Tuesday, July 24, 2018

मेयर साहको बदलिएको जीबनशैली

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 जनकपुर उपमहानगरका जनताले बिशाल मत दिएर लाल किशोर साहलाई मेयर पदमा निर्बाचित गराएका थिए । उनको बिगतको आफ्नै बिराट  व्यक्तित्व, प्रजातान्त्रिक आन्दोलनमा उनको योगदान, जेल नेल भोगाई, मधेश आन्दोलन, शहीदहरूको शहादत र आन्दोलनकारी योद्धाहरू, जिउँदो शहीदहरूको योगदान सबै कारणले साह बिशाल मत अन्तरले निर्बाचित भएका थिए ।
बिगतमा पनि जनकपुरको उपमेयर भएको बेला खासै बिबादित छबी नभएका साह मेयर बन्नु पर्छ भन्ने पक्षमा जनकपुरका बौद्धिक जमात पनि लागेका थिए । बिगतमा नेपाली कांग्रेसको पृष्ठभूमि भएका कारण उनका बिगतका कांग्रेसी सहकर्मीहरूले पनि चुनाबमा आन्तरिक मदत गरेकै थिए । सादा जीबन र उच्च बिचारको छबी बोकेका साहले २०६४ को मधेश आन्दोलन पछि जब कांग्रेस परित्याग गरेर , सद्भावनामा प्रवेश गरे उनको राजनीतिक उचाई त्यस अनुरुप अगाडी बढ्न सकेन ।
बिगतमा दुई पटक निर्बाचित भएर अहिले जेलमा रहेका पुर्ब सांसद संजय साहको दरबारमा हाजिरी लगाए पनि उनले दोश्रो संबिधानसभाको निर्बाचनमा न त टिकेट पाए न त समानुपातिक कोटाबाट सांसद नै बन्न पाए । तत्कालिन सद्भावना अध्यक्ष राजेन्द्र महतोले राजनीतिक रूपमा उनलाई केन्द्रिय प्रबक्ता समेत बनाईदिए पनि उन्ली लाभको अबसर भने प्राप्त गर्न सकेका थिएनन् ।
जब राजपाको गठन भयो, जनकपुरमा मेयर पदका दौडमा धेरै आकांक्षीहरू थिए, तर, जनकपुरका केही बौद्धिक जमात र राजनीतिक लबिंग समेत तिब्र भए पछि साहले मेयरको टिकेट हात पार्न सफल भए । त्यसका लागि उनले सबै अध्यक्षमण्डलका सदस्यहरूलाई रिझाउन सफल भएका थिए ।
स्थानीय तहको निर्बाचनमा सीधा प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार मनोज साह संग थियो । बिगतमा लालकिशोरको व्यक्तित्व र योगदानका अगाडी कांग्रेसका उम्मेदवार हलुको साबित भए । परिणाम स्वरूप उनी धेरै फराकिलो मत अन्तरले निर्बा्चित भए पछि उनलाई प्रदेश नम्बर दुईमै ‘म्यान ओफ द इलेक्सन’ सम्म पनि भनियो ।
उनलाई जनकपुरबासीले शक्तिशाली प्रतिनिधिको रूपमा स्थापित किन पनि गरे भने बिगतको २५ बर्ष देखि स्थानीय तह जनप्रतिनिधि बिहिन भएका कारण जनकपुर शहर बिकास तथा पुर्बाधारमा धेरै पछाडी परेको थियो । कार्यकारी अधिकृतको एकल बोर्डबाट स्थानीय तहको बिकासका लागि आउने सम्पूर्ण अनुदानको रकम सर्बपक्षिय राजनीतिक दलको भागबण्डामा सिमित हुन्थ्यो । बिकास का लागि आउने रकम बिकासमा खर्च नभएर दलका प्रतिनिधि र कर्मचारीहरूको सीधा गोजीमा जाने गथर््यो ।
लालकिशोर साहमाथि जनकपुरबासीको ठुलो आशा र अपेक्षा थियो की उनी मेयर बनेपछि जनकपुरमा बिकास मात्र हुने छैन, भ्रष्टाचारको पूर्णतः अन्त्य हुनेछ । बिगतमा पनि उनी आफै प्रजातन्त्र र लोकतन्त्रको लागि लामो लडाई लडेका कारण आफ्नो कार्यपालिकामा लोकतन्त्रको अनुभूति दिलाएर सुशासनको अनुभूति दिलाउन सक्नेमा जनकपुरबासी ढुक्क थिए ।
तर, उनी मेयर बने पछि उनको पछिल्लो कार्यकालले जनकपुरबासीको सबै आशा र अपेक्षामा ठुलै कुठाराघात गरिदिएका छन् । हिजोको सरल जीबन निर्बाह गरेका साह मेयर बने पछि सुख सयल, भोग विलास र मौज मस्तीमा केन्द्रित देखिएका छन् । उनको कार्यालयको कार्यकक्षमा रहेको शौचालय सम्ममा एयर कन्डिसन जडान गर्न लगाउनु, शौचालयलाई अत्याधुनिक बनाउन पटक पटक मरम्मत सम्भार गर्न लगाउनु,पुरानो गाडी हुँदा हुंदै डेढ करोड भन्दा पनि महँगो फोर्ड गाडी किनेर चढ्नु, बिगतको आफ्नो निजी निवास हुँदा हुंदै बहालमा कोठा लिएर कोठा भित्र आन्तरिक डेकोरेसनमा मात्रै लाखौँ रुपियाँ खर्चिनु, महँगो मोबाइल बोक्नु आदिले पनि उनको जीबन शैलीमा कति सम्मको फरक आएको छ भन्ने कुरा सहजै जो कोहीले पनि देखिरहेका छन् ।
हिजो मेयर नबन्दा सम्म उनको बोलीमा अत्यन्तै मिठास हुन्थ्यो । जो कोही संग पनि सजिलै घुलमिल हुन्थे । तर, अहिले उनी पुरै पुरी फेरिएका छन् । जनता संग सीधा सम्बाद छैन । जनता सेवाग्राही बनेर उनको कार्यकक्षमा पुग्दा उनको रबाफ प्रधानमन्त्री भन्दा कम हुँदैनन् । जनतालाई आफ्नै टेबुल अगाडी घन्टौं उभ्याउने उनको बानी बनेको छ । सेवाग्राही संग झर्केर कुरा गर्ने उनको नियति नै बनेको छ । हिजो सम्म जो उनका सहयोगी थिए उनै व्यक्तिहरू संग सम्बन्ध बिग्रिएको छ ।
सबै भन्दा ठुलो झड्का त  मतदातालाई लागेको छ । हिजो जसले उनाई मतदान गरेर मेयर बनाए आज ती नै मतदाताहरू उनीबाट उपेक्षित भएका छन् । भ्रष्टाचारमा उनी चुर्लुम्म डुबेका छन् । पाइला पाइलामा उनले भ्रष्टाचार गरेको तथ्यहरू पत्र पत्रिका देखि संचार माध्यम हुंदै सामाजिक संजाल सम्ममा छ्याप्छयाप्ती देखिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रम होस्, वा बिकास निर्माणका कुरा, सबै जसो योजनाहरूमा अनियमितता भएको पाईन्छ । जनताले सुचना पाउन सकिरहेका छैनन्, काम कारबाही बारे कुनै पनि पारदर्शिता छैन । नियम बिपरित, प्रक्रिया बिपरित सबै जसो नगर स्तरीय योजनाहरू उनले आफ्ना छोरा, भान्जा, भतिजा देखि आफन्त सम्मलाई कोटेसनमा दिएर ब्यापक अनियमितता तथा भ्रष्टाचार गरेको कुरा बिपक्षी राजनीतिक दल देखि उनको आफ्नै राजनीतिक दल राजपाबाट समेत उठी रहेको छ ।
नगर सभा गर्दा समेत प्रायः जसो राजनीतिक दलहरूलाई बेवास्ता गरेको पाइन्छ । एकलौटी ढंगले उनी अगाडी बढिरहँदा बिपक्षी दल कांग्रेसले साउन १५ गते बिशाल जुलुश सहित उपमहानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम नै तय गरिसकेको छ । राजपा लगायत अन्य सबै दलका नगर र जिल्ला स्तरीय नेताहरूले मेयर साहको ब्यबहार तानाशाही जस्तो भएको प्रतिक्रिया दिने गर्छन् ।
करीब १ अर्ब भन्दा बढी रकम गत आर्थिक बर्षमा मेयर साहले खर्च गरेका छन् तर देखिने गरी गतिलो काम कुनै पनि हुन सकेको छैन । आन्दोलन गरेको, क्रान्ति गरेको पार्टी राजपाबाट चुनाव जितेका मेयर साहले आगामी दिनमा आफ्नो ब्यबहार, रबैया नसच्याउने हो भने प्रदेश नम्बर दुई बाटै राजपाको अस्तित्व समाप्त हुन सक्ने राजपाका नेताहरूकै आकलन रहेको छ ।
खास गरेर भ्रष्टाचारको जुन रफ्तार उनले अगाडी बढाएका छन् त्यहि गति आउँदो दिनमा पनि कायमै रहे उनले आफ्नो कार्यकाल समेत बिताउन नपाउंदै अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कारबाहीमा परेर बाँकी जीबन जेलमै बिताउनु पर्ने हुन सक्छ ।
उनको जीबनमा त अत्यन्तै परिबर्तन आएको छ तर, जनकपुरको समस्या ज्युँ का त्यूँ छन् । अत्यन्तै फोहोर शहरको दाग मेटाउन सकिएको छैन । लामखुट्टेको प्रकोप न्यूनीकरण समेत गर्न सकिएको छैन । शहरमा सुशासन छैन । बिकासले गति लिन सकेको छैन, भईरहेकै कामहरू एकदमै गुणस्तरहिन छन् । कमिसनखोरी र घुशखोरी त्यत्तिकै बढेको छ ।
मेयर साहले जनतालाई राहत दिने कुनै काम त गर्न सकेका छैनन् तर, बिभिन्न क्षेत्रमा करको दायरा मात्र बढाएका छैनन्, करको दर पनि कैयौं गुणा अगाडी बढाएका छन् । जनताको ढाड सकिएको छ । सामान्य बर्षातमा पुरै शहर नै डुबानमा पर्ने गर्छन ।जगाको मुल्यांकन सात प्रतिशत दरले बढेका छन् भने अन्य थुप्रै करहरू बढेको छ ।
हिल्लामे शहर, फोहोर शहर, धुल्लाम्मे शहरको रूपमा बद्नाम भएको दागलाई मेटाउन कुनै ठोस काम भएको देखिंदैन । उचित ढल ब्यबस्थापन छैन । पानीको निकास छैन । महिनौं देखि जनताले खानेपानीको सुबिधा पाउनबाट बन्चित छन् । टेलिफोनको लाइन महिनौं देखि अबरुद्ध छन् । यावत समस्या त समाधान गर्न सकिएको छैन भने अन्य ठुल ठुला समस्या समाधानको कुरै आउदैन ।
स्मार्ट सिटीको रूपमा जनकपुरलाई बिकसित गर्ने भनेर चुनाब ताका उनले दिएका बाचा त झन् के पुरा होलान्, तत्काल काम चलाउका लागि आफ्नो घरबाट बाहिर सडकमा हिंड्न सक्ने अबस्था सम्म बनाईदिए हुन्थ्यो । तर, मेयर साहलाई यी कुरा संग कुनै सरोकार नै देखिंदैन । छाडा सुँगुर र पशु चौपायाको आतंकले नगरबासी त्रस्त छन,  कान्जी हाउस  काम बिहिन बनेको छ ।
तसर्थ मेयर साहले ती सबै कमि कमजोरीलाई सच्याउदै अगाडी बढ्छन् वा अहिलेकै क्रमलाई निरन्तरता दिने छन् त्यो भने आगामी दिनमा प्रष्ट हुंदै जानेछ ।   


२०७५ श्रावण ०६ गते आईतबार

No comments:

Post a Comment