Sunday, February 2, 2014

शहीदहरुको इतिहासलाई नामोनेट गर्ने, शक्तिहरु नै देशको राजनीतिक शक्तिमा काविज छन् – युवराज खाँती

२०३० साल देखि विद्यार्थी आन्दोलनमा सहभागी भएका युवराज खाँती भन्छन,“जनकपुर भनेको बलिदानको गढ हो । देशमा जति पनि आन्दोलनहरु भए, बलिदानी दिइए, तपाईले भने जस्तै जनकपुरको अग्रणी स्थान रह्यो । त्यसैले गर्दा त जनकपुर माथि निर्मम प्रहार भएको हो । ताकी यहाँबाट परिवर्तनको सम्भावनाको कुनै पनि किसिमको विउः नदेखापरोस् । र, त्यसैले गर्दा यहाँ वढी आक्रमण भएका छन् । वढी मान्छे मारिएका छन् । शहीद भएका छन् । वढी घाइते भएका छन् । वढी विस्थापित भएका छन् ।” खाँतीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको  वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ः

हरेक आन्दोलनमा सहादत दिने शहीदहरुको लामो सूचि नै छ, जनकपुरमा । देशले नै साताव्यापी शहीद दिवस मनाइरहेको वेला तपाईले कसरी मनाइरहनु भएको छ ?
शहीदहरुलाई सम्झना गरेर शहीद दिवस मनाइरहेको छु । शहीदहरुले देशको उन्नतीको लागि, आम जनताको स्वाभीमानको लागि, लोकतन्त्रको संस्थागत विकासको लागि आफ्नो प्राण आहुति दिए । तिनै शहीदहरुको बलिदानलाई उपेक्षा गर्र्ने, इतिहासलाई नामोनेट गर्ने, शक्तिहरु नै देशको राजनीतिक शक्तिमा काविज छन् । त्यसो भएको हुँदा दुःखका साथ शहीदहरुको शहादतलाई प्रेरणाका साथ ती शहीदहरुलाई सम्झिरहेको छु ।
जुन उद्देश्य बोकेर विभिन्न परिवर्तनका आन्दोलनमा शहीदहरुले आफ्नो प्राणको आहुति दिए, के ती उद्देश्यहरु प्राप्ति भएको तपाईलाई लागिरहेको छ, त ?
ती शहीदहरुको वलिदानलाई ठाडो उपहास गर्ने, ती शहीदहरुको अमर आत्मालाई बलात्कार गर्ने, दुस्साहास खुलेआम भइरहेको छ । जुन मानिसमा सामान्य चेतना छ, तीनिहरुले प्रष्ट बुझिरहेका छन् । कुनै पनि हालतमा अहिलेका जो राजनीतिक शक्तिहरु छन, उनीहरुले शहीदहरुको वलिदानलाई सम्मान गर्ने वा उनीहरुको सपना साकार पार्ने काम गर्न सक्दैन भन्ने मलाई लाग्दछ । मेरो यो अनुभुति आम मान्छेसँग पनि जोडिएको हुनुपर्दछ ।
तपाई २०३० साल विद्यार्णी आन्दोलन देखि नै विभिन्न आन्दोलनमा सहभागी हुनु भयो । विभिन्न आन्दोलनमा शहादत दिने शहिदहरु प्रति राज्यले पनि विभेद गर्दै आएको छ । उदाहरणको लागि देशमा गणतन्त्र प्राप्तिका लागि सहादत दिने वीर मधेसी सपुत दुर्गानन्द झालाई राज्यले देशमा गणतन्त्र आइसक्दा पनि राष्ट्रिय शहीद घोषणा गर्न सकेको छैन । यसमा कस्को कमजोरी देख्नु हुन्छ ?
संसारमा कहीं पनि शहीदहरुसँग विभेद गरिदैन । शहीद भनेको एउटा साझा सम्पति हो, गौरव हो । र, आउने सन्ततीको लागि एउटा सशक्त उर्जा हो । यी शहीदहरुमै विभेद देखिएको छ । र, जो पनि छन, त्यहाँ कुनै किसिमको सम्मान देखिदैन । दुर्गानन्द झा जस्ता अमर शहीदहरु, अहिले पनि उहाँहरुलाई अँध्यारो कोठामा बन्द गरिएको छ । अहिलेका राजनीतिक पार्टीहरु, जसको आवरणमा आफुलाई ठुला क्रान्तिकारी भनिरहेका छन् । तर, तिनीहरुको भित्रका व्यवहारहरु खुनखार अपराधि भन्दा पनि डरलाग्दो किसिमको छ ।
विभिन्न आन्दोलनका दौरान जसो तसो मृत्यूवाट वाँचेकाहरुलाई नेपाली कांग्रेसले जिउँदा शहीद को संज्ञा दियो । ती जिउँदा शहीदहरुको हाल तपाईले कस्तो पाउनु भएको छ ?
संक्षेपमा भन्नुपर्दा खेरी, आम मान्छेको नै जीवन नारकीय भइसकेको छ । भने पछि जो जीउँदा शहीदहरु संयोगले बाँचे, जो यौद्धाहरु छन्, वा आम मान्छे छन्, कसैको पनि हालत राम्रो छैन । मैले भनिसके यो देशमा राजनीतिक मुल्य, मान्यताको संघर्ष अन्त भइसकेको छ । अपराधिहरुले यो देशलाई जबरन चलाइरहेको अवस्था छ । परिवर्तनकामी शक्तिहरु निरिह अवस्थामा छन् । आम मानिसले भोग्नु परेको अहिलेको अवस्था अत्यन्तै भयावह र चिन्ताजनक अवस्था छ ।
अहिलेका पुस्ताले देखिरहेका छन शहीद परिवारहरुको विजोगलाई । भनिरहेका छन, हेर, कस्तो दुरावस्था हुन्छ शहादत दिने शहीद परिवारहरुको । भनेपछि अव हुने आन्दोलनमा सहादत दिन त तयार हुँदैन होला नि । जुन राजनीतिक दलको झण्डा बोकेर शहादत दिए ती दलले नै शहीद परिवार प्रति वेवास्ता गरे । तसर्थ कोही पनि अब आन्दोलनका लागि सडकमा आउन त हिम्मत गरने अवस्था त छैन । के भन्नु हुन्छ ?
२००७ सालदेखि आन्दोलनमा लाग्नु भएका निरगुन यादवको निधन भएपछि राज्यद्वारा राष्ट्रिय सलामी दिइनु पर्ने थियो । तर, पार्टीले वास्ता नै गरेन ।     कुनै पनि मान्छेले किन संघर्ष गर्छन, वलिदान दिन्छन भने आउने पुस्ताको लागि उज्जवल भविष्य निर्माण गर्न सकियोस । उसले आफ्नो जीवन, परिवारको जीवनलाई माया गरेर संघर्षमा लागेको हुँदैन । देशलाई साझा घर बुझेर लागेका हुन्छन् । र, यस्ता व्यक्तिहरु अमर हुन्छन् । इतिहासको पानामा स्वर्ण अक्षरले यिनीहरुको नाउँ लेखिन्छन् । निरगुन यादव सँग सँगै धेरै विभुतिहरुलाई गुमनाम पारिएको छ । यसको पछाडि के कारण हो भने समाजका परिवर्तनकामी शक्तिहरु जो थिए, एक पछि अर्कोलाई निस्तोनावेद गर्ने काम गरिएको छ । ताकी यिनीहरु निराश होस । र, फेरी कुनै परिवर्तनका लागि अगाडि नआओस । देश र समाज हाम्रो गुलामीको दास्तामा झन झन फस्दै जाओस भन्ने हेतुले राजनीतिक अपराधिहरुद्वारा सुनियोजित ढङ्गले त्यसो गरिएको हो । यो कुनै अप्रत्यासित र आश्चर्यजनक रुपमा हेर्नुपर्ने कुरा होइन । यो श्रृङ्खला अझ केही वर्ष सम्म चलिरहन्छन् जव सम्म इमान्दार, नयाँ शक्ति र नयाँ पिढी यिनीहरुको विरुद्धमा आउँदैनन । क्षेत्र, धर्म, संकीर्ण सोचबाट जव सम्म मुक्त हुँदैनन तवसम्म यी शक्तिहरु आइरहन्छन् । यिनीहरुको एउटै मुल मन्त्र के हो भने ‘डिभाइड एण्ड रुल’ । फुटाउने र शासन गर्ने । जति पनि आन्दोलनहरु भइरहेका हुन्छन, यिनीहरु नै छद्म रुपमा काम गरिरहेका हुन्छन् । र, फेरी यिनीहरु नै त्यसलाई अपमानित गर्ने, तेजोवध गर्ने काम पनि गरिरहेका हुन्छन् । ४६ सालको आन्दोलन पछि पनि थुप्र्रै आन्दोलन भए । मधेसमा मधेस आन्दोलन भए तर मधेसीहरु नै सबै भन्दा वढी प्रताडित छन् । किन ? किनभने यही समाज भित्र ती अपराधिहरुको वोलबाला र पकड कुनै न कुनै रुपमा रहन्छ । ताकि नयाँ शक्ति चुनौति दिन तयार नहोस्, नजन्मोस । र, आफ्नो लुटको् धन्दा निर्वाध रुपमा चलिरहोस् ।
भनेपछि राजनीतिक शक्तिहरुले शहीदहरुको सहादतलाई सत्ताको भन्याङ् वनाई ब्याज खाइरहेका छन र ऐसो आराम गरिरहेका छन, भन्नु भएको हो ?
जसरी भन्नुस, ब्याज खाएको भन्नुहोस वा लुटिरहेको भन्नुहोस । आउने पुस्ताको भविष्य यिनीहरुले अन्धकारमा पारिरहेका छन् ।
अहिले सडक दुर्घटनामा परी मृत्यु भएका पनि शहीद, कोही अपराधि मारिदा पनि शहीद बनिरहेका छन् । यस्तोमा सच्चा शहीदहरुको शहादतको अवमूल्यन गरिने काम भइरहेको प्रति तपाई के टिप्पणी गर्न चाहनु हुन्छ ? १० लाख रुपैयाँ क्षतिपुर्ति पाउनको लागि शहीद घोषणा माग गर्ने गरिन्छ । किन आएको होला, यस्तो अवस्था ?
अहिले राज्य सत्तामा अपराधिहरुको बोलबाला छ । विभिन्न राजनीतिक पार्टीहरुले जनतालाई गुमराह गरिरहेका छन् । अन्तराष्ट्रिय शक्तिहरुको यिनीहरुलाई संरक्षण छ । यी सबै कुराहरु बुझ्दा बुझ्दै पनि जनता असहाय र कमजोर अवस्थामा छन् । हिजो जो पार्टी लडे, इतिहास हेर्दा सही जस्तो देखिन्छ । हिजोका आन्दोलनका नायकहरु नै सत्तामा पुगेर खलनायक सावित भएका छन् । ती खलनायकहरुको करतुतहरुलाई, चरित्रलाई उजागर गर्ने नयाँ शक्ति छैन । यिनीहरुको बोलबाला रहुन्जेल सम्म यावत अवस्था रहिरहन्छ ।
हरेक आन्दोलनको केन्द्रविन्दु, बलिदानी दिनमा पनि पछाडि नपर्ने शहरको रुपमा जनकपुरलाई लिइन्छ । अवको अगामी दिनमा पनि जनकपुरले त्यो भुमिका निर्वाह गर्ला त ? तपाईलाई लाग्छ ?
मलाई लाग्छ । किन भने जनकपुर भनेको बलिदानको गढ हो । देशमा जति पनि आन्दोलनहरु भए, बलिदानी दिइए, तपाईले भने जस्तै जनकपुरको अग्रणी स्थान रह्यो । त्यसैले गर्दा त जनकपुर माथि निर्मम प्रहार भएको हो । ताकी यहाँबाट परिवर्तनको सम्भावनाको कुनै पनि किसिमको विउः नदेखापरोस् । र, त्यसैले गर्दा यहाँ वढी आक्रमण भएका छन् । वढी मान्छे मारिएका छन् । शहीद भएका छन् । वढी घाइते भएका छन् । वढी विस्थापित भएका छन् ।
यो क्रान्तिको उर्वरा भुमि हो । जतिसुकै आक्रमण भए पनि, भ्रम छिर्ने षड्यन्त्र गरिए पनि देश र जनताको लागि परिवर्तन चाहने नयाँ पिढी ढिलो चाँडो संंगठित भएर आउँछन् । मलाई लाग्दैन, समाजको विकासको लागि जनकपुरको जुन भविष्योन्मूख इतिहास छ, त्यसलाई कसैले रोक्न सक्छ ।
शहीदहरुले देखेका सपना साकार पार्न कसले के गर्नु पर्ला ?
सर्वप्रथम शहीदहरु प्रति हामीहरु नतमस्तक भएर उनीहरुको बलिदानलाई आत्मसाथ गर्र्नु पर्छ । त्यसको सिद्धान्तलाई व्यवहारमा उतार्नु पर्छ । शहीदहरुको बलिदानी हाम्रै लागि हो, हाम्रै उज्जवल भविष्यका लागि हो भनेर आम जनताले बुझ्नु पर्दछ । देर सवेर शहीदहरुको सपना पुरा हुन्छ नै । किनभने जति देशहरुमा परिवर्तन भएका छन् ती देशको प्रगतिको पछाडी शहीदहरुको रगतको छाप पाउँछौं । र, त्यो छाप जनकपुरको भुमिमा प्रशस्त छ । यत्र तत्र सर्वत्र छ । त्यसैले गर्दा म आशामुखी छु ।
कसले गर्नु पर्ने  के हो ?
बदलावका लागि जागरुक हुुनु प¥यो । सबै आफै अगाडी आउनु पर्छ ।
हिजो जसरी सडकमा महान योद्धाहरु देशका लागि अगाडी आए, अहिले त झन त्यो अवस्था देखिदैन नि ?
हिजो त झन त्यो अवस्था थिएन । हिजो त झन जटिल अवस्था थियो । कठिन अवस्था नभइदिएको भए परिवर्तनका लागि मान्छे शहीद हुनै पर्ने थिएन । सबैलाई आफ्नो ज्यान र परिवार प्रति माया हुन्छ तर तिनीहरुले ती सबैलाई दरकिनार गर्दै हाम्रा लागि सहादत दिएका हुन । वर्तमान पिढी शहीदहरुको ऋणी हो । अहिले निराश देखिए पनि त्यसमा पक्कै आशाको वादल एक न एक दिन फुट्छ । परिवर्तनका लागि विशेष गरी नयाँ पिढी तयार हुन्छन भन्ने मेरो गहिरो विश्वास छ । आजका पिढीले हिजो, आज र भोलीको अवस्थाको तुलनात्मक अध्ययन गरेका छन् । उनीहरु आउँछन । देश र समाजको भविष्यको दायित्व यूवा पिढीको काँधमा छ । शहीदहरुको रगत र बलिदानीलाई यूवा पिढीले खेर जान दिन्छन भन्ने मलाई लाग्दैन ।
अहिले सम्मको अवस्थामा शहीदहरुको बलिदानी खेर गएको जस्तो लाग्छ तपाईलाई ?
आउने पुस्ताले त्यसको हिसाव किताव गर्छ ।



मिति ः २०७०  माघ १९ गते 

No comments:

Post a Comment