Tuesday, July 10, 2018

मोदी भ्रमणका क्रममा १ करोड ८५ लाख खर्च भएको भन्दै जनकपुर उपमहानगरले संघीय सरकार संग माग्यो निकासा ब्यापक भ्रष्टाचार भएको आशंका

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा भएको खर्च जनकपुर उपमहानगरपालिकाले संघीय सरकार संग माग गरेको छ । गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा बिभिन्न शिर्षकमा गरी कुल १ करोड ८४ लाख ९८ हजार ५ सय ७९ रुपियाँ खर्च भएको भन्दै उक्त रकम संघीय सरकारसंग माग गरिएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानाले ७ अषाढ मा संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र लेखेर मोदीको भ्रमणका शिलशिलामा भएको खर्च विवरण निकासा गरि दिन अनुरोध गरिएको छ ।
माग गरिएको खर्चका लागि कुल तीन वटा शिर्षक राखिएको छ । मोदीको भ्रमणको तयारीका लागि जनकपुर उपमहानागरपालिकामा बिभिन्न सडक तथा ढल निर्माण गर्न ७५ लाख ३४ हजार ७ सय ७१ रुपियाँ,मिथिला पेन्टिंग, रङ्गरोगण , चित्रकला समेतमा ६७ लाख १० हजार ७ सय ७३ रुपियाँ खर्च भएको जनाईएको छ ।
त्यसै गरी नागरिक अभिनन्दन , सौन्दर्यीकरण, प्रचार प्रसार , सफाई, सामग्री, पारिश्रमिक,  विद्युतीकरण, झण्डा तथा संचालनका लागि ४२ लाख ५३ हजार ३५ रुपियाँ खर्च भएको जनाइएको छ ।
उक्त रकम संघीय सरकारबाट माग गरी पनि हाल सम्म प्राप्ति नभएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सिलसिलामा स्वागत, तयारी तथा नागरिक अभिनन्दनका लागि तत्काल उपमहानगरकै बजेटबाट खर्च गर्न संघीय सरकारले भनेको र पछि निकासा दिने भन्दै पत्र आएको थियो । तर, हाल सम्म उक्त रकम हामीले पाउन सकेका छैनौं ।’
एका तर्फ मोदी भ्रमणमा भएको खर्च सार्बजनिक गरिनुपर्ने स्थानीय स्तरमा आबाज उठे पनि उपमहानगरपालिकाले औपचारिक रूपमा खर्च विवरण सार्बजनिक गरेको छैन ।
आर्थिक बर्ष २०७५÷०७६ का लागि गरिएको नगर सभामा कार्यपालिका सदस्यहरूलाई उपलब्ध गराइएको चालु आर्थिक बर्षको जेष्ठ मसान्त सम्मको खर्च विवरणमा पनि मोदिकै भ्रमणको सिलसिलामा गरिएको   खर्च भनेर लेखिएको छैन ।
कार्यपालिका सदस्यहरू आफै पनि मोदीको भ्रमणमा कति खर्च भयो भनेर बुझ्न सकेका छैनन् । उनीहरूलाई दिइएको खर्च बिबरणमा झुक्किने गरी शिर्षक राखिएको छ ।
विश्वसम्पदा सूचिका लागि जानकी मन्दिर, राम मन्दिर र सैन्दर्यीकरण तथा ब्यबस्थापनका लागि ४६ लाख ६१ हजार ८ सय ८६ रुपियाँ, मिथिला आर्ट प्रतियोगिता तथा वाल पेन्टिंगका लागि १९ लाख ७६ हजार १ सय १३ रुपियाँ, उपमहानागरपालिकाको कार्यालय परिषर  सौन्दर्यिकरणका लागि ४ लाख ९८ हजार ६ सय ६९ रुपियाँ खर्च भएको देखाईएको छ ।
महत्वपूर्ण कुरा के हो भने सडक तथा ढल निर्माण बापत भएको खर्च बिबरण त्यसमा भने देखाईएको छैन ।
कार्यपालिका सदस्यहरूलाई उपलब्ध गराइएको खर्च विवरणमध्ये कतिपय शिर्षकमा कुनै कामै नबहेको द एक्सक्लुसिभको खोजबाट फेला परेको छ । जस्तै जनकपुर उपमहानगरपालिकाको भानु चौक स्थित रहेको जग्गामा व्यावसायिक भवन निर्माणका लागि ४९ लाख २४ हजार १ सय २ रुपियाँ खर्च भएको देखाइएको छ । तर, जब द एक्सक्लुसिभ प्रतिनिधिले स्थलगत गैर हेर्दा त्यहाँ कुनै पनि कामै नभएको पाईयो । त्यसै गरी उपमहानगरपालिका प्रवेशद्वारमा शहीद स्मारक पार्क तथा प्रवेशद्वार निर्माणका लागि ४२ लाख ९५ हजार ३ सय १० रुपियाँ खर्च भएको देखाईएको छ । त्यहाँ पनि द एक्सक्लुसिभकर्मी पुग्दा कुनै काम नभएको पाईयो ।
यसरी कामै नभए पनि खर्च रकम किन देखाईयो भनेर बुझ्दा उपमहानगरपालिकाका लेखा अधिकृत दिनेश चौधरीले भने, ‘ हो, त्यो दुवै शिर्षकमा देखाइएको खर्च विवरण अनुसार खर्च भएको छैन । त्यो सबै रकम भारतीय प्रधानमन्त्री मोदिजी आउँदा भएको  खर्च ती शिर्षकमा खर्च भएको हो ।’
मोदीजी आउँदा कहाँ बाट कसरी खर्च गर्ने भन्ने कुराको एकिन गर्न सकिएको थिएन, नगरसभा पहिले नै भई सकेकाले नयाँ शिर्षकमा खर्च गर्न सक्ने अबस्था थिएन, त्यसैले ती शिर्षक बापत छुट्याईएको रकमबाट पछि सोध भर्ना गर्ने गरी रकम खर्च गरिएको ,लेखा अधिकृत चौधरीले बताए । जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष परमेश्वर साह पनि मोदी भ्रमणको क्रममा भएको खर्चमा ब्यापक अनियमितता भएको बताउँछन् । उनले भने,‘जानकी मन्दिरको सौन्दर्यिकरणमा ४६ लाख भन्दा बढी रकम खर्च भएको देखाईएको छ,त्यहाँ थुप्रै भ्रष्टाचार भएको छ । वाल पेंटिंग र मिथिला पेंटिंगमा पनि गरिएको खर्चमा ब्यापक हिनामिना भएको छ ।’हामीलाई औपचारिक रूपमा मोदी भ्रमणमा यति रकम यो यो शिर्षकमा खर्च भयो भनेर मेयर लालकिशोर साहले हाल सम्म बताउन सकेको छैन,वडाध्यक्ष साहले भने ।
मुख्य कुरा त के हो भने मोदी भ्रमणका दिन कार्यपालिकाका सबै सदस्यहरूले एकै नासको केसरिया रंगको कुर्ता, कोट लगायतका पोशाक  सिलाएका थिए । उपमहानगरकै खर्चबाट ती पोशाक सिलाईएको भए पनि उक्त शिर्षक सहितको खर्च रकम भने देखाईएको छैन ।
मोदीको भ्रमणमा प्रदेश नम्बर दुईको सरकारले पनि करोडौं रकम खर्च गरेका छन् । प्रदेश सरकारले पनि हाल सम्म खर्च विवरण सार्बजनिक गर्न सकेको छैन । यहाँ सम्मकी एक जना स्थानीय पत्रकार शैलेन्द्र महतोले सुचनाको हकको आधारमा मोदी भ्रमणको खर्च बिबरण उपलब्ध गराइदिन भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निबेदन दिएको १५ दिन बिती सक्दा पनि सुचना उपलब्ध नगराइएको भन्दै दोस्रो पटक समेत उजुरी दिएका छन, तर पनि उनले सुचना पाउन सकेका छैनन् ।
प्रदेश सरकार र जनकपुर उपमहानगर दुबैले मोदी भ्रमणका क्रममा छुट्टा छुट्टै  रकम खर्च गरेकाले एकै शिर्षकमा दुवै निकायले दोहोरो खर्च गरेको हुन सक्ने समेत सम्भावना रहेको छ । मोदी भ्रमणमा दुवै निकाय बाट भएको खर्चमा ब्यापक अनियमितता भएको आरोप लाग्दै आए पनि दुवै सरकारले केही पनि नबुझेको जस्तै चुप्पी लगाएर बसेको छ ।

  

२०७५ आषाढ २४ गते आईतबार

No comments:

Post a Comment