Wednesday, July 9, 2014

जाग्यो जनकपुर

अजय अनुरागी
जनकपुरधाम............
जनकपुरजनकपुर नगरपालिका भित्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक दृष्टिले महत्वपुर्ण मानिएको पोखरी, पोखरीको डिल अतिक्रमण गरी बनाइएका घर, टहरा हटाई अतिक्रमण मुक्त बनाउने अभियानको थालनी भएको छ । प्राचिन जनकपुरका सार्वजनिक सम्पदाहरुलाई जोगाउन त्यसको संरक्षण र सम्बद्र्धन गर्दै आधुनिक र अध्यात्मिक जनकपुर निर्माण गर्न जनकपुरबासी एकवद्ध भई अगाडी वढेका छन् । जनकपुरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सम्बन्धित निकायहरु एकमत भई २०८० सालसम्मको गुरु योजना निर्माण गरिरहेका छन् । गुरुयोजना निर्माणका लागि टेन्डर गरी सम्झौता समेत गरिसकिएको छ । यस्तो लागिरहेको छ कि वर्षौ देखि कुम्भकरणको निन्द्रामा सुतिरहेको जनकपुरबासी जनकपुरको पुनर्निर्माणका लागि जागेको छ । सबैले भन्न थालेका छन्, जानकी माता पनि जागेकी छन् र पो जनकपुरबासी जागेको हो । राजनीतिक विश्लेषक सिकेलालले एउटा अखबारमा रहर गुमेको सहरको रुपमा सम्म जनकपुरलाई व्याख्या गरेका थिए । जो कोही आएपनि जनकपुर अब मुर्दा सहरको रुपमा भइसकेको निष्कर्ष निकाल्थे । यहाँ सडक छैन, ढल नाला छैन, लामखुट्टेको आतंक छ । फोहरै फोहर छ भनेर बाहिरबाट जनकपुर आउने व्यक्तिहरुले आलोचना गर्ने गर्थे । तर केही वर्षपछि अब जनकपुरको रुपान्तरण हुने निश्चित छ । संघीय प्रान्तको जनकपुर राजधानी हुने निश्चित जस्तै भइसकेकाले अब जनकपुरको कायापलट हुने सम्भावनाहरु देखा पर्न थालेका छन् । जनकपुरबासीले सुखद र समृद्ध भविष्यको सपनालाई साकार पार्न पाइलाहरु अगाडी वढाईसकेका छन् । अब मात्र आवश्यकता के को हो भने राज्यको लगानीको । निरंकुश राजतन्त्रको विरुद्ध आन्दोलन चर्किरहेको बेला तत्कालिन राजा महेन्द्रलाई लक्षित गरी दुर्गानन्द झाले उनको सवारीमा बम प्रहार गरेपछि राजतन्त्रका पक्ष पोषक राज्यले जनकपुरसँग प्रतिसोधका लागि लगानी गरेनन् । जनकपुर अन्य सहरको तुलनामा विकासकोलागि व्याक गियरमा चल्न थाल्यो भने अन्य सहरहरु तिव्र गतिका साथ अगाडी वढन थाले । देशमा प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि जनकपुरको विकासका लागि राज्य उदार हुन सकेको छैन । पछिल्लो केही दशकमा जनकपुरको शान्तिसुरक्षा अत्यन्तै खस्किसकेको अवस्था थियो । मान्छेको अपहरण, हत्या, हिंसा, बम विस्फोट र चन्दा आतंकबाट जनकपुरबासी भयभित थिए । उक्त भयको त्रासबाट निकाल्न तथा जनतालाई जानमालको सुरक्षाको प्रत्याभुति दिलाउन गतवर्ष साउनमा धनुषामा प्रहरी प्रमुखको भुमिका निर्वाह गर्न आएका धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले अपराधिहरुलाई पक्राउ गर्न अभियान नै चलाए । परिणाम स्वरुप सशस्त्र समुहका नाइकेहरु एक पछि अर्को गरी कानुनको गिरफ्तमा आएपछि जनकपुरबासी शान्ति सुरक्षाको अवस्थामा धेरै हदसम्म सुधार आएको अनुभुति गर्न थालेका छन् ।
    त्यसैगरी विकास निर्माणका लागि आउने सम्पुर्ण रकमहरु कामै नगरी भ्रष्टाचार हुने गरेको जिल्ला विकास समिति धनुषामा स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदी आएपछि भ्रष्टाचार नियन्त्रण गर्न तथा कार्यालयलाई व्यवस्थि तगर्न महत्वपुर्ण योगदान निर्वाह गरिरहेका छन् । यस आर्थिक वर्षमा उनले कुनै पनि योजनामा पुर्व भुक्तानी नगरेर काम भइसकेपछि मात्र भुक्तानी दिने परम्परा बसाएका छन् ।
   
जनकपुरको गंगासागरमा गंगा आरती गर्दै जनकपुरका महिलाहरु ।
यसका अतिरिक्त धनुषा जिल्लालाई खुल्ला दिसा पिसाव मुक्त जिल्लाको रुपमा घोषणा गराउन उनले अभियान नै थालेका छन् । जनकपुर उद्योग बाणिज्य संघ श्याम कुमार साहको अगुवाईमा जनकपुर नगरलाई सफा राख्न प्लास्टिक निषेधित सहरको रुपमा चिनाउन अभियानको थालनी गरेका छन् । नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष रामअशिष यादवको अगुवाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनकपुर नागरिक समाज, यूवाहरु र विभिन्न व्यवसायी तथा पेशागत व्यक्तिहरुको समुहले जनकपुरको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पोखरी गंगासागर सरसफाई अभियान चलाए । उक्त अभियान गंगासागर हुँदै महराज सागर, अंगराजसर लगायत विभिन्न पोखरीहरु हुँदै सरसफाई अभियान जारी छ । उक्त अभियानीहरुको प्रयासकै परिणाम हो, जनकपुरको गंगासागरमा प्रत्येक दिन साँझ गंगा आरती हुनु । गंगा आरती जनकपुरको एउटा अलगै पहिचानको रुपमा स्थापित हुँदै गइरहेको छ ।
यसरी पोखरीहरुको सरसफाई अभियान जारी रहेकै बेला बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले सार्वजनिक पोखरीहरुलाई अतिक्रमण मुक्त बनाउने अभियानको थालनी गरेका छन् ।
     बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, गुठी संस्थान शाखा कार्यालय जनकपुर, जनकपुर नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले एकतावद्ध भई जनकपुरका अतिक्रमित पोखरीहरुलाई अतिक्रमण मुक्त बनाउने अभियानको थालनी गरेका हुन । बृहत्तरको नेतृत्वमा पहिलो चरणमा ३० जेष्ठ २०७० देखि कुल १० वटा सार्वजनिक पोखरीहरुलाई अतिक्रमण मुक्त बनाउने क्रममा जम्मा २७१ घर टहरा भत्काएका छन् । महराज सागरमा १५ घर, कपाल मोचनीसरमा १४ घर, पादप्रक्षालनसरमा ४१ घर, तैलघृतसर (तेलहा) मा ३८ घर, मण्डनसर (मरहा)मा २८ घर, लक्ष्मणसर (लक्ष्मण अखाडा) मा १४ घर, दिर्घिकासरमा ४१ घर, रामसागरमा २७ घर, देवान पोखरीमा २६ घर, अरगजा पोखरी (अंगराजसर)मा २७ घर गरी कुल २ सय ७१ वटा घरहरु भत्काई अतिक्रमण मुक्त पोखरी बनाइएको छ । दोस्रो चरणमा बाँकी रहेका नगरक्षेत्र भित्रका सार्वजनिक पोखरी र पोखरीको डिल अतिक्रमण मुक्त अभियान, विलुप्त भएका पोखरीको खोजी गरी उत्खनन् संरक्षण गर्ने काम गरिने अभियानको नेतृत्व गरेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले जनाएका छन् ।
    त्यस्तै प्रमुख मठ मन्दिर प्राङगणमा अव्यवस्थित मन्दिरको संरचना छेकिने गरी निर्माण गरिएका घर, पसल तथा टहरा हटाउने एवं व्यवस्थित गरिने अभियान संचालन गरिने भन्दै शर्मा भन्छन,“तेस्रो चरणमा गुठीको जग्गा संरक्षण सम्बद्र्धनका लागि अभियान थालिने छ । अतिक्रमण मुक्त गरिने अभियानले तत्काल विस्थापित हुनुपरेको सर्वसाधारणलाई दुखको अनुभुति हुनु स्वभाविक हो तर, अवैध रुपमा बनाइएको घर, टहरा भत्काउनु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो । हामीलाई कसैसँग रिस, राग, द्वैष भएर होइन आधुनिक जनकपुर निर्माणको प्रतिफल अनुभुति, पुर्वाधार विकास, पर्यटन विकास र हिन्दूधर्मको आस्थाका केन्द्र ऐतिहासिक जनकपुरको विकास निर्माण जस्ता महत्वपुर्ण उद्देश्य पुरा गर्न अभियान चलाइएको हो ।”
पुर्वतयारी
पोखरी र पोखरीको डिल अतिक्रमण मुक्त गराउन २६ साउन २०६२ मा तत्कालिन श्री ५ को सरकारको मन्त्रिपरिषदको निर्णयानुसार वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२ लाई सार्वजनिक गरी प्रतिवेदनमा उल्लेखित विषयहरु कार्यान्वयन गराउने निर्णय ३ चैत्र २०६२ मा भएको थियो । तत्कालिन श्री ५ को सरकारको मुख्य सचिव लोकमान सिंह कार्कीले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएअनुरुप बृहत्तरले उसको कार्यक्षेत्र भित्र पर्ने पोखरी र पोखरीको डिल अतिक्रमण मुक्त पार्ने अभियानलाई पहिलो प्राथमिकतामा राखि जनकपुर नगरपालिका कार्यालय, गुठी संस्थान शाखा कार्यालयको समन्वय र कार्यगत एकता कायम गरी २७ चैत्र २०७० मा संयुक्त बैठक बसेको थियो । बृहत्तरका अध्यक्ष शर्माको अध्यक्षतामा बसेको उक्त बैठकमा सर्वपक्षिय र सर्वदलिय बैठक बोलाई ५ बैशाख २०७१ मा पहिलो चरणमा अतिक्रमण हटाउने पोखरीको पहिचान सहित उच्चस्तरीय कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिस र सुझाव कार्यान्वयन गर्ने गराउने सर्वसम्मत निर्णय भएको थियो । जसमा २०४२÷०४४ सालको सर्बेनापीलाई आधार बनाउने र अनुगमनका लागि परिषदका कार्यकारी निर्देशक उमेश कुमार यादवको संयोजकत्वमा अनुगमन समिति गठन गरियो । गुठी संस्थान शाखा कार्यालय जनकपुरले सार्वजनिक रुपमा अतिक्रमण गरी बनाइएको घर, टहरा हटाउन गोरखापत्रमा ३५ दिने सूचना प्रकाशन गरेको थियो । उक्त सुचनालाई आधार बनाई ३५ दिने समय सिमा समाप्ती पश्चात स्थानीय पत्रिकामा समेत सूचना गरिएको अतिक्रमण मुक्त गर्ने क्षेत्रमा २४ घण्टै खुल्ला रुपमा म्याकिङ गरी घर टहरा हटाउन सूचना गरिएको थियो । अतिक्रमित पोखरी, पोखरीको डिल नाप जाँच गर्न नापी शाखा, गुठी संस्थान र जनकपुर नगरपालिकाको अमिन एवं संयुक्त अभियानमा लागेका तिनै कार्यालयका कर्मचारी खटाई पठाई सिमाङ्कन, नक्साङ्कन एवम चिनो लगाउने कार्य गरिएको थियो । चिनो लगाउँदा सम्बन्धित घर धनीको रोहबरमा नाप जाँच गरिएको, सरोकारबाला, नागरिक समाजको उपस्थितिमा अतिक्रमण मुक्त अभियान चलाइएको छ ।
    तत्काल अतिक्रमण मुक्त गरिएका क्षेत्रको सरसफाई व्यवस्थापन गर्नु अति जरुरी रहेको महसुस गरी पहिले तिनका व्यवस्थापन गरी दोस्रो र तेस्रो चरणको अभियान थालिने जानकारी गराउँदै बृहत्तरका अध्यक्ष शर्मा भन्छन,“ अभियान स्थगित नभई कृयाशिल रहने छ । अतिक्रमित पोखरी, पोखरीको डिलमा नक्साङ्कन, सिमाङ्कनको कार्य जारी रहने छ ।” अतिक्रमण मुक्त गर्दा विस्थापित हुनुपरेको संघ संस्था, कार्यालयको लगत लिने कार्यभएको हुँदा तिनीहरुको क्षतिपुर्ति भर्न नसकेतापनि सहरी विकास योजना लागु गरी विस्थापितहरुलाई प्राथमिकता दिन सक्ने सिफारिस गरिने शर्माले बताएका छन् ।
    जनकपुरका मठ मन्दिरहरु, पोखरीहरु र गुठीको सम्पति समेतलाई सुरक्ष ागर्न तथा व्यवस्थित रुपले संचालन गर्न पशुपति विकास कोष र लुम्वनी विकास कोष झै जनकपुरलाई जानकी विकास कोष वा जनकपुर विकास कोषको रुपमा स्थापित गर्न ११ सदस्यीय टोली काठमाण्डौ पुगी विभिन्न राजनीतिक दल र नेपाल सरकारलाई गुहारीरहेका छन् । वर्षौ देखि एउटा व्यक्तिको गोजीमा गइरहेको गोपाल धर्मशालाको आम्दानीलाई रोक्न तथा त्यसलाई व्यवस्थित ढंगले संचालन गर्न बृहत्तरले आफ्नो नियन्त्रण्मा लिएका छन् । यसरी हेर्ने हो भने जनकपुरको मुहार फेर्न जनकपुरबासी लागिपरेका छन् ।


२०७१ अषाढ २२ गते आईतबार

1 comment: