Tuesday, November 7, 2017

विराट व्यक्तित्वको विराट जित प्रजातान्त्रिक योद्धा लालकिशोरको संघर्ष यात्राको कथा

अजय अनुरागी
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिकाको मेयर पदमा राष्टिूय जनता पार्टी नेपालका लालकिशोर साह निर्वाचित भएपछि उनलाई देश तथा विदेशबाट बधाईको ओईरो आईरहेको छ । जनकपुरमा भएका मानिसहरुले उनलाई भेटेरै बधाई दिईरहेका छन् भने जनकपुरभन्दा बाहिरका मानिसहरु भने उनलाई फोन गरेर बधाई दिईरहेका छन् । कसैले म्यान अफ इलेक्शन, कसैले जनकपुरका मतदाताका निर्णय मधेसको पक्षमा निर्णय, कोई जनकपुरको अभिमत सिंगो प्रदेश नं. २ कै अभिमत भनेर फोनमा साहलाई भनिरहेका छन् । कोई जनकपुरको दुरावस्थालाई अन्त गर्नका लागि अभिमत, जिर्ण सडक नालालाई मर्मत गर्नका लागि अभिमत भनेर पनि भनिरहेका छन् । कोई यहाँको माहौल सुधार्नका लागि जनताको अभिमत भनेर बधाई दिईरहेका छन् । अहिले बधाईसँगसँगै उनलाई धेरै जिम्मेवारी पनि दिनेहरुको कमि छैन । जनकपुरलाई एउटा आधुनिक सहर जनकपुरधामको रुपमा विकास गर्नका लागि सम्पुर्ण पुर्वाधारहरु नवनिर्वाचित मेयर साहले पुरा गरिदिउन भन्ने आशा र अपेक्षा समेत साहसँगको भेटमा नगरवासीले गर्ने गरेका छन् । हुन पनि विगत २० बर्ष देखि स्थानीय निकाय जनप्रतिनिधि विहिन भएपछि कर्मचारी र सर्वदलिय संयन्त्रको आधारमा जनकपुर उपमहानगरपालिकाको बजेट खर्च त हुन्थ्यो तर विकास भएको नगरवासीले अनुभुति गर्न सकिरहेका थिएनन् । एक त स्थानीय निकाय जनप्रतिनिधि विहिन भएको अवस्था, अर्कोतिर जनकपुर उपमहानगरपालिका स्थित धनुषा क्षेत्र नं. ४ को संसदीय निर्वाचन क्षेत्र समेत जनप्रतिनिधि विहिन भएको अवस्थामा साँच्चै भन्ने हो भने जनकपुर टुहुरो भएको थियो । किनभने यस क्षेत्रबाट निर्वाचित सांसद संजय साह अहिले जनकपुर बम काण्ड र संचार उद्यमी अरुण सिंघानियाको हत्या अभियोगमा जेलमा पुर्पक्षमा थुनिएका छन् । जनकपुरका लागि आधिकारिक जनप्रतिनिधि नभएर पनि होला,मेयरमा साह निर्वाचित भएपछि जनकपुरवासीमा थुप्रै आशा र अपेक्षाहरु जागेका छन् । अब ती आशा र अपेक्षाहरु मेयर साहले कति पुरा गर्लान वा नगर्लान त्यो भने आगामी दिनमा उनले गर्ने कामहरुबाट क्रमशः देखा पर्ने नै छन् । त्यसको लेखाजोखा आगामी दिनमा हुने नै छन् ।
विराट जित
जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि १९ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । उपमहानगरपालिकामा ४५ हजार ७ सय ९७ मत खसेकोमा  मत परिणाम हेर्दा खेरी खासै भन्ने हो भने कसैले पनि राजपा नेपालका उम्मेदवार लाल किशोर साहलाई चुनौति दिएको देखिँदैन । किनभने निर्वाचित साह र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज कुमार साहले पाएको मतमा १० हजार भन्दावढी मतको मतान्तर रहेको छ । निर्वाचित साहले २१ हजार ९ सय ३ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका साहले ११ हजार १ सय ६४ मत मात्र पाउन सकेका थिए । नेकपा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८ सय ६५, संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६ सय १२ र नेकपा माओवादी केन्द्रका चन्द्रशेखर साहले २ हजार १ सय २८ मत मात्र प्राप्त गर्न सकेका थिए । बाँकी पाँच जना उम्मेदवारहरु १ हजार मत पनि कटाउन सकेनन् भने अर्का बाँकी उम्मेदवारहरुले ५० मत पनि ल्याउन सकेनन् । ती मत परिणामको तथ्याङ्कले पनि निर्वाचन केही हदसम्म कांग्रेसले प्रतिस्पर्धा गर्न खोजेको देखिएपनि एकतफी रुपमा साह जितेको देखिन्छ । त्यस अर्थमा साहको जित विराट जित भएको बुझ्न सकिन्छ ।
जनकपुरमा विगतमा पनि दुई पोलमा मात्र मतदान हुने र कडा प्रतिस्पर्धा हुने र बाँकी उम्मेदवारहरु प्रतिस्पर्धामै नदेखिने दुई पटकको संविधानसभाको चुनावले पनि देखाउँछ । पहिलो संविधानसभाको चुनावमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार संजय साह र नेकपा एमालेका उम्मेदवार रघुविर महासेठ बीच भएको कडा प्रतिस्पर्धामा फोरमका साह निर्वाचित भएका थिए । त्यसैगरी दोस्रो संविधानसभाको निर्वाचनमा सदभावनाका संजय साह र नेपाली कांग्रेसका रामसरोज यादव बीच भएको कडा प्रतिस्पर्धामा  साह नै निर्वाचित भएका थिए । ती दुवै चुनावमा दुई जना प्रतिस्पर्धीहरु बीच मात्र प्रतिस्पर्धा देखिएको थियो । तर, जनकपुर उपमहानगरपालिकामा भएको स्थानीय तहको निर्वाचनमा त्यो परिस्थिति पनि देखा परेन । साहले एकहोरो मैदान मारेको देखिन्छ ।
साहको पहिलो दिनको निर्णय
जनकपुर उपमहानगरपालिकाका नवनिर्वाचित कार्यपालिका प्रमुख लालकिशोर साहले जनकपुर उपमहानगरपालिकालाई जनकपुरधाम उपमहानगरपालिका बनाउने निर्णय गरेका छन् । नवनिर्वाचित प्रमुख, उपप्रमुखसहित पदाधिकारीहरुले सपथ ग्रहण गरे लगत्तै पदभार सम्हालेपछि ९ असोजमा जनकपुर उपमहानगरपालिकाको नाम जनकपुर उपमहानगरपालिका भई कार्य सञ्चालन रहेकोमा अब जनकपुरधाम उपमहानगरपालिकाको नामाकरण गरि दिनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई  अनुरोध गर्ने निर्णय गरिएको छ ।
उक्त कार्यपालिकाको बैठकले यसका अतिरिक्त जनकपुर उपमहानगरपालिकाको वडा नम्बर १३ स्थित मौनि बाबाको स्थानसम्म पुग्नको लागि बाटोको अवस्था राम्रो नभएको हुँदा परिक्रमा सडकदेखि मौनि बाबाको स्थानसम्म बाटो मर्मत सम्भार गर्नुका साथै उक्त स्थानलाई उज्यालो गर्नका लागि दुई थान सोलार लाईट जडान गर्ने दोश्रो निर्णय  गरेका छन् । सहरका यूवाहरुलाई पान पराग, गुट्खा लगायतका सामानहरुको सेवन नगर्न अनुरोध गर्नुका साथै सेवन गर्नै परे सहरमा जहाँ तहाँ थुक नफाल्न अनुरोध समेत तेस्रो निर्णयमा गरिएको छ । त्यसैगरी पहिलो बोर्डको बैठकबाट गरिएको निर्णयमा मधेस आन्दोलनका सहिदहरुलाई श्रद्धाञ्जली दिनुका साथै मतदाताहरुलाई आभार समेत व्यक्त गरिएको थियो ।
नवनिर्वाचित पदाधिकारीहरुले मैथिली भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । मिथिलाको ईतिहासलाई जोगाउँदै मैथिली भाषाको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले मैथिली भाषामा सपथ लिएको जनकपुर उपमहानगरपालिकाका प्रमुख साहले बताएका छन् । निर्वाचनका क्रममा मतदाताहरुसंग मत माग्न जाने बेला अरु उम्मेदवारहरुले धेरै प्रतिवद्धता गरेपनि आफुले भने धेरै ठुलो कुराहरुको आश्वासन नदिए पनि मतदाताहरुले व्यक्त गरेका अभिमतलाई सम्मान गर्दै जनकपुर उपमहानगरपालिकाको विकासका लागि आफु सदैव प्रयत्नशील रहने साहले बताएका छन् । जीर्ण जनकपुरलाई पूनर्निर्माण गर्नका लागि धेरै कामहरु गर्न आवश्यक रहेको भन्दै साह भन्छन्, ‘जनकपुरका सडक निर्माण, ढल व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, लामखुट्टे नियन्त्रण लगायत धेरै पूर्वाधारहरुको विकास गर्न आवश्यक छ ।’ कहाँबाट सुरु गर्ने भन्ने अन्यौल रहेपनि केही दिनमै समग्र जनकपुरको विकासका लागि कार्ययोजना बनाई सार्वजनिक गर्ने प्रमुख साह बताउछन् ।
बिना कुनै भेद्भाव राजनीतिक आस्था नराखी विकास निर्माणदेखि सामाजिक सद्भाव, सामाजिक एकता, सामाजिक परिर्वतनको अभियानलाई अगाडी बढाउन एकवद्ध भई प्रयत्न गर्नेछु भन्दै नव निर्वाचित प्रमुख साह भन्छन्, ‘जनकपुरको माहौल दुषित भएको छ, त्यसलाई स्वच्छ बनाउनु छ । महिलाहरु असुरक्षित छन् तिनलाई सुरक्षाको वातावरण प्रत्याभूति गराउनु छ । युवाहरु कुलतमा फसेका छन्, त्यो जञ्जालबाट युवाहरुलाई उन्मुक्ति दिलाउनु छ, युवाहरु विदेश पलायन भईरहेका छन् यही काम गरेर खान सक्ने परिस्थिति निर्माण गर्नुछ, युवाहरुलाई गलत तत्वले झुक्याई गलत काममा प्रयोग गराई रहेका छन्, तिनलाई सही दिशा देखाउनु छ ।’ विद्यार्थीहरुलाई पढ्ने माहौल छैन्, त्यो वातावरण बनाउनु छ, टूाफिक व्यवस्थापन गर्नुछ, सामाजिक सद्भाव र सामाजिक एकतालाई बनाएर अघि बढ्नुछ, त्यसका लागि जनकपुरबासीको साथ आवश्यक रहेको साह बताउछन् ।
सपथ ग्रहण गरेपछि प्रमुख साह मधेश आन्दोलनका क्रममा सहीद भएका नितु यादव, दिलिप यादव र सञ्जय चौधरीलाई एकसाथ दाहसंस्कार गरिएको स्थान जनकपुरको मुजेलियामा पुगेर माल्यार्पण गरेका थिए । 
लालकिशोर साहको राजनीतिक जीवन तथा संघर्षका यात्रा
महोत्तरीको मटिहानीमा पिता पल्टन साह र माता सिया देवीको कोखबाट २ माघ २०१५ मा छोराको रुपमा जन्मिएका लालकिशोर साहले प्राथमिक शिक्षा भारत विहारको सितामढीबाट प्राप्त गरेका थिए । महोत्तरीको सदरमुकाम जलेश्वर स्थित लचमुमाविबाट माध्यमिक शिक्षा प्राप्त गरेका थिए । जलेश्वरमा कक्षा ८ मै अध्ययनरत रहेका बेला २०२९ सालमा नयाँ शिक्षा ऐनको विरोधमा स्कुलमा हडताल गर्दा विद्यार्थीहरुलाई गिरफ्तार गरिएको थियो । सोही क्रममा लालकिशोर पनि पक्राउ परेर १४ दिन सम्म थुनामा रहेका थिए । एसएलसी उत्तीर्ण गरिसकेपछि २०३२ सालमा जनकपुरको राराब क्याम्पसमा आईए पढ्नका लागि आउँदा २०३३ सालमा साहलाई नेपाल विद्यार्थी संघको ईकाई समितिका अध्यक्ष बनाइएको थियो । त्यतिबेला नेपाली कांग्रेस सशस्त्र क्रान्तिमा लागेका थिए । विपी कोइराला भारत प्रवासमा रहिरहँदा राष्टिूय मेलमिलापको नीति लिएर नेपाल प्रवेश गर्न चाहन्थे । विपी नेपाल फर्किए पनि । तर, २०३४ सालमा विपी विरामी भई उपचारका लागि अमेरिका गएका थिए । अमेरिकाबाट उपचार गरी फर्किरहेका बेला काठमाण्डौको अन्तर्राष्टिूय विमान स्थलमा विद्यार्थीहरु विपीलाई रिसिभ गर्न गएका थिए । रिसिभ गर्न लालकिशोर पनि काठमाण्डौ पुगेका थिए । काठमाण्डौबाट जनकपुर फर्किन साथ प्रशासनले लालकिशोरलाई गिरफ्तार गरी शान्ति सुरक्षा ऐन अन्तरगत मुद्दा चलाएको थियो । ९ महिनासम्म थुनामा राख्न सक्ने व्यवस्था भएपनि ५ महिना पछि साहलाई रिहा गरियो । त्यसपछि २०३५ सालमा विपी कोइराला विराटनगर आउने कार्यक्रम तय थियो । जनकपुरबाट १८ जना विद्यार्थीहरुको समुह पनि विपीलाई स्वागत गर्न विराटनगर पुगेका थिए । लालकिशोर साह पनि त्यहाँ पुगेका थिए । तर, प्रशासनले विपी चढेको विमान विराटनगर विमानस्थलमा ल्याण्ड नै हुन दिएन । विमान ल्याण्ड हुन नदिएपछि विमानस्थलमा तारवार सहितको घेरालाई तोड्दै करिब २ सय जना विद्यार्थीहरु विमानस्थलमा प्रवेश गर्न खोजे । प्रशासनको घेरालाई तोड्दै साह पनि विमानस्थलमा प्रवेश गरी पञ्चायत व्यवस्था विरुद्ध नारावाजी गर्न थाले । सोही क्रममा प्रहरीले लालकिशोरलाई मर्नासन्न हुने गरी कुटेर घाईते बनाएका थिए । घाईते भएका साहलाई झापाका चिन्तक सिके प्रसाईले देखेपछि जनकपुरकै कांग्रेसका नेता महेश्वर प्रसाद सिंहलाई जनकपुरका विद्यार्थी साहलाई मारेर फालिदियो भनेपछि हेर्दा उनी जिवितै थिए । त्यसपछि तिनीहरुले  गाडी मगाएर घाईते साहलाई विराटनगर स्थित कोइराला निवासको अतिथि सदनमा डाक्टरहरु बोलाएर उपचार गराइयो । केही दिनको उपचार पछि निको भएर साह जनकपुर फर्किए ।
२०३५ सालको चैत्रमा पाकिस्तानमा जुल्फीकार अलि भुट्टोलाई फाँसी दिइएपछि नेपालमा पनि विद्यार्थी आन्दोलन भयो । जनकपुरको राराब क्याम्पसमा पनि लालकिशोर साहको अगुवाईमा विद्यार्थी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा प्रहरीले लाठी चार्ज गर्दा एक जना विद्यार्थी नेता प्रदिप महतोको पुरै हात नै काटियो । अर्का विद्यार्थी नेता महेन्द्र मधुकरलाई मर्नासन्न हुनेगरी क्याम्पसको पुस्तकालयमा प्रशासनले फालेका थिए । लालकिशोर साह त्यतिबेला भुमिगत भएर ती घाईते विद्यार्थी नेताहरुलाई भारतको दरभंगा लगेर उपचार गराएका थिए । जनकपुरकै एक जना विद्यार्थी डाक्टर जितेन्द्र महासेठ त्यहाँ दरभंगामा अध्ययनरत थिए । उपचारमा ती विद्यार्थीले धेरै नै सहयोग गरेको साह अहिले पनि सम्झिन्छन् । त्यतिबेला साह माथि प्रशासनले सुट वारन्ट जारी गरेको थियो । त्यसैले साह भुमिगत भएर भारतमा बस्ने र नेपालको सीमासम्म आएर आन्दोलन गतिविधिमाथि नजर राख्ने गर्थे ।
२०३६ सालमा जनमत संग्रहको घोषणा हुँदा साहलाई नेविसंघको केन्द्रिय कमिटिमा मनोनित गरियो । विपीले निर्देशन दिएपछि बहुदलको प्रचारप्रसारका लागि साह सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सिन्धुली गरी ५ जिल्लामा खट्न थाले । त्यहि बेला साहको भारतको दरभंगामै २२ फागुन २०३६ मा सविता साहसँग विवाह भयो । विपीको देहावशान शिक्षकहरुको संघसंगठनद्वारा आन्दोलन सुरु भएको थियो । त्यतिबेला साह बलबहादुर केसीको अध्यक्षतामा गठित नेविसंघको कार्यसमितिमा सचिवालय सदस्य थिए । शिक्षकहरुको आन्दोलनलाई समर्थन गर्दै जनकपुरको राराब क्याम्पस, जानकी मावि, सरस्वती मावि बन्द गराएर कन्या मावि बन्द गराउन जाँदा प्रहरीहरुले साहलाई घेराबन्दी गरे । प्रहरीको घेराबाट उम्किनका लागि साह सहित विद्यार्थी नेताहरु भरतकान्त अर्याल, रविन्द्र लगायत विद्यालयकै छेउमा रहेको पोखरीमा हामफालेर पौडी खेल्दै उम्किन सफल भएका थिए । त्यहाँबाट ती विद्यार्थीहरु फेरी राराब क्याम्पस आईपुगे । क्याम्पस चौकमा साहलाई फेरी गिरफ्तार गरियो । ९ महिना जेल काटेर जलेश्वर कारागारबाट साह रिहा भएका थिए ।
२०३७ सालमा राराब क्याम्पसमा स्ववियूको चुनावमा साह उपसभापति भएका थिए । त्यसपछि २०४२ सालमा भएको स्ववियूको निर्वाचनमा साह सभापति पनि भए । साह सभापति भएको बेला नै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रहको घोषणा गरेको थियो । जेष्ठ १० गते देखि सत्याग्रह घोषणा गरिएको थियो । सत्याग्रह गर्न नियूक्त गरिएका राराब क्याम्पसका विद्यार्थी नेताहरु बजरंग नेपाली, शिवशंकर आजाद सत्याग्रहको तयारीका लागि जलेश्वर पुगेका बेला महोत्तरीमा गिरफ्तार भए । ती विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै साह राराब क्याम्पसमा आमरण अनशनमै बसे । आमरण अनशनमा साहले क्याम्पसका लागि अन्य एजेण्डाहरु पनि उठाएका थिए । आमरण अनशनकै कारण त्रिभुवन विश्व विद्यालयका प्रतिनिधिहरु आएर जनकपुरको राराबमा एमएको संचालन अनुमति दिएका थिए । क्याम्पसको छात्रावासको प्रत्येक कोठमा पंखा लगाउने, क्याम्पसमा क्यान्टिन संचालन गर्ने, क्याम्पसमा प्रत्येक दिन विद्यार्थीको उपचारको लागि डाक्टरले ड्यूटि गर्ने लगायतका सहमति भएको थियो । त्यतिबेला डाक्टर अमियम कुमार मुखर्जी विद्यार्थीहरुको उपचारका लागि नियूक्त भएपनि क्याम्पसमा कहिल्यै नजाने गरेकाले साहले आमरण अनशनमा त्यसलाई पनि एजेण्डा बनाएका थिए । ती सबै कुराहरु पुरा गरिदिने क्याम्पस प्रशासनले भनेपनि लालकिशोर साहले महोत्तरीमा पक्राउ परेका विद्यार्थी नेताहरुलाई डिएसपी रायबहादुर थापाले रिहा नगरुन्जेलसम्म आमरण अनशन जारी राख्ने अडान कसे । त्यसपछि आमरण अनशनको ११ औं दिनमा क्याम्पस चिप रामप्रसाद भट्टराई जलेश्वर पुगेर पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गरेर ल्याएका थिए । अनि मात्र लालकिशोरले अनशन तोडेका थिए ।
त्यसपछि नेपाली कांग्रेसको सत्याग्रह आन्दोलन सुरु भयो । ३०÷३१ जना विद्यार्थी नेताहरु सत्याग्रहका क्रममा पक्राउ परेर जलेश्वर कारागारमा थुनिएका थिए । त्यही बेला नवजनवादी मोर्चाका भुमिगत नेता रामराजा प्रसाद सिंहले काठमाण्डौ सहित देशका कतिपय ठाउँमा बम विस्फोटन गराएका थिए । बम काण्डको अभियोगमा धेरै मानिसहरुलाई पक्राउ गरेर जलेश्वर कारागारमा पुर्याइएको थियो । डा.लक्ष्मिनारायण झा, इश्वरलामा, पदम लामा, हरिदेव मण्डल, राजेश्वर नेपाली, यूगलकिशोर लाभ लगायत दर्जनौं मानिसहरुलाई पक्राउ गरेर जेलमा राखिएको थियो । त्यतिबेला महोत्तरीमा सिडिओका रुपमा घनानाथ ओझा, अञ्चलाधीशका रुपमा लालकाजी गुरुङ्ग र डिएसपीका रुपमा रामबहादुर थापा नियूक्त थिए । बम काण्डमा पक्राउ परेका कतिपयलाई प्रहरीले हत्या गरेर बेपत्ता बनाएका थिए । त्यसैक्रममा लालकिशोर साहलाई पनि बेपत्ता बनाउने काम प्रहरीद्वारा गरिएको थियो ।
जेलमा रहेका इश्वर लामा, पदम लामा र लालकिशोर साहलाई जेलरले एक दिन अचानक बोलाएर आज तपाईहरुको रिहाई हुँदैछ भन्दै गाडीमा बसाएर होटेलमा लगि राम्रो खाना खुवायो । खाना खाईसकेपछि जेलमा लगेर जेलरको कार्यकक्षमा ती तिनै जनालाई पुर्याइयो । त्यहाँ उनीहरुलाई एउटा नयाँ रुमाल र नयाँ तौलिया दिइयो । जेल परिसरमै रहेको भगवती मन्दिरको टिका उनीहरुलाई लगाइयो । अब तपाईहरुलाई जेलबाट मुक्त गरिन्छ भनेर छुट पुर्जी पनि तिनै जनालाई दिइयो । १० बजे रातिको समय थियो । तिनै जनालाई आँखामा पट्टी बाँधेर गाडीमा बसाइयो । तिनै जनालाई हतकडी समेत लगाइएको थियो । गाडीमा तिनीहरुलाई एक एक हातको दुरीमा बसाइएको थियो । गाडी हिँड्न थाल्यो । तिनै जनाले एक अर्कालाई हातले सम्याईरहेका थिए । आज हामीहरुलाई प्रहरीले मार्छन भन्ने कुरा तिनै जनालाई आभाष भईसकेको थियो । एक घण्टा जति गाडी चलेपछि गाडी रोकियो । गाडी रोकेर एक साईड खोल्यो र इश्वर लामालाई गाडीबाट प्रहरीले झार्यो । फायरिङ्गको आवाज आयो । त्यसपछि गाडी फेरी चल्यो । २०÷२५ मिनेट गाडी चलेपछि फेरी गाडी रोकियो । पदम लामाको हातको हतकडी खोलियो । पदमलाई गाडीबाट झर्न भनियो । डराएका पदम झर्न नमानेपछि प्रहरीले लात हानेर पदमलाई गाडीबाट खसाल्यो । फेरी फायरिङ्गको आवाज आयो । अनि गाडी फेरी चल्न थाल्यो । अब एक्लै लालकिशोर साह आँखामा पट्टी र हातमा हतकडी सहित गाडीमा थिए । उनीसँगै गाडीमा रहेका दुई जना इश्वर र पदम लामालाई प्रहरीले गोली हानी मारेर बेपत्ता बनाईसकेका थिए । लालकिशोर भन्छन,“ गाडी चलिरहेको थियो । मेरो शरीर धेरै हलुका भईसकेको थियो । लाग्थ्यो कि सायद एक किलोग्रामको पनि शरीर छैन होला । श्रीमति, आमा र दुई छोरीको सम्झना आईरहेको थियो । आज म त मर्ने नै भएँ । मेरो घरपरिवारको अब के होला भनेर सोचिरहेको थिएँ ।” साहका लागि आमा र श्रीमति धेरै महत्वपुर्ण थियो । किनभने साह पक्राउ परेर थुनामा थुनिएपछि आमा गाउँ मटिहानीबाट सँधै भेट्न आउने गर्थिन । राजनीतिमा लागेर पटक पटक थुनामा थुनिन थालेपछि श्रीमति सविताका बुवा आमाले सविताको दोस्रो विहे गर्न थालेका थिए ।
तर, सविता बुवा आमाको कुरा नसुनेर मेरो भाग्यमा जे हुन्छ हुन्छ, बुवा आमाको कुरा नसुनेर भारतको दरभंगाबाट भागेर महोत्तरीको मटिहानी आएका थिए । त्यस्तो अवस्थामा पनि श्रीमतिले साथ दिएका कारण लालकिशोरलाई श्रीमति र दुई छोरीको अब के होला भनेर चिन्ताले सताईरहेको थियो । डेढ घण्टा जति गाडी चलेपछि गाडी रोकियो । अब मलाई पनि गोली हानेर मार्छ भन्दै लालकिशोर सम्बेदनहिन भए । लालकिशोरको आँखाको पट्टी खोल्यो । आँखा खुलेपछि जलेश्वरको डिएसपी कार्यालय पुर्याइएको थियो । त्यहाँ पुगेपछि लालकिशोरलाई बल्ल राहत भयो । माथि जान भर्याङ्ग चढ्न भनियो । भर्याङ्ग चढ्दै गर्दा लालकिशोरको शरीरमाथि पछाडीबाट हात, लात, लाठीको बर्षा हुन थाल्यो । कसैले नाक समातेर त कसैले कान समातेर समेत हिर्काउन थाल्यो । अंग अंगमा कुटाई खाएका लालकिशोरलाई एउटा कोठामा राखियो । त्यो कोठामा धनुषाको इटहर्वामा डकैती गरेका अकौराका डाँकाहरु केवल पासवान र जगदीश खत्वे थिए । ती डाँकाहरुलाई प्रहरीले पहिले देखि नै प्रशिक्षण दिएर राखेका थिए । प्रहरीले लालकिशोरलाई सवाल जवाफ गर्ने, जवाफ नदिए डाँकाहरुले लालकिशोरलाई कुट्ने भनेर डाँकाहरुलाई प्रहरीले भनेका थिए । रातिको डेढ बजेको थियो होला । लालकिशोर र ती डाँकाहरु राखिएको कोठामा प्रहरीको अर्को टोली आयो । लालकिशोर लाई त्यो टोलीले प्रश्न सोध्न थाल्यो । विपी कोइराला मुर्दावाद भनेर भन्न भनियो ।
तर, लालकिशोर केही पनि बोलेन । पञ्चायत व्यवस्था जिन्दावाद भनेर भन्न भनियो । तै पनि लालकिशोरले बोलेनन् । त्यसपछि एक जना पुलिसले लालकिशोरलाई गाली दिएपछि अचानक लालकिशोर उठेर त्यो पुलिसको घाँटी समात्न पुगे । घाँटी समातेर गोली हान्छस भने हान,तर मेरो आमाले के गरेको छ, आमालाई किन गाली दिएको भन्दै प्रहरीको घाँटी अठ्याउन पुगे । त्यतिबेला सम्म लालकिशोरले घाँटी छोडेनन् जबसम्म लालकिशोरलाई प्रहरीले कुटेर बेहोस बनाईदिएनन् । एक छिन पछि लालकिशोरलाई होसमा ल्याइयो । पक्राउ परेका डाँका केवल पासवानलाई पुलिसले रौल (डण्डा) दिएको थियो । राजा विरेन्द्र जिन्दावाद, पञ्चायती व्यवस्था जिन्दावाद भनेर लालकिशोरलाई भन्न भनियो । लालकिशोर बोलेनन् । डाँका पासमानलाई हान्न आदेश दिइयो । तर, डाँका पासमानले लालकिशोरलाई पिट्न मानेनन् । नमानेपछि डाँका पासमानलाई पनि प्रहरीले त्यही डण्डा लिएर कुट्न थाले । विहानको ४ बज्यो । लालकिशोरलाई त्यहाँबाट अलग गरेर पक्राउ परेका अन्य विद्यार्थी नेताहरु सिताराम भण्डारी, नरेन्द्र मिश्र, शंकर मिश्र थुनिएको कोठामा पुर्याइयो ।
एक घण्टा पछि ५ बजे फ्रेस हुनका लागि लालकिशोरलाई तल लगियो । त्यहाँ सिडिओ घनानाथ ओझा पनि थिए । सिडिओले लालकिशोरलाई भने,‘ लालकिशोर यस्तै हो । राजनीतिमा यस्ता कुराहरु भईरहन्छन् । तर, तिमी चिन्ता नलेऊ । म बाँचुनजेल तिमीलाई मर्न दिन्न ।’ त्यसपछि सिडिओले आफ्ना गार्डलाई आदेश दिए( लालकिशोरलाई लगेर फ्रेस गराउ । अञ्चलाधीश र डिएसपी पनि त्यहाँ बसेका थिए । लालकिशोर फ्रेस भएर आए । प्रश्न गर्न थालियो । तिमी पटना कहिले गयौ ? हतियार कहाँ कहाँ राखेका छौ ? सबै कुरा भन्देऊ, राति हामीले तिमीलाई मारेनौं, सहि सहि जवाफ नदिए मारिदिन्छु भन्दै हात र खुट्टाका जोर्नीहरुमा पिटन थाले । त्यसपछि सिडिओ आए । सिडिओले डिएसपीलाई भने,‘ यो त भएन, मैले तय गर्ने हो कि के गर्ने र के नगर्ने । तपाईहरुले मेरो आदेशमा एक्सन मात्र गर्ने हो । लालकिशोरलाई हिजो मात्रै शान्ति सुरक्षा ऐनमा निकालिएको हो । त्यो आदेश सहितको निर्णय मैले नै गरेको हो । इश्वर र पदमलाई मारियो । त्यो निर्णय मैले गरेको थिएँ । तर, लालकिशोरलाई यातना दिने काम गर्नु भएन । लालकिशोर बम काण्डमा छैनन् ।’ यति भन्दै सिडिओ ओझा आफै सिडिओ कार्यालय पुगि शान्ति सुरक्षा ऐन अन्तरगत पुनः लालकिशोरलाई जेल पठाउने निर्णयको पुर्जी आफ्नै हातले टाईप गरेर, दर्ता चलानी गरेर पुर्जी डिएसपीलाई थमाए ।
त्यसपछि अञ्चलाधीश पनि जंगिए । दरबारमा जाहेरी गर्ने काम मेरो हो, दरबारको काममा तपाईले हस्तक्षेप गर्नु भएन भन्दै अञ्चलाधीशले सिडिओलाई भनेपनि सिडिओ ओझाले आफ्ना अंगरक्षक मार्फत लालकिशोरलाई समातेर गाडीमा राखेर जलेश्वर कारागार पुर्याएका थिए । लालकिशोर भन्छन,“ सिडिओ घनानाथ ओझाकै कारण म बाँच्न सफल भए । नत्र डिएसपी र अञ्चलाधीशले इश्वर र पदम लामालाई गोली हानेर मारेझै मलाई पनि मार्ने थिए । जबकी रामराजा प्रसाद सिंहको बम काण्डसँग मेरो कुनै सरोकार नै थिएन ।”
२०४९ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएको बेला विजय गच्छदार संचारमन्त्री थिए । त्यतिबेला त्यो सिडिओ ओझा संचार मन्त्रालयमा सहसचिव भएर मन्त्री कहाँ व्रिफिङ्गका लागि गएका थिए । सिडिओले त्यहाँ लालकिशोरलाई देखेपछि के छ लालकिशोर जी हालखबर भनेर सोधेका थिए । लालकिशोरले चिन्न सकेनन् । म सिडिओ घनानाथ ओझा भन्ने वितिकै लालकिशोरले दुवै हातले ओझालाई अंगालो मार्दै धन्यवाद दिन थाले । जीवनरक्षाको लागि धन्यवाद दिईरहँदा प्रधानमन्त्री कोइराला र संचारमन्त्री गच्छदार आश्चर्य चकित भए । पछि लालकिशोरले सबै घटना प्रधानमन्त्रीलाई सुनाएपछि तत्कालै प्रधानमन्त्री कोइरालाले ओझाको फाइल झिकाई सहसचिवबाट सचिवमा बढुवा गरेका थिए ।
२०४९ सालमा स्थानीय निकायको निर्वाचनका लागि नेपाली कांग्रेसले जनकपुर नगरपालिकामा उपमेयर पदका लागि टिकट नदिएपछि लालकिशोर स्वतन्त्र भई चुनाव लडे । र, उपमेयरमा जिते । त्यसपछि पुनः कांग्रेसमा फर्किए । २०५१ सालमा उनी टूेड यूनियन कांग्रेस धनुषाका संस्थापक सभापति समेत बने । त्यसपछि मजदुरको हक हितमा समेत थुप्रै कामहरु गरे । २०५९ पछि भएको प्रतिगमन विरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउनुका साथसाथै २०६२÷०६३ को निर्णायक जनआन्दोलनमा काठमाण्डौमा कति पटक प्रहरीको कुटाईबाट घाईते हुनुका साथै थुनामा समेत गए । २०६२÷०६३ को मधेस आन्दोलनमा समेत टूेड यूनियनको व्यानर सहित सहभागिता जनाए । २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट नपाएपछि उनले नेपाली कांग्रेस परित्याग गरे । कांग्रेस परित्याग गर्दा साह कांग्रेस टूेड यूनियनका अध्यक्ष हुनुका साथै महाधिवेशन प्रतिनिधि र कांग्रेस जिल्ला कार्य समिति धनुषाको सदस्य समेत थिए । २०६५ सालमा सदभावना पार्टीमा प्रवेश गरे । अहिले साह राष्टिूय जनता पार्टी नेपालका केन्द्रिय प्रवक्ता समेत हुन ।


२०७४ आसिन १५ गते आईतबार

No comments:

Post a Comment