Wednesday, July 9, 2014

उपेन्द्रलाई सलामी ठोकेर फोरम ज्वाइन गरेको थिईनँ– भरत विमल यादव

लामो समय सम्म गजेन्द्र नारायण सिंहको स्कुलिङमा रहि दोस्रो जनआन्दोलन २०६२÷०६३ मा सात दलिय प्रतिनिधिमा सक्रिय भुमिका निर्वाह गरेका व्यक्ति हुन भरत विमल यादव । लामो निष्कृयता पछि फोरममा प्रवेश गरेका यादव सामुहिक नेतृत्वको आवाज उठाउँदै उपेन्द्र यादवको कार्यशैलीको विरोधमा विद्रोह गर्दै पार्टी समेत परित्याग गरिसकेका छन् । यादवसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ः

अहिले तपाई प्रत्यक्ष राजनीतिमा सक्रिय देखिनुहुन्न नि, किन ?
 हुन त राजनीतिमै छु तर, वर्तमानमा ‘वेट एण्ड सि’ कोअवस्थामा छु । विगतमा म संलग्न रहेको पार्टी मधेसी जनअधिकार फोरम नेपालको खास गरी पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीमा चलाएको निरंकुशता विरुद्ध हामीले आवाज उठाएका थियौं । खास गरी ‘कलेक्टीभ लिडरसिप’ को लागि हामीले जोर सोरले आवाज उठायौं । उपेन्द्रको हैकमवादी र तानाशाहीको विरुद्धमा हामीले आवाज उठाएका थियौं । अहिले सोही क्रममा मैले विद्रोह गरी उक्त पार्टी समेत परित्याग गरिसकेको छु ।
तपाईले पार्टी परित्याग गर्नुभएको हो, वा उपेन्द्र यादवजीले तपाई लगायत अरु नेताहरुलाई अनुशासनको कारवाही चलाएर निष्काशन गरेको हो ?
खैर निष्काशन त उपेन्द्रले मलाई मात्र होइन कसैलाई पनि गरेको छैन । पार्टी परित्याग गर्ने पनि म मात्र हो । पार्टीका पाँच जना टपमस्ट साथीहरुले कलेक्टीभ लिडरसिपका लागि उपेन्द्रजी तयार हुनुहुन्छ भने केन्द्रीय कमिटिको वैठकमा जान सकिने हामीले प्रस्ताव राखेका थियौं । म, रामचन्द्र राय, अभिषेक प्रताप साह, अमरेश नारायण झा र अर्जुन थापा कार्यसमितिको वैठकमा भाग लिएनौं । उपेन्द्रजीले एकजना मेशेन्जर श्रीनारायण यादवलाई हामी कहाँ पठाउनुभएको थियो । एकातिर मेशेन्जर पनि पठाउने अर्को तिर आफ्नो गतिविधि पनि नसुधार्ने प्रवृति यथावत रहयो । अन्तमा उपेन्द्रले भ्रष्टाचार र नैतिकहीनताको पराकाष्ठा नाघेपछि त्यहाँ बस्न आफ्नो नैतिकताले पनि जवाफ नदिएपछि पार्टी परित्याग गरेको हो ।
तपाईलाई समानुपातिक सभाषद वा मन्त्रिपरिषदबाट २६ मा पारिदिएको भए वा पदाधिकारीमा राखिदिएको भए उपेन्द्रजी इमान्दार हुने र त्यसो नगरेपछि उनी भ्रष्ट र नैतिकहीन हुने ? उनी त वास्तवमा मधेस आन्दोलनका नाईके न हुन ।
उपेन्द्र मधेस आन्दोलनको मसिहा होइन कि वास्तवमा आन्दोलनका दौरान एक्सिडेन्टल नेता बनेका हुन । उपेन्द्र यादवले वा पार्टीले समानुपातिकको लागि जुन लिष्ट पठाएको थियो त्यसमा यादवले नै मेरो सबैभन्दा पहिलो प्राथमिकतामा राखि पठाएको थियो । मैले आफै पठाएको पनि होइन । त्यसैले उसँग अलिकतिपनि पोलिटिकल सेन्स भएको भए पार्टीको कोटामा एउटा सिट परेको अवस्था आएको हुने थियो भने पनि मेरो नाउँ राख्नुपथर््यो । फेरी पार्टीमा म बरिष्ठ नेता थिएँ । उपेन्द्रको पनि सिनियर लिडर थिएँ । तर, उले गलत आचरण देखाउँदै भ्रष्ट व्यक्तिहरुलाई पठायो । पुष १८ गते उसले नामावली पठाएकै बेला म पार्टी परित्याग गरिदिन्थे । तर जेष्ठ ७ गते कार्यसमितिको वैठक बोलाउनु भन्दा पाँच छ दिन अगाडी कार्यसमितिमा तपाईलाई पनि राखिएको छ भनेर म्यासेज पठायो । मैले भने, के उपेन्द्रले मलाई निगाह गर्ने हो । म पार्टीको सिनियर लिडर हो । मलाई नसोधिकन जलाई मनलाग्यो त्यसलाई राखेर पार्टीको केन्द्रिय कमिटिको पुनर्गठन गर्ने हो । जलाई मनलाग्यो हटाईदिने र राखिदिने तानासाही व्यवस्था चल्दैन भनेर विद्रोह गरेको हो ।
उपेन्द्रजीले तपाईलाई किन माइनस गर्न थाल्नुभयो त ? उपेन्द्रजी तपाईबाट डराउनुभयो कि वा तपाई कै कुनै गतिविधिमा उहाँले खोट देख्नुभयो ?
म पार्टीको कुनै पदाधिकारी थिइन मात्र बरिष्ठ नेता थिएँ । पार्टीको कार्यसमितिले मेरो विगतको इतिहास र योगदानलाई कदर गर्दै मलाई सम्मान दिएर वरिष्ठ नेता बनाएको हो । म पदाधिकारी पनि थिईन जसकारण मेरा साथीहरु मबाट छुव्ध हुनुपर्ने थियो । पार्टीमा कलेक्टीभ लिडरसिप हुुनुपर्छ भन्ने पार्टीको माग स्वीकार गरेको भए उपेन्द्रको हैकमवादी त चल्दैन्थ्यो । पैसा लिएर सभाषद बेच विखन गर्न त सक्दैन नि ।
यसरी विना आधार सभाषद खरिदविक्रीको आरोप तपाई जस्तो नेताहरुले लगाउन मिल्छ ? उपेन्द्र यादवले रुपैयाँ लिएर समानुपातिक सभाषद बनाएको तपाईसँग प्रमाण छ ?
प्रमाण दुई किसिमको हुन्छ । एउटा दृष्य प्रमाण हुन्छ अर्को परिस्थिति जन्य प्रमाण हुन्छ । होइन भने एक नम्बरमा मेरो नाम सिफारिस थियो । मलाई माइनस गरेर श्रवण अग्रवाल, विरेन्द्र महत्तो, शिवजी यादव र लालबाबुलाई कुन आधारमा समानुपातिक सभाषद बनायो ? उनीहरुको पार्टीमा मैले गरेको मधेसमा योगदानको तुलनामा के वढी छ ? कुन आधारमा तिनीहरु प्राथमिकतामा परे ? आधार त देखाउनु प¥यो नि ।
 तपाई विगतमा सदभावनाको न नेता हुनुहुन्थ्यो । फोरममा तपाईको के योगदान छ ? फोरममा तपाईलाई वरिष्ठ नेता बनाएर सम्मान गरेकै हो नि । फोरमले धनुषा महोत्तरी एउटा पनि सिट जितेन । तपाईलाई किन पार्टीले सभाषद बनाउनु प¥यो ?
फोरमले राजनीति मधेस र मधेसीको लागि गरेको छ । सदभावनामा म हुँदा जुन आधार तयार भएको थियो सोही आधारलाई टेकेर न आज फोरम, तमलोपा लगायतका मधेस केन्द्रित दलहरु गठन भएका हुन ।
त्यसोभए सदभावनामा न तपाईले ब्याज खोज्नुपर्ने हो ? कि फोरममा ? फोरममा पसिना बगाएका, संगठन विस्तार गरेका, मधेस आन्दोलनमा सहादत दिनेहरुको परिवार, घाइतेभएकाहरुले न ब्याज खाने हो ।
समानुपातिक सभाषद नभएकै कारण मैले पार्टी परित्याग गरेको होइन नि । तपाईले कहाँबाट यो ट्विस्ट जोडि दिनुभयो । पार्टी चलाउने उपेन्द्रको तानाशाही प्रवृतिको कारण मैले पार्टी परित्याग गरेको हो ।
समानुपातिक सभाषद चुन्न उपेन्द्र यादवलाई पार्टीले एकल जिम्मा दिएको होइन र ?
त्यो त पार्टीको संसदीय कार्यसमितिमा ल्याएर टुङ्गो लगाउने कुरा थियो । संसदीय समितिको राय परामर्शमा अध्यक्षले चयन गर्ने कुरा थियो । तर, उपेन्द्रले राय नै लिएन । एकल निर्णय ग¥यो । अब उपेन्द्रको बारेमा मैले किन कुनै टिप्पणी गर्नुप¥यो । उ अलग पार्टीमा छ र म अलग धारमा छु ।
उपेन्द्रलाई नेता मानेर नै फोरममा प्रवेश गर्नुभएको हो नि, होइन ?
उपेन्द्रलाई मैले नेता मानेर प्रवेश गरेको हो ? कि उपेन्द्रले मलाई नेता मान्यो । उपेन्द्रले मलाई नेता मानेर, मलाई सम्मान गरेर वरिष्ठ नेता मानेर मलाई फोरममा लगेको हो । तपाई आइदिनुस, तपाई ठुलो नेता हो भनेर भनेपछि गएको हो । उपेन्द्रलाई नेता मानेर मैले फोरम ज्वाइन गरेको होइन ।
त्यसो भए तपाईले किन फोरम ज्वाइन गर्नुभयो ?
उपेन्द्रलाई मेरो छहारी चाहिएको थियो । किनभने उपेन्द्रले दोस्रो जनआन्दोलनमा मेरो भुमिका र योगदान बुझेको थियो ।
तपाईको छहारी भएर पनि फोरम संविधानसभाको दोस्रो चुनावबाट मधेसको ठुलो पार्टी बन्न सकेन नि ? बरु पहिलो चुनावमै मधेसको ठुलो  र देशको चौथो शक्ति बनेको थियो ।
त्यो त अध्यक्षले जिम्मेवारी लिने हो । मैले होइन । पदिय दायित्व त उपेन्द्रको न हो ।
पदाधिकारीमा पनि जाने तपाईको इच्छा थियो ?
म उपेन्द्रको मुनि पदाधिकारीमा जाने । कस्तो कुरा गर्नुहुन्छ तपाई ? म उपाध्यक्ष वा सह(अध्यक्ष बन्ने । जुनबेलामा उ जिल्ला स्तरीय नेता थियो त्यो बेला पनि म राष्टिूय नेता थिएँ ।
त्यो हिजोको दिन थियो तर अहिले उपेन्द्र यादव देशको उपप्रधानमन्त्रि, परराष्टू मन्त्रि भएको मधेस आन्दोलनको नेतृत्वकर्ता रहेको, फोरमको अध्यक्ष हुन । यस्तो अवस्थामा उनी शक्तिशाली त हुन नि, होइन र ?
सबै थोक मन्त्रि नै भएपछि हुन्छ भन्ने होइन । आज भारतमा नरेन्द्र मोदीको मुनि भारतीय जनतादलका अध्यक्ष राजनाथ सिंह आएका छन् नि, कि छैन ।
होइन उपेन्द्रजीको मातहत तपाई आइदिएकै भए के आकाश खस्थ्यो र ?
उपेन्द्रको तल म किन जाने ?
तपाईलाई कुनै भुमिका दिइएको थिएन र ? विभिन्न उच्च स्तरीय वैठकहरुमा र कार्यदलहरुमा तपाईलाई उपेन्द्रजीले पार्टीको प्रतिनिधित्व गर्न पठाएकै हो । अरु के चाहिएको थियो तपाईलाई ?
अब यो विषयमा धेरै कुरा नगरौं ।
मधेसका पार्टीहरु बीच किन एकिकरण भईरहेको छैन ?
पार्टी एकिकरण हुनुपर्छ भनेर मैले जोडदार माग गरेको हो । सबै पार्टीहरुका नेताहरु बीच नेतृत्वको विषय र पदिय भागबन्डा नमिलेर पार्टी एकिकरण भईरहेको छैन । सबैलाई अध्यक्ष नै चाहियो । त्यसोमा कसरी हुन्छ एकिकरण ?
तपाईको बिचारमा कसको नेतृत्वमा पार्टी एकिकरण हुनुपर्ने हो ?
त्यो त तीन पार्टीका तीन जना नेताहरुले निर्णय गर्ने हो । जो सुकै भएपनि मलाई के मतलब । अब म फोरममा पनि छैन । मेरो के सरोकार ?
मधेसको मुद्दाका लागि मधेस केन्द्रित दलहरु संविधानसभामा अड्लान ?
त्यो त उनीहरुलाई नै सोध्नुस ।
दोस्रो आन्दोलनपछि धेरै लामो समय तपाई निष्कृय वस्नुभयो । फेरी दोस्रो चुनावको मुखैमा किन फोरममा प्रवेश गर्नुभयो ?
चुनावको मुखैमा होइन एक वर्ष अघि मैले फोरममा प्रवेश गरेको हो । फेरी तपाईलाई धोका नहोस कि मैले उपेन्द्रलाई सलामी ठोकेर फोरममा प्रवेश गरेको थिएँ ।
उपेन्द्रलाई तपाईले राजनीतिक रुपमा के फाइदा पु¥याउनुभयो ?
म कार्यकारी पदमा नभएपनि मैले आफ्नो ठाउँबाट जे गर्नुपर्ने थियो त्यो गरे । हाईलेवेल मिटिङहरुमा गएकै हो ।
त्यसो भए तपाईलाई सोकेशका लागि मात्र उपेन्द्रजीले लग्नुभएको थियो ?
त्यसैकारण त चुनावमा यो परिणाम आयो । उसले मलाई चुनावमा उपयोग नै गरेन । कुनै नेतालाई प्रोजेक्ट नै हुन दिएन । चुनावको वातावरण बनाउन ठाउँ ठाउँमा आम सभा आयोजन गर्ने, नेताहरुलाई प्रोजेक्ट गर्ने काम उनले गर्दै गरेनन् ।
विगतमा विभिन्न नेताहरुलाई उनले प्रोजेक्ट गरे । विजय गच्छदार, सरत सिंह भण्डारी, जयप्रकाश गुप्ता लगायतका नेताहरुलाई ठुलै भुमिका दिए । तर, तिनै नेताहरु उपेन्द्रजीलाई छोडेर अलग अलग पार्टी गठन गरी आ(आफ्नो बाटो लागे । यस्तो अवस्थामा त्यही डरले नेताहरुलाई प्रोजेक्ट नगरेको पनि हुन सक्छ नि ?
त्यो त उपेन्द्रलाई सोध्नुस । मेरो तुलना तपाई विजय गच्छदार, जयप्रकाश गुप्ता र शरत सिंह भण्डारी सँग गर्न मिल्छ । तपाई कस्तो कुरा गर्नू हुन्छ । मैले मधेस र मधेसी जनताको लागि गरेको योगदानसँग उहाँहरुको तुलना पनि छैन । मैले त गजेन्द्र नारायण सिंह, रामजनम तिवारी लगायतका नेतालाई असिस्ट गरेको हो । यी नेताहरुसँग मेरो तुलना नगर्नुस । उपेन्द्र पार्टीमा अरु कुनै नेता स्थापित नहोस र आफ्नो हैकमवादी सदा चलिरहोस भन्ने चाहन्छन् ।
अब तपाईलाई आफ्नो पार्टीमा ल्याउन क–कसले सम्पर्क गरेका छन् ?
थुप्रै नेताहरुले सम्पर्क गरी रहेका छन् तर म चाहीँ वेट एण्ड सीको अवस्थामा छु ।
तर पनि गणतव्य चाहिँ कता हो तपाईको ?
 प्रष्ट भन्नु हुन्छ भने अहिले मलाई बर्तमान अवस्थामा कुनै पनि राजनीतिक पार्टीहरुसँग चित्त बुझिरहेको छैन । हुन सक्छ म आफै नेतृत्वमा भोलीको दिनमा कुनै नयाँ पार्टी पनि संचालन गर्न सक्छु ।
 
२०७१ अषाढ २२ गते आईतबार

No comments:

Post a Comment