Tuesday, July 10, 2018

अवैध मदिरा, बैध संरक्षण बैध मदिरा, अवैध कारोवार

आन्तरिक राजश्व कार्यालय जनकपुरले बैध मदिरा भारत तर्फ लैजाँदै गर्दा पक्राउ गरेको भारतीय नम्बर प्लेटको गाडी,
अहिले पनि नियन्त्रणमा रहेको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला प्रहरी कार्यालय धनुषाले अबैध मदिरा उत्पादन, विक्री वितरण तथा सेवन कार्यलाई निरुत्साहित गर्नका लागि गत बैशाख देखि विशेष अभियान नै संचालन गरेको बेलामा विसाक्त गरेको मदिरा सेवनका कारण धनुषामा ६ जनाको मृत्यु भएको छ । १३ अषाढमा अबैध विशाक्त मदिरा सेवन गरेर धनुषाको कमला नगरपालिका ५ का राजविर महतो, गंगा पासवान, लक्करका मणि पासवान, रामचन्द्र पासवान, रामनाथ पासवान र कमला नगरपालिका ६ सिंघयाही मडानका साविर मियाँ अनसारीको मृत्यु भएको हो ।
जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.रामपरीक्षण यादवका अनुसार विसाक्त रक्सी सेवनका कारण उनीहरुको मृत्यु भएको हो । डा. यादवले भने,‘ सामान्य तया रक्सी निर्माण गर्ने बेलामा इथायल अलकोहल बन्छ तर कहिले काँही गलत प्रक्रिया भएर मिथायल अलकोहल बन्न जान्छ, जुन की विष नै हो ।’
घटनाका सन्दर्भमा धनुषा प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडी वढाएको छ । जुन ठाउँमा अवैध मदिरा उत्पादन भई विक्री वितरण भएको थियो र उक्त मदिरा सेवन गर्दा मानिसको मृत्यु भएको भन्ने कुराको आधारमा अवैध भठ्ठी संचालक र विक्री वितरण गर्ने कुल ७ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी वढेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले बताए । अहिले त्यहाँबाट संकलन गरिएको रक्सीको नमुना परीक्षणका लागि काठमाडांै स्थित फोरेन्सिक ल्यावमा पठाइएको छ, शवको पोस्टमार्टम रिपोर्ट र रक्सीको परीक्षण प्रतिवेदन अनुसार ती व्यक्तिहरु माथि मुद्दा चलाईने डिएसपी शाहीले बताए ।
घरेलु रक्सी उत्पादन, विक्री वितरण तथा सेवन गर्नु गैरकानुनी काम हो । तर पनि धनुषा सधै प्रदेश नं.२ का आठ वटै जिल्लामा अवैध रक्सी उत्पादन तथा विक्री वितरण हुने गरेको छ । अचम्म त के छ भने धनुषा प्रहरीले २०७५ को बैशाख महिना देखि अवैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण विरुद्ध विशेष अभियान नै संचालन गरेको थियो । जिल्लामा अब अवैध घरेलु उत्पादन तथा विक्री वितरण पुर्ण रुपले बन्द भईसकेको भनेर धनुषा प्रहरीले दावी गरिरहेकै बेला उक्त घटनाले बास्तविकता उजागर गरिदिएको छ ।
डिएसपी शाहीले भने,‘ म आफ्नै कमाण्डमा पनि कतिपय ठाउँमा पुगेर अवैध मदिरा उत्पादन गर्ने भठ्ठी नष्ट गरेको छु । तर पनि अहिले भएको घटनाले कहिँ न कहिँ ल्यापसेज छ कि भन्ने कुरा देखियो ।’ मातहतका सम्पुर्ण प्रहरी युनिटलाई अवैध मदिरा उत्पादन भईरहेको ठाउँको खोजी गरि नष्ट गर्न तथा व्यक्ति समेतलाई पक्राउ गर्न निर्देशन समेत दिईसकेको उनले बताए ।
यस अघि पनि धनुषामा मात्रै अवैध मदिरा सेवनका कारण धनुषामा एकैसाथ २१ जनाको मृत्यु भएको थियो । छविलाल जोशी बन्जाडे एसपी हुँदा उक्त घटना भएको थियो ।  त्यति बेला पनि धनुषा प्रहरीले विक्रेतालाई पक्राउ गरेर कारवाही गरेको थियो । तर, प्रमाणको अभावमा अदालतबाट उनी रिहा भएका थिए ।
प्रायःजसो एसपी आउँदा अवैध भठ्ठीहरु भत्काईन्छ । तर, फेरी पनि त्यहाँ भठ्ठी संचालनमा आएको हुन्छ । सुरुमा कारवाही गरेपनि पछि गएर स्थानीय चौकीहरुले ती अवैध रक्सी उत्पादन गर्ने संचालकहरुबाट महिनावारी लिने गरेका कारण प्रहरीकै संरक्षणमा ती अवैध भठ्ठीहरु पुनः संचालनमा आउने गरेको स्थानीयवासीहरु बताउँछन् ।
छानविन गर्न प्रदेशसभामा माग
उक्त घटनालाई लिएर प्रदेशलाई मदिरा मुक्त कानुन बनाउन तथा अहिले भएको घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न २ नम्बर प्रदेशको प्रदेशसभामा सांसदहरुले माग गरेका छन् । नेकपाका सांसद रामचन्द्र मण्डलले प्रदेशसभामा उक्त कुरा राख्दै घटनाको छानविन गर्न तथा प्रदेशलाई मदिरा मुक्त कानुन बनाउन माग गरेका थिए ।
नेपालको कानुनमा घरेलु मदिरा उत्पादन, विक्री वितरण वा सेवन गर्न रोक लगाएको छ । कसैले पनि मदिरा उत्पादन गर्नका लागि आन्तरिक राजश्व कार्यालयबाट अनुमति लिएर स्टिकर टाँसेर मात्र बेच्न पाउँछन् । घरेलु प्रयोजनका लागि बर्षमा दुई चोटी बढीमा पाँच लिटर मात्र रक्सी उत्पादन गर्ने अनुमति छ । त्यो पनि उत्पादन गर्नुभन्दा पहिले अन्तःशुल्क विभागको स्वीकृति लिनुपर्छ ।
अवैध मदिराका कारण राजश्वमा पनि व्यापक घाटा
अवैध मदिरा उत्पादन तथा विक्री वितरणका कारण नेपाल सरकारको राजश्वमा पनि घाटा भईरहेको छ । चालु आर्थिक बर्षमा आन्तरिक राजश्व कार्यालय जनकपुरले धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी कुल ४ जिल्लाबाट जेष्ठ महिनासम्ममा ६४ करोड ४३ लाख २५ हजार रुपैयाँ राजश्व असुल गरेको छ । आन्तरिक राजश्व कार्यालयका कार्यालय प्रमुख कृष्ण प्रसाद मैनालीका अनुसार कम्तीमा पनि १० प्रतिशत राजश्व त्यस्ता अवैध मदिरा उत्पादन तथा विक्री वितरणका कारण छली भईरहेको छ ।
बैध डिस्टलरीहरुमा उत्पादन हुने स्थलमा आन्तरिक राजश्व कार्यालयका प्राविधिक खटिएको हुन्छ । आवश्यक कच्चा पदार्थ वा स्प्रिट कति लाग्ने हो, तयारी बोतलमा कति स्टिकर लाग्ने लगायत देखि त्यसका सम्पुर्ण प्राविधिक कुराहरुमा पनि कार्यालयको नियन्त्रण रहन्छ । डिस्टलरीहरुमा कच्चा पदार्थको लेवेल मिलाउने, फुड टेक्निसियन, क्वालिटी कन्टूोलका लागि प्राविधिक देखि बेला बेलामा एक्सपर्टलाई झिकाएर चेक जाँच गराउनुका साथै ल्याव समेत नियमित चेक जाँच भईरहेको हुन्छ । तर, अवैध मदिरामा त्यस्ता कुनै पनि विज्ञ नहुने हुनाले त्यहाँ उत्पादन भएको घरेलु रक्सीको लेवेल नमिलेपछि रक्सी नै विष भईदिन्छ र त्यो खाएर मान्छे मरेको हुन्छ, आन्तरिक राजश्व कार्यालयका प्रमुख मैनालीले बताए ।
घरेलु रक्सी बनाउँदा रसायनिक मल यूरिया, चिनी, सखर, कुहिएको चप्पल, मोजा, पुराना लुगा कपडा जस्ता सामग्रीहरुको प्रयोग भईरहेको मैनालीले बताए ।
पछिल्लो ३ महिनाको प्रहरीको कारवाही
१८ जेष्ठ २०७५ मा धनुषाको हंसपुर नगरपालिका वडा नं.२ बघचौरामा विन्देश्वर चौधरी, प्रमोद चौधरी, सन्तु चौधरी र हिरालाल चौधरीले संचालन गरेको चार वटा अवैध भठ्ठीमा इलाका प्रहरी कार्यालय तारापट्टीको टोलीले तयारी मदिरा ८ सय लिटर र कच्चा पदार्थ २ सय लिटर नष्ट गरेको थियो । ३१ जेष्ठमा इलाका प्रहरी कार्यालय खजुरीका टोलीले जनक नन्दनी गाउँपालिकाका विभिन्न तीन वटा भठ्ठीमा पुगेर भठ्ठी तोडफोड गरेको थियो । जनक नन्दनी गाउँपालिका वडा नं.२ बल्हाकठालमा मदन साहले संचालन गरेको अवैध भठ्ठी तोडफोड गर्नुका साथै ५ सय लिटर कच्चा पदार्थ, बुधनी साहका भठ्ठीमा ४ सय लिटर कच्चा पदार्थ नष्ट गरेको थियो । त्यसैगरी जनक नन्दनी गाउँपालिका ६ मा विरेन्द्र साहले संचालन गरेको अवैध भठ्ठीबाट ५ सय लिटर कच्चा पदार्थ बरामद गरिएको थियो ।
७ अषाढ २०७५ मा सबैला नगरपालिका वडा नं.३ मा प्रहरीले सुरेन्द्र नायकले संचालन गरेको अवैध भठ्ठीबाट ५० लिटर तयारी मदिरा, १ सय केजी सखर मिठ्ठा, मदिरा बनाउन प्रयोग हुने तामाको भाडो, प्लास्टिकको ठिकको डूम गेलुन ३ थान बरामद गरेको थियो । सोही टोलीले सोही दिन सबैला नगरपालिका २ मै धनेश्वर जैसवालले कच्चा पदार्थको रुपमा अन्दाजी ८० केजीको दुई बोरा चिनी, मदिरा बनाउन प्रयोग हुने मेसिन, ग्यास चुलो, सिल्वरको हारी १ थान र प्लास्टिकको ग्याली बरामद गरेको थियो ।
७ अषाढमै धनौजी गाउँपालिका २ मा सन्तोष साहले संचालन गरेको अवैध मदिरा भठ्ठीबाट ४ सय लिटर तयारी रक्सी, ८ केजी यूरिया, २ सय १० केजी सखर र मदिरा बनाउने ५ थान भाडा बरामद गरिएको थियो । ८ अषाढमा विदेह नगरपालिका २ मा संचालकको नाम नखुलेको अवैध भठ्ठीबाट १ सय लिटर कच्चा पदार्थ र मदिरा बनाउने सामग्रीहरु बरामद गरिएको थियो । १४ अषाढ २०७५ मा जनक नन्दनी गाउँपालिका ६ स्थित विरेन्द्र साहको घरबाट ६ सय ५० लिटर कच्चा पदार्थ नष्ट गरिएको थियो भने १४ अषाढमै जनकपुर उपमहानगरपालिका वडा नं.१५ रामपुरमा रौदी हाथीले संचालन गरेको अवैध भठ्ठी नष्ट गर्नुका साथै २ सय लिटर कच्चा पदार्थ बरामद भएको थियो ।
महत्वपुर्ण कुरा के हो भने प्रहरीले यसरी नै बेला बखत अवैध मदिरा भठ्ठी उत्पादन गर्ने स्थलमा पुगेर छापामारी गरी अवैध मदिरा नष्ट गर्छन् र भठ्ठी पनि तोडफोड गर्छन् । तर, गैरकानुनी रुपले ती अवैध भठ्ठी संचालन गर्ने संचालकलाई भने पक्राउ गरेर कारवाही भने गर्दैनन् । धनुषाका डिएसपी शाही भन्छन,‘ जब हामी अवैध मदिरा उत्पादन गर्ने भठ्ठीमा पुग्दछांै, भठ्ठी संचालक वा त्यहाँ काम गर्ने कामदार कोईपनि हुँदैनन् । हामी पुग्नु भन्दा पहिले नै तिनीहरु त्यहाँबाट फरार भईसकेका हुन्छन् । त्यसैले तिनीहरुलाई पक्राउ गर्न सकिएको हुँदैन ।’ यद्यपि कहिले काँही अवैध मदिरा बेचिरहेका व्यक्तिहरुलाई समातेर १÷२ रात थुनामा राखेर छोड्ने गरिन्छ । उनले भने,‘त्यस्ता विक्रेतालाई मुद्दा नै चलाएर कारवाही गर्नु भन्दा पनि तिनीहरुलाई अवैध मदिरा विक्री वितरण गर्न निरुत्साहित गर्ने हाम्रो उद्देश्य रहन्छ ।’
बैध मदिरा उत्पादकको अवैध कारोवार
रोचक कुरा त के छ भने  अवैध मदिरा उत्पादन त त्यसै पनि अवैध हो । तर, यहाँ त बैध तरिकाले मदिरा उत्पादन तथा विक्री वितरण गर्ने भनेर आन्तरिक राजश्व कार्यालयबाट अनुमति प्राप्त गरेका संचालकहरुले पनि अवैध तथा गैरकानुनी कारोवार गरेको पाइएको छ । आन्तरिक राजश्व कार्यालय जनकपुर अन्तरगत रहेको अन्तःशुल्क विभागले पनि विभिन्न किसिमका अवैध मदिरा उत्पादन गर्ने व्यक्तिहरुलाई कारवाही गरेको छ । धनुषाको बरहरीमा कुशेश्वर प्रसाद साहले बैध मदिरा उत्पादन गर्ने भन्दै सांग्रीला डिस्टलरी संचालनका लागि आन्तरिक राजश्व कार्यालयबाट अनुमति प्राप्त गरेका छन् । तर, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले उक्त डिस्टलरीले पनि अवैध कारोवार गरिरहेको भन्दै सिलवन्दी गरेको छ ।
४ चैत्र २०७५ मा उक्त डिस्टलरीमा जाने बाटोमा नक्कली स्टिकर बोकेको मान्छे सिआईवीको टोलीले भैरहवामा भेटेपछि उक्त स्टिकर कहाँ लगेको हो भन्ने सोधेपछि सांग्रीला डिस्टलरीको नाम लिएको थियो । त्यसपछि उक्त डिस्टलरीमा छापामारी गर्दा भने नक्कली स्टिकर फेला परेन । तर, त्यो मानिसले दिएको बयानका आधारमा भैरहवा जिल्ला अदालतमा मुद्दा चलाइएको छ । २ करोड ८ लाख रुपैयाँ राजश्व धरौटी दिन अदालतले आदेश गरेको छ । उक्त घटनामा उक्त डिस्टलरीका म्यानेजर, एक जना नेपाली र दुई जना भारतीय नागरिक गरी कुल चार जना अहिले पनि थुनामै छन् । आन्तरिक राजश्व कार्यालय भैरहवाले उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको हो । धरौटी राजश्व दाखिला नगरेका कारण तिनीहरु अहिले पनि थुनामै छन् भने संचालक कुशेश्वर प्रसाद साह हालसम्म फरार छन् । मुद्दा अहिले पनि विचाराधिन अवस्थामै रहेको छ । उक्त डिस्टलरीलाई सिलबन्दी गरिएको छ ।
 त्यसैगरी २ चैत्रमा धनुषाको महेन्द्रनगरमा संचालित नारायणी डिस्टलरीलाई पनि सिलबन्दी गरिएको छ । उक्त डिस्टलरीबाट उत्पादन हुने मदिरा रित पुर्वक निकासी भई काठमाडौं स्थित वितरक कहाँ पुगेको थियो । तर, त्यहाँ रहेको मदिराको बोतलमा लागेको स्टिकर करदाता सेवा कार्यालय टंगाल काठमाडौंद्वारा गरिएको अनुगमनको क्रममा चेकजाँच हुँदा बोतलमा लागेको स्टिकर शंकास्पद देखियो ।
त्यसपछि उक्त स्टिकर सहितको नमुना आन्तरिक राजश्व विभागमा समेत पठाउँदा नक्कली नै रहेको पाइयो । यद्यपि नारायणी डिस्टलरीको उत्पादन स्थलमा छापामारी गर्दा नक्कली स्टिकर भने नपाइएको आन्तरिक राजश्व कार्यालय जनकपुरका कार्यालय प्रमुख कृष्ण प्रसाद मैनालीले बताए । डिस्टलरीका संचालक सुरेन्द्र प्रसाद यादवलाई पक्राउ गरी काठमाडौंमा थु्नामा राखिएको थियो । पछि धरौटीमा साधारण तारेखमा उनी रिहा भएपनि मुद्दा अदालतमा विचाराधिन रहेको छ ।
झापामा संचालित भोलेबाबा लिकर्सबाट उत्पादित मदिराको बोतलमा नक्कली स्टिकर टाँसिएको मदिराको बोतल जनकपुरमा बरामद भएपछि आन्तरिक राजश्व कार्यालय जनकपुरले उक्त कम्पनीलाई ५ चैत्र २०७५ मा सिलबन्दी गरेको छ । संचालक नविन थापा फरार रहेका छन् ।
२३ पुष २०७४ मा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नेपालबाट उत्पादित मदिरा भारततर्फ लगिरहेको अवस्थामा भारतीय नम्बर प्लेट विआर ९ ई ५११५बाट ७ सय २४ थान सौफी रक्सी बरामद गरेको थियो । उक्त मदिराको बोतलमा लगाइएको स्टिकर सक्कली नै थियो तर, नेपाल भारतको सीमावर्ती दशगजा क्षेत्रमा विदेह नगरपालिका वडा नं.२ स्थित सीमा भन्दा ५० मिटर भित्र नेपालको सरहदमा भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गरिएको थियो । नेपालमा उत्पादन गरिएको बैध मदिरा पनि भारततर्फ निकासा गर्नु गैरकानुनी हो । धनुषा प्रहरीले औरही गाउँपालिका ३ का मनोहर ठाकुरलाई पक्राउ गरेको भएपनि धनुषा जिल्ला अदालतले २१ हजार धरौटीमा उनलाई रिहा गरेको छ । यसरी हेर्ने हो भने बैध मदिरा उत्पादकहरुले पनि अवैध कारोवार गर्ने गरेको पाइएको छ ।

२०७५ आषाढ १७ गते आईतबार

No comments:

Post a Comment