Wednesday, December 16, 2015

राजमार्गमा थप हिंसा बढ्ने खतरा

राजमार्ग केन्द्रित आन्दोलनमा एक्येवद्धता जनाउँदै 
जनकपुरका वकिलहरु ढल्केवरको सडकमा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा(राजमार्ग सुचारु गर्नका लागि सरकारले विशेष सुरक्षा योजना लागु गरेपछि तराई(मधेशमा थप हिंसा बढने खतरा बढेको छ । सरकारी योजना आएपछि आन्दोलनरत मधेशवादी दलका नेताहरु पनि योजना बनाउने तयारीमा जुटेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका संगठनहरु हाल आमहड्ताल र प्रदर्शन भन्दा पनि राजमार्ग ठप्प गर्नेमा नै केन्द्रित बनेका छन् । तर, राज्यको तर्फबाट राजमार्गमा ठुलो सख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।
‘राज्यले सशस्त्र तथा जनपद प्रहरी यति धेरै ओरालेको छ कि आन्दोलनकारीले ज्यान जोगाएर भाग्नु परेको स्थिति छ । अब यसरी ज्यान जोगाएर कति दिन भाग्ने त्यसको तयारीमा जुटेका छौ, एक दुई दिनमा त्यसको परिणाम देख्न सक्नु हुन्छ’ जनकपुरको रमानन्द चौकमा भेटिएका संघीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवले भने, ‘हामी निहत्था छौँ, प्रहरी पुरै हातहतियारका साथ राजमार्गमा उत्रेका छन् । त्यो पनि दुई चारजना होइन टूकका टूक । त्यसको जवाफ दिन पनि हामी तयारी गरिरहेका छौँ ।’ सद्भावना पार्टीका धनुषा जिल्ला अध्यक्ष संजय सिहले पनि आन्दोलनमा अव नयाँ विकल्प खोजी शुरु भएको बताए । ‘राजमार्गमा हामी खाली हात प्रहरीसँग कसरी लड्न सक्छौँ ? हामी आफ्नो जायज मागका साथ शान्तिपूर्ण आन्दोलनमा छौँ तर, राज्य दमनमा उत्रेको छ । यस अवस्थामा हामीले पनि विकल्प सोच्न बाध्य भएका छौ ।’ उनले भने ।
धनुषाको ढल्केबरमा रातोपाटीको टीमले मंसिर १० गते रातभरि सडकमै बितायो । तर, त्यहाँ राती एकजना आन्दोलनकारी पनि सडकमा देखिएका थिएनन् । सुरक्षाकर्मीको मात्र बाक्लो उपस्थिति थियो । भोलीपल्ट (मंसिर ११ गते) जनकपुर पुग्दा त्यहाँ पनि बजारहरु खुलेका थिए । सरकारी कार्यालय सञ्चालनमा थिए । यही जिज्ञासा अध्यक्ष सिहसँग राख्दा उनले भने, ‘यो सन्नाटा हो । सन्नटापछिको अवस्था कस्तो हुन्छ, त्यो एक दुई दिनमै हेर्न पाउनु हुनेछ ।’
जनकपुरका मधेशी मोर्चाले अहिले गाउँ गाउँमा विभिन्न समिति बनाउन थालेका छन् । राजमार्ग केन्द्रीत आन्दोलनमा आमजनताको उपस्थिति हुन छाडेपछि नेताहरु गाउँ गाउँमा गएर प्रशिक्षण दिँदै विभिन्न आन्दोलन परिचालन समिति गठन गर्न थालेका छन् । सबैतिर समिति निर्माण भइसकेपछि एकैचोटी राजमार्ग ठप्प पार्ने योजना मोर्चाको रहेको छ ।
जकपुरमै भेटिएका फोरम नेपालका केन्द्रीय सदस्य राजकिशोर यादवले राजमार्ग ठप्प गर्नका लागि आफूहरुले जुनसुकै कदम उठाउन तयार रहेको बताए । उनले माओवादीकै जस्तै छापामार शैलीबाट राजमार्ग कब्जा गर्ने बताउँदै त्यसका लागि टीम तयार भइरहेको बताए । उनले भने, ‘राजमार्ग ठप्प गर्न जे आवश्यक पर्छ ती सबै हामीले प्रयोग गर्छौँ ।’
स्थानीय प्रशासनले पनि जिल्ला आफ्नो नियन्त्रमा नरहेको आन्दोलनकारी नेताहरुलाई बताउन थालेको मोर्चाका नेताको दावी छ । ‘यहाँका सिडियोले नै हामीलाई भन्नुभएको छ, नेताज्जू अब यो जिल्ला हाम्रो हातमा छैन । राजमार्गमा जाँदा होस पुर्याएर जानु होला । डिआईजी साप आफै राजमार्गको नेतृत्व लिएर बस्नु भएको छ’ सद्भावनाका अध्यक्ष सिहले भने ‘डिआइजीस्तरका व्यक्तिलाई राजमार्गमा पठाएर गोली चलाउन निर्देशन दिने सरकारले मधेशको समस्या समाधान किन नगरेको ?’ आन्दोलनको क्रममा राज्यले आफूहरुसँग विभेद गरेको भन्दै मधेशी मोर्चाका नेताहरुले रातोपाटीको टीमसँग आक्रोश पोखे । अध्यक्ष सिहले भने, ‘के नेपाल भनेको काठमाडौ मात्र हो ? स्कटिूङं गरेर सबै समान काठमाडौ मात्र लगेका छन् । मधेशी जनताको मुख थुनिएको छ । के मधेशका जनतालाई खद्यान्न चाहिदैन ?’
तुल्नात्मक रुपमा शान्त देखिएका सिरहाका मधेशवादी दलले पनि राजमार्ग केन्द्रित रणनीति बनाउन थालेका छन् । सिरहाका केही नागरिक अगुवाको अगुवाईमा सबै दललाई मिलाएर संयुक्त मधेशी मोर्चा गठन गरेका छन् । सिरहाको चोहर्वामा भेटिएका नागरिक अगुवा काशेन्द्र यादवले मोर्चा गठन भएको विज्ञप्ति देखाउँदै भने, ‘विभिन्न कारणले सिरहामा आन्दोलन कमजोर देखिएको थियो । अब त्यस्तो हुँदैन । अब सिरहाको आन्दोलन केन्द्रीकृत भएर राजमार्ग ठप्प हुन्छ । यसका लागि गाउँ गाउँमा पनि समिति बनाइन्छन् ।’
काठमाडौको दुख यहाँ पनि
‘यो नाकाबन्दी र आन्दोलनका कारण काठमाडौलाई जसरी दुखेको छ । त्यसको पिडा हामीलाई पनि महशुस भएको छ’ तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डलले भने, ‘हामीले काठमाडौवासीलाई पीडा होस्, दुख होस् भनेर आन्दोलन र नाकाबन्दी गरेका होइनौँ । काठमाडौमा रहेका शासकका विरुद्ध आन्दोलन गरेका हौं, काठमाडौका जनता विरुद्ध होइन ।’ ‘काठमाडौका जनताले मधेशी जनतालाई साथ दिनुपर्छ’ उनले भने, ‘काठमाडौका जनताले एक दिन पनि सरकार विरुद्ध मधेशको पक्षमा अवाज उठाई दियो भने यो समस्या समाधान हुन्छ । तर त्यस्तो गरेका छैनन, उल्टै हाम्रो विरोध गरिरहेका छन् । काठमाडौका मिडियाले पनि हामीमाथि विभेद गरेको छ ।’ तराई मधेश लोकतान्त्रिक पार्टी धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले काठमाडौका एउटा पनि मिडिया जनमुखी नरहेको आरोप लगाए । उनले सबै मिडिया सरकारी ‘एजेण्ट’ रहेको आरोप पनि लगाए । ‘काठमाडौका जनता अहिले निकै छट्पटाहटमा छन्, त्यसमा हामीलाई दुख लागेको छ । हामीले उहाँहरुलाई दुख दिनका लागि त्यस्तो गरेकै होइन’ उनले भने, ‘तर यो नश्लवादी सरकारका कारणले त्यहाँका जनताले दुख पाएका छन् ।’ सिरहाको नयाँ चोहर्वामा भेटिएका फोरम नेपालका कोषाध्यक्ष विजय यादवले व्यवस्था परिवर्तनको आन्दोलन भएकाले माग पुरा भएपछि मात्र रोकिने बताए । ‘जबसम्म मधेशीमाथि भइरहने व्यवस्था परिवर्तन हुँदैन तबसम्म आन्दोलन रोकिदैन’ उनले भने ।
उनले आन्दोलन बदनाम बनाउन काठमाडौं लागेको पनि आरोप लगाए । ‘काठमाडौमा पहाडी समुदायले मात्र दुख पाएका छैनन, त्यहाँ लाखौ मधेशीले पनि दुख पाएका छन् । तर, त्यहाँका पहाडी समुदायले मधेश आन्दोलनप्रति जुन व्यवहार देखाएको छ, त्यसले मधेशी जनताको चित्त दुखाएको छ’ उनले भने, ‘यो आन्दोलन कुनै समुदाय विशेषको होइन । आदिवासी, जनजाति, महिला, दलित, पिछडिएकामाथि राज्यले जुन विभेद गरिरहेको छ, त्यो हटाउनका लागि गरिएको आन्दोलन हो । तर, काठमाडौवासीले त्यसलाई अर्कै ढंगले प्रस्तुत गरि आन्दोलनलाई बदनाम गराउने प्रयास गरिरहेको छ । त्यसले हामीलाई दुखित बनाएको छ ।’
निकास के त ?
उनीहरु निकास संवादमै रहेको सुनाउँछन् । उनीहरुले एकै स्वरमा भने, ‘यसको एउटै विकल्प वार्ता हो । जति सक्दो वार्ताको माध्यमबाट यसलाई निकास दिनुपर्छ ।’ ‘यसलाई धेरै दिनसम्म अल्झाएर राख्यो भने राज्यलाई पश्चाताप भन्दा अरु केही हातमा बाँकी रहने छैन’ फोरम नेपालका धनुषा जिल्ला सदस्य विष्णुदेव साहले भने, ‘विगतमा जुन अवस्था राजा, महाराजा, राणाहरुको भएको थियो, त्यही अवस्था अब यी खस शासकको हुनेछ ।’ फोरम नेपालकै जिल्ला सहसचिव विजय मण्डलले आन्दोलन लामो भए देशमा थप समस्या आउने बताए । ‘पटक पटक वार्ता हुन्छन् तर असफल भइरहेका छन् यसबाट के प्रष्ट हुन्छ कि अब वार्ताका लागि मध्यस्तकर्ताको आवश्यकता छ । अब यो आन्दोलनलाई धेरै लम्बाइयो भने देशमा नराम्रो अवस्था सृजना हुन्छ’ उनले भने । सप्तरीको नेताको चौकमा भेटिएका संयुक्त मधेशी राष्टिूय आन्दोलन समितिका प्रवक्ता बलराम यादवले राज्यले सीमांकनको कुरा नटुग्यांएसम्म आन्दोलन जारी नै रहने बताए । ‘अहिलेको मुख्य लडाई सिमांकन नै हो’ उनले भने, ‘राज्यले बुद्धिमतापूर्वक सिमांकनको कुरा मिलाएपछि आन्दोलन आफै रोकिन्छ ।’
मधेसका सरकारी कार्यालय ः कतै कालो झन्डा, बन्दुक दर्ताको सूचना
जिल्ला विकास समिति कार्यालय सप्तरीको मूल गेटमा कालो झन्डा गाडिएको छ । भर्खरै सरुवा भएर आएका एलडिओ शिशिर पौडेल हाजिर हुन सकेका छैनन् । योजना अधिकृत लगायत अन्य कर्मचारी तीन महिनादेखि हाजिर गर्न समेत गएका छैनन् । कार्यालय सहयोगी जयनारायण यादव भन्दै थिए, ‘खोल्छु, सफा गर्छु, यतै बस्छु ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गर्नुअघि सेवाग्राहीले खचाखच हुने जिविस कार्यालयमा आजकाल न सेवाग्राही जान्छन, न त कर्मचारी । धन्न कार्यालय सहयोगी जयनारायणले गेटसम्म खोलेर इज्जत धानिदिएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा युद्धकालीन युनिफाइड कमान्डको ब्यारेकजस्तै थियो । सिडिओ कार्यालयको गेटदेखि कार्यकक्षसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू तैनाथ थिए । प्रजिअ कालिप्रसाद पराजुलीको कार्यकक्षमा नेपाली सेनाका मेजर भेटिए । करिब आधा दर्जन सर्वसाधारण राहदानीको सिफारिस लिँदै थिए । राहदानी बनाउन गएकाहरूको ध्यान एउटा सूचनाले तान्यो, ‘आन्दोलनको बेला बन्दुक दर्ताको सूचना !’ सिडिओ कार्यालयमा बन्दुक दर्ताको सूचना देखेपछि हामीले एक प्रशासकीय अधिकृतलाई सोध्यौं, ‘सर, बन्दुक नवीकरण गर्ने मात्रै हो कि, नयाँ दर्ता गर्न पनि मिल्छ ?’ उनले भने, ‘दुवै हुन्छ, १३ नम्बर कोठामा गएर डिटेल बुझ्नुस ।’
तराईका जिल्लामा सिडिओ कार्यालय र जिल्ला प्रहरी कार्यालयबाहेक अन्य कार्यालयहरू ठप्पजस्तै छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी पराजुलीले सबै सरकारी कर्मचारीलाई अनिवार्य रुपमा हाजिर गर्ने उर्दी जारी गरेपछि कर्मचारीहरू लुकिछिपी हाजिर गर्न थालेका छन् । हाजिर गर्नका लागि जिल्ला कृषि विकास कार्यालय पुगेका कर्मचारीहरू एउटै कोठामा भेला भएर मधेस आन्दोलनबारे गफ गरिरहेका थिए ।
निमित्त कार्यालय प्रमुख राम शुभक महतो भन्दै थिए, ‘बन्दले गहुँको बिउ ल्याउन सकिएको छैन, सेवाग्राही पनि आउँदैनन, के काम गर्ने ?’ राम शुभक र कृषि विकास कार्यालयका कर्मचारी नेपाल सरकारका कर्मचारी हुन् । तर, उनीहरू कार्यरत कार्यालयको बोर्डमा नेपाल सरकार मेटेर ‘मधेस सरकार’ लेखिएको थियो । बन्दकर्ताले लिखित आग्रह गरेर बन्द गर्न नभने पनि सिरहाका अधिकांश सरकारी कार्यालय बन्द छन् । नगन्य संख्याका कर्मचारी हाजिर गर्छन, फर्कन्छन् । अधिकांश कार्यालयका गेट बन्द छन् । जनताको स्वास्थ्यसँग जोडिएकाले सिरहाको जिल्ला स्वास्थ्य कार्यालय खुलेको थियो । तर, औषधि अभावमा स्वास्थ्य कार्यालयले सोचेजति काम गर्न सकेको छैन । जिल्ला अस्पतालका डाक्टर दयाशंकरलाल कर्ण भन्दै थिए, ‘अत्यावश्यक औषधिको अभावमा उपचार गर्न निकै कठिन हुँदै गएको छ ।’ सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको भए पनि सिरहा स्वास्थ्य कार्यालमा मुस्किलले तीन प्रकारका औषधि उपलब्ध भएको कर्णले बताए । सीमांकन लगायत माग राखेर तराई ठप्प पारेको मधेसी मोर्चाको बन्दका कारण सिंगो तराईमा राज्य विहीनताको अवस्था देखापरेको छ । प्रत्यक्ष जनतासँग जोडिएका कार्यालयका कर्मचारी लुसुक्क हाजिर गरेर टाप कस्न थालेको तीन महिना भइसकेको छ । तराईमा सक्रिय राज्यका निकायमध्ये जिल्ला प्रसाशन र प्रहरीको गतिविधिले जनतामा त्रास बढेको छ । प्रहरीको गाडी बेतोडले हुँइकिन थालेपछि सर्वसाधारण त्रासले अब कता गोली चल्छ भन्दै तर्सिन थालेका छन् । सर्वसाधारणका लागि राज्यविहीन जस्तै छ, तराई–मधेस ।



२०७२ मंसिर १३ गते आईतबार

No comments:

Post a Comment