Tuesday, May 19, 2015

फेरी उठ्दैछ आस्थाको ‘परशुराम प्रतिमा’


परशुराम कुण्ड स्थित भगवान परशुरामको ५१ फिटको 
प्रतिमा मंगलबार आएको भुकम्पमा ढलेको छ ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी पर्साका जगदीश राम भक्कानिदै थिए । त्यत्रो श्रम लगाएर बनाएको उनको रचना प्रकृतिले ध्वस्थ बनाइदिएको थियो । एक दिन वा एक महिना होइन निरन्तर ६ महिना लगाएर बनाएको भगवान परशुरामको ५१ फिटको मुर्तीको प्रतिमा नेपालमा आएको महाविनाशकारी भुकम्पले ढालेको थियो । धनुषाको मिथिलेश्वर निकास ४, पुरन्दाहा टोल स्थित ऐतिहासिक तथा पौराणिक स्थल परशुराम लगाउको डीलमा ५१ फिटको  परशुरामको प्रतिमा उनले बनाएका थिए । १२ बैशाख २०७२ का दिन आएको भुकम्पको कम्पनले उक्त प्रतिमाको दुवै खुट्टा क्रयाक भएको थियो । तर, २८ बैशाख मंगलबारका दिन आएको अर्को ठुलो भुकम्पले प्रतिमालाई पुर्णतः ढालिदियो । झनै सम्मको जगदीशको प्रयासपछि निर्मित आस्थाको प्रतिमा ढलेपछि उनी दैवलाई सम्झिरहेका थिए । हुन त यस अघि उनले धेरै भगवानहरुको प्रतिमा नवनाएको पनि होइन । भगवान परशुरामको प्रतिमा बनाउनु अघि उनले धनुषाको टुटेश्वरमा १८ फिट उचाई रहेको भगवान बजरंगबलीको, सर्लाहीको कान्छि बजार पररियामा १४ फिटको भगवान हनुमानजीको, दोलखा चरिकोटमा १० फिटको हनुमानजीको प्रतिमा उनले बनाएका थिए । त्यसैगरी सर्लाहीको हरिपुरवामा १० फिटको बजरंगबलीको, धनुषाको इनर्वामा मण्डपको मुख्य प्रवेशद्वार लगायत थुप्रै प्रतिमाहरु उनले बनाईसकेका थिए । उनले बनाएका सबै प्रतिमाहरु एक से एक आकर्षक र मनमोहक छन् । तर, भगवान परशुरामको प्रतिमा उनको लागि नै ठुलो चुनौती थियो । र, उनले त्यो चुनौतीलाई स्वीकार गर्दै अन्ततः बनाए पनि । नभन्दै, अदभुत प्रतिमा पनि बन्यो । उक्त प्रतिमा हेर्ने जो कोही पनि मुर्तीकारको कला र समर्पणलाई धन्यवाद दिन्थे । महाभुकम्पले मानौं त्यो प्रतिमालाई ढालेन, मुर्तीकारको जीन्दगी नै ढालिसकेको थियो । उनको आश मरिसकेको थियो । तर, सकारात्मकक कुरा के हो भने मुर्तीकारको निराशलाई आशामा रुपान्तरण गर्न मुर्ती बनाउन लगानी गर्ने दाता किशोरी साहले फेरी त्यो आस्थाको प्रतिमा बनाउने बचनवद्धता व्यक्त गरेका छन् । सोकमा डुवेको मुर्तीकार जगदीसको बल्ल ज्यानमा ज्यान आएको छ । मुर्तीकार राम भन्छन,“जसरी मैले बनाएको प्रतिमा ढल्यो र दाता किशोरी साहले फेरी बनाउन लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्, ठीक त्यसैगरी म पनि पहिलेको मुर्ती भन्दा पनि आकर्षक र झन मनमोहक प्रतिमा बनाउन कुनै कसर बाँकी राख्ने छैन ।”
कसरी बन्यो भगवान परशुरामको प्रतिमा ?
धनुषा रधुनाथपुर ४ तथा हाल जनकपुर उपमहानगरपालिका १४ का किशोरी साह ‘कमल’ पेशाले निर्माण व्यवसायी हुन् । कमल निर्माण सेवा प्रा.लि. फर्मका उनी सञ्चालक हुन । व्यवसाय सँगै उनी राजनीतिमा पनि सक्रिय छन् । नेकपा एमालेको धनुषा जिल्ला कमिटिका सदस्य तथा एमाले भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनका केन्द्रिय सदस्य पनि हुन । ३ बर्ष अघि धनुषाको इनर्वामा सीताराम नामक यज्ञ गराउन उनको भुमिका अहम थियो । उनले यज्ञका लागि आर्थिक लगानी पनि गरेका थिए । यज्ञकै क्रममा उनको भेट एक जना ‘मौनी बाबा’ सँग भयो । मौनी बाबा ती साधु हुन जो विगत ३३ बर्ष देखि मौन धारण गरेका छन् भने १२ बर्ष सम्म उभिएर बसेका कारण उनलाई ‘ठरहेसरी बाबा’ पनि भनिन्छ । ती मौनी बाबाले परशुराम तलाउमा भगवान परशुरामको प्रतिमा बनाउने उद्देश्यले शिलान्यास कार्य सम्पन्न गरेको १ बर्ष वितिसक्दा पनि प्रतिमा बन्न सकिरहेको थिएन । बाबाले प्रतिमा बनाईदिन किसोरीलाई भने । अनि कति लागत लाग्न सक्छ जवाफ दिए पछि प्रतिमा बनाउन किसोरी सहमत भए ।
किसोरीले रड, सिमेन्ट, वालुवा, गिट्टी लगायतका निर्माण सामग्रीहरु पठाउन थाले । किसोरी भन्छन,“ १५÷२० फिट सम्म उचाईको प्रतिमा बन्ने भनिएको थियो । यत्रो हेभी प्रतिमा बन्नेछ भन्ने कुरा मैले कल्पना सम्म गरेको थिइनँ ।” पुल चौक इन्जिनियरिङ क्याम्पसबाट सिभिल डिप्लोमा इन्जिनियरिङ समेत गरेका साहले गल्ती के भयो भने उनी आफै गएर प्रतिमा बनिरहेको स्थलमा गएर प्राविधिक कुराहरु हेर्न भ्याएनन् । प्रतिमाको खुट्टामा १२ एमएमको ८ वटा र १६ एमएमको ४ वटा गरी दुवै खुट्टामा २४ वटा रड मात्र लागेको थियो । जवकी त्यसमा २५ वा ३० एमएमको रड प्रयोग हुनु पर्ने थियो । इन्जिनियरिङ डिभाइन नै बनाइएको थिएन । मौनी बाबाको रोहवरमा मिस्तिरीहरुको सुझाव अनुसार मात्र बनाइनु ठुलो गल्ती थियो । दाता साह भन्छन,“ उत्तर र दक्षिण तर्फ बनाइएको प्रतिमा, उत्तर दक्षिण दिसा तर्फ भएको पहिलो भुकम्पले खुट्टा क्रयाक भएपछि नै मलाई प्राविधिक कमजोरी भएको अनुभुति भईसकेको थियो । त्यसमा पनि जुन क्वालिटीको सिमेन्ट प्रयोग हुनु पर्ने थियो त्यो पनि भएन र सिमेन्ट, वालुवाको जुन अनुपातमा मिश्रण हुनु पर्ने थियो त्यो पनि भएन ।”
उक्त मुर्ती बनाउन र रंग रोगन गर्दा सम्म २४ लाख रुपैयाँ लगानी भईसकेको थियो भने ५ लाख रुपैयाँको रेलिङ लगाउन लगत अनुमान गरिएको थियो संयोग पनि कस्तो रह्यो भने भगवान परशुरामको जन्म ज्यन्तीको अवसर पारेर ८ बैशाख २०७२ का दिन अनावरण गरिएको उक्त प्रतिमा ४ दिन पछि आएको भुकम्पमा क्रयाक भयो ।
२८ बैशाख दिन आएको भुकम्पबाट प्रतिमा ढल्यो भन्ने खबर मौनी बाबाका शिष्य मार्फत पाए लगत्तै किसोरी सबै काम छोडेर परशुराम तलाउ हानिए । त्यहाँ पुग्दा ढलेको उक्त प्रतिमानिर पुगेका स्थानीय वासीहरु रोइरहेका उनले देखे पछि उनको आँखाको आँशु पनि थम्न सकेन । स्थानीयवासीहरुको मनोवल गिरेको थियो । अनिष्ठ भयो, अपसगुन भयो, भगवान परशुरामकै प्रतिमा ढल्नुले अब यहाँ ठुलै अनिष्ठ हुने हो कि भन्ने डर त्रासमा रहेका स्थानीयवासीलाई सम्हाल्दै किसोरीले भने,“ यसमा अपसगुन वा अनिष्ठको कुरा केही पनि छैन । प्रतिमा भुकम्प प्रतिरोधात्मक थिएन । क्वालिटीमा कमजोरी थियो । देशैभरी भुकम्पले लाखौं घर ढलेका छन् । हजारौं मान्छे मरेका छन् ।” सान्तवना दिँदै उनले थपे,“ विगतको गल्तीबाट मैले पनि ठुलो पाठ लिएको छु । तपाईहरुको आस्थाको प्रतिमालाई फेरी पनि उठाउँछु । आउँदो एक बर्ष भित्र परशुराम ज्यन्तीको अवसरमा इन्जिनियरबाट डिजाइन गराई भुकम्प प्रतिरोधात्मक बलियो प्रतिमा बनाई अनावरण गर्नेछु ।”
परशुराम तलाउलाई परशुराम कुण्ड पनि भन्ने गरिन्छ । धार्मिक र पौराणिक स्थल हुँदा हुँदै पनि जिल्लामा समेत धार्मिक पर्यटकिय गणतव्यको पहिचान बनेको थिएन । तर, उक्त प्रतिमा बनेपछि एउटा नयाँ पहिचान मात्र बनेको थिएन, प्रतिमा हेर्न र कुण्डमा पुग्न दिनहुँ सैकडौं पर्यटकहरु पुग्न थालिसकेका थिए । तीर्थाटन गर्न जनकपुर आउने पर्यटकहरु ‘धनुषाधाम’ दर्शन गर्न जाँदा बाटोमै पर्ने उक्त कुण्डमा पर्यटकहरु रुक्ने गर्थे । मुर्ती अनावरण हुँदा भएको यज्ञमा मात्रै दिनहुँ करिब २५ हजार सम्म श्रद्धालु भक्तजनहरु पुगेका थिए ।
प्रतिमा अनावरणको राजनीति
परशुराम प्रतिमा बनाउने दाता किशोरी साह ।
परशुरामको प्रतिमा वनिसकेपछि अनावरणका लागि राजनीति सुरु भयो । उदघाटन हुनु ६ महिना अगाडी देखि नै को द्वारा मुर्ती उदघाटन गराउने विषयलाई लिएर स्थानीयवासीहरु विभाजित भए । धनुषा क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका निर्वाचित सभाषद डा.चन्द्रमोहन यादवले आफ्नो संसदीय विकास कोषको १० लाख रकमबाट जिविस मार्फत टेन्डर गराउने र त्यस क्षेत्रको विकास गराउने घोषणा गरेका थिए । त्यसैले केही मानिस चन्द्रमोहनबाट उदघाटन गराउनु पर्छ भन्ने तर्क राखेका थिए । अर्को तर्फ परशुराम कुण्डमा विद्युत आपुर्ती गराउन भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको अहम भुमिका रहेको भन्दै केही मानिस मन्त्री निधिबाट उदघाटन गराउने भनिरहेका थिए । त्यसैगरी एमाले नेता रघुवीर महासेठ सिंचाई मन्त्री भएको बेला परशुराम कुण्डको तटबन्ध गर्न बोल्डर, जालीको काम गराउनुका साथै बजेट समेत दिलाएको भन्दै महासेठ मार्फत नै उदघाटन हुनु पर्छ भनेर अड्डी कसेपछि उदघाटनका लागि त्रिकोणीय राजनीतिक द्वन्द्व सुरु भयो । स्थानीयवासी विभाजित भए । सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने उक्ती झै स्थानीय वासीहरुले ८ गते महासेठ, ९ गते मन्त्री निधि र १० गते सभाषद यादव मार्फत उदघाटन गराए । महासेठले औपचारिक रुपमा उदघाटन गरे भने, मन्त्री निधिले यज्ञशालाको पूजा गरे भने यादवले यज्ञको सुरुवात गरे ।
    तर, भुकम्पबाट प्रतिमा ढलेपछि उदघाटनका लागि आतुर ती तिनजना नेता मध्ये अहिले सम्म कोही पनि पुगेका छैनन् । धन्यवाद भन्नु पर्छ ती दाता किसोरी साहलाई जसले पुनः लगानी गरेर प्रतिमा बनाउने बचन दिएका छन् ।
हुन पनि साह समाजसेवी चरित्रका मानिस देखिन्छन् । २०६१ सालमा धनुषाधाम गाविसको गौरीपुर सडकमा करिब ५÷६ लाख रुपैयाँको लागतमा २ किलोमिटर कच्ची सडक साहले बनाइदिएका छन् । साउन महिना र कार्तिक पुर्णिमाका दिन हजारौं श्रद्धालु भक्तजन जम्मा हुने सिरहाको उतरैनीमा उनले इनार वनाईदिएका छन् । उतरैनी त्यो ढाडै हो जहाँबाट जल भनेर टुटेश्वरमा महादेवको शिवलिङ्गमा अर्पण गरिन्छ । तर, त्यो ठाउँमा भक्तजनहरु कमला नदीकै पानी खान बाध्य थिए । २०६८ साल तिर किशोरीले करिब ३ लाखको लागतमा ३०÷४० फिट गहिरो इनार खनाएका छन् ।
किसोरी आफै एसएलसी उत्तीर्ण भएको फकिरचन्द्र गामी उच्च माध्यमिक विद्यालयमा १० लाख रुपैयाँको लागतमा सरस्वती मन्दिर वनाईदिएका छन् । त्यसैगरी विभिन्न सामाजिक तथा धार्मिक कार्यका लागि उनले लगानी गर्दै आएका छन् ।
धन सबैले कमाउँछन् तर दान गर्ने परिपाटी विलकुलै नरहेको समयमा किसोरी जस्ता दाताहरुको जय होस् र, समाजको विकासका लागि एक होइन हजारौं दाताहरु अगाडी आउनु प्रेरित हुनु पर्दछ ।
पौराणिक महत्व
रामायणकालीन समयमा जति पनि आतातायी राजाहरु हुन्थे तिनको संहार ‘परशु’ फर्सा र धनुषले गर्ने गर्थे । देवाशुर संग्रामको समयमा भगवान विश्वकर्माले ‘पिनाक’ र ‘वैष्णवी’ गरी २ वटा धनुष निर्माण गर्नु भएको थियो । ‘वैष्णवी’ धनुष लिएर भगवान परशुरामले आतातायी राजाहरुको संहार गर्नु हुन्थ्यो भने ‘पिनाक’ भगवान महादेवले बोक्नु हुन्थ्यो । ‘पिनाक’ र ‘वैष्णवी’ जोडा धनुष थियो । ती दुवै धनुष तत्कालिन समयका लागि ठुलो क्षेत्यास्त्रको रुपमा थियो । साहित्यकार अवधेष पोखरेल भन्छन,“ तत्कालिन समयमा आतातायी असुरहरुको नजरबाट बचाउन भगवान शिवले मिथिलाका राजा जनकको पुर्वज देवरातलाई जिम्मा लगाउनु भएको थियो । किन भने त्यस बेला मिथिला असुरहरुको प्रभाव नरहेको भुमी पथर््यो ।”
    पिनाक धेरै जटिल र विशाल थियो । जसलाई आम मानिसले उठाउन सक्दैनथ्यो । उठाउन अघि पिनाकको पूजन हुन्थ्यो । तर, राजा जनककी छोरी सीताले त्यो पिनाकलाई हटाएर सरसफाई गर्ने र त्यो ठाउँमा फेरी राखिदिने गरेको देखेपछि राजा जनकलाई सीतामा दैवी गुण छ भन्ने अनुभुति भयो । अनि सीताको विवाह पनि देवपुरुष सँग नै हुनु पर्छ भन्दै त्यो पिनाकमा प्रत्यन्चा चढाउन सक्ने व्यक्ति सँग सीताको विवाहका लागि उनले स्वयम्बर रचे । उक्त स्वयम्वरमा आएका थुप्र्रै वीर योद्धाहरु पिनाकमा प्रत्यन्चा चढाउन त के हल्लाउन पनि सकेनन् । तर, भगवान रामले प्रत्यन्चा चढाउँदा पिनाकको ती टुक्रा भयो । एउटा टुक्रा खसेको ठाउँलाई धनुषसागर भनिन्छ र अर्को टुक्रा खसेको ठाउँ धनुषाधाम भयो भने तेस्रो टुक्रा आकाशमा गएको बताइन्छ । साहित्यकार पोखरेलका अनुसार त्यो बेला दिव्यास्त्र जान्ने व्यक्ति दुई जना मात्र थिए । भगवान परशुराम र विश्वामित्र । परशुराम विश्वामित्रको नातीको नातामा पर्थे । राजा भएपछि आतातायी राक्षसहरुको संहार गर्ने शर्तमा विश्वामित्रले रामलाई दिव्यास्त्रको ज्ञान दिएका थिए । वैष्णवी र पिनाक धनुष कसरी उठाउने, कसरी प्रत्यन्चा चढाउने भन्ने ज्ञान रामलाई विश्वामित्रले दिएका थिए ।
दुर्दम्नीय दुर्जेय मनचिन्ते गतिशिलतामा परशुराम पिनाक कसले भाँच्यो भनेर क्रोधित हुँदा मिथिला आए । सीतालाई लिएर अयोध्या प्रस्थान गर्नै लाग्दा परशुराम  रामको अगाडी उभिए । शिव धनुष पिनाक कसले भाँच्यो भनेर रिसले आगो भएका परशुरामले प्रश्न गर्दा राजा दशरथ बेहोस नै भए भन्दै साहित्यकार पोखरेल भन्छन,“ लक्ष्मणले प्रतिरोध गर्न लाग्दा रामले विनयी स्वरमा मैले प्रत्यन्चा चढाउन लाग्दा भाँचिएको जवाफ दिए । अनि तिमीले नै भाँचेको हो भने पिनाकको जोडा वैष्णवी धनुषमा प्रत्यन्चा चढाएर देखाउ भने । रामले वैष्णवीमा पनि प्रत्यन्चा चढाए पछि सायद राम अवतार भईसक्यो भन्ने अनुभुति परशुरामलाई भयो ।”
    पोखरेलका अनुसार परशुरामको रिसलाई शान्त गर्न विश्वामित्रले सुझाएको कुन्डमा नुहाएकाले त्यो कुण्डलाई परशुराम कुण्ड भनिन्छ । परशुराम कुण्डमा नुहाएर शान्त भएका परशुराम पछि महेन्द्र पर्वतमा तपस्याका लागि गए ।


२०७२ जेष्ठ ०३ गते आईतबार

No comments:

Post a Comment