Tuesday, July 10, 2018

बिचार : प्रदेश दुईको समृद्धिको सपना र सामाजिक अबस्था : डा.रामचन्द्र लामिछाने

विषय प्रवेशः
संघीय गणतन्त्र नेपालको संविधान २०७२ ले नेपाललाई एकात्मक राज्यप्रणालीवाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्टूको रुपमा संस्थागत रुपान्तरण गरेको छ । नयाँ संरचना अनुसार नेपाललाई संघ, ७ प्रदेश र ७५३ स्थानीय तहमा पुनरसंरचित गरीएको छ । शासन सत्ता सञ्चालनमा स्थानीय जनताको प्रत्यक्ष सहभागीता र पहुँच पुगोस र लोकतान्त्रिक मुल्य र मान्यता अनुसार स्वसाशीत हुने अवसरको सुनिश्चितता होस भन्ने अभिप्रायका साथ नेपालमा संघिय शासन प्रणाली स्थापना गरिएको हो । सामन्तवादी शासन व्यवस्था र सामाजिक प्रचलनका कारण जातीय छुवाछुत, लैगिंक विभेद, वोक्सी, दाइजो, वालविवाह, जस्ता सामाजिक कुरीतिहरुले नेपाली समाजलाई पछौटेपन र  अविकसीत अवस्थामा राखेको छ ।
 आधुनिक विज्ञान, प्रविधी, सूचना तथा सञ्चारको जमानामा पनि नेपाल एक पछौटे राष्टूको रुपमा परिचित रहेको छ । देश विकासको लागि आवश्यक श्रोत र साधनहरु विशेषतः अर्थ, जनशक्ति, कच्चा पदार्थ सबै कुराको प्रचुरता हँुदा हुदै पनि राजनीति देखी समाजीक आनी व्यवहारहरुमा मानसीक दरिद्रता, संकिर्ण सोच, नैरश्य र निराशाले जकडेका कारण प्राप्त सबै उपलब्धीहरुको सही सदुपयोग हुन सकेको छैन ।देशले विकासका प्राथामिकताहरुको सही पहिचान गर्न नसक्दा ६० वर्षको विकासको प्रयास वालुवामा पानी हाले जस्तो भएको छ । वैज्ञानीक सोच र दृष्टिकोणका अभावमा विकासका प्राथामिकताहरु ओझेलमा परेका छन ।
अल्पकालिन सोच र तुरुन्तै फाइदा लिने प्रवत्तिले देशकोे विकासलाई सुस्त वनाइदिएको छ भने विकास प्रथामीकताको सही पहिचानको अभावमा प्रदेस नं २ ले गति लिन सक्दैन । प्रदेश नं २ को समग्र दिगो विकासको लागि भविष्यमुखी सकारात्म योजना पद्धतीमा आधारीत दूरदृष्टिको निर्माण गरेर योजनावद्ध तवरमा अगाडी वढ्न जरुरी छ । राजनीतिज्ञ, नीति निर्माता, प्राज्ञीक, नागरीक अभियान्त, शिक्षक विद्यार्थी, जनता सवैमा सकारात्मक सोच र सदभाव, सहकार्य र सिर्जनशिल सोच तथा व्यवहारले प्रदेश नं २ को समृद्धिको यात्रा तय गर्न सकिन्छ । हाल सम्म विभिन्न क्षेत्रमा प्राप्त गरिएका सकारात्मक प्रतिफलमा आधारीत भएर भविष्यको मार्ग निर्माण गर्न सहज होस भन्ने हेतुले प्रदेश नं २ को समाजिक वस्तुस्थितीलाई यहा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
१. जनसाँख्यिक विवरणः
सातवटै प्रदेश मध्ये प्रदेश नं २ जनसंख्याको हिसावले दोश्रो ठुलो प्रदेश हो । यो प्रदेश राजधानीवाट दक्षिण पूर्व २७६ किमी टाढा रहेको छ । यहाँ जम्मा ५४०४४५जनसंख्या रहको छन भने घरधुरी संख्या ८२५४३५ रहेको छन । यस प्रदेशमा १३६ वटा स्थानीय निकाय १०६ प्रदेस सभा र संघिय संसदमा ३२ सिट रहेको छ । यस प्रदेसमा पुरुषको तुलनामा महिलाको जनसँख्या वढी रहेको छ ।
यहाँको जनसँख्या नै यस प्रदेशको द्रुत विकासको आधार हो । स्थानीय, प्रदेश र संघीय सरकारले जनशक्ति विकासको वैज्ञानीक र दिर्घकालीन रणनीतिका साथ विकासका प्राथामीकताहरु निर्धारण गरेर कार्यक्रम लागु गर्न पर्दछ ।
२. प्रदेशमा जनसंख्याको वितरणः
यो शहर उन्मुख प्रदेस हो र यहाँ गाउँपालीका भन्दा नगर पालीका, उप महानगरपालीका र महानगरपालीकामा वसोवास गर्ने जनसंख्या धेरै छन । यहाँ अपाँग तथा विदेशमा कार्यरत जनसँख्या पनि उल्लेख्य छन । महिला अपाँगको तुलनामा पुरुष अपाँगहरु वढी छन । वैदेशीक रोजगारीमा महिलाको तुलनामा पुरुषको जनसँख्या वढी छन । प्रदेसको विकासमा यो समुहको जनसँख्याको योगदान फरक प्रकारले हुने हुँदा यस वर्गका जनताको सहभागिता,  योगदान र विकास प्रतिफलको सुनिश्चित हुने गरि विकासका नीति तथा कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन गर्नु पर्दछ ।
सबै तहका सरकारहरुवाट गरिने कृयाकलापहरुमा जनताका आधारभुत आवश्यकता, स्वतन्त्रता र आत्मसम्मानको सुनिश्चित हुन सकेमा मात्र विकासको आधारशिला तयार हुन सक्दछ । नगरपालीका तथा गाउँपालीकाले नाीति, कानुन तथा कार्यक्रम तर्जुमा गर्दा यस समुहका जनताहरुका सिमिता, अवसर र आवश्यकतालाइ विश्लेषण गरेर नीति, कार्यक्रम तथा रणनीतिहरु तर्जुमा गरि कार्यान्वयन गनु पर्दछ ।
३. प्रदेशको समाजिक अवस्थाः
राष्टूीयऔषत जनघनत्वको तुलनामा प्रदेस नं २ का सबै जिल्लाहरुमा जनघनत्वको चाप धरै छ । यहाँका सबै जिल्लाको साक्षरता दर राष्टूीयऔषत भन्दा थोरै छ । विद्यालय तथा क्याम्पसहरुको उल्लेख्य उपलब्धता भएतापनि विद्यालय वाहिर रहेका वालवालिका अत्याधिक भएका जिल्लाहरुमा यस प्रदेसका सबै जिल्लाहरु पर्दछन। सुरक्षाको दृष्टिकोणवाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपलब्धता भएपनि चोरी डकैती, अपहरण जस्ता समस्याहरु उल्लेख्य रुपमा रहेका छन । समाजीक कुरीतिले समाजलाई जकडेको भए पनि समाजीक विभेद, कुरीति, शोषण, दाइजो, वालविवाह, जातीय छुवाछुत विरुद्ध अदालत, स्थानीय प्रहरी तथा स्थानीय सरकारहरुमा निकै कम मुद्धाहरु दर्ता हुने गरेका छन । जनचेतनाको अभावमा यस प्रदेशका जनताहरुमा अन्याय अत्याचार थिचोमिचो विरुद्ध उजुरी गरेर अधिकार दावी गर्ने सँस्कारको विकास भएको छैन । यस प्रदेशमा लैगिंक विभेद अधिक रहेको छ भने अत्यन्त न्युन महिलाहरुको मात्र सम्पत्तिमाथी स्वामित्व रहेको छ । सहकारीको विकास यस प्रदेशमा सन्तोषजनक रुपमा विस्तार भईरहेको छ तर सहकारीमा जम्मा वचतलाई उद्यमशिलता तर्फ प्रयोग गर्न महिला तथा युवा शसक्तिकरण आवश्यक रहेको छ ।
४. शैक्षिक अवस्थाः
यस प्रदेशमा महिलाको तुलनामा पुरुष साक्षरता वढी रहेको छ । प्राथामिक तहको शिक्षामा विधार्थीको सहभागीता राम्रो देखिएपनि विद्यालय वाहिर धेरै वालवालिकाहरु रहेकाछन । प्रदेशको जनसँख्याको करिव ४५ प्रतिशत जनसंख्या विभिन्न तहको शिक्षा आर्जनमा संलग्न छ । प्राथामिक तहको तुलनामा निम्न माध्यामिक तहमा गएर अध्ययन गर्ने विद्यार्थी सँख्या ४३ प्रतिशतले कम छन । यहाँ एक तहवाट माथिल्लो तहमा जादा विद्यार्थी संख्यामा उल्लेख्य कमी आएको छ । एक त धेरै विद्यार्थी विद्यालय वाहिर रहनु अर्को एक तहवाट अर्को तहमा जादा उल्लेख्य रुपमा विद्यार्थी घटदा प्रदेशको दक्ष जनशक्ति उत्पादनमा प्रत्यक्ष प्रभाव परेको छ जसले दिर्घकालिन रुपमा यस प्रदेशको आर्थिक तथा समाजिक विकासमा असर गरेको छ । दक्ष जनशक्तिको अभावमा समाज आधुनिकता र प्राथामीकता तिर लम्कन सकेको छैन जसले गर्दा अन्याय, अत्याचार, भ्रष्टचार जस्ता समस्याहरु ज्यूका त्यू छन ।
५. विषयगत शिक्षामा प्रदेशको अवस्थाः
प्रदेस २ मा कला, मावविकी, वाणिज्य तथा शिक्षा शास्त्र जस्ता विषय प्रति विद्यार्थीहरुको प्रमुख आकर्षण रहेको देखिन्छ । प्रदेसको मुख्य जीवीको पार्जनको रुपमा रहेको कृषि तथा पशुविज्ञान, खाद्यप्रविधी, कृषिमा आधारीत उद्यमशीलता जस्ता विषयहरुमा निकै कम मात्रामा जनशक्ति उत्पादन भएको देखिन्छ । प्रयाप्त जनशक्तिको अभावमा यस प्रदेशका आर्थिक विकासकआ अवसरहरु प्रष्फुटन हुन नसकेको कारण जनताहरु न्यून आयको लागि अधिक श्रम गर्न वाध्य देखिन्छन भने महिलाहरुको उच्च शिक्षा र प्राविधीक शिक्षामा निकै कम सहभागिता देखिन्छ । महिलाहरुको उच्च शिक्षामा भएको कमजोर सहभागीताले प्रदेशमा दाइजो, वोक्सी, वालविवाह, वहुविवाह जस्ता कुरीतिहरुले प्रश्रय पाइरहेका छन । प्रदेशमा लैगिक सहभागीता कायम गरी महिलाहरुलाइ आर्थिक तथा समाजिक विकासमा सहभागिता गराउन प्राविधीक शिक्षामा महिलाहरुको सहज पहुँच सुनिश्चित जरुरी छ ।
६. प्रदेशमा घरको स्वामित्व
यस प्रदेसमा वसोवास गर्ने जनताहरु मध्ये ९६ प्रतिशत जनताको आफ्नै घर छन भने वाँकी भाडा वा संस्थागत घरहरुमा वसोवास गर्ने गरेका छन । यसरी आफ्नै घरमा वसोवास गर्ने जनताका घरहरु विभिन्न प्रकारका रहेका छन । प्रदेस सरकार एवम स्थानीय सरकारसँग भवन आचार संहिता नभएको र साविकका गाउँपालिका, नगरपालिक र जिल्ला विकास समितिहरुले भवन आचर संहिता तथा निर्माणको लागि कुनै पनि प्रकारको मापदण्ड नवनाएको कारण प्रदेस भित्रका वस्ती एवम घरहरु व्यवस्थित र न्यूनतम मापदण्ड पुरा गरेका छैनन ।
७. प्रदेस भित्रका घरहरुको वनावटः
प्रदेस नं २ मा ७० प्रतिशतहरु काठवाट वनेका छन । विशेषतः शहरी तथा शहरउन्मोख क्षेत्रहरुमा ईटाका घरहरु छन ।ईटाका घरहरु सिमेन्ट र माटोको जोडाईवाट वनेका छन भने  ५ प्रतिशत मात्रघरहरु  आरसीसी रहेका छन । यस प्रदेसमा वनेका अधिकाँश घरहरु भुकम्प प्रतिरोधात्मक छैनन । गर्मी मौसममा आगलागीका कारण यस प्रदेसमा ठूलो मात्रामा क्षति हुने गरेको छ भने घर वनाउदा स्थान छनौट गर्न स्किृति लिने प्रावाधान नभएका कारण खोला किनार र गहिरो स्थानमा निर्माण गरिएका घरहरु वर्षेनी वाढीको चपेटामा पर्ने गरेका छन भने निर्माणको क्रममा प्रयोग गरीने कमशल गुणस्तरका निर्माण सामाग्रीका घरहरु उच्च जोखिमका अवस्था रहेका छन ।
८. घरका छानाका वनावटहरुः
प्रदेस नं २ मा घरका छानाका वनावटहरु विभिन्न प्रकारका रहेका छन ।  अधिकाँश (५० प्रतिशत) घरहरु  टायलले छाएका छन भने करिव २६ प्रतिशत घरहरु खरले छाएका छन ।  गरिवीको रेखा मुनि रहेका र निम्न मध्यम वर्गीय परिवारहरुले घरहरु खरले छाएका छन । अधिकाँश घरहरु टायलले छाएका छन ।  टायलको उत्पादन पनि यसै प्रदेसमा हुने हुदा टायल उत्पादनको क्रममा रोजगारीको पनि श्रृजना भएको छ भने खरको तुलनामा टायल अधिक टिकाउहुने हुँदा घर सुरक्षित र सफा हुन्छ ।  जस्तापाता र ढलान गरेका घरहरु पनि उल्लेख्य मात्रामा रहेका छन ।  खरले छाएको  घरहरु भएको ठाउँमा आगलागीको प्रकोप वर्षेनी  हुने हँुदा यसवाट वच्न दिर्घकालिन  उपाय  खोज्नु जरुरी भएको छ ।
९. प्रदेशमा खानेपानीको उपलब्धताः
सरसर्ती हेर्दा यस प्रदेसमा खानेपानीको उपलब्धता सहज जस्तो देखिएता पनि खाने पानीको आपूर्तिको मुख्य श्रोतको रुपमा (९२ प्रतिशत) टुयुववेल रहेको छ । आर्सेनीक र खनीज पदार्थको समिश्रणको परिक्षण नगरिने हुदा टुयवेलको पानी स्वास्थ्य सुरक्षाको दृष्टिकोणवाट शंकास्पद रहेको छ । खाने पानी आपुर्तिको पानी करिव १२ प्रतिशत घरधुरीको लागि मात्रै प्रयाप्त छ । इनार र वगेको पानीको प्रयोगका कारण पनि मसौमी प्रकोपहरु फैलिइरहने भएकाले जनस्वास्थ्यमा चुनौतीहरु थपिएका छन ।
१०.प्रदेसमा इन्धनको सदुपयोगः
यस प्रदेसको दैनिक घरायसी प्रयोजनको इन्धनको मुख्य श्रोतको रुपमा दाउरा र गुइठा गरेर ९० प्रतिशतको हाराहारीमा रहेको छ भने अन्य १० प्रतिशतमा मटितेल, ग्यास, गोवर ग्यास, विजुली र अन्य श्रोतहरु रहेको छ । गुईठा र दाउराको अधिकतम प्रयोगले प्रयोग कर्ताहरुमा दम, खोकी, टिवी जस्ता रोगहरु देखिएका छन भने जीवन यापनको लागि अधिकाश समय दाउरा र गुइठा निर्माण एवम् संकलनमा विताउनु पर्ने भएकोले उत्पादन वृद्धि हुन सकेको छैन । खेतीमा प्रयोग गर्न पर्ने गुइठालाई इन्धनको रुपमा प्रयोग गर्दा प्रागंरीक मलको पनि अभाव भएको छ ।
वत्तीको श्रोतः
प्रदेस नं २ मा घरमा वालिने वत्तीको प्रमुख श्रोतको रुपमा विजुली वत्ती रहेको छ भने मटितेल पनि प्रशस्त मात्रामा प्रयोगमा रहेको छ । सोलार र गोवर ग्यासको प्रयोग केही घरधुरीमा हुने गरको देखिन्छ । तर चर्को लोडसेडींगको कारण बीजुली वत्ती सँगसगै मटितेलको प्रयोग प्रचलन प्रदेस भरी नै प्रयाप्त रहेको छ । सहज र गुणस्तरीय जीवनको लागि विजुली वत्तीको सहज आपुर्ती तर्फ ध्यान दिनु आवश्यक छ ।
११. शौचालयको उपलब्धताः
प्रदेस नं २ मा शौचलायको उपलब्धता निकै नै न्यून रहेको छ । यहाँको सबै जिल्लाहरुका अधिकाँश घरहरुमा शौचालयको अभाव रहेको छ । यस प्रदेसका अधिकाँश जनताहरुले शौचालयको अभावमा भोग्नु पर्ने सबै प्रकारका समस्याहरु भोगी रहेका छन जसले गर्दा जीवन कष्टकर र निरास वनाइदिएको छ । शौचालयको अभावमा किशोर किशोरीहरुको आत्मविश्वास र व्यक्तित्वको चौतर्फी विकास हुन सकिरहेको छैन । आधारभुत जीवनयापनका कुराहरु मा सर्वसाधरणले सुविधा नपाउदा विकास साझेरदार, जनता र सरकार विच अविश्वासको खाडल वढदै गएको छ ।
१२. घरमा उपलब्ध सेवा तथा सुविधाहरुः
कुनै पनि घर परिवारको समृद्धीको सूचकको रुपम त्यस घरमा प्रयोग गर्ने सेवा र सुविधालाइ लिन सकिन्छ । प्रदेस नं २ का घरधुरी मध्ये २० प्रतिशत जति घरधुरीमा कुनै प्रकारका सुविधाहरु छैनन भने वाँकी घरधुरीहरुले कम्तिमा पनि एक प्रकारका सुविधाहरु प्रयोग गर्ने गरेका छन । यस प्रदेशका सबै जिल्लाहरुका जनताहरु विस्तारै आधुनिक सेवा सुविधा तर्फ आकर्षित हुदैछन तर आर्थिक अवसरहरुको अभावमा आधुनिक सेवा र सुविधाहरुले जीवनलाइ थप कष्टकर वनाइदिएका छन । केही सिमित घर परिवारहरुले मात्रै आधुनिक महंगा सुविधाहरुको सदुपयोग गरिरहेका छन । यस प्रदेसमा सवारी साधनको रुपमा अधिकाँश घरधुरीहरुले साइकल प्रयोग गर्ने गरेका छन तर प्रदेसका राजमार्ग र सहायक मार्गमा साइकल लेन नहुदा अधिकाँश ठाउँमा दुर्घटनाको जोखिम रहेको छ ।
१३. मानव विकास सूचाँकः
यो प्रदेस मानव विकास सूचाँकमा देशको पाँचौ प्रदेसको रुपमा रहेको छ । मानव विकास सूचाँक भनेको औषत आयु, शिक्षा, तथा औषत आयको समिश्रण हो । यस प्रदेशमा शिशु मृत्युदर ५६.६०९ प्रति हजार छ  जुन राष्टिय औसत भन्दा करीव (२७.९) दोव्वर हो । यस प्रदेसको औषत साक्षरता पनि राष्टिय औसत भन्दा कम (५०.२०) छ । भने यहाँको जीवन प्रत्याशा भने राष्टि औसत (६९.९७ वर्ष) भन्दा राम्रो छ । यस प्रदेसमा अधिकाँश जनसँख्या (७३ प्रतिशत) शौचालय विहिन छन ।
१४. शैक्षिक अवस्थाः
यस प्रदेसमा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको संख्या धेरै छ । यस प्रदेसमा विद्यालय छोडने विद्यार्थीहरुमा सबै भन्दा वढी मावि स्तरमा छात्राहरुको दर वढी छ भने प्राथामिक तहमा छात्र वढी छन । निमावी स्तरमा पनि छात्राको तुलनामा छात्रहरु धेरै रहेका छन ।
१५. स्वास्थ्य सेवा तथा सुविधाहरुः
यो प्रदेशमा स्वास्थ्य सेवा उपलब्धताका आधारमा अन्य प्रदेश भन्दा अगाडी छ । यहाँको स्वास्थ्य सेवाको उपलब्धताको क्षमता प्रदेशका सबै जनताहरुलाई आधारभुत सेवा प्रदान गर्न सक्दछ । यो संरचनाले स्वास्थ्य क्षेत्रका वहुआयमिक समस्याहरुलाई सम्वोधन गर्न सक्ने गरी संरचित गरिएको छ । तर गुणस्तरीय सेवा, स्वास्थ्यकर्मीहरुको अभाव, भएका स्वास्थ्यकर्मीहरुमा पनि जिम्मेवारी र जवाफदेहीताकारण जनताले गुणस्तरीय सेवा र सुविधा प्राप्त गर्न सकेका छैनन ।
निष्कर्षः
प्रदेश नं २ श्रोत र साधनका दृष्टिकोण प्रचुर संभावना भएको प्रदेश हो । २१ औ शताब्दीको बिकासको मुख्य आधार भनेको जनशक्ति हो । यदि यस प्रदेशमा भएका जनताको सिप र क्षमता अभिवृद्धि गरी दक्ष वनाउने हो भने आगामी केही वर्ष भित्र यो प्रदेशको दुनियाको उत्कृष्ट मानव वस्तीमा रुपान्तरण हुन्छ । यस प्रदेशका अधिकाँश समस्याहरु शुसासनसँग सम्वन्धित छन भने शुसासनमा आउने आमुल सकारात्मक परिणामले प्रदेशका जनताहरुलाई स्वयमको पहलमा सकारात्मक रुपान्तरणको नेतृत्व गर्न अभिप्रेरीत गर्दछ । यहाँ हरेका वाल वच्चाहरुको सुन्दर भविष्य र महान शहिदहरुको सपना पूरा गर्न स्थानीय, प्रदेस र संघिय सरकारले यहाँको जनशक्तिमा आधारीत विकासका मोडल निर्माण गरी कार्यान्वयन गर्न सक्नु पर्दछ ।
 वितरणमुखी र निर्वाहमुखी विकास सोच र अवधारणले प्रदेशलाइ सदियौ सम्म पछौटेपन र गरीवीकै चंगुलमा जकडेर राख्ने हँुदा नीति निर्माताहरुले भविष्यमुखी रुपान्तरणकारी सोचमा आधारीत विकासको मार्ग तय गर्न जरुरी छ ।
प्रदेशको सकारात्मक रुपान्तरणको लागि सवैलाई हार्दिक शुभकामना । धन्यवाद।



२०७५ आषाढ २४ गते आईतबार

No comments:

Post a Comment