Wednesday, October 8, 2014

न्यायालयको सर्वोच्च पदमा ‘मधेसी’

अजय अनुरागी
जनकपुरधाम............
२४ असोज २०७१ मा सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा मधेसी समुदायका न्यायाधीश रामकुमार प्रसाद साह पद तथा गोपनियताको सपथ ग्रहण गर्ने छन् । देशको २४ औं प्रधानन्यायाधीश तथा चौथो मधेसी मुलका व्यक्ति न्यायपालिकाको सर्वोच्चत्तम पदमा काविज हुने व्यक्ति हुन, महोत्तरी मटिहानीका रामकुमार प्रसाद साह । यस अघि मधेसी समुदायका अनुरुद्र प्रसाद सिंह, भगवती प्रसाद सिंह र सुरेन्द्र प्रसाद सिंहले न्यायपालिकाको नेतृत्व गरिसकेका छन् । त्यसैगरी महोत्तरीबाट साह चौथो प्रधानन्यायाधीश हुनेछन् । यसअघि महोत्तरीका विश्वनाथ उपाध्याय, केदार नाथ उपाध्याय र केदार प्रसाद गिरी प्रधानन्यायाधीश भईसकेका छन् ।
साहको प्रधानन्यायाधीश पदसम्मको यात्रा
श्रीमति कंचलत्ता साहका साथ सर्वोच्च 
अदालतका न्यायाधीश रामकुमार प्रसाद साह ।
 २४ असोज देखि साह प्रधानन्यायाधीश हुनेछन् ।
सन् १९५० जुलाई ८ का दिन महोत्तरीको मटिहानीमा जन्मिएका रामकुमार प्रसाद साह प्रारम्भिक शिक्षाको लागि आफ्नो गाउँ मटिहानीमा विद्यालय नभएका कारण गाउँ सँगै जोडिएको भारत विहारको मधवापुरबाट एसएलसी उत्तिर्ण गरे । त्यसपछि भारत विहारकै दरभंगाको सिएम कलेजबाट वि.कम. अनर्स गरे । त्यसपछि उनी काठमाण्डौ आई एम.कम. र वि.एल. पनि गरे । २०३० सालमा लोकसेवा आयोगको जुडिसियल अफिसर्सको परीक्षामा सहयोगी भई शाखा अधिकृतको रुपमा २०३० साल चैत्र १ गते नियूक्त भए । नियूक्ती भएपछि सर्वोच्च अदालतको वेन्च असिस्टेन्टको रुपमा पदस्थापना भए । त्यसको केही दिनपछि मात्रै मध्यमाञ्चल क्षेत्रीय अदालतको बेन्च असिस्टेन्टमा उनको सरुवा भयो । यसरी वेन्च असिस्टेन्टको रुपमा साढे २ वर्ष काम गरेपछि उनको नियूक्ती जिल्ला न्यायाधीशको रुपमा भयो । 
सर्वप्रथम उनलाई सोलुखुम्बु जिल्ला अदालतको जिल्ला न्यायाधीशमा काममा पठाइयो त्यसको २÷४ महिना लगतै उनको पोस्टिङ मुस्ताङ जिल्ला अदालत, जोमसोममा भयो । २०३३ साल साउनमा पहिलो नियूक्ती जिल्ला न्यायाधीशको रुपमा भएको थियो । त्यसपछि म्याग्दी, कास्की, दैलेख, दाङ, लगायत अन्य जिल्ला अदालतहरुमा जिल्ला न्यायाधीशको रुपमा उनले काम गरे । राजपत्राङ्कित प्रथम श्रेणीमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा उनको वढुवा भयो । वढुवा भएपछि अञ्चल न्यायाधीशको रुपमा उनको पदस्थापना भएर महाकाली अञ्चल अदालत महेन्द्रनगरमा नियूक्ती भयो । करिब ३ वर्ष पछि लुम्बिनी अञ्चल अदालत, बुटवलमा उनको सरुवा भयो । त्यसपछि २०४६ सालको आन्दोलन पश्चात जारी भएको २०४७ सालको संविधानमा अञ्चल अदालत हटाई पुनरावेदन अदालत राखियो । पहिलो पुनरावेदन अदालत न्यायाधीशको रुपमा पुनरावेदन अदालत सप्तरी राजविराजमा भयो । त्यसपछि पुनरावेदन अदालत पोखरा, नेपालगञ्ज, हेटौडामा सरुवा भयो । त्यसपछि उनी पुनरावेदन अदालतका मुख्य न्यायाधीश भए ।
२०६१ सालमा पुनरावेदन अदालत नेपालगञ्जमा पहिलो पटक मुख्य न्यायाधीशको रुपमा नियूक्ती भयो । त्यहाँ करिब ११ महिना उनी बसेपछि सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशको रुपमा नियूक्ती भयो । २०६२ असोज १ बजे देखि सर्बोच्च अदालतको अस्थायी न्यायाधीशको रुपमा उनी काम गरे । २०६४ सालतिर सर्वोच्च अदालतमा स्थायी न्यायाधीशको रुपमा उनको नियूक्ती भयो । त्यस देखि हालसम्म उनी सर्बोच्च अदालतको न्यायाधीशको रुपमा काम गर्दै आएका छन् ।
यहाँ सम्म पुग्नका लागि उनको न्यायीक यात्रा कहिँ कठीन त कहीँ सुखद पनि रहेको छ । साह भन्छन,“ भाग्यको साथ साथै म आफ्नो कार्यलाई पनि महत्व दिन्छु , कर्म राम्रो गर्यो भने भाग्यरेखा पनि परिवर्तन हुन सक्छ भन्ने मैले अध्ययन पनि गरेकाले मैले आफ्नो कर्मलाई सधै भरी कानुनी र संविधानको सीमा भित्र रहेर सम्पादन गरि आएको छु ।” आफ्नो कर्मको कारण, राम्रो चरित्र, काममा इमान्दारी र निष्ठा, लगनशीलताका कारण प्रधान न्यायाधीशको पदसम्म पुग्न सकेको भन्दै उनी भन्छन,“न्यायक्षेत्रको सर्वोच्चत्तम पदमा पुग्न लाग्दा आफुलाई निकै नै गौरव र हर्षपुर्ण अनुभुति भइरहेको छ । म यसको श्रेय इश्वर, आफ्नो कर्म र भाग्यलाई मात्रै दिन चाहन्छु ।”
हुन त साह मधेशी समुदायका कारण प्रधानन्यायाधीश बन्नु पछाडी कम संघर्ष छैनन् । वर्ग विशेष भन्दा पनि कुनै पनि व्यक्तिले यो ठाउँसम्म पुग्न कार्यक्षेत्रमा धेरै ठुलो संघर्ष गर्नुपर्छ । यदि तपाईको कार्य उत्तम छ, कार्यमा कहिँ पनि दोष छैन, काममा लगनशील भई विवादरहित सेवा प्रदान गर्नुहुन्छ भने निश्चित रुपमा नै त्यो व्यक्ति माथिल्लो ठाउँमा पुग्न सक्छ भन्दै साह भन्छन,“ सर्बोच्चत्तम पदसम्म पुग्न निश्चय पनि अवरोधहरु आउँछन । न्यायीक जीवनमा धेरै पटक अञ्चलाधिशहरुसँग, सिडिओसँग संघर्ष भएकै हो । उनीहरुले कानुनी व्यवधानहरु खडा गर्न खोजेकै थिए । तर, आफ्नो कौशलता, वुद्धि र ज्ञानले ती सबै व्यवधानहरु माथि विजयी हासिल गरे ।”
कुनै पनि अप्ठयारो र चुनौतीपुर्ण कार्य गर्न भयभित हुनुको सट्टा साहासी भई त्यो चुनौतीसँग लड्न जानेकै कारण उनी उक्त पदसम्म पुग्न सफल भएका छन् । न्यायीक जीवनमा धेरै रोचक प्रसङ्गहरु रहे पनि अविस्मरणीय क्षणको रुपमा केही घटनाहरु उनी यसरी बताउँछन् । एक पटक जव केही समयको लागि उनी सरकारी वकिलको रुपमा काम गरिरहेका थिए, त्यतिबेला धनुषाकै एक जना मन्त्रीले एउटा मुद्दामा खुव दवाव दिएको बताउँछन् उनी । यसरी गर्नुस्, नत्र भने मलाई थाहा छ, तपाई यही श्रेत्रका मानिस हुनुहुन्छ, तपाई आफ्नो कारियरको पनि विचार गर्नुस, करियरको पनि नोक्सानी हुन सक्छ भनेर थर्काए पनि, कानुनी कुरामा आफु कुनै हालतमा सम्झौता गर्न नसक्ने भनेर चुनौतीको रुपमा लिँदै मन्त्रीको चाहना र इच्छा विपरित काम गरेको उनी सम्झिन्छन् । यति मात्र होइन, तत्पश्चात अञ्चलाधीशहरु, केन्द्रिय लेभेलका नेताहरु, मन्त्रीहरुले पनि दवाव दिने गरेको उनले खुलासा गरे । दाङ्मा जिल्ला न्यायाधीश हुँदा एक जना मन्त्रीको दवावको सामना गर्नु परेको उनले वताए । सर्बोच्च अदालतमा पनि त्यस्ता प्रेसरहरु आउने गथर््यो तर, कानुन र संविधान बमोजिम नै सधै काम गरेको उनले बताए ।
चार्लस सोभराजको मुद्दा आफ्नै जीवनको महत्वपुर्ण मुद्दा रहेको उनी सुनाउँछन् । उक्त मुद्दामा आफुलाई धेरै लामो समय सम्म मिहिनेत गर्नु परेको, लामो सुनुवाई पछि अन्तराष्टिूय सिरियल किलर चार्लस सोभराजलाई जन्म कैद ठहराएको उनी बताउँछन् । त्यसपछि पनि विभिन्न मुद्दाहरुमा दवाव आए पनि कहिल्यै सम्झौता नगरी आफ्नो कानुनी ज्ञान, विवेक र वृद्धि पु¥याएर कार्य सम्पादन गर्दै आएको उनी पुनः दोहो¥याए ।
आफुले जहिले पनि सत्कार्य, सत्यकर्म मात्र गरेका कारण इश्वरलाई पनि उनी धन्यवाद दिन चाहन्छन् । सुरुमा कमर्सको पढाई गरेका उनी न्याय क्षेत्रमा जालान भन्ने सोचेका थिएनन । तर, जब उनले कानुनको पनि अध्ययन गरे र लोकसेवा आयोगबाट जाँच पास गर्दा सम्म पनि न्यायाधीश बनुला भन्ने सोच राखेका थिएनन् उनले । भाग्यमा जे लेखेको हुन्छ त्यतातिर कर्मको बाटो पनि बन्दै जान्छ । उनी त एउटा कार्यालयको हाकिम जस्तै हस्ताक्षर गरे मात्र पुग्ने भन्ने सोच राखेका थिए । उनी भन्छन,“यहाँसम्म पुग्न मेरो अगाडी र पछाडी कोही पनि थिएनन् । पछाडीबाट माथि धकेल्ने वा माथिबाट कसैले तान्ने जस्तो कुनै पनि व्यक्ति थिएन । इश्वरको कृपा, मेरो कर्म र भाग्यले गरेर म आफ्नो वलबुत्ताबाट मात्र पुग्न सकेको हो ।”
सामान्य परिवारको भएको वुवा सामान्य लेख पढ मात्र गर्न जाने पनि छोरा छोरीलाई उच्च शिक्षा दिनु पर्छ भन्ने उहाँको सोचका कारण पढ्न सफल भएको उनी भन्छन, । गाउँमा विद्यालय नभएका कारण भारत तर्फ पढ्न जाँदा पनि धेरै कठिनपुर्ण जीवन विताउनु परेको भए पनि जहाँ चाह त्यहाँ राह भने झैं इच्छाशक्तिका कारण सफलता प्राप्त भएको हो । बुवाको सिमित स्रोत साधन र आम्दानीबाट पनि आफुलाई पढाउनु भएको उनले बताए ।
भनिन्छ, कुनै पनि पुरुषको सफलताको पछाडी उनको श्रीमतिको पनि ठुलो योगदान रहन्छ । त्यसैगरी साहको जीवनमा पनि उनको श्रीमति कंचलता साहको धेरै ठुलो सहयोग रहेको छ । विवाह भई सकेपछि श्रीमतिलाई घरमै छोडेर भारतको दरभंगा पढ्न गएको अवस्था नै किन नहोस् । पढाईको बेलामा श्रीमतिले माइतीबाट पैसा लिएर आर्थिक सहयोग गरिन, पोकेट खर्च पनि नखर्चेर मलाई दिएर ठुलो सहयोग जरेको उनी सुनाउँछन् । दुःखको समयमा उनले साथ नदिएको भए शायद यो ठाउँसम्म पुग्न पनि सकिन्थेन होला भन्दै आफ्नो सफलताको सहायिकाको रुपमा उनी आफ्नो श्रीमतिलाई लिन्छन् ।
मटिहानीमै बाल्यकाल वितेको खेलेको कुदेको कारण पनि मटिहानीको प्रत्येक कण कणसँग आफ्नो लगाव रहेको भन्दै उनी भन्छन, “मलाई जब जब मौका मिल्ने गर्छ तब तब मटिहानी पुग्ने कोशिश गर्छु ।”
  जसरी मटिहानी मेरो जन्मभुमि हो, त्यसैगरी जनकपुर मेरो लागि कर्मभुमि हो भन्दै उनी भन्छन,“ जनकपुरमा आइएसम्मको मात्र पढाई हुन्थ्यो, त्यसकारण मलाई दरभंगा जानु परेको थियो ।”
जनकपुरमा गंगा आरतीमा सहभागी भई, राजदेवी मन्दिरमा पूजाआजा गरी आफ्नो कार्यकाल सफल रहोस, चीरस्मरणीय रहोस् भन्ने आशीर्वाद उनी जानकी माता सँगै आफ्नो गाउँमा रहेको महावीर मन्दिरमा देउतासँग आशिर्वाद माँग्छन् । उनी भन्छन,“ हरेक कुरा मानिसको आफ्नो वशमा हुँदैन, कहिं न कहिं इश्वरको आशिर्वाद आवश्यक हुन्छ । र, इश्वर नै सहाय भयो भने वा कृपा गर्यो भने मात्र मान्छे माथि सम्म पुग्न सक्छ । उनी फेरी भन्छन,“आफ्नो कर्म, इश्वरको कृपा र भाग्य तीन चिज सफलताको लागि महत्वपुर्ण हुन्छ ।”



२०७१ असोज १२ गते आईतबार

No comments:

Post a Comment