Tuesday, July 10, 2018

बर्षा र बाढीका कारण प्रदेश प्रभावित

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
बिगत तीन दिन देखि लगातार परेको बर्षाका कारण प्रदेश नम्बर दुईमा जनजीबन प्रभावित भएको छ । प्रदेशका कतिपय जिल्लाका नदीहरूमा बाढी आएको छ भने कतिपय नदीको बाढीले नदी कटान गरेका कारण गाउँ बस्तीमा बाढीको पानी प्रवेश गर्ने खतरा बढेको छ । केही जिल्लामा मानवीय क्षति हुनुका साथै भौतिक क्षति समेत भएको प्रदेश नम्बर दुईको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढीका कारण सिरहा गोलबजार नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ४० की मानसिक संतुलन ठिक नभएकी बीना योन्जनलाई  १८ अषाढमा मैनाबती खोलाले बगाएपछि  स्थानीय प्रहरीको टोलीले उद्धार गरेका छन् । योन्जनलाई तत्कालै उद्धार गरी सिराहाकै गोलबजार स्थित हेल्थ केयर अस्पताल गोलबजारमा भर्ना गराइएको छ । उनको अबस्था गम्भीर रहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
१८ अषाढमै पर्सामा विद्यालयबाट घर फर्किने क्रममा फन्ती खोलामा आएको बाढीमा बगेर २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जनाएका छन् । केही विद्यार्थीहरू बिद्यालयबाट घर फर्किरहेको बेलामा खोलामा बाढी आएर ती विद्यार्थीहरू घेरिएका थिए, एक छात्राको मृयु भइसकेको छ भने एक जना अहिले पनि बेपत्ता छन्, बाँकी दुइ जना विद्यार्थीलाई प्रहरीको टोलीले उद्धार गर्न सफल भएको प्रहरी निरीक्षक साहले बताए । उक्त खोलामा आएको बाढीले एक चौपाया पनि बगेको छ ।  अषाढ १८ मै सर्लाहीको हरिवन नगरपालिका ९ स्थित अन्दाजी ७० बर्षका मानसिक अबस्था ठीक नभएको टेक बहादुर बिक हरिवन खोलामा आएको बाढीमा बगेका छन् । उनको अबस्था हाल सम्म अज्ञात रहेको प्रहरीको भनाई छ ।
सर्लाहीको रामनगर नगरपालिका ६ स्थित स्वास्थ्य चौकी भित्र बर्षाको पानी पसे पछि अन्दाजी ४० हजार बराबरको औषधि क्षति भएको छ ।
१८ अषाढमै सर्लाहीको गोडैता नगरपालिका ११ स्थित सिसौटियाका दिलिप कुमार अधिकारीको एक तल्ले कच्ची घर पूर्ण रूपले क्षतिग्रस्त भए पछि उनका परिबार अहिले आफ्ना दाजु भाईको घरमा बसोबास गरिरहेको प्रदेश प्रहरीले बताएको छ ।
त्यसै गरी महोत्तरी, रौतहट जिल्लामा बर्षा र बाढीका कारण केही व्यक्तिहरूको कच्ची घर पूर्णरूपले क्षतिग्रस्त भए पछि तिनीहरू आफन्तका घरमा आश्रय लिएर बसेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक साहका अनुसार सबै जिल्लामा जिल्ला प्रहरी कार्यालयहरू उच्च सतर्कताको अबस्थामा बसिरहेका छन् । हामीहरूसँग डुंगा नभएका कारण प्रहरी प्रधान कार्यालयसंग प्रत्येक जिल्लाका लागि एउटा एउटा डुंगा, डोरी,कोदालो, गैंची, वूड कटर, टेन्ट  तथा केहि अत्याबस्यक सामग्रीहरू माग गरिसकेका छौं, साहले भने,‘सप्तरीको राजबिराजमा २६ जना प्रहरीको ‘स्विमर स्क्वाड’ तैनाथ समेत गरिसकेका छौं,’
प्रदेश सरकार सुस्त
बर्षाका कारण प्रदेशमा बाढी आएर जान धनको क्षति समेत हुन थाले पनि प्रदेश सरकार भने सुस्त बसेको छ । प्रदेशका कतिपय खोलाहरूमा बाढी खतरा लेभेल सम्म पुगिसकेको भए पनि आबश्यक एक्सन भने प्रदेश सरकारले लिन सकेको छैन । आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद व्यस्थापन शाखाका शाखा अधिकृत हेम बहादुर कार्की भन्छन्,‘विपद सम्बन्धी उद्धार तथा राहत सम्बन्धी मापदण्ड तथा कार्य्विधि त हामीले बनायौं, विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन ऐनको मस्यौदा पनि तयार गरेर मन्त्रिपरिषदबाट स्वीकृत भएको छ, केही दिनमै प्रदेश सभामा टेबल पनि हुन्छ, तर, आब्शय्क ऐन नियमको अभावमा काम अघि बढ्न सकेको छैन ।’
उसो त आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गठन गरिएको विपद ब्यबस्थापन कोषमा रुपियाँ पनि नभएको होईन, २ करोड रुपियाँ छुट्याईएको छ, तर खर्च भने गर्न सकिएको छैन । राष्टिूय आपतकालीन केन्द्र, काठमाडौंबाट राहत तथा उद्धारका लागि केही दिन अघि नै एक टूक सामान पनि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आइसकेको छ ।
इन्नर टेन्ट २० थान,आउटर टेन्ट २० थान, काठको पेपर ३२ थान, त्रिपाल २ सय ६० थान,नाइलन डोरी २५ थान, प्लाष्टिक सीट ३५ बन्डल, ५ ।६ केभिएको जेनेरेटर २ थान, २० केभिएको जेनेरेटर १ थान १ अषाढमै मन्त्रालयमा मौज्दात राखिएको छ ।
आबश्यकता अनुसार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको समन्वयमा काम हुने कार्कीले बताए ।
छैन आफ्नो पुर्ब सुचना प्रणाली
प्रदेशमा बाढीको के कस्तो अबस्था छ भन्ने कुराको पुर्ब सुचना दिने प्रबिधि प्रदेश सरकार संग छैन । जल तथा मौसम बिज्ञान विभागमा मन्त्रालयले सुचना प्रदान गरिदिन आग्रह गरेको छ, त्यसकै भरमा मन्त्रालयले केही सुचना पाइरहेको छ ।
कहाँ कहाँ के कस्ता जोखिम छन् भन्ने कुराको जानकारीका लागि पनि प्रदेश सरकारसंग पर्याप्त र भरपर्दो साधन छैन । मन्त्रालय मातहतको विपद ब्यबस्थापन शाखाका शाखा अधिकृत हेम बहादुर कार्की भन्छन्,‘प्रदेश प्रहरीको कार्यालयबाट प्राप्त हुने सुचना, जाहेरी र मिडियामा आएका समाचारबाट नै प्रदेश सरकारले पनि सुचना पाइरहेको छ ।’ उनका अनुसार मंगलबार प्राप्त भएको सुचना अनुसार रौतहट र सर्लाहीको लालबकैया खोलामा बाढीले कटान गरेर गाउँमा पानी पस्ने खतरा छ, तर अर्ली वार्निंग सिस्टमको प्रबिधि जडान नभएका कारण समस्या भएको छ ।
मुख्यमन्त्री राउतले लिए जानकारी
प्रदेशका बिभिन्न जिल्लाको अबस्था बुझ्नका लागि मुख्यमन्त्री लाल बाबु राउतले मंगलबार सुरक्षानिकाय संग छलफल गरेका छन् । प्रदेशका प्रमुख सचिब राजेश्वर मान सिंहका अनुसार उक्त बैठकमा विपदको बर्तमान अबस्था, पुर्ब तयारी र राहत तथा उद्धारको बन्दोबस्तीका बारेमा जानकारी लिएका छन् । सिंहले भने, ‘बिभिन्न जिल्लामा दक्ष जनशक्ति सहित प्रब तयारि अबस्थामा हामी बसेका छौं, केही  भए तत्कालै उद्धार कसरी गर्ने भन्ने कुरा हाम्रो पहिलो प्राथमिकता रहेको छ ।’
प्रमुख जिल्ला अधिकारीको तयारी
प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद व्यस्थापन समिति तयारी अबस्थामा बसेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहका अनुसार जिल्लामा २० जना नेपाली सेना, १८ जना नेपाल प्रहरी र १५ जना सशत्र प्रहरी गरी कुल ५३ जनाको संयुक्त टोलि गठन गरेर तैयारी अबस्थामा बसेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित उक्त टोलीमा सुरक्षा निकायका अतिरिक्त नेपाल रेडक्रस सोसाईटी, प्राक्टिकल एक्सन लगायतका संस्थाहरूबाट तालिम प्राप्त स्वयमसेबक पनि तैयारी अबस्थामा राखिएको छ ।
यति तैयारीका बाबजूद राहत तथा खाद्यान्न सामग्री भने उपलब्ध नरहेको, बाढीको क्रममा बाटो अबरुद्ध भएपछि अबरोध हटाउन आबश्यक पर्ने सबारी साधन तथा उपकरण जिल्लाको यान्त्रिक कार्यालयमा अभाव रहे पछि निजी क्षेत्रबाट हायर गर्ने तयारी गरिएको प्रशासकीय अधिकृत साहले बताए ।
प्रमुख जिल्ला अधिकारीले जिलाका प्रत्येक स्थानीय तहमा पत्राचार गरेर बाढी आउने जोखिमका क्षेत्रहरूको पहिचान गरी बस्तीका जनतालाई पुर्ब सुचना जारी गर्न, बाढीमा फसेकालाई उद्धार गरी  सुरक्षित स्थानमा अवतरण गर्नका लागि बिद्यालय खाली गराउन, बिद्यालयहरूमा खानेपानीका लागि उचित ब्यबस्थापन गरेर राख्न, एम्बुलेन्स सुचारू अबस्थामा राख्न यस अघि नै निर्देशन गरिसकिएको छ ।
साहका अनुसार धनुषामा कमला नदी र जलाध नदीको जलाधार रहेको क्षेत्रका गाउँ बस्तीहरू बाढीको जोखिममा रहेकाले ती नदीहरूको अबस्था बारे सुचना प्रबाह गर्नका लागि जल तथा मौसम बिज्ञान विभागमा प्रजिअले समन्वय गरिरहेका छन् ।  


२०७५ आषाढ २४ गते आईतबार

No comments:

Post a Comment