Sunday, February 2, 2014

२० गते देखि टी–२० प्रतियोगिता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालका स्टार खेलाडीहरुको खेल तपाई हेर्न चाहनु हुन्छ भने जनकपुरमा २० गते देखि हेर्न पाउनु हुनेछ ।
 माघ २० बाट जनकपुरमा हुने दीपक गुप्ता मेमोरीयल टी (२० क्रिकेट प्रतियोगिता मा नेपालका स्टार क्रिकेटरहरु लगायत भारत विहारको रणजी टीमका खेलाडीहरु बीचको प्रतिस्पर्धाको रोमाञ्च लिन सक्नु हुन्छ । जिल्ला क्रिकेट संघ धनुषाको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा नेपालका र भारतको गरी कुल ८ वटा टीमहरु सहभागी हुदैछन् । जसमा आयोजकको तर्फबाट जनकपुरको टीमका क्रिकेटरहरुले पनि आफ्नो जोहर देखाउने छ । जनकपुरको तर्फबाट राजमोहम्मदको कप्तानीमा हरिशंकर प्रसाद साह, चन्दन झा, अभिषेक झा, समिर नेपाल, राहुल प्रताप सिंह, सुनिल साह, गोपाल सिंह लगायतका सिनियर खेलाडीहरुले खेल्ने छन् ।
    जनकपुरका प्रशिक्षक नविन सिंहका अनुसार जनकपुरले पनि कडा प्रतिस्पर्धा दिने छन् । जनकपुर टीमका खेलाडीहरु भर्खर मात्र भारत विहारको टुर्नामेन्टहरुमा जित हात पारेका कारण खेलाडीहरुको आत्मबल बढेको छ । हुन त यसपटक जनकपुरका स्टार अन्तराष्टिूय क्रिकेटर अनिल मण्डल जनकपुर टीमबाट नखेली नेपाल आर्मीको टीमबाट खेल्ने भएका छन् ।
    जनकपुरका पुर्व कप्तान कुमार प्रशुन भन्छन,“जनकपुर टीममा अनिल मण्डलको कमी त अवश्य नै महसुस हुनेछ । तर, मण्डलको व्याकअप पक्कै हुने विश्वास गरेको छु ।” टीमका राम्रा खेलाडीहरुले राम्रो परफरमेन्स गर्ने विश्वास छ, जित हार भन्दा पनि कुन स्तरको क्रिकेट जनकपुरले खेल्ने हो त्यो महत्वपूर्ण हुने भन्दै पुर्व कप्तान कुमार प्रशुन भन्छन,“ विराटनगर विरुद्ध कडा प्रतिस्पर्धा हुने, एपीएफको विरुद्धमा एपीएफको नै पलडा भारी हुने र रिंकी एलेवन पनि भारत विहारको मधुवनी,दरभंगा र पटना लगायतका ठाउँहरुबाट खेलाडीहरुले खेल्ने हुनाले जनकपुरले कडा मिहिनेत गर्नुपर्ने देखिन्छ । गत वर्ष कुमार प्रशुनको अगुवाईमा जनकपुर टीमले टुर्नामेन्टमा जलेश्वरलाई मात्र हराउन सकेको थियो । यस वर्ष झन विगतका क्रिकेटर कुमार प्रशुन र अनिल मण्डल नहुँदा जनकपुर टीमलाई धेरै गाह्रो पर्ने क्रिकेट क्षेत्रका जानकारहरु बताउँछन् । धनुषा क्रिकेट संघको आयोजनमा दोस्रो पटक हुन गइरहेको दीपक गुप्ता मेमोरियल टी २० खेलको म्याच सेडयुल सार्वजनिक गरिएको छ ।
     कुल ८ टीमले प्रतिस्पर्धा गर्ने उक्त टुर्नामेन्टको ग्रुप ‘ए’ मा जनकपुर क्रिकेट टीम,विराट क्रिकेट सोसाइटी विराटनगर, आर्मी पुली फोर्स एपिएफ र रिकी एलेभन विहार रहेको छ भने गु्रप ‘वी’ मा समस्तीपुर विहार, कलैया क्रिकेट टीम विरगंज, त्रिभुवन आर्मी क्लव(नेपाल आर्मी), राजेस क्रिकेट एकेडमी पटना रहेका छन । माघ २० गते देखि सुरु हुने उक्त टुर्नामेन्टको पहिलो खेल जनकपुर क्रिकेट टीम र विराटनगर क्रिकेट टीम विच हुने भएको छ । त्यसैगरि प्रतियोगीताको सेमी फाइनल खेल १० फरवरी र फाइनल खेल ११ फरवरीको हुने आयोजकले जनाएको छ । गत वर्षको टुर्नामेन्टमा एपीएफ टीमले उपाधि उचालेको थियो भने भारत विहारको समस्तीपुरका टीम दोस्रो स्थानमा चित्त बुझाएका थिए । यस पटक विहारको तीन वटा टीम र नेपालको एपीएफ र आर्मी समेत भिड्ने हुँदा प्रतियोगिता अत्यन्तै रोमाञ्चक हुने अनुमान गरिएको छ । जनकपुरमा क्रिकेटको क्रेज दिन प्रति दिन वढी रहेको अवस्थामा  उक्त टुर्नामेन्टले जनकपुरको क्रिकेटको विकासमा अहम योगदान पुग्ने बताइन्छ ।
     गत वर्ष टुर्नामेन्ट हेर्न हजारौं मान्छे बारह विघा मैदानमा पुगेका थिए । यस पटक पनि व्यवस्थापनले पार्किङ, कैन्टीन लगायत थप व्यवस्थित गरेको हुनाले दर्शकहरुको उल्लेख्य उपस्थिति हुने आयोजक पक्षले अनुमान गरेको छ । ग्राउण्डको सम्पुर्ण तैयारी पुरा भईसकेको आयोजकले जनाएको छ ।
     विहिवार पत्रकार सम्मेलन गरि जानकारी गराउँदै प्रतियोगिताका संयोजक सरोज मिश्रले पछिल्लो वर्षमा समेत दिपक गुप्ता मेमोरीयल टी ( २० प्रतियोगिताले चर्चा पाइ सके पनि अपेक्षाकृत आर्थिक सहयोग प्राप्त हुन नसकेको उनले उल्लेख गरे ।
    उनले विगतमा भएको त्रुटीलाई सुधार गर्न  यसपटक हरेक कार्यमा ध्यान दिइएको जानकारी दिए । यस पटक दर्शकहरुले ५० रुपैयाँको टिकेट किनेर कुर्र्सीमा वसेर खेलको मजा लिन सकने मिश्रले जानकारी दिए ।
    जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष दिपक भगतले नेपाल बंगलादेश, एभरेष्ट, नबिल, सहयोगी विकास लगायतक बैंकहरुबाट प्रतियोगिताको लागि सहयोग प्राप्त भए पनि अन्य बैंकहरुबाट प्राप्त हुन नसकेको भन्दै आर्थिक सहयोग गरेर प्रतियोगिता सफल बनाउन सवै निकायले सहयोग गर्न आग्रह गरेका छन । उनले व्याट र वलको लागि क्यानले सहयोग गरेको छ ।

मिति ः २०७०  माघ १९ गते 

No comments:

Post a Comment