Tuesday, November 7, 2017

अबको निर्वाचनमा फोरमसँग विना शर्त सहकार्य गरेर जान तयार छौं ःशरतसिंह भण्डारी

राष्टिूय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आउँदो प्रदेशसभा र संघीय संसदको निर्वाचनमा संघीय समाजवादी फोरमसँग सहकार्य तथा गठबन्धन गरेर जानतयार रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर नजानु गल्ती थियो,जनताले प्रष्ट सन्देश दिईसकेका छन् कि मधेसका शक्तिहरु निर्वाचनमा एक भएर आउनु पर्दछ । पुर्व रक्षामन्त्री शरतसिंह भण्डारीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको कुराकानीको सम्पादित अंश ः

प्रदेश नम्बर २ को निर्वाचनमा भएको स्थानीय तहको मतदानको मत परिणाम पनि आईसकेको छ । मधेस आन्दोलनको नेतृत्व गरेको राजपा नेपाल त प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्न सकेन । के छ तपाईको विश्लेषण ?
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा हामीले भाग लिन सकेनौं । सरकारले हामीलाई बाहिर राख्यो । अहिले सम्पन्न तेस्रो चरणको निर्वाचनका लागि हामीसँग अत्यन्त कम समय थियो । आन्तरिक समस्याका बावजुद हामी निर्वाचनमा आयौं । मतदाताहरुको सहयोग र सदभाव राजपा नेपाललाई संतोषजनक नै रहयो । नेकपा एमालेले जे दम्भ र अहंकार देखाएको थियो, उसले जे दृष्टिकोण राखेको थियो त्यसलाई मधेसका जनताले करारा जवाफ दिएका छन् । अहिलेको प्रदेश नम्बर २ को निर्वाचनबाट मधेसका जनताले प्रष्ट के म्यासेज दिएका छन् भने मधेसको दुईवटा शक्ति राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल अलग अलग लड्नु हुन्थिएन । मधेस र मधेसका एजेण्डा प्रति जनताले विश्वास देखाएका छन् । मधेसका शक्तिहरुलाई प्रोत्साहित गरेका छन् । हामी दुवै शक्ति मिलेर जान तयार छौं ।
प्रदेश नम्बर २ मा नेपाली कांग्रेसनै ठुलो पार्टी बनेर आएको छ । जबकी ठुलो पार्टी बन्ने तपाईहरुको पनि दावी थियो । किन तपाईहरु धेरै पछाडी पर्नु भयो ?
नेपाली कांग्रेस र माओवादी अहिले सरकारको नेतृत्व गरिरहेको छ । बैशाख ३१ गते देखि नै उनीहरु चुनावको तयारीमा लागेका थिए ।उनीहरुसँग पर्याप्त समय थियो । तर पनि कांग्रेस, एमाले र माओवादी केन्द्रले गरेको प्रक्षेपण अनुसार परिस्थिति निर्माण हुन सकेन । धेरै बाध्यात्मक स्थितिमा हामीले चुनाव लड्नु परेको हो । ६ वटा पार्टीहरु बीच प्राविधिक रुपले एकिकरण भएपनि आपसी अन्तरघुलन तथा तालमेल ग्राउण्ड लेभेलमा हुन सकेन । धेरै कम समयमा उम्मेदवारहरुको टिकट वितरण सम्बन्धि निर्णय लिनु पर्यो । एउटा पदका लागि १०÷१० जना आकांक्षीहरु थिए । स्थिति फरक थियो । नयाँ नगरपालिका र गाउँपालिकाहरुमा जसरी जसरी नयाँ नयाँ गाउँहरु समायोजन गरिएको थियो त्यस अनुसार गाउँको समिकरणमा पनि परिवर्तन भयो । वडाहरुमा पनि समस्या आयो । त्यसकारण हाम्रै कतिपय साथीहरु असंतुष्ट हुनुभयो । कतिपय बागी भए । कतिपय अन्य पार्टीमै गए । कतिपयले पार्टीमा रहँदा रहँदै पनि अन्तरघात गर्यो । त्यसकारण हामी राजपाकै कारण हारेका छौं, कतिपय स्थानमा । जे भएपनि हामीलाई एउटा प्रष्ट सन्देश दिएको छ यो निर्वाचनले कि ठोक्कर खाएर पनि सम्हलिनुपर्दछ ।
तेस्रो चरणको निर्वाचनमा मिलेर जाऔं, गठबन्धन बनाएर जाऔं भनेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तपाईहरुलाई पटक पटक आग्रह गरेका थिए । तर, तपाईहरु त उपेन्द्र यादवलाई गद्दारको संज्ञा दिँदै एक्लै चुनावमा जाने अहंकार र दम्भ देखाउनु भयो । फोरमलाई निषेधनै गर्न खोज्नु भयो । आखिर परिणाम त तपाईहरु भन्दा राम्रो फोरमकै आयो । मधेसको ठुलो शक्ति त फोरम नै बनेर आएको छ । यस विषयमा तपाईको के टिप्पणी छ ?
हामीले कसैलाई निषेध गर्ने वा दम्भ देखाउने कुनै कुरा छैन । संघीय समाजवादी फोरम त पहिलो चरणको चुनाव देखि नै परिचालित थियो । दोस्रो चरणमा पनि सहभागी भयो । र, तेस्रो चरणको चुनावको तयारीका लागि उसँग पर्याप्त समय थियो । हामीले सरकारसँग शर्त राखेका थियौं कि संविधान संशोधन प्रस्तावको टुङ्गो नलागुन्जेल चुनावमा सहभागी हुन सक्दैनौं । हामीसँग बाध्यता थियो । हामीलाई चुनावमा जाने बाटोनै बन्द गरिएको थियो । उता तर्फ फोरम चुनावमा गईसकेको थियो । अन्ततः राजपाको गठन भएपछि राजपाको केन्द्रिय समिति र पदाधिकारीको बैठकहरुबाट संशोधन प्रस्तावलाई अगाडी वढाउने निचोडमा पुग्यौं । र, हामी चुनावमा आयौं । विगतमा हामीले फोरमसँग तालमेल गर्न सकेनौं । जनताले पनि हामीलाई जवाफ दिईसकेको छ । त्यसकारण उपेन्द्रजीसँग सहकार्य गर्न अब हामी खुल्ला छौं । यति मात्र होईन मधेसका एजेण्डा मिल्ने सबै दलहरुसँग सहकार्य, गठबन्धन गरेर आगामी विधानसभा र संघीय संसदको निर्वाचनमा जान तयार छौं । हामीले विना शर्त कुनै रिजर्भेसन नराखि सहकार्य गर्न तयार छौं ।
तैपनि फोरम नै किन मधेसको ठुलो शक्तिको रुपमा फेरी उदाउन सफल भयो ?
फोरम र राजपाको ट्याक्टली मुभमेन्ट नै फरक थियो । हामी एक हिसावले प्रतिबद्धता साथ निर्वाचनमा जान सकेनौं । फोरम पुरा तयारीका साथ चुनावमा आएको थियो । त्यसकारण उ ठुलो पार्टीको रुपमा स्थापित भएको छ ।
कांग्रेस ठुलो पार्टी बन्नुको मुख्यकारण के हो ?
हामी धेरै दुखि छौं । चिन्तित पनि छौं । अलिकति संतुष्टि पनि छ । तर, अहिलेको निर्वाचन प्रणाली र प्रद्धतिको विषयमा भने धेरै प्रश्नहरु उठेका छन् । जनताको सेन्टिमेन्ट हामीसँग कायमै छ । तर, जसरी निर्वाचनमा गैरराजनीतिक चलखेल भएको छ, ठुलो पार्टीहरुले सत्ता र शक्तिको दुरुपयोग गरेर मधेसको भोट बैंकलाई दुरुपयोग गरेका छन्, सम्पति र धनको दुरुपयोग गरेर जाती र सम्प्रदायलाई हतियार बनाएर चुनावमा मनि र मसलको प्रयोग गरेका छन् त्यसले लोकतन्त्रलाई नै धज्जी उडाएको छ । त्यसकारण तिनीहरु ठुलो पार्टी बनेका छन् । तर, अहिले पनि जनताको सेन्टिमेन्ट भनेको राजपासँग छ ।
अध्यक्ष मण्डलका सदस्यहरुको स्थानीय तहमा त राजपा हारेको छ । तपाईकै संसदीय निर्वाचन क्षेत्र तथा पैत्रिक गाउँ महोत्तरीको औरही र बर्दिवासमा राजपा हारेको छ । सर्लाहीमा अत्यन्तै खराव परिणाम आएको छ । सिरहामा त झनै खराब । सेन्टिमेन्ट यदि तपाईहरुसँग रहेको भए अध्यक्ष मण्डलका गृह जिल्लाका गाउँपालिका तथा नगरपालिकामा राजपाले जित्नुपथर््यो । तर, त्यसो किन भएन ?
मेरो पैत्रिक गाउँ औरही नगरपालिकामा हामीले मेयर हारेपनि उपमेयर जितेका छौं । औरहीमा के भएको थियो भने व्यालेट पेपरमा साईकलको तल रिक्सा राखिएको थियो । हामीले मेयरमा बल्वा सरपल्लो नगरपालिकामा ५२ भोटले हार्यौं तर त्यहाँ रिक्सालाई ३ सय मत गएको थियो । त्यसैगरी औरहीमा साढे ३ सय मत रिक्सामा गएको थियो । त्यसैले कतिपय ठाउँहरुमा हामी प्राविधिक रुपले हारेका छौं । पार्टी अध्यक्षको गाउँमा पनि हाम्रैमा ठुलो अन्तरघात भएका छन् । पार्टी भित्र र पार्टी बाहिरका ले पनि अध्यक्ष भएको ठाउँमा अन्तरघात गर्नु स्वाभाविक हो ।
जहाँसम्म महोत्तरीको बर्दिवासको कुरा हो हामी त्यहाँ प्रत्यक्ष लड्यौं, त्यो पनि ठुलो कुरा हो । राजपाले १८ सय मत प्राप्त गरेका छन् । अब त्यो हाम्रो बेस बनेको छ । त्यहाँबाट हामीले आफ्नो संगठन विस्तार गर्ने हो । बर्दिवासमा त सरकारका मन्त्रीहरुले राता रात बोरा खोलेर नै पैसा बाँटे । त्यसकारण सत्ताको धेरै दुरुपयोग भएको छ । अब त राजनीति सेवाको लागि हो वा लिलामीका लागि भन्ने हिसावले अगाडी वढेको छ । तै पनि महोत्तरीमा कतिपय स्थानमा हामी आआफना कमि कमजोरीका कारण पनि चुनाव हारेका छौं । तर, महोत्तरीका जनताले प्रष्ट रुपमा के सन्देश दिएको छ भने जनताको सेन्टिमेन्ट राजपासँग छ ।महोत्तरीमा राजपालाई नै ठुलो पार्टीको रुपमा स्थापित गरेको छ । र, सबैभन्दा ठुलो कुरा महोत्तरीका जनताले एमालेलाई पता साफ गरेर दण्डित गरेका छन् ।
विरगञ्ज महानगरपालिकामा तपाईकै कारण विमल श्रीवास्तवलाई टिकट दिइएन । तपाई आफ्नो मान्छे राजेशमान सिंहलाई टिकट जसरी पनि दिलाउनु भयो । आखिर विरगञ्ज पनि राजपाले हारिरहेकै छ । त्यसको जिम्मेवारी तपाईले लिने कि नलिने ?
विरगञ्जमा हारको जिम्मेवारी यदि मैले लिनुपर्छ भने जनकपुरको जितको श्रेय मलाई दिने कि नदिने । प्रश्न त्यो होईन ।मधेस आन्दोलनको रणभुमि रहेको, आन्दोलनको केन्द्र रहेको विरगञ्जमा आन्दोलनमा कहिल्यै पनि नदेखिएका तर अत्यन्त धनाड्य व्यापारीलाई आन्दोलनकारी पार्टीबाटै टिकट दिईन्छ भने त्यहाँ परिस्थिति फरक हुन्छ नै । राजपा त्यहाँ पनि सम्मानजनक स्थितिले लडेकै हो । अब त चुनावमा धेरै ठुलो विकृति आईसकेको छ । यसरी नै मनि र मसलको हत्कण्डालाई दुरुपयोग गरी चुनाव लड्ने हो भने अधिकार र पहिचानको लडाई संकटमा पर्छ ।
अबको आगामी चुनावहरुमा राजपाले फोरमसँग सहकार्य गर्न सम्वाद अगाडी वढाईसकेको छ त ?
राजपाको राजनीतिक समितिको बैठक प्रारम्भ भएको छ । त्यो विषयले प्रवेश पाएको छ । जो जोसँग एजेण्डा मिलिरहेका छन् ती सबै शक्तिसँग आगामी निर्वाचनका लागि सहकार्य गर्ने कुरा उठेको छ । स्थानीय तहमा गठबन्धन भयो वा भएन त्यसले त्यति अर्थ राख्दैन । तर, अब संघीय संसदको चुनाव र विधानसभाको चुनाव भनेको अधुरो रहेको संविधानलाई पुर्णता दिनका लागि संविधान संशोधनको पक्षमा संख्या जुटाउन पनि आवश्यक छ । आपसमा मत विभाजन हुनु गलत कुरा हो । त्यसैले हामी फोरमसँग मात्र होइन संविधान संशोधन पक्षधर सबैशक्तिहरुसँग सहकार्य गरी दुई तिहाई बहुमत जुटाउन ओपन छौं । त्यसका लागि अब सम्वादका क्रमहरु विभिन्न राजनीतिक दलहरुसँग अगाडी वढ्ने छ ।
राजपा एउटा पार्टी भएर अगाडी जान्छ वा टुक्रा टुक्रा भएर विभाजन हुन्छ ?
यो स्थानीय तहको निर्वाचनबाट बल्ल राजपा एउटा पार्टीको रुपमा स्थापित भएको छ । हिजोसम्म हामी आन्दोलनमै थियौं । सडकमै थियौं । केही संख्यामा सदनमा पनि थियौं । तर, ग्रासरुटमा भने हामी थिएनौं । बल्ल एउटा राजनीतिक शक्तिको रुपमा मधेसका गाउँ गाउँ टोल टोलमा स्थापित भएका छौं । राजपा विभाजन हुने कुनै सम्भावना छैन । हिजो ६ जना व्यक्तिको ६ वटा अलग अलग पार्टी थियो । तर, अब हामी साँच्चिकै अर्थमा राजनीतिक पार्टीका रुपमा रुपान्तरित भएका छौं । अब पार्टी महत्वपुर्णभएको छ, व्यक्ति होईन । त्यसैले अब पार्टी टुक्रा हुने होईन कि एक्ताबद्ध भएर अगाडी वढ्ने छ ।


२०७४ आसिन १५ गते आईतबार

No comments:

Post a Comment