Sunday, February 2, 2014

पाँच जनाको लासलाई के गरियो ?


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाको यदुकुहाबजार भन्दा झन्डै एक किलोमिटर उत्तरमा आठ सयजति मानिसहरुको बसोबास भएको एउटा सानो बस्ती छ, जहाँ मुख्य गरेर यादवजातिका किसानहरु बस्दछन् । गाउँका नेता शिवधारी यादवलाई २०४६ फाल्गुन ९ गते जुलुसको प्रबन्ध गर्ने जिम्मेवारी दिइएको थियो । एक हप्ताअगाडि देखि लुकीछिपी बसेका शिवधारी अघिल्लो दिन मात्र घर फर्केका थिए । यति बेला उनी मानिसहरुलाई जुलुुसमा सहभागी गराउन गाउँ घुमिरहेका थिए । उनको कुरा मानेर धेरै मानिसहरु नेपाली कांग्रेसका झन्डा र नारा लेखिएका ब्यानर लिएर सबेरैदेखि उनको घरमा भेला हुन थालेका थिए ।
दिउँसो १ बजिसकेको थियो । बद्री प्रसाद महतो दौडदै शिवधारीको घरमा आएर स्याँस्या गर्दै भने, ‘जनकपुरबाट पुलिस आएका छन् । उनीहरु शिवधारीलाई गिरफ्तार गर्न आएजस्तो छ । शिवधारीलाई तुरुन्तै भगाउनुपर्छ ।’
सोनावती देवी,मुनेश्वरी देवी, जानकी देवी,राम नारायण यादव र उदय शंकर मण्डल
बद्रीले केही पर पानी सुकेको खोलाको बीचमा पुलिसको गाडि फँसेको र गाडीबाट करिब ३० जनाजति पुलिस ओर्लेर गाउँतिर आउँदै गरेको देखेका थिए । बद्रीको कुरा सुन्नेबित्तिकै शिवधारी पछाडिको ढोकाबाट लुसुक्क बाहिर निस्किहाले । अलिकतिले मात्र उनी उम्के । उनी निस्कनेबित्तिकै पुलिस उनको घरमा आइपुग्यो । दुई दिशाबाट आएका पुलिसहरु उनको घरअगाडि मिसिएर जबर्जस्ती ढोका खोली घरको भित्रिचोकमा पसे र शिवधारीलाई खोज्न थाले ।
‘तिमीहरुको नेता खोई ? ऊ यहीँ हुनु पर्छ ,’ मैथिली बोल्न नजान्ने एक जना पुलिसले नेपालीमा सोध्यो ।
‘केही दिनदेखि घर आएको छैन । विश्वास लाग्दैन भने खानतलासी गर्नुहोस् ।’
शिवधारीलाई घरमा नभेटेपछि पुलिसले जो अघिल्तिर प¥यो उसैमाथि आफ्नो रिस पोख्न थाल्यो । पुलिसले शिवधारीका छोरा विशेश्वर, बद्री, ककनी यादव र शिवधारीका एक जना कामदारलाई पक्रयो र उनीहरुका हात पछाडिपट्टी बाँध्यो । हल्लाखल्ला सुनेर गाउँका सबै मानिसहरु शिवधारीको घरमा भेला भए । उनीहरुले सोधे, ‘यी निर्दोष मानिसहरुलाई किन पक्रेको ? शिवधारीसँग यिनीहरुको केही सम्बन्ध छैन ।’
भीड यति ठूलो भएको थियो कि बन्दुकधारी पुलिसले समेत आफू खतरामा परेको महसुस गरे । त्यहाँबाट उम्कने बाटो खोज्दै उनीहरुले भने, ‘हामीले यी चार जनालाई बाँधेर गल्ती ग¥यौं । तपाईहरु जुलुस निकाल्नुहोस् अथवा जेसुकै गर्नुहोस् । तर हामीलाई यहाँबाट जान दिनुहोस् ।’
गाउँलेले पुलिसहरुलाई उत्तरतिरको बाटो भएर जाने अनुमति दिए । किनभने दीपक र विष्णुदेवको नेतृत्वमा यदुकुहाबाट जुलुस आउने बेला भएको थियो । शिवधारीको घर छाडेर पुलिसहरु चुपचाप हिँडेका गाउँलेहरुले हेरिरहे । तर झन्डै ५० मिटर पर पुगेपछि पुलिसहरु अचानक पछाडि फर्किए र तीन जनाले राइफल सोझाउँदै भीडमा गोली हाने । गाउँलेहरु यति हतप्रभ भए कि उनीहरुले के भएको हो भन्ने बुझनै सकेनन् । गोली लागेर मानिसहरु ढलिरहेका थिए र पुलिसले १४(१५ राउन्ड गोली चलाएर हिँड्दासम्म उनीहरु हेरेको हे¥यै भए ।
शिवधारीको घरको आँगन एक निमेषमै नर्कमा परिणत भयो । रामनारायण यादव र जानकीदेवी यादवको घटनास्थलमै मृत्यु भयो । मुनेश्वरीदेवी र सोनावतीदेवीको पेटमा गोली लागेको थियो अनि उदयशङकर मण्डलको पेट र छातीमा । उनीहरुको अवस्था चिन्ताजनक थियो । वरपर उपचार गर्ने ठाउँ नभएकाले घाईतेहरु बाँच्ने आशा बिल्कुल थिएन । मुनेश्वरीदेवी यादवको वीरगन्ज अस्पतालमा मृत्यु भयो । सोनावती देवीको मृत्यु भारत लाँदै गर्दा बाटैमा भयो र उदयशंकरले जनकपुर लैजाँदै गर्दा पुलिसको गाडिमा प्राण त्यागे । गोलीको सिकार हुनेमा शिवधारीको आँगनमा बाँधिएको एउटा गोरु पनि परेको थियो । ४२ वर्षीया जानकीदेवी शिवाधरी यादवकी बहिनी थिइन् । उनका दुई छोरा र दुई नातिनातिना थिए । मुनेश्वरीदेवीका दुई जना र सोनावतीदेवीका पाँच जना छोराछोरी थिए । उदयशंकर भर्खर १४ वर्ष टेकेका किशोर थिए । मारिएका पाँचै जना निर्दोष गाउँले थिए जसको राजनीतिसँग कुनै सम्बन्ध थिएन् । जानकीदेवीको प्राण गइसके जस्तो देखिए पनि बचाउन सकिन्छ कि भनेर गाउँलेहरुले उनलाई गोरुगाडामा राखेर यदुकुहाको स्वास्थ्यचौकीमा पु¥याए । तर उनीहरुको प्रयास निरर्थक भयो । स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुले उनी मरिसकेको बताए । जानकीदेवीलाई स्वास्थ्यचौकी पु¥याउनेहरुमा जयनगरको कलेजमा अध्ययनरत विद्यार्थी चन्द्रलाल यादव पनि एक थिए । स्वास्थ्यचौकीबाट उनीहरुले लास फर्काएर गाउँ लैजान लाग्दा पुलिसले उनीहरुलाई रोक्यो । जानकीदेवीको लास बोकेको गोरुगाडालाई प्रहरीले बलपूर्वक नजिकैको पुलिसथाना लग्यो र चन्द्रलाल तथा उनीसँगै गएका अरु गाउँलेलाई थुनामा राख्यो । पछि जानकीदेवी र रामनारायणको लासका साथै त्यति बेलासम्म जीवितै रहेका उदयशंकर, चन्द्रलाल र पक्राउ परेका गाउँलेहरुलाई जनकपुर चलान गरियो । जनकपुर यदुकुहाबाट १५ किलोमिटर मात्रै टाढा छ । तर यदुकुहाबाट जनकपुर जाने सोझो बाटो नभएकाले  कच्ची बाटो भएर २० किलोमिटर उत्तर गई गाडीमा पूर्वपश्चिम राजमार्गको ३० कि.मि. दूरी तय गरेपछि मात्र जनकपुर पुग्न सकिन्छ । कच्ची बाटो त्यसमाथि थोत्रो गाडीको थच्याईमा परेकाले उदयशंकरको बाटैमा मृत्यु भयो । उनीहरुलाई सीधै प्रहरी उपरीक्षकको कार्यालयमा लगियो । त्यहाँ ती तीनओटा लासलाई अर्को गाडीमा राखेर अन्त कतै लगियो । ती लासहरुलाई के गरियो भन्ने कुरा गाउँलेले कहिल्यै थाहा पाएनन् , किनभने उनीहरुका आफन्तले लास फिर्ता पाएनन् ।

मिति ः २०७० माघ १९ गते

No comments:

Post a Comment