Tuesday, July 10, 2018

नगरपालिकामा मेयरले भ्रष्टाचार गरेको भन्दै वडाध्यक्षहरू अनसनमा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरीको सदरमुकाम जलेश्वरमा मेयर रामशंकर मिश्रको बिरुद्धमा सात जना वडा अध्यक्षहरू आन्दोलित भएका छन् । चालु आर्थिक बर्षको आय व्यय सार्बजनिक नगरेको तथा बिकास निर्माणका काममा ब्यापक हिनामिना तथा भ्रष्टाचार भएको भन्दै सात जना वडा अध्यक्षहरू रिले अनसनमा बसेका छन् ।
जलेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अनिल झा,२ का वडा अध्यक्ष बरुण दाहाल,  ६ का वडा अध्यक्ष रबिन्द्र प्रसाद साह, ७ का वडा अध्यक्ष राम छविला यादव, ८ का वडा अध्यक्ष बिनय सिंह, ९ का वडा अध्यक्ष रबिन्द्र यादव र १० का वडा अध्यक्ष बिकाउ दास १७ अषाढ देखि जलेश्वर नगरपालिकाको प्रांगणमा जलेश्वर नगरपालिकामा भईरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको बिरुद्धमा रिले अनसन बसेका छन् ।
मेयर मिश्रले त्यहाँका इन्जिनियर माधबेन्द्र प्रसाद चौधरीसंग मिलेमतो गरेर करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाईएको छ । अनसनमा बसेका वडा अध्यक्षहरूले ११ सुत्रिय माग अघि सारेका छन् ।काज सरुवा भई सकेको र जिल्ला प्रशासन कार्यालय महोत्तरीको २४ घन्टे तागेदा पत्रको बेवास्ता गरी कार्यालयमा अवान्छित तत्वहरूको प्रयोग गर्दै आएको, जलेश्वर नगरपालिका वडा नम्बर २ टाउन प्लानिंग स्थित आफ्नै घरमा कार्यालयका फाइलहरू मगाई, केही कर्मचारीहरूलाई घरमा बोलाई समानान्तर कार्यालय संचालन गरिरहेको इन्जिनियर माधबेन्द्र प्रसाद चौधरीलाई तुरुन्तै काज फिर्ता पठाई उनी बिरुद्ध आबश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने माग गरेका छन् ।
ऐन कानून बमोजिम कार्यालय र लेखा प्रमुखद्वारा खाता संचालन गर्नुपर्ने, गैर कानूनी रूपमा खाता संचालन गरि भ्रष्टाचारजन्य कार्य गरेकाले खाता बन्द गरी तुरुन्तै कारबाही गर्नुपर्ने,पशु आहार बिउ बिजन औषधि खरिद प्रक्रियामा भएको अनियमितताको छानबिन समिति गठन गरी कारबाही गरिनुपर्ने,वडा सचिवलाई नगर सभाबाट पारित योजना कार्यान्वयन अर्थात खर्च गर्ने कानून बमोजिम अख्तियारी दिनुपर्ने,ईन्धनमा भएको अनियमित खर्चको छानबिन समितिको गठन गरी कारबाही गरिनुपर्ने माग गरेका छन् ।
गैर कानूनी रूपमा दुराभावले प्रेरित भएर मेयरले आफ्नै हस्ताक्षरबाट सब इन्जिनियर मनोज कुमार साहलाई गरिएको काज फिर्ता बदर गरी साहलाई तुरुन्त हाजिर गराउनु पर्ने,मेयरले नगरस्तरीय योजना सम्बन्धमा गरेको कामको सम्बन्धमा सम्बन्धित वडा अध्यक्षलाई जानकारी गराउनु पर्ने, नगरपालिकामा भएको अपारदर्शिता बन्द गरी नगरपालिकाको आय व्यय कानून बमोजिम सार्बजनिक गरि वडा अध्यक्षलाई जानकारी गराउनु पर्ने,नगर सभाबाट पास भएको नगर स्तरीय योजनामा भएका योजना कुन कानून बमोजिम परिबर्तन गरेको हो, पारदर्शी गरिनुपर्ने, नगरपालिकालाई संघीय सरकार, प्रदेश सरकार, र अन्य निकायबाट आएको र नगरपालिकाको आन्तरिक स्रोतबाट के कति अख्तियारी आएको हो भन्ने बिबरण सार्बजनिक गरिनुपर्ने लगायतका माग राखी सात जना वडा अध्यक्षहरू रिले अनसनमा बसेका छन् ।
वडा अध्यक्ष बरुण दाहालका अनुसार इन्जिनियर माधबेन्द्र चौधरीले गैर कानूनी ढंगले आफै बिल पनि बनाउने, आफै सदर पनि गर्ने र आफै चेक काटेर भुक्तानी पनि लिने गरेका छन्, त्यस्ता भ्रष्टाचार गर्ने कर्मचारीलाई धनुषाको सबैला नगरपालिकामा चार महिना अघि नै काज फिर्ता भई सकेपनि मेयर मिश्रले इन्जिनियरलाई रबाना नदिएर आर्थिक मसान्तमा ठुलो रकम कमिसन बापत कुम्ल्याउन खोजेका छन् । ‘एका तर्फ आर्थिक मसान्तको अबस्थामा प्रमुख प्रशासकीय अधिकृत टेकराम पन्तीलाई १७ असाढ देखि ४ साउन सम्मका लागि बिदा स्वीकृत गरेर पठाएका छन, अर्को तर्फ चौधरीलाई रबाना दिइरहेका छैनन्,’ जलेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बरुण दाहालले भने, ‘गृह मन्त्रालयले पनि २४ घण्टा भित्र काज फिर्ता पठाई दिन भन्दै परिपत्र नै जारि गरि सक्यो, तर पनि उनलाई राखिरहनुले पनि मेयर मिश्र उनका मार्फत करोडौं भ्रष्टाचार गर्न चाहेको पुष्टि हुन्छ ।’
ईन्धनमा मात्रै चालु आर्थिक बर्षमा ५० लाख रुपियाँ खर्च गरिएको छ, पशु आहार, बिउ बिजन तथा औषधि खरिदमा करोडौं रुपियाँ खर्च गरिएको छ, त्यो सबैमा ब्यापक आर्थिक हिनामिना गरिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर कारबाही गर्नु पर्छ, रिले अनसनमा बसेका जलेश्वर नगरपालिकाका ६ नम्बर वडाका वडाध्यक्ष रबिन्द्र प्रसाद साहले बताए ।
भ्रष्टाचार गर्नका लागि अनसन ः इन्जिनियर चौधरी
एका तर्फ इन्जिनियर चौधरीले गैरकानूनी ढंगले काम गर्दै करोडौं भ्रष्टाचार गरेको अनसनमा बसेका वडाध्यक्षहरूले आरोप लगाएका छन् भने अर्को तर्फ इन्जिनियर चौधरी भने वडा अध्यक्षरूलाई भ्रष्टाचार गर्न नदिए पछि आफु बिरुद्ध अनसनमा बसेको बताउँछन् ।
‘आफु बिरुद्ध वडाध्यक्षहरूले लगाएको पुरै आरोप निराधार हुन्, मेरो काज सरूवा मन्त्रालयले गरे पनि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले रबाना नदिएका कारण आफु काज फिर्ता नभएको हो,’ निमित्त प्रशासकीय अधिकृतको भूमिका समेत निर्बाह गरिरहेका इन्जिनियर चौधरीले भने, ‘म गत चैत्र ४ गते देखि यहाँ हाजिर भएको छु, सबै काम बिधि र कानून अनुसार नै गरेको छु । वडा अध्यक्षहरूले गलत तरिकाले भुक्तानीका लागि बिल पेश गर्दा भुक्तानी नदिए पछि मेरो बिरुद्ध अनसन बस्नुभएको हो ।’
आफु घरमा कार्यालय संचालन गरेको छैन, प्रत्येक दिन कार्यालयमा आएर नै काम गरिरहेको छु, कार्यालयमा सिसिटिभी क्यामेरा जडान छ, त्यसबाट पनि प्रमाण लिन सकिन्छ भन्दै उनले थपे,’वडा अध्यक्षहरूले नियम कानून र बिधि प्रक्रिया बिरुद्ध ५ लाक रुपियाँको खेलकूद सामग्री हामीले किनेका छौं, भुक्तानी गरिदिनु पर्यो भनेर अनुचित दबाब दिंदा पनि आफुले नमान्दा अनसन बस्नु भएको हो ।’ उहाँहरूले कसरी भ्रष्टाचार गर्नु भएको च्घ त्यसको कागज प्रमाण समेत आफु संग सुरक्षित रहेको, जुन सुकै छानबिनका लागि आफु तयार रहेको उनले बताए ।
मेयर माथि पनि आरोप
 मेयर रामशंकर मिश्रले जलेश्वर नगरपालिकामा करारमा कार्यरत रंजित कुमार महतोलाई ७ लाख रुपियाँको फर्जी पेश्की दिएर उक्त रकम जलेश्वर स्थित प्रभु बैंकमा रहेको खातामा जम्मा गर्न लगाई उक्त रकम आफ्नै नामबाट मेयर मिश्रले छेक नम्बर ०००६३०८४९२ र ०००६३०८४९३ को चेक १४ मङ्सिर २०७४ मा रंजित कुमार महतो संग लिई खाई झिकी भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
मेयर आएको ६ महिनामा मात्रै ५६ लाख रुपियाँ खर्च गर्नुले पनि इन्धनमा ब्यापक भ्रष्टाचार भएको आरोप लगाइएको छ ।
करारमा वा डेलीवेजमा  आफनालाई बिना बिज्ञापन गरी, नगरपालिकाको बोर्डको निर्णय समेत नगराई करारमा नियुक्त कर्मचारीबाट २५ प्रतिशत आफुले पाउने गरी स्थानीय सरकार संचालन ऐन, २०७४ को नियम बिपरित कतिपयलाई नियुक्ति दिइएको आरोप लगाइएको छ ।
बजार दर रेट भन्दा १ सय ५० प्रतिशत बढीको दरमा कार्पेट किन्न लगाएर भुक्तानी गरिएको छ, त्यसमा पनि त्यो सामान जिन्सीको लागतमा समेत नबाँधिएको आरोप लगाइएको छ । जलेश्वरमा सरसफाई गरेको भन्दै २० लाख रुपियाँ मेयर र इन्जिनियरले खाएको आरोप लगाइएको छ ।
जलेश्वर नगरपालिका स्थित राष्टिूय बाणिज्य बैंकको बाटो भएर गएको १० फिटको बाटोमा ६ टूयाक्टर मात्र ग्राभेल खसाई ५ लाख रुपियाँ भ्रष्टाचार गरिएको आरोप लगाइएको छ ।यस्ता बिभिन्न अनियमितता मेयर र इन्जिनियरले मिलोमतोमा गरेको वडाध्यक्षहरूले आरोप लगाएका छन् ।
यसरी हेर्ने हो भने वडाध्यक्षहरूले मेयर र इन्जिनियर चौधरीले भ्रष्टाचार गरेको आरोप लगाईरहेका छन् भने अर्को तर्फ वडाध्यक्षहरूले भ्रष्टाचार गर्न खोज्दा रोकेको इन्जिनियरले बताइरहेका छन् । यस सन्दर्भमा मेयर मिश्र संग फोनमा पटक पटक सम्पर्क गर्न खोज्दा उनी संग सम्पर्क हुन सकेन ।
हुन त मेयर मिश्रले अनसनमा बसेका वडाध्यक्षहरू संग सम्बाद पनि गरेका छन् । ठिकै छ बार्ता गरौँ, बार्ता समिति गठन गरौँ भन्दै नाटकीय ढंगले कुरा  गरेर मेयरसाहेब जानु भयो, हामी बार्ता होइन छानबिन समिति मार्फत छानबिन हुनुपर्ने अन्तिम बटमलाइन पुरा नहुन्जेल अनसन जारि राख्नेछौं, वडाध्यक्ष दाहालले बताए ।
   

२०७५ आषाढ २४ गते आईतबार

No comments:

Post a Comment