्तिका लागि समान सहभागिता रहोस, जन्मो जन्म सम्म संगै रहोस, त्यस्को बचनबद्धताका निम्ति गठबन्धन कार्य पनि सम्पन्न  हुन्छ । त्यस पछि हिन्दु नारीको सुहाग अर्थात पतिको जीवन रक्षाका लागि प्रतिवद्धता र समर्पणको प्रतिकका रुपमा सिन्दुरदान गरिन्छ ।
    यसरी सीता रामको विवाह युगौं पछि पनि उही रुपमा, उही भावमा, त्यही भव्यताका साथ फेरी सम्पन्न हुँदैछ । त्रेता युगको विवाहको साक्ष्य छ रामायण र अहिलेको विवाहको साक्ष्य बनेका छन् लाखौं सहभागि मानिसहरु । अयोध्यावासी अर्थात ज्यन्तीको विदाई हुन्छ । जसले हजारौं किलोमिटरको यात्रालाई पुनर्जीवन दिए । रामजानकी विवाह उत्सवलाई नयाँ उचाई दिए । तिनीहरुको विदाई गर्दा जनकपुरवासीको आँखामा आँसु आउनु त स्वभाविकै हो । यो युगको सवै भन्दा महानतम सम्बन्ध बनिसकेको छ मिथिला र अवधको वैवाहिक सम्बन्ध ।
    सीतारामको विवाहको कथा प्रवचन सुन्ने र भन्नेको घरमा सँधै सुख, शान्तिको बास हुने कुरा प्रसिद्ध ग्रन्थ रामचरित मानसमा उल्लेख छ । सीतारामको विवाहोत्सवको दर्शन गर्ने व्यक्ति हरेक किसिमका दुःख पिडाबाट छुटकारा पाउने धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।  सोही विश्वासका कारण श्रद्धाभक्तिका साथ लाखौँको सँख्यामा भक्तजनहरु प्रत्येक वर्ष विवाहपञ्चमीमा सहभागी हुन्छन ।




 मिति ः २०७०÷०८÷२३

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete