Wednesday, April 3, 2013

‘आर्थिक विपन्नताको शिकार, मधेशी किसानको जीवनमा हाहाकार’




पशुपतिनाथ मधेसी
नेपालबाट बग्ने तमाम नदिहरु मधेशको माटो छोएरै आफ्नो यात्रा तय गर्ने गरेको हुन्छ । तर पनि हाम्रा मधेशका किसान पानीका लागि त्रसित हुन्छन् । हुन त आजको २१औं शताब्दीमा मधेशी किसान भगवानको ईन्द्रको आश पालेर बस्नु आफैमा दुर्भाग्यपुर्ण हो । कम घनत्वकै भए पनि यदि हामीले मधेशको पूर्व र पश्चिमलाई जोडेर एउटा खोला निर्माण गरे र मधेशमा राम्रो सिचाईको ग्यारेन्टी गर्न सके हाम्रा भुमी उर्वर मात्र हुने होईन, सुनसम्म उत्पादन गर्न सक्छ । यहाँ सुन भन्नुको अर्थ किसानको आर्थिक स्तर खुवै मजाले उकासिने गरि पृथ्वी फल्नु हो । तर नेपाली शासकहरुले मधेशमा केहि राम्रो भएको हेर्न चाहदैनन् । त्यसैले यस्ता केहि सिमित प्रयासहरु पनि भएका छैनन जसले मधेशको किसानको मुहान फेर्न सकोस । मधेशको किसानको उर्वर भुमि झन उर्वर होस र उनिहरुको आर्थिक स्तर उकासियोस । मधेशको भुमिको उर्वरतालाई केलाउने हो भने यहाँ दाल, गहुँ, चामल र मौसमी तरकारी खुवै मजाले उब्जिन सक्छ ।  मधेशको भूमि देव भूमि हो जहाँ माता सीता र भगवान् बुद्ध जन्मेका थिए ।  पौराणिक, आध्यात्मिक  र समाजिक रुपले उर्वर मधेशको भुमिलाई नेपाल सरकारको बक्र नीतिले कमजोर बनाएको छ र किसान कहिले ईन्द्रको मुख ताक्ने त कहिले सामन्तको हात(खुट्टा समाउन बाध्य छन ।
    मधेशसँग टाँसिएको सीमावर्ती क्षेत्र बिहार  जहाँ खाध मल र विउबिज पर्याप्त मात्रामा उपल्ब्ध भए पनि मधेशी किसान त्यसबाट लाभान्वित हुन सकिरहेका छैनन् ।  मधेशमा खाध मल र बिजको जबरजस्त अभाव देख्न सकिन्छ । खाध मल र बिजको अभावका कारण सुन उब्जाउने क्षमता भएको मधेशको उर्वर जमिन बाझो बनेको छ । मधेशी किसान जिल्ला सदरमुकाम र सरोकारवाला निकायका अगाडी सहयोगको लागि हात फैलाईरहेका हुन्छन, तर सदाझैं हात लाग्यो सुन्य । नेपाल सरकारको निकायबाट केहि सिन्को नभाँचिएको देखेपछि किसान सीमावर्ती
क्षेत्रबाट साईकलमा खाध ल्याउने शाहस जुटाँउछन् । तर उनको शाहसलाई ‘स्यालुट’ गर्नुको साटो नेपाल प्रहरी उनिहरुसँग आफू खुशी घुस माँग्छन, अभद्र व्यवहार गर्छन् र मानशिक तनाव दिन्छन । विचारा किसान ! चार पैसा बचाँउनको लागि टंटलापुर घामको परवाह नगरि साईकलमा खाध ल्याउने शाहसी प्रयास गर्छन तर उसको त्यो कदम नेपाल प्रहरीका लागि घुस खाने अवसर श्रृजना गरिदिन्छ । गरिवको ‘पसिना’ को कमाई लुट्ने नेपाल प्रहरी, हाय रे नेपाल प्रहरी ! खेती नगरे किसानले के गरि आफ्नो पेट पाल्ने हुन त्यो बुझिदिने कोहि छैन तर घुस खानको लागि सबैको त्रिनेत्र खुल्नु बडो लज्जास्पद हो । बिगतका दिनमा किसानले घुस नदिएकै कारण गोलीको शिकार हुने गरेको, लात(जुत्ता खाएको र बेवजह जेल जीवन विताएको जस्तो घटनाहरु सार्वजनिक नभएका होईनन् । यी सब नेपाल प्रहरीका दानव रुपहरु हुन् । किसानहरु दिनहुँ आफ्नो भाग्यलाई श्रापी रहेका हुन्छन । उनिहरुको आर्थिक स्थिती दिनप्रतिदिन खस्किदै गएको छ । उनिहरुको आवाज सुनेदिने कोहि छैन । आवाज विहिनको आवाज मानिने मिडिया पनि किसानको आवाजलाई त्यति वास्ता नगरेको देखिन्छ । उनिहरु आफ्ना छोरा(छोरीलाई राम्रो शिक्षा दिन सकिरहेका छैनन् । निजी बिद्यालय त परै जाओस बिद्धार्थीको न्युन्तम आवश्यक्ताहरु पनि पुरा गर्न सक्ने हैशियतमा छैनन मधेशका किसानहरु । ‘आर्थिक विपन्नताको शिकार, मधेशी किसानको जीवनमा हाहाकार’ नामका नारा बन्न सक्छ अहिले उनिहरुको वास्विक हैशियतलाई केलाउने हो भने ।
    यदि नेपाल सरकारले किसानलाई खाध, मल र बिज उपलब्ध गराउन सक्ने हैशियतमा छैन भने ती बस्तुमाथि लाग्ने भंसार र करका तमाम प्रावधानहरु खारेज गरिनुपर्छ । भारत सरकारसँग बिबिध किसिमका वार्ताहरु गरेर भए पनि किसानका लागि चाहिने चिज(विजहरु ‘अन डिमान्ड’ र विना करको सहजै उपल्व्ध हुने वातावरण निर्माण गरिनुपर्छ ।
    यदि मधेशका किसानका लागि भारतबाट सहजै खाध(मल आयात गर्ने संयन्त्र बनाईए किसानको ‘कायापलट’ हुनेछ । मधेशी किसान भारतको हरियाण, पंजावको किसानझैं आर्थिक रुपले संपन्न हुनेछन र किसान पेशा पनि सुरक्षित र दह्रो रुपले संस्थागत हुनेछ । नेपाल सरकारको अर्थशास्त्रीहरुको अध्ययन नपुगेर हो कि बनको बाघले नखाए पनि मनको बाघले निलेको हो भनौं, के भनौं । आजको मितिमा कृषिको उत्पादन बढाउनेतर्फ विकसितदेखि बिपन्न मुलुकसम्मको ध्यान तानिएको छ । तर दुर्भाग्यवस नेपाल सरकारको नीति कृषिलाई कमजोर गर्नेतर्फ उद्धत छ ।
    अर्थशास्त्रीहरुले यो बुझ्नुपर्यो को मोटो अर्थ आर्जन गर्ने र ‘भुखमरी’ हटाउने सर्वकालिक विकल्प कृषि नै हो । उनिहरुले आफ्नो नेपालको कृषिलाई हेर्ने चस्मा बदलिनपर्ने आवश्यक्ता आईसके । त्यसैले, मधेशको किसानको लागि नभए पनि आफ्नो नेपाली पेट नेपालकै ‘दाना’ बाट भर्नकै लागि भए पनि नेपाल सरकार र उसका संबन्धित निकाय जाग्नै पर्योे । नेपालको ‘लाईफलाईन’ मानिने मधेशको भुमिलाई वाँझो देख्ने शाहसबाट मुक्त हुनैपर्यो् । र आफ्नो पेट भर्न पनि अर्काको भुमिको फल खाने संस्कार कस्तो होला, सोचौं है सोचौं ।

मिति ः २०६९ चैत्र १८

No comments:

Post a Comment