Monday, April 14, 2014

छोराको पहिचानका लागि इन्साफ कुर्दै ‘रञ्जिना’


५ वर्षिय छोरा इन्द्रजितका साथ रञ्जिना मण्डल ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

पहिलो श्रीमानले घरबाट निकाला गरेको र अदालतले नाता कायम गरिदिएको श्रीमानले स्वीकार नगर्दा धनुषा गिद्धा ८ की ३० वर्षिया रञ्जिना मण्डल र छोरा ईन्द्रजित मण्डलको भविष्य अन्योलमा परेको छ । छाक टार्न समस्या परेको छ, समाजले जुराईदिएको दिन रञ्जिना र ईन्द्रजितले दिनको आहार पाउँछन्, नभए भोकै पेट बस्नुपरेको छ । मण्डलले दिनमा खेत÷पोखरीबाट बिछेको घोंघी भात खाएर दिनचर्या काटेकि छन् । अदालतले नाता कायम भएको आदेश गरेको दुई वर्ष बित्यो तर रञ्जिनालाई नाता कायम गरिएको परिवारले अझै घरमा बस्न दिएको छैन् । रञ्जिना भन्छिन् ( छोराको पाँच वर्ष पुग्न लागेको छ, विद्यालयमा पढ्न पठाउन पाएकि छैन् । समाजले सामुदायिक भवनमा उपलब्ध गराएको एउटा कोठामा एक्लो छोरालाई लिएर रञ्जिना बस्ने गरेकि छिन् । 
रञ्जिनाले तीनपटक सम्म प्रधानपञ्च भएका  गाउँकै ईन्द्र नारायण मण्डलको घरमा भाडा वर्तन माझ्ने, कपडा धुने, खेतबारी सम्हाल्ने काम गर्दै आएकि थिईन् । ५ वर्षदेखि बैदेशिक रोजगारमा रहेका श्रीमान राम पुकार मण्डलको अनुपस्थितिमा ईन्द्र नारायणका कान्छो छोरा संजय कुमार मण्डलले दैनिक कामकाज गर्दै आएकि रञ्जिनालाई २०६६ को चैत्रमा घरमै पटक पटक जबरदस्ती गरेर गर्भ बोकाए । रञ्जिना भन्छिन् ( आफूले बिरोध गर्दा संजयले गाउँमा आफ्नो हालिमुहालि रहेकोले गाउँबाट निकाला गरिदिने धम्की दिएर बाध्य बनाएका थिए । आफू बिदेशमा रहेको र श्रीमति रञ्जिनाको गर्भ बसेको जानकारी पाएपछि पहिलो श्रीमान रामपुकार मण्डलले पारिवारिक दबाबमा रञ्जिनालाई घरबाट निकाला गराए । गाउँलेले २०६६ को भदौमा पञ्चायत गरी संजयले रञ्जिनासित विधिवत् विवाह गरेर स्वीकार गर्नुपर्ने निर्णय सुनायो तर राम्रो हालिमुहालि रहेको पूर्ब प्रधानपञ्च ईन्द्र नारायणले पञ्चायतको निर्णय अस्वीकार गरे । ईन्द्रनारायणबाट पैसा खाएर पञ्चायत गरी आफ्नो पक्षमा न्याय दिलाउन खोजेको भन्दै प्रहरीले तेजी यादब, मनोज अधिकारी लगायतका चारजनालाई १० दिनसम्म जिल्ला प्रहरी कार्यालयको खोरमा राखेको रञ्जिना सुनाउँछिन् । गिद्धा ९ का रामचन्द्र मण्डलका अनुसार पञ्चायतमा ईन्द्र नारायणका छोरा संजयले आफ्नै सम्बन्धबाट गर्भ भएको स्वीकार गर्दागर्दै ईन्द्र नारायणको दबाबमा उनले निर्णय अस्वीकार गरी त्यसबेला गाउँ छोडेर भागेका थिए । पञ्चायतले उनलाई रञ्जिनालाई रु.४ लाख क्षति तथा ईन्द्र नारायणको घरमै बसाउने निर्णय गर्यो । पछि अदातलमा मुद्दा पर्दा ईन्द्र नारायणको खोजी हुन थाल्दा भागेपछि ग्रामीणले उनलाई पूर्ब प्रधानको घरमा बसाएको थियो । 
अदालतले नाता कायम गरिदिएको घर अगाडी
 छोरा ईन्द्रजित मण्डल सँगै रञ्जिना मण्डल ।
गाउँ समाजको निर्णय स्वीकार नगरेका ईन्द्रनारायण र उनका छोराहरु बिरुद्ध रञ्जिनाले २१ अषाढ, २०६६ मा धनुषा जिल्ला अदालतमा नाता कायमको मुद्दा दत्र्ता गराईन् । अदालतले दुईवर्ष पछि २७ असोज, २०६८ मा नाता कायमको लागि डीएनए परीक्षण गर्न आदेश दिए । डी एन ए परीक्षण प्रतिवेदनमा राष्टिूय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत दिनेश कुमार झाले रञ्जिनाको गर्भबाट आएको छोरा ईन्द्रजित, रञ्जिना र संजय कुमार मण्डलको डीएनए परीक्षण गर्दा शिशु ईन्द्रजितको बुवा संजय हुने सम्भाबना ९९.९९९७७ % रहेको जनाएका छन् । 
१९ चैत्र, २०६८ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ठाकुर प्रसाद शर्माले ‘संजय मण्डलको श्रीमति तथा छोरा नाताको ठहर भएकोले हुँदा वादी रञ्जिना देबी, ईन्द्रजित प्रतिवादी संजयका छोरा र श्रीमतिको नाता कायम गरिदिनू’ आदेश गरे । तर अदालतले दिएको आदेशको दुईवर्ष बित्यो । हालसम्म रञ्जिना र उनका छोरा ईन्द्रजितको नाता कायम हुन सकेको छैन् । २०६६ सालमा गर्भ बस्दा जनकपुरस्थित ओरेक नेपालमा आएर महिनौं बिताएकि रञ्जिनालाई सधैंका लागि बस्न नदिने बताईए देखिन ग्रामीणले रञ्जिनाको बसाईको लागि सामुदायिक भवन प्रयोग गर्न दिएका छन् । सामुदायिक भवन अगाडी नै १० मिटरको दूरीमा अदालतले नाता कायम गरिदिएको श्रीमान संजय कुमार मण्डलको घर रहेको छ र २० मिटर दूरीमा पहिलो श्रीमान राम पुकार मण्डलको घर रहेको छ । यद्दपी दिनरात भोकभोकै बस्दा दुबै मध्ये कुनै पनि परिवारका सदस्यले उनलाई खान÷बस्न दिएको छैन् न त बोलाएकै छैन् । 
यसरी अदालतले ठहर गरिसक्दा पनि आदेशको कार्यन्वयन हुन नसक्दा पछिल्लो चारवर्षदेखि रञ्जिना ‘घरको न घाट’को भएकि छन् । 
ललितको नाता कायमको लागि अदालतद्वारा डिएनए परीक्षणको आदेश
धनुषाको तारापट्टी सिरसिया ५ माइती घर भएकी २९ वर्षिय महिला शिवकुमारी मण्डल आफ्नो र नाबालक छोराको हकका लागि न्यायको खोजीमा अदालतमा पुगेकी छिन । १५ वर्ष पुर्व सामाजिक परम्परा अनुसार जातिय रिती रिवाज बमोजिम धनुषाको मिथिलेश्वर निकास ९ का बुधेश्वर मण्डलका ४ छोराहरु प्रमोद, विनोद, कपिलदेव र श्रीदेव मध्ये प्रमोदसँग शिवकुमारीको विहे भएको थियो । विवाह पश्चात श्रीमान रहेको प्रमोदसँगको सहवासबाट २०६५ साल माघ १ गते शिवकुमारीले छोरालाई जन्म दिइन । सगोल परिवारमा वस्दै आएका उनीहरुले उक्त बालकको नाम ललित कुमार मण्डल राखे । बच्चा जन्मिएको १ महिना नहुँदै छोरा पालन पोषणको लागि शिवकुमारीलाई माइती घर पठाइयो । उता बच्चालाई लिएर माइती घर गएकी शिवकुमारीलाई घर परिवारले कुनै खोज खबर गरेन । अर्को तर्फ गुपचुपै तरिकाले प्रमोदले अर्को विवाह गरी कान्छी श्रीमतिलाई घर भित्रियाए । विहे पश्चात प्रमोद वैदेशिक रोजगारीमा गए । वैदेशिक रोजगारीबाट घर फर्केपछि पनि प्रमोदले शिवकुमारीलाई खोज खबर नगर्दा उनी माइतीबाट ससुरा घर बच्चा लिएर पुगिन । तर, त्यहाँ सासु ससुराले समेत तिमीहरुको यहाँ कुनै हक अधिकार छैन भनेर प्रताड्ना दिन थाले । तिमी मेरो श्रीमति होइन र त्यो छोरा पनि मेरो होइन भनेर जवाफ दिँदै प्रमोद वैदेशिक रोजगारीका लागि विदेश पलायन भए । यता आफ्नो विवाह दर्ता, बच्चाको जन्म दर्ता र आफ्नो नागरिकता बनाइदिन भन्दा सासु ससुरा समेतले तिमीहरुलाई केही पनि नबनाइदिने भन्दै १५ अषाढ २०७० देखि खाना लाउन बन्द गरी घरबाट निकाला गरिदिए ।
घरबाट निस्कासित भएपछि शिवकुमारीले सासु घरको सगोलको बन्डा, चल अचल सम्पतिको ६ भाग लगाई, ६ भागको १ भाग मध्ये ७ खण्डको २ खण्ड अंश पाउनुपर्ने भन्दै २० अषाढ २०७० मा धनुषा जिल्ला अदालतमा जाहेरी दिएका छन् ।  उक्त मुद्दामा काठमाण्डौ जिल्ला अदालत मार्फत राष्टिूय विधि विज्ञान प्रतिष्ठान ललितपुरमा नाबालक ललित र उनका दावी गरिएको बुवा प्रमोद मण्डलको १५ दिन भित्र उपस्थित गराई डिएनए परीक्षण गराई पेश गर्नु, तोकिएको मिति भित्र उपस्थित नभए नियमानुसार गरि पेश गर्नु भनि २९ फागुन २०७० मा धनुषा जिल्ला अदालतका न्यायाधिश भरत लम्सालको इजलासबाट आदेश समेत भइसकेको छ । उक्त आदेश पछि छोरा प्रमोद वैदेशिक रोजगारीका लागि विदेशमा रहेको र विदेशका बोलाउन कम्तिमा २ महिना भन्दा वढीको समय पाऊँ भनी प्रमोदका आमा गोलिया देवीले निवेदन दिएका छन् ।

पहिचानको लागि न्याय खोज्दै सुमन

आमा जानकी माझीका साथ सुमन माझी ।
२०४७ साल तिर १३ वर्षिय जानकी माझि वेंगाडावर ८ लालगढ स्थित सुमन गजुरेलको घरमा कामदारको रुपमा काम गर्न थालेका थिइन । आमाबुवा गरिव भएका कारण गाउँका हुने खाने समृद्ध परिवार विष्णु गजुरेलको घरमा घरेलु कामदारको रुपमा जानकीलाई पठाएका थिए । दुई वर्षसम्म गजुरेलको घरमै रहेर जानकी काम गर्थिन । 
जब उनी १५ वर्षको भइन, तरुनी छोरीलाई अर्काको घरमा पठाएको भनेर गाउँ घरमा मान्छेले कुरा काट्न थालेपछि उनका आमाले अब त्यहाँ नबस, विहान बेलुका काम गरेर आफ्नै घर फर्की भनेर भनिन् । सोही अनुसार जानकी विहान गएर दिउँसो फर्किने र बेलुका भाँडा माजेर घर फर्किने गर्थिन । एक दिने पेट वढेको जानकीको आमाले अनुभुति गरेपछि यो पेट किन वढेको हो भनेर जानकीलाई उनले प्रश्न गर्दै केरकार गरिन । केरकार गरेपछि गजुरेलको घरमा काम गर्ने मालिकका छोरा सुमन गजुरेलले आफुलाई जर्वजस्ती करनी गरेको र त्यसपछि पटक पटक सहवास गरेको कारण गर्भवती भएको जानकीले आमालाई सुनाइन । अनि कुरा सुन्ने वितिकै जानकीकी आमा विष्णु गजुरेलको घरमा पुगेर सुमन गजुरेलले मेरो छोरीसँग जर्वजस्ती सहवास गरेको र गर्भवती भएको गुनासो गर्न पुगेपछि यस्तो कुरा हल्ला गर्नू हुँदैन भनेर गजुरेल मालिकको बुढीले जवाफ दिए । चुप लागेर बस भन्दै उनलाई घर फर्काइन । समय वित्दै गएपछि २०५० साल जेठ १० गते जानकीले छोरालाई जन्म दिइन । जब बच्चा जन्मियो त्यसपछि गजुरेल परिवारले भुन्टी उपनाम रहेकी जानकीलाई ‘दुई पसेरी चामल र आधा किलो घिउ’ दिएर भुन्टीले खाओस भनि दिएका थिए । पछि बच्चालाई पनि आफुले हेर्ने आश्वासन दिए । समय वित्दै गएपछि सुमन गजुरेलले विहे गरी श्रीमति भित्रियाए । लावारिस अवस्थामा रहेको उक्त बच्चालाई जानकीले मावलीको हजुर आमा र हजुर बुवालाई जिम्मा लगाइन । उक्त बच्चा ७ वर्षको भएपछि जानकीले पनि अर्कै पुरुष सँग विहे गरिन । अहिले उक्त बच्चा ‘सुमन माझी’ आफ्नो बुवाको खोजीमा हिडेका छन् । आफ्नो हक अधिकार प्राप्तिका लागि नागरिकता पाउन जिल्ला प्रशासन कार्यालय धनुषाको ढोका खटखटाउन बाध्य छन् ।
सुमन माझीका पिता सुमन गजुरेल ।
१३ बर्षको उमेरदेखि लालगढमा रहेको बौवा होटलमा भाँडा माझेर जीविका चलाउँदै आएका सुमन माझी यतिबेला महोत्तरीको बर्दिवासमा रहेको देउराली उच्च माविमा कक्षा १२ मा पढिरहेका छन् । चार बर्ष अघि मात्र आमालाई भेटेर सुमनले ‘मेरो बुवा को हो ?’ भनेर सोध्दा आमा जानकीले पनि ‘तेरो बुवा सुमन गजुरेल हो’ भनेर चिनाएकी थिइन । यति वर्षसम्म आफ्नो बुवाको बारेमा अनभिज्ञ रहेका सुमन गजुरेलले बल्ल आफ्नो बुवाको बारेमा थाहा पाएपछि उनको खुशीको ठेकान नै रहेन । तर आमाले बुवा भनेर चिनाएको मान्छेले सुमनलाई छोरो नस्वीकार्दा उनी अप्ठ्यारोमा परेका छन् । बेंगाडाबर ८ निवासी शेरबहादुर माझीकी छोरी जानकीलाई काम गर्ने घरका मालिक बेंगाडाबर ९ का विष्णु गजुरेलका छोरा सुमन गजुरेलले २३ वर्षअघि जवर्जस्ती करणी गरेर गर्भवती बनाएको र सुमनको जन्म भएको स्थानीय बासिहरु पनि बताउँछन् । सुमनकी हजुरआमा कुमारी माझीले आफूहरु गरिब भएको कारण त्यतिबेला कसैले न्याय नदिएको बताउँछन् । गरिबीको कारणले नै छोरीलाई विष्णु गजुरेलको घरमा भाडा माझ्ने काममा राख्दा छोरीमाथि जवर्जस्ती भएको उनकोे भनाई छ ।  मिलमा भुस्सा लिन गएको बेला आफुलाई विष्णु गजुरेलको छोरो सुमनले जवर्जस्ती गर्दा तिमी  जन्मिएको भनेर जानकीले सुमनलाई बताइन् । उक्त कुरा गोप्य राख्न धाक धम्की दिएको कसैलाई भने ज्यानले मारिदिने गजुरेल परिवारले धम्की दिएका कारण आमाले कसैलाई केही पनि नबताएको सुमन माझी बताउँछन् । 
गरिवी र चेतनाको अभावमा त्यतिबेला पीडित पक्षले कतै उजुर बाजुर नगर्दा यतिबेला सुमनलाई समस्या परेको स्थानिय बासिन्दा बताउँछन् । आमा बुवाको कथाले आफूलाई यतिबेला पीडा र आत्मग्लानी हुने गरेको सुमन गुनासो व्यक्त गर्छन । कक्षा १२ मा पढ्दै गरेका सुमनले विगत ४ वर्ष देखि बुबालाई भेटेर पटक पटक आफ्नो नागरिकता बनाई दिन आग्रह गर्दै आएपनि बुवाले विभिन्न वहाना झिकी नबनाईदिएको बताएका छन् । मेरो नागरिकता बनाई दिनुस् भनेर आग्रह गर्दा लालगढ ९ निवासी आफ्ना बाबु सुमन गजुरेल कुरै नसुनी भाग्ने गरेको सुमनको आरोप छ । आफू नागरिकता बनाएर बैदेशिक रोजगारीमा जाने योजनामा रहेका सुमनले सुनाए । नागरिकता पाएपछि  बुवाको अंशमा पनि आफ्नो हक र स्वामित्व स्थापित हुने हुनाले आफुलाई न्याय दिलाइ दिन सुमनले विभिन्न पक्षहरुसँग आग्रह गरेका छन् ।  
सुमनकी आमा, मावली तर्फका आफन्त र समाजले सुमन माझीको बुवा सुमन गजुरेल नै भएको जीकिर गरे पनि सुमन गजुरेलले भने आफू सुमनको बावु नभएको दावी गर्दै आएका छन् । मैले उसकी आमालाई कुनै जोरजवरजस्ती गरेको छैन, म माथि झुटो आरोप लगाइएको हो, गजुरेलले जवाफ दिने गरेका छन् । तर गजुरेलले शक्ति र पैसाको बलमा सुमनलाई छोरो नस्वीकारेको स्थानीय बासिन्दाको आरोप छ ।
स्थानियबासी समेत रहेकी अखिल नेपाल महिला संघ धनुषाकी उपाध्यक्ष तारा लामा भन्छन,“ गजुरेल माथि जानकीले झुटो आरोप लगाएको छैन, यो समाज साक्षी छ, सुमन माझीको बावु सुमन गजुरेल नै हो, उनीहरु दुवैको अनुहार पनि मिलिरहेको छ । हामी जुनसुकै हालतमा सुमनलाई न्याय दिलाई छाड्छौं ।” सुमनको जन्म दर्तामा हजुर बुवाको नाममा शेरबहादुर माझी आमाको नाममा जानकी माझी रहेपनि बुवाको नाम खाली रहेको छ । कुमारी आमाको कोखबाट जन्मिएका सुमनले नागरिकता प्राप्तिसँगै इन्साफका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा धाएको बेला उनले आफ्नो अस्तित्व र पहिचानका लागि न्याय पाउलान् वा नपाउलान् हेर्न भने बाँकी नै छ ।


२०७० चैत्र ३० गते आईतबार

No comments:

Post a Comment