Tuesday, January 21, 2014

जनकपुर चुरोट कारखानाको निकासका तीन विकल्प


अजय अनुरागी
जनकपुरधाम..............

जनकपुर चुरोट कारखानाले स्थापनाकालको चार दशक भन्दा बढी समयमा विभिन्न आरोह अवरोहहरु पार गरे पनि अब बन्दको संघारमा पुगेको छ । विभिन्न प्रहारहरुबाट सिकिस्त भईसकेको कारखाना पछिल्लो एक वर्षमा आंशिक रुपले सञ्चालनमा रहे पनि अबको दिनमा उत्पादन पुर्णतः ठप्प हुने अवस्थामा आई सकेको छ । निकाशको कतै बाट कुनै चासो नलिइदा कार्यरत कर्मचारीहरु चिन्तित भएका छन । कारखानामा थोर बहुत सुर्ती रहेपनि अन्य सामग्रीहरु उपलब्ध नरहेकाले चुरोट उत्पादन बन्द हुने अबस्थामा पुगेको हो । कच्चा पदार्थको अभाबमा कारखानामा कार्यरत ९ सयु भन्दा बढि मजदुर र कर्मचारी हाजिर गरेर घर र्फकिने गरेका छन् ।
इतिहास र स्थापनाका प्रारम्भिक चरण
झण्डै आधा शताब्दी पछाडी गयौं भने तत्कालिन सोभियत संघ सरकारले नेपाललाइ गरेको सहयोगहरु हेर्दा अहिले सहयोग गर्ने दातृ निकायहरुले पैसा मात्रै फाल्ने गरेको अनुभूति हुन्छ । दातृ निकायले पहिलाको परियोजनाहरु सञ्चालन गर्दा देशका आम सर्वसधारणले प्रत्यक्ष रोजगार बन्ने , शिक्षा तथा जनचेतनाको स्तर बढ्ने , मानव बिकासका कार्यक्रमहरु सञ्चालन लगायत सर्वसधारण आश्रित रहने प्रमुख ब्यवसायलाइ आधार बनाएर बिकास निर्माणका कार्यक्रम तथा परियोजनाहरु तयार गर्ने गर्दथे । हाल आएर नेपाल र रुसबीचको सम्बन्ध पहिलाको जस्तो सुदृढ र सुमधुर रह्न सकेको छैन । तर, २१ औं शताब्दीको सुरुका दिनमा रुसले गरेको सहयोगहरुबाट नेपालका आम नागरिकलाइ अझै फायदा भइरहेको थुप्रै उदाहरणहरु छन् हामीकहाू ।
पूर्व पश्चिम राजमार्गमा हिंडदा दर्जनौं ठूल ठूला पुलहरु भेटिन्छन् जुन आजभन्दा ५ दशक पहिला रुस सरकारले बनाइदिएका हुन् । नेपाललाइ आर्थिक रुपमा सबल बनाउन तत्कालीन रुसी निती समेत सराहनीय थियो । अरु राष्टूहरुको अपेक्षा निकै नै सन्तोषप्रद र सर्वसधारण प्रत्यक्ष लाभान्वित हुने प्रकारको उसको परियोजनाहरु सञ्चालन हुन्थे ।
सोही लक्ष्यका साथ बिक्रम सम्वत् २०१० सालमा रुस सरकारले नेपाललाइ दुइ ठूला परियोजनाहरुमा अनुदान गर्ने निधो ग¥यो । र शर्त थियो , नेपाल कृषि प्रधान देश भएकोले देशका उत्पादित कच्चा पदार्थहरुबाट नै समान तयार गरी निर्यात तथा  भारी संख्यामा रोजगारीको अबसर समेत श्रृजना हुनु ।
बिक्रम सम्वत् २०२१ सालमा रुस र नेपालबीचको दौत्य सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यका साथ रुस सरकारले आफ्नै अनुदानमा नेपालमा २ ठूला परियोजनाहरु निर्माण गर्ने निधो ग¥यो ।  सोही निधो अनुरुप नेपालमा चिनी फ्याक्टिू र चुरोट कारखाना निर्माण गर्न सरकारले तत्परता देखायो । चिनी फ्याक्टिू बिरगंजमा सञ्चालन गर्ने भएपनि चुरोट कारखानाका लागि सिरहाको लहानमा सञ्चालन गरिने लगभग तय भइसकेको थियो । तर तात्कालीन अर्थमन्त्री समेत रहेका समाजसेवी रामनारायण मिश्रले चुरोट कारखाना जनकपुरमा स्थापना गर्ने निक्र्योल गर्दै बिक्रम सम्वत् २०१७ सालदेखि निर्माण कार्य प्रारम्भ गराएका थिए । चुरोट कारखाना लिमिटेडको स्थापनाका लागि चुक्ता पूूजी ४ करोड ८ लाख ३७ हजार रहेको थियो । कारखाना निर्माणका लागि सर्वसधारणबाट नै जग्गा खरीद गरिएको थियो । जनकपुरको मुख्य बजार मिल्स एरियामै रहेको चुरोट कारखाना लिमिटेडको हालको क्षेत्रफल ३५ विग्घा रहेको छ । तत्काल ३ सय कर्मचारीहरुलाइ भर्ना गराएर चुरोट कारखानाको सञ्चालन गरिएको थियो । चुरोट कारखाना दिनानुदिन उन्नतीको पथमा हिंडिरह्यो र उत्पादन तथा माूगमा वृद्धि हुदै गएपछि २०४४ सालमा सबैभन्दा बढी ४ हजार ७ सय कर्मचारीहरु चुरोट कारखाना लिमिटेडबाट प्रत्यक्ष रुपमा श्रम गरेर जिविकोपार्जन गर्न भ्याएका थिए । हाल आएर सो संख्या ९ सयको हाराहारीमा पुगेको छ । तर त्यस लगत्तै २०४६ सालको जनआन्दोलन पछि जचुकालि अवनतिको पथमा बिस्तारै ओरालो लाग्यो र हाल आएर बाूच्नका लागि संघर्ष गरिरहेको अवस्थामा पुगेको छ ।
२०४६ सालमा प्रजातन्त्र आएपछि कारखाना सञ्चालनमा राजनीतिक हस्तक्षेप बढ्दै गयो । सरकार परिवर्तन भए लगत्तै कारखानाको महाप्रबन्धक तथा सञ्चालक समितिका अध्यक्ष परिवर्तन गर्ने सरकारी नीतिले कारखाना धराशायी हुदै गएको कारखानामा कार्यरत श्रमिकहरुको गुनासो छ । श्रमिकहरुका अनुसार सरकारले नियुक्त गरेका अध्यक्ष तथा महाप्रबन्धकहरु लाखौं रुपैया सम्बन्धित मन्त्रीलाइ तिरेर कारखानाको नियुक्ति लिने होड चलाएपछि आफ्नो लागत् असुली गर्न ती महाप्रबन्धक तथा अध्यक्षहरु कारखानालाइ नै भ्रष्टाचारको थलोको रुपमा बिकास गरे । प्रजातन्त्र आएदेखि हालसम्म २ दर्जन जति  महाप्रबन्धक जचुकालिमा जागिर खाइसकेका छन् । महाप्रबन्धक नियुक्त हुूदा कहिले मजदूर संगठनहरुसित ग्रह नमिल्दा त कहिले सरकार परिवर्तनको बहानामा महाप्रबन्धक फेरिदै आएको हो ।
। राम्रो अवस्थामा सञ्चालन हुदा जचुकालिले ५ अर्ब २६ करोड खिल्ली सम्म चुरोट उत्पादन गरेको थियो भने हाल लाखमा समेत उत्पादन हुन नसक्ने अवस्थाबाट उद्योग गुज्रिरहेको छ । जचुकालिको अवस्था खस्किदै गएपछि ऋण काढेर जचुकालि सञ्चालनको थुप्रै प्रयासहरु भए । कर्मचारीहरु अवकास भएको वर्षौ भइसकेपनि उनीहरुले पाउने एकमुष्ठ रकम तथा बिमा रकम अझै पाउन सकेका छैनन् । पछिल्ला चारवर्ष यता यी र यस्ता परिस्थितिबाट गुज्रिरहदा सरकारले जचुकालिको काठमाडौंस्थित जग्गा बिक्रि गर्ने निधो ग¥यो । झण्डै २ अर्ब ५० करोडभन्दा बढी मूल्याड्ढन हुने जग्गा नागरिक लगानी कोषले मात्रै ७२ करोडमा किनेको हो । काठमाडौंको नयाू बानेश्वरस्थित सो जग्गा कुनै नीजि क्षेत्रबाट बेचिएको भए ३ अर्बसम्म जचुकालिले पाउने आम नागरिककाृे धारणा छ । काठमाडौंको नयां बानेश्वरस्थित भवन सहितको जग्गाको मूल्याड्ढकन दुइ अर्बभन्दा बढी गरिएपनि ७२ करोडमै बिक्रि गरिएपश्चात् रकम खातामा पर्दै नियुक्त भएका महाप्रबन्धक श्याम कुमार महतो पछिल्लो ६ महिनामा जम्मै रकम खर्चेर १० करोड ऋणको अवस्थामा ल्याइपुर्याएको मजदूरहरुको आरोप छ ।
प्रजातन्त्र आएको केही वर्षसम्म पनि राम्ररी सञ्चालन भएको जचुकालिले आफ्नो प्रभाव हरेक क्षेत्रमा पारेको थियो । खेलकूदको क्षेत्रमा जचुकालिको फुटबल टिम विरेन्द्र कप फुटबल प्रतियोगिताको उपाधि समेत चुमेका छन् भने जचुकालिकै क्रिकेट टिमका कैयौं खिलाडीहरु राष्टिूय टिमका सदस्यहरु बन्न सफल भएका छन् । तर वर्तमानमा आएर जचुकालिबाट दक्ष एवम् ब्यवसायिक खिलाडीहरुको उत्पादन पूर्णतया ठप्प भइसकेको छ।
प्रभाव चौतर्फी नकारात्मक
जचुकालि बाूच्नको लागि संघर्ष गरिरहदा यसको प्रभाव प्रत्यक्ष अप्रत्यक्ष रुपमा हरेक क्षेत्रमा परेको देखिन्छ । सरकारले वार्षिक कम्तिमा पनि करोडौं रकम राजश्वको रुपमा जचुकालिबाट पाउने गरेको थियो । जचुकालि राम्रो अवस्थामा सञ्चालन हुूदा सरकारलाइ सबैभन्दा बढी बिक्रम सम्वत् २०४६÷०४७ मा राजश्व बुझाएको थियो । सो वर्ष मात्रै जचुकालिले ४७ करोड ७ लाख ६९ हजार ९ सय ५५ रुपैया ४२ पैसा राजश्व बुझाएको थियो । सरकारी राजश्वमा कमी आउनुका साथै त्यसको प्रभाव हरेक क्षेत्रमा परेको बताइन्छ । जचुकालिमा कार्यरत कर्मचारीहरुले उठाएको मासिक तलबबाट नै कम्तिमा एक करोड भन्दा बढी रकम जनकपुर क्षेत्रकै बजारमा चलयमान हुने गरेको र त्यसबाट जनकपुरका ब्यवसायी लगायत अन्य क्षेत्र समेत प्रत्यक्ष लाभान्वित भएको बताउूछन् उद्दोग वाणिज्य संघ जनकपुरका अध्यक्ष श्याम प्रसाद साह ।
मजदूरहरुले भने बिगत्मा आफूहरुबाट समेत केही कमजोरीहरु भएको बताउूदै आगामी दिनमा जचुकालिको उन्नतीको लागि पूर्णरुपमा प्रतिबद्ध भइ काममा लाग्ने बताउूछन् । 
जनकपुर चुरोट कारखाना लिमिटेडका मजदूरहरुले सरकारलाइ कारखानाको राम्ररी सञ्चालनका लागि सक्षम महाप्रबन्धक पठाउन माूग गरेका छन् । मजदूरहरुले जचुकालि धराशायी बन्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै आगामी दिनमा राजनीतिक नियुक्ति गर्दा नेता तथा कार्यकर्तालाइ नगरि विशेषज्ञहरुलाइ स्थान दिन समेत माूग गरका छन् ।
संयुक्त मजदूर समन्वय समितिले २६ चैत्रमा पत्रकार सम्मेलनको आयोजना गरी सक्षम महाप्रबन्धक नआएसम्म चुरोट कारखानाको अवस्था दिनानुदिन बिग्रिदै जाने ठहर गर्दै सरकारले नै ठोस पहल गरी निरन्तर सञ्चालनको प्रबन्ध मिलाउन आग्रह गरेका छन् । यसअघि पटक पटक जचुकालि बन्द गर्दै आन्दोलनमा जाने गरेका मजदूरहरुले यसपटक भने जचुकालि चलाउूदै राम्ररी सञ्चालनको लागि प्रयास जारी राख्ने निर्णयमा पुगेका हुन् ।
पछिल्लोपटक सरकारले नियुक्त गरेको महाप्रबन्धक श्याम कुमार महतोलाइ जचुकालि मजदूरहरुले बहिष्कार गर्दै आन्दोलन गर्दा उद्दोग मन्त्रालयले सञ्चालक समितिलाइ विवाद सुल्झाउन निर्देशन दिएपनि समितिले ४ दिन लगाएर अध्ययन गरेपनि विवाद नसुल्झाइ फर्किदा मजदूरहरु अन्योलमा परेका हुन् । उनीहरुले सञ्चालक समितिका प्रतिनिधिहरुलाइ पटक पटक फोन गरेर निर्णय तथा सिफारीश बारे ताकेता गर्दा कुनै चासो नदिएको पत्रकार सम्मेलनमा उल्लेख गरे । जचुकालि मजदूरहरुले आफूहरु उद्दोग र काम नै बन्द नगर्ने स्थितिमा रहेको स्पष्ट गर्दै यथाशिघ्र जचुकालि सञ्चालनका लागि वातावरण निर्माण गरिदिन सरकारसित आग्रह गरेको हो । दैनिक १ करोड खिल्ली चुरोट उत्पादन गर्ने क्षमता रहेपनि व्यबस्थापनपक्षले कच्चा पदार्थ उपल्बध गराउन नसकेपछि चुरोट कारखानालाई दैनिक ६१ लाख रुपैया भन्दा बढि घाटाभईरहेको छ । उद्योग मन्त्रालयलाई देखाउनका निम्ति पछिल्लो वर्षमा महाप्रबन्धक श्याम महतोले न्यूनतम चुरोट उत्पादन क्षमता दैनिक ४० देखि ५० लाख हुनु पर्नेमा आंशिक रुपमा उत्पादन गरेको देखाएर आफ्नो पद बचाई राख्न प्रयासरत रहे । पुर्व उद्योग मन्त्री महेन्द्र राय यादवको आर्शिवादले नियुक्ती पाएका महाप्रबन्धक महतोले कारखानाको जग्गा बेचेर प्राप्त भएको ७२ करोड रुपैंया मध्ये ३० करोड रुपैंया हिनामिना गरेको मजदुरहरुको सिधा आरोप छ । त्यसका अतिरिक्त महतोले विना टारगेट उत्पादन भएको हरेक खिल्लीमा बिक्री भएको एक प्रतिशत रकम कमिशन खाएर कारखानाको टाट पल्टाउने काम गरे पछि आक्रोशित मजदुरहरु आन्दोलित हुन बाध्य भई कारखानाका आठै मजदुर संगठनहरुको संयुक्त मजदुर समन्वय समितिले १ चैत्रमा महाप्रबन्धक महतो र २२ चैतमा सञ्चालक समितिका अध्यक्ष रामअशिष प्रसाद गुप्तालाई वहिष्कार नै गरी बिजुली , पानी बन्द गर्नुका साथै सवारी साधन पनि खोसेर लखेटेका थिए । सञ्चालक समिति र महाप्रबन्धकको अकर्मण्यता तथा समयमै सही निर्णय नगरी कच्चा पदार्थको समेत आपुर्ती नहुंदा कारखानाको उत्पादन समेत ठप्प नै भएको छ । महाप्रबन्धक मजदुरहरुद्धारा बहिष्कृत भएपछि अनुसन्धान र निकाशको लागि उद्योग मन्त्रालयको संस्थान महाशाखाका उप सचिव माथवर अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति ४ चैतमा कारखाना आएर सात दिन भित्रै स्थलगत भ्रमण गरी वास्तविक समस्या अध्ययन गरेका थिए । आफ्नो अनुसन्धान पुरा गरी ७ चैतमा राजधानी फर्केको टोलीले आगामी ७ दिन भित्र मन्त्रालयमा प्रतिवेदन बुझाइ सकेपछि समस्याको निकास निश्कने भन्ने आश्वासन बांडे पनि समस्या ज्यूंका त्यूं रहेपछि मजदुरहरु अब उद्योग मन्त्रालयमा धर्ना दिने तयारीमा जुटेका छन । वर्तमान महाप्रबन्धक यस अघि पनि हृदयेश त्रिपाठी र राजेन्द्र महतो उद्योग मन्त्री हुंदा महाप्रबन्धक र निर्देशक पदमा असफल भइ सकेका हुन । तर पनि पछिल्लो मन्त्री महेन्द्र यादवले महतोलाई महाप्रबन्धकमा पठाएर अर्को गल्तीमा गल्ती दोहोरयाएका हुन । भदौ ३० गते बसेको मन्त्री परिषदको बैठकले जनकपुर चुरोट कारखानाको महाप्रबन्धकमा महतोलाई नियुक्त गरेका थिए ।
निकाशका तीन विकल्प ः
एक वर्षदेखि कारखाना डुब्न लागे पनि अल्पकालमा केही मुनाफा तथा दीर्घकालमा पुर्ववत अवस्थामा फर्काउन सकिनेमा कारखानाका अवकाश प्राप्त निर्देशक रामलक्षण शर्माको विश्वास छ । कुनै पनि हालतमा कारखानालाई चलाई राख्नु जनकपुर र राष्ट्रकै अर्थतन्त्रको समृद्धिका लागि नितान्त आवश्यक  रहेको  शर्माको भनाई छ ।
(१) सक्षम महा–प्रबन्धकको नियुक्ती ः
महाप्रबन्धक तथा सञ्चालक समितिको अध्यक्ष देखि सदस्यहरु समेतको नियूक्तिमा राजनीतिक व्यक्तिलाई नपठाई योग्य , सक्षम र अनुभवी व्यक्तिलाई नियूक्ति हुनु पर्दछ । त्यसका लागि कारखानामा लामो अवधी सम्म सेवा गरी अवकाश पाएका कर्मचारीहरु मध्येबाट कार्यरत रहेको अवस्थामा कार्य सम्पादन तथा मूल्यांकनको आधारमा व्यक्तिको छनौट गर्नु प्रथम विकल्प हो ।  नत्र भने उद्योग मन्त्रालयकै सह सचिव तथा प्रशासकको मातहतमा कारखानाका मजदुरहरुको विश्वास जिती उत्प्रेरित गरी नाफा तिर डोरयाउन सकिन्छ । डिभिजन प्रमुखहरु अधिकांश समय कारखानाका अन्य शाखा , डिपो तथा क्षेत्रीय कार्यालयहरुमा रहने गरेकाले लाइन नै कमजोर भएको छ । मजदुर संगठन पनि त्यक्तिकै हावी भएका छन । तसर्थ सब डिभिजन समेतको जानकार भएका व्यक्ति महाप्रबन्धक हुंदा राम्रो हुन सक्दछ । राजनीतिक नियुक्ति हुंदा आफ्नो पद जोगाउनमै महाप्रबन्धकहरु केन्द्रित हुने भएकाले मजदुरहरुले समेत गरेको गल्तिलाई कारवाही गर्न नसक्दा कर्मचारीहरु पनि मजदुर संगठनको आडमा अराजक र अनुशासन हिन भएपछि काराखनाको अस्तित्व संकटमा परेकोले अब कडा प्रशासक आवश्यक रहेको अर्का अवकाश प्राप्त निर्देशक अनुराग गिरीको भनाई छ ।
(२) पब्लिक प्राइभेट पार्टनरशिपः
सरकारको स्वामित्वमा रहेको कारखानाको निश्चित प्रतिशत शेयर सरकार आफैले राखेर बांकी प्रतिशत शेयर स्थानिय व्यापारीहरुलाई वितरण गरी कारखाना सञ्चालन गर्न सकिन्छ ।
(३) पे अफ गरी निजीकरण ः
कारखानालाई सरकारले पे अफ गरी रु् एक अर्व ऋण सहितको सम्पूर्ण दायित्व चुक्ता गरी निजी क्षेत्रलाई विक्रि गर्नु तेस्रो विकल्प हो । करिब रु. ३ देखि ३.५० अर्ब रुपैंयाको मूल्यांकनमा कारखाना निजी क्षेत्रलाई विक्रि गर्न सकिन्छ । कारखानाको ३५ विग्हा जग्गा मध्ये २ विग्हा जग्गामा चुरोट कारखाना सञ्चालन गरी बांकी जग्गामा अन्य कारखानाहरु समेत सञ्चालन गर्न सकिन्छ । चाख लाग्दो कुरा के हो भने ख्याति प्राप्त कारखाना किन्न  धेरै खरिददारहरुले समय(समयमा इच्छा ब्यक्त गर्दै आएका छन् । 

मिति ः २०६८ अषाढ ५ गते

रामचन्द्र झा - अन्तरवार्ता

नेकपा एमालेका पालिटब्यूरो सदस्य एवमं जनकपुर अञ्चल कमिटकिा संजोजक, पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झा स“ग द एक्सक्लुसिभ का सम्पादक अजय अनुरागीले वर्तमान सम–समायिक विषय–वस्तुमा अन्तरवार्ता लिएका छन् । प्रस्तुत छ अन्तरवार्ताको सम्पादित अंशः

पछिल्लो समय १४ जेष्ठको राती ३ प्रमुख दलहरु बीचभएको ५ बुँदे सहमति कार्यन्वयन तर्फ कसरी अगाडी बढिरहेको छ ?
शान्ति प्रक्रिया सम्बन्धी मुलभुत कुराहरु सम्पन्न गर्ने ५ बुँदेको पहिलो बुँदा अन्तरगत पहिलो काम माओवादीका शिर्ष नेतृत्वहरुलाई प्रदान गरिदै आएको दोहोरो सुरक्षा प्रणाली हटाई सुरक्षार्थ खटेका लडाकुलाई शिविरमा फिर्ता पठाइएको छ । त्यसैगरी ५ अषाढ भित्र लडाकूहरुको समायोजन सम्बन्धि मोडालिटी तय गरी, पुनःस्थापनाको लागि समेत प्याकेजमै एकीकृत रुपमा तय गरिने भएकाले आशातित ढंगले कार्य अगाडी बढ्दै छ ।
माआवादी लडाकू समायोजन, व्यवस्थपन तथा पुनःस्थापनका लागि कस्तो मोडालिटी अपनाउने भन्ने कुरामा छलफल भइरहेको छैन?
माओवादी लडाकूको रिग्रुपिङ, पुनःस्थापनका लागि प्याकेजकै घोषणा सहितका कुरामा छलफल मात्र अगाडी बढेको छैन, प्राविधिक कार्य पनि अगाडी बढिसकेको छ । दलहरुबीच एक किसिमले मोटामाटी लिक्विडीटी फर्ममा सहमति भई सके पनि मूर्त रुप दिन मात्र बाँकी छ । माओवादीहरुको कोठे बैठकमा समेत ५ देखि ६ हजार सम्मको संख्यामा लडाकूको समायोजन गर्ने कुरामा तिनीहरु आफै पनि नजिक–नजिक आइसकेका छन् । रिग्रुपिङ गर्न, पुनःस्थापना तथा समायोजनका लागि प्राविधिक रुपमै कर्मचारीहरु शिविरमा खटेर कार्य प्रारम्भ गरिसकेकोले त्यो प्रक्रिया पनि प्रारम्भ भइसको छ । पुनःस्थापना हुन चाहने लडाकूहरु मध्ये वढी दिन विताएका, अपाङ, घाइते भएकाहरुलाई तुलनात्मक रुपमा बढी रकम उपलब्ध गराइने एक किसिमको समझदारी भएको छ । प्रति लडाकू दुई देखि ३ लाख रुपैयाँ सम्म दिएर घर फर्काइने तथा बढी समय विताएकालाई त्यो भन्दा बढी रकम दिन सकिने कुरा भने भएको छ ।
माओवादी भित्रै समायोजन तथा पुनः स्थापन प्रक्रियालाई लिएर अन्तरविरोध भएको छ । तिनहिरुको आपसी विवादले जारी शान्ति प्रक्रियामा समस्या खडा गरेको छ वा छैन ?
माओवादी भित्रको आन्तरिक विवादका कारण केही समस्या त उत्पन्न भएकै हो तर बाबुराम भट्टराई र प्रचण्ड बीच सहमति भएका कारण प्रचण्ड बहुमतले अहिले अगाडी बढेका छन् । मोहन बैद्य ‘किरण’ प्रतिकात्मक रुपले मात्र विरोध गरिरहेका छन् जो कि अल्पमतमा छ । राजनीतिक रुपले मनोवैज्ञानिक समस्या भए पनि सेना समायोजनामा ‘किरण’ पक्षधरले वस्तुगत समस्या तथा अप्ठेरो नपार्ला भन्ने कुरा नागरिक समाज, बुद्धिजिवि सहित राजनीतिक वृतमा अनुमान लगाइएको छ ।
त्यसो भए राजनीतिक दलहरुले एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड प्रति विश्वास गर्ने वातावरण बनिसक्यो, हैन ?
प्रचण्ड प्रति दलहरुको विश्वास–अविश्वासको कुरा छैन् । विगतमा माओवादी प्रति बढी नै नकारात्मक कुरा गर्ने नेपाली कांग्रेस पनि माओवादी प्रति सकारात्मक देखिएको छ । दोहोरो सुरक्षा व्यवस्था हटाउन प्रचण्डले पाइला चाले पछि कांग्रेस सकारात्मक भएको हो । माओवादीले गरेको पछिल्लो निर्णयहरु हेरेर एमालेकै माधव नेपाल तथा केपी ओली सहितका नेताहरुको माओवादी प्रतिको दृष्टिकोण परिवर्तन भएको चाँही अवश्य नै हो ।
नेपाली कांग्रेस त अझै पनि माओवादी प्रति सशंकित छँदैछ, नि ! घुलिखेलमा सम्पन्न कांग्रेस सभापतिहरुको सम्मेलनले १४ भदौको विकल्पका लागि शान्तिपुर्ण आन्दोलन गर्ने चेतावनी पनि दिइसकेको छ भने कांग्रेस कसरी सकारात्मक भयो ?
नेपाली कांग्रेसमा सत्ताको तुष हुनसक्छ । विगतमा माओवादी र सरकारबीच भएका सम्झौताहरु माओवादीले पनि कार्यान्वयन  नगरी विश्वासघात गरेकोले दुवै दलबीचको दुरी बढेको हो । दवावका लागि संघर्ष गर्नु राम्रै कुरा हो, अवरोधकै लागि संघर्ष हुनु भएन् । कसैको गलत हठको विरुद्धमा संघर्ष गर्नु, कसैलाई लोकतान्त्रिक प्रक्रियामा ल्याउन संघर्ष गर्नु राम्रो कुरा हो तर अनावश्यक वार्गेनिङ, सत्ताको लेनदेन सहितका विषयलाई लिएर संघर्षको कुरा गर्नु उपयुक्त होइन् ।
त्यसो भए नेपाली कांग्रेसले गर्ने आन्दोलन भने घुर्की मात्र हो ?
धुर्कीको कुरा नगरौं, यदि आन्दोलन शान्तिपूर्ण ढंगले हुन्छ भने पनि दवाव सिर्जनाका लागि हुनु पर्दछ । नकारात्मक ढंगबाट नसोचेर सकारात्मक ढंगले सोच्नु आवश्यक छ । संविधानसभामा प्रस्तुत गरिएको तीन प्रतिवेदनमा पनि शासकिय स्वरुप, निर्वाचण प्रणाली सम्बन्धि ‘डिफरेनसेज’ पनि धेरै नजिक आइसकेको छ । बाँकी २१ डिफरेन्सलाई पनि न्यून गर्ने प्रयास हुँदैछ । राष्ट्रपति प्रत्यक्ष तथा प्रधानमन्त्री संसदबाट चुनिने राष्ट्रपति तथा प्रधानमन्त्री मध्ये कसको अधिकार कति रहने भन्ने कुरामा विभिन्न दलका दोश्रो तहका नेताहरुमा पटक पटक छलफल भएर एक किसिमले औपचारिक सहमति भइसके पनि शिर्ष तहका नेतामा सहमति कायम हुन मात्र बाँकी छ । मिश्रित निर्वाचन प्रणालीकै सेरोफेरामा जाने तथा निर्वाचन क्षेत्रको संख्या घटाउनेमा सवै एक मत  भएका छन् । शासकिय स्वरुप निर्धारण समितिले एउटा   धारणा प्रस्तुत गरेको छ । जसमा ६ सय १ साँसदको संख्या आधामा झार्न सकिने, १ सय ५० निर्वाचन क्षेत्र कायम गरी प्रत्यक्ष र समानुपातिक दुवै गरी ३ सय सम्मको संख्या राख्न सकिने कुरा भए पनि ६ सय १ को जम्मबो संख्या नराख्ने निर्वाचन प्रणालीमा सहमति भइसकेको छ । बाँकी २१ डिभाइसेजहरु पनि पैच अप हुने स्थितिमा छ ।
राज्य पुनःसंरचना सम्बन्धि विवाद कहाँ नेर छ ?
राज्य पुनःसंरचना तगथा वाँडफाँड समितिमा रहेका ७८ फरक मत मध्ये ४० बुँदा माथिको राय सामान्य प्रकृतिको छ, जसको समाधान सहज ढंगले खोज्न सकिन्छ । बाँकी ३८ बुँदामा कठिनाई उत्पन्न भएकै हो । त्यसको लागि टेक्निकल असिस्टैन्ट, राज्य पुनःसंरचना आयोग गठन गरि समितिमा प्रस्तावित प्रदेशहरु मध्ये कुन बढी सर्भाइभल, टिकाउ तथा दिगो हुने भन्ने कुरा तय गर्नु पर्छ ।
अग्राधिकारको कुरा पनि उठेको छ, नि ?
आदिवासी जनजातिको विषयमा अग्राधिकारको कुरा चलेको छ । कुनै एक प्रदेशमा निश्चित समयका लागि त्यसै समुदायबाट कम्तिमा दुई चनाव सम्म मुख्य मन्त्री बन्न पाउनु पर्ने आदिवासी जनजातिले आवाज उठाएका छन् । उक्त कुरामा कांग्रेस एमाले सहितका दल पहिचानको आधारमा स्वीकार गर्न सकिने, सम्मान स्वरुप आरक्षण दिन सकिने, पोजिटिभ डिस्क्रीमेनेशन सुनिश्चत गर्र्नमा सहमत छन् तर अमुक समुदायकै लिडरसीप हुनु भनेको लोकतन्त्रको विपरीत हुने हुनाले अग्राधिकारलाई लोकतान्त्रिक मान्न सकेको छैन् । पहिचान र प्राइम राइट दुई मध्ये आदिवासी जनजातिले एउटा लिएर अर्को भने छोड्नु पर्छ ।
मधेशी मोर्चाले उठाउँदै आएको स्वायत मधेश प्रदेश सम्बन्धमा एमाले कति लचिलो भएको छ ?
सम्झौतामा उल्लेख गरिएको स्वायत्त मधेश प्रदेश जसको अर्थ बढी किसिमले व्याख्या गर्न सकिन्छ । विगतको उत्तर–दक्षिण महेन्द्रवादी चिन्तन मधेश–पहाडलाई जोड्ने जसमा भाषा, भुगोल यातायात सवैको बेमेल छ त्यसको विरुद्धमा म आफै पनि छु । प्रस्तावित विरगंज देखि झापा सम्मको एरिया बैज्ञानिक छैन् । मधेशको भू–भागलाई मात्र राखेर दुई प्रदेश प्रस्तावित प्रदेशमा चितवनको थरुहट इलाका माटोमोटी प्रस्तावित नारायणीमा मिलाईदिएको छ । पूर्व या पश्चिम अलग थारुहरुको सघन बसोवासलाई की त पूर्व लग्नु पर्छ कि त पश्चिम लानु पर्छ । मधेशी मोर्चाले वार्गेनिङ ट्रिप्सको रुपमा एक मधेश प्रदेश भन्नु राजनीतिक प्रचारबाजी मात्र हो ।
सेनामा मधेशीहरुको १० हजार संख्यामा नयाँ भर्ना गर्नु पर्छ भन्ने अजेण्डामा एमालेको धारणा के छ ?
यस विषयमा एमालेको औपचारिक धारणाले अहिले प्रवेश पाएको छैन् । सेनालाई समावेश गर्नु पर्छ भन्ने सवालमा एमालेका अध्यक्ष आफैले प्रधानमन्त्रीको हैसियतमा स्विकार गरिसेका छन् । प्रचण्ड नेतृत्वकै सरकारमा समावेशी विधेयक पेश गरिएको थियो,  त्यति बेला एमालेका केही नेतृत्वहरुले विरोध गरे पनि म   समावेशी विधेयकको पक्षमा अडिग रहें । सत्ताको सार तत्व शक्ति हुन्छ र सशस्त्र शक्तिको उच्च तत्व भनेको सेना नै हो । त्यसैले सत्ताको सारतत्व बाट अमुक समुदायलाई वञ्चित गराइन्छ भने त्यो राष्ट्रिय एकता, अखण्डता कायम राख्नको लागि सेना, प्रहरी, निजामति, कर्मचारी, विश्वविद्यालय, प्रशासन सहित सबै तहमा सबैको साझा अनुभुति हुनु जरुरी छ । कुनै खास समुदायलाई मात्र राखेर अन्य समुदायलाई पाखा लगाइयो भने तुष बढ्न सक्छ ।
सेनामा प्रवेश गर्नका लागि व्यक्तिगत योग्यता नै मापदण्ड बनाइयो भने पनि तराईवासी कसै भन्दा कम छैन् । सीना, हाइट, दौड, एथलेटिक्स, शारिरीक बल सहितलाई नै मापदण्ड बनाइयो भने पनि तराईवासी कसै भन्दा कम छैनन् । यसै मुलका मानिसहरु भारतको मराठा रेजिमेन्ट, कुमाउ रेजिमेन्ट, राजपुताना राइफल, असम राइफल सहित समथर भुमिमा बस्ने व्यक्तिहरु नाम कमाइसकेका छन् । अवसरको जरुरी छ, तराईवासी कसैभन्दा कम छैन् । दशै हजार संख्या नभनौं, गुड विगनिङ हुन जरुरी छ । कसरी अगाडी बढ्ने हो सेना व्यवस्थापनमा , तराईवासीको प्रवेशमा समेत कुनै अप्ठयारो नहोस संख्या त्यो भन्दा बढी वा कम  पनि हुन सक्छ ।
राष्ट्रिय सहमति कायम गर्नका लागि प्रधानमन्त्री झलनाथ खनालले राजिनामा गरी मार्ग प्रशस्त गर्ने भनिएकोमा अहिले सम्म सरकारको राजिनामा नआएको बेला राष्ट्रिय सहमति कसरी बन्न सक्छ ?
प्रधानमन्त्रीको राजिनामा माओवादी लडाकुको समायोजन, व्यवस्थापन तथा पुनःस्थापन र संविधानको मस्यौदा ड्राफ्ट गर्ने कुरामा निर्भर गर्छ । उक्त कुराहरु अषाढ देखि साउन सम्म   भयो भने सरकारले साउन भित्रै राजिनामा गर्न सक्छ ।  तर सत्ता साझेदारी मात्र राष्ट्रिय सहमतिको अभिव्यक्ति प्रकट हुन्छ भने त्यो सम्भव छैन, त्यसका लागि सवै दल उति नै अग्रसर हुनु पर्छ ।
अव स्थानीय कुरा गरौं । तपाई स्थानीय विकास मन्त्री भएको बेला करिब ४ करोड रुपैया हुलाकी सडक विस्तारमा खर्चनु भएको थियो । तर अहिले मर्मत सम्भारको अभावमा सडक जीर्ण बन्दै गएको छ । त्यस प्रति तपाईको ध्यान गएको छैन ?
म स्थानीय विकास मन्त्री भएको बेला हुलाकी सडकको गिद्धा देखि पूर्व काम भएको थियो । जनकपुरको कप्लेश्वर, भोइल देखि परवाहा सम्म मर्मत मात्र गरिएको थियो । पूर्व क्षेत्रमा ग्रभेलको काम सँगै रोलिङ पनि गरिएको थियो । जीर्ण भएको ठाउँका लागि मैले आफनै पहलमा भौतिक योजना मंत्रालयबाट आदेश गर्न लगाएर सडक डिजिजन कार्यालयलाई इस्टिमेट गर्न लगाएको छु । उक्त कार्यका लागि ३० लाख रुपियाँको माग गरिएको छ । एक सप्ताह भित्रै सडकको मर्मत सम्भार हुनेछ तथा अषाढ भित्रमा यातायात सुचारु हुनेछ ।
अन्य विकास निर्माणका लागि के गर्दै हुनुहन्छ ?
सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निर्माणका लागि करिब ८६ करोड रुपैयाको  टेण्डर आह्वान भई स्विकृत पनि भइसकेको छ । ७ दिन भित्र अग्रिमेन्ट गरी अषाढ मसान्त भित्रै पुलको शिलान्यास हुनेछ । प्रधानमन्त्री र भौतिक योजना तथा निर्माण मन्त्रीलाई शिलान्यास कार्यक्रममा आमन्त्रण गरिनेछ ।
तपाईले नियूक्त गरेका कर्मचारीहरु भ्रष्टाचारमा नामै कमाएको भन्ने चर्चा छ, त्यसको दोष तपाईले लिने कि नलिने ?
हेर्नुस संविधानसभाको निर्वाचन अघि सम्म म बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्यक्ष थिए । त्यहाँका कार्यकारी निर्देशक नेवल चौधरीले त्यति वेला सम्म कुनै गलत काम गरेन । तर म पदमुक्त भइसके पछि भारतीय राजदुतावासको ३ करोड रुपैयाको परियोजनामा व्यापक अनियमितता गरेको मैले पनि पाएको छु । सडक निर्माणमा क्वालिटी भएन, दोहोरो पेमेन्ट भयो जस्तै पेठिया देखि अस्पताल सम्मको सडक नगरपालिकाले मर्मत सम्भार गरेको थियो तर वृहतरका चौधरीले दुतावासको रकम पनि खर्चेको देखायो । शिवचौक देखि जलाध पुल सम्मको क्वालिटी कमजोर भयो । दुई वर्ष पनि पिचिङ टिकेन् ।
त्यसैगरी १६ बैशाख २०६६ मा म स्थानीय विकास मन्त्रीको जिम्मेवारी बाट मुक्त भएको थिएँ । त्यही मौका छोपी जनकपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राजकिशोर प्रसाद साहले बैशाख देखि अषाढ महिनामा लाखौं÷करोडौंको अनियमितता गरे । नाला निर्माण गर्ने क्रममा पिडारी चौक देखि मिल्स एरियासम्म सवैको घर टुटयो तर राजकिशोरले दाउपेच गरेर भानुचौकको मोनाष्टी स्कुल, निरंजन साह, लालकिशोर साह सहितको २–४ फिट नालाका लागि घर तोड्न बाट निषेधाज्ञा गराए । राजकिशोरले अन्य विकास निर्माणका कार्यमा आफ्नै नातेदारहरुलाई उपभोक्ता समिति बनाएर क्वालिटी कमजोर गरे । ती सवै कार्यहरु म हटिसके पछिको हो । म हटेपछि लगाम ढिला भयो र म ओभरसियर तथा साइट सुपरभाइजर होइन कि सवै ठाउँमा अनुगमन गर्दै हिँडने ।
ती भ्रष्ट कर्मचारीलाई कानुनी कारवाही पनि गराउनु भएन नि ?
त्यसका लागि नगरवासी तथा जिल्लावासी पनि उत्तिकै जिम्मेवार छ । दलका संयन्त्रहरु पनि योजना बाँडेर रकम हजम गर्ने दाउमा तै चुप मै चुप भई दिए पछि के गर्ने । उजुरी पनि त गर्नु पर्यो नि, कानुनी कारवाही भई हाल्छ ।


मिति ः २०६८ अषाढ ५ गते

कांग्रेसको विद्रोह घुर्की मात्र


एक्सक्लुसिभ सम्बाददाता
जनकपुरधाम...........
आगामि १४ भदौ सम्ममा माओवादीले सरकारलाई हतियार बुझाएर शान्ति प्रक्रिया सम्पन्न नगरेको अवस्था आए संविधानसभाको म्याद पनि नथप्ने र देशैभरी शान्तिपूर्ण आन्दोलन गर्ने बताए पछि राजनीतिक दलहरुबीच अझै पनि विश्वासको संकट कायमै रहेको देखिएको छ । अडान राख्दै आउने तर ऐन मौकामा चुक्दै गरेको कांग्रेसले फेरी पनि आन्दोलन गर्ने चेतावनि दिए पछि दलहरु बीच राष्ट्रिय सहमति कायम हुनेमा आशंका बढदै गएको छ । कांग्रेसका देशैभरिको जिल्ला सभापतिको गत आइतबार सम्पन्न धुलिखेल सम्मेलन बाट ११ बुँदे घाषणापत्र जारी भए पछि सभापतिहरु जिल्लामा फर्केर अहिले आफ्ना कार्यकतालाई ५ बुँदे सम्झौता बारे सचेत गराउन थालेका छन् । काँग्रेस सर्लाहीका सभापति लक्ष्मण राय भन्छन, “१४ जेष्ठ अघि देशै भरि कांग्रेसले गरेको आमसभाबाट दिइएको जनादेश अनुसार १० बुँदे अवधारणामा कांग्रेस अडिग नभएर अन्तिम समयमा आएर पछि हटेको भए पनि शान्ति प्रक्रियालाई माओवादीले निष्कर्षमा पु¥याउन नचाहेको कारण त्यस पछिको विकल्प तयार गर्न र आन्दोलन गर्न सभापतिहरुले केन्द्रिय सभापति शुशिल कोइरालालाई सुझाव दिएको अनुसार सबै सभापतिहरु जिल्ला तथा क्षेत्रहरुमा आन्दोलनको तयारीमा जुटेको हो ।”
५ बुँदे सम्झौताको पहिलो बुँदा शान्ति प्रक्रियाको मुलभुत कार्य सम्पन्न गर्ने क्रममा दुई हप्ता वितिसके पनि माओवादी नेताहरुले लिदै आएको दोहोरो सुरक्षा प्रणाली हटाउनु भन्दा अन्य कुनै काम नभएका कारण कांग्रेस माओवादी प्रति सशक्ति भएको भन्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य विलेन्द्र निधि भन्छन, “दोहोरो सुरक्षामा खटेका माओवादी लडाकूहरु र हतियारहरु २८ शिविरमा जम्मा मात्र भएका छन्, हामी त २८ वटै शिविरहरुबन्द भई समायोजन पुनःस्थापन तथा व्यवस्थापन हुन पर्छ भन्ने पक्षमा छौं तर त्यसको कार्यान्वयन सम्बन्धि माओवादीले कुनै तदारुकता नदेखाउँदा शंका उत्पन्न भए पछि माओवादी प्रति दवाव दिनका निम्ति पनि शान्तिपूर्ण संघर्षको विकल्प रोजिएको हो ।” माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनाल समेतको हस्ताक्षर भएको ५ बुँदे सहमति कार्यान्वयन गरी १४ भदौ अगावै शान्ति प्रक्रिया टुङ्गोमा पु¥याई संविधानको मस्यौदा जारी गर्ने कार्यका लागि तत्पर गराउने तर्फ नै कांग्रेसको जोड रहेको निधिको भनाई छ ।
सत्ताबाट टाढिएका नेपाली कांग्रेस सत्ता प्राप्तिका लागि उद्दत रहेको बेला आफ्ना कार्यकर्तालाई अल्मलाउन आन्दोलनको घुर्की दिएर प्रतिपक्षी धर्मको भूमिका मात्र निर्वाह गरेको भन्दै एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम महोत्तरी जिल्ला इन्चार्ज समेत रहेका सभासद रामकुमार शर्मा भन्छन् “पार्टी भित्र रहेको अन्तरविरोधका बावजुद शान्ति प्रक्रियालाई पुर्णता दिन जस्तो सुकै कुरबानी दिनु परे पनि पछि नपर्ने अध्यक्ष प्रचण्डले क्लियर र स्ट्रङ्ग मुड बनाई सक्नु भएकाले केही दिन भित्रे शान्ति प्रक्रियाले झन गति लिनेछ ।”
सेना समायोजनकै लागि शिर्ष नेतृत्वलाई प्रदान गरिदै आएको दोहोरो सुरक्षा व्यवस्था हटाएर तिनीहरुलाई शिविर फर्काएर पहिलो पाइलो माओवादीले अगाडी बढाइसकेको भन्दै शर्मा भन्छन, “ मुख्य कुरा सेना समायोजनको मोडलिटीको हो, माओवादीले प्रस्ताव गरेको नेपाल प्रहरी सशस्त्र प्रहरी, जनमुक्ति सेना सहितको मिश्रीत समायोजन र अर्को नेपाली सेनाले प्रस्ताव गरेको अलग्गै निर्देशनालय बनाई समूहगत प्रवेश मध्ये कुन अपनाउने बारे निक्र्यौल गर्नु नै हो ।” मोडालिटीको तय भई सकेपछि माओवादीले प्रस्ताव गरेको १० हजार, एमालले प्रस्ताव गरेको ६ देखि ७ हजार तथा कांग्रेसले प्रस्ताव गरेको ५ हजार लडाकू संख्या मध्ये ८ देखि १० हजारको बीचमा सहमति कायम भई शान्ति प्रक्रिया र संविधानको मस्यौदा पनि भदौं १४ भन्दा पहिले जारी हुनेमा शर्मा विश्वस्त छन् ।


मिति ः २०६८ अषाढ ५ गते

सुध्रेन नेपाल रेल्वे नचढौं विकल्प छैन, चढौं भने ज्यानै जाने खतरा


अनिल मिश्र
जनकपुरधाम..............
नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवामा दिनानुदिन ओरालो लाग्दै छ । प्रतिघण्टा मुस्किलले १८ किलोमिटरका दरले गुड्ने जयनगर–जनकपुर रेलका यात्रुले आफ्नो ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपरेको छ ।
नेपालमा एकातर्फ तीन सय पचास किलोमिटर दुरीको रेल्वे सञ्चालनका लागि वस्तुगत अध्ययन सम्पन्न भइसकेको छ । अर्कोतर्फ एक मात्र जनकपुर–जयनगर रेल सेवामा जीवन मरणको दोसांधमा छ । विश्व भरि नै रेलसेबाको द्रुत गतिका साथ बिकास र बिस्तार भईरहदा जनकपुर रेलसेबा प्रति घण्टा १८ किलोमिटरको दरले गुडदै छ । रेलको लिक, वोगी र ईन्जन मर्मत नहुँदा लाग्छ यो कछुवा नै भइसकेको छ । किनभने यसमा गति नै छैन । कहिले दुर्घटनाग्रस्त भएर त कहिले लिक छोडेर यो चर्चा पाउने गरेको छ । यसमा यात्रा गर्नु भनेको ज्यानको बाजी लगाउनु हो । पूर्वी धनुषामा यातायातको अन्य कुनै विकल्प नरहेका कारण यहाँका बासिन्दा ज्यान जोखिममा राखेरै भए पनि रेलमा यात्रा गर्न बाध्य रहेको रेलयात्री धनुषा दुवरकोटका महादेब मण्डलको भनाई छ ।
रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म पु¥याउने चर्चा चलेको पनि वर्षौ बितिसकेको छ । रेलको लिक मर्मत नहुंदा रेल यात्रा जोखिमपूर्ण बनेको छ । मर्मत सम्भारको अभाबमा जर्जर अबस्थामा पुगेको रेल कुन बेला यो दुर्घटनाग्रस्त हुने हो भन्न सकिन्न ।
दिनप्रतिदिन जर्जर बन्दै गएको रेल्वे सुधारका लागि मन्त्रीहरुले दिने भाषण नियमित कर्मकाण्ड मात्र बन्ने गरेको छ । मन्त्रीहरुको  गुलिया आश्वासनले यहाँका नागरिक केही  समयका लागि रमाए पनि अन्ततः निराश हुने गरेका छन् । ब्रिटिस कम्पनीले महोत्तरीको बिजलपुरा जंगलबाट सालको काठ ढुवानी गरि भारत लैजाने उदेश्यले बिक्रम सम्बत १९९४ मा रेल्बेको स्थापना गरयो । जंगल सखाप भएपछि यस रेललाई राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले यात्रु सेबामा परिणत गरेका थिए । एक दशकअघि सम्म जयनगर–जनकपुर–बिजलपुराको ५२ किलोमिटर क्षेत्रमा रेल गुड्ने गरे पनि सरकारी बे–वास्ताकै कारण अहिले यो रेलसेवा जनकपुर जयनगर २९ किलोमिटरमा मात्र सीमित भएको छ । जीर्ण रेलले  १ सय ७१ ज्ना कर्मचारीलाई पाल्न समेत निकै समस्या उत्पन्न भएको छ । एक मात्र इन्जिन त्यो पनि कति बेला विग्रीने हो ठेगान छैन नेपाल रेल्वे जनकपुरका चालक चन्द्र बहादुर लामा बताउछन् ।
बोगीको छानो पनि मर्मत गर्न सकेको छैन कम्पनीले । त्यसैले बर्षातमा पानी चुहिन्छ । त्यतिमात्र होइन बोगी भित्र बत्ति, शौचालय र पानी जस्ता न्युनतम सुबिधाको पनि अभाब छ । सरसफाइमा समेत ध्यान दिइन्न ।
रेल सेवा व्यबस्थित रुपमा संचालनका लागि धनुषा र महोत्तरीका सभासद्ले दबाब दिएपछि २०६७ माघ १९ गते सार्वजनिक लेखा समितिले रेल मर्मत सम्भारका लागि तत्काल १३ करोड रुपैयाँ उपलब्ध गराउन अर्थमन्त्रालयलाई निर्देशन दिएको थियो । अर्थमन्त्रालयले नेपाल रेल्बेलाई पहिलो किस्ताको रुपमा करिब ४ करोड रुपैयाँ उपलब्ध गरायो । निमित महाप्रबन्धक रामचन्द्र साहले सो रकमलाई कर्मचारीहरुको तलब भता र कमिशनमै खर्चिए । लिकमा माटो पुरेर रकम सिध्याउने काम भयो । रेल्वे सुधारका लागि आएको रकम पनि बांडीचुडी हजम भएको छ । निमित महाप्रबन्धक रामचन्द्र साह पहिलाकै महाप्रबन्धकले गरेको अनियमिततालाई निरन्तरता दिएको रेल्बे कर्मचारी ट्राफिक शाखा नेपाल रेल्बे का बरिष्ठ सहायक कृष्ण कुमार झा को आरोप छ ।
भारतबाट वि.स. २०५१ सालमा सहयोगस्वरुप प्राप्त ईन्जीनलाई नेपाल रेल्बेले मर्मत सम्भार सम्म गर्न सकेको छैन । सहयोगमा प्राप्त चारवटा डिजल ईन्जन मध्ये मर्मतको अभाबमा तीनवटा ईन्जीन लामो समयदेखि बिग्रेर थन्किएको छ । अहिले मात्र एउटा ईन्जिन जयनगर जनकपुर आबत जावत गरिरहेको छ ।
रेल्बेको स्थापनासंगै ब्रिटीस कम्पनीले खजुरीमा स्थापना गरेको कारखाना र स्टीम ईन्जनहरु पनि संरक्षणको अभाबमा घामपानीले नासिदै छन् । चन्द्र, सुर्य, सीता, महाबीर, गोरखनाथलगायतका एकदर्जन भन्दाबढी साना र ठुला स्टीम ईन्जन कामै नलाग्ने अबस्थामा पुगेको छ । यस ऐतिहासिक धरोहरहरुको संरक्षण गर्न नसकेपछि कर्मचारीकै मिलोमतोमा बहुमुल्य महंगा पार्ट पुर्जाहरु चोरी भईसकेको छ ।
नेपाल रेल्वेलाई सुधार र विस्तार गर्न सके यहाँका बासिन्दालाई मात्र नभई जनकपुर घुम्न आउने पर्यटकका साथै छिमेकी भारतको सीमाक्षेत्रका बासिन्दाले समेत राहत पाउने थिए । जीवन मरणको दोसांधमा पुगेको रेल सेवालाई कसले संजीवनी देलान् त्यो हेर्न बांकी छ । चरम राजनीतिका कारण पनि जनकपुर रेलको अबस्था दयनीय बनेको छ  । सत्तामा जानेहरु कार्यकर्ता भर्ती केन्द्र नै बनाएका छन् यसलाई । कम्पनीमा जारी वर्षौंदेखिको भ्रष्टाचारीले अब यो कहिल्यै उभो नलाग्ने संस्थामा परिणत हुंदैछ ।


मिति ः २०६८ अषाढ ५ गते

मोओवादीमा अन्तरविरोध हल गर्न नयँ“ प्रयोग मिथिला राज्य समितिको पनि छुट्टाछुट्टै भेला


एक्सक्लुसिभ सम्बाददाता
जनकपुरधाम...........
एकीकृत नेकपा माओवादीले पालुङटारको राष्ट्रिय विस्तारित भेलाबाट मोहन बैद्य किरण समूहको जनविद्रोह पारित गरे पनि त्यस लगतै बसेको केन्द्रिय कमिटीको बैठकबाट जनविद्रोहलाई उल्टयाउदै बावुराम भट्टराई समूहको विचार शान्ति र संविधान पारीत गर्न अध्यक्ष प्रचण्ड पक्षले पनि समर्थन गरे पछि माओवादी भित्रको अन्तरविरोध सतहमा आएको छ । उक्त केन्द्रिय कमिटीको बैठकबाट पार्टीलाई शुद्धिकरण गर्नका निम्ति आ–आफ्ना बिचार तल्लो तह सम्म पु¥याउन अलग अलग गुटको बैठक गर्ने नया विधीको अभ्यास गर्दा नेता तथा कार्यकर्ताहरु बीच झनै दुरी बढन थालेको भए पनि विहीबार रौतहटमा आयोजित भेलामा तिनै नेता एकै मञ्चमा एक साथ उभिएर हामी एक हौंं भन्ने सन्देश दिन खोजेका छन् । मिथिला राज्य समितिमा पनि माओवादी नेताहरुले अलग्गै भेला तथा प्रशिक्षण कार्यक्रम गरेर आ–आफना विचारहरु अगाडी राखेका छन् । गत ३० जेष्ठमा मोहन बैद्य किरण पक्षघरका नेता तथा कार्यकर्ताहरुले सर्लाहीको वयलवासमा मिथिला भोजपुरा राज्य समितिको भेलामा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । माओवादी सचिव सिपी गजुरेल तथा स्थायी समिति सदस्य नेत्रचन्द विपल्व, केन्द्रिय सदस्य द्वय महेन्द्र पासवान र कृष्णदेव सिंह दनुवार सहितका केन्द्रिय नेताहरुले उपस्थित करिव ३ सय कार्यकर्ताहरुलाई जनविद्रोहको पक्षमा जानुपर्छ भन्ने विचार राखेका थिए । क्रान्तिकारी, भूमिसुधार, संभियता, दलित आदिवासी, जनजाति, पहाडी, मधेशी, महिला सहितका मौलिक अधिकार पारितका लागि विद्रोह नै एक मात्र विकल्प रहेको नेताहरुले कार्यकर्तालाई प्रशिक्षण दिएको माओवादी केन्द्रिय सदस्य कृष्णदेव सिंह दनुवारको भनाई छ । शान्तिप्रक्रिया र संविधान निर्माण संग–संगै गर्ने कुरालाई प्रचण्ड पक्षले छाडेर शान्तिलाई मात्र प्राथमिकता बनाएको र सेना समायोजन सम्बन्धि धमाधम संशोधनवाद र आत्मसमर्पणवादमा भासेको कारणले गर्दा नेतृत्वमा विमति देखिएको दनुवारले एक्सक्लुसिभलाई बताएका छन् । त्यसपछि प्रचण्ड पक्षधरले १ अषाढमा धनुषाको लालगढमा छुट्टै राज्यसमितिको भेला डाकेर मिथिला राज्य समितिका ४ सय २० सदस्य मध्ये उपस्थित भएका करिव ३ सय सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।  मधेशका व्यूरो प्रमुख एवं स्थायी समिति सदस्य गिरिराजमनि पोख्रेल, हरिवोल गजुरेल, श्रवण यादव सहितको नेताहरुले पार्टीमा केही नेताहरु फुट हेर्न खोजेको तथा जनता र कार्यकर्ताका बीचमा भ्रम फिजाइन खोजेको आरोप लगाएका थिए ।  संशोधनवादी, सुधारवादी भन्दै सार्वजनिक गरिएको किरण पक्षको १८ बुँदाको विपक्षमा नेताहरुले धारणा राखे ।
एता बाबुराम भट्टराई पक्षधरका मिथिला राज्य समिति सदस्य देवसागर दास भन्छन्, “विचार समूहको छुट्टा–छुट्टै बैठक बस्नु पर्ने ठाउँमा गुटहरुको बैठक हुन थाले पछि पार्टीका कार्यकर्ताहरु समेत अन्यौलमा परेका छन् । तिनै समूहको विचार एकै ठाउँमा ल्याएर राम्रो विचारलाई लिएर जानु पर्ने ठाउँमा अलग–अलग गुटको वैठकलाई बढावा दिने हो भने पार्टीमा विभाजन हुने खतरा बढेर जान्छ ।”
रुसमा पनि क्रान्ति अन्तिम समयमा पुग्न लागेको बेला मेन्सेभिक र बोलसेभिक दुई समूहमा विभाजन भई आ–आफना विचार अगाडी बढाउने प्रयोग गरे पनि अवस्था खतरनाक रुपमा चित्रीत भयो । यति सम्म भयो कि दूवै समूहका नेता तथा कार्यकर्ताहरुले एक अर्का विरुद्ध भौतिक आक्रमण समेत गर्न थालेका थिए । नेपालको माओवादीको परिपेक्ष्यमा पनि त्यस्तै भयानक अवस्था आउने त होइन भन्ने सवालमा मिथिला राज्य समिति सदस्य रामचन्द्र मण्डल भन्छन्, “पार्टी भित्रको अन्तरविरोध हल गर्न नयाँ विधीको प्रयोग गरिएको भए पनि उक्त अभ्यास असफल भए स्वभाविकै रुपमा अर्को विकल्पको खोजी गरिन्छ । विधी अहिले परीक्षणकालमै रहेको तथा गलत या सही सावित नभइसकेको अवस्थामा उक्त विधीको प्रयोग गर्नु पर्छ ।”
गुटको माध्यमबाट व्यक्तिगत लाभ लिने, पदिय लोलुप्ता तथा आत्मकेन्द्रित सोच बढ्दै गइरहेको बेला माओवादीले शुरु गरेको नयाँ विधीको अभ्यासले शान्ति प्रक्रिया तथा संविधान निर्माणमा समेत असर पर्न सक्ने जानकारहरुको विश्लेषण छ ।

मिति ः २०६८ अषाढ ५ गते

हुलाकी सडक मर्मत सम्भारको अभावमा जिर्ण


एक्सक्लुसिभ सम्बाददाता
जनकपुरधाम...........
करोडौं रुपियाँको लागतमा निर्माण भएको हुलाकी सडक मर्मत सम्भारको अभावमा सडक जीर्ण बनेको छ । ३ देखि ४ लाख रुपियाँ सम्मको मात्र कार्य भयो भने उक्त सडक फेरी पनि राम्रो अवस्थामा आउने स्थानीयवासीहरुको भनाई छ । हुलाकी सडक तिनकौरिया चौक देखि पश्चिम बेलापट्टिको बलुवा खोला सम्म करिब दुइृ किलोमिटर सम्म सडक पूर्णतः जीर्ण भए पछि यातायात पनि ठप्प भएको छ । त्यसैगरी भोइलमा सडक हिलाम्य भएको छ ।
विगतमा हुलाकी सडकमा माटो तथा ग्रेभलकै लागि एमाले नेता रामचन्द्र झा स्थानीय विकास मन्त्री हुँदा मन्त्रालयको अख्तियारीमा ३ कारोड ९० लाख रुपियाँको काम मन्त्रीमाका भाई विद्याचन्द्र मmाले गराएका थिए । त्यसैगरी अर्थ मन्त्री बाबुराम भट्टराईले माओवादी नेता रामचन्द्र मण्डलको अख्तियारीमा हुलाकी सडकका लागि ३० लाख रुपियाँ निकासा गराएका थिए । सार्वजनिक लेखा समितिका सभापति एवम कांग्रेसका सभासद रामकृष्ण यादवले पनि आफ्नो अख्तियारीमा १० लाख रुपियाँ निकासा गराएका थिए । त्यसै गरि सडक बोर्डको ७ लाख र जिविसको १३ लाख गरी २० लाख रुपियाँ जोगियाराको पुल दुखि दुई सय मिटर पश्चिम सम्म र जोगियारा देखि पूर्व करिव डेढ किलोमिटर सम्ममा प्रभाकर झाले खर्च गरेका थिए । गत वर्ष ४ करोड ५० लाख रुपियाँ खर्च गरिएको उक्त सडकको दुरावस्था सम्बन्धमा सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादव भन्छन्, “केन्द्रमा राजनीतिक अस्थिरताको कारण बजेट रेड बुकमा आए पनि कार्यान्वयन हुन सकिएको छैन । हुलाकी सडकको मर्मत सम्भारका लािग भारतीय राइटस कम्पनीले सर्वे गर्दैछन्, अर्थ मन्त्री भरतमोहन अधिकारी संग पनि सम्बाद थालेका छु, सडक निर्माण भने हुने नै छ ।” जिविस धनुषाका सर्वदलिय संयन्त्रका एक सदस्य तमलोपाका सहसंयोजक परमेश्वर साह भन्छन्, “ एकीकृत माओवादीको आन्तरिक विवाद र स्थानीय विकास अधिकारी सूर्यकान्त झाको घरायसी कार्यका कारण वोर्ड बैठक बस्न सकेको छैन् । वोर्ड बैठक बसे पछि हुलाकी सडक जीर्ण भइरहेको सम्बन्धमा छलफल चलाई योजना बनाउने छौं ।”
राष्ट्रिय योजना आयोगका प्रथम उपाध्यक्ष स्वर्गिय हर्ष बहादुर गुरुङ र तत्कालिन राजा महेन्द्रकै कारण हुलाकी सडकको विकास संग विभेद भएको हो । तत्कालिन राजा महेन्द्रले हुलाकी सडक सम्बन्धि विशेष चासो लिए पनि उपाध्यक्ष गुरुङले मधेशी जनतालाई २ नम्बर नागरिक भनि १ नम्बर नागरिकका लागि पूर्व पश्चिम महेन्द्र राजमार्ग विस्तार गर्नु पर्छ भनेर राजमार्ग विस्तार गरियो र हुलाकी सडक संग विभेद गरियो ।
राणाकालिन समयमा यातायातको सुविधा नभए पनि चिठीपत्रि एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन हुलाकीहरुले प्रयोग गर्ने गरेको सडकलाई हुलाकी सडक भनेर नामाकरण गरिएको हो । भारतको रक्सौलबाट विरगंज देखि काठमाडौं तर्फ र मधेशका जिल्लाहरुका लागि हुलाकीहरु पैदलै हिंडेर चिठी पु¥याउने गर्दथे । हुलाकीहरु एउटा काँधमा भाला र चिठी पत्री राख्नुका साथै अर्को हातमा झुनझुना बाँधेको लठी टेकेर रातको समयमा पनि जाने गर्दथे । हुलाकीको लठीमा बाँधिएको झुनझुनाको आवाजले स्थानीयवासी हुलाकी गइरहेको भान पाउँथे । त्यतिबेला चोर तथा डाँकाहरु समेतले राती हुलाकी हिडंदा केही पनि गर्दैनथे । यति सम्मकी हुलाकीलाई हिंडन सजिलो होस भन्न ठानेर सडकमा भएका घाँस काटन पनि वर्जित थियो । घास काट्यो भने माटो बग्न सक्ने हुनाले त्यति सावधानी वर्तेको थियो । तर अहिले उक्त सडकमा करोडौंको लागत लागे पनि सडक जीर्ण हुँदा सम्बन्धित निकायले ध्यान नदिएकै कारण सडकमा आवागमन प्रभावित भएको छ । जनकपुरको कदम चौक देखि धनुषाको बलहा सगहारा सम्म करिब २७ किलोमिटरको दुरीमा दैनिक ५ देखि ७ वटा बस, सयौं ट्रैक्टर,मोटरसाइकल सहित करिब १ हजार भन्दा बढी यात्रुहरु साइकलमा आवतजावत गर्ने गर्छन् । बेलैमा सम्बन्धित निकायले हुलाकी सडक सम्बन्धि गम्भिर हुन जरुरी छ । जिविसमा सडक मर्मत सम्भार कोषबाट पनि उक्त सडकको मर्मत गर्नु पर्दछ ।

मिति ः २०६८ अषाढ ५ गते

ठेकेदार र कार्यालय प्रमुखको मिलेमतोमा भ्रष्टाचार


एक्सक्लुसिभ सम्बाददाता
जनकपुरधाम...........

मुलुकमा जारी संक्रमणकालको मौका छोपी मधेशका जिल्लामा आउने स्थानीय निकायका प्रमुखहरु तथा सडक भवन सहितका प्रमुखहरु सम्बन्धित मंत्रालयमा मोटो रकम बुझाएर आउने गरेकै कारण मंत्रालयले पनि ती प्रमुखहरुलाई भ्रष्टाचार गर्न क्लिन चिट दिएका कारण मधेशमा विकास हुन सकेको छैन् ।
आर्थिक बर्षको अन्ततिर सम्बन्धित विभाग देखि स्थानीय प्रशासनिक निकाय समेतमा मोटो रकम बुझाउनु परेको कारणले गर्र्दा पनि भ्रष्टाचारले प्रोत्साहन पाएको छ । संक्रमणको भजन गाउँदै अनैतिकताको क्रम निरन्तर बढ्दै गए पनि तिनीहरुलाई कानुनी कठघरामा ल्याउन कसैले आँट गरेका छैनन् । धनुषाको जिल्ला विकास समिति, जनकपुर नगरपालिका, बृहत्तर जनकपुर विकास क्षेत्र परिषद, सडक डिभिजन कार्यालय मुजेलिया, डिभिजन भवन कार्यालय सहितका कार्यालयहरुले टेण्डर आह्वान नगरी कोटेशन र उपभोक्ता समितिबाट काम गराएर भ्रष्टाचार गर्ने गरेका छन् । टेण्डर आह्वान गरे पनि ठेकेदारहरु ७० देखि ८० प्रतिशत सम्म बिलो (तल) गएर ठेक्का लिने गरेका छन्, जसबाट पनि के पुष्टि हुन्छ भने ठेकेदारलाई पनि कामै नगरे भुक्तानी पाउन एक किसिमले सरकारी कार्यालयहरुले अनुमति नै दिएका हुन्छन् ।
जिविस धनुषाले ६ जेष्ठ २०६८ मा १ करोड २४ लाखका १२ योजनाहरुको टेण्डर आह्वान गर्दा ठेकेदारले ७० प्रतिशत भन्दा पनि बढी बिलो गएर ठेक्का लिएका छन् । ठेकेदारले १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट), १ दशमलव ५ प्रतिशत आयकर, ५ प्रतिशत कन्टिजेन्सी सहित करिब ९० प्रतिशत रकम त्यसै खर्च गरिसकेपछि बाँकी बसेको मात्र १० प्रतिशत रकमले लाखौं रुपियाँको कुनै पनि ठेकेदारले काम गर्नै नसकिने गणितिय हिसाबले पनि ठोकुवा गर्न सकिन्छ ।
निर्माण व्यवसायी जगदिश महासेठ भन्छन, “विकास निर्माण सम्बन्धि कार्यालयहरुले एक त दर रेट बढी राख्ने गर्छन, फेरी आफू निकटका दलाल ठेकेदारहरु मात्र प्रतिस्पर्धामा लगेर ७० के ८० प्रतिशत सम्म मुनि पनि गएर ठेक्का स्विकृत गरिन्छ, त्यो भनेको कामै नगरी भुक्तानी पाउन क्लिन चिट दिनु हो तसर्थ कार्यालयहरुले पनि त्यस्ता निर्माण व्यवसायहिरुको सुचिकृत गरी कालो सुची जारी गर्नु पर्दछ ।” निर्माण व्यवसाय धुनषाका महासचिव विवेक मिश्र भन्छन् – भ्रष्टाचार गर्नमा कार्यालय र ठेकेदारहरुकै पनि मिलेमतो हुन्छ । त्यसैले त्यस्ता कार्यलाई निरुत्साहित गर्न सवै पक्ष अगाडी आउनु पर्दछ ।
सडक बोर्डको हरेक कार्यहरु टेण्डर मार्फत नै गर्नु पर्ने  कानुनी प्रावधान भए पनि कार्यालय प्रमुखले उपभोक्ता समिति मार्फत काम गर्न लगाएर भ्रष्टाचारको पराकष्ठा नै नाघेको हुन्छ । जनकपुर नगरपालिकाका निमित्त प्रमुख इन्जिनियर विरेन्द्र यादवले राममन्दिर पछाडी सौतिनिया इनार देखि महावीर चौक सम्म सडक कालोपत्रे गर्नका निम्ति सडक वोर्डको रुपियााँ उपभोक्तामा दिए पछि सडक नबन्दै कालोपत्रे उक्लिन थालेको छ । मिल्स एरिया देखि जानकी मन्दिर सम्म, परिक्रमा सडक पिडारी चौक देखि भानुचौक सम्म, वडा नम्बर १ देखि पुलचौक र मुसहरी सम्ममा अलि–अलि काम गरेको देखाए पनि धेरै रकमको बिल बनेको श्रोतको दावी छ । स्थानीयवासीहरुका अनुसार जेष्ठ २९ गते दिनको ११ बजे देखि ग्रेभलिङको काम शुरु भई ५ बजे सम्पन्न भएको थियो । ६ घण्टा ग्रेभेलिङको काम भए पनि तिन हजार रुपियाँ प्रति घण्टाका दरले १८ हजार रुपियाँ मात्र हुनु पर्ने ठाउँमा मोटो रकमको बिल बनाइएको श्रोतको दाबी छ । एक साता अघि मिल्स एरियामा केयर मेडिकल अगाडी तीन ट्रीपर बराबर ३० घन मिटर ग्रेभल खस्यो तर काम भन्दा कैयौं गुणा बढी रकमको बिल बनेको श्रोतको दावी छ । सौतिनिया इनार देखि महाविर चौक स्थित पूर्व मेयर वजरंग प्रसाद साहको घर सम्म गुणस्तरहीन पिचिङ हुँदा महावीर यूवा क्लवले विरोध गरे पनि कार्य नरोकी निरन्तरता दिए पछि पिच अहिले नै उक्लेको महावीर युवा क्लवका पूर्व अध्यक्ष हिराकुमार साहको भनाई छ । २८ लाख रुपियाँको उक्त योजना सडक वोर्डको रहे पनि इन्जिनियर विरेन्द्र यादवले टेण्डरबाट काम नगराई उपभोक्ता मार्फत गराएकै कारण काम गुणस्त्तरहीन भएको साहको भनाई छ ।

मिति ः २०६८ अषाढ ५ गते