Tuesday, November 7, 2017

धनुषामा यस्तो छ ‘हेभी वेट’ नेताहरुका बीचमा प्रतिस्पर्धा

अजय अनुरागी
जनकपुरधाम............
धनुषामा मंसिर २१ गते हुने संसदीय प्रतिनिधि सभाको निर्वाचन र प्रदेशसभाको निर्वाचनका लागि  त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको कुल ४ वटा निर्वाचन क्षेत्रका लागि ४ जना प्रतिनिधिसभा सदस्य र ८ जना प्रदेशसभा सदस्यका लागि मुख्य गरेर नेपाली कांग्रेस, राजपा र फोरम नेपाल गठबन्धन र माओवादी एमाले गठबन्धन बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषामा राष्टिूय स्तरमा पहिचान बनाई स्थापित भईसकेका कतिपय नेताहरुको राजनीतिक भविष्य समेत दाउमा लागेको देखिन्छ । प्रतिष्ठाको सवाल बनाएका सबै राजनीतिक दलका उम्मेदवारहरुले आफु नै जित्ने दावी गरिरहेका छन् ।
क्षेत्र नं. १ मा शिर्ष नेता आनन्द ढुङ्गाना र मात्रिका यादव भिड्दै
धनुषाको संसदीय निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका केन्द्रिय नेता आनन्द प्रसाद ढुङ्गाना र नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता मात्रिका प्रसाद यादव प्रतिस्पर्धा गर्दैछन् । ढुङ्गाना विगतमा ३ पटक प्रतिनिधि सभामा प्रत्यक्ष तर्फबाट निर्वाचित भईसकेका छन् भने पछिल्लो संविधानसभामा समानुपातिक कोटाबाट सांसद भएका थिए । पटक पटक मन्त्री भईसकेका ढुङ्गाना भन्छन,“ देशमा लोकतन्त्र खतरामा छ । वृहत बाम एकताले लोकतन्त्र खतरामा परेको हो । देशको लोकतन्त्रको रक्ष ागर्नका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएको हो ।” त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता समेत रहेका मात्रिका यादव भने प्रत्यक्ष निर्वाचनमा पहिलो पटक मैदानमा ओर्लिएका छन् । माओवादीको सशस्त्र जनयूद्धमा संस्थापक नेता भई भारतको जेलमा समेत पक्राउ परेका यादव शान्ति बार्ता पश्चात अन्तरिम संसद गठन हुँदा सांसद बनाइएका थिए । त्यही बेला उनी मन्त्री समेत भएका थिए । संसदमा मैथिली भाषामा सपथ लिएर लोकप्रिय भएका मात्रिका बन मन्त्रीबाट बर्खास्त गरिएका थिए । त्यसपछि माओवादी पार्टी परित्याग गर्दै छुट्टै नेकपा माओवादी पार्टी चलाएका यादव पछिल्लो बर्ष माओवादी केन्द्रमा प्रवेश गरेका यादव भन्छन,“ देश र जनताको समृद्धिका लागि माओवादी केन्द्रबाट उम्मेदवारी दिएको हो । जनताहरु पीडामा छन् । त्यो पीडाबाट मुक्ति दिलाउन उम्मेदवारी दिएको हो ।” त्यसैगरी उक्त क्षेत्रबाट संघीय समाजवादी फोरम नेपालबाट दिपक कार्कीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. १ को (क) मा नेपाली कांग्रेसबाट प्रेम किशोर साह, फोरमबाट श्याम नारायण यादव र एमालेबाट किशोरी महतोले प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । कांग्रेसका साह निवर्तमान सांसद हुन । दोस्रो संविधान सभाको निर्वाचनमा साह धनुषाको ६ नम्बर क्षेत्र बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
त्यसैगरी क्षेत्र नं. १ को (ख) मा नेपाली कांग्रेसबाट रामउदय यादव, राजपाबाट रिता यादव र माओवादी केन्द्रबाट रामचन्द्र मण्डलले प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । मण्डल विगतमा माओवादीबाट दुवै पटक संविधान सभामा धनुषाको क्षेत्र नं. २ बाट निर्वाचनका लागि उम्मेदवार बनेपनि पराजित भएका थिए ।
क्षेत्र नं. २ मा कृषि मन्त्री यादव र पुर्व मन्त्री झा बीच प्रतिस्पर्धा
धनुषाको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट रामकृष्ण यादवले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् । यादव अहिले नेपाल सरकारको कृषि मन्त्री हुन । उनी पहिलो र दोस्रो संविधान सभामा धनुषा क्षेत्र नं. २ बाट लगातार सभाषद भएका थिए । दुवै पटक निरन्तर जित्न सफल भएका यादव तेस्रो पटक समेत ह्याटिूक लगाउने उद्देश्यले चुनावी मैदानमा ओर्लिएका छन् । कृषि मन्त्री यादव भन्छन,“ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कार्यान्वयन गराउन उम्मेदवारी दिएको हो ।” उता यादवलाई चुनौति दिन नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता रामचन्द्र झाले समेत उम्मेदवारी दिएका छन् । विगतमा पटक पटक प्रत्यक्षबाट सांसद भईसकेका झा भने दोस्रो संविधान सभामा माओवादी केन्द्रबाट धनुषाको क्षेत्र नं.१ बाट पराजय भोगेका थिए । पहिलो संविधान सभामा एमालेबाट जितेका झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री समेत भएका थिए । पछि एमाले छाडेर माओवादी गएका झा माओवादी समेत परित्याग गरी नयाँ शक्तिमा गएका झा स्थानीय तहको चुनाव अघि पुनः माओवादीमा फर्किएका थिए ।
संघीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रमा प्रतिनिधि सभाका लागि उमाशंकर अरगरियाले उम्मेदवारी दर्ता गराएका छन् । फोरम लोकतान्त्रिकको दुई नं. प्रदेशका संयोजक समेत रहेका अरगरियाले चुनावको मुखैमा फोरममा प्रवेश गरेका हुन । विजयकुमार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेपछि अरगरिया सहित धनुषाको अधिकांश फोरम लोकतान्त्रिकका नेताहरु फोरममा प्रवेश गरेका थिए । दोस्रो संविधान सभाको चुनावमा धनुषाको क्षेत्र नं. १ बाट फोरम लोकतान्त्रिको टिकट लिएर प्रत्यक्ष निर्वाचनमा लडेपनि अरगरिया पराजित भएका थिए ।
त्यसैगरी क्षेत्र नं. २ को (क) मा प्रदेश सभाका लागि नेपाली कांग्रेसबाट राजा गोईत, संघीय समाजवादी फोरम नेपालबाट शैलेन्द्र यादव र माओवादी केन्द्रबाट नबल साहले उम्मेदवारी दिएका छन् । त्यसैगरी २ को (ख) मा नेपाली कांग्रेसबाट भुपनारायण यादव, फोरम राजपाबाट रामअशिष यादव र नेकपा एमालेबाट रामचन्द्र मण्डलले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. ३ मा निधी र महतो बीच प्रतिस्पर्धा
धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । निधि देशको पुर्व उपप्रधान तथा गृहमन्त्री हुन । उनी धनुषाको निर्वाचन क्षेत्रबाट दुवै पटकको संविधानसभाको निर्वाचनमा लगातार जित हात पारेका थिए । निधि कांग्रेसमै पनि शिर्ष नेतामा लिईन्छन् । निधि पटक पटक मन्त्री समेत भईसकेका छन् । कांग्रेसका पुर्व महामन्त्री समेत रहेका निधिलाई कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पटक कार्यबाहक सभापतिको जिम्मेवारी समेत दिईसकेका छन् ।
यता निधिलाई चुनौति दिन राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले उम्मेदवारी दर्ता गराएका छन् । महतो सर्लाहीको आफ्नो संसदीय निर्वाचन क्षेत्र सर्लाहीलाई छोडेर धनुषा आएका हुन । राजपा नेपालले स्थानीय तहमा जनकपुर उपमहानगरपालिकामा जितेका कारण पनि महतो धनुषा आएको बताइन्छ । महतो पनि विगतमा पटक पटक मन्त्री भईसकेका छन् । उता माओवादी केन्द्रबाट अहिलेको विना विभागिय राज्य मन्त्री रामसिंह यादवले प्रतिनिधि सभामा सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वास्थ्य राज्य मन्त्री थिए । अहिले उनलाई विना विभागिय राज्य मन्त्री बनाइएको छ । दोस्रो संविधानसभाको चुनावमा माओवादी केन्द्रले यादवलाई समानुपातिक कोटाबाट सभाषद बनाएका थिए ।
धनुषाको निर्वाचन क्षेत्र नं. ३ को (क) मा नेपाल कांग्रेसबाट रामसरोज यादवले प्रदेश सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यादव अहिले धनुषा कांग्रेसका सभापति समेत हुन । पहिलो संविधानसभाको चुनावमा नेपाली कांग्रेसबाट समानुपातिक कोटामा उनी सभाषद भएका थिए । दोस्रो संविधानसभाको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट सभाषदका लागि प्रत्यक्ष उम्मेदवारी दिएपनि यादव पराजित भएका थिए । यादव जिल्ला विकास समिति धनुषाका सभापति समेत भईसकेका छन् ।
त्यसैगरी ३ को (क)मा राजपा नेपालबाट कबिन्द्र ठाकुरले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर राजपा नेपालको केन्द्रिय कोषाध्यक्ष समेत हुन । पहिलो संविधान सभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीले ठाकुरलाई समानुपातिक कोटाबाट सभाषद बनाएका थिए । त्यसैगरी एमाले माओवादी गठबन्धनबाट नेकपा एमालेका दिपु यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषाको निर्वाचन क्षेत्र नं. ३ को (ख) मा नेपाली कांग्रेसबाट श्याम साहले प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । साह जनकपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष पनि हुन । त्यसैगरी राजपा नेपालबाट परमेश्वर साहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य समेत रहेका साह विगतमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट धनुषा क्षेत्र नं. २ मा दुवै पटक संविधान सभामा पराजित भएका थिए । त्यसैगरी बाम गठबन्धनबाट कामेश्वर महतोले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
धनुषाको ४ मा मन्त्री यादव र पुर्व मन्त्री महासेठ भिड्दै
धनुषाको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट महेन्द्र यादवले प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यादव अहिले नेपाल सरकारको खानेपानी तथा सरसफाई मन्त्री हुन । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रिय अध्यक्ष समेत भईसकेका यादव विगतको दुवै पटकको संविधानसभाको चुनावमा समानुपातिक कोटाबाट सभाषद बनेका थिए ।यादव पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दैछन् । त्यसैगरी बाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रिय नेता रघुविर महासेठले प्रतिनिधि सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । पहिलो संविधान सभाको चुनावमा धनुषाको क्षेत्र नं. ४ मा महासेठ पराजित भएपनि धनुषाको निर्वाचन क्षेत्र नं. ५ मा भएको उपनिर्वाचनमा उनी सभाषदमा निर्वाचित भएका थिए । त्यसपछि उनी सिंचाई मन्त्री पनि भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नं. ५ बाट महासेठ पराजित भएका थिए । उक्त क्षेत्रमा संघीय समाजवादी फोरम नेपालका महाजन यादवले पनि प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नं. ४ को (क) मा नेपाली कांग्रेसबाट डा.चन्द्रमोहन यादवले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । यादव पुर्व राष्टूपति डा.रामबरण यादवका छोरा हुन । दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको निर्वाचन क्षेत्र नं. ५ बाट उनी निर्वाचित भएका थिए । त्यसैगरी ४ को (क) मा संघीय समाजवादी फोरम नेपालबाट ज्ञानेन्द्र यादवले उम्मेदवारी दिएका छन् । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको जनकपुरको राराब क्याम्पसमा उनी सभापति समेत भईसकेका हुन । त्यसैगरी बाम गठबन्धनबाट बाबु साहेव यादवले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी ४ को (ख) मा नेपाली कांग्रेसबाट बासलाल महतोले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नं. ७ बाट उनी पराजित भएका थिए । नेकपा एमालेका तर्फबाट वैकल्पिक पोलिट व्यूरो सदस्य समेत रहेका शत्रुधन महतोले उम्मेदवारी दर्ता गराएका छन् । पहिलो र दोस्रो संविधान सभामा धनुषा निर्वाचन क्षेत्र नं. ७ बाट लगातार दुई पटक प्रत्यक्ष निर्वाचनमा जितेर उनी सभाषद भएका थिए । पहिलो निर्वाचनमा निर्वाचित भएपछि महतो प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास राज्य मन्त्री समेत भएका थिए । त्यसैगरी राजपा फोरम गठबन्धनबाट राजकिशोर महतोले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।



२०७४ कार्तिक १९ गते आईतबार

No comments:

Post a Comment