Wednesday, October 8, 2014

अनियमितताको अखाडा मेसुको कमाई खाने भाँडो नर्सिङ कलेज

जनकपुर नर्सिङ कलेज र छात्रावास ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालको स्वामित्वमा संचालित जनकपुर नर्सिङ कलेज अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्रको कमाई खाने भाँडोको रुपमा रहेको उक्त कलेजका प्रिन्सिपल जयकिशोर लालले आरोप लगाएका छन् ।
 नर्सिङ कलेजबाट प्राप्त हुने आम्दानी समेत मेसु मिश्रले लगेर आफु खुशी अन्यत्र खर्च गर्ने गरेको लालको भनाई छ । लालका अनुसार पछिल्लो दुई वर्षमा कलेजको आम्दानी भएको रकम करिब ५० लाख रुपैयाँ मेसुले लगेको र कहाँ खर्च ग¥यो गरेन आफुलाई केही पनि थाहा नभएको बताएका छन् । यस कलेजमा आफु रब्बर स्टाम्प मात्र रहेको र कर्मचारी नियूक्ती देखि आर्थिक कारोबार सम्म मेसुले नै हेर्ने गरेको कारण कलेजको आम्दानी र खर्चको विवरण बारे आफु केही पनि बताउन नसक्ने लालले बताए ।
प्रिन्सिपल लालका अनुसार विगत २ वर्ष देखि बोर्डको वैठक समेत नडाकिएको अवस्था छ । आर्थिक अनियमितता र आफु खुशी नियम विपरित कर्मचारी भर्ती केन्द्रको अखाडा मेसुले बनाएको उनको आरोप छ । मेसुले समयमा अडिट रिपोर्ट नै दिँदैनन् । संस्थाको नविकरण गर्ने बेला आएपछि चैत्र बैशाख महिनामा अडिट रिपोर्ट दिएर आफुलाई कार्य योजना बनाउन मेसुले भन्ने गरेको प्रवृति रहेको लालले बताए । तीन महिनाका लागि के योजना बनाउने भनेर आफुपनि चुप्प लागेर बसेको उनले बताए । उक्त कलेजमा ४० जना विद्यार्थी १ वर्षमा भर्ना हुन्छन् । ३ वर्षे कोर्षका लागि प्रति विद्यार्थीले रु. ३ लाख डोनेशन दिने गर्छन । यसरी १ वर्षमा विद्यार्थीबाट १ करोड २० लाख रुपैयाँ कलेजमा आम्दानी हुने गर्छ । खर्चको नाउँमा कर्मचारीहरुको तलब र प्रशासनिक खर्च मात्र हुन्छ । यसरी स्थापना भए देखि अहिलेसम्म करिब ४ सय ३० जना विद्यार्थीहरु भर्ना भईसकेका छन् । तर, आय व्यय पारदर्शी छैन । प्रिन्सिपल लाल भन्छन्,“कुनै एक व्यक्तिको मातहतमा कलेज संचालन हुनुभन्दा यसलाई स्वायतः संस्था बनाई दिए बेस हुनेछ । कलेजको आम्दानी कलेजमा खर्च नगरी यसरी नै मेसुले अन्यत्र खर्च गरी अनियमितता गर्ने हो भने कलेजको विकास हुन सक्दैन ।”
कर्मचारी भर्ती केन्द्र
जनकपुर नर्सिङ कलेजका प्रिन्सिपल जयकिशोर लाल ।
जनकपुर नर्सिङ कलेजमा नेपाल सरकारको दरबन्दी प्राप्त दुई कर्मचारीहरु मात्र कार्यरत छन् । बाँकी सबै मेसुद्वारा नियूक्त भएका अस्थायी, करार र डोर हाजिरीमा कार्यरत छन् । प्रिन्सिपल जयकिशोर लाल र कार्यालय सहयोगी महेन्द्र मण्डल मात्र स्थायी दरबन्दीका कर्मचारी हुन । प्रिन्सिपल लालले दिएको जानकारी अनुसार प्रशिक्षकहरु कल्पना मिश्र, अन्सि साह, शान्ति बास्तोला, वार्डेन निलम शर्मा, कार्यालय सहयोगी गायत्री मेस्तर, मञ्जु मेस्तर, कम्प्युटर अपरेटर दिपेन्द्र मण्डल करारमा कार्यरत कर्मचारी हुन । त्यसैगरी मुखिया दिलिप कुमार साह, लाईव्रेरियन प्रेरणा सिंह, वार्डेन उत्तरा ढकाल, कार्यालय सहयोगी नन्द किशोर यादव, बब्लू साही, रसुल कवाडी, भान्से विना कामैत, कान्छी लामिछाने, सुनिता सिंह, संजिव मण्डल अस्थायी कर्मचारी हुन ।
त्यसैगरी दरबन्दी नर्सिङ कलेजमा भई तलब भत्ता कलेजबाट खाने र काम अञ्चल अस्पतालमा गर्ने कर्मचारीहरु पनि छन् । अस्पतालमा काम गर्ने कलेजका कर्मचारीहरु मध्ये मुखिया सरोज कुमार सिंह (अस्थायी), कार्यालय सहयोगी राम दिनेश चौधरी (अस्थायी), सौदागर सदा, विरवहादुर साह, प्रमोद यादव, श्रीचन मण्डल, रामनृत मण्डल, मुखिया मनोज राय, संजय यादव, कम्प्यूटर अपरेटर संतोष मिश्र, डूाइभर राजकुमार यादव, कार्यालय सहयोगी दिलिप मेस्तर, अशोक यादव, भान्से संजिव मण्डल रहेका छन् ।
पावर र पहुँचका भरमा कर्मचारी भर्ना
जनकपुर अञ्चल अस्पतालका निमित्त
मेसु डा.बलराम मिश्र 
यसरी स्थापना भएबेला देखि नै मेसुहरुले कलेजमा आफन्तहरुलाई भर्ती केन्द्र बनाएका छन् । नियम अनुसार कलेजको बोर्डबाट दरबन्दी मन्त्रालयबाट स्वीकृत गराई भ्याकेन्सी निकालेर प्रक्रिया पुरा गरी कर्मचारीहरु भर्ना गर्नुपर्ने प्रावधान छ । तर, कुनै पनि मेसुले प्रक्रिया पुरा गरेको पाइदैन । दिलिप कुमार साह मेसु रामलखन साहका साढु हुन । कलेजमा कार्यरत कर्मचारी प्रेरणा सिंह अस्पतालको प्रहरी विटका इन्चार्ज प्रहरी हवलदार संतोष सिंहकी श्रीमति हुन । मनिष कुमार झा प्रिन्सिपल जयकिशोर लालकै गाउँका हुन र उनलाई मनिषले काका भन्ने गर्छन । 
कम्प्यूटर अपरेटर दिपेन्द्र मण्डल कलेजका स्थायी कार्यालय सहयोगी महेन्द्र मण्डलका छोरा हुन । कम्प्यूटर अपरेटर संतोष मिश्र मेसु डा.बलराम मिश्रका आफन्त हुन । वार्डेन उत्तरा ढकाल कलेजका यस अघिका लेखा अधिकृतका भाउजु हुन । मेसु लखन लाल साहको सरुवा भईसकेपछि पनि उत्तरालाई साहले सिधा अस्थायी नियूक्त गरेका थिए । ज्ञान झा अस्पतालका यस अघिका अस्पतालका विकास समितिका अध्यक्ष कुमरकान्त झाका भतिजा हुन । त्यसैगरी प्रशिक्षक शान्ति बास्तौला धनुषाका सहायक जिल्ला अधिकारी हरिप्रसाद बास्तौलाका छोरी हुन । त्यसैगरी मञ्जु मेस्तरलाई नेपाली कांग्रेसका सभापति राम सरोज यादवले भर्ना गराएको बताइन्छ । यसरी हेर्ने हो भने पावर र पहुँच भएका व्यक्तिहरुको विना प्रक्रिया कलेजमा नियूक्ती भएको पाइन्छ ।
नर्सिङ कलेजको हालसम्म आय व्यय विवरण समेत सार्वजनिक नभएको र उक्त आय व्यय विवरण सार्वजनिक गर्न विकास समितिको वैठकमा पटक पटक दवाव दिएपनि मेसु मिश्रले कुनै टेर पुच्छर नलगाएको यस अघिका अञ्चल अस्पतालका विकास समिति अध्यक्ष कामेश्वर झाले पनि भन्दै आएका छन् । 
नर्सिङ कलेजको स्थापनाको इतिहास
जनकपुर अञ्चल अस्पतालमा नेपाल सरकारको तर्फबाट १ सय बेडको स्वीकृति प्रदान गरिएको थियो । नियमानुसार प्रति ४ बेडका लागि १ जना स्टाफ नर्सको आवश्यकता थियो । तर उक्त अस्पतालमा यज्ञ श्रेष्ठ, शान्ता श्रेष्ठ, मसली शर्मा, ललिता थापा, जयकिशोर लाल, रंजु यादव र किरण झा गरी कुल ७ जना मात्र स्टाफ नर्सहरु कार्यरत थिए ।
स्टाफ नर्सको अभावमा १ सय बेड क्षमता भएको उक्त अस्पतालमा २४ घण्टे विरामीहरुलाई सेवा प्रदान गर्न जनशक्तिको पर्याप्त अभाव थियो ।
 जनशक्ति अभावको समस्या समाधान गर्नका लागि तत्कालिन स्वास्थ्य राज्य मन्त्री डा.रामबरण यादव, मेडिकल सुपरीटेन्डेन्ट डा.विजय कुमार सिंह, सिटिइभीटिका सदस्य सचिव गोविन्द गजुरेल (सिन्धुली निवासी), राष्टिूय स्वास्थ्य तालिम केन्द्रका निर्देशक लक्ष्मी मल्ल लगायतको संयूक्त प्रयासमा अस्पतालमा आवश्यक जनशक्ति उत्पादन तथा आपुर्ति गर्नका लागि जनकपुर नर्सिङ कलेजको स्थापना गर्नूपर्छ भन्ने अभियानमा लागे । सिटिइभिटीका सदस्य सचिव गजुरेल सिन्धुलीबासी भएका कारण सिन्धुलीको विरामीहरु पनि जनकपुर अञ्चल अस्पतालमै जाने गरेका कारण सिटिइभिटीबाट आर्थिक वर्ष २०५२÷०५३ मा सम्बन्धन दिलाउन सक्रियता देखाए । 
स्वास्थ्य राज्य मन्त्रि यादव जनकपुरकै भएका कारण उनले राष्टिूय स्वास्थ्य तालिम केन्द्रलाई समेत दवाव दिएर कलेज सुरुवात गर्न लगाए । कलेज भित्रको पुर्वाधारहरु डेस्क बेन्च लगायत विभिन्न सामग्रीहरु तालिम केन्द्रले उपलब्ध गरायो भने पढाउनका लागि प्रशिक्षक, कर्मचारीहरु र प्राविधिक सहयोग स्वास्थ्य मन्त्रालयको सहयोगमा जनकपुर अञ्चल अस्पतालले उपलब्ध गरायो । आफ्नो भवन तथा पुर्वाधार केही पनि नभएको कारण परिवार नियोजनको हालको भवनमा कक्षा कोठा संचालन गरियो भने अर्को भवनमा पुस्तकालय तथा छात्रावास राखियो । 
२०५७ सालमा पहिलो व्याचका लागि स्टाफ नर्स पढन ३० जना विद्यार्थीहरु भर्ना भएका थिए । यता डा.लखन लाल साह २०६० सालमा मेसु बने । त्यसैगरी अञ्चल अस्पताल विकास समितिको अध्यक्ष प्रकाश चन्द्र साहले भवन निर्माणका लागि भारतीय राजदुतावासमा पुगेर प्रस्ताव सहितको योजना उपलब्ध गराए । दुतावासले रु. ४ करोड ५० लाखको लागतमा कलेज, छात्रावास तथा प्रिन्सिपल निवास भवन निर्माण गरिदिएपछि नर्सिङ कलेजको भौतिक पुर्वाधार पुरा भयो । स्थापना भएको करिब साढे २ वर्षसम्म कलेज राष्टिूय स्वास्थ्य तालिम केन्द्रको स्वामित्वमा संचालन भयो । ललिता थापा उक्त कलेजका पहिलो प्रिन्सिपलमा नियूक्त भए । राष्टिूय स्वास्थ्य तालिम केन्द्रले प्रतिवर्ष ४ लाख रुपैयाँ नर्सिङ कलेजलाई अनुदान स्वरुप उपलब्ध गरायो । 
२०५७ साल देखि २०६१ साल सम्म अनुदान दिइयो । कलेजका प्रिन्सिपल जयकिशोर लालका अनुसार तत्कालिन मेसु डा.लखन लाल साहले तालिम केन्द्रले पठाएको रु.४ लाख अनुदानको विल फर्छाैट नगरेपछि अनुदान बन्द भयो । अनुदान दिएको रकमको अहिले कुनै हिसाव किताव नै छैन र २०६१ साल देखि कहिँ कतैबाट कुनै पनि अनुदान नआएको उनले बताए ।
कलेज संचालनका लागि अञ्चल अस्पतालको मेडिकल सुप्रिटेन्डेन्टको संयोजकत्वमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख, राष्टिूय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि, सिटिइभिटीका प्रतिनिधि, जनकपुर अञ्चल अस्पताल नर्सिङ फाँटका प्रमुख र एक जना स्वयम सेविका गरी ६ सदस्यीय बोर्ड गठन गरिएको छ । कलेजका प्रिन्सिपल सदस्य सचिव छन् । तर, उक्त बोर्ड नाम मात्रको लागि रहेको  र सम्पुर्ण काम मेसुले आफु खुशी मात्र गर्ने गरेको बताइन्छ ।





२०७१ असोज १२ गते आईतबार

No comments:

Post a Comment