Wednesday, July 9, 2014

राम कुमार शर्माको लोकप्रियता जनकपुरमा बढ्दै


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुरको सार्वजनिक पोखरीहरुलाई अतिक्रमण मुक्त गराउने अभियानको थालनी गरेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माको चर्चा अहिले जनकपुरमा सबैले गरिरहेका छन् । कतिपयले जनकपुरको सुखद भविष्य निर्माणको थालनी गरेको भनेर शर्माको प्रशंसा गरिरहेका छन् भने कतिपयले राज्य संयन्त्रको बलप्रयोग गरी जवरजस्ती समेत गरेको भन्दै उनको आलोचना गरिरहेका छन् । अतिक्रमण गरेर पोखरी र पोखरीको डिलमा बर्षौ देखि महल बनाई डेरा जमाएकाहरु शर्माको आलोचना मात्र गरिरहेका छैनन्, उनी विरुद्ध अदालतसम्म जान भ्याएका छन् । तर, त्यस्ता व्यक्तिहरुको संख्या अत्यन्त न्युन छ भने उनलाई साथ दिने जनमत अत्यधिक पाइन्छ । जनकपुरका नागरिक समाज, बुद्धिजिवी, संचारकर्मी, राजनीतिक दल र अन्य पेशागत संघसंस्थाले पनि शर्माले अतिक्रमण विरुद्ध चलाएको अभियानको प्रशंसा गर्दै साथ पनि दिएका छन् । जनकपुरको समाज दुई ध्रुवमा विभाजित भएको स्वीकारदै शर्मा भन्छन्,“जनकपुरका ९९ प्रतिशत जनता अतिक्रमण मुक्त अभियानको पक्षमा छन् भने अतिक्रमण गर्नेहरु एक प्रतिशत अभियानको विपक्षमा छन् ।”
सार्वजनिक पोखरीहरुलाई अतिक्रमण मुक्त गराउने अभियानका क्रममा डोजरमा रामकुमार शर्मा ।
हुन त शर्मा राजनीतिक व्यक्ति हुन । एमाओवादीको केन्द्रिय सदस्य समेत रहेका शर्मा जनकपुरमा यस अघि लोकप्रिय थिएनन् । किनभने उनको  राजनीतिक कार्यक्षेत्र महोत्तरी हो । जनकपुरमा मधेस आन्दोलनका क्रममा उनी देखापरेका थिए । त्यसपछि उनी जनकपुरमा बढी देखा परेनन् । तर, बृहत्तरको अध्यक्ष पदमा एक वर्ष अघि मनोनित भएपछि उनी जनकपुरमा सक्रिय भए । अहिले पछिल्लो दुई साता देखि जनकपुरमा सबैभन्दा वढी चर्चा कमाएका व्यक्ति बनेका छन् ।
को हुन शर्मा ?
मधेस आन्दोलनका दौरान जनकपुरको भानुचौकमा निकालिएको प्रदर्शनमा रामकुमार शर्मा ।
निम्न मध्यम परिवारमा १५ अषाढ २०२८ मा बुबा तिलकेश्वर राय र आमा रामरेखी देवीको कोखबाट जन्मिएका रामकुमार शर्माको वाल्यकालमा नै धेरै दुःख भोग्नु परेको थियो । उनी जन्मिएको एक महिना नवित्दै उनको बुवाको मृत्यु भयो । अत्यन्त सामान्य बाल्यकाल देखि नै संघर्ष गर्दै सामान्य प्रकारको पढाई उनले जसो तसो गरे । उच्च शिक्षाको समेत अध्ययन गर्न नपाएका उनी वन विज्ञान संस्थान हेटौडाबाट आइएससी फरेस्टूी मात्र गर्न भ्याए । फरेस्टूी उत्तीर्ण गरी लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी दश वर्ष सम्म उनी वन कार्यालयको रेन्जर भई सरकारी जागिर समेत गरे ।
आर्थिक अवस्था अत्यन्तै खराव भएको भएपनि राजनीति जीवन प्रति उनको धेरै रुचि थियो । त्यसैले जागिरमा हुँदा पनि उनी पेशागत राजनीतिमा सक्रिय भए । २०४५ सालमै वन विज्ञान संस्थानमा उनी कर्मचारीहरुको मानन्धर समुहमा  सचिव सम्म बने । उनी भन्छन,“ आर्थिक अभावकै कारण परिवार पाल्न जागिरमा जानु बाध्यता थियो ।” तर २०५८ साल पछि उनी प्रत्यक्ष रुपले नै राजनीतिमा होमिए । जव माओवादीले देशमा जनयूद्ध सुरु ग¥यो, नेपालको अन्य परम्परावादी कम्युनिष्ट पार्टीको तुलनामा २०५७ सालमा जनयूद्ध संगै, वर्ग संघर्ष  र जातिय मुक्तिको नेपालमा माओवादीले जुन नीति लियो त्यो नीतिबाट उनी प्रभावित हुँदै गए । रुसमा लेनिनले, चीनमा माओले र डा. राममनोहर लोहियाले भारतमा सुरुमा कम्युनिष्ट हुँदै पछि सोसलिष्ट भएका थिए । शर्मा भन्छन,“ भारतीय समाजलाई फेर्नुछ भने क्लास स्टूगल भन्दा कास्ट स्टूगल वढी जरुरी छ । जातीय विभेद र अन्तरविरोधलाई सोसलिष्ट प्रकारले लोहियाले हल गर्न चाहनु हुन्थ्यो । मलाई लाग्छ यी विषयहरुलाई नियाल्दै नेपालको मौलिकतालाई हेरेर प्रचण्डजीले जातीय मुक्ति आन्दोलन र वर्ग संघर्षलाई जोडेर हेर्नुभयो ।” म एउटा यूवा थिएँ , मलाई लाग्यो, वास्तवमा मधेसको एउटा क्षेत्रीय पार्टीमा बसेर काम गर्नू भन्दा एउटा राष्टिूय पार्टीमा जसको एउटा सिद्धान्त छ, नीति छ, नेतृत्व छ र तमाम क्षेत्रीय मुद्दालाई पनि सम्बोधन गर्दैछ भने किन न जाने सोच प्रति आकर्षित भएर मधेसको आजादीको लागि, नेपालमा पनि एउटा क्रान्ति हुन्छ भन्ने सोचका साथ मैले आफ्नो नीजि जिन्दगीबाट राजीनामा दिई जनयूद्धमा हाम फालेको शर्मा बताउँछन्  । इन्दु थापा क्षेत्रीसँग विवाह गरेको भर्खर ५ वर्ष भएको थियो । बच्चाहरु सानो थियो । त्यो अवस्थामा उनले आफ्नो सारा निजी जीवन, स्वार्थ, अवसर सुख सयललाई छोडेर जनयुद्धमा गएका थिए । उनीसँगै उनको सालो श्यामेन्द्र पनि जनयूद्धमा सामिल भएका थिए, जो की महोत्तरीको हलखोरीमा शहीद भए । उनी पनि कैयौं पटक मृत्युको मुखबाट भाग्यले बचे । सुरुमा एसिएम, डिसिएम, एसिएस, महोत्तरी, सर्लाही दुई जिल्लाको ज्वाइन्ट सेक्रेटरियर मेम्बर हुँदै मोटामोटी ४÷५ वर्ष पछि माओवादीमा उनी नेताको रुपमा स्थापित हुँदै गईरहेका थिए ।
त्यतिबेला माओवादी र मधेसी जनअधिकार फोरमसँग सहकार्य हुन थाल्यो । २०६० सालमा विराटनगरमा सम्पन्न भएको फोरमको केन्द्रिय अधिवेशनबाट उनी केन्द्रिय सचिव बने । एकातिर माओवादीको जनयूद्धमा र अर्कोतिर उपेन्द्र यादवको फोरममा उनी दोहोरो भुमिका निर्वाह गर्दै गए । यसरी काम गर्दै जाँदा उनले माओवादी भित्रका केही समस्याहरु नियाले । मुख्य गरी मधेसी समुदायका व्यक्ति नेतृत्व स्तरमा नहुनु, सेना निर्माणको सवालमा मधेससँग पार्टीले भेदभाव गर्नु, जुन रेन्जमा सेनामा मधेसबाट प्रतिनिधत्व गराउनु पर्ने थियो त्यो नभई थोरै मात्रामा गराइनु, धेरै संख्यामा पहाडका साथीहरु मात्र राखिनु जस्ता समस्याहरु उनले औंल्याए । विशेष गरी स्वायत्त मधेस प्रदेशको सवालमा त्यतिवेला माओवादी वढी प्रष्ट थिएन । यिनै प्रश्नहरु लिएर उनी विद्रोह गरी फोरमतिरै सक्रिय भए । फोरममा केन्द्रिय सचिवबाट उनी महासचिव सम्म भए । २०६२÷०६३ मा मधेस विद्रोह हुँदा फोरमका अध्यक्ष अनुगमन कर्ता थिए भने शर्मा संयोजक थिए । शर्मा भन्छन,“धेरै मान्छेलाई यो कुरा थाहा छैन । आन्दोलन हाँक्ने उपेन्द्रजीलाई त आँट नै भइरहेको थिएन । वहाँ अनुगमनकर्ता मात्र थिए । मधेस आन्दोलनको म नै संयोजक थिएँ । मेरै नेतृत्वमा सात सदस्यीय आन्दोलन समिति बनेको थियो । जसमा सितानन्दन राय, माग्यनाथ प्रसाद गुप्ता, जितेन्द्र सोनल, विपी यादव, अमर यादव लगायतका व्यक्तिहरु थिए । ” त्यही समितिको अगुवाईमा नेपालको अन्तरिम संविधानको जगमा भएको ऐतिहासिक मधेस विद्रोहमा दशौं लाख जनता प्रत्येक दिन सामिल भए । त्यो बेला  प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाले ३ पटकसम्म सम्बोधन गर्नूभयो । २२ बुँदे सम्झौताका क्रममा उपेन्द्रजीले महत्वपुर्ण विषयहरु जस्तै शहादत दिएका बीर सपुतहरुलाई राष्टिूय शहीद घोषणा गर्नुपर्ने , समानुपातिक निर्वाचन प्रणालीको विषयहरु छोड्नु भयो । शर्मा भन्छन,“उपेन्द्रजीलाई लाग्यो, यो विद्रोह अब भयो, अब एउटा राजनीतिक पार्टी पनि बन्यो । वढी माँग छोडेर राजनीति गर्ने तर्फ वढी चिन्तित हुनुभयो ।”त्यसपछि सात मध्ये ४ जना सचिवालय सदस्यहरु भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल र उनी लगायतले मधेसी जनअधिकार फोरमबाट विद्रोह गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा सामिल भए । तमलोपालाई नै मधेसको एउटा क्रान्तिकारी पार्टी बनाउने भनेर उनी लागे । कांग्रेस, एमाले, राप्रपा लगायतका पार्टीहरुबाट मधेस आन्दोलनमा लागेका थुप्रै ठाउँका मान्छेहरु भेला भई तमलोपा गठन गरे । महन्थ ठाकुरको नेतृत्वमा गठित तमलोपामा उनी संस्थापक केन्द्रिय सदस्य हुँदै सहमहामन्त्रि समेत भए । संविधानसभाको पहिलो निर्वाचनमा उनी महोत्तरी क्षेत्र नं. ४ बाट तमलोपाको टिकट पाएर निर्वाचित भए । तमलोपा संविधानसभामा दोस्रो ठुलो मधेसी पार्टी बन्यो । राजनीति अगाडी वढ्दै थियो । संविधानसभा भित्र संघर्ष वढ्दै थियो । तर उनी त्यहाँ पनि सन्तुष्ट हुन सकेनन् । पार्टी भित्र आन्तरिक लोकतन्त्र नरहेको, रिभोलुसनरी विंगको अभाव, पार्टीको हिसाव किताव पारदर्शी नहुनु, यूवाहरुको मूल्याङ्कन पार्टी भित्र नहुनु, जोस जाँगर नभएका बुढा पाकाहरु अनुभव र उमेरको नाउँमा नेतृत्वमा बस्ने प्रवृति देखे पछि मधेसको क्षेत्रीय पार्टीहरुबाट उनी विरक्त भए । जसरी एकात्मक व्यवस्थाले मधेसलाई आन्तरिक औपनिवेशको शिकार बनायो, आम नागरिकले मधेसको आजादीको प्रश्न खोजे, मधेसको पार्टीबाट सम्भव नरहेको निष्कर्षमा उनी पुगे । उनलाई तमलोपाले मन्त्रि नवनाए पछि नेपालकै इतिहासमा पहिलो पटक कुनै एकजना निर्वाचित सभाषदले सो  पदबाट उनले राजीनामा गरेर जनताको मुक्तिको लागि भन्दै फेरी माओवादी ज्वाइन गरे ।
न्याय, समानता र मधेसको आजादीको लागि विद्रोह गर्ने आफ्नो सदैव चरित्र नै रहेको भन्दै उनी भन्छन,“ जागिरबाट विद्रोह गरेर जनयूद्धामा लाग्नु, जागिरमा हुँदा व्यवस्थित तरिकाले आफ्नोे जिन्दगी चलिरहेकै थियो , म पछि मेरो श्रीमतिले पेन्सन पाउँथ्यो, त्यत्रो सेटल लाइफ छोडेर जनयूद्धमा लागेर के पो पाउनु थियो र ? या त मृत्यु हुन्थ्यो वा मुक्ति हुन्थ्यो । फेरी विद्रोह गरेर फोरममै आएँ । उपेन्द्रजीको पार्टीमा पनि म ठुलै नेता थिएँ, उपेन्द्रजी स्थापित हुनु भयो म नहुने कुरै थिएन । त्यहाँ पनि विद्रोह गरी सडकमा आएर तमलोपा निर्माण गरें । फेरी त्यहाँ पनि विद्रोह गरे । अहिलेको परिप्रेक्ष्यमा तुलनात्मक रुपमा माओवादी नै सही पार्टी छ भनेर लागेको हो ।”
    संविधानसभाको चुनाव भन्दा केही महिना अगाडी माओवादीले उनलाई बृहत्तरको अध्यक्षमा सिफारिस ग¥यो र मन्त्रिपरिषदले स्वीकृती ग¥यो । स्रोतका अनुसार उनलाई अध्यक्ष बनाउने भुमिकामा माओवादी नेता रामचन्द्र झाको ठुलै योगदान थियो । उनको ठाउँमा उनको श्रीमति इन्दु शर्मालाई महोत्तरीबाट संविधानसभा चुनावमा उठाइयो । इन्दु शर्मा पराजित भए । यता शर्मा भन्छन,“ महेन्द्र नारायण निधि, लिला कोइराला, भोजराज घिमिरे, रामचन्द्र झा लगायतका शिर्षस्थ नेताहरुले बृहत्तरको अध्यक्षको जिम्मेवारी निर्वाह गरेको ठाउँमा आफुपनि अवसर पाएपछि केही जनकपुरको लागि गरौं भन्ने चाहना थियो ।” अध्यक्ष बनेपछि शर्माले भ्रष्टाचार लगायत ३० बुँदे अवधारणा ल्याई जनकपुरमा एउटा आन्दोलनको विगुल फुक्ने तयारी गर्दै थिए । सोही क्रममा बृहत्तरकै कार्यक्षेत्र भित्र पर्ने जनकपुरको सार्वजनिक पोखरीहरुलाई अतिक्रमणबाट मुक्त बनाउने र लोप भइसकेका पोखरीहरुलाई उत्खनन गरी पुनः अस्तित्वमा ल्याउने कार्य योजना बनाई जनकपुर नगरपालिका, गुठी संस्थान र स्थानीय प्रशासन सँग समन्वय गरी अभियानको थालनी गरे । उनी भन्छन,“जनकपुरलाई अध्यात्मिक र आधुनिक जनकपुर बनाउन पोखरी, मठ मन्दिर र गुठीको सम्पति सुरक्षा गरी पर्यटकीय स्थल बनाउन ३ वटा विग अपरेशन चलाउन आवश्यक छ । पोखरीमा थालिएको अभियान एउटा टेलर मात्र हो पुरा सिनेमा अहिले बाँकी नै छ ।”



२०७१ अषाढ २२ गते आईतबार

No comments:

Post a Comment