Wednesday, December 16, 2015

मधेसमा नयाँ मोर्चा ‘संघीय समावेशी गठबन्धन’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
शरत सिंह भण्डारी नेतृत्वको राष्टिूय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्टिूय अभियान मिलेर संघीय समावेसी गठबन्धन नाम गरेको अर्को नयाँ मोर्चा गठन भएको छ । मोर्चा गठन भएको घोषणा गर्दै मधेस आन्दोलन सशक्त बनाउने ती दलका नेताले बताएका छन् । जनकपुरमा शनिबार पत्रकार सम्मेलन गरी संघीय समावेशी गठबन्धन निर्माण गर्ने सहमति पत्रमा चारै जना नेताहरुले हस्ताक्षर गरेका थिए ।
बायाँबाट क्रमशः अनिल झा, शरत सिंह भण्डारी, राजकिशोर यादव र जयप्रकाश प्रसाद गुप्ता ।
बर्तमान मधेस आन्दोलनलाई अझ प्रभावकारी, सशक्त, सहभागिता मुलक, निर्णायक बनाउन सँगै रहि सहकार्य गर्दै संघीय समावेशी मधेसी गठबन्धन निर्माण गर्न सहमत भएको तथा आगामी दिनमा एकताबद्ध कार्यक्रमको तर्जुमा गर्दै दलित, मुस्लिम, पिछडावर्ग सहितका मधेसी, थारु एवम कोचिला सहितका आदिवासी जनजाती लगायत सबै आन्दोलनरत पक्षहरुका बीच थप सहकार्यका साथ अघि बढ्न सहमत भएको गठबन्धनद्वारा जारी  सहमति पत्रमा उल्लेख छ । आफ्नो गठबन्धनको कार्य संचालनका र समन्वयका लागि एक संयन्त्रको निर्माण तथा बार्ता समितिको समेत गठन गरिने उल्लेख छ ।  पत्रकार सम्मेलनमा गएको तीन महिनाभन्दा बढी समयदेखि चलिरहेको मधेस आन्दोलनमा  मधेसी नागरिकको त्याग एवं बलिदान दिएपनि उपलब्धी हासिल नभएकाले नयाँ मोर्चा बनाउनु परेको राष्टिूय मधेस समाजवादी पार्टीका अध्यक्ष सरत सिंह भण्डारीले बताएका छन् । आन्दोलनलाई प्रभावकारी बनाउन अरु मधेस केन्द्रीत दलसँग पनि छलफल गरेर सहकार्य गरिने उहाँको भनाई छ । त्यसैगरी मधेसका जनताको अपेक्षा अनुरुप मधेसका विभिन्न शक्तिहरु एकजुट हुनुपर्ने भावनालाई आत्मसात गर्दै गठबन्धन बनेको तथा आन्दोलनको एक सय दिन पुरा हुन लागेकोले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरिने नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले बताएका छन् । त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बृहत मधेसी मोर्चा बनाई मधेसका सम्पुर्ण शक्तिहरुलाई समावेश नगरेकाले यो गठबन्धन बनेको तथा संसदीय कारवाहीका लागि नबनेको भन्दै तराई मधेस राष्टिूय अभियानका संयोजक जय प्रकाश प्रसाद गुप्ताले उक्त गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधी नभएर सहयोगी नै हुने बताएका छन् ।


२०७२ मंसिर ०६ गते आईतबार

No comments:

Post a Comment