Tuesday, July 24, 2018

नगरको फोहोर थुपारेर थुनियो नदिको मुहान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
फोहोर मैला व्यवस्थापनको लागि डम्पींङ्ग साईट निर्धारण नभएको बेला जनकपुर उपमहानगरपालिकाका मेयरको निर्देशनमा धार्मिक महत्वको नदिको मुहानमै  फोहोर थुपारेर नदि थुनिएको छ ।
जनकपुर उपमहानगरपालिका २३ विन्धि टोल बेला भएर बग्ने ऐतिहासिक तथा धार्मिक महत्वको दुधमती नदि फोहोरमैलाको अव्यवस्थीत विसर्जनका कारण प्रदुषित हुनुका साथै मुहानमा फोहोर थुपारिंदा थुनिन पुगेको छ ।
ल्याण्डफिल साईट वा डम्पीङ्ग साईटको बन्दोबस्तमा कुनै चासो नदेखाएका उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको निर्देशनमा सफाई कर्मचारीले नगरभरीको फोहोर उठाएर नदिको किनारमा रहेको करिब ३ बिग्घामा फैलिएको श्मसानघाटमा थुपार्दै आएका थिए । तीन महिनादेखि श्मसानघाटमा फोहोर थुपारिन थालेपछि स्थानीय गाउँलेहरु विरोधमा उत्रिए । गाउँलेहरुले सो वाडका वडाध्यक्ष शत्रुधन पाण्डेलाई घेराउ गरि यस प्रकारको गतिविधि यथासिघ्र रोक्न र श्मसान घाटको फोहोर सफा गराउन दबाव सृजना गरे । स्थानीयहरुको दबाव पश्चात असार २६ गते वडाध्यक्ष पाण्डेले यथासिघ्र श्मसान घाटको फोहोर हटाईने सम्झौतामा हस्ताक्षर समेत गरे । तर, श्मसान घाटको सबै फोहोर झिकेर नजिकैबाट बग्ने दुधमती नदिको मुहानमा थुपारिएपछि नदि फोहोरको डंगुरमा परिणत भएको छ ।
साउन महिनामा यस नदिको पानिमा नुहाएर महादेव स्थानमा जल चढाउन सयौंका संख्यामा श्रद्धालुहरु आउने गर्दछन् । तर, यसप्रकार नदिमा फोहोर कचरा हालेर पानि गन्हाउन थालेपछि यस वर्ष साउने मेलानै प्रभावित हुने स्थानीय लक्ष्मी सहनी बताउँछन् । दुधमती नदिको महत्व रामायण संग र माता सीताको जन्मसंग जोरिएको हुनाले यस नदिको सरसफाईका लागि हाल जनकपुरकै केही बुद्धिजीविहरुले दुधमती सरसफाई अभियाननै सञ्चालन गरिरहेका छन् । तर, अर्को तर्फ मेयर साह र वडाध्यक्ष पाण्डेको मिलोमतोमा यसप्रकार नदि प्रदुषित गर्ने कार्य हुँदा आफुहरुले विरोध गरेको गौं संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठले बताए । महासेठले भने, यस्तो क्रियाकलाप नगर्न मेयर साहलाई अनुरोध गर्दा उनले मलाई ज्यान मार्ने धम्कीनै दिएका छन् ।
देवस्थल वा श्मसान घाटमा फोहोर फाल्नु उचित नरहेको वडाध्यक्ष पाण्डे समेत स्वीकार गर्छन् । उनी भन्छन्, केही गलतफहमीको कारण त्यहाँ फोहोर फालिन गएको हो । यी फोहोरहरुलाई त्यहाँबाट हटाउन उपमहानगरपालिकालाई पत्र समेत पठाईसकेको छु । उनले फोहोर थुपारिएको दुधमतीको मुहान असली नदिको मुहाननै नरहेको हुनाले यो गाउँलेहरुले सिंचाईको लागि प्रयोग गर्ने पानि रहेको र हाल गाउँलेहरुकै सहयोगका लागी त्यसमा फोहोर थुपारेर बाटो बनाउने प्रयास गरेको बताए ।
जनकपुरको फोहोरमैला व्यवस्थापनका लागि एकिकृत शहरी विकास आयोजना अन्तर्गत ल्याण्डफिल साइड निर्माण गर्न २०७३ फागुन २० गतेनै जनकपुर उपमहानगरपालिका र केन्द्रिय गुठी संस्थान बिच सम्झौता भई जग्गा समेत उपलब्ध भईसकेको छ । सो सम्झौता अनुसार धनुषाको प्रको महुवा भोइलमा १२ बिग्घा १० कठ्ठा १६ धुर जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराईएको छ । सो जग्गामा ल्याण्डफिल साईट निर्माण गर्न आयोजनाबाट ४८ करोड रकम समेत छुट्याईएको छ ।
सम्झौता अनुरुप उपमहानगरपालिकाले जग्गाको उपयोग गरे वापत वार्षिक चार लाख पांच हजार दुई सय त्रियानब्बे रुपैंयाका दरले गुठी संस्थानलाई भाडा बुझाउदैं आएको छ । तर, जग्गा उपलब्ध हुँदा हुँदै पनि मेयर साहले त्यसमा ल्याण्डफिल साईट निर्माणको लागि कुनै पहल गरेका छैनन् । ल्याण्डफिल साईट निर्माण भयो भने फोहोरमैला व्यवस्थापनको नाममा उपमहानगरपालिकाबाट हुने अनियमितता र भ्रष्टाचारको बाटो बन्द हुने हुनाले त्यस काम तर्फ ध्याननै नदिईएको आरोप जानकारहरुको छ ।
दुधमती नदि थुनिने गरि उपमहानगरपालिकाले थन्काएको फोहोरमैला ।


२०७५ श्रावण ०६ गते आईतबार

No comments:

Post a Comment