Tuesday, July 24, 2018

जनकपुरमा सडक बत्तीमा ब्यापक अनियमितता,मेयर साह बिरुद्ध राजपाका नेताहरू नै असन्तुष्ट

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिकाको कार्यालयले सडक बत्तीमा गरेको खर्चमा ब्यापक अनियमितता भएको रहस्य खुलेको छ । जेठ २०७५ सम्ममा मात्रै उपमहानगरपालिकाको कार्यालयले सडक बत्तिमा करीब ८५ लाख रुपियाँ खर्च भएको जनाएको छ ।
बजारमा २ सय रुपियाँमा पर्ने एलईडी बल्ब कमिशनको चक्करमा बजारको दर भाउ भन्दा कैयौं गुणा बढी मुल्यमा बल्ब किनेर भ्रष्टाचार गरेको पाईएको छ ।
उपमहानगरपालिका कार्यालयको जिन्सी शाखाका अधिकृत ललन कुमार कर्णले दिएको जानकारी अनुसार स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरू आएपछि दशैं र तिहार जस्तो पर्वमा शहरलाई उज्यालोमा राख्नका निम्ति सडक बत्तिको ब्यबस्था गरिनुपर्ने भनेर वडा अध्यक्षहरूद्वारा प्रस्ताव आए पछि उपमहानगरपालिकाको कार्यालयले आपूर्तिकर्ताबाट बल्ब लगायतका सामग्री खरिद गरेको थियो ।
कोटेसनका माध्यमले जनकपुरकै सत्या ईन्टरप्राईजेजबाट दरभाउ लिएर सामान किनिएको र बिभिन्न वडाहरूमा वडा सचिब र वडा अध्यक्ष मार्फत ती बत्ती सडकको पोलहरूमा जडान गरिएको कर्णले बताए ।
उक्त ईन्टरप्राईजेजका प्रोप्राइटर मनिष मिश्रासंग ९ असोज २०७४ मा गरिएको सम्झौता अनुसार १४ वाटको एलईडी बल्ब ४ सय ७५ रुपियाँ प्रति थान, ३÷२६ को तार १ हजार ६ सय रुपियाँ प्रति  क्वाईल,३ ÷२० को तार २ हजार ५ सय रुपियाँ प्रति क्वाइल,२३ ÷६० को तार  ९ सय ५० रुपियाँ प्रति क्वाइल,  ६ एमएमको तार ४५ रुपियाँ प्रति मिटर खरिद  गरिने दरभाउ  उल्लेख गरिएको छ ।
त्यसै गरी बल्बमा लगाईने एल्मुनियम क्याप १ सय २५ रुपियाँ प्रति थान, होल्डर ३६ रुपियाँ प्रति थान, बेड स्विच ३० रुपियाँ प्रति थान खरिद गरिने सम्झौता गरिएको थियो । ती एलईडी बल्ब १ बर्षको ग्यारेन्टी सहित खरिद गरिने सम्झौता अनुसार उपमहानगरले खरिद गरेको हो ।
जबकी उपमहानगरले खरिद गरेको उक्त दरभाउ अहिलेको बजार भाउ भन्दा धेरै नै महँगो  रहेको पाईएको छ । जनकपुर स्थित जय जनक सप्लायर्सका संचालक सुरेश साहका अनुसार जुन बल्ब उपमहानगरले एक बर्षको ग्यारेन्टीमा मात्रै ४ सय ७५ रुपियाँ प्रति थान किनेको छ, बजारमा त्यही बल्ब २ बर्षको ग्यारेन्टीमा अधिकतम २ सय ८० रुपियाँमा मात्र आउँछ । त्यसमा पनि थोक मात्रामा लिंदा त झन् कम मुल्य पर्छ ।
उपमहानगरले किनेको तारको मुल्य बताउँदा उनी झसंग मात्र भएनन्, उक्त मुल्य भन्दा आधा भन्दा सस्तोमा तार बजारमा जहाँ पनि पाउन सकिने बताए ।
कत्ति बल्ब अहिले मौज्दातमा छन्, जम्मा कति बल्ब र तार सहितका सामग्रीहरू उपमहानगरले किने र कति कति कहाँ कहाँ बितरण तथा जडान गरे भन्ने प्रश्नमा उपमहानगरपालिकाको कार्यालयका जिन्सी फाँटका अधिकृत ललन कर्णले द एक्सक्लुसिभसंग भने,‘त्यो मौज्दातको अपटूडेट तथ्यांक हामीहरूसंग अहिले नै छैन । कर्मचारी अभावका कारणले सबै अभिलेख मेन्टेन गर्न सकिएको छैन ।’ पटक पटक अनुरोध गर्दा कर्णले पुष २०७४ सम्म जनकपुर उपमहानगरपालिकाको कार्यालयले वितरण गरेको २५ वटा वडाहरूको विवरण उपलब्ध गराए ।
गत पुष सम्मको विवरण अनुसार जनकपुर उपमहनगरपालिकाको २५ वटै वडाहरूमा कुल ५ हजार ८ ९० एलईडी बल्ब, १ हजार ९ सय ८० सामान्य बल्ब ,६ हजार ४ सय होल्डर,८३ क्वाईल तार,५ हजार ३ सय ३० थान क्याप वितरण गरिएको छ ।
पुष एता ठुलो परिणाममा भने बितरण पनि भएको छैन । हिसाब गर्दा एलईडी बल्बमा २७ लाख ९७ हजार ७ सय ५० रुपियाँ, ५० रुपियाँ प्रति सामान्य बल्बको हिसाबले ९९ हजार रुपियाँ, होल्डरको २ लाख ३० हजार ४ सय रुपियाँ, औसत २ हजार रुपियाँको प्रति क्वाईलका दरले तारको १ लाख ६६ हजार रुपियाँ र क्यापको ६ लाख ६६ हजार २ सय ५० रुपियाँ गरी कुल ३९ लाख ५९ हजार ४ सय रुपियाँ मात्र हुन्छ ।
पुष पछि धेरै बल्ब जडान नभएकाले जेठ सम्म देखाईएको कुल खर्च ८५ लाख हुनुले पनि त्यसमा पनि अनियमितता तथा हिनामिना भएको देखिन्छ । लेबर चार्ज जोड्दा पनि उक्त रकम पुग्दैन । यसरी हेर्ने हो भने बलब खरिद प्रक्रियामा त अनियमितता देखिन्छ नै अर्को तर्फ सोहि दरभाउमा किनेर जडान गरिएको बल्बमा समेत अनियमितता भएको देखिन्छ ।
एक बर्षको ग्यारेन्टी भनिएको भए पनि जडान गरिएका अधिकांश बल्ब फ्युज भईसकेको छ । जिन्सी शाखाका प्रमुख कर्णका अनुसार अहिले बर्षातको मौसम भएकाले अधिकांस बल्ब फ्युज भएको छ, त्यसलाई हटाएर पुनः नयाँ बल्ब जडान गर्ने छौं, कतिपय ठाउँमा फ्युज भएका बल्बहरू झिकाएर नयाँ बल्ब जडान पनि गरिएको छ ।
राजपाका नेताहरू नै असन्तुष्ट
मधेश आन्दोलनको जगमा शहीदहरूको शहादत र बलिदानीका कारण राष्टिूय जनता पार्टी (राजपा) नेपालबाट मेयर पदमा चुनाब जितेका लालकिशोर साहले सडक बत्तिमै ब्यापक रकम हिनामिना गरेको आरोप उनकै राजपा दलका जिल्ला र उपमहानगर तहका नेताहरूले आरोप लगाएका छन् ।
मेयरलाई चढ्नका लागि केही  बर्ष अघि मात्र किनिएको सबारी साधन हुँदा हुंदै १ करोड ३० लाख भन्दा बढी मुल्य पर्ने फोर्ड गाडी किनेर आलोचित बनिरहेका  मेयर  साहद्वारा  गरिएको भ्रष्टाचार  एक पटक फेरी सार्बजनिक  भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा गरिएको भ्रष्टाचार तथा सडक बत्तीमा समेत भ्रष्टाचार होईन मेयर साहले लूटतन्त्र नै गरेका छन, राजपा धनुषाका सचिब धिरेन्द्र बहादुर सिंहले भने, ‘सडक बत्तीमा बजारको मुल्य भन्दा धेरै महँगो दरमा बल्ब किनेर मेयर साहले भ्रष्टाचार गरेको पुष्टी भईसकेको छ, हामी उनका बिरुद्ध आबश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी समेत दिनु परे पछि हट्दैनौं  ।’
उनी आफैं जितेका होईनन्, राजपाको टिकेटमा उनले जितेका हुन्, उनले गरिरहेको भ्रष्टाचारका कारण पार्टीको छबी समेत बद्नाम भईरहेका कारण पार्टीले समेत आबश्यक छानबिन प्रक्रिया अगाडी बढाई सकेको सिंहले बताए । राजपा नेपालका धनुषा संयोजक सतिश लाल दासले पनि मेयर साहको काममा धेरै भ्रष्टाचार भएको भनेर सर्बसाधारण देखि पार्टीकै कार्यकर्ताहरूले दिनहुँ जसो गुनासो गरिरहेको बताए । ‘पार्टीको अब बस्ने बैठकमा सडक बत्तीमा भएको भ्रष्टाचारको बिषयको पार्टीले समेत आन्तरिक छानबिन गर्नेछ । यदि उनी दोषी ठहरे पार्टीले मेयर साह माथि आबश्यक कारबाही गर्नेछ, ’ दासले बताए । त्यस्तै परे उनलाई पार्टीबाट निष्कासन समेत गर्न सकिने उनले बताए ।
राजपा नेपालका जनकपुर उपमहानगरका संयोजक सदाशिब मिश्रले पनि पार्टीको छबी बद्नाम भैरहेका कारण त्यसको आन्तरिक छानबिन गरी पार्टीले कारबाही गर्ने बताए ।
यस बिषयमा मेयर साहसंग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनी संग सम्पर्क हुन सकेन ।


२०७५ श्रावण ०६ गते आईतबार

No comments:

Post a Comment