Tuesday, May 19, 2015

नजिकिँदै पहाड र मधेस

गोरखामा भुकम्प पीडितहरुलाई राहत हस्तान्तरण गर्दै जनकपुरका यूवाहरु ।
अजय अनुरागी
जनकपुरधाम............
गौतम ढुङ्गेल (६०) जनकपुरको विद्यापति चौकमा पुस्तक पसल संचालन गरि जिविकोपार्जन गरिरहेका छन् । २०१२ सालमा जनकपुरमै जन्मिएका ढुङ्गेल विद्यार्थी  राजनीति देखि नै सक्रिय छन् । गिरिराज मणि पोखरेल अनेरास्ववियूको अध्यक्ष भएका बेला गौतम महासचिव थिए । लिलामणि पोखरेल अध्यक्ष भएका बेला उनी सचिव थिए । एकातिर पोखरेलद्वय अहिले एमाओवादीमा शिर्ष नेताको रुपमा स्थापित छन् भने अर्को तर्फ गौतमले जनकपुरमा पुस्तक पसल संचालन गर्नु परेको छ ।
गौतम ढुङ्गेलका सहोदर ८ जना दाजुभाई मध्ये ७ जना जनकपुरबाट विस्थापित भईसकेका छन् । मधेस मुक्तिको नाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समुहहरुको धम्की मधेस आन्दोलनका दौरान पहाडे समुदायलाई लक्षित गरी गरिएको आक्रमणका कारण उनीहरु पलायन भए । गौतमका दाई केशव ढुङ्गेल जो नेपाली कांग्रेस धनुषाका उपसभापति तथा जनकपुर नगरपालिकाका वडा अध्यक्ष समेत भईसकेका व्यक्ति हुन, उनी पनि अन्ततः पलायन हुनु पर्यो । जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहका एक जना कमाण्डरले उनलाई ज्यान मार्ने धम्की दिएका थिए । उनको धम्कीलाई कांग्रेस धनुषाले पनि गम्भीरतापुर्वक लिन नसकेपछि उनी पलायन भए । कांग्रेस भित्रको केही नेताहरु पनि ढुङ्गेल धपाइएपछि आफ्नो राजनीतिक करियर बन्ने ठानेर मौन बसे ।
गौतम ढुङ्गेल भन्छन,“ मेरो पुस्तक पसलमा आगजनी गर्न पनि आन्दोलनकारीहरु आए । तर, घरबेटी प्रमोद झाले मेरो घर जलाउन दिन्न भनेपछि मात्र तिनीहरु फर्किए । अर्को दिन पसलमा ढुङ्गा मुढा गर्न आउँदा कृष्ण झाले  रोकेका थिए ।” ढुङ्गेल थप्छन,“ मधेस आन्दोलन दौरान २२ दिनसम्म कदम चौकको घरमा बाल बच्चा परिवार सहित थुनिएर बस्नुपर्यो । छरछिमेकले तरकारी किनेर ल्याईदिन्थ्यो ।” उनका सबै दाजु भाई काठमाण्डौ पलायन भए पनि आर्थिक अवस्था कमजोर रहेको र पसलबाट हुने आम्दानीले छोरा छोरी परिवार पाल्न सकिने हुनाले गौतम पलायन हुन तयार भएनन् । जे हुन्छ, देखा जाला, मैले कसैको केही विगार गरेको छैन, मलाई मारे पनि नमारे पनि जनकपुर छोडेर जान्न आत्मविश्वासका साथ जनकपुरमै बसेका गौतम ढुङ्गेल अहिले मज्जाले बसेका छन् ।
भुकम्प पीडितमा ज्यान गुमाउनेहरुको आत्माको शान्तिका लागि जनकपुरमा नेपालको नक्सा बनाई मैनवत्ती बालेर प्रार्थना गरिदै ।


ढुङ्गेल परिवार झै जनकपुरमा बर्षौं देखि बसोबास गर्दै आएका पहाडे समुदायहरु जनतान्त्रिकको आतङ्क र मधेस आन्दोलनको क्रममा उच्छङखल व्यक्तिहरुद्वारा भएको आक्रमणका कारण पलायन हुनु पर्यो । जनकपुरमा करिब १७ सय घर परिवार पहाडे समुदायका थिए । थापा चौक, मुर्ली चौक, कदम चौक, भानु चौक, किशोरी नगर, ब्रम्हपुरी, आनन्दनगर, पिडारी चौक, शान्तिनगर, लगायतका चौकहरुमा पहाडे समुदायहरुको बसोवास थियो । १४ सय घर परिवार पलायन भएका छन् । पहाडे समुदायहरुको ३ सय घर जति पनि अब जनकपुरमा नरहेको बताइन्छ ।
जनकपुरका हाइप्रोफाइल व्यक्तिहरु वरिष्ठ अधिवक्ताद्वय लक्ष्मी बहादुर निराला, रामजी प्रसाद मैनाली, जनकपुर चुरोट कारखानाका इन्जिनियर सुन्दर राज वली, जचुकालीकै क्षेत्रिय निर्देशक सुशिल कोइराला विस्थापित हुनु पर्यो । जानकी माविका नेपाली विषयका शिक्षकद्वय केदार नेपाल, दुर्गा प्रसाद कोइराला, गणित विषयका शिक्षक दिलिप माथेमा जस्ता स्थापित शिक्षकहरु जनतान्त्रिकहरुको धम्की थेग्न नसकेपछि काठमाण्डौ सरुवा गराएर पलायन भए । त्यसैगरी ठेरा घर भई बेंगाडावर स्रोतकेन्द्रमा स्रोत व्यक्ति रहेका प्रयागराज काफ्ले पनि अन्ततः घर जग्गा बेचेर पलायन हुनु पर्यो । राराब क्याम्पसका प्राध्यापकहरु इश्वर उपाध्याय, बद्री दाहाल, माधव ढुङ्गाना लगायतले सरुवा गराएर जानु पर्यो ।
त्यसैगरी यहाँ बसेर राजनीति गर्नेहरु एमाले नेता सनत सुवेदी, जनमोर्चा नेपालका धनुषा अध्यक्ष लक्ष्मण सिंह, कांग्रेस धनुषाका उपसभापति केशव ढुङ्गेल लगायत थुप्रै नेताहरु पनि पलायन हुनु पर्यो । नभन्दै जनतान्त्रिक समुहले जनकपुर चुरोट कारखानाका कर्मचारी श्याम श्रेष्ठ नरेन्द्र खाती र आन्तरिक राजश्व कार्यालयका नायव सुब्बा कुमार निरौलालाई गोली हानी हत्या नै गरिदिए पछि हिम्मत गरेर बसेका पहाडे समुदायहरुको पलायन हुने क्रम तीब्र गतिमा बढ्यो । घर जग्गा बेचेर पलायन हुन थाल्यो । कतिपय हुने खाने सम्पन्न व्यक्तिहरु राजधानी काठमाण्डौ गए, मध्यमवर्गीयहरु हेटौडा तिर गए भने नहुने व्यक्तिहरु बर्दीवास गौराडाँडा, सिन्धुली लगायत आफन्तहरु बसोवास गरेको थातथलो र पायक पर्ने ठानुतिर मुभ गरे ।
मधेस आन्दोलन र जनतान्त्रिक समुहहरुको धम्की मुख्य कारण त थियो नै तर तिनीहरु पलायन हुनु पछाडी जनकपुरका भु माफियाहरुको षडयन्त्र प्रमुख कारण थियो । त्यस्ता भु माफियामा मधेसी र पहाडे समुदायका व्यक्तिहरु पनि थिए । ती भु माफियाहरुको भुमिगत सशस्त्र संगठनहरुसँग मिलेमतो थियो । उनीहरुले यहाँ बसोवास गर्ने पहाडे समुदायको फोन नम्बर दिएर भुमिगत समुहबाट धम्की दिलाउने, ज्यान जोगाउन भन्दै ती पहाडे समुदायहरु बर्षौ देखि बसोवास गर्दै आएको घर घडेरी कौडीको भाउमा जग्गा बेचेर जानु र अर्को तिर महँगो जग्गा किनेर बसोवास गरेका पहाडे समुदायहरुको पीडा शव्दमा व्यक्त गर्न सकिन्न । पलायन भएका एक जना भन्छन,“ सधै जनकपुरमा बसियो नयाँ ठाउँमा आएर बस्नु पर्दा घुलमिल गर्न धेरै गाह्रो परिरहेको छ । जसो तसो जीवन गुजार्नु परिरहेको छ । जनकपुरको सधै याद आउँछ । माहौल शान्त भयो भनेर सुनेको छु । तर, त्यहाँ अब गएर बसोवास गर्न सकिने सामथर््य छैन । किनभने जनकपुरको जग्गा अब धेरै महँगो भईसक्यो ।”




तत्कालिन स्ववियूका सभापति ज्ञानेन्द्र यादव लगायत ३÷४ जना विद्यार्थी नेताहरुले असुरक्षित बनेका छात्राहरुलाई रेस्व्यु गर्नु परेको थियो । यादव अहिले मधेसी जनअधिकार फोरम नेपाल धनुषाका संगठन विभाग प्रमुख छन् । खास गरी मधेस आन्दोलनका क्रममा विभिन्न मानिसहरु विभिन्न स्वार्थले लागेका थिए केही मानिसहरु मुद्दा प्रति समर्पित थिए, कोही आन्दोलनकै आवरणमा लुट खसोट गर्ने स्वार्थले लागेका थिए । आन्दोलनलाई बदनाम गर्ने प्रवृतिका मानिसहरु पनि लागेको स्वीकार्दै यादव भन्छन,“ आन्दोलनका दौरान कोठा भाडा लिएर वस्ने पहाडे छात्राहरुको अस्मिता नै लुटिने हो कि भन्ने डर त्रास पनि थियो । आम हडतालका कारण सवारी साधन बन्द थियो । छात्राहरुलाई उच्छृङ्खल यूवाहरुले जिस्काउने काम गर्न थाले । अनि हामीले जनकपुर अञ्चल अस्पतालको नसिंङ क्याम्पस, रमदैया स्थित जानकी मेडिकल कलेज र राराब क्याम्पसका पहाडे छात्राहरुलाई रेस्क्यू गरी वर्दीवास, सिन्धुली सहित सुरक्षित स्थान सम्म पु¥यायौं । पहाडे समुदायका पसलहरुमा आगजनी, लुटपाट, घरमा ढुङ्गा मुडाले आक्रमण सबै हुन थाले पछि पहाडे समुदायहरु पलायन भएका छन् ।

जनकपुरको विद्यापति चौकमा पुस्तक पसल संचालन गर्दै गौतम ढुङ्गेल । मधेस आन्दोलन
 पछि उनका ६ जना दाजु भाई जनकपुरबाट पलायन भईसकेका छन् ।
त्यति हुँदा पनि राष्टिूय पार्टी भनाउने राजनीतिक दलहरुले समेत सुरक्षाको ग्यारेन्टी गराउन नसक्नु, राज्य विफल भएको अवस्था हुनु सर्वदलिय संयन्त्रको वैठकबाट प्रेस विज्ञप्ती समेत जारी नभए पछि उनीहरु अन्ततः पलायन नै हुनु पर्यो ।
जनकपुरधाम पवित्र र्तीर्थस्थल हो र यहाँ मरेपछि मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास र आस्थाका साथ भारतबाट केही पहाडे समुदाय आएका थिए । त्यसैगरी जनकपुरमा अवसरको खोजीमा सिन्धुली, रामेछाप, ओखलढुङ्गा, दोलखा, सर्लाही, सिरहा, उदयपुर, महोत्तरी, सप्तरी लगायतका ठाउँबाट पहाडे समुदाय जनकपुरमा आएर बसोवास गर्ने गरेका थिए । सरकारी कार्यालय काम गर्ने जागिरेहरु जनकपुर सरुवा गराएर आउँदा जनकपुरको राम्रो शैक्षिक अवस्था, शान्तिपुर्ण बातावरण हेरेर जनकपुरमै जग्गा किनी वसोवास गर्ने गरेका थिए ।
जनकपुरमा पहाडे समुदाय र मधेसी समुदायका मानिसहरु बीच एक आपसमा राम्रो सौहाद्र र सम्बन्ध थियो । होली जस्तो पर्वमा पहाडे समुदायहरु तराईमा हुने होली भन्दा एक दिन अगाडी मनाउँथे । सामुहिक रुपमा पहाडे समुदायहरु सडकमा निस्केर होली खेल्थे । एक आपसमा राम्रो सदभाव थियो । त्यसैगरी मधेसीहरुको पवित्र पर्व छठ, चौरचन लगायत पर्वहरु जनकपुरका पहाडे समुदायले पनि मनाउन थालेका थिए ।
तत्कालिन माहौलबाट पहाडे समुदाय जनकपुरबाट पलायन भएपछि सबै भन्दा वढी बेफाइदा जनकपुरलाई नै परेको छ । जनकपुर बजारमा आएको मन्दि अहिले सम्म सकिएको छैन । दशैमा रहने गरेको बजारको रौनक हराएको छ । जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह ‘हिरा’ भन्छन,“ पहाडे समुदायसँग क्रय क्षमता थियो । उनीहरु बस्तु किनमेल गर्न कुनै पनि कन्जुस्याई गर्दैन्थे । उनीहरु पलायन भएपछि महिनामा मात्रै १ करोड भन्दा वढी रकमको व्यापारमा नोक्सानी भईरहेको छ ।” हिरा भन्छन,“ थापा चौक स्थित सनत सुवेदी, नारायण सुवेदीको घरमा जाँदा कहिले पनि उनीहरुले मेरो नाउँ लिएर बोलाएनन् । छोरा आयो, बस्न देऊ, खाजा देऊ भनेर सेल र अनर्सा खुवाउने गरेको बाल्यकालको स्मरण कहिल्यै विर्सन सकिन्न ।” मधेस आन्दोलनका दौरान केही उच्छृङ्खल व्यक्तिहरु धमिलो पानीमा माछा मार्ने उद्देश्यले परिचालित भएका थिए ।
 पहिचान र अधिकारको लागि भएको दुई पटकको मधेस आन्दोलनको उद्देश्य सहि भएपनि आन्दोलनलाई बदनाम गराउन घुसपैठ भएका व्यक्तिहरुको आपराधिक हरकत र भु माफियाहरुको पैसा कमाउने स्वार्थका कारण जनकपुरको पहाडे समुदायहरु पलायन भईसकेपछि जनकपुरमा मिश्रित संस्कृतिको प्रष्ट अभाव झल्किन्छ । हुन त मधेस आन्दोलनमा जसरी घुसपैठ भयो त्यसैगरी पहाडे समुदायहरुको हकहितको लागि भनेर गठन गरिएको चुरे भावर राष्टिूय एकता पार्टीको पनि हिंसात्मक प्रतिकारले ढल्केवर, लालगढ, वर्दीवास, हरिवन जस्ता राजमार्गहरुमा मधेसी समुदाय निशानामा पर्यो । जसकारण मधेसी र पहाडी बीचको सदभाव झन खलबलिन आगोमा घ्यू थप्ने काम गर्यो ।
जनकपुरवासी अहिले आएर पहाडे समुदायहरुको बसोवासको महत्व राम्ररी बुझेका छन् । जनकपुरबाट पहाडेहरु पलायन के भए जनकपुरमा शैक्षिक माहौल पनि पलायन भयो । परिणाम स्वरुप अहिले जनकपुरबाट करिब १ हजारको हाराहारीमा विद्यार्थीहरु माध्यमिक शिक्षा लिनका लागि सिन्धुलीमा अध्ययनरत छन् । उच्च शिक्षा आर्जन गर्न अहिले विद्यार्थीहरु काठमाण्डौ वा अन्य ठाउँमा जान बाध्य छन् । जब कि पहिले विद्यार्थीहरु अन्य जिल्लाहरुबाट पढ्नकै लागि जनकपुरको राराब क्याम्पस आउँथे ।
त्यसैपनि ऋितिक रोशन काण्डले गर्दा देशैभरी मधेस र पहाड बीच साम्प्रदायिक दंगा भडकेको प्रसंग र नबलपरासी, कपिलबस्तुमा मधेसी समुदाय प्रति भएको हिंसाले मधेस आन्दोलनमा सदभाव विगार्न उत्प्रेरकको रुपमा काम गरेको थियो । काठमाण्डौको सिंहदरवारमा विगत सदियौं देखि सत्ता चलाउनेहरुले मधेस माथि गरेको भेदभाव र अन्यायका विरुद्ध भएको स्वस्फुर्त मधेस आन्दोलनको लक्ष्य पहाडी समुदायलाई भगाउने, विस्थापित गराउने वा पलायन गराउने विल्कुलै थिएन ।
लामो समय पछि सम्बन्धमा सुधार आउन थालेको भएपनि अब बन्ने नयाँ संविधानमा राज्यको पुनसंरचना र विभाजन, प्रदेशको नामाङ्कन, सिमाङ्कन लगायतका विषयलाई लिएर फेरी पनि पहाड र मधेस बीचको दुरी बढ्न थालेको थियो । खासगरी राजनीतिक दलका नेताहरुले पुर्वी तराईको झापा, मोरङ्ग, सुनसरी र पश्चिमी तराईको कञ्चनपुर र कैलाली लगायत ५ जिल्लाहरुको विषयमा अत्यन्तै गैरजिम्मेवार, गैरसम्बेदनशिल अभिव्यक्ति दिएपछि पहाडे र मधेसी समुदाय बीच तिक्तता उत्पन्न भएको थियो । अर्को तर्फ बन्दुक बोकेर विद्रोह गरेका जयकृष्ण गोइतको हिंसात्मक विद्रोह र सिके राउतको अलग देश सहितको अलगाववादी शान्तिपुर्ण अभियानले गर्दा पनि पहाडे समुदायले मधेसी समुदायलाई विखण्डनबादी, देशद्रोही सम्मको आरोपहरु लगाउन थाले । खासगरी सत्ता चलाउने राजनीतिक दलहरुले जनता जनता बीच विभाजन ल्याउन र शासन गर्न भुमिका खेल्ने गरेको पाइन्छ ।
१२ बैशाख अघिसम्म मधेस र पहाड बीचको लडाई चरमसम्म पुगिसकेको थियो । संघियताको सवालमा दुवै समुदाय बीच अविश्वास वढ्दै गएको थियो भने दुरी पनि झन झन वढ्दै गइरहेको थियो । तर, १२ बैशाखमा आएको महाविनाशकारी भुकम्पले गर्दा राजधानी काठमाण्डौ लगायत पहाडका जिल्लाहरुमा  भिषण मानविय क्षति, धनको क्षति भएपछि मधेसमा बस्ने हरेक नागरिकहरुको मन रोयो । पहाडे समुदायहरुको आँखाबाट आँशु बगेको देख्दा हरेक मधेसीको आँखाबाट पनि आँशु आयो । जनकपुरले विपतमा परेका पहाडे समुदायहरुलाई राहत संकलन  गरी भुकम्पले प्रभावित भएका जिल्लाहरु गोरखा, काभ्रे, सिन्धुपालचौक, रामेछाप, दोलखा, सिन्धुली र काठमाण्डौ समेतका स्थलहरुमा पुगेर राहत वितरण गरेका छन् ।
जनकपुरका विभिन्न संघ संस्थाहरुद्वारा महाभुकम्प प्रभावित क्षेत्रहरुमा करिव १ करोड भन्दा वढी मुल्य बराबरको राहत सामग्रीहरु वित्तरण गरेका छन् ।
    गत सोमवार नेपाली काँग्रेस धनुषा, रामानन्द युवा क्लव र पिराडी युवा क्लवले भुकम्प प्रभावित दोलखाको सदरमुकाम चरिकोटमा करिव पाँच लाख मुल्य बराबरको राहत सामाग्री वित्तरण गरेका छन् । रामानन्द युवा क्लवका पुर्व अध्यक्ष जिवनाथ चौधरीका अनुसार भुकम्प पिडितहरुका लागि १० क्विन्टल चामल, १० क्विन्टल च्युरा, २ यस कार्टुन पानी, त्रिपाल, कपडा, सावुन लगायतका राहत सामग्रीहरु वित्तरण गरिएको छ । त्यस्तै, जनकपुर उद्योग वाणिज्य संघ, जनकपुर औधषी व्यवसायी संघ, जनकपुर सर्जिकल व्यवसायी संघ ,जनकपुर युथ डेभल्पमेन्ट फोर्स,  नेपाल भारत युवा मैत्रि संघ ,मारवाडी सेवा समिति जनकपुर , राष्टिूय मधेश समाजवादी पार्टीका भातृ संगठन युवा लिग र समाजवादी विद्यार्थी संघ लगायतका संघसंस्थाहरुले राहत सामग्री संकलन गरी भुकम्प प्रभावित जिल्लाहरुमा वित्तरण गरेका छन् ।
त्यस्तै, आफन्त नेपाल धनुषाधाम, जानकी आँखा अस्पताल, सन्त निरांकारी संघ धनुषा शाखा  लागायतका संघसंस्थाहरुले पनि राहतका सामाग्रीहरु संकलन गरि वित्तरण गरेको छ । जिल्ला विकास समिति धनुषाका कार्यरत समाजिक परिचालकहरुले आफ्ना पाँच दिनको तलव भुकम्प पिडितहरुको लागि दिने घोषणा गरेको छ । त्यस्तै, धनुषाका निजी विद्यालयहरुका छाता संठगठन प्याबशन र एन प्याबसनले समेत प्रति विद्यालय १० देखि २० हजारको दरले भुकम्प पिडितको लागि रकम संकलन गरिरहेको छ । प्याबशन धनुषाका पुर्व अध्यक्ष महेश मण्डलले विद्यालयहरुबाट रकम संकलनको कार्य जारी रहेको बताए । जिल्लामा करिव एक सय जति संस्थागत विद्यालयहरु छन् । 
  नेपाल भारत युवा मैत्रि संघका महासचिव कृष्णा सिंहले भुकम्प पिडितहरुको लागि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई राहतको सामग्री बुझाउँदै भने,‘ हामी नुनदेखि सुन सम्म दिन तयार छौं, चिन्ता नलिनुस्, तपाईहरुलाई चाहिने हरेक सामग्री हामी उपलब्ध गराउन तयार छांै ।’जेवाईडिएफका  सदस्य ज्ञानेन्द्र झा ज्ञानु भन्छन,“ पहाडको पिडा हाम्रो पनि पिडा हो, उहाँहरुको पिडामा हामी मल्हम लगाउन आतुर छांै, राजनीतिकर्मिले आफ्ना रोटी सेक्न जे जस्तो हावा दिएपनि यस्तो विपत्तिको वेलामा हामी आफ्ना दाजुभाईलाई एक्लै छाडन सक्दैनांै ।” तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य समेत रहेका कृष्णा सिंह भन्छन,“हामी पहाडका विभिन्न जिल्लाहरुमा राहत लिएर पुग्यौं । सबै ठाउँमा हामीले अत्यन्तै पीडामा रहेका पहाडी समुदायहरुलाई मद्दत गर्न हरसम्भव प्रयास गरिरहेका छौं ।” सिंह फेरी थप्छन,“राष्टू निर्माण गर्ने यो नै उचित समय हो । हामी त्यहाँ पुग्दा उहाँहरुले पनि राम्रो सम्मान दिनु भयो । अहिले सहि हिसावले नेतृत्व र कर्मचारीतन्त्र अगाडी वढ्यो भने साँच्चै राष्टू निर्माण हुनेछ । किनभने अहिलेसम्म सहि अर्थमा राष्टू निर्माण नै भएको छैन ।”
        तसर्थ नेपालको लागि यो भुकम्पले विनाश ल्याएपनि नेपाल भित्र बसोवास गर्ने पहाडी, मधेसी र हिमाली जनताहरुलाई हामी पहिले नेपाली हौं र नेपालमा बस्ने हरेक नागरिक दाजु भाई तथा दिदी बहिनी हौं भन्ने अवसर समेत जुटाएको देखिन्छ । जसरी कोशीमा वाढी आउँदा पहाडबाट राहत आउँछ र पहाडमा भुईचालो जाँदा मधेसबाट सहयोगी हातहरु अगाडी बढ्दैछन्, राष्टू र राष्टिूयता समेत बलियो भएर जाँदैछ । तर, सत्ता हाँक्ने व्यक्तिहरुले कुनै पनि जनतालाई जाती, भुगोल वा नस्लका आधारमा भेदभाव गर्न छोड्नुपर्ने हुन्छ । अनिमात्र नयाँ नेपालको निर्माण हुनेछ ।



२०७२ जेष्ठ ०३ गते आईतबार

No comments:

Post a Comment