Sunday, February 2, 2014

बीर योद्धा र शहीदहरुको दलबाट नै उपहास

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गत माघ ६ गते विहान ६ बजेर १८ मिनेटमा नेपालका एक जना प्रजातान्त्रिक सेनानी निर्गुन यादवको निधन भयो । १ सय ४ वर्ष सम्मको जहानियाँ राणा शासन विरुद्ध २००४ साल देखि २००७ सालको विशेश्वर प्रसाद कोइरालाको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको तत्कालिन धनुषा(महोत्तरी कमाण्डरको पार्थिव शरीरको नेपाली कांग्रेस धनुषाले पार्टीको झण्डा ओढाएर आफ्नो दायित्व पुरा ग¥यो । २००४ साल देखि १ पुष २०१७ सालसम्म अहम योगदान गर्नुभएका महान प्रजातान्त्रिक योद्धाको निधन हुँदा पनि कांग्रेसका नेतृत्व वर्गलाई छोएन ।  निरगुनजीको शवलाई राजकिय सम्मान दिइनुपर्ने थियो । तोपको सलामीका साथ विदाई गर्नुपर्ने थियो । तर, सत्ता प्राप्तिमै लिप्त रहेका पार्टीका नेताहरुलाई त्यसको कुनै वास्ता नै भएन । केन्द्रिय कार्यालयले शोक विज्ञप्ति समेत जारी गर्न सकेन । देशैभरी कांग्रेसको पार्टी कार्यालयमा झण्डा झुकाइनुपर्ने थियो तर त्यसो भएन । श्रद्धाञ्जली सभा आयोजन हुनुपर्ने थियो । तर, त्यसो भएन । निरगुनजीसँगै १७ सालको आन्दोलनमा लागेका क्रान्तिकारी योद्धा देवनारायण झा भन्छन,“ बन्दुकको राजनीति गर्नेहरुले बीरगति पाउनु नै राम्रो हुन्छ । जसो तसो बाँचेपछिको जीवन जिउनु अत्यन्त कष्टकर हुन्छ । पार्टीले हामीलाई कहिल्यै वास्ता गरेन ।” जनकपुरका वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल भन्छन,“ निरगुनजीले लगाएको गुणबाट आज देश गणतन्त्रसम्म आएको छ । कांग्रेस आज निरगुनजी जस्ता कैयौं योद्धाहरुको गुणका कारण अहिले दोस्रो संविधानसभामा ठुलो दल बनेको छ । तर, त्यो पार्टीले ती योद्धाहरुलाई विर्सनु भनेको सम्पुर्ण योद्धाहरुको अपमान हो ।”

धनुषाको यदुकुवामा लोकतन्त्र प्राप्तिका लागि शहादत दिने पाँच जना शहीदहरुको शालिक ।
मधेसले २००७ सालको क्रान्तिको ठुलो जिम्मेवारी लिएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा धेरै जसो मधेसमै जन्मिएर, हुर्किएर, संस्कारित भएका व्यक्ति थिए । ००७ सालको क्रान्ति अघि  वा पछि पनि लोकतान्त्रिक आन्दोलनमा मधेसको प्रमुख उपस्थिति थियो । राणाशाहीका अन्तिम वर्षहरुमा सप्तरीको ‘हनुमान नगर काण्ड’ का नामले जानिएको रोमाञ्चक घटनाक्रमले सिंगो नेपाल र भारतको समेत मुटु घचघच्याएको थियो । त्यसवेला भारतका सुप्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायण र डा. राममनोहर लोहिया भारतको जेल तोडेर नेपाल पस्नुभएको थियो । सप्तरीका तरुणहरुले उहाँहरुका कार्यकर्तालाई सशस्त्र आन्दोलनका लागि तालिम गर्ने व्यवस्था मिलाएका थिए । त्यसै तालिमका क्रममा जयप्रकाश र डा.लोहिया पक्राउ पर्नु भएको थियो । तर, भारत र नेपालका क्रान्तिकारीहरुले मिलेर दुवैजनालाई वन्दी अवस्थाबाट मुक्त गराएका थिए । जयप्रकाश नारायण र डा.लोहियाले आजन्म यो गुण विर्सनु भएन । यी दुवै महानुभावले राणाशाहीको विरुद्ध नेपाली जनताको संघर्षमा पछि दिलोज्यानले मद्दत दिनु भएको थियो । त्यसैले डा.लोहियाले विपी कोइरालाको समकक्षी निरगुन यादवलाई पनि राणाशाही विरुद्धको सशस्त्र आन्दोलनका लागि पटनाका समाजवादी नेता वसावत सिंहको प्रशिक्षणमा गुरिल्ला तालिम दिलाएका थिए । ०१७ साल पुष १ गतेका दिन राजा महेन्द्रले सैनिक शक्तिको बलमा मुलुकमा नाङ्गो तानाशाही लादे । त्यस तानाशाहीको विरुद्ध पनि निरगुन यादवले भीषण सशस्त्र संघर्ष गर्नुभयो । शहीद दुर्गानन्द झा र शिवचन्द्र मिश्रको आत्मआहुती नेपालको जनआन्दोलनको इतिहासमा स्वर्ण अक्षरमा अंकित छ । यस्ता मधेसका शहीदहरुको अनेकौं नामहरु छन, जसले नेपालमा प्रजातन्त्र वहाली र भावी पुस्ताको भविष्यका लागि आफ्नो ज्यानको नै आहुति दिन पनि पछि परेनन् । २०३६ सालको आन्दोलनमा तत्कालिन विद्यार्थी नेता युवराज खाँती र २०४६ सालको जनआन्दोलनका नायक नै वनेका थिए, तत्कालिन विद्यार्थी नेता ललन चौधरी । तर, अहिले ती खाँती र चौधरीलाई पार्टीले गुमनाम पारेको छ । नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव भन्छन,“पार्टीले विभिन्न राजनीतिक आन्दोलनमा जेलनेल परेका, यातना सहेका, सहादत दिएकाहरुको उचित सम्मान गर्न सकेको छैन् । अब पनि पार्टी नसच्चिने हो भने भोलीको दिनमा पार्टीका लागि अप्ठ्याराहरु आउन सक्छन् ।”
कामेश्वर(कुशेश्वरले लोकतन्त्र प्राप्तिका लागि र दुर्गानन्दले गणतन्त्र प्राप्तिका लागि शहादत दिएका थिए । ती नै शहीदहरुको नाउँमा नेपाली काँग्रेसले एकछत्र सत्ता सञ्चालन गर्यो तर देशमा गणतन्त्र आईसके पनि दुर्गानन्द झा लाई नेपाली काँगे्रसले राष्टिूय शहीद घोषणा गराउन सकेको छैन् । मृत्यूदण्ड दिइनु भन्दा अगाडी दुर्गानन्द झाले दिएको दुई चिनो ‘रुमाल र गीता’ काठमाण्डौंको संग्रहालय जहाँ उनले बम प्रहार गरी क्षतिग्रस्त भएका राजा महेन्द्रको जीप राखिएको छ त्यहाँ समेत राख्न सकेका छैनन् ।
२०४६ साल फागुन ९ गते संयुक्त जनआन्दोलनका क्रममा विरोध प्रदर्शनको लागि तयारी गरिरहेको बखत प्रहरी हस्तक्षेपको विरुद्धमा जनस्तरबाट धनुषाको यदुकुहा गाविसको गोठ कुहामा प्रतिरोध गर्दा प्रहरीले चलाएको गोलीबाट ६१ वर्षीय जानकी देवी यादव, ४५ वर्षीय मुनेश्वरी देवी यादव, ३८ वर्षीय जानकी देवी यादव, ३५ वर्षीय राजनारायण यादव र १५ वर्षीय सोनावती देवी यादव, ३५ वर्षीय राजनारायण यादव र १५ वर्षीय उदयशंकर मण्डलले शहादत दिएका थिए । लोकतन्त्र प्राप्तिका लागि शहादत दिने ती शहीदका छोराछोरीलाई राज्यले रोजगारीको अवसर प्रदान नगर्दा आज विदेशिनु परेको छ । शहीद राजनारायण यादवकी पत्नि रामसखी यादव भन्छिन, “ खेती गरेर पेट पाल्न सकिएको छैन । स्वदेशमा राज्यले रोजगारी उपलब्ध नगराइदिंदा दुई छोराहरु राजकुमार यादव र सत्यदेव यादव आफ्नो घर परिवार र देशलाई छोडेर बाध्यतावश कतार गएका छन् ।”
शहीदको सपना पुरा हुनसकेको छैन
    देशको स्वतन्त्रता, जनताको सुखमय जीवनका लागि शहादत दिने ती नै शहीदका छोराछोरीहरु आज विदेशिनु परेको छ । प्रजातन्त्र प्राप्तीका लागि भएको राजतन्त्र बिरुद्धको आन्दोलनमा ज्यान गुमाएका परिबारको अबस्था अहिले पनि नाजुक नै रहेको छ । सरकारले शहीद घोषणा गरे पनि शहीद परिवारले अहिलेसम्म कुनै प्रकारको क्षतिपूर्ति पाएका छैनन् । क्षतिपूर्ति  र रोजगारी नपाएकै कारण अधिकांश सहिद परिवारलाई घर(व्यवहार चलाउन मुस्किल परेको छ । २०४६ सालमा संयुक्त जनआन्दोलनको क्रममा प्रहरी हस्तक्षेपको बिरुद्ध हजारौ सर्बसाधारण सडकमा उत्रेका  थिए । सर्बसाधारणलाई अधिकार सम्पन्न बनाउनकै लागि ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरेपनि सहिदका छोरा छोरीलाई राम्रो शिक्षा, स्वास्थय उपचार र रोजगारीको व्यबस्था अहिले सम्म मिलाउन सकेका छैनन् । शहीदको छोराहरु मुलुकमा रोजगारि नपाएर घर परिबार पाल्नकै लागी सस्तोमा श्रम बेच्न खाडि मुलुक जान बाध्य भएका छन् ।
राजतन्त्रको अन्तय र प्रजातन्त्र प्राप्तीको लागि एकै साथ ज्यान गुमाएका पाँच जनाको स्मरणमा स्थानियबासीले सहयोग जुटाएर महिला सहिद स्मृति पार्क निर्माण गरेपनि सरकारी उपेक्षाका कारण अहिले जिर्ण भएको छ । यदुकुहामा बलिदान गरेका ती ५ जनाको स्मरणमा २०४६ जेठ ९ गतेका दिन नेपाली काँग्रेसका तत्कालिन महामन्त्री गिरिजा प्रसाद कोइरालाले महिला शहीद स्मृति पार्कको शिलान्यास गरेका थिए भने २०५२ कार्तिक २३ गते एमाले अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उदघाटन गरेका थिए । १६ माघ शहीद दिवसका दिन र फागुन ९ गतेका दिन स्थानीय नेताले फूलमाला लगाएर जान्छन तर त्यो पार्कको संरक्षणका लागि कसैले ध्यान समेत दिएको छैन् । यदुकुहा गाविस कार्यालयका सहयोगी विनोद कुमार मण्डल भन्छन, “पार्क स्थापनाकालमा धेरै राम्रो फुलवारी बनाइएको थियो तर पछि आएर पार्क संरक्षणका लागि कसैले ध्यान नदिदा शहीद परिवारबाटै पैसा ल्याएर पार्कको सफाई तथा रँग(रोगन गर्ने गरेको छु ।” जनआन्दोलन चर्काउने नेताहरु पनि शहीद परिवारलाई क्षतिपूर्ति  दिलाउन सहयोग गर्नुको सट्टा उनीहरुलाई दोसल्ला ओढाउन र फोस्रा आश्वासनले भरिएका भाषण गर्नतिर मात्र केन्द्रीत रहेका छन् । राष्टिूय एकता र बिकासका लागि खुलेका राजनीतिक दलहरु पनि शहीदको सपना साकार पार्न र सर्बसाधारणलाई अधिकार समपन्न बनाउने मुद्घा थाँती राखेर  पदीय लोलुपता र सत्ता स्वार्थमै केन्द्रित भएका छन् ।
राणाशासनदेखि लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा थुप्रै नेपाली आमाका छोराछोरी शहीद भएका छन् । नेपाली चेलीहरुको सिउँदो पुछिएको छ । आमाहरुको काख रित्तिएका छन् । पुरुषहरुले पत्नी गुमाएका छन् । बालबच्चा टुहुरा भएका छन् । आन्दोलनका घाइतेहरुको घाउ पुरिएको छैन् । अझै जनताले दुःख पाइरहेका छन् । जनताले आशा गरेको कानुनी राज्य बन्न नसक्दा हत्या, हिंसा, बलात्कार, अपहरणका चित्कारहरु बन्द भएका छैनन् ।
नयाँ संविधान निर्माण र दीर्घकालीन शान्तिमा देशलाई अवतरण गराउने क्रममा दलहरु बिच समझदारी भए पनि त्यसको कार्यान्वयनका लागि सहमतिको वातावरण नबन्नु सबैका चिन्ताको विषय भएको छ । जनतालाई गाँस, वास र कपास, रोजगारी, शिक्षा दिलाई देशलाई समृद्ध बनाउने, जनतालाई दमन र शोषणबाट मुक्त गर्ने, लैड्गिक र जातीय विभेद समाप्त पार्ने देशको समानुपातिक विकास गर्ने वर्गीय असमानता हटाउने जस्ता लक्ष्य लिएर हिडेका यो देशका विर सपुतहरुको शहादतले हामी लोकतान्त्रिक गणतन्त्रमा आईपुगेका छौं । मुलुकले राज्य सञ्चालनको माध्यम मानिएको संविधान निर्माण गर्न नसके यो परिवर्तनले स्थायित्व प्राप्त गर्न सक्दैन । मुलुकको विकासको निम्ति शान्ति अपरिहार्य आवश्यक तत्व हो ।
    पछिल्लो जनआन्दोल, मधेशआन्दोलनले आत्मसात गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको अवधारणालाई समेटेर मुलुकको अखण्डता कायम राख्ने राष्टिूय एकता कायम राख्ने संविधान निर्माण गर्नु नै अहिलेको आवश्यकता हो । सहिदहरुले अखण्डित, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समृद्ध नेपालको सपना देखेका थिए । सबै दलले एकचित्त भएर राष्टू समृद्ध बनाउने संकल्प गरे र त्यसै अनुरुप काम गरेमा शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

मिति ः २०७०  माघ १९ गते 

No comments:

Post a Comment