Tuesday, January 21, 2014

नेपाल नै नभएको भारतीय नक्सा एयर इण्डियाको नक्सामा काठमाडौं भारतीय सीमा भित्र

जितेन्द्र झा
नेपालको अन्तरिम संविधान, २०६३ अनुसार नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, पूर्ण लोकतान्त्रिक राज्य हो । मूलतः सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्वतन्त्र मुलुक हो । यसको दक्षिण, पूर्व र पश्चिमको सीमा भारतसँग जोडिएको छ । कुनै देशको गुलामी नभोगेको नेपालको यही वास्तविकता हो । भारतसंग तीन दिशामा सीमा जोडिएको यो स्वतन्त्र राष्ट्र हो, कुनै भारतीय राज्य चाँहि होइन । तर भारतीयहरु भने यो सत्यलाई झुठो बनाउन लागि परेको देखिन्छ । उदाहरण थुप्रै छन् , ताजा उदाहरण हो तस्वीरमा देखिने एयर इण्डियाको टाइम टेबल अर्थात समय सारणी । यो नक्सामा नेपाल भनेको देश नै छैन । काठमाडौं भन्ने स्थान भारतीय सीमाभित्र छ ।
पटनाको छेउमा रहेको काठमाडौंलाई भारतीय राज्य जस्तै देखाइएको छ । भारतको ध्वजावाहक एयर इण्डियाको नक्सा हो यो । भारत सरकारको स्वामित्वमा रहेको एयरइण्डियाले यस टाइम टेबल मार्फत विश्वभर भारतको सीमाक्षेत्र कहां सम्म छ भनेर प्रचार गर्दैछ । कुनै स्वतन्त्र राष्ट्रको अस्तित्व नै नस्वीकार्ने भारतीय मनसाय व्यक्त भएको यो नक्सा २८ मार्च २०१० देखि नै संसारभरि छरिएको छ । एयर इण्डियाको विश्वका ३९ र भारतको १२ स्थानमा उडान सेवा रहेको छ । ती स्थानहरुमा मात्र नभइ विश्वभर एयर इण्डियाले प्रचारका लागि प्रयोग गर्ने टाइम टेबलमा यस्तो त्रुटिपूर्ण नक्सा राखिएको छ । प्रचारका लागि नेपालमा पनि यत्र तत्र छरिएको छ यो । विभिन्न ट्राभल टुर एजेन्सी, एयरलाइन्स मार्फत यो पुस्तिकाले भारतीय बदनियतको प्रचार गर्दैछ । नेपालकै भूमिमा नेपालको अस्मितालाई धमिल्याउने काम पनि जारी छ । एयर इण्डियाले यसरी नेपालको भूभागलाई भारतमा देखाएपनि सम्बन्धित निकायले मुख खोल्न चाहँदैन । एयर इण्डियाको नक्सामाथि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिक्रिया बुझ्न खोज्दा अधिकारीहरु बोल्न मानेनन् ।  सह सचिव मुरारी बहादुर कार्कीले यो विषय उनको क्षेत्रसंग सम्बन्धित छैन भन्दै पन्छिए । मन्त्रालयका उपसचिव सुरेश आचार्यका अनुसार कुनै पनि देशको भूभागलाई अन्य देशमा  देखाउन पाइन्न । एयर इण्डिया भारत सरकारको स्वामित्व भएको कम्पनी हो । यसकारण यो मुद्दालाई कुटनीतिक ढंगबाटै सम्बोधन गर्नु पर्ने उनको सुझाव छ । पर्यटन मन्त्रालयले यसमा पहल गर्नुपर्छ उनले भने । नेपालप्रति भारतको कुदृष्टि नौलो भने होइन । भारतबाट नेपालको सीमा मिचिएको भन्दै आवाज उठाउनेहरु इतिहाससंग जोडछन् यस्ता विषयलाई । राजनीतिकर्मी साध्यबहादुर भण्डारीका अनुसार ६ दिसम्बर १९५० का दिन भारतका नेता जवाहरलाल नेहरुले भारतको सीमाना उत्तरमा हिमालयसम्म रहेको बयान दिएका थिए । अखण्ड भारतको नक्सामा नेपाललाई भारत भित्र नै राखिएको भण्डारीको कथन छ । नेपालको सार्वभौमसत्तामाथि नै प्रश्न चिन्ह लगाउने यसता गतिबिधिप्रतिको सरकारी मौनतलाई के भन्ने त ? किन सरकारी निकायले यस्ता नक्सा वितरण बन्द गराउन सकेको छैन त ? भारतले नेपालको राष्ट्रियतामाथि जति प्रहार गरेपनि नेपालले औपचारिक रुपमा त्यसको जवाफ दिन सकेको छैन भण्डारी भन्छन् । त्रुटिपूर्ण नक्सामाथि काठमाडौं हात्तिसारस्थित एयर इण्डियाको कार्यालयले पनि कुनै प्रतिक्रिया दिन चाहेन । प्रबन्धक टी के साह बोल्न मानेनन् । नेपालको अस्तित्व धुमिल पार्ने यो नक्सा एउटा उदाहरण मात्र हो । सयम समयमा भारतीय पक्षबाट विश्व इतिहास र नेपालको अस्मितालाई गिज्याउने काम हुने गरेको छ । भारतीय सञ्चारमाध्यमाले त यसमा अहम् भूमिका नै खेल्ने गरेको छ । भारतीय टेलिभिजन इण्डिया न्युजबाट प्रसारण हुने ये मेरा इण्डिया कार्यक्रमको मोन्टाजमा देखाइने भारतको नक्सामै नेपाललाई राखिएको थियो । सन २००८ जुलाइमा नेपालको मिडियाले त्यसमाथि आपत्ति जनाउंदै समाचार प्रवाह गरेपछि त्यो हटाइयो । दिल्लीस्थित भारतीय राजदूतावासले त्यस्ता सामग्रीमाथि आपत्ति जनाएपछि भारतीय टेलिभिजनले त्यसलाई प्राविधिक गडबडी भन्दै क्षमायाचना गरेको थियो । सिन्धुपाल्चोकमा गत वर्ष भारतीय मूलका अमेरिकी नागरिक तथा लेखक फरिद जाकरियादले लेखेको ‘द पोस्ट अमेरिकन वल्र्ड’ नामक पुस्तक जलाइयो । पुस्तकमा भगवान बुद्ध भारतीय हुन् र बुद्धत्वको प्रादुर्भाव पनि भारतमा नै भएको भनी भ्रामक प्रचारबाजी गरिएको छ । त्यस्तै हिन्दी कथानक चलचित्र चाँदनी चोक टु चाइना नेपालका हलमा प्रदर्शनमा सरकारले रोक नै लगाउनु प¥यो । गौतम बुद्ध भारतमा जन्मेका थिए भन्ने व्यहोराको संवाद र दृश्य भएको कारण नेपालमा तनाव नै सृजना भयो सो फिल्मले । भारतीय शासकवर्गले नियोजित रुपमा नै नेपालको अस्तित्वलाई चुनौती दिदै यस्ता भ्रामक विषयवस्तु बाहिर ल्याउने गरेका छन् । नेपाल र नेपालीको स्वाभिमानमाथि नै आँच आउने यस्ता अनगिन्ती काम भएको छ । तर सरकार र राजनीतिक दल चुपचाप हेर्न बाहेक केही गर्न सकेका छैनन् ।  

मिति ः २०६८ अषाढ ५ गते

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete