Tuesday, November 7, 2017

प्रदेश नं. २ मा कसको कति हैसियत ? मत परिणामलाई लिएर प्रदेश नं. २ का मतदाता के भन्छन ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नं. २ मा सम्पन्न भएको १ सय ३६ स्थानीय तहमा ७७ प्रमुख, ७७ उपप्रमुख, ५९ अध्यक्ष, ५९ उपाध्यक्ष १ हजार २ सय ७१ वडाअध्यक्ष, १ हजार २ सय ७१ महिला सदस्य, १ हजार २ सय ६२ दलित महिला सदस्य र २ हजार ५ सय ४२ सदस्यहरु निर्वाचित भएका छन् । जसमध्ये नेपाली कांग्रेसले १ हजार ७ सय ३८, नेकपा एमालेले १ हजार २ सय ५०, नेकपा माओवादी केन्द्रले १ हजार १ सय २८, राष्टिूय जनता पार्टीले १ हजार १ सय १२, संघीय समाजवादी फोरम नेपालले १ हजार ५७ र अन्यले ३ सय ३३ पदमा विजयी प्राप्त गरेका छन् ।
प्रदेश नं. २ मा समग्र संख्याको आधारमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो, राजपा नेपाल चौथो र फोरम नेपाल पाँचौ शक्तिका रुपमा स्थापित भएका छन् । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेस २६, राजपा नेपाल १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १२, संघीय समाजवादी फोरम १० र अन्यले २ स्थानमा जित प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसले २२, नेकपा माओवादी केन्द्रले १८, राजपा नेपालले १७, नेकपा एमालेले १४ र फोरम नेपालले ५ स्थानमा जित हासिल गरेका छन् ।
त्यसैगरी गाउँपालिकामा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालले १६, नेपाली कांग्रेसले १४, राजपा नेपालले ११, नेकपा माओवादी केन्द्रले ८, नेकपा एमालेले ६ र अन्यले ४ स्थानमा जित हासिल गरेका छन् । उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालले २०, नेपाली कांग्रेसले १३, राजपा नेपालले १३, माओवादी केन्द्रले ६ र नेकपा एमालेले ५ स्थानमा जित हात पारेको छ । त्यसैगरी वडाध्यक्षमा नेपाली कांग्रेसले ३ सय ३८, एमालेले २ सय ३०, माओवादी केन्द्रले २ सय ३०, राजपा नेपालले १ सय ९५ र संघीय समाजवादी फोरम नेपालले १ सय ९१ स्थानमा जित हात पारेको छ ।
महिला सदस्यमा नेपाली कांग्रेसले ३ सय २३, एमालेले २ सय ५२, माओवादी केन्द्रले २ सय १८, राजपा नेपालले २ सय ११ र संघीय समाजवादी फोरम नेपालले २ सय ९ स्थानमा जित हात पारेको छ । त्यसैगरी दलित महिला सदस्यमा नेपाली कांग्रेसले ३ सय २६, एमालेले २ सय ४६, राजपा नेपालले २ सय १४, माओवादी केन्द्रले २ सय १२ र फोरम नेपालले २ सय ५ स्थानमा जित हात पारेको छ । त्यसैगरी सदस्यहरुमा नेपाली कांग्रेसले ६ सय ७६, एमालेले ४ सय ८५, राजपा नेपालले ४ सय ३७, नेकपा माओवादी केन्द्रले ४ सय २३ र फोरम नेपालले ४ सय १ स्थानमा जित हात पारेको छ ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो ठुलो पार्टी बनेर आएको छ । मधेस आन्दोलनको अगुवाई गरेको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन घटक दलहरु संघीय समाजवादी फोरम नेपाल, राष्टिूय जनता पार्टी नेपाल र लोकतान्त्रिक फोरम नेपाल छुट्टा छुट्टै निर्वाचन लडेका थिए । धेरै पहिले नै मोर्चाबाट विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई निकालिएको थियो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा फोरमले सहभागिता जनाएपछि मोर्चा पनि विघटन सरह नै भएको थियो । आन्दोलनमा सहकार्य गरेका राजपा र फोरम अलग्गिएका थिए । राजपाले फोरमलाई आन्दोलनबाट पछाडी हटेको तथा फोरमका नेतृत्व उपेन्द्र यादवलाई गद्दार सम्म भनेर सत्तोसराप गरेका थिए । मधेस आन्दोलनको लिगेसी अब फोरमसँग नरहेर राजपाको मात्र रहेको समेत दावी गर्न थालिएको थियो । तर, प्रदेश नं. २ को स्थानीय तहको मत परिणाममा राजपा भन्दा फोरमनै बढी सिट ल्याएर मधेसमा आफ्नो दवदवालाई पुनः हासिल गर्न सफल भयो ।
प्रदेश नं. २ का मतदाताहरुको आफ्नै खाले विश्लेषण रहेको पाईन्छ । जनकपुर उपमहानगरपालिका २२ का उपेन्द्र पाण्डेका अनुसार राजपाको त मधेसमा संगठन नै थिएन, चुनावको तयारी पनि थिएन । तर, फोरमको पुरै संगठन चुनावका लागि तयार थियो । जातीको नारा मधेसमा चलेपछि फोरम ठुलो शक्ति बनेको हो । कांग्रेस अझै पनि पहिलो पार्टी बन्न सफल हुनुको मुख्य कारण राजपाको गाउँमा संगठन नै नहुनु तर्क गर्ने पाण्डे भन्छन,“ एमालेले प्रदेश नं. २ मा जे जति सिट ल्याउन सफल भएपनि त्यो भने दुर्भाग्य हो । मतदाताले एमालेलाई भने करारा जवाफ दिन सकेनन् ।” महोत्तरी पररियाका मनसुर आलमका बुझाईमा मधेसमा राजपा नै ठुलो शक्ति हुने थियो । तर, साईकलका अधिकांश मत धोकाले रिक्सामा पर्न गयो र ठाउँ ठाउँमा राजपाका उम्मेदवारलाई हार बेहोर्नु पर्यो ।
जनकपुर १६ पुल चौकका दिपक साह कांग्रेसी समर्थक हुन । उनी आफ्ना गाउँ हंसपुर नगरपालिकाका मतदाता हुन । उनको बुझाईमा हंसपुर नगरपालिकामा राजपाले जित्नु पछाडीको मुख्य कारण नेपाली कांग्रेसले योग्य उम्मेदवार उठाउन नसक्नु हो । साह भन्छन,“ हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका विमलेन्द्र निधि खेमाका प्रदिप यादवलाई टिकट दिइयो । जो कि उनी योग्य उम्मेदवार थिएनन् । उनको ठाउँमा लिला कोइराला खेमाका भुपनारायण यादवलाई टिकट दिएको भए राजपा जित्ने थिएनन् । त्यसैले त्यहाँ कांग्रेसकै बागी उम्मेदवार भरोसी मण्डल मेयरमा उठेर कांग्रेसको ११ सय मत काटे र नेपाली कांग्रेसका प्रदिप यादव हारे ।” यादव आफै कांग्रेसी समर्थक भएपनि कांग्रेसका उम्मेदवार जित्ने नदेखेपछि मधेस आन्दोलनको सेन्टिमेन्टलाई सम्मान गर्दै राजपाका उम्मेदवार रामज्ञान मण्डललाई मत दिएको बताउँछन् । यादव के पनि भन्छन भने यहि हाल रह्यो भने कृषि मन्त्री रामकृष्ण यादवको कांग्रेसको किल्ला ध्वस्त हुनेछ । रामकृष्ण यादव धनुषाको निर्वाचन क्षेत्र नं. २ बाट दुई पटक सभाषद भईसकेका छन् ।
जनकपुर ४ का चन्देश्वर ठाकुरको बुझाईमा प्रदेश नं. २ मा अहिले नेपाली कांग्रेसले जेजति मत पाएका छन् त्यो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकै कारण पाएका हुन । मधेस आन्दोलनताका मधेसका अजेण्डाका पक्षमा निधि उभिएका कारण र पार्टीमा समेत राम्रो कद बनाएका कारण निधिकै प्रभावले त्यति मत पनि कांग्रेसले पाउन सक्यो । ठाकुर भन्छन,“ पञ्चायत काल देखि तराईलाई कांग्रेसको गोरहा खेत भनेर भन्ने गरिन्छ । तर, अब त्यो खेत सुख्खा बंजरमा परिणत भईसकेको छ । निधिले कतिसम्म खेतलाई उर्बर बनाउन सक्छन् त्यो भने भन्न सकिन्न ।” ठाकुरको बुझाईमा राजपा र फोरम मिलेर चुनावमा आउनु पथर््यो । तर, राजपालाई ठुलो अहंकार र घमण्ड भएकाले जनताले पनि फोरमलाई ठुलो शक्ति बनाएर राजपालाई हैसियतमा ल्याईदिएको छ ।
महोत्तरीका मटिहानीका श्याम नारायण झा भन्छन,“ महोत्तरीका जनताको भावना राजपा संग गयो । एमालेको पता साफ भयो । एमालेको प्रतिबद्ध संगठन भएपनि एमालेको मत महोत्तरीमा माओवादीमा गयो । माओवादीले मधेसका मागहरु प्रति सकारात्मक दृष्टिकोण राखेकाकारण एमालेको मत माओवादीमा गएको हो ।” स्थानीय निकायमा राजपा, फोरम, माओवादी लगायतका दलहरु पहिलो पटक सहभागी भयो । तर, कांग्रेस र एमालेको पहिले देखि नै संगठन भएका आधारमा प्रदेश नं. २ मा कांग्रेस र एमालेले मत ल्याएको झाको बुझाई छ ।
जनकपुर उपमहानगरपालिका ६ का दिनेश डोम भन्छन,“ प्रदेश नं. २ मा राजपा र फोरम अगाडी आउनुको कारण मधेस आन्दोलन नै हो । कांग्रेसलाई उसको अहमले खायो । एमालेको मधेस विरोधी दृष्टिकोणले पछाडी धकेलियो ।”
जनकपुर उपमहानगरपालिका ८ का रामनरेश साह भन्छन,“विना तयारी राजपा चुनावमा गयो । संगठन होइन सेन्टिमेन्टको भोट राजपा र फोरमलाई गयो । फोरम जित्नुको कारण फोरमले मधेसका बहुसंख्यक जाती यादव समुदायलाई उठाउनु पनि हो ।”




२०७४ आसिन १५ गते आईतबार

No comments:

Post a Comment