Tuesday, July 10, 2018

मधेशमा स्थानीय तहका काम ः बुवाको सालिक बनाउनेदेखि बेहुलीलाई आमला तेल उपहारसम्म !

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
आर्थिक बर्ष २०७४ र ०७५ सकिनै लाग्दा प्रदेश नम्बर दुईको स्थानीय तहमा भने कामको गति मिस्रित रहेको पाईएको छ । कतिपय स्थानीय तहमा कुल बजेटको ९० प्रतिशत सम्मको रकम खर्च गरिसक्ने स्थानीय पालिकाका प्रमुखहरूले बताईरहेका छन् भने कतिपयले काम गर्न नसकेको बताएका छन् । यहाँ सम्मकी केही स्थानीय तहले त बिकास निर्माणका लागि आएको बजेटको एक प्रतिशत पनि खर्च नगरेको पाईएको छ ।
प्रायः जसो स्थानीय निकायमा खर्च गरिएका रकम मध्ये त्यहि शिक्षा, स्वास्थ्य, सडक, कृषि, सिंचाई, विद्युतीकरण, खानेपानी लगायतका शिर्षकमा रकम खर्च गरेका छन् भने कतिपयले बिकास निर्माण बाहेक आकर्षक काम पनि गरेका छन् ।
द एक्सक्लुसिभकर्मीले त्यही सेरोफेरोमा धनुषा र महोत्तरीका बिभिन्न स्थानीय तहका प्रमुखहरूसँग बजेट कसरी, कुन कुन शिर्षकमा खर्च गरेको हो भन्ने कुरा बुझेका छन् ।
एक प्रतिशत पनि विकासे रकम खर्च भएन
धनुषाको कमला नगरपालिकामा विकासे बजेटको एक प्रतिशत रकम पनि खर्च हुन सकेको छैन ।   आर्थिक बर्ष सकिनै लाग्दा पनि त्यस तहमा बिकास निर्माणका लागि संघीय सरकारबाट प्राप्त अनुदानको एक सुको रकम पनि खर्च गर्न सकिएको छैन । कमला नगरपालिकाका मेयर रामुदगार गोईत भन्छन्,‘ मेरो नगरपालिकामा एक प्रतिशत ओपनि रकम खर्च हुन सकेन । नगरबासीले देखेको बिकासको सपना पुरा हुन सकेन ।’
मेयर गोईतले आयोजना गरेको नगरसभा अबैधानिक रहेको भन्दै नगरपालिकाका ११ जना वडाध्यक्ष र सदस्यहरूले अदालतमा उक्त नगरसभा खारेज गरी अर्को सभा गराउन माग गर्दै मुद्दा दिएका थिए । जननिर्वाचित प्रतिनिधिहरूलाई समेत नगर सभाको पुर्ब सुचना नगराएर गरिएको नगर सभा अबैधानिक रहेको भन्दै दिइएको मुद्दामा अदालतले उक्त नगरसभाको योजना तत्काल कार्यान्वयन नगर्नु भन्दै अन्तरिम आदेश जारी गर्यो । पछि, उक्त सभा खारेजी गरी नयाँ नगर्सभा गर्न बल्ल आदेश समेत गरेकोले त्यो बर्षको नगर्सभा पुनः गर्न सकिएन, अहिले आर्थिक बर्ष २०७५ र ०७६को नगर्सभा गरेका छौं, त्यसैले चालु आर्थिक बर्षमा कुनै पनि काम हुन सकेन, मेयर गोईतले बताए ।
१० प्रतिशत रकम मात्र खर्च
धनुषाको सबैला नगरपालिकामा भने अहिले सम्म कुल बजेटको १० प्रतिशत रकम मात्र खर्च भएको छ । असाढ मसान्त सम्म पनि १५ प्रतिशत रकम मात्र खर्च हुन सक्ने मेयर विजय शंकर प्रसाद साहले बताए । कुल २२ करोड रकम बजेट बिनियोजन गरे पनि कर्मचारी नै नभएका कारण रकम खर्च हुन नसकेको उनले बताए ।
धनुषाकै हंशपुर नगरपालिकाकामा चालु आर्थिक बर्षको अन्त्य सम्ममा कारीब ६० प्रतिशत सम्म रकम खर्च गर्न सकिने मेयर रामज्ञान मण्डल बताउँछन् । धेरै समय सम्म नगरपालिकामा प्रशासकीय अधिकृत नै आउन सकेन, नगरमा उपमेयर र मेयर बीच निरन्तर बिबाद नै चलेकाले पनि बिकास निर्माणको कामले धेरै गति लिन नसकेको भए पनि कतिपय योजनाहरू सफलतापुर्बक सम्पन्न भएको उनले दाबी गरे ।
महोत्तरीको सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले भने अहिले सम्म कुल बजेटको ७५ प्रतिशत खर्च भए पनि असाढ मसान्त सम्ममा ९० देखि ९५ प्रतिशत सम्म रक्हम खर्च गरिसक्ने बताउँछन् । १५ देखि २० किलोमिटर सम्म सडक पिसिसी ढलान, ढल निर्माण, देखि शिक्षा, स्वास्थ्य,कृषि आदिमा रकम खर्च गरिएको उनले बताए ।
महोत्तरीकै भंगहा नगरपालिकाका मेयर सन्जीब साहले कुल बजेटको ९० प्रतिशत जति रकम यस आर्थिक बर्षको अन्त्य सम्म खर्च गरिसक्ने बताउँछन् । दलित बस्तीमा २५ वटा सामुदायिक भवन निर्माण गर्ने योजनामा २२ वटा निर्माण कार्य सम्पन्न भईसक्यो, २ करोड को लागतमा बजारमा ढल निर्माण गर्ने योजनामा लगाईएको टेन्डरमा ४७ प्रतिशत मुनि गएर उब्रेको रुपियाँमा सडकमा पिसिसी ढलान, कृषि सडक, कृषि विद्युतीकरण, सार्बजनिक शौचालयको निर्माण लगायतको काम गरेको साहले दाबी गरे ।
धनुषाको मिथिलाबिहारी नगरपालिकाका मेयर अनिल कुमार साहले चालु आर्थिक बर्षको मसान्त सम्ममा करीब करीब बजेटको शत प्रतिशत रकम खर्च गरिसक्ने दाबी गरेका छन् । असाढ ११ गते सम्म ९० प्रतिशत जति रकम खर्च भईसकेको बताउंदै मेयर साहले भने, ‘नगरपालिकाको दश वटै वडामा सडक पिसिसी ढलान,नगरपालिकाका लागि जेसिबी, टूयाक्टर, सेफ्टी ट्यांक सफा गर्ने गाडी लगायतका बिभिन्न उपकरणहरू खरीद गर्ने सम्झौता गरेका छौं ।’
बिकास निर्माणको काम भन्दा पनि उनले आफ्नो नगरपालिकाका लागि पृथक काम गरेर नगरका जनताको मन जित्न सफल भएका छन् । छोरी बचाऊ, छोरी पढाउँ भन्ने नारा दिएर आफ्नो नगरमा बच्चा जन्माएको ३५ दिन भित्र जन्मदर्ता गराएको खण्डमा प्रति बच्चा ३ हजारका दरले अभिभावकलाई दिने गरेका छौं, मेयर साहले द एक्सक्लुसिभसंग भने, ‘नगर भित्र सामुदायिक बिद्यालयमा पढ्ने गरेको कक्षा आठकी छात्राहरूलाई पढाईमा प्रोत्साहनका लागि एउटा एउटा नयाँ साइकल किनेर दिने गरेका छौं ।’ अहिले सम्म उक्त नगरमा कुल ३ सय ५० जना छात्राहरूले साइकल प्राप्त गरिसकेका छन् ।
त्यसै गरी हर्ट, प्यारालाईसीस, लगायतका रोगीहरूलाई उपचार गराउनका निम्ति एक पटकका लागि १५ हजार रुपियाँ दिने निर्णय समेत गरेर सुचना सार्बजनिक गरेका छन् । हाल सम्म करीब २ सय ५० जना व्यक्तिले त्यसका लागि निबेदन दिएका छन्, केही दिनमै सम्पूर्ण वडाका वडाध्यक्षहरूलाई बोलाएर त्यो रकम हस्तान्तरन गर्ने छौं, मेयर साहले बताए । त्यो रकम दिनु भन्दा पहिले चिकित्सक बोलाएर बास्तविक रोगी हुन् कि होइनन भन्ने कुराको समेत परीक्षण गरिने र पोषण डाईट बापत त्यो रकम हस्तान्तरण गरिने उनले बताए ।
यसका अतिरिक्त नगरपालिकाका ज्येष्ठ नागरिकहरूलाई बोलाएर सल ओढाएर सम्मान गर्नुका साथै केही रकम राहत स्वरूप नगरपालिकाबाट प्रदान गरिने कार्यक्रम तय भएको उनले बताए ।
अध्यक्षले बनाए बुवाको शालिक
धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकाका अध्यक्ष मनोज कुमार यादवले बजेटको रकमबाट आफ्नै स्वर्गबासी बुवाको शालिक निर्माण गराएका छन् । करीब २० लाखको लागतमा उनले आफ्नो बुवाको शालिक निर्माण गरेका छन् । यादव भन्छन, ‘ जनताले नै माग गरे बमोजिम मैले आफ्नो बुवाको शालिक बनाएको हो । मेरो लागि त्यो कुनै जरूरी थिएन, तर जनताले नै भने पछि मैले नाईं पनि भन्न सकिनँ ।’ उनको बुवा भोला यादवको धेरै बर्ष अघि हत्या गरिएको थियो । यसका अतिरिक्त अहिले सम्म कुल बजेटको ७५ प्रतिशत रकम खर्च भईसकेको, बाँकी रकम पनि खर्च हुने उनले बताए । सिंचाईका लागि  करीब १२ किलोमिटर सम्म नहर खनाईएको,सडक पिसिसी ढलान, कृषि आदि क्षेत्रमा रकम खर्चिएको अध्यक्ष यादवले बताए ।
 अंग्रेजी माध्यममा पढाई
महोत्तरीको मनरा शिसवा नगरपालिकामा भने सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाई शुरु गरिएको छ । नगरपालिकामा रहेको कुल २३ वटा सामुदायिक बिद्यालय  ४ चार वटा मदरसामा बाल कक्षामा यस पटक अंग्रेजी माध्यममा पढाई शुरु गराएको छु, मेयर संजय सिंहले भने, ‘बाल कक्षाका ती विद्यार्थीहरूका लागि नगरपालिकाकै तर्फबाट पोशाक, टाई बेल्ट, ब्याग निशुल्क वितरण गरेको छु ।’ यस पटक बालकक्षामा अंग्रेजी माध्यमको पढाई शुरु भएको छ, अर्को बर्ष देखि कक्षा १  हुंदै अंग्रेजी माध्यममै अपग्रेड गर्दै लैजाने आफ्नो योजना रहेको उनले बताए । यसका अतिरिक्त कक्षा ६ देखि माथिका छात्राहरूका लागि स्यानेटरी प्याड बितरण गरेको उनले बताए ।
बच्चा जन्माउने अभिवाकलाई बेबी जोन्सन
महोत्तरीको सोनमा गाउँपालिकामा भने बिभिन्न किसिमका औफरहरू दिईएको छ । कुनै पनि दम्पतीले बच्चा जन्माएको ३५ दिन भित्रमा यदि जन्मदर्ता बनाउछ भने उक्त बच्चालाई एउटा बेबी जोन्सन पाउडर उपहार दिने गरेका छौं, गाउँपालिका अध्यक्ष राजकुमार यादवले भने, ‘बिबाह गरेको दम्पतीले बिबाह गरेको ३५ दिन भित्र बिबाह दर्ता गराउँदा महिलालाई आमला तेल दिने गरेका छौं’ तर, यति उपहार दिंदा पनि जनतामा चेतनाको अभावका कारण त्यस्ता दर्ता गराउने संख्या भने बढेको छैन ।
 यसका अतिरिक्त कुल बजेटको ७५ प्रतिशत जति रकम खर्च भईसकेको भन्दै उनले भने, ‘ महोत्तरी जिल्लाको हुम्ला जुम्ला जस्तै दुर्गम गाउँपालिकाको रूपमा रहेको सोनमामा  अधिकांस सडक पिसिसी ढलान गरेका छौं, कृषिमा लगानी गरेका छौं ।’
अंग्रेजी माध्यममा अल इन वन
महोत्तरीको गौशाला नगरपालिकामा पनि सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाई शुरु गराइएको छ । मेयर शिवनाथ महतोले भने, ‘बालविकासमा अल इन वन अंग्रेजी माध्यममा पढाई शुरु गराएको छु, दलित समुदायका बिद्यार्थीलाई झोला र पाठ्यपुस्तक नगरपालिकाबाट निशुल्क वितरण गरेको छु, छात्राहरूलाई सेनिटरी प्याड वितरण गरेको छु । ’ यसका साथै चार बर्ष भन्दा मुनिको दलित समुदायको विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रति महिना प्रति बिद्यार्थी ४ सय रुपियाँ अतिरिक्त छात्रवृति दिने गरेको उनले बताए ।
बिद्यालयमा ई हाजिरी
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा ८० प्रतिशत रकम खर्च गरिसकेका छन् । कुल २३ करोड बजेट मध्ये शिक्षामा डेढ करोड, स्वास्थ्यमा ५० लाख, पर्यटनमा १ करोड, बृद्ध आश्रममा ६५ लाख, चार वटा वडामा एक एक करोड बजेट खर्चिएको मेयर रामबाबु यादवले बताए ।
‘नगरपालिकामा रहेको कुल २२ वटा बिद्यालय मध्ये १९ वटा बिद्यालयमा दिनको तीन पटक हाजिरी गर्नका लागि ई हाजिरी मेशिन लगाएको छु,प्रत्येक बिद्यालयमा सिसिटिभी क्यामेरा र जेनेरेटर जडान गर्दैछु,’ मेयर यादवले भने, ‘ई हाजिरी मेशिन लगाएपछि शिक्षकहरूले बिरोध गरिरहेका छन्, दिन भरि बस्नु परिरहेको छ, खाजा भत्ता अतिरिक्त दिनुपर्यो भन्दै माग गरिरहेका छन् ।’ नगरपालिकाको डुमरिया, राधापुर र बरमझियामा ई हाजिरी मेशिन शिक्षकले जडान गर्न दिइरहेका छैनन्, उनले बताए ।
११ वडाका ११ जनै वडाध्यक्षलाई एउटा एउटा मोटरसाइकल किनेर दिएको छु, कार्यपालिकाका सबै ६० जना  सदस्यहरूलाई पोशाक दिएको छु, मेयर यादवले भने, ‘पुरुषलाई कोट, पेन्ट र शर्ट दिएको छु भने महिलालाई शाडी र शुट दिएको छु ।’
किरिया खर्च वापत १० हजार
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पनि नगरपालिकाले नगरबासीलाई बिभिन्न किसिमका सुविधाहरू दिइरहेका छन् । ‘गर्भवती भएको महिलालाई ९ महिना सम्म पोषणका लागि १८ सय रुपियाँ दिइरहेको छु,बच्चा जन्मिसकेपछि जन्मदर्ता बनाउँदा थप २४ सय रुपियाँ दिइरहेको छु,’ उक्त नगरपालिकाका मेयर योगेन्द्र पंजियारले भने, ‘असहाय नागरिकको मृत्यु भए पछि मृत्यु दर्ता बनाउने बेलामा दाहसंस्कार किरिया खर्च वापत १० हजार रुपियाँ दिने गरेको छु,असहाय रोगीलाई ५ हजार रुपियाँ उपचार बापत दिइरहेको छु ।’ यसका साथै जेष्ठ नागरिकहरूलाई घर दैलोमै चिकित्सक लगेर उपचार गराएको उनले बताए ।  ती सबै काम गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोतको रकम खर्च गरेको पंजियारले बताए ।
कुल ३१ करोड बजेटमा ७० प्रतिशत रकम खर्च गरिसकेको उनले बताए ।
एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृति
धनुषाको औरही गाउँपालिकामा २६ करोड रकमको कुल बजेटको ८५ प्रतिशत रकम खर्च भईसकेको छ । अध्यक्ष ब्रह्मदेव यादवका अनुसार बिकास निर्माणमा ती रकम खर्च गर्नुका साथै सामुदायिक बिद्यालयमा एसईई परीक्षामा ए र ए प्लस अंक ल्याई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई ११ र १२ कक्षाको सम्पूर्ण पढाईको खर्च नगरपालिकाले नै बेहोर्नेछ । अहिले त्यस्ता बिद्यार्थीहरूको लगत संकलन गर्ने काम भईरहेको छ, जिल्लामा जुन सुकै प्लस टू कलेजमा पढे पनि तिनीहरूको पढाइ खर्च नगरपालिकाले बेहोर्छ, यादवले भने ।
त्यसै गरी धनुषाकै शहीदनगर नगरपालिकाले एसईई परीक्षामा नगरपालिकामा टप गरेका एक जना छात्र र एक जना छात्रालाई काठमाडौंमा प्लस टू गराउन लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने मेयर उदय बर्बरिया यादवले बताए ।
यादवले भने, ‘नगरपालिकामा रहेका कुल ३ सय ४५ जना अपाङ्गता भएका व्यक्तिलाई व्हील चेयर वितरण, दृष्टीबिहिन ५ जनालाई स्टिक वितरण,गरिएको छ ।’
यसरी हेर्ने हो भने प्रायः जसो स्थानीय तहमा भएको काम मुख्यतया पूर्वाधार विकासमै खर्च गरी पनि ती कामहरू गुणस्तरहीन भईरहेको भन्ने गुनासो पनि त्यतिकै बढेको छ । जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादब भन्छन्, ‘मौखिक र लिखित रूपमा पनि स्थानीय तहमा भैरहेको काममा अनियमितता भएको छ, भन्दै गुनासो आइरहेका छन्, अब हामी पनि ती कामहरूको अनुगमन गर्ने छौं ।’ अहिले सम्म अनुगमन नगरे पनि अब अनुगमन गरिने उनले बताए ।
त्यसै गरी जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश सिंह पनि बिकास निर्माणका काममा अनियमितता भएको गुनासोहरू सर्बसाधारणबाट बढेको स्वीकार्छन् ।
खास गरेर जननिर्वा्चित प्रतिनिधिहरूले आफु खुसि गरेको, आफ्नै नातेदार तथा निकटका व्यक्तिहरूलाई कोटेसनमा काम दिएको, असाढ महिनामा आएर गरिरहेको काम बजेट पचाउनकै लागि गर्दा ब्यापक आर्थिक हिनामिना भएको, भ्रष्टाचार तथा घुशखोरी र कमिसन तन्त्र बढ्दै गएको जनगुनासो रहेको छ ।



२०७५ आषाढ १७ गते आईतबार

No comments:

Post a Comment