Tuesday, December 10, 2013

सकियो राजन मुक्तिको त्रास


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

“फोन रिसिभ करनेमे आपको दिक्कत होती है तो मुझे आपको गोली मारनेमे भी कोइ दिक्कत नही होगी ” राजन मुक्ति उपनाम रहेको रञ्जित झाले जनकपुरका व्यापारी, कर्मचारी, चिकित्सक लगायतका वर्गहरुलाई मोवाइलमा एसएमएस गरी चन्दा दिनका लागि यसरी नै धम्की दिने गर्दथे । धनुषाका लक्ष्मीपुर बगेवा(७ का विद्यानन्द झाका छोरा रञ्जित झा उर्फ राजन मुक्तिको नाउँ सुन्ने वित्तिकै सिंगो तराईमै मान्छे थरकमान हुन्थे । किनभने मान्छेको अपहरण, हत्या, जग्गा कब्जा, डकैती, चन्दा, धाक धम्की दिनु उनको लागि सामान्य कार्य थियो । मधेस आन्दोलन हुनु अगाडीसम्म नेपाल सदभावना पार्टी ‘आनन्दी देवी’ सम्वद्ध युवा मन्चको केन्द्रिय सदस्यको जिम्मेवारी पाएका झा २०६३ माघ देखि सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहमा आवद्ध भई धनुषा जिल्लाको इन्चार्जको भुमिका पाएर भुमिगत जिवन विताउन थाले । उक्त जिम्मेवारी पाएपछि जग्गा कब्जा गर्ने, मान्छे मार्ने तथा अपहरण गर्ने क्रिया कलापलाई बढावा दिन थालेपछि उनी धनुषा इन्चार्जका साथै केन्द्रिय सदस्यको जिम्मेवारीमा वढुवा भए । पछि २०६५ सालमा आर्थिक हिनामिना गरेको भन्दै झाले ज्वाला सिंह अध्यक्ष रहेको नागेन्द्र पासवानलाई पोलिटव्यूरोको वैठकबाट बहुमत सदस्यले अध्यक्षबाट पासवानलाई निस्काशन गरी आफै अध्यक्ष( सुप्रिम कमाण्डर) रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेको दावी गरेका थिए ।
उर्दी जारी गर्न माहिर ‘राजन मुक्ति’
२०७० अषाढ १ गते देखि तिन चरणमा भारत बिहारको अज्ञातस्थलमा भएको एक साता लामो छलफलपछि १२ वटा सशस्त्र समुहहरु बीच एकता भई उनी सुप्रिम कमाण्डर बनाइएका थिए । एकिकृत हुने समुहहरुमा भाष्कर मुक्ती नेतृत्वको तराई कम्युनिष्ट पार्टी, प्रशान्त नेतृत्वको तराई राष्टिूय मुक्ती मोर्चा, जीवन मधेशी नेतृत्वको मधेशी मुक्ती टाइगर्स, विप्लव नेतृत्वको तराई संयुक्त जनतान्त्रिक पार्टी, सञ्जय त्यागी नेतृत्वको क्रान्तिकारी मधेशी मुक्ती मोर्चा, दिवेश  नेतृत्वको तराई मधेश आर्मी, अभिनव चौधरी नेतृत्वको तराई मुक्ती मोर्चा, करण सिंह नेतृत्वको तराई मधेश जनतान्त्रिक पार्टी, भैरव मधेशी नेतृत्वको तराई मधेश बागी, भैरव थारु नेतृत्वको तराई मधेश गणतान्त्रिक सेना र रुद्र बिद्रोही नेतृत्वको मधेश रक्षा दल रहेका थिए । राजन मुक्तिको नेतृत्वमा सम्पन्न एकता पछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तीमा १५ दिन पश्चात गोडिलावार सँगै सम्पुर्ण तराई मधेसमा जनमिलिसिया नीति एवम् अत्याधुनिक हतियारले लय्स सैन्य दास्ता परिचालन गर्ने÷गराउने निर्णय गर्नुको साथै सम्पुर्ण मधेसमा नेपाल सरकारको स्थापित नेपाल पुलिस, सशस्त्र क्याम्पको वरिपरि कम्तिमा दुईसय मिटर भित्र वसेको बस्ती, टोला, मोहल्ला र घर १० दिन भित्र खाली गर्न उर्दी नै जारी गरिएको थियो । हिजोसम्म मधेसमा खुल्ला राजनीति गर्ने मधेस केन्द्रित राजनीतिक दलहरुलाई टारगेट नगरिएपनि अब आगामी दिनमा तिनीहरु विरुद्ध पनि आक्रामक कारवाही गर्ने चेतावनी विज्ञप्ती मार्फत दिइएको थियो । दोस्रो संविधानसभाको चुनाव बिथोल्ने, तराईमा सक्रिय अन्य सशस्त्र संगठनलाई पनि एकताको आह्वान गर्ने सहमति गरेका छन् । मोर्चाले अघिल्लो संविधानसभा चुनावमा सहभागी भएर सरकारमा गएका उपेन्द्र यादव, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवलगायतलाई मधेसको ‘गद्धार’ भन्दै उनीहरूका कार्यक्रम बहिष्कार गर्ने जनाएको थियो ।     त्यस्तै, मधेसी दलहरूले तराईमा राखेका कार्यालय तत्काल खाली गर्न पनि मोर्चाले चेतावनी दिएको थियो । मोर्चाको बैठकले मधेसमा रहेका प्रहरीचौकी तथा सशस्त्र प्रहरीका शिविर १५ दिनभित्र खाली गर्नसमेत अल्टिमेटम दिएको थियो । ती चौकीको दुई सय मिटरवरिपरि रहेका बस्ती १० दिनभित्र खाली गर्न पनि मोर्चाले चेतावनी दिएको थियो ।
विज्ञप्तिमा तराई केन्द्रीत दलहरु मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल र सदभावना पार्टीलाई सात दिन भित्र पार्टी कार्यालय बन्द गर्न धम्की दिएको थियो । मंसिर ४ गते आव्हान गरिएको संबिधान सभाको चुनाव बिथोल्न सकृय भएर लाग्ने जनाउदै विज्ञप्तिमा तराइमा रहेका प्रहरी र सेनाहरुलाई १५ दिन भित्र तराई छाडन भनिएको थियो ।
राजन मुुक्तिको उक्त धम्की पश्चात महोत्तरीको मनराकट्टीका चार जनालाई गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए भने महोत्तरीको जलेश्वर स्थित फोरमका कार्यालय सचिव प्रगास साहलाई पनि गोली हानी हत्याको प्रयास गरेका थिए । उक्त घटना पश्चात फोरमका अध्यक्ष उपेन्द्र यादवले आफुहरुको सुरक्षा व्यवस्था मिलाउन भनी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी कहाँ ज्ञापन नै बुझाएका थिए । संविधानसभा निर्वाचन विथोल्नका निम्ति योजना बनाइरहेकै अवस्थामा राजन मुक्तिका सार्प सुटर दिपक सिंह र चुनावको पुर्व संध्यामा राजन मुक्तिलाई नै प्रहरीले पक्राउ गर्न सफल भएपछि उनीहरुको चेतावनीलाई प्रहरीले विफल तुल्याएको हो ।
यसरी पक्राउ परे ‘राजन मुक्ति’
२ मंसिर २०७० मा पर्साको ठोरी(५ बाट धनुषा प्रहरी, पर्सा प्रहरी र सिमावत्र्ती भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका राजन मुक्तिलाई प्रहरी प्रधान कार्यालयमा बुझाई सिआइबीको टोलीले अनुसन्धान प्रक्रिया सुरु गरेको भएपनि ५ मंसिरमा जनकपुर ल्याइएका उनलाई १२ मंसिरमा धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनलाई भारतको पटनामै पक्राउ गरिएको बताइएपनि धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले त्यससम्बन्धमा ठोस जवाफ दिन चाहेनन ।
पत्रकार उमा सिंहको हत्यामा संलग्न उमेश यादव कैलालीबाट पक्राउ परेपछि राजनको नजिक पुग्न प्रहरी सफल भएको थियो । उमेशको बयानको आधारमा राजनका सार्प सूटर महोत्तरी बथनाहाका अजय मुक्ति भनिने दीपक सिंह पक्राउ परे । जसले राजनबारे धेरै सूचना प्रहरीलाई दिए ।
तिनै सूचनाको आधारमा २९ कातिक साँझ नारायणी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको टोली भारतको पटना पुग्यो । भारतीय प्रहरी अधिकारीहरूसँगको समन्वयले राजनलाई पक्राउ गर्न सहयोग पुगेको बताउँदै वरिष्ठ प्रहरी उपरीक्षक खनाल भन्छन,‘पटनाका डीआईजी लगायत अधिकारीहरूसँग अनौपचारिक वार्ता गरेपछि राजनलाई पक्राउ गर्ने योजना बनायौं ।’ १ मंसीर दिउँसो नेपाल प्रहरीको टोलीले राजनलाई फोन गरेर पटनाको गान्धी मैदानमा बोलायो। आफ्नै सहयोगीले बोलाएको भन्ने ठानेर निर्धक्क गान्धी मैदान आउँदै गर्दा राजनलाई भारतीय प्रहरीले बाटोमै पक्राउ र्गयो । त्यो दिन र रात थुनामा राखी सोधपुछ गरेपछि भारतीय प्रहरीले उनलाई भोलिपल्ट नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो ।
भारतको मोतीहारीका एसपी विनय कुमार, पटनाको एसटीएफका डीआईजी अमित कुमार, भारतीय इन्टेलिजेन्स ब्यूरोका एसपी परेश सक्सेना र पूर्वी तथा पश्चिमी चम्पारणका एसपीले राजनको खोजी गर्न नेपाल प्रहरीलाई सहयोग गरेका थिए । मोतीहारीका एसपी विनय कुमार भन्छन, “उनलाई खोजी गर्न यहाँ हामीले धेरै प्रयास गरेका थियौं ।” मोतीहारीमा प्रहरीले व्यापक खोजी गरेको थाहा पाएपछि एक वर्षदेखि राजन पटनामा बस्दै आएका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा हालसम्म ३१ वटा घटना अन्तरगत कर्तव्य ज्यानको १२ वटा घटनामा १६ जनाको मृत्यु भएको, ७ वटा ज्यान मार्ने उद्योगको घटनामा ४३ जना घाइते भएको, ५ वटा विस्फोटनको घटनामा, र २ वटा डाँकाको घटनामा फेला परेको भन्दै धनुषा प्रहरी प्रमुख सुवेदी भन्छन,“पहिलो पटक धनुषामा कुनै व्यक्ति विरुद्ध संगठीत अपराध ऐन अन्तरगत हामी मुद्दा चलाउने छौ । ६० दिन सम्म प्रहरीको हिरासतमा राखि अनुसन्धान गर्न पाउने उक्त ऐन अन्तरगत कसुर ठहर भएमा दण्ड सजाय डेढ गुणा वढी हुन्छ । उनको निर्देशनमा थुप्रै व्यक्ति मिलेर संगठित अपराध गरेको हामी सँग प्रमाण पनि छ ।”
जनकपुर बम काण्डका योजनाकार
१८ बैशाख २०६९ मा जनकपुर ८ स्थित रामानन्द चौकमा मिथिला राज्य सुनिश्चितताका माग गर्दै गरिएको शान्तिपुर्ण आन्दोलनमा गराइएको बम विस्फोटनमा परि ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी राजन मुक्तिको समुहले पनि लिएको थियो । प्रहरीका अनुसार उक्त विस्फोटमा  मुक्ति बाहेक तराई मधेस लिवरेशन फ्रन्ट, विद्यार्थी लिवरेशन फ्रन्टका अर्जुन सिंह भनिने मुकेश चौधरी, तराई कोवराका नागराज भनिने उमेश तिवारी र मधेस मुक्ति टाइगरका राजन प्रताप भनिने प्रफुल्ल यादवको संलग्नता रहेको हो ।
राजन मुक्तिमाथि ३१ घटनाको अभियोग
२० अषाढ २०६४ मा राष्टिूय धान बाली कार्यक्रम हर्दीनाथका प्रावधिक सिरहा मलहनिया २ का राजकुमार जोशीलाई अपहरण गरी धनुषाको गोपालपुर ८ स्थितमा लगि राजन मुक्ति समेतका ६ जनाले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ । ३२ साउन २०६४मा धनुषा वटेश्वर ९ बस्ने लालबहादुर लामाको घरमा राजन मुक्तिकै कमानमा हतियारसमेत लिई आएका डाँकाहरुले लामालाई कुटपिट गरी घाइते बनाउनुको साथै घरबाट डाँका गरेको प्रहरीले आरोप लगाएको छ । ६ कार्तिक २०६७ मा धनुषाको जिल्ला मालपोत कार्यालयमा बम विस्फोट गराएको, ११ कार्तिक २०६७ मा जिल्ला शिक्षा कार्यालय जलेश्वरका शाखा अधिकृत लालकिशोर झालाई जनकपुर ७ मा गोली प्रहार गरी हत्या गरेको, ३२ साउन २०६४ मा धनुषा लक्ष्मीनिया ४ का गहेन्द्र कुमार श्रेष्ठको घरबाट रु ३ लाख २५ हजार ५सय बराबरको धनमाल डाँका गरी लगेको प्रहरीको आरोप छ । त्यसैगरी १९ मंसिर २०६५ मा जनकपुर ४ बस्ने इन्जिनियर कृष्ण कुमार मिश्रलाई गोली प्रहार गरि हत्या गर्ने प्रयास गरेको, ३० मंसिर २०६५ मा कुमार निरौलालाई गोली प्रहार गरी हत्या गरेको, २१ बैशाख २०६२ मा जनकपुर १ घर भई जनकपुर चुरोट कारखाना लिमिटेडमा कार्यरत कर्मचारी श्रवण कुमार श्रेष्ठ अपहरण गरी छातीमा गोली हानी हत्या गरेको, ६ असोज २०६५ मा धनुषा महेन्द्रनगर ७ स्थित हिमालयन पलाई इन्डस्टिलीजमा गार्डको काम गर्ने सखुवा महेन्द्रनगर १ का कुमार खडकालाई गोलि हानी हत्या गरेको, २३ भद्रै २०६६ मा जनकपुर ११ का रामप्रसादसाहलाई गोली प्रहार गरी हत्या गर्ने प्रयास गरेको, १४ माघ २०६४ मा धनुषा दिगम्बरपुर ५ का मदन मुक्ताङलाई गोली प्रहार गरी हत्या गरेको, १२ अषाद २०६५ मा जनकपुर ४ मा डेरा गरी बस्ने जनकपुर नगरपालिकाका अभरसियर पदमा कार्यरत रौतहट इनरवा बारी ७ का जितेन्द्र साहलाई गोली हानि हत्या गरेका प्रहरीले आरोप लगाएको छ । ३ अषाढ २०६५ मा धनुषा गोदार स्थित महेन्द्र राजमार्गमा क्रसर मिलमा कार्यरत मदन जोशी र लक्ष्मण दास मोटरसाइकलमा गइरहेको अवस्थामा बम प्रहार गर्दा लक्ष्मण दासको मृत्यु भएको २६ भदै्र २०६४ मा धनुषाको बघचौडामा रहेको राज इट्टा उद्योगमा कार्यरत केदार कटुवाललाई इट्टा उद्योगबाट अपहरण गरी कञ्चटमा गोली हानी हत्या गरेको, २३ फागुन २०६४ मा जनकपुर चुरोट कारखाना अगाडी जनकपुर १४ बस्ने बिजय गुरुङ र सुगुरजोडा बस्ने भोला यादवलाई गोली हानी घाइते बनाएको प्रहरीको आरोप छ । २० अषाढ २०६५ मा जनकपुरको रघुपति होटलमा सुतली बम विस्फोट गराएको, २६ अषाढ २०६५ मा जनकपुरमा केयर नेपालको कार्यालय अगाडी सुतली बम विस्फोट गराएको, र २ मंसिर २०६५ मा जनकपुर २ स्थित डा. कल्पना बछाडको नसिंङ होम अगाडी सुतली बम विस्फोट गराएको प्रहरीको दावी छ ।
    २०६७ सालमा सिरहामा तत्कालिन नेकपा माओवादीका व्यूरो सदस्यलाई गोली प्रहार गरेको, २०६५ सालमा एमाले सर्लाही जिल्ला कमिटी सदस्यलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । त्यसै गरी ५ अषाढ २०७० मा महोत्तरीको मनरा गाविसमा अजय कुमार सिँंह र उनको श्रीमति सोनाम सिंहलाई गोली प्रहार गरी घाइते बनाएको, १० श्रावण २०७० मा महोत्तरीको जलेश्वरमा मधेसी जनअधिकार फोरमको पार्टीका सचिव प्रगास साहलाई गोली प्रहार गरी घाइते बनाएको, २ अषाढ २०७० मा मनरा गाविसमा विकास कुमार सिंह र शैलेन्द्र मण्डल माथि गोली प्रहार गरी घाइते बनाएको प्रहरीले आरोप लगाएका छन ।
वार्तामा आएर फिर्ता
राजन मुक्तिको आतंक वढदै गईरहेको अवस्थामा धनुषा प्रहरीले दवाव दिन उनको पारिवारीक सदस्यहरुलाई समेत गिरफ्तार गर्न थाल्यो । यसै क्रममा राजन मुक्तिका बुबा विद्यानन्द झा, राजन मुक्तिका दाई सदभावना पार्टीका भातृ संस्था मधेस रक्षा बाहिनी धनुषाका संयोजक समेत रहेका मनोज मुक्ति र राजन मुक्तिका धनुषा इन्चार्ज अविनास मुक्तिका बुबालाई गिरफ्तार गरेका थिए । राजन मुक्तिलाई कि त पक्राउ गर्ने कि त परिवार मार्फत दवाव दिएर वार्तामा आउन बाध्य पार्ने प्रहरीको रणनीति थियो । त्यही बेला संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका वार्ता टोलीका संयोजक कौटिल्य शर्माको मध्यस्ततामा राजन मुक्तिलाई वार्तामा ल्याउने अनौपचारिक सहमति पश्चात धनुषा प्रहरीले राजन मुक्तिका परिवारहरुलाई रिहा गरेका थिए । रिहा गरेको एक साता पछि २६ पुस ०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह)  सरकारसँग वार्तामा बसेको थियो । उत्कर्ष मुक्ति उपनाम रहेका राजीव झाको संयोजकत्वमा राजन मुक्तिका दाजु मनोज झा सहित तीन सदस्य वार्तामा आएको थियो । वार्तामा राजन मुक्ति आफै भने सार्वजनिक भएनन । पक्राउ परेका कार्यकर्ताहरुलाई रिहा गर्नुपर्ने , मोर्चाका कार्यकर्ताहरु माथि लगाईएको मुद्दा फिर्ता लिनु पर्ने लगायतका मुद्दा राज्यले सम्बोधन नगरेको भन्दै वार्ता प्रक्रियालाई भंग गर्दै मनोज मुक्ति पुनः भुमिगत भएभने राजीव झा शान्तिपुर्ण राजनीतिमा सक्रिय भए ।पुनः भुमिगत हुँदा राजन मुक्तिले आफ्ना आमा बुवालाई समेत गाउँबाट विस्थापित गराई भारतमा लगेका थिए । अहिले मनोज मुक्ति अलग्गै पार्टी तराई कम्यूनिष्ट पार्टी गठन गरेर भुमिगत रहेका छन ।


 मिति ः २०७०÷०८÷२३

धुमधामका साथ विवाह पञ्चमी महोत्सव सम्पन्न


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपालको प्रसिद्ध धार्मिक स्थल जनकपुरधाम जसले पाँच हजार वर्षको गौरवमय इतिहास समेटेको छ । मध्य तराईको अति प्राचीन यो नगर संसारभरिको हिन्दुहरुको लागि आस्थाको स्थल बनेको छ । यहाँ विदेहराज जनकले हलो चलाउनु भएको थियो भने यहीँ धरतीपुत्री सीताको जन्म भएको थियो । मानव सभ्यताको विकास अर्थात न्याय, धर्म, दर्शनको बीज पनि यहिँ अंकुरन भएको हो । वौद्धिक विमर्शको यो स्थल आफ्नो ज्ञानको प्रकाश संसार भरि छर्दै रहयो । रामायणकालीन घटनाको साक्षी छ जनकपुर । अहिले पनि जनकपुर त्यस्तै छ जस्तो आदिकवि बाल्मिकीले रामायणमा वर्णन गर्नु भएको छ । उक्त स्थल, अर्थात जनक, जानकी, राम लक्ष्मण, दशरथ यी सम्पूर्ण पात्रको साक्षात उपस्थिति सजिलै बुझिन्छ अहिले पनि जनकपुरमा ।
केही लोकभावना, केही लोकआस्था छ, यसैको संगमको रुपमा विकसित भएको छ जनकपुर । धर्म र संस्कृतिको यति सुन्दर समिश्रण अन्य ठाउँमा पाइनु दुर्लभ छ । त्यसैले पर्व, त्यौहार, उत्सव, मेला तथा जात्रामा रमिइरहन्छन् जनकपुरवासी । मिथिलाको प्राणवायू नै हो यो उत्सव । यहाँ वर्ष, महिना, दिन, पहर, पल(पल यस्तै पर्व र उत्सवहरुको आयोजन भइरहन्छन् । तर उत्सवको यस नगरीमा विवाहपञ्चमी उत्सवको महत्व सवैभन्दा उच्च मानिन्छ । रामजानकीको विवाहको तिथि अर्थात मार्ग शुक्ल पञ्चमीमा विवाहपञ्चमी मनाइन्छ । 
    कुनै पनि धार्मिक इतिहासको यत्तिको भव्य पुनरावृति अन्य कहीँ देखिनु दुर्लभ छ । हजारौं वर्ष वितिसकेपनि राम(जानकी सम्बन्धको त्यतिकै गहिरो अनुभुति प्रदान गर्दछ । आवेग पनि त्यस्तै छ । त्यसैले उक्त सम्बन्ध पनि निरन्तर छ । यो युगको सवै भन्दा महानतम सम्बन्ध बनिसकेको छ मिथिला र अवधको वैवाहिक सम्बन्ध । २ पौषमा यसरी सीता रामको विवाह युगौं पछि पनि उही रुपमा, उही भावमा, त्यही भव्यताका साथ सम्पन्न हुँदैछ । त्रेता युगको विवाहको साक्ष्य छ रामायण र अहिलेको विवाहको साक्ष्य बनेका छन् लाखौं सहभागि मानिसहरु । हजारौं वर्ष देखि जनकपुर रामायणको पाना उल्टाउँदैछ । उसले देखिरहेको छ कसरी भएको थियो सीतारामको विवाह । त्यो सम्पूर्ण आयोजन जनकपुरमा दोहोरिएको छ । विवाहको सम्पूर्ण तयारी पूरा भएको छ । अयोध्याबाट ज्यन्तीको जनकपुर आगमन सँगै मिथिला विधि अनुसार विवाहको विधिवत प्रक्रिया प्रारम्भ भइसकेको छ । सीताको जन्मस्थल जनकपुरको श्रृङगार अवर्णनिय छ । जानकी मन्दिर अर्थात सीताको आङ्गनमा ज्यन्ती आउने वित्तिकै पुष्पवृष्टि हुन्छ । त्रेता युगमा देवलोकबाट पृष्पवृष्टि गरिएको थियो । सगुनको भार सहित आफ्ना दलको नेतृत्व गर्दै जानकी मन्दिरका महन्थ अर्थात महराज जनकको भूमिकामा रहनु भएका रामतपेश्वर दास राम मन्दिर तर्फ प्रस्थान गर्दै हुनुहुन्छ । महराज दशरथको भुमिकामा रहनु भएका राम मन्दिरको महन्थ राम गिरी प्रतिक्षारत हुन्छन् । चादरको आदान प्रदान र समधी मिलान सँगै तिलकोत्सव समापन हुन्छ । पवित्र सरोवर गंगासागर बाट सीताको विवाह मण्डप निर्माणका लागि माटो खनेर मटकोर पनि समापन हुन्छ । विवाहपञ्चमी मेलाका आकर्षणका केन्द्र बिन्दुको रुपमा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास सीताको प्रतिमा लिएर बाजागाजा, झाँकी किर्तन, जुलुसका साथ गँगासागर  पुगेर माटो कोरी परम्परा अनुशार सीताको मटकोर कार्यक्रमको आयोजना हुन्छ । जसरी जसरी विवाहको विधि  समाप्त हुँदै जान्छ त्यसैगरी मानिसको उत्साह पनि चरममा पुग्दछ । हजारौ वर्षको पूर्वको घटनाको पुनरावृतिले जनकपुरवासी रोमाञ्चित भएका छन् । जागरणमा छन् । कोही शिविर चलाउँदै, सामग्री बेच्दै, नृत्य संगीतको माध्यमले ज्यन्ती र यात्रीलाई मनोरञ्जन प्रदान गर्दै छन् । लाखौंलाख मानिस जनकपुर आइसकेका छन् । जसलाई जे साधन भेटयो अगाडी बढदै छ जनकपुरको लागि । विवाह पञ्चमीको सबै भन्दा आकर्षक झाँकी अर्थात शोभा जुलुसमा सहभागी हुन चाहन्छन् जो कोही पनि । परम्परा अनुसार जानकी मन्दिर बाट किशोरीको डोला, राममन्दिर बाट रामचन्द्रजीको डोला र लक्ष्मण मन्दिरबाट लक्ष्मणजीको डोला रंगभूमि मैदानमा लगिन्छ ।
    सिंगो जनकपुर डोलाको दर्शनका लागि त्यस तर्फ लाग्दछन् । जनसमुद्रमा परिणत हुन जान्छ, विशाल रंगभूमी मैदान । त्यही रंगभूमि हो जहाँ धनुष यज्ञ भएको थियो । र, संसारभरिकै योद्धाहरु सीतालाई आफ्नो अर्धाङ्गनी बनाउनका लागि धनुष भङ्ग गर्न आएका थिए । तर धनुष भङ्ग गर्न, मात्र भ्याए अयोध्या नरेश दशरथका पुत्र राजकुमार रामचन्द्र । रंगभूमिमा तिनै डोलाको मिलन संगै रामको डोलालाई सीता र लक्ष्मणको डोलाले परिक्रममा गर्दछ । र पुनः डोलाको परिक्रममा गराई आ(आफ्नो मन्दिरमा स्थापित गराइन्छ । विवाहको लागि मडवा बनाइएको हुन्छ । मडवामा दुल्ही र दुल्हा पक्ष पालै(पालो आउँछन ।  महराज जनक, महराज दशरथ, गुरु वशिष्ठ र विश्वामित्र सहित अन्य राजा(महराजा, ऋषि(मुनी सवै आइ पुग्छन । यहाँ राम र सीताको मात्र नभई चारै भाई तथा चारै बहिनीको विवाह सम्पन्न हुन्छ । अर्थात राम तीन भाई लक्ष्मण, भरत, शत्रुधन र सीताकी तीन बहिनी उर्मिला, माण्डवी र श्रुतिको विवाह सम्पन्न हुन्छ । पुरहित आसनमा बसिसकेपछि मंगलोच्चारण हुन्छ । दुल्हाको योग्यताको परीक्षका लागि परीक्षण गरिन्छ । राम सहित चारै दुल्हा परीक्षामा पास हुन्छन र वैवाहिक कार्य अघि बढ्छ ।  ओठङ्गर कुटिइन्छ, हँसी ठट्टा, मजाक,  आमोद(प्रमोद , गीत गायनका साथ विवाहको प्रक्रिया अगाडी बढ्दै जान्छ । “दाई लाबा छिडियाऊ, बाउ विछि विछि खाऊ” गीत गाउँदै लाबा पनि छर्किइन्छ । गृहास्थाश्रममा सफलता प्राप्तिका लागि समान सहभागिता रहोस, जन्मो जन्म सम्म संगै रहोस, त्यस्को बचनबद्धताका निम्ति गठबन्धन कार्य पनि सम्पन्न  हुन्छ । त्यस पछि हिन्दु नारीको सुहाग अर्थात पतिको जीवन रक्षाका लागि प्रतिवद्धता र समर्पणको प्रतिकका रुपमा सिन्दुरदान गरिन्छ ।
    यसरी सीता रामको विवाह युगौं पछि पनि उही रुपमा, उही भावमा, त्यही भव्यताका साथ फेरी सम्पन्न हुँदैछ । त्रेता युगको विवाहको साक्ष्य छ रामायण र अहिलेको विवाहको साक्ष्य बनेका छन् लाखौं सहभागि मानिसहरु । अयोध्यावासी अर्थात ज्यन्तीको विदाई हुन्छ । जसले हजारौं किलोमिटरको यात्रालाई पुनर्जीवन दिए । रामजानकी विवाह उत्सवलाई नयाँ उचाई दिए । तिनीहरुको विदाई गर्दा जनकपुरवासीको आँखामा आँसु आउनु त स्वभाविकै हो । यो युगको सवै भन्दा महानतम सम्बन्ध बनिसकेको छ मिथिला र अवधको वैवाहिक सम्बन्ध ।
    सीतारामको विवाहको कथा प्रवचन सुन्ने र भन्नेको घरमा सँधै सुख, शान्तिको बास हुने कुरा प्रसिद्ध ग्रन्थ रामचरित मानसमा उल्लेख छ । सीतारामको विवाहोत्सवको दर्शन गर्ने व्यक्ति हरेक किसिमका दुःख पिडाबाट छुटकारा पाउने धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।  सोही विश्वासका कारण श्रद्धाभक्तिका साथ लाखौँको सँख्यामा भक्तजनहरु प्रत्येक वर्ष विवाहपञ्चमीमा सहभागी हुन्छन ।




 मिति ः २०७०÷०८÷२३

संगठित अपराध ऐन अन्तरगत राजन मुक्ति विरुद्ध मुद्दा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मध्य तथा पूर्वी तराईका जिल्लामा सशस्त्र समुहको नाममा आपराधिक गतिबिधी सञ्चालन गर्दै आएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये  मिथिला  बम काण्डका आरोपित जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिमाथि प्रहरीले संगठित अपराध ऐन अन्तरगत  मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख उत्तम राज सुवेदी भन्छन,“ काठमाण्डौमा पनि सबैभन्दा पहिले संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएको थिएँ र धनुषामा पनि राजन मुक्ति विरुद्ध उक्त मुद्दा धनुषामा पहिलो पटक चलाउँदैछु ।”४ फागुन २०६९ मा आएको संगठित अपराध ऐन अन्तरगत धनुषामा पहिलो पटक मुद्दा चलाईदैछ । नयाँ ऐन भएकै कारण त्यसको अभ्यास यस अघिसम्म धनुषामा नभएको हुनाले कानुन व्यवसायी, प्रहरीले पनि उक्त ऐन पढिरहेको अधिवक्ता विमल कुमार मिश्रले बताएका छन ।
२०६९ साल  बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा बम बिस्फोट भयो । संघीय संरचनामा मिथिला राज्य हुनुपर्ने मांग गर्दै बसेको शान्तिपूर्ण धर्नामा शक्ती सालि पाईप बम बिस्फोट हुँदा पाँच जनाले ज्यान गुमाए र ३२ जना घाईते भए ।  प्रहरी प्रधान कार्यालयको केन्द्रिय अनुसन्धान ब्युरो ऋक्ष्द्य को सहयोगमा धनुषा प्रहरीले घटनामा संलग्न केहीलाई तत्कालै पक्राउ गरि कारवाही गरेको थियो ।   विष्फोटको मुख्य योजनाकार मध्येका एक भनी किटान भएका जनतान्त्रीक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति भनिने रञ्जीत झालाई पर्सा जिल्लाको सिमावर्ती गाँउ ठोरीबाट हालै पक्राउ गरेको छ । धनुषाको लक्ष्मीपुरवगेबाका राजन मुक्ति र जलेश्वर नगरपालिका घर भएका तराइ मधेश लिबे्रशन फ्रन्टका अजुर्न सिंह भनिने मुकेश चौधरीको निर्देशनमा बम बिस्फोट गराईएको प्रहरीको दावी छ ।
आन्नदी देबी नेतृत्वको नेपाल सदभाबना पार्टिको बिद्यार्थी मञ्च संग आबद्ध रहेका रन्जीत झा धनुषाको लक्ष्मीपुरबगेवाका हुन । २०६३ सालमा ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चामा आबद्ध भई सशस्त्र गतिबिधीमा लागेपछि राजन मुक्तिको नामले चिनिन थाले । राष्टिूय धानबाली हर्दीनाथ धनुषामा कार्यरत सिरहा मलहनीया घर भएका धानबालीका प्राबिधक राजकुमार जोशिलाई अपहरण पश्चात गोलि हानी हत्या गरेर सशस्त्र गतिबिधीको सुरुवात गरेका राजन मुक्तिले २०६५ सालमा आफ्नै नेतृत्वमा जनतान्त्रीक तराई मुक्ति मोर्चा गठन गरे । राजन मुक्तिले पछिल्लो ७ बर्षमा १६ जनाको हत्या, ७ जनाको हत्याको प्रयास, एकदर्जन भन्दा बढी अपहरण, ५ वटा बम विष्फोटका घटना गराएको प्रहरीको  आरोप छ ।  राजन मुक्ति माथि संगठित अपराध ऐन २०६९ अनुसार प्रहरीले मुद्धा चलाएको छ । संगठित अपराध अन्तरगत् कसुर ठहर भएमा  कानुनले तोकेको भन्दा डेढ गुणा सजाय हुने प्रहरीले जनाएको छ ।
संगठित अपराध निवारण ऐनमा के छ ?
कसैले सङ्गठित अपराध गर्न वा गराउन हुँदैन । कसैले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी जानी कुनै गम्भीर अपराध गरेमा निजले सङ्गठित अपराध गरेको मानिनेछ । “आपराधिक समूह” भन्नाले प्रत्यक्ष वा परोक्ष रुपमा सङ्गठित अपराध गर्ने उद्देश्यले नेपालभित्र वा नेपाल बाहिर रहे भएको सङ्गठित वा असङ्गठित तीन वा तीनभन्दा बढी व्यक्तिहरुको समूह सम्झनु पर्छ । कसैले कुनै आपराधिक समूहलाई सङ्गठित अपराध गर्न वा सङ्गठित अपराध गर्न सघाउ पु¥याउन कुनै काम  जानी जानी गरी वा नगरी सो समूहको काम कारबाहीमा सहभागी हुने वा सघाउ पु¥याउने वा सञ्चार साधन वा सूचना प्रविधि उपलब्ध गराउने वा आर्थिक सहयोग गर्ने वा कुनै साधन उपलब्ध गराउने वा सङ्गठित अपराध गर्ने व्यक्तिलाई आश्रय दिने, लुकाउने वा भगाउने कार्य गर्न वा गराउन हुँदैन । कसैले सङ्गठित अपराधको तयारी गर्न, षडयन्त्र गर्न, उद्योग गर्न वा सङ्गठित अपराध गर्न दुरुत्साहन दिन वा त्यस्तो अपराधमा मतियार हुन हँुदैन । कसैले पनि आपराधिक समूह स्थापना गर्न वा सञ्चालन गर्न वा गराउन वा जानी जानी आपराधिक समूहको सदस्य हुन वा कसैलाई सदस्य बनाउन हुँदैन ।
विध्वंसात्मक कार्य गर्न नहुने
कसैले विध्वंसात्मक कार्य गर्न वा गराउन हुँदैन । कसैले कुनै प्रकारको हातहतियार, बम, विष्फोटक पदार्थ वा अन्य कुनै उपकरण वा वस्तु प्रयोग गरी नेपालको सार्वभौमसत्ता, प्रादेशिक अखण्डता वा नेपाल वा यसको कुनै भागको सुरक्षा वा शान्ति र व्यवस्थामा खलल पार्न वा विदेशस्थित नेपाली कूटनीतिक नियोग वा त्यसको सम्पत्ति वा नेपालस्थित विदेशी नियोग वा अन्तर्राष्टिूय अन्तरसरकारी संस्थाको आवासीय कार्यालय वा त्यसको सम्पत्ति वा कुनै सार्वजनिक वा निजी पूर्वाधार संरचना वा विकास परियोजनाको संरचना वा त्यसको हाता वा शिक्षण संस्था, स्वास्थ्य संस्था वा यातायात संस्था जस्ता सर्वसाधारणलाई सार्वजनिक सेवा प्रदान गर्ने सेवा प्रदायकको भवन, साधन, उपकरण, यन्त्र ध्वस्त गरी क्षति पु¥याउने वा तोडफोड गर्ने वा सोको योजना बनाउने वा त्यस्तो स्थानमा मानिसको जीउ ज्यान जाने, अङ्गभङ्ग हुने वा चोटपटक पु¥याई घाइते तुल्याउने काम वा आगो लगाउने वा दैनिक उपभोग्य वस्तुमा वा सार्वजनिक स्थानमा विषालु पदार्थ प्रयोग गरी मानिसको जीउ ज्यान जाने वा अङ्गभङ्ग हुने वा अन्य क्षति पु¥याउने काम गरेमा निजले विध्वंसात्मक कार्य गरेको मानिनेछ ।
हिरासतमा राख्न सकिने 
सङ्गठित अपराधको अनुसन्धानको लागि त्यस्तो अपराधको आरोप लागेको व्यक्तिलाई अनुसन्धानको प्रगतिको आधारमा अदालतको अनुमति लिई पटक पटक गरी साठी दिनसम्म हिरासतमा राख्न सकिनेछ ।
सम्पत्ति रोक्ेका राख्न सकिने 
सङ्गठित अपराध गरेको आरोप लागेको व्यक्तिले त्यस्तो अपराधबाट प्राप्त गरेको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न वा बिक्री वितरण गर्न वा कुनै उपायले लुकाउन वा परिवर्तन गर्न सक्छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भएमा अनुसन्धान अधिकारीले त्यस्तो सम्पत्ति कसैलाई हस्तान्तरण गर्न, धितो वा बन्धक दिन वा बिक्री वितरण गर्नबाट रोक लगाउनको लागि सम्बन्धित निकाय वा संस्थालाई आदेश दिनको लागि अदालत समक्ष निवेदन दिन सक्नेछ । निवेदन परेमा अदालतले त्यस्तो सम्पत्ति कसैलाई हस्तान्तरण गर्न, धितो वा बन्धक दिन वा बिक्री वितरण गर्नबाट रोक लगाउने आदेश त्यस्तो निकाय वा संस्थालाई दिन सक्नेछ ।अदालतको आदेश प्राप्त भएपछि त्यस्तो निकाय वा संस्थाले त्यस्तो सम्पत्ति तुरुन्त रोक्का राखी सोको जनाउ अदालत र अनुसन्धान अधिकारीलाई दिनु पर्नेछ ।
राहदानी रोक्का राख्न सकिने
 सङ्गठित अपराधको अनुसन्धानको सिलसिलामा सो अपराधको गम्भीरता, अपराध गर्दाको अवस्था, अपराधको मात्रा र सो अपराध ठहरेमा हुन सक्ने सजायलाई विचार गर्दा सो अपराधको आरोप लागेको व्यक्तिलाई राहदानी जारी नगर्न र निजका नाममा राहदानी जारी भइसकेको भए त्यस्तो राहदानी रोक्का गर्न आवश्यक देखिए अनुसन्धान अधिकारीले त्यस्तो व्यक्तिलाई राहदानी जारी नगर्न वा निजका नाममा राहदानी जारी भइसकेको भए राहदानी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउनेछ ।
कुनै व्यक्ति विरुद्ध सङ्गठित अपराधको मुद्दाको अभियोगपत्र दायर भइसके पछि सोही अपराधका सम्बन्धमा अन्य व्यक्तिका विरुद्ध मुद्दा दायर गर्न वा त्यसरी मुद्दा दायर भइसकेको अभियुक्त विरुद्ध सोही अपराधमा वा अन्य कुनै कसूरमा थप अभियोग लगाई अदालतमा अभियोगपत्र दायर गर्न सकिनेछ ।
प्रमाण सम्बन्धी विशेष व्यवस्था
श्रब्यदृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फर्तत उपस्थित गराउन सकिने
 सङ्गठित अपराधको मुद्दाको अभियुक्तलाई सुरक्षाको दृष्टिकोणले अदालतमा उपस्थित गराउन नसकिने भएमा श्रब्यदृश्य संवाद मार्फत उपस्थित गराउन सकिनेछ ।  त्यस्तो अवस्था भएमा अनुसन्धान अधिकारी वा प्रहरी कार्यालयले सोको कारण खुलाई अदालत समक्ष निवेदन दिनु पर्नेछ । निवेदन परेमा अदालतले अभियुक्तको अवस्था, अभियुक्त रहेको स्थान र अन्य आवश्यक कुरालाई विचार गरी श्रब्यदृश्य संवाद मार्फत अदालतमा उपस्थित गराउन आदेश दिन सक्नेछ र त्यसरी आदेश दिँदा अनुसन्धान अधिकारी वा प्रहरीले पालना गर्नृु पर्ने शर्त समेत तोकिदिन सक्नेछ ।
काल्पनिक वा साङ्केतिक नामबाट बयान वा बकपत्र गराउन सकिने 
सङ्गठित अपराधको मुद्दाको सुराकी, उजूरीकर्ता वा साक्षीले आफ्नो नाम उल्लेख नगरी वा काल्पनिक वा सांकेतिक नामबाट बयान वा बकपत्र गर्न चाहेमा अदालतले त्यस्तो व्यक्तिको वास्तविक नाम नखुलाई साङ्केतिक वा काल्पनिक नामबाट बयान वा बकपत्र गरी दिनु पर्नेछ ।
सङ्गठित अपराध गरी सम्पत्ति आर्जन गरेको मानिने
सङ्गठित अपराधको मुद्दा चलाइएको व्यक्तिको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा निजको सम्पत्ति अस्वाभाविक देखिन आएमा वा निजले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा निजले त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुरा प्रमाणित गर्नु पर्नेछ र त्यसरी प्रमाणित गर्न नसकेमा त्यस्तो सम्पत्ति सङ्गठित अपराध गरी प्राप्त गरेको मानिनेछ ।
फिरौती लिएको अनुमुमान गर्न सक्ने
 सङ्गठित अपराधको अभियुक्तले कसैलाई अपहरण गरी वा नगरी वा शरीर बन्धक बनाई वा नबनाई कसैबाट फिरौती माग गरी पत्राचार गरेको वा टेलिफोन, मोबाइल फोन वा अन्य कुनै सञ्चारका माध्यमबाट डर, त्राश देखाएको वा धम्की दिएको अन्यथा प्रमाणित भएकोमा बाहेक निजले फिरौती लिएको भनी अदालतले अनुमान गर्न सक्नेछ । सुराकी, अभियुक्त वा साक्षीको आफ्नै स्वरमा रहेको र सम्पादन, तोडमोड वा परिवर्तन गर्न नसकिने गरी रेकर्ड गरिएको कुनै सामग्री वा फोटोलाई समेत अदालतले प्रमाणको रुपमा ग्रहण गर्न सक्नेछ ।
थुनामा राखी पुर्पक्ष गर्न सकिने
सङ्गठित अपराधको मुद्दाको अभियुक्तले प्रमाण लोप वा नष्ट गर्न सक्ने वा त्यस्तो अभियुक्त फरार हुन सक्ने मनासिब कारण भएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले त्यस्तो अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिन सक्नेछ ।
बन्द इजलासमा कारबाही तथा सुनुुवाई गर्न सक्ने
 कुनै खास किसिमको सङ्गठित अपराध सम्बन्धी मुद्दाको कारबाही तथा सुनुवाई बन्द इजलासबाट हुन निवेदन परी वा अदालत आफैंले उपयुक्त ठानी आदेश दिएमा त्यस्तो मुद्दाको कारबाही तथा सुनुवाई बन्द इजलासमा हुनेछ । बमोजिम बन्द इजलासमा मुद्दाको कारबाही तथा सुनुवाई हुँदा मुद्दाका पक्ष, विपक्ष, निजहरुका कानून व्यवसायी र अदालतले अनुमति दिएका व्यक्ति मात्र त्यस्तो इजलासमा प्रवेश गर्न सक्नेछन् ।
पुरस्कार प्रदान गरिने
सङ्गठित अपराध मानिने कुनै कार्य कसैले गरेको वा गर्न लागेको छ भन्ने सूचना दिई त्यस्ता अपराध गर्ने वा गराउने व्यक्तिलाई पक्राउ गर्न वा अनुसन्धानको कार्यमा सहयोग पु¥याउने व्यक्तिलाई त्यस्तो अपराध गर्ने व्यक्तिलाई भएको जरिबानाको बीस प्रतिशत बराबरको रकम पुरस्कार प्रदान गरिनेछ ।
थप अभियोग लगाउन सकिने
कुनै व्यक्ति विरुद्ध सङ्गठित अपराधको मुद्दाको अभियोगपत्र दायर भइसके पछि सोही अपराधका सम्बन्धमा अन्य व्यक्तिका विरुद्ध मुद्दा दायर गर्न वा त्यसरी मुद्दा दायर भइसकेको अभियुक्त विरुद्ध सोही अपराधमा वा अन्य कुनै कसूरमा थप अभियोग लगाई अदालतमा अभियोगपत्र दायर गर्न सकिनेछ ।
विशेष अनुसन्धान टोेली गठन गर्न सक्ने
सङ्गठित अपराधको अनुसन्धान गर्नको लागि सम्बन्धित विषयको विशेषज्ञ संलग्न रहेको अनुसन्धान टोली गठन गर्न उपयुक्त हुने देखिएमा नेपाल सरकारले महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसँग परामर्श गरी त्यस्तो टोली गठन गर्न सक्नेछ । गठन भएको अनुसन्धान टोलीलाई प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीलाई भएको अधिकार हुनेछ । अनुसन्धान टोलीले अनुसन्धान पूरा गरेपछि अनुसन्धान प्रतिवेदन अनुसन्धान अधिकारीलाई बुझाउनु पर्नेछ । दिइएको प्रतिवेदनको आधारमा अनुसन्धान अधिकारीले मुद्दाको अनुसन्धान गरी कारबाही गर्नु पर्नेछ ।
विशेष अनुसन्धान पद्धति अपनाउन सकिने
सङ्गठित अपराधको अनुसन्धान गर्दा आवश्यकता अनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्टूोल डेलीभरी) वा गुप्त कारबाही अनुसन्धान (अण्डर कभर अपरेशन) र यस्तै अन्य उपयुक्त अनुसन्धान पद्धति अपनाउन सकिनेछ । स्पष्टीकरणः यसको लागि “नियन्त्रित अनुसन्धान प्रविधि” भन्नाले सङ्गठित अपराधको अनुसन्धान गर्न वा सङ्गठित अपराधमा संलग्न व्यक्तिको पहिचान गर्ने उद्देश्यले अनुसन्धान अधिकारीको जानकारी वा प्रत्यक्ष निगरानीमा अनुसन्धान अधिकारीको कार्यालयमा अभिलेख राखी कुनै गैरकानूनी वस्तु प्रयोग गर्ने वा त्यस्तो वस्तु एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने वा ओसार पसार गर्ने प्रविधि सम्झनु पर्छ । सङ्गठित अपराधको अनुसन्धान गर्नको लागि अनुसन्धान अधिकारीले आवश्यकता अनुसार सुराकी प्रयोग गर्न सक्नेछ ।
सुराकीको विवरण तोकिए बमोजिम गोप्य राख्नु पर्नेछ ।




 मिति ः २०७०÷०८÷२३

कानुनले शिकञ्जा कसेपछि सशस्त्र समुहहरुको ‘अस्तित्व संकटमा’



अजय अनुरागी
जनकपुरधाम............
कुनै बेला मधेसको अधिकार दिलाउनका लागि बन्दुक बोकेर भुमिगत भई राजनीति गरेका स्वामीजी भनिने रामलोचन ठाकुर ४ मंसिरमा सम्पन्न संविधानसभाका चुनावमा सहभागी भएका थिए । जनतान्त्रिक मधेस मुक्ति टाइगर्स नामको पार्टी नै गठन गरेर निर्वाचन आयोगमा दल दर्ता गराई ११ जिल्लाको ३९ सिटमा उम्मेदवार उठाएका थिए । जनताका बीचमा गएर व्यालेट मार्फत अब राजनीति गर्ने उद्देश्यका साथ उक्त पार्टी चुनावमा आएपनि कुनै पनि ठाउँमा जित्न सकेनन । यहाँ सम्म की समानुपातिक तर्फ पनि एउटै सिट आएन । यो अर्को कुरा हो । तर, बन्दुक विसाएर विचारको राजनीति गर्न व्यालेटको माध्यम चुन्नुमा उक्त पार्टीका अध्यक्ष ठाकुरलाई धन्यवाद दिनै पर्छ । ठाकुर मात्र होइन, कतिपय बन्दुकको राजनीति गर्ने व्यक्तिहरु शान्तिवार्तामा आएर संविधानसभाको चुनावमा उम्मेदवारी दिएका थिए । मधेस राष्टू जनतान्त्रिक पार्टी क्रान्तिकारीका वार्ता समितिका संयोजक चन्द्रशेखर मधेसी भनिने राजीव झाले पार्टीलाई नै सदभावना पार्टीमा विलय गरेका थिए । पछि टिकट नदिइएका कारण सरिता गिरी नेतृत्वको सदभावनाबाट धनुषा क्षेत्र नं.२ बाट उम्मेदवारी मनोनयन दर्ता गरी संविधानसभाको चुनावमा उनी पराजित भए । व्यालेटको राजनीतिमा उनलाई जनताले नरुचाएपनि झाले अंगालेको बाटो सराहनिय छ । तर मधेसको मुक्तिका लागि बन्दुकको बाटो नै सहि हो र बार्ताका मार्फत शान्तिपुर्ण राजनीतिक मुलधारमा आउनेहरुलाई आत्मसमपर्ण गरेको ठानेर भुमिगत भई राजनीति गर्ने शसस्त्र समुहहरुको अस्तित्व नै संकटमा परेको छ । एरिया इन्चार्ज देखि पोलिट व्यूरो तथा सुप्रिम कमाण्डर सम्मका नेताहरु एक पछि अर्को गरी धमाधम प्रहरीको गिरफ्तमा पर्न थालेपछि तिनीहरुको समुह अब सिमित हुँदै गएका छन ।
मधेश मुक्ति टाईगर्स का केन्द्रीय सदस्य रणवीर सिंह (राजन यादव) भारतको बहराइच, महलीपुर यूपीबाट ,अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य पृथ्वी (श्याम यादव) भारतको मधुवनी बिहारबाट, जनतान्त्रिक तराई मुक्ति मोर्चा अग्नी समूहका अध्यक्ष अग्नी (सुनील जैसवाल) भारतको मोतीहारी, बिहारबाट, जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका अध्यक्ष राजन मुक्ति (रंजीत झा) भारतको पटना, बिहारबाट, जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहका केन्द्रीय सदस्य मनीष कुमार निर्मली, भारतको बिहारबाट, तराई जनतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं पश्चिमी कमांड इंचार्ज सिकंदर आली खाँ र भारत कै सलीम नवाबगंज भारतको यूपीबाट , तराई जनतान्त्रिक पार्टीका भगत सिंह समूहका अध्यक्ष भगत सिंह भारतको रुपेडिया बाजार यूपीबाट पक्राउ गरी दुई तीन महिना भित्रमा भारतद्वारा नेपाल प्रहरीलाई बुझाइनु मधेसका इतिहासमा धेरै ठुलो दुर्भाग्यपुर्ण कदम रहेको मधेस मुक्ति टाइर्गसका राजन प्रताप भनिने प्रफुल्ल यादवले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन । धनुषा प्रहरीका अनुसार १८ बैशाख २०६९ मा जनकपुरमा गराइएको बम विस्फोटनमा परी मृत्यु भएका ५ जना र ३२ जना घाइते भएको उक्त बम काण्डका योजनाकारहरु मध्ये उनी राजन प्रताप पनि एक हुन ।
१९ मंसिरमा जिल्ला प्रहरी कार्यालय धनुषाको नव निर्मित कार्यालय भवनको उदघाटन कार्यक्रममा बोल्दै नेपाल प्रहरी प्रमुख उपेन्द्र कान्त अर्यालले अधिकांश भूमिगत समुहका नाइकेहरु प्रहरीको नियन्त्रणमा आउनु ठुलो सफलता रहेको भन्दै भूमिगत समूहको आवरणमा हुने कुनै पनि अपराधिक क्रियाकलापलाई निस्तेज पार्न सक्रिय रहन उनले आफ्ना मातहतका प्रहरीहरुलाई निर्देशन दिएका थिए । मुलुकमा हुने कुनै पनि अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दैै राजनीतिको आवरणमा आपराधिक गतिविधी गर्नेहरु पनि छिट्टै नियन्त्रणमा आउने उनले दावी गरे ।
प्रहरी प्रमुखले नै अब सशस्त्र समुहहरु निमिट्यान्न भइसकेको दावी गरिरहँदा भुमिगत रहेका तराई जनतान्त्रिक पार्टी मधेसका केन्द्रिय अध्यक्ष अर्जुन सिंह भनिने मुकेश चौधरीले द एक्सक्लुसिभसँग फेसवुक मार्फतको कुराकानीमा सशस्त्र समुह झन बलियो हुँदै जाने र सबै समुहहरु एकिकृत भई संघर्षलाई अगाडी वढाउने चेतावनी दिएका छन । चौधरी भन्छन,“सशस्त्र समुहका केही नेताहरुलाई प्रहरीले हत्या गर्दैमा र पक्राउ गर्दैमा मधेस मुक्तिको संघर्ष सकिनेबाला छैन ।”
भीम रावल गृहमन्त्री भएको बेलामा नेपालमा कुल १ सय ९ वटा शसस्त्र समुहहरु रहेको जसमध्ये कुन आपराधिक र कुन राजनीतिक छुट्याउन बाँकी रहेको रावलले बताएका थिए । दोस्रो संविधानसभा निर्वाचन भन्दा अगाडी गृहमन्त्री माधव प्रसाद घिमिरेले देशमा अब १२ वटा शसस्त्र समुहहरु मात्र रहेको तथा तिनीहरुको प्रभाव अब शुन्य झै रहेको बताएका थिए ।
राजनीतिक वा आपराधिक भन्ने अन्यौल
राजनीतिक एजेण्डा बोकेको भएपनि हतियार उठाएका समुहहरुलाई राज्यले आपराधिक समुह सरह नै व्यवहार गर्ने गरेको पाइन्छ । त्यस्ता समुहहरुलाई राज्यले विद्रोहीको मान्यता दिदैन । मानवअधिकारकर्मी कानुन व्यवसायी समेत रहेका एडभोकेसि फोरम धनुषाका अध्यक्ष राजकुमार महासेठ भन्छन,“ कुनैपनि भुमिगत समुहलाई विद्रोहीको रुपमा संज्ञा पाउन ४ वटा आधार हुनुपर्दछ । पहिलो, पोसाक(कम्ब्याट डूेस) सहितको सेना अर्थात एक पोसाक, एक व्यक्ति र एक हतियार हुनुपर्दछ । दोस्रो उक्त समुहले देशको कुनैपनि भु(भाग कब्जा गरेको हुनुपर्दछ । तेस्रो तिनीहरुको सांगठनिक संरचना ‘चेन अफ कमाण्ड’ अन्तरगत हुनुपर्दछ । र चौथो भनेको मानव अधिकारको मुल्य मान्यता प्रति समर्पित हुनुपर्दछ ।” माओवादीले विद्रोह गर्दा उक्त ४ वटै आधारलाई पालना गरेको कारण उसलाई राज्यले पनि विद्रोही भन्दै आतंककारीको संज्ञा दिएर तिनका नेताहरुको टाउकोको मुल्य नै तोकेका थिए र अधिकारकर्मीहरुले पनि उनीहरुलाई नोटिसमा राखेका थिए भन्दै अधिकारकर्मी महासेठ भन्छन,“ तर नेपालका कुनै पनि सशस्त्र समुहहरु सैद्धान्तिक रुपमा विद्रोही बन्न पाएका छैनन ।
मुकेश चौधरी भन्छन,“राज्यले क्रान्तिकारीलाई जहिले पनि अपराधि नै भन्छन,त्यो स्वभाविक पनि हो । तर विचार बोक्नेलाई कसैले अपराधि भन्दैमा अपराधि हुने होइन ।” राज्यले पनि ती समुहहरुलाई न राजनीतिक भन्यो र न त आपराधिक नै । राज्य मौन बस्यो । परिणाम स्वरुप राज्यले ती समुहमा आवद्ध भएका व्यक्तिहरुसँग आपराधिक सरह नै व्यवहार गरी कानुनको दायरामा ल्याउने गरेको छ । तर पनि विगतका समयहरुमा विषेश परिस्थितिमा अपवादको रुपमा वार्ताका माध्यमबाट दिर्घकालिन समाधान खोज्न सकिन्छ भनेर राज्यले औपचारिक रुपमै ती सशस्त्र समुहहरुलाई वार्तामा आउन आह्वान गरे । कतिपय समुहहरुसँग औपचारिक रुपमै दुई तीन चरणसम्मको वार्ता भयो । प्रायः जसो समुहहरुसँग गरिएको वार्तामा, वार्तामा आएकाहरुको सुरक्षा प्रदान गर्ने, पक्राउ गरिएको कार्यकर्ताहरुलाई रिहा गरिने, तिनीहरुका कार्यकर्ताहरुमाथि लगाइएका मुद्दाहरु फिर्ता लिईने भनेर राज्यको तर्फबाट मन्त्रि स्तरिय तीन सदस्यीय वार्ता समितिले भुमिगत समुहहरुका तर्फबाट रहेका वार्ता समितिसँग लिखित सम्झौता गरेको देखिन्छ । तर अस्थिर सरकारको कारण प्रधानमन्त्री फेरिने वित्तिकै सरकारी वार्ता समिति पनि फेरिने र उक्त सम्झौताहरुको स्वामित्व ग्रहण गर्न आलटाल गर्ने प्रवृति देखिएपछि जेलमा रहेका भुमिगत समुहहरुका कार्यकर्ताहरु पनि रिहा नहुने र मुद्दा पनि फिर्ता नहुने देखेपछि कतिपय अवस्थामा वार्तामा आएका भुमिगत समुहहरु पुनः भुमिगत हुन वाध्य भए ।
जनतान्त्रिक मधेस मुक्ति टाइगर्सका अध्यक्ष ठाकुर भन्छन,“अधिकारको लागि बन्दुक उठाई लडाई लडनेहरुको मागलाई नाजायज भन्न मिल्दैन । बन्दुक उठाउने मधेसका जनतान्त्रिक क्रान्तिकारीहरुलाई अपराधि देख्ने राज्यले हिजो संविधानसभाका चुनावका दौरान बस जलाउने मोहन वैद्यलाई अपराधि देख्दैन । हिजो विमान हाइजेक गर्ने र जाली नोट छाप्ने गिरिजा प्रसाद कोइराला र हजारौ मान्छे मार्ने माओवादीलाई राज्यले राजनीतिक व्यवहार गर्नू भनेको विभेदपुर्ण व्यवहार हो । बन्दुक उठाएर जनतान्त्रिकले चोरी डकैती गरेको हैन, विचार बोकेर हतियार उठाउनेहरुसँग राज्यले राजनीतिक व्यवहार गर्नु पर्दछ ।”
किन भएन मुद्दा फिर्ता ?
कुनै पनि व्यक्ति माथि लगाइएको मुद्दा दुई किसिमले फिर्ता हुने गर्छ । कुनै मुद्दामा अभियूक्त बनाई प्रहरीले पक्राउ गरे पनि अदालतमा औपचारिक रुपमा मुद्दा दर्ता हुनुभन्दा अगाडिको अवस्थामा नेपाल सरकारले मुद्दा नचलाउने निर्णय गरेमा उक्त मुद्दा फिर्ता हुन्छ र सधैको लागि मुद्दा समाप्त नै भईहाल्छ । अर्को तरिका के हो भने यदि कुनै व्यक्ति माथि अदालतमा मुद्दा चलाइ सकिएको अवस्था छ भने त्यस्तो अवस्थामा नेपाल सरकारले खास गरेर क्याविनेटको वैठकबाट उक्त व्यक्तिको मुद्दा फिर्ता लिने भनेर गरिएको औपचारिक निर्णय अनुसार प्रधानमन्त्रीका कानुनी सल्लाहकारको रुपमा रहने गरेका महान्यायाधिवक्ताले मुद्दा फिर्ता सम्बन्धि एक पत्र जिल्ला सरकारी वकिलको कार्यालयमा पठाउने गर्दछ । उक्त पत्र सरकारी वकिलले अदालतमा बुझाएपनि मुद्दा फिर्ता लिने वा नलिने भन्ने अन्तिम निर्णय अदालतमा सुरक्षित रहन्छ । यति प्रक्रिया पु¥याइसकेपछि अदालतले मुद्दा फिर्ता लिएमा मात्र मुद्दा फिर्ता हुन सक्छ । तर मधेसका भुमिगत समुहहरुसँग गरिएको सम्झौता व्यवहारिक मात्र हो, त्यसको कानुनी आधार रहँदैन भन्दै कानुन व्यवसायी अधिकारकर्मी महासेठ भन्छन,“राज्यले व्यवहारिक रुपमा मुद्दा फिर्ता लिने सम्झौता त ग¥यो तर त्यसलाई क्याविनेटको वैठक सम्म लगेन । यो बाध्यात्मकता पनि हुँदैन किन भने त्यसको कानुनी अस्तित्व पनि छैन ।” परिणाम स्वरुप भुमिगत समुहमा लागेका व्यक्तिहरुमाथि आम सर्वसाधारण जस्तै कानुनी दायरामा राज्यले ल्याएको देखिन्छ ।
किन निस्प्रभावी भए सशस्त्र समुह ?
तत्कालिन विद्रोही नेकपा माओवादीमा आवद्ध भएका जयकृष्ण गोइत मधेसको मुद्दामा माओवादी उदार नदेखिएको भन्दै असंतुष्ट भई मधेसको मुक्तिका लागि भनेर जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरी बन्दुकको राजनीति प्रारम्भ गरे । उनी सँगै ज्वाला सिंह भनिने नागेन्द्र पासवान पनि लागे । तर केही वर्षपछि ज्वाला सिंह गोइतबाट अल्लगिएर अर्कैै पार्टी गठन गरे । यसरी सुरु भयो सशस्त्र समुहहरुमा विखण्डन । सशस्त्र समुहहरुमा पनि दुई विचार देखा प¥यो । गोइत र ज्वाला मधेस अलग्गै देश हुनुपर्छ भनेर लागे भने अर्का थरी संघीय लोकतान्त्रिक गणतन्त्र र आत्म निर्णयको अधिकार सहित समग्र मधेस स्वायत्त प्रदेश हुनुपर्छ भन्ने वैचारिक विभाजन देखा प¥यो । त्यसपछि नेतृत्व क्षमता नदेखिएको तथा आर्थिक हिनामिना गरेको भन्दै एकले अर्कोलाई कारवाही गरेको भन्दै दर्जनौ सशस्त्र समुहहरु खुले । सशस्त्र समुहहरुको प्रभाव वढ्दै गयो । त्यसपछि राज्यले वार्ताका लागि गोइत र ज्वालालाई आउन भन्दा संयुक्त राष्टू संघको मध्यस्थतामा मात्र वार्ता गर्ने उनीहरुले पुर्व सर्त राख्यो । विद्रोही माओवादीलाई वार्तामा ल्याउन पनि वाहय मध्यस्तकर्ता नराखिएको भन्दै राज्य उक्त सर्तलाई मान्न इन्कार ग¥यो । अनि राज्यले ती समुहहरुलाई निस्प्रभावी बनाउन तीनका कार्यकर्ताहरुलाई पक्राउ गर्न थाले, दोहोरो भिडन्तको नाउँमा जवाफी प्रहरी कारवाहीमा तिनीहरुको इन्काउन्टर हुन थाल्यो । संविधानसभा निर्वाचन पछि चौथो शक्ति बनेका मधेसवादी दलहरुले वार्ताको माध्यमबाट उक्त समस्या समाधान गर्न माग गरेपछि सरकारले सरकारी वार्ता समिति बनाई वार्ता पनि गरे । त्यसैको परिणाम हो कतिपय भुमिगत जीवन विताउनेहरु अहिले राजनीतिक मुलधारमा छन । उता वार्तामा नआएका समुहहरु सुरुमा पहाडी समुदायलाई निशानामा बनाउने क्रमलाई तिब्रता दिन थालेपछि तिनीहरु विस्थापित हुन बाध्य भए । अनि चन्दा दिनका लागि मधेसी समुदायका कर्मचारी, व्यापारीहरुलाई तिनीहरुले धम्क्याउने, अपहरण गर्ने, गोली प्रहार गर्ने र हत्या सम्मका कामहरुलाई तिब्रता दिन थालेपछि स्थानिय स्तरमा पनि तिनीहरु प्रति जनआक्रोश वढ्दै गयो । आकाश त्यागी भनिने राम यादव प्रहरी इन्काउन्टरमा मारिए पछि स्थानिय व्यापारीहरु अत्यन्तै खुसी भएका थिए । अधिकारकर्मी तथा कानुन व्यवसायी समेत रहेका दिपेन्द्र झा भन्छन,“मधेसका सशस्त्र समुहहरु प्रति जनआक्रोश बढ्नुमा तिनीहरु आफै कारक रहेका छन । जनताको सुख दुःखमा नभिज्नु, मधेसी जनतालाई नै टारगेट गर्नु तथा पैसाका लागि जुन सुकै आपराधिक कृयाकलाप गर्न पछि नपर्नुले पनि तिनीहरु कमजोर भएका छन भने राज्य बलियो हुँदै गएको छ । माओवादी सफल हुनुको पछाडि त्यसका बलियो जनसमर्थन पनि हो ।” तर भुमिगत रहेका मुकेश चौधरी भन्छन,“ हामी पैसा कमाउनको लागि संघर्ष गर्दैनौं, मधेसी जनताको जनजीवनसँग जोडिएको विषय वस्तुको सार्थक समाधानको लागि संघर्ष गरेका हौं । रह्यो कुरा जनसमर्थनको त जुन दिन हामी शान्तिवार्तामा आएर चुनाव लड्ने छौं, त्यही दिन सावित हुनेछ ।”
प्रहरीको बदलिदो भुमिका
केही वर्ष अघिसम्म नेपाल प्रहरीको भुमिका तराईमा संकास्पद थियो । असमाजिक तत्वसँग साँठगाँठ राख्ने गर्दथे । यतिसम्म कि कृत्रिम रुपमा जनतान्त्रिक जन्माएर प्रहरीले अपराध गर्ने गरेको आरोपहरु पनि लाग्ने गर्दथ्यो । धनुषामा प्रहरी उपरीक्षकको रुपमा आएका सर्वेन्द्र खनालले प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेको सशस्त्र समुहहरुसँगको बढ्दो हिमछिमलाई सप्रमाण फेला पारेपछि त्यतिबेला संगठनले कारवाही स्वरुप न्यौपानेलाई निलम्बन नै गरेको थियो । पछि आरोप पुष्टि भएपछि नेपाल प्रहरीको संगठनमा पहिलो पटक कुनै डिएसपीलाई इन्सपेक्टरमा घटुवा गरिएको थियो । पछि न्यौपानेले जागिर नै छाडेका थिए । तर सतहमा कतिपय अन्य प्रहरी अधिकृतहरुको आचरण विपरितको क्रियाकलापहरु वाहिर आउन सकेन । सात आठ वर्ष अघि सम्म जिल्ला प्रहरीको प्रमुखको रुपमा  एसपी भएर टन्न पैसा कमाएर रिटायर हुने उद्देश्य हुन्थ्यो तर आजको दिनमा प्रहरीहरु व्यवसायीक भएका छन । मध्य क्षेत्रिय प्रहरी प्रमुख हेटौडाका डिआइजी विज्ञान राज शर्मा भन्छन,“ हिजोका दिनमा प्रहरी संगठन भित्र कमी कमजोरी थिए होलान तर आज नेपाल प्रहरी पनि आफुलाई व्यवसायिक प्रहरीको रुपमा चिनाउन खोजेको छ । अहिले पनि प्रहरीको असमाजिक तत्वहरुसँग साँठगाँठ रहेको नागरिक समाजको गुनासो नआएको होइन । अव पनि प्रहरी नसच्चिने हो भने कारवाहीको भागेदारी हुने छन् । ”हिजोका प्रहरी अधिकृतहरु अपराधीलाई पक्राउ गर्नुको सट्टा उम्काएर धन आर्जनमा केन्द्रित थिए । तर आजका प्रहरी अधिकृतहरु मोस्टवान्टेडहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याएर प्रमोशन खाने तिर केन्द्रित भएको देखिन्छ । हिजो प्रहरी अधिकृतहरु अपराधीलाई पक्राउ गर्नूको सट्टा इन्काउन्टर गरी सफाया गर्ने तिर केन्द्रित हुन्थ्यो भने आज प्रहरी अधिकृतहरु अपराधिलाई जिवितै पक्राउ गरेर विगतको अपराध र रहस्यहरुको उजागर गर्ने तिर केन्द्रित देखिन्छ । हिजो प्रहरीका अनुसन्धान अधिकृत पक्राउ परेका अपराधीहरुको अपराधलाई प्रमाणित गर्न सबुत प्रमाण जुटाउन अक्षम देखिन्थे भने आजका अनुसन्धान अधिकृतहरु तालिम प्राप्त र दक्ष रहेको हुँदा मुद्दाको सफल अनुसन्धान गरी अदालतमा अभियोग सावित गर्ने तर्फ वढी     केन्द्रित देखिन्छ ।


 मिति ः २०७०÷०८÷२३

धनुषामा ३१२ उम्मेदवारको धरौटी जफत


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष्ँ तर्फ धनुषामा बदर हुने मत उल्लेख्य मात्रामा भेटिएको छ ।
एउटै मत पत्रमा एउटा चुनाव चिन्ह भन्दा बढीमा स्वस्तिक चिन्ह लगाइएको, स्वस्तिक चिन्हको साटो ल्याप्चे (औंठाको छाप) लगाइएको र केहीमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र पनि पाइएको छ ।
जिल्लाका सात वटै क्षेत्रमा २ लाख ४७ हजार ४ सय ७५ मत सदर भएकोमा १५ हजार ७ सय ६१ मत बदर भएको छ । सात वटै निर्वाचन क्षेत्रमा मिलाएर कुल २ लाख ६३ हजार २ सय ३६ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयले संचालन गरेको मतदाता शिक्षा कार्यत्रम प्रभावकारी हुन नसकेका कारणले धनुषामा मत बढी बदर भएको पाइएको वुद्धिजीवीहरुको भनाई छ ।
लक्ष्मीनिवासका समाजसेवी नथुनी महतोले निर्वाचन कार्यालयले लापरवाही तरिकाले संचालन गरेको मतदाता शिक्षाका कारणले मत बदरमा कमी नआएको बताए । मतदाता शिक्षा कार्यक्रममा खटिएका कर्मचारीहरु स्वयम योग्य नभएका कारणले मतदातालाई सचेत गराउन नसकेको गुनासो गरे ।
यस्तै जनकपुर नगरपालिका ९ निवासी कौशल यादवले पनि मतदाता शिक्षा कार्यक्रममा खटिएका कर्मचारीहरुले सही रुपमा सहजीकरण चुकेको बताए । मतदाता शिक्षा कार्यक्रमका कर्मचारीहरु नै अयोग्य पाइएको दावी गर्दै यादवले यसको प्रमुख दोष निर्वाचन कार्यालयमा जाने जिकिर गरे ।
यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख जानकी कर्णले मतदाताकै कमी कमजोरीका कारणले मत बढी मात्रामा बदर भएको जिकिर गरे । उनले सबै क्षेत्रको मत परिणामको तालिका आउन नसकेकाले पहिलो चुनाव भन्दा बदर मत बढेको वा घटेको बारे भन्न नसकिने बताए । कार्यालयका अनुसार जिल्लाको क्षेत्र नं. ७ मा सबै भन्दा बढी २ हजार ७ सय ३५(६ दशमलव ९६ प्रतिशत) मत बदर भएको छ भने क्षेत्र नं. ३ मा सबभन्दा कम १ हजार ६ सय ७४ (४ दशमल ४२प्रतिशत) मत बदर भएको छ । निर्वाचन क्षेत्र नं. ७ मा ३९ हजार २ सय ९१ (७९ दशमलव ६१ प्रतिशत) मत खसेकोमा ३६ हजार ५ सय ५६ (९३दशमलव ०४ प्रतिशत) मत मात्र सदर भएको थियो । यस्तै निर्वाचन क्षेत्र नं. ३ मा ३७ हजार ८ सय ३२ (७९ प्रतिशत) मत खसेकोमा ३६ हजार १ सय ५८(९५ दशमलव ५७ प्रतिशत) मत सदर भएको छ ।
निर्वाचन क्षेत्र नं. १ मा १ हजार ८ सय ५४ (५ दशमलव ०५ प्रतिशत) मत बदर भएको छ । निर्वाचन क्षेत्र नं. १ मा ३६ हजार ६ सय ६१ (७९ दशमलव ३९) मत खसेकोमा ३४ हजार ८ सय ७ (९४ दशमलव ९४)मत सदर भएको छ । कार्यालयले जारी गरेको मतगणना परिणाम अनुसार क्षेत्र नं. २ मा २ हजार २ सय ८४ (६ दशमलव ४७प्रतिशत) मत बदर भएको छ । क्षेत्र नं. २ मा ३५ हजार ३ सय १७ ( ७८दशमलव ९६ प्रतिशत) मत खसेकोमा ३३ हजार ३३ ( ९३दशमलव ५३ प्रतिशत) मत सदर भएको छ ।
यस्तै निर्वाचन क्षेत्र नं. ४ मा २ हजार ५ सय ३१ (६दशमलव १६ प्रतिशत) मत बदर भएको छ । क्षेत्र नं. ४ मा ३८ हजार १ सय २२ (७१ दशमलव ८२ प्रतिशत) मत खसेकोमा ३५ हजार ७ सय ७१ (९२ दशमलव २७ प्रतिशत) मत सदर भएको छ । १ हजार ९ सय ६९ (५दशमलव २२ प्रतिशत) मत क्षेत्र नं. ५ मा बदर भएको छ भने ३५ हजार ६ सय ८९ (९४ दशमलव ७७ प्रतिशत) मत सदर भएको छ । क्षेत्र नं. ५ मा ३७ हजार ६ सय ५८ (७९दशमलव ४३ प्रतिशत) खसेको थियो ।
निर्वाचन क्षेत्र नं. ६ मा भने २ हजार ८ सय ९४ (७दशमलव ५प्रतिशत) मत बदर भएको छ । क्षेत्र नं. ६ मा ३८ हजार ३ सय ५५ (७८ दशमलव १६प्रतिशत) खसेकोमा ३५ हजार ४ सय ६१ (९२ दशमलव ४५ प्रतिशत) मत सदर भएको छ ।
धनुषामा ३१२ उम्मेदवारको धरौटी जफत
विगत ४ गते संपन्न संविधानसभा निर्वाचनको प्रत्यक्ष प्रणाली तर्फ धनुषामा प्रत्यक्ष तर्फ ३ सय ३४ उम्मेदवारले उम्मेदवारी दिएकोमा ३ सय १२ उम्मेदवारको धरौटी जफ्त भएको हो । संविधानसभा निर्वाचनका लागि ४१ दल र स्वतन्त्र गरि धनुषाको सात निर्वाचन क्षेत्र बाट चुनावी प्रतिष्पर्धाका लागि ३ सय ३४ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । अधिकांश उम्मेदवारको धरौटी जफ्त भएको अवस्थामा २२ जना उम्मेदवारले मात्र आफ्नो धरौटी बचाउन सफल भएका छन ।
निर्वाचन आचार संहिता उलंघन बाट जोगिन अधिकांश दलका उम्मेदवारहरुले डमी उम्मेदवारका रुपमा आफु नजिक रहेका व्यक्तिहरुलाई उम्मेदवारी दिन लगाएको कारण पनि व्यापक संख्यामा उम्मेदवारहरुको धरौटी जफ्त भएको विश्लेषकहरुको भनाई छ ।
    निर्वाचन प्रचार प्रसारको क्रममा गाडीको सुविधा प्रयोग गर्न अधिकांश दलका उम्मेदवारहरुले आफु नजिक रहेका व्यक्तिहरुलाई स्वतन्त्र रुपमा उम्मेदवारी दिन लगाउन गरेका छन । ४ गते सम्पन्न प्रत्यक्ष निर्वाचन तर्फका अधिकांश स्वतन्त्र उम्मेदवारले आफ्नो मात्रै मत पाएको समेत देखिएको छ । मनोनयन पत्र दर्ता गराउँदा प्रत्येक उम्मेदवारले धरौटी वापत तीन हजार नगद बुझाउनु पर्ने व्यवस्था गरिएको थियो । खसेको कुल मतको १० प्रतिशत ल्याउन न सकेका उम्मेदवारहरुको धरौटी जफत गरिने प्रावधान रहेको छ ।



 मिति ः २०७०÷०८÷१६

नवौं स्थानमा खुम्चियो सद्भावना


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पञ्चायतकालको अन्त्यतिर नै तराइबासीहरुप्रति अन्याय र भेदभाव भयो भनी उनीहरुको हितको संरक्षणका लागि नेपाल सदभावना परिषदको गठन भएको थियो । जन आन्दोलनका समयमा पुर्णतया मौन रहेर पनि आन्दोलनको सफलतापछि यसैले नेपाल सदभावना पार्टीको रुप लियो । कुनै बेलामा नामुद कांग्रेसी गजेन्द्र नारायण सिंह यसका संस्थापक अध्यक्ष हुन ।     यो पार्टीले आफुलाई बहुदलिय उदार प्रजातन्त्रपति प्रतिबद्ध मान्दछ । आफ्नो राजनीतिक विचार, नीति, व्यवहार र प्रभावका दृष्टिले यो मुलतः एक क्षेत्रिय पार्टी हो । यस पार्टीले तराईसँग सम्बन्धित विषयहरुलाई ज्यादा उठाउने गर्छ र यसको कार्यक्षेत्र पनि तराई नै हो । पहिलो आम निर्वाचनमा ७५ जना उम्मेदवार उठाएर यसले प्रतिनिधि सभामा ५ स्थान जितेको थियो । २०५१ को मध्यावधि निर्वाचनमा यो पार्टी ३ सिटमा खुम्च्यो । तेस्रो आम निर्वाचनमा पुनः यसले ५ सिट जित्यो । १८ असोजको शाही कदम पछि यो पार्टी लोकेन्द्रबहादुर चन्दको सरकारमा सामेल भयो । तर त्यसै बेला सम्पन्न पार्टीको महाधिवेशनमा यो पार्टी विभाजित भयो ।
    बद्री मण्डलको अध्यक्षतामा संगठित नेसपा शाही कदमको पक्षधर बन्यो । त्यसले माघ १९ को शाही कदमको समर्थन ग¥यो र राजाको अध्यक्षतामा गठित मन्त्रिमण्डलमा बद्री मण्डल आफै सामेल भए । अर्कोतिर संस्थापक नेता गजेन्द्र नारायण सिंहकी विधवा आनन्दी देवीको नेतृत्वमा गठित नेसपा प्रारम्भदेखि नै शाही शासनका विरुद्ध दलहरुद्धारा संचालित आन्दोलनमा सामेल भयो । यो पार्टी सात दलमध्येको एक घटक हो । यो ऐतिहासिक जनआन्दोलन भाग दुईको एक महत्वपुर्ण हिस्सा हो । आन्दोलनको सफलतापछि गठित सरकारमा समेत यो सामेल भयो । उता शाही शासनको पतनपछि बद्री मण्डलले पार्टीको पुरानो नीतिका लागि आफु जिम्मेवार रहेको स्वीकार गर्दै अध्यक्ष पदबाट राजीनामा दिए ।
    संविधानसभाको निर्वाचनमा राजेन्द्र महत्तोले नेतृत्व गरेको सदभावना पार्टीले ९ सिट जितेर अरु घटकभन्दा उल्लेखनीय सफलता हासिल ग¥यो । उक्त पार्टी पटक पटक संयूक्त सरकारमा सामेल भयो । त्यसपछि सदभावनाका महासचिव अनिल झालाई पार्टीले साधारण सदस्यबाट निश्काशित गरेपछि उनले अलगै संघीय सदभावना पार्टी गठन गरे । यता जनकपुरमा सम्पन्न महाधिवेशनबाट पुनः महत्तो सदभावनाका अध्यक्ष चुनिए । मधेसवाट पहाड र हिमाली क्षेत्रमा समेत पार्टी विस्तार गर्दै आफ्नो दल मधेसको सबैभन्दा ठुलो शक्ति बन्ने दम्भका कारण पार्टी एकिकरण वा अन्य मधेसवादी दलहरुसँगको गठबन्धन सहित दोस्रो संविधानसभा चुनावमा जाने कुरालाई महत्तोले खुलेरै विरोध गरे । परिणाम स्वरुप दोस्रो संविधानसभाको निर्वाचनमा सर्लाहीबाट उठेका राजेन्द्र महत्तो तराई मधेस सदभावनाका अध्यक्ष महेन्द्र राय यादवबाट पराजित हुन पुगे । धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट सदभावनाका वरिष्ठ उपाध्यक्ष संजय कुमार साह एक मात्र सिट प्रत्यक्ष तर्फ जितेको सदभावना समानुपातिक तर्फ ५ सिट गरी कुल ६ सिटका साथ नवौं स्थानमा खुम्चियो । 


 मिति ः २०७०÷०८÷१६

चौथो शक्तिको रुपमा उभ्रियो राप्रपा नेपाल


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पञ्चायतकालमा सत्ताको दुरुपयोग र राष्टिूय राजश्वमा मच्चाएको ब्रह्मलुटले गर्दा जनआन्दोलनमा पराजित भएपछि दुई भु.पू. पञ्च प्रधानमन्त्री  सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नामबाट राष्टिूय प्रजातन्त्र पार्टी नामक दुई पार्टी खुले । अन्तरिम सरकारको नरम नीतिका कारणले कार्यवाहीमा पर्नबाट जोगिएकाले पनि यिनको मनोबल बढेर पञ्चायत छउन्जेलका यी खाँटी निर्दलवादीहरु पछि एक नम्बरको बहुदलवादी बने । आ(आफ्नो चुनावी घोषणापत्रमा लम्बे चौडे प्रतिवद्धता र आकर्षक शब्दावली थुपारे पनि यिनले पहिलो आम निर्वाचनमा नराम्रो हार खानुप¥यो । दुवै नेताहरु चुनावमा हारे । चन्द पार्टी १५५ उम्मेदवार उठाएर तीनबटा सिट जित्न सफल भयो र थापा पार्टी १६२ उम्मेदवार उठाएर एउटा सिटमा खुम्चिन बाध्य भयो । तर पनि त्रुटिपुर्ण मापदण्डका कारणले तीन प्रतिशतभन्दा वढी मत ल्याई यी निर्वाचनमा पिटिएका पार्टीहरु पनि राष्टिूय पार्टी बने । आफ्ना चुनावी असफलताहरुबाट सिकेर यी दुवै पञ्च पार्टीहरु आपसमा मिलेर बनेको राप्रपाले राष्टिूयता, प्रजातन्त्र र उदारवादलाई नाराको रुपमा अघि सारेको छ । संवैधानिक राजतन्त्र, जनतामा निहित सार्वभौमसत्ता, संसदीय व्यवस्था एवं बहुदलीय प्रजातन्त्रप्रति प्रतिबद्ध रही उदार प्रजातान्त्रिक एवं मानव अधिकारयूक्त समाजको सिर्जनालाई पार्टीले आफ्नो उद्देश्य किटान गरेको छ ।
मध्यावधि निर्वाचनमा यो पार्टीले २० सिट जित्यो र त्रिशंकु संसदमा सत्ताको खेलमा निर्णायक भुमिका खेल्न सफल भयो । केही समय यसै पार्टीका नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएकोे गठबन्धन सरकार सत्तामा थियो भने २०५४ असोजमा यसका अध्यक्ष सुर्यबहादुर थापा नेपाली कांग्रेसको आडमा आफ्नै पार्टी नेता चन्दको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याई प्रधानमन्त्री बन्न पुगे । बहुदलवादीहरुको अपरिवक्वता र असफलताले लाभको स्थितिमा रहे पनि चन्द र थापा गुटमा विभक्त यो पार्टी अन्ततोगत्वा २०५४ सालमा विधिवत विभाजित भयो । सुरुमा संसदीय दल विभाजित भयो भने पछि राजेश्वर देवकोटाको अध्यक्षतामा लोकेन्द्रबहादुर चन्द समेत नेता भएको राप्रपा (चन्द) स्थापना भयो । यो घटनापछि यस पार्टीको सत्ताको चाभी यसको हातबाट गुम्यो । २०५६ सालको आम चुनावमा राप्रपाले एघार स्थान ल्यायो भने राप्रपा चन्दले एक स्थान पनि जित्न सकेन ।
१८ असोज २०५९ को शाही घोषणालाई बाध्यताको कदम भन्न रुचाउने राप्रपाको ठुलो पंक्ति राजाको वढदो र प्रभावकारी भुमिकाको पक्षमा छ । २०६० मंसिरमा पोखरामा सम्पन्न तेस्रो महाधिवेशनद्धारा पशुपति शमशेर यस पार्टीका अध्यक्ष बनेका छन । शाही कदमपछि बनेको पहिलो सरकारको नेतृत्व यसै पार्टीका नेता लोकेन्द्र बहादुर चन्दले गरेका थिए भने दोस्रो सरकारको नेतृत्व पनि यसै पार्टीका अर्का नेता सुर्यबहादुर थापाले गरे । त्यसमा राप्रपाका नेताहरु मात्र सामेल भए स्थानीय निकाय जन प्रतिनिधिविहीन भएको मौका छोपेर यो सरकारले आफ्ना कार्यकर्ता हुलेर स्थानीय निकायको पञ्चायतीकरण गर्न खोज्यो । आन्दोलनरत संसदवादी पार्टीहरुले यो दुवै सरकारलाई प्रतिगमनको गोटी बनेको भनि आलोचना र असहयोग गरे ।     आफ्नै पार्टीबाट सडकमै उत्रेर विरोध प्रारम्भ भएपछि तत्कालिन राजाले थापा सरकार भंग गरी पुनः तेस्रो प्रयोग प्रारम्भ गरे । नेपाली कांग्रेस(प्रजातान्त्रिक) का नेता शेरबहादुर देउवाको नेतृत्वमा एमाले, र ने.स.पा. मिली बनेको संयूक्त सरकारमा राप्रपा पनि सामेल भएको थियो । तर १९ माघ २०६१ का दिन राजाबाट शाही घोषणाद्धारा देउवा सरकार भंग गरी प्रत्यक्ष शासन प्रारम्भ गरेपछि यो पार्टी पनि शाही कोपभाजनको शिकार भयो । यसले पनि राजाको पछिल्लो कदमलाई अनपेक्षित र अप्रत्याशित भन्यो ।
अनि राप्रपा नराम्रोसँग विभाजित भयो । शुरुमा सूर्यबहादुर थापाको नेतृत्वमा राप्रपाबाट चोइटिएको एक समुहले राष्टिूय जनशक्ति पार्टी बनायो भने राजाको अध्यक्षतामा गठित मन्त्रिमण्डलमा सामेल भएका कमल थापाको बाँकी बचेको राप्रपालाई पनि फुटाए र राप्रपा नेपाल बनाए ।
        पहिलो संविधानसभाको निर्वाचनमा राप्रपा, राप्रपा नेपाल र जनशक्ति पार्टीले प्रत्यक्षतर्फ एक स्थान पनि जित्न सकेनन । समानुपातिकतर्फ भने राप्रपाले ८ सिट, राप्रपा नेपालले ४ सिट र जनशक्ति पार्टीले ३ सिट जितेका थिए । पछि संवैधानिक राजतन्त्र र हिन्दु राष्टूको अडानलाई यथावत राख्दै कमल थापाको नेतृत्वमा दोस्रो संविधानसभाको चुनावमा प्रत्यक्षमा १ सिट पनि नजितेको भएपनि समानुपातिक तर्फ २३ सिट ल्याएर संविधानसभाको चौथो ठुलो शक्तिको रुपमा उदाउन सफल भयो राप्रपा नेपाल । यता थापा, चन्द र राणा मिलेर बनाएको राप्रपा पनि दोस्रो संविधानसभाको चुनावमा प्रत्यक्ष तर्फ ३ र समानुपातिक तर्फ १० गरी कुल १३ सिटका साथ छैठौं शक्तिको रुपमा उदाएका छन ।




 मिति ः २०७०÷०८÷१६