Thursday, May 2, 2013

संविधान सभाको म्याद तीन महिना थपियो


एक्सक्लूसिभ सम्बाददाता
काठमाडौं..................
प्रमुख तीन दलबीच प्रधानमन्त्रीले राजीनामा दिने सहितका पाँच बुँदे सहमति सँगै पहिलो चरणमा संविधानसभाको म्याद तीन महिना थपिएको छ । लामो छलफल पछि आइतबार विहान करिब सवा चारबजे तिर माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिने सहितको सहमति भएको हो ।
सहमतिसँगै बसेको संसदको बैठकले दुई तिहाई बहुमतले अन्तरिम संविधानको धारा ६४ संशोधन गरी संविधानसभाको म्याद तीन महिना थपेको हो । निर्वाचनमा विधेयकको पक्षमा पाँच सय चार तथा विपक्षमा चार मत परेको थियो । बैठकमा ८८ जना सभासद भने तटस्थ बसेका छन् ।
प्रमुख तीन दलबीच तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने, तीन महिनाभित्र संविधान सभाबाट संविधानको पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ । तीन महिनामा शान्ति प्रक्रिया पुरा भए पछि पुनः म्याद थपिने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । सहमतिको तेश्रो बुँदामा नेपाली सेनालाई समावेशी बनाउने लगायतका मधेशी मोर्चासँग विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ । यसैगरी सहमतिको चौथो बुँदामा संविधानसभाको समयावधि तीन महिना थप्ने तथा पाँचौ बुँदामा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त गर्ने उल्लेख छ । सहमति पत्रमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शुशील कोइराला र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले हस्ताक्षर गर्नु भएको छ । प्रमुख तीन दलबीच प्रधानमन्त्रीले राजीनामा दिने सहितका पाँच बुँदे सहमतिसँगै पहिलो चरणमा संविधानसभाको म्याद तीन महिना थपिएको छ ।

मिति ः २०६८–२–१५

No comments:

Post a Comment